हरिबोधनी एकादशीमा बुढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)
काठमाडौं । हरिबोधनी एकादशी मनाउन काठमाडौंको बुढानीलकण्ठमा मंगलबार भक्तजनको भीड लागेको छ । आज बिहानैदेखि बुढानीलकण्ठमा भक्तजनहरूको भीड देख्न सकिन्छ । भगवान नारायणको पूजा, उपासना गरी तुलसी र दामोदरको विवाह गरेर हरिबोधनी एकादशी मनाउने गरिन्छ । आज काठमाडौंको बुढानीलकण्ठ, चाँगुनारायण, विशंकुनारायण, शेषनारायण, इचंगुनारायणमा र पशुपतिनाथलगायतमा विशेष मेला लागेको छ । हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् । आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।
चितवन, पोखरा र लुम्बिनीमा ‘फूड एण्ड बेभरेज हस्पिटालिटी’ प्रदर्शन हुँदै, ७ सयभन्दा बढीले भिजिट गर्ने
काठमाडौं । हाउस अफ राजकर्णिकारले उपत्यका बाहिर ‘फूड एण्ड बेभरेज हस्पिटालिटी’ प्रदर्शनीको आयोजना गर्ने भएकाे छ । केही समयअघि काठमाडौंमा कार्यक्रम गरेको यस संस्थाले पहिलो पटक उपत्यका बाहिर प्रदर्शनी गर्ने भएको हो । जसअन्तर्गत भैरहवा, पोखरा र चितवनमा एक /एक दिने रोड शो गर्न लागेको संस्थाका मार्केटिङ म्यानेजर नेहा राइले बताइन् । उनका अनुसार मंसिर ४ गते भैरहवा, मंसिर ६ गते पोखरा र मंसिर ८ गते चितवनमा रोड शो हुनेछ । पोखराको वाराही, चितवनको सिद्धार्थ र लुम्बिनीको सिद्धार्थ होटलमा हुने रोड शोमा होटल, रेस्टुरेन्ट, पार्टी प्यालेसका व्यवसायीहरूले आ-आफ्नो होटलको स्याम्पलहरू प्रदर्शनी गर्नेछन् । एकैदिनमा धेरै व्यवसायीहरूसँग छलफल र उनीहरूले आफ्नो स्याम्पल प्रदर्शनी गर्ने भएकाले यो कार्यक्रमले नेटवर्किङ बनाउ सहयोग पुर्याउने राईको विश्वास छ । यो प्रदर्शनीमा ७ सयभन्दा बढीले भिजिट गर्ने अपेक्षा राखिएको छ । सन् १९९१ मा स्थापना भएदेखि हाउस अफ राजकर्णिकारले नेपालको प्रदर्शनी र इभेन्ट व्यवस्थापन क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको छ । हिमालयन एक्स्पोबाट सुरु गर्दै यस संस्थाले नेपाल, भारत, थाइल्यान्ड, सिंगापुर र इटालीमा १ सय भन्दा बढी प्रदर्शनी, सम्मेलन र कार्यक्रमहरूको आयोजना गरिसकेको छ ।
मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट दोस्रो पटक सम्मानित
काठमाडौं । मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ । श्रीलंकाको कोलम्बोमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (एसएएफए) बेस्ट प्रिजेन्टेड वार्षिक रिपोर्ट अवार्डस् २०२३ अन्तर्गत मुक्तिनाथ विकास बैंक वित्तीय सेवा क्षेत्र सर्टिफिकेट अफ मेरिटबाट सम्मानित भएको हो । यो पुरस्कारबाट मुक्तिनाथ विकास बैंक २०२१ म पनि सम्मानित भएको थियो । दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्टस्ले बेस्ट प्रिजेन्टेड वार्षिक रिपोर्ट अवार्ड विभिन्न विधामा प्रस्तुत गरेको थियो । दक्षिण एसियन देशहरूबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरूलाई उक्त कार्यका लागि गठन गरिएको सोही संस्थाको समितिले मूल्याङ्कनको आधारमा छनोट गरेको हो । विधामा वित्तीय सेवा क्षेत्रमध्येबाट मुक्तिनाथ विकास बैंकले यो अवार्ड प्राप्त गरेको हो । उक्त अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले यस बैंकको वार्षिक प्रतिवेदन मूल्याङ्कनको लागि दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्समा पठाएको थियो । साथै, बैंकले विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ यही आउँदो मंसिर महिनाभित्र सार्वजनिक निष्कासनमार्फत इकाईहरू बिक्रीमा ल्याउने भएको छ । यस कोषको प्रवर्द्धक मुक्तिनाथ विकास बैंक रहेको छ भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेको छ ।
वैदेशिक रोजगारीका नाममा ८ लाख रुपैयाँ ठगी गर्ने पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा लैजाने भनी ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिरूवा गाउँपालिका–१ स्याङ्जा घर भई काठमाडौं महानगरपालिका–३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बडिगाड गाउँपालिका–९ बाग्लुङ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र मेचीनगर नगरपालिका–१० झापा घर भई कामपा–२६ नयाँबसपार्क बस्ने २६ वर्षीय मनिश खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये केसीले क्रोएसिया पठाइदिन्छु भन्दै चार जनाबाट आठ लाख २५ हजार रुपैयाँ, बुढाले बेलायत पठाइदिन्छु भन्दै एकजनाबाट दुई लाख रुपैयाँ र खड्काले क्रोएसिया पठाइदिन्छु भन्दै एकजनाबाट दुई लाख २५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ । यसैबीच काठमाडौं महानगरपालिका–४ चप्पल कारखानास्थित एक घरमा जुवातास खेलिरहेको अभियोगमा आठ जनालाई गए राती प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट नगद ७९ हजार चार सय ६५ रूपैयाँ र आठ बुक ताससमेत बरामद गरेको छ ।
जन्मेको वर्षमै बालबालिका निमोनियाको सिकार, दिगो विकासमा चुनौती
काठमाडौं । डोटीकी विनीता साउद चिसो समय आएसँगै जहिल्यै चिन्तित हुन्छिन् । कारण छोरालाई केही पो हुन्छ कि भन्ने पीर । विनीताका छोरा अविन अहिले ४ वर्ष पुरा भइ पाँच वर्षमा लागे । जन्मेको १ महिनामै निमोनिया भएर अस्पताल भर्ना गर्नुपर्यो । केही दिनको अस्पताल बसाईं र उपचारपछि उनले छोरालाई घर ल्याइन् । घर ल्याएको केही समयसम्म ठिक भएपनि त्यसपछि पनि पटक पटक छोरालाई अस्पताल पुर्याउनुपरेको पीडा अहिलेसम्म पनि विनीतालाई ताजै छ । उनी भन्छिन्, ‘जन्मिँदै निमोनिया भयो, त्यसपछि पनि धेरै पटक यो समस्या देखियो । अहिले फेरि चिसो बढ्न थाल्यो, छोरालाई केही पो हुन्छ कि भन्ने पीर लाग्छ ।’ अहिले पनि अविनलाई अलिकति चिसो हुँदा निमोनियाले समाइहाल्छ । ‘सानोमा निमोनिया भएकोलाई त पछिसम्म पनि समस्या हुन्छ रे भन्ने सुनेकी छु,’ विनीता भन्छिन्, ‘अहिले पनि बाहिरको खानपिनदेखि तातो पार्ने कुरामा ध्यान दिइरहेकी छु ।’ विनीताजस्तै बैतडीकी गीता अवस्थीलाई पनि अस्पताल बस्नु परेको तीतो घटना अहिले पनि याद आउँछ । जन्मेको ८ दिनमै छोराको फोक्सोमा समस्या भएपछि उनले नेपालमात्र होइन, भारतसम्मका अस्पताल धाउनु पर्यो । २ वर्ष अस्पतालको बासपछि अहिले उनका छोराको स्वास्थ्य ठीक छ, तर बेलाबेला श्वासप्रश्वासको समस्या भइरहने भएकाले उनलाई अहिले पनि छोराको स्वास्थ्यले पिरोलिन्छ । नेपालमा अहिले पनि निमोनिया एक प्रमुख जनस्वास्थ्य समस्याको रूपमा रहेको छ । एक अध्ययनले नेपालमा बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया बताएकाे छ । जसमा पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको मृत्युको १३ प्रतिशत हुने गरेको देखाइएको छ । यही कारण कयौं बालबालिका मृत्युको मुखमा पुगिरहेका छन् । नेपालमा निमोनियाबाट प्रत्येक वर्ष हजारौं बालबालिका प्रभावित हुने गरेका छन् । ग्लोबल बर्डेन अफ डिजिजको तथ्यांकअनुसार सन् २०२१ मा निमोनियका कारण २२ लाख मानिसको मृत्यु भएको अनुमान गरिएको छ, जसमा ५ लाख २ हजार बालबालिका छन् । यसबाहेक कोभिड-१९ का कारण १ करोड मानिसको मृत्यु भएको थियो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार ५ वर्षमुनिका बालबालिकाको मृत्युमा १४ प्रतिशत कारक निमोनिया रहने गरेको छ भने समग्र मृत्युको २२ प्रतिशतमा निमोनिया कारक रहने गरेको छ। २०१९ मा मात्र ७ लाख ४० हजार १ सय ८० बालबालिकाको मृत्यु निमोनियाबाट भएको डब्ल्यूएचओको तथ्यांक छ । यस रोगको जोखिम ग्रामीण तथा दुर्गम क्षेत्रमा बढी देखिन्छ, जहाँ स्वास्थ्य सेवा र सुलभ उपचारको अभाव छ । सरकार र विभिन्न संस्थाहरूले बालबालिकामा खोप कार्यक्रम, आम जनचेतना र नियमित स्वास्थ्य परीक्षणमार्फत निमोनिया नियन्त्रणका लागि प्रयास गर्दै आएका छन्, जसले बाल मृत्युदर घटाउनमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ । छातीरोग विशेषज्ञ डाक्टर अशेष ढुंगाना नेपालमा बालबालिकामात्र नभइ युवा र वृद्धवृद्धामा पनि निमोनिया समस्याका रूपमा देखा पर्ने गरेको बताउँछन् । उनी बालबालिकामा अझै बढी यो समस्या हुने भएपनि आजभोलि जुनसुकै उमेरका व्यक्तिलाई पनि यो समस्या देखिने गरेको उनले बताए । उनी कार्यरत वीर अस्पतालमा पनि वर्षभरि १४ वर्षमाथिका युवादेखि वृद्धवृद्धासमेत आउने गरेको जानकारी दिए । उनी भन्छन्, ‘विशेष गरेर बालबालिका र वृद्धवृद्धामा यसकाे रिक्स बढी हुन्छ तर जोखिम सबैलाई हुन्छ, कसैलाई जटिल भएर आइसीयूमै राख्नुपर्ने अवस्थाका बिरामी पनि अस्पताल आइपुग्छन् । ’ निमोनिया शीर्ष एकमा कान्ति बाल अस्पतालमा आउने अधिकांश बिरामी निमोनियाका आउने गरेको अस्पतालले जनाएको छ । अस्पताल प्रशासनका अनुसार अस्पतालमा भर्ना हुने अधिकांश रोगमध्ये निमोनिया भएका बालबालिका सबैभन्दा बढी आउने गर्छन् । अस्पतालको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१मा अस्पतालमा भर्ना भएका ९ हजार ६ सय ८३ बिरामीमध्ये ९ सय ७५ जनामा निमोनियाको संक्रमणकै कारण भर्ना गर्नुपरेको थियो । यस्तै, आव २०७९/८० मा अस्पतालमा भर्ना भएका ९ हजार ४ सय ६८ मध्ये १ हजार १ सय ४ बालबालिका कोरोनाको संक्रमण भएको थियो भने आव २०७८/०७९ मा अस्पतालमा भर्ना भएका ७ हजार ९ सय ५२ मध्ये ८ सय ८२ जना बालबालिकामा निमोनियाको संक्रमण भएको थियो । अस्पतालका सूचना अधिकारी रमेश नरसिंह केसीका अनुसार ५ वर्षभन्दा मुनिका बालबालिकामा यो समस्या बढी देखिने गरेको छ । बालबालिकामा श्वासप्रश्वासका विभिन्न समस्या लिएर अस्पताल आउने गरेको र जाँच गर्दा निमोनिया हुने गरेको उनले बताए । एउटै कारणले मात्र हुँदैन निमोनिया निमोनिया विशेषगरी बालबालिकामा यो समस्या देखिनुको एउटै कारण नहुने चिकित्सकहरू बताउँछन् । बालरोग विशेषज्ञ डा. रामहरि चापागाईं विभिन्न कारणले बालबालिकामा यो समस्या देखिने गरेको बताउँछन् । उनका अनुसार निमोनिया विभिन्न ब्याक्टेरिया तथा भाइरसका कारण हुन्छन् । छातीरोग विशेषज्ञ डा. अशेष ढुंगाना पनि अस्पताल आउने अधिकांश छातीको समस्या वा श्वासप्रस्वासको समस्या लिएर आउने गरेको पछि जाँच गर्दा निमोनिया भएको थाहा हुने गरेको बताउँछन् । भन्छन्, ‘पनि छातीको संक्रमण भएकाले यो समस्या लिएर धेरै आउँछन् तर, हामीसँग यति जना निमोनियाको बिरामी आउँछन् भन्ने तथ्यांक छैन । ’ विशेषगरी इन्फ्लुएन्जाबाट हुने निमोनिया र भाइरसको संक्रमण भएर हुने निमोनिया चिसो समयमा बढी देखिने गरेको उनी बताउँछन् । दिगो विकासमा चुनौती नेपाल सरकारले २०३० सम्ममा दिगो विकासको लक्ष्य प्राप्त गर्ने प्रतिबद्धता गरेकाे छ । यो लक्ष्य प्राप्ति गर्न स्वास्थ्यमा मात्रै १३ प्रतिशत परिणाम देखिने लक्ष्य र ६० प्रतिशत धेरै सूचकमा अन्तराष्ट्रिय प्रतिबद्धता जनाएको छ । दिगो विकासका लक्ष्यमा नेपालले मातृ मृत्युदर, नवजात शिशुको मृत्यु अन्त्य, सरुवा रोग नियन्त्रण, मानसिक स्वास्थ्य प्रवर्द्धनलगायतका विषयलाई मुख्य रूपमा राखेको छ । तर, यो प्रतिवद्धतामा निमोनिया बाधक बन्ने देखेको विज्ञहरू बताउँछन् । २०१६ देखि २०३० सम्मका लागि तय गरिएको दिगो विकास लक्ष्यमा नेपालले प्रत्येक १ लाख जीवित जन्ममा मातृ मृत्युदरलाई ७० भन्दा कम गर्ने लक्ष्य लिएको छ । तर, तथ्यांक हेर्ने हो भने प्रति एक लाख जीवित जन्ममा मातृ मृत्युदर अहिले एक सय ५१ छ । अर्थात् १ लाख जना सुत्केरी हुँदा १ सय ५१ आमाले ज्यान गुमाइराखेका छन् । पाँच वर्षभित्र दिगो विकासको लक्ष्य भेट्टाउन त्यो संख्या ७० भन्दा तल हुनुपर्छ । यस्तै, ५ वर्षभन्दा तलका नवजात शिशुको मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ जनाभन्दा बढ्न नदिने लक्ष्य छ । अहिले त्यो संख्या झन्डै दोब्बर अर्थात २१ छ । अबको ६ महिनामा १४ मा झार्नुपर्ने भए पनि यथाअवस्थामा असम्भव जस्तै छ । बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतम निमोनिमा एउटै कारणले मात्र नहुने भएकाले खोप लगाउँदा पनि यसमा चुनौती देखिएको बताउँछन् । निमोनिया गराउने सबभन्दा मुख्य ब्याक्टोरिया स्ट्रेप्टोकोकस निमोनियाइ हो । माइक्रोप्लाज्मा निमोनियाइ, हेमोफिलुस इन्फ्लुन्जाइ, लेगियनेल्ला निमोफिला जस्ता ब्याक्टोरियाले यो रोग लाग्छ । यतिमात्र होइन, थुप्रै भाइरसका कारण पनि यो रोग लाग्ने गर्छ । निमोनिया विरुद्धको खोप प्न्युमोकोकल हो । तर डा. गौतम यसले मात्र निमोनिया लाग्नबाट नरोक्ने बताउँछन् । भन्छन्, ‘अरू विभिन्न संक्रमणले पनि यो रोग लाग्छ, यसलाई नियन्त्रण गर्न हामीले अन्य पाँच किसिमका खोपहरू लगाउँदै आएका छौं ।’ नेपाल सरकारले ५ वर्षमुनिका बालबालिकामा कुनैपनि संक्रमण नहोस् भनेर नियमित खोप आभियानलाई तीव्र पारेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले खोजीखोजी बालबालिकालाई सबै प्रकारका खोप लगाउने अभियान नै सञ्चालन गरिएको छ । डा. गौतम ५, १० र १४ महिनामा लगाउने अरू खोपले पनि निमोनिया लाग्न नदिने काम गर्ने भएकाले बालबालिका सबैलाई खोपको पहुँचमा ल्याउने प्रयास गरिएको बताउँछन् । उनले यो प्रयासका बाबजुत पनि कतिपय बालबालिका अझै पनि खोपको पहुँच बाहिर रहेकाले उनीहरूको खोजी गरिरहेकाे र गर्नुपर्नेमा जाेड दिए । के हो निमोनिया ? निमोनिया भनेको फोक्सो संक्रमणले गर्दा लाग्ने रोग हो । यसले ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या ल्याउँछ । यो ब्याक्टेरिया र भाइरसका कारणले लाग्छ । श्वासप्रश्वासको माध्यमबाट एकदेखि अर्को व्यक्तिमा लाग्ने भएकाले यसलाई सरुवा रोग पनि भनिन्छ । यो संक्रमण सामान्यतया ब्याक्टेरिया, भाइरस, फङ्गस वा अन्य सूक्ष्मजीवहरूद्वारा उत्पन्न हुन्छ। निमोनिया फोक्सोको कार्यमा विघटन ल्याउँछ, जसकारण श्वासप्रश्वासमा कठिनाइ, खोक्ने र शरीरमा अक्सिजनको कमी हुन सक्छ । यसको उपचार समयमै नगरेमा गम्भीर अवस्था आउन सक्छ । विशेष गरी सानो बच्चा, वृद्ध व्यक्ति र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई यो रोगले अधिक जोखिममा पार्छ । निमोनियाको उपचार ब्याक्टेरिया संक्रमित अवस्थामा एन्टिबायोटिक्स र भाइरस संक्रमित अवस्थामा एन्टीभाइरल उपचारको माध्यमबाट गरिन्छ । सरकारी तथ्याकंमा कमी अस्पतालमा जाँदा भयावह देखिने यो रोग सरकारी तथ्याकंमा पनि कमी हुँदै गएको पाएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको आफ्नो वार्षिक प्रतिवेदनमा तथ्यांकमा कमी देखिएको हो । आव २०७९/८० मा स्वास्थ्य संस्थाहरू र प्राथमिक स्वास्थ्य केन्द्र/औषधी केन्द्रमा ६ लाख ८९ हजार ३१० तीव्र श्वासप्रश्वास संक्रमण (एचआरआई) का केसहरू दर्ता भएका थिए, जसमा ३३.६ प्रतिशत केस निमोनिया र ०.३७ प्रतिशत केस गम्भीर निमोनियाअन्तर्गत वर्गीकृत गरिएको थियो । स्वास्थ्य मन्त्रालयको रिपोर्ट पाँच वर्षमुनिका बालबालिकामा राष्ट्रिय निमोनिया दर २२ % भन्दा बढी घटेर १,००० बालबालिका मध्ये ५५.१ मा पुगेको थियो । कर्णाली प्रदेशमा (एचआरआई) दर सबैभन्दा उच्च (१,००० बालबालिका मध्ये ४०६) रहेको थियो, त्यसपछि सुदूरपश्चिम प्रदेशमा (१,००० बालबालिका मध्ये ३५६) रहेको थियो र मधेश प्रदेशमा सबैभन्दा कम (१,००० बालबालिका मध्ये २०९) रहेको थियो। कर्णाली र सुदूरपश्चिम प्रदेशमा (एचआरआई) केसहरूमा निमोनियाको प्रतिशत सबैभन्दा उच्च (क्रमशः १९.९८ प्रतिशत र १६.२१ प्रतिशत थियो, जबकि मधेश प्रदेशमा सबैभन्दा कम (८.७९ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ ।
जापानले ३० को दशकमा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने
काठमाडौं । जापानले सन् २०३० को दशकको शुरुमा सबै नयाँ यात्रुवाहक कारलाई जैविक इन्धनयुक्त बनाउन कार निर्माताहरूलाई प्रोत्साहित गर्ने योजना अघि सारेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उद्योग मन्त्रालयले उपसमितिको बैठकमा सार्वजनिक गरेको नयाँ लक्ष्यले तेल थोक बिक्रेताहरूलाई आर्थिक वर्ष २०३० सम्ममा १० प्रतिशतसम्म बायोएथेनोल मिश्रित पेट्रोल आपूर्ति सुरु गर्न आग्रह गर्ने लक्ष्य राखेको छ । मन्त्रालयले यो परिवर्तनलाई कानुनमार्फत अनिवार्य बनाउनेबारे पनि सोचिरहेको बताइएको छ । ‘यसबाहेक, मन्त्रालयले अर्को ग्रीष्मऋतुसम्ममा अन्तिम रूप दिने अपेक्षा गरिएको एक कार्य योजना तयार गरिरहेको छ र बायोएथेनोल–मिश्रित ईन्धनहरू समायोजित गर्न ग्याँस स्टेशनहरूमा आवश्यक तयारीका लागि सहयोग गर्नेछ,’ रिपोर्टमा भनिएको छ । मकै र उखुबाट बनेको बायोएथेनोलले प्रकाश संश्लेषणको क्रममा कार्बन डाइअक्साइड सोस्छ । यो प्राकृतिक प्रक्रियाले बायोएथेनोल–मिश्रित ईन्धनजलाउँदा उत्पन्न कार्बन डाइअक्साइड उत्सर्जनलाई नियन्त्रण गर्न मद्दत गर्ने विश्वास गरिएको छ । रासस
अपर तामाकोशीमा करोडौं मूल्यका सरसामान चोरी, के भन्छ कर्मचारी युनियन ?
दोलखा । राष्ट्रिय गौरव बोकेको ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावरबाट करोडौं मूल्य बराबरका विभिन्न सरसामानहरू चोरी भएका छन् । गएको असोज ११ र १२ गतेको भीषण वर्षापछि आएको बाढी र पहिरोले क्षति पुर्याएको बाँधस्थलका कन्ट्रोल विल्डिङ र सेटलिङ बेसिन लगायतका संरचनाहरू मर्मतका क्रममा निकालिएका महत्वपूर्ण सामग्रीहरू चोरी भएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कर्मचारी यूनियनले जनाएको छ । युनियनले हिजो सोमबार ध्यानाकर्षण पत्र जारी गर्दै आयोजनाबाट महत्वपूर्ण सामग्रीहरू शंकास्पद र रहस्यमयी ढङ्गबाट चोरी भएको जनाउँदै आवश्यक छानविन गरी दोषीउपर कडा कारबाही गर्न अनुरोध समेत गरेको छ । ‘तीनै तहको सुरक्षा घेराभित्र रहेको अवस्थामा विगतमा पनि आयोजनाका करोडौं करोड पर्ने क्रेनलगायत बहुमूल्य सम्पत्ति चोरी भएको सर्वविदितै छ । यसरी, अपर तामाकोशी कम्पनीको सम्पत्ति पटक–पटक चोरी निकासी हुनु रहस्यमय र शङ्कास्पद विषय भएकाले अपर तामाकोशीको सार्वजिनक सम्पत्ति दोहन र चोरी निकासी गर्नमा संलग्नमाथि आवश्यक छानविन गरी दोषीउपर कडा भन्दा कडा कानुनी कारबाहीका लागि यस यूनियन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ । खासगरी बाढीबाट बाँधस्थलका क्षतिग्रस्त कन्ट्रोल विल्डिङ र सेटलिङ बेसिन लगायतका संरचनाहरु मर्मतका क्रममा निकालिएका जीर्ण भएका विद्युतीय उपकरण, तामा, फलाम, आल्मुनियम र अन्य धातुजन्य कवाडी सामग्रीहरू चोरी भएको युनियनका अध्यक्ष शेषनारायण श्रेष्ठले बताए । चोरी भएका ती सामग्रीहरू करोडौं मूल्य पर्ने अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कम्पनीको सम्पत्ति भएको उनको भनाइ छ । युनियनका अध्यक्ष शेषनारायण श्रेष्ठ र महासचिव राजकुमार श्रेष्ठद्वारा संयुक्त रूपमा हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘क्षतिग्रस्त कन्ट्रोल विल्डिङ लगायतका स्थानहरुको सरसफाई गर्ने क्रममा निकालिएको जीर्ण भएका विद्युतीय उपकरण, तामा, फलाम, आल्मुनियम र अन्य धातुजन्य कवाडी सामग्रीहरू लगायतका करोडौं पर्ने अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कम्पनीका सम्पत्ति चोरी निकासी भएको संचारमाध्यमबाट जानकारी प्राप्त हुँदा यस यूनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।’ तीन तहको सुरक्षा घेरा रहेको आयोजना परिसरबाट बहुमूल्य सामग्रीहरू चोरी हुनु शङ्कास्पद रहेको युनियनको ठहर छ । असोज ११ र १२ गतेको वर्षापछि आएको बाढीबाट क्षति भएको आयोजनाका विभिन्न संरचनाहरू हाल मर्मतसम्भार भइरहेको छ । क्षतिग्रस्त स्थानको सरसफाई र कम क्षतिको सेटलिन बेसिनको मर्मत कार्य ‘डे वर्क्स’मा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित रोल्वालिङ खोला जलविद्युत् आयोजनाका मुख्य सिभिल ठेकेदार हाइ हिमाल हाइड्रो कम्पनीबाट भइरहेको छ ।
हिमालयन लघुवित्तको अध्यक्षमा नकर्मी
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षयमा विजय मान नकर्मी नियुक्त भएका छन् । कार्तिक २६ गते बसेको संस्था सञ्चालक समितिको बैठकले अध्यक्षको पदमा नकर्मीलाई नियुक्त गर्ने निर्णय गरेको हो । यस अघि वित्तीय संस्थामा अध्यक्ष रहिसकेका उनले हिमालयन बैंकबाट बैंकिङ सेवा सुरु गरी करिब ३२ वर्ष देखि बैंकिङ क्षेत्रमा योगदान गर्दै हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् । ‘यस वित्तीय संस्थाको कार्तिक २६ गते सोमबार बसेको सञ्चालक समितिको २३५ औं बैठकले विजय मान नकर्मीलाई सञ्चालक समितिको अध्यक्षको पदमा सर्वसम्मत रुपमा चयन गरेको हो,’ नेप्सेको मंगलबार जारी गरेको सूचनामा भनिएको छ ।