फोटनको माउन्टेन इभी भ्यान नेपालमा सार्वजनिक, मूल्य कति ?
काठमाडाैं । चाइनाको विद्युतीय गाडी उत्पादक कम्पनी फोटोनको माउन्टेन इलेक्ट्रिक भ्यान नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि फोटोनको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले सोमबार एक कार्यक्रमका बीच उक्त भ्यान सार्वजनिक गरेको हो । भ्यान सार्वजनिकसँगै उक्त भ्यान खरिद गरेका १०० जना ग्राहकलाई साँचो पनि हस्तान्तरण गरिएको थियो । कम्पनीका अनुसार उक्त गाडीको रेन्ज ३०० किलोमिटर रहेको छ । उक्त गाडी किन्दा ८० प्रतिशत फाइनान्सिङको पनि व्यवस्था रहेको जनाइएको छ । १४ सिट भएको भ्यानको ५८ लाख ९९ हजार, १५ सिट भएको भ्यानको ५७ लाख ४९ हजार रुपैयाँ मूल्य रहेको कम्पनीले जनाएको छ । यस्ता छन् उक्त भ्यानका विशेषताहरू उक्त भ्यान युरोपियन युनियन डब्लूभीटिए प्रमाणित सवारीसाधन हो । जसको परीक्षण र निरीक्षण जर्मन संस्था टीयूभी रेनल्याण्डद्वारा गरिएको छ । सो भ्यान अन्य भ्यानको तुलनामा अग्लो रहेको छ जसले भित्र प्यासेन्जरलाई बस्न कम्फर्टेबल हुने कम्पनीकाे दावी छ । ५५.५८ किलोवाटको ब्याटरी रहेको भ्यानकाे ग्राउण्ड क्लियरेन्स १८० एमएम रहेको छ । यसैगरी, सो गाडीमा ३३० एनएमको तनाई रहेको छ । १३० किलोवालटको मोटर पावर र २५ डिग्रीको उकालो बाटोमा पनि गाडी सहजै चल्ने जनाइएकाे छ । यस्तै, उकालोमा ब्रेक लाग्दा अटो होल्ड हुने, स्मार्ट पार्किङ, हिल होल्ड कन्टोल लगायतका विषेशताहरू रहेका छन् । यस्तै, सो गाडी दुईवटा मोडमा चलाउन सकिन्छ । ईको र पावर मोडमा सो गाडी चलाउन सकिन्छ । उक्त गाडीको वारेन्टी ५ वर्ष वा ३ लाख किलोमिटर रहेको कम्पनीले जनाएकाे छ । चाइनाको कमर्सियल इभी उत्पादनमा फोटन १९ वर्षदेखि नम्बर एक हुँदै आएको एमएडब्लु वृद्धिका प्रमुख कार्यकारी अधिकृत तुसार गुप्ताले बताए । उनले भने, ‘फोटोन भारतमा सर्वाधिक विक्री हुने ईभी बस रहेको छ । फोटनले दक्षिण अमेरिकामा ९ लाख भन्दा धेरै कमर्सियल गाडी निर्यात गरेको छ ।’ भ्यान सार्वजनिक कार्यक्रममा एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवाल, फोटोनको साउथ एसिया रिजनल म्यानेजर, एमएडब्लु वृद्धिका प्रमुख कार्यकारी अधिकृत तुसार गुप्ता, एमएडब्लु वृद्धिको एमडी विवेक शिकारिया, सेल्स हेड नवीन आचार्यलगायतको उपस्थिति रहेको थियो ।
प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ
काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे)लाई पक्राउ गरिएको छ । स्थानीय सानोभर्याङबाट निजलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार निजलाई आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइनेछ । केही दिनअघि ज्यान मार्ने उद्योगको कसुरमा निजलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो ।
नभएका विषयलाई अनावश्यक विवादको मुद्दा नबनाउन प्रधानमन्त्रीको आग्रह
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताएका छन् । विराटनगरमा सोमबार साँझ पत्रकारहरूको जिज्ञासामा उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी हो भने । प्रधानन्त्री ओलीले अहिले अमेरिकी स्टेट पार्टनसिप प्रोग्राम (एसपिपी)को कुनै कुरा वा चर्चा नै नभएको बताए । संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नमा उनले यो विषय संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने जनाए । सरकारको निर्देशनबमोजिम नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगमा लाइन जोडिएको छैन नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘नजोडिएको भए हेर्दै जाउँ । हामी उद्योग र कलकारखानालाई काम गर्न सक्ने र आर्थिक समृद्धिका लागि आवश्यक काम गर्दै जानेछौँ ।’ धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औँ दीक्षान्त समारोहबाट प्रधानमन्त्री ओली विराटनगर हुँदै काठमाडौं फर्केका थिए ।
यु-१९ महिला टि-२० विश्वकप : नेपालले आज कुवेतको सामना गर्दै
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको पाचौँ खेलमा नेपालले आज कुवेतको सामना गर्दैछ । युएईको अजमानस्थित द सेभेन स्टेडियममा नेपाली समयानुसार ११ः१५ बजे खेल सुरु हुनेछ । गत बुधबारदेखि सुरु भएको एसिया छनोटमा नेपालको यो पाचौँ खेल हो । नेपालले यसअघि तीन खेलमा जित हासिल गरेको छ, भने एक खेलमा पराजित भएको छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यस्तै, दोस्रो खेलमा कुवेतलाई एक सय आठ रनले हराएको थियो । नेपालले तेस्रो खेल शनिबार घरेलु टोली युएईसँग खेलेको थियो । उक्त खेलमा १३ रनले पराजित भएको थियो । चौथो खेलमा आइतबार थाइल्याण्डलाई १०६ रनले पराजित गरेको थियो । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपका लागि छनोट हुनेछ ।
नेपाल एसबिआई बैंक र एइसी ग्लोबल प्राइभेटबीच सम्झौता, शैक्षिक कर्जा प्रदान गर्ने
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र एइसी ग्लोबल प्राइभेटबीच सम्झौता भएको छ । बैंक र एइसी ग्लोबल प्राइभेटबीच विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरू लक्षित शैक्षिक कर्जा सहज रुपमा प्रदान गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्र बैंकका तर्फबाट प्रमूख कर्जा अधिकृत अर्जून नेपाल र एइसीसीका तर्फबाट निर्देशक अजित सिङबीच आदान प्रदान भएको थियो । यस सम्झौताले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई शैक्षिक कर्जा प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ । सो कार्यक्रममा बैंक तथा एइसीसीका अन्य पदाधिकारीहरू समेतको उपस्थिति थियो । हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।
साल्ट ट्रेडिङ धनुषाद्वारा १८ करोड ६२ लाखको नुन बिक्री
जनकपुरधाम । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०/८१ मा १८ करोड ६२ लाख ८१ हजार रुपैयाँ मूल्य बराबरको आयोडिनयुक्त नुन बिक्री गरेको छ । धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले उक्त तीनवटा जिल्लामा आफ्ना २५ डिलरमार्फत आयोडिनयुक्त नुन बिक्री गरेको हो । कार्यालयका अनुसार चालु आर्थिक वर्षको तीन महिना अर्थात् साउन, भदौ र असोजमा पाँच करोड २३ लाख रुपैयाँ मूल्यबराबरको नुन बिक्री गरेको छ । सो अवधिमा ४५ हजार तीन सय ७० बोरा नुन बिक्री भएको हो । कार्यालयले दसैँतिहार तथा छठपर्वलाई लक्षित गरी सहुलियत दरको सुपथ मूल्य पसल सञ्चालन गरी नुन बिक्री गरेको जनाएको छ । गत असोज ७ गतेदेखि कात्तिक २९ गतेसम्म सञ्चालन हुने सोसहुलियतदरको पसलबाट हालसम्ममा पाँच हजार छ सय प्याकेट नुन बिक्री गरेर रु दुई लाख ६१ हजार कार्यालयलाई आम्दानी भएको प्रमुख शुभनारायण साहले बताए । सहुलियत दरका सो पसलबाट २४ रुपैयाँ प्रतिप्याकेट तथा सोझै डिलरमार्फत २६ रुपैयाँ प्रतिप्याकेट नुन बिक्री भइरहेको बताइएको छ । यस्तै सो कार्यालयले रासायनिक मलको कारोबारसमेत गर्दै आएको प्रमुख साहले जानकारी दिए ।
२ हजार ४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार आज सुन तोलाको १ लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार ९ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ ।
इनड्राइभको ‘इनड्राइभ कम्फर्ट’ फिचर सार्वजनिक, यस्तो छ विशेषता
काठमाडौं । इनड्राइभले नेपालमा ‘इनड्राइभ कम्फर्ट’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । कम्पनीले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त सुविधा घोषणा गरेको हो । कम्पनीकाअनुसार हाल इनड्राइभले नेपालमा बाइक, ट्याक्सी लगायतका सवारी साधानमा राइड सेयरिङ सुविधा दिदै आएको छ । सोही क्रममा अहिले ‘इनड्राइभ कम्फर्ट’ फिचर ल्याइएको हो । यो प्रिमियम तथा लक्जरियस सेवा हो । यात्रुलाई आरामदायी यात्रा गराउने उद्देश्य सहित सुविधा ल्याइएको हो । यस अन्तरगत बिशेषगरी कारहरु उपलब्ध हुनेछन् । त्यसमा मुख्यतः एयर कन्डीसन (एसी) फराकिलो सिट, फराकिलो भित्रीभाग लगायतका सुविधा हुनेछन् । जुन सुविधाले यात्रुलाई सहजता प्रदान गर्ने कम्पनीको दावी छ । कम्पनीकाअनुसार यसमा विशेषगरी उच्च गुणस्तरीय सवारी साधन र उच्च श्रेणीका चालकहरू हुनेछन् । आरामदायी यात्रा चाहनेहरूका लागि यो सेवा लक्षित गरिएको कम्पनीको भनाइ छ । यसले काठमाडौंको व्यस्त ट्राफिक र मौसमबाट ग्राहकलाई राहत प्रदान गर्नेछ । यसमा विद्युतीय गाडी (इभी) लाई पनि मुख्य प्राथमिकतामा राखिएको छ । इनड्राइभका दक्षिण एशिया वरिष्ठ मार्केटिङ प्रबन्धक अविक कर्माकरले ग्राहकहरूको आवश्यकताहरूलाई ध्यानमा राखेर नयाँ सुविधा ल्याएको बताए । उचित मूल्यमै ग्राहकले यो सुविधा पाउने उनको भनाइ छ । फराकिलो भित्री भाग भएका सेडान गाडीहरू पनि यसमा हुनेछन् । यस अन्तरगत आरामदायी, फराकिलो र झन्झट–मुक्त यात्रा गर्न सकिने दावी गरिएको छ । इनड्राइभका एशिया प्यासिफिक कम्युनिकेसन लिड पभित नन्दा आनन्दले भने, ‘हामी चालक र यात्रु दुवैलाई आफ्नो छनोट गर्न स्वतन्त्रता दिन्छौं । यो पूर्ण रुपमा पारदर्शी मोडेल हो । हामी यात्रु र चालकलाई आफ्नो अनुकुल सम्झौता गर्ने स्वतन्त्रता प्रदान गर्दैछौं ।’