कन्ट्री रेटिङले खुसी ल्यायो, अब विश्वभरका लगानीकर्ताले नेपालमा लगानी गर्छन् : अर्थमन्त्री
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कन्ट्री रेटिङले खुसी ल्याएको बताएका छन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री पौडेलले पहिलो पटक गरेको कन्ट्री रेटिङले खुसी ल्याएको बताएका हुन् । कन्ट्री रेटिङले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित रहेको सन्देश दिएको उनको भनाइ छ । उनले कन्ट्री रेटिङले नेपालका लागि अनुकूल नतिजा ल्याएको बताए । नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको अर्थमन्त्री पौडेलले बताए । ‘कन्ट्री रेटिङ गौरवको विषय हो, हामी यो नतिजामाथि उभिएर नेपालको अर्थतन्त्रलाई सवल, शक्तिशाली र लगानीका लागि अझ अनुकूल बनाउन भूमिका खेल्ने छौं, अब विश्वका लगानीकर्ताले नेपालमा लगानीका लागि तयार बन्छन्,’ उनले भने । नेपालले सार्वभौम क्रेडिट रेटिङमा ‘बीबी माइनस’ स्कोर प्राप्त गर्न सफल भएको छ । क्रेडिट रेटिङको नतिजालाई दक्षिण एसियाली मुलुकहरूको रेटिङ नतिजासँग तुलना गर्दा नेपालले प्राप्त गरेको रेटिङ सन्तोषजनक छ । यसले सरकार, निजी क्षेत्र र सम्पूर्ण लगानीकर्ताहरूको लागि उत्साह सिर्जना गर्ने अर्थमन्त्रालयको विश्वास छ । नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई नवीनतम एवं वैकल्पिक वित्तका स्रोत परिचान गर्नुपर्ने अवस्थाको पूर्व तयारीको रूपमा समेत सार्वभौम क्रेडिट रेटिङलाई लिन सकिने अर्थमन्त्रालयको भनाइ छ । नेपालको सार्वभौम क्रेडिट रेटिङमा हाल प्राप्त गरेको नतिजाले नेपाल लगानीको लागि सहज वातावरण भएको स्थापित गरेकोले विदेशी लगानीकर्ताको विश्वास अभिवृद्धि हुन गई आगामी दिनमा नेपालको पूर्वाधार, पर्यटन, कृषि, सेवालगायतका क्षेत्रका ठूला आयोजनाहरूमा लगानी अभिवृद्धि हुने अपेक्षा गरिएको छ । यो पनि पढ्नूहोस् : नेपालले पायो डबल बी माइनस कन्ट्री रेटिङ, सरकारकाे घाटा जीडीपीको ४ प्रतिशतमा झर्ने
तोलामा १५ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो । साथै, चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको थियो ।
देशभरका विद्यालयलाई शिक्षक पाउन सकस, पर्याप्त तलब सुविधा नहुँदा आकर्षण घट्दै
काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिकामा रहेको केदारेश्वरी माविले सातौं पटक शिक्षकका लागि आवेदन खोल्दासमेत अहिलेसम्म शिक्षक पाउन सकेको छैन । भदौदेखि पटक-पटक सूचना जारी गर्दै आएको विद्यालयले अहिले फेरि आठौं पटक आवेदन खोलेको छ । तर, अहिलेसम्म विद्यालयमा एउटा पनि आवेदन नपरेको विद्यालयले जानकारी दिएको छ । कक्षा ९-१० मा विज्ञान विषय अध्यापन गर्न एक जना शिक्षक आवश्यक हुँदा शिक्षक पाउन सकेको छैन । विगत लामो समयदेखि यस विद्यालयमा दक्ष शिक्षकको अभाव छ ।नौगाड गाउँपालिकाले विद्यालयमा अनुदान कोटा छ । यसका लागि पालिकाले नै सूचना निकाल्यो । तर अध्यापन अनुमतिपत्र लाइसेन्स भएको कुनै पनि व्यक्ति सम्पर्कमा आएनन् । विद्यालयमा शिक्षक आवश्यक हुँदा पालिकाले लाइसेन्स नभएको मान्छेलाई भए पनि शिक्षक छनोट गरेर राख्यो । केही वर्ष तिनै शिक्षकबाट पदपूर्ति गरेपनि चालु आर्थिक वर्षमा शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले संघीय शिक्षण सिकाइ अनुदान कोटा दियो । त्यो कोटाका लागि विद्यालयले पहिलो पटक भदौ ६ गते विद्यालय व्यवस्थापन समितिको बैठक बसेर आवेदन खोल्यो । सूचनामा बायोलोजी, फिजिक्स विषयमा स्नातकोत्तर गरेको भनेपछि दुई-तीनजना सम्पर्कमा आए । तर, उनीहरूसँग लाइसेन्स थिएन । लाइसेन्स नहुँदा उनीहरू कुनै पनि छनोटमा परेनन् । त्यसपछि विद्यालयले पटक-पटक सूचना निकाल्यो । तर, कुनै पनि व्यक्ति सम्पर्कमा आएनन् । ७ औं पटक पनि शिक्षक नपाउँदा विद्यालयको पठनपाठनमा समस्या भएको छ । शिक्षाप्रति चासो राख्नेहरूले विद्यालयमा फोन गर्न थाले । प्रधानाध्यापक तीर्थराज विष्ट भन्छन्, ‘सूचनापछि कहिले पत्रकारले फोन गर्छन्, कहिले को गर्छन्, हुँदाहुँदा शिक्षा मन्त्रालयबाट पनि फोन आयो । तर, हामीले अहिलेसम्म पनि शिक्षक पाएका छैनौं ।’ विद्यालयले अहिले फेरि आठौं पटक सूचना निकालेको छ । तर, अहिलेसम्म पनि विद्यालयमा आवेदन परेको छैन । ‘लाइसेन्स भएका २३ जना र नभएका ३/४ जनाले फोन गरेर चासो राख्नुहुन्छ । तर, सुविधा सुनिसकेपछि कोही आउन मान्नुहुन्न,’ प्रधानाध्यापक विष्ट भन्छन्, ‘हामीलाई त शिक्षक पाउनै समस्या भइसकेको छ, कहिले कोटा पाइँदैन, कोटा पाइहाल्यो भने पनि शिक्षक पाउन गाह्रो हुन थाल्यो ।’ यस्तै, दैलेखको नौमुले गाउँपालिकामा रहेको लालीगुँरास माविले दुईपटक सूचना निकालेपछि अहिले २ जना सम्पर्कमा आएका छन् । तर, परीक्षा भने लिन सकेको छैन । विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर सलामीले एकजना दैलेखकै र अर्को एक जना रौतहटका व्यक्तिले आवेदन दिएकोले अब शनिबार परीक्षा लिने तयारी भइरहेको जानकारी दिए । उनले आफ्नै पालिकाभित्रका अन्य दुई विद्यालयले अझै शिक्षक पाउन नसकेको बताए । ‘हामीले दोस्रो सूचनापछि दुई जनाको आवेदन पायौं,’ उनी भन्छन्, ‘अन्य विद्यालयले चार-पाँच पटक सूचना निकाल्दासमेत विद्यार्थी पाउन सकेको छैन । पहिलो पटक १५ दिने सूचना निकाल्दा पनि शिक्षक पाउन सकेको छैन ।’ धादिङ गजुरीको श्री पिण्डेश्वरी माविले गणित शिक्षकका लागि आवदेन माग गरेको लामो समय भयो । पाँचौ पटकसम्म पनि आवेदन माग गर्दा कुनैको आवदेन नपरेपछि अहिले पुनः छैटौं पटक शिक्षका लागि आवेदन माग गरेको छ । यसअघि अध्ययन अनुमति पत्र अनिवार्य भनिए पनि छैटौं पटक भने लाइसेन्स अनिवार्य गरिएको छैन । शिक्षकको अभाव भएकोले नै सो विद्यालयले लाइसेन्स नभए पनि शिक्षक चाहिएको बताएको छ । अहिले यस्तो समस्या देशभरका विभिन्न विद्यालयले भोगिरहेका छन् । धेरैजसो विद्यालयले शिक्षक नपाउँदा निजी क्षेत्रबाटै काम चलाउ शिक्षक राखिरहेका छन् । यस्ता काम चलाउ शिक्षकले दिने गुणस्तरीय शिक्षामाथि भने बेला बखत प्रश्न उठ्ने गरेको छ । शिक्षालाई विकासको मेरुदण्ड भनिए पनि यो क्षेत्रमा आकर्षण घटेको छ । आकर्षक तलब तथा अन्य सेवा सुविधा नहुँदा शिक्षामा आकर्षण घटेको जानकारहरु बताउँछन् । नेपालमा पटक-पटक शिक्षाको विषयमा वहस हुन्छ । तर नेपालको अवस्था हेर्ने हो भने पर्याप्त मात्रामा शिक्षक नै पाउन गाह्रो छ । सरकारले दरबन्दी नथप्दाको समस्या एकातिर छ भने अर्को भएका कोटामा समेत दक्ष शिक्षक पाउन गाह्रो छ । अधिकांश विद्यालयमा विज्ञान, गणित र अङ्ग्रेजी विषय पढाउन सक्ने शिक्षकहरू पाइँदैन । शिक्षक नपाउँदा विद्यालयलाई एक थरिको तनाव छ भने उता शिक्षा पाउने आशासहित विद्यालय पुगेका कलिला बालबालिकाको भविष्यसमेत जोखिममा पर्न थालेको छ । लाइसेन्स नहुनु अर्को समस्या नेपालमा विज्ञान विषय लिएर पढेका युवा नभएका होइनन् । गाउँघरदेखि सहरबजारमा रहेका विज्ञान क्याम्पसमा विद्यार्थीको भीड छ तर, विद्यार्थीलाई पढाउन सक्ने दक्ष क्षमता भएको र अध्ययन अनुमतिपत्र भएको मान्छे पाउन निकै गाह्रो छ । अहिले कुनै पनि विद्यालयमा पढाउने शिक्षकसँग अनिवार्य लाइसेन्स हुनुपर्ने नियम छ । तर, लोकसेवा आयोगले ढिलोगरी मात्र परीक्षा लिँदा यस्तो समस्या आएको विद्यालयका प्रधानाध्यापकहरूको प्रतिक्रिया छ । दार्चुलाको केदारेश्वरी माविका प्रधानाध्यापक तीर्थराज विष्ट लोकसेवा आयोगले लाइसेन्सको परीक्षा समयमा नखोल्दा पनि यसको प्रभाव परेको बताउँछन् । उनी भन्छन्, ‘हामीले पहिले, दोस्रो पटक सूचना प्रकाशित गर्दा लाइसेन्स भएको एउटा पनि व्यक्ति सम्पर्कमा आएनन्, यो बीचमा लोकसेवा आयोगले परीक्षा लिएर नतिजा सार्वजनिक गर्दा अहिले २२, २३ लाइसेन्स भएकै व्यक्तिले फोन गरे ।’ कारण यो बीचमा परीक्षाको नतिजा सार्वजनिक भयो । ‘एकातिर लाइसेन्स अनिवार्य गरियो, अर्कोतिर परीक्षा ढिलोगरीमात्र हुन्छ, जसको समस्यामा हाम्राजस्ता विद्यालय परे, ’ उनले थपे । विकटमा जानै मान्दैनन् शिक्षा क्षेत्रमा मात्र होइन, हरेक क्षेत्रमा काम गर्ने व्यक्तिको पहिलो रोजाइमा पर्ने ठाउँ सहर हो । अहिले पनि शिक्षा, स्वास्थ्य क्षेत्रमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा कर्मचारी बस्न मन गर्दैनन् । बाध्यतावस एक–दुई वर्षसम्म बसेपनि त्योभन्दा लामो समय बसेको पाइँदैन । दैलेखको लालीगुँरास माविका प्रधानाध्यापक इन्द्र सलामी यही कारण पनि शिक्षक पाउन समस्या भएको बताउँछन् । ‘सबैलाई सुखसुविधा चाहिन्छ, गाउँमा आएर बस्न बस्न मन हुँदैन,’ उनी भन्छन्, ‘साइन्स पढेका यहाँकै युवाहरू पनि सहरमा बसेर ट्युसन बढाउन खुसी हुन्छन् तर, यहाँ आएर काम गर्न मन लाग्दैन ।’ शिक्षकलाई आकर्षक सेवा सुविधा नदिनुपनि यसको अर्को कारण हुने शिक्षकहरू बताउँछन् । अहिले माध्यमिक तहका शिक्षकहरूको तलब ४३ हजार ६ सय ७९ हुन्छ भने थप चाडपर्व खर्च, पोशाक भत्ता आउँछ । तर, अहिले सरकारले दिएको अनुदान कोटामा मात्र तलबको व्यवस्था छ । यसैकारण पनि क्षमता भएकाहरू पनि यो क्षत्रमा नआएको हुन सक्ने शिक्षकहरू बताउँछन् । ‘सहरमा निजी विद्यालयमा पढाउन पनि पाइने अनि साँझ-बिहान ट्युसन पनि पढाउन मिल्ने हुँदा बढी पैसा कमाउँछन्,’ सलामी भन्छन्, ‘आकर्षण सुविधा नहुँदा पनि शिक्षक पेशाप्रति रुचि घट्दै गएको हो ।’ दरबन्दी नै कम सरकारले २०५५/०५६ सालदेखि शिक्षक दरबन्दी थपेको छैन । निमावि र मावि तहका विद्यालय सञ्चालन गर्न अनुमति दिएपनि शिक्षाको दरबन्दी नथप्दा यो समस्या आएको कतिपयको भनाइ छ । हाल सरकारले अनुदान, निजीलगायतका विभिन्न कोटामा शिक्षक राख्न अनिवार्य अध्ययन अनुमतिपत्र हुने पर्ने भनेको छ, जसका कारण पनि शिक्षक पाउन मुस्किल भएको उनीहरूको भनाइ छ । अहिले स्थायी दरबन्दी, राहत दरबन्दी, शिक्षकको अनुदान कोटा र एकमुष्ट अनुदान भनेर चार तरिकाबाट संघीय सरकारले शिक्षक व्यवस्थापन गरिरहेको छ । मानव स्रोत विकास केन्द्र तथ्यांक शाखाका अनुसार अहिले सातै प्रदेशमा गरी १ लाख ४६ हजार ९५१ जना शिक्षक कार्यरत छन् । ‘अब समाधान खोज्नुपर्छ’ शिक्षक र विद्यालयले शिक्षक नपाएको गुनासो गरिरहँदा शिक्षाविद्हरू भने अब शिक्षक खोज्नुभन्दा प्रविधिको विकास र भएका शिक्षकको भरपूर प्रयोग गर्न सल्लाह दिन्छन् । नेपालमा मात्र नभइ अमेरिका, जापानलगायत विश्वभर शिक्षकको संख्या घट्दै रहेको बताउँदै शिक्षाविद् डा.विद्यानाथ कोइराला अब प्रविधिबाट विद्यार्थीलाई शिक्षा दिनुपर्नेमा जोड दिन्छन् । ‘अब शिक्षक नै चाहिन्छ, विद्यालय नै पढ्न जानुपर्छ भन्ने छैन,’ उनी भन्छन्, ’काठमाडौंमा रहेका गणित र विज्ञान विषयका राम्रा शिक्षकहरूले भिडियो बनाएर कर्णाली, सुदूरपश्चिम जहाँ शिक्षक छैनन्, त्यहाँ विद्यार्थीलाई पठाउन सक्छन् ।’ ’गाउँमै पनि स्कुलमा जुन विषयको शिक्षक छैन, उनीहरूले नै गएर शिक्षक नभएका विद्यार्थीलाई पढाइदिँदा हुन्छ, यसो गर्दा विद्यार्थीले पनि पढ्न पाए, शिक्षकले पैसा पनि कमाउन पाए, ’ शिक्षाविद कोइरालाले थपे । उनी अब शिक्षक नै अनिवार्य हो, शिक्षक नै पाइएन भन्ने गुनासो गर्नु बेकार हुने बताउँछन् । किन यस्तो समस्या आयो, शिक्षक किन पाएन भन्ने भन्दा पनि अब यसको समाधान कसरी गर्ने भन्ने विषयमा सोच्नुपर्ने विज्ञहरूको भनाइ छ । अहिले नेपालमै पनि ‘माइसेकेण्ड टिचर’, ‘सिकाइ चौतारी’, ‘एम्बिसन गुरु’ लगायतका विभिन्न शैक्षिक संस्थाले प्रविधिबाटै विद्यार्थीलाई सिकाइरहेको उदाहरण दिँदै शिक्षाविदहरू कोइरालाले शिक्षाक नपाएका विद्यार्थीलाई पनि यस्तो संस्थामा आवद्ध गराउन सक्नुपर्ने बताउँछन् । कतिपय पालिकाले अहिले राम्रो कामको सुरुवात गरेको बताउँदै शिक्षाविद कोइराला अन्य पालिकाले पनि अब सिको गर्नुपर्ने बताए । इलामको सूर्योदय गाउँपालिका र काठमाडौंको बुढानीलकण्ठले पालिकाका विभिन्न ठाउँमा बिदाको दिन शिक्षकमात्र नभइ विज्ञहरूलाई नै बोलाएर शिक्षा दिने गरेको उदाहरण दिँदै उनले अब शिक्षकमात्र नभइ, गाउँमा रहेका विज्ञहरूबाट पनि विद्यार्थीलाई शिक्षा दिलाउन सक्ने बताए । उनी यसको लागि स्थानीय तह नै बढी सक्रिय हुनुपर्ने बताउँछन् । ‘सबैभन्दा बढी सक्रिय पालिकाले हुनुप¥यो, सकेन भने संघलाई भन्नुपर्यो ,’ उनी भन्छन्, ‘त्यसमा पनि शिक्षा मन्त्रालय र त्यो अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यसमा सहयोग गर्नुपर्ने हुन्छ ।’
झापाबाट ११ करोडको चिया निर्यात, ५२ जनालाई रोजगारी
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले ११ करोड ४३ लाख ६१ हजार रुपैयाँ बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो । ‘गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ । चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य हुन् । चियाखेती किसानहरूले गर्नुहुन्छ, हामी पत्ती किनेर तयारी चिया उत्पादन गर्छौं’, संस्थाका व्यवसाय प्रमुख रवीन्द्र पाण्डेले भने । इलामको सूर्योदय–१, माइजोगमाई–१ र झापाको मेचीनगर–५ मा संस्थाले तीनवटा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको छ । इलाममा उत्पादित चियालाई उपभोक्ताले रुचाएकाले त्यहाँ उत्पादित हरियोपत्ती संस्थाले खरिद गर्दै आएको छ । संस्थामा तीन सय ५० जना चिया किसान आबद्ध रहेका र चिया व्यवसायमा १३ करोड रुपैयाँ लगानी भएको उनले बताए । संस्थाको चिया व्यवसायमा ५२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । संस्थाले ‘एनएमसी’ ब्रान्डमा ब्ल्याक टी, अर्थोडक्स टी र ग्रीन टी उत्पादन गर्दै आएको छ । उत्पादित चियामध्ये १० प्रतिशत स्वदेशमा खपत हुने र बाँकी निर्यात हुँदै आएको जानकारी उनले दिए । बचत तथा ऋण कारोबार, कृषि फार्म, डेरी उद्योग र सहकारी ‘सुपर मार्केट’ सञ्चालन गरिरहेको उक्त संस्थाले किसानबाट सोझै चियापत्ती खरिद गरेपछि उनीहरू लाभान्वित भएका छन् । उनीहरूले अघिल्लो महिनाको भुक्तानी सहज रूपमा हरेक महिनाको १५ गते पाउने गरेका छन् । रासस
जटिल रोग लागेकालाई लुम्बिनी सरकारको दुई लाख सहयोग
लुम्बिनी । लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संशोधन २०८१) कार्यान्वयनमा आएको छ । निर्देशिका अनुसार जटिल रोग लागेका बिरामीले अब दुई लाख रुपैयाँ आर्थिक सहयोग पाउने छन् । प्रदेशका १२ जिल्लाका स्वास्थ्य कार्यालयमार्फत मुटुको भल्व फेर्ने, क्यान्सर उपचार र मिर्गौला प्रत्यारोपण गर्ने बिरामीलाई दृष्टिगत गरी संशोधित निर्देशिका कार्यान्वयनमा आएको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले एउटा सिफारिस बनाउनकै लागि स्वास्थ्य सेवा निर्देशनालय धाउनुपर्ने बाध्यताको अन्त्य गरिएको र यसबाट बिरामी र उनीहरुका परिवारका सदस्यहरुलाई सहज भएको बताए। यसअघि प्रदेश स्वास्थ्य सेवा निर्देशनालयबाट उपचार सुविधाको सिफारिस हुँदै आएको थियो । अबदेखि सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयबाट सिफारिस गर्ने व्यवस्था मिलाइएको प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले बताए । लुम्बिनी प्रदेश सरकारले मुटुको भल्ब फेर्न, क्यान्सरको उपचार र मिर्गौला प्रत्यारोपणका लागि एक जना बिरामीलाई दुई लाख रुपैयाँको व्यवस्था गरेको छ ।
गाउँकै अगुवा किसान : पहिले एफएम सुनाउथे, अहिले तरकारी खुवाउँछन्
दैलेख । नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ का नगेन्द्र खड्का ५० वर्ष पुगे । गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक पाँच-छ लाख रूपैयाँसम्म आम्दानी गर्छन् । खड्काले छ रोपनीमा व्यावसायिक सागसब्जी खेती गरेका छन् । छोरा सागरको नाममा ‘सागर कृषि तथा पशुपक्षी फार्म’ दर्ता गरी गाउँमै व्यावसायिक सागसब्जी लगाएका छन् । कलाकार पशुपति शर्मा र सीता केसीले गाएको गीत ‘मलाई अमेरिका यही, मलाई जापान पनि यही’ जस्तै भएको छ, खड्कालाई । उनले हाँस्दै भने, ‘ती कलाकारले मेरा लागि गीत गाएका हुन् कि क्या हो ?’ गाउँका अधिकांश पुरुष रोजगारीका लागि मुग्लान र खाडी मुलुकमा गए पनि उनले गाउँमा नै तरकारी व्यवसाय गरेर आम्दानी गरेका छन् । संकलन केन्द्र नहुँदा समस्या पालिकामा तरकारी संकलन केन्द्र नहुँदा डोकोमा तरकारी बोकेर बिक्रीका लागि जम्बुकाँध बजार धाउनु उनको दिनचर्या नै बनेको छ । बजारमा पाइला टेक्नेबित्तिकै उनी ‘गाउँले एफएम दाइको, गाउँले तरकारी आयो है…’ भन्दै बजार–बजार डुल्दै चिच्याउँछन् ठट्यौली शैलीमा । दिनरात तरकारीबारीमा खटिएर उब्जाएको तरकारी बेच्न वरपर ठूलो बजार छैन । डौंसुर, बिन्द्रासैनी, जम्बुकाँधलगायत स्थानीय बजारका खुद्रा पसलमा डोकोमा तरकारी बोकेर पुर्याउँछन् । ‘एकपटक ५५ केजी लिएर गएको रहेछु, बिक्रीपछि मात्र थाहा भयो,’ उनी भन्छन्, ‘बुुढो मुन्छे, डोको बोक्दा–बोक्दा थाप्लोका रौं गइसके । केटाकेटीले बोकेर लगिदिन्नन्, क्यार्नु !’ श्रीमती (खजुरा)ले दुई भैंसी, एक हल गोरु र केही बाख्रा पालेर सघाएकी छन् । चार सन्तानमध्ये जेठी छोरीको विवाह भइसक्यो । जेठाले १२ पास गरेर गाउँमै व्यापार गरिबसेका छन् । एक छोराले भर्खरै १८ महिने भेटेनरी कोर्ष पूरा गरे, एक छोरीले १२ कक्षा पास गरेकी छन् । ‘छोराछोरीलाई यतिसम्मको शिक्षादीक्षा मैले तरकारी बेचेरै दिएको छु,’ उनले भने । ‘गाउँले एफएम दाइ’ वि.सं. २०५८ तिर, डौंसुरमा खड्का सानो खुद्रा पसल थियो । पसलमा रेडियोबाट दैनिक समाचार सुन्नु र पसलमा सामान किन्न आएका मानिसलाई समाचार सुनाउनु उनको दैनिकजस्तै थियो । त्यतिबेला माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा थियो । समाचारप्रति स्थानीयको चासो बढी थियो । रेडियो नेपाल, माओवादीले सञ्चालन गरेको रेडियो, नेपालगञ्जको वागीश्वरी एफएम, कैलाली टीकापुरको फूलबारी एफएम आदिबाट बज्ने समाचार गाउँलाई चर्को ‘भोल्युम’मा सुनाउने गरेको उनका छिमेकीहरु बताउँछन् । आज यो ठाउँमा यस्तो भीडन्त भयो, यति जनाको मृत्यु भयो, यति जना घाइते भए भनेर सबैलाई भन्थे । त्यहीबेला माओवादीकै ‘रिवल’ले उनको नाम ‘गाउँले एफएम दाइ’ भनेर राखिदिए । त्यतिबेलादेखि उनी ‘एफएम दाइ’ नामले परिचित छन् । लोकगीत र देउडामा रुचि उत्तिकै छ उनमा । ‘वि.सं. २०४३ मा रेडियो नेपालबाट चौतारी कार्यक्रम आउँथ्यो, त्यहाँ अहिलेका इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलसमेत ठाडीभाका गाउँथे । त्यही बेलादेखि मेरो रेडियोतर्फ र गीत–संगीततर्फ लगाव रह्यो,’ उनी भन्छन् । केही वर्षअघिसम्म दैलेख, सुर्खेतबाट प्रसारण हुने धेरैजसो रेडियो कार्यक्रममा बोल्ने, गाउने गर्थे । गाउँले लबज र प्रष्ट आवाजमा गीत गाउने उनी स्रोतामाझ ‘नगेन्द्र खड्का गाउँले एफएम’ नामले चर्चित छन् । अझै पनि उनको घरको बाहिर रेडियो झुन्डिएको हुन्छ । रेडियो सुन्दै बारीमा काम गर्छन् । कुनै बेला रेडियोप्रेमी खड्का हिजोआज टिकटकतिर मोडिएका छन् । कृषिबारे जानकारीमूलक भिडियोे बनाएर टिकटकमा सेयर गर्छन् । उम्मेदवारलाई सिमी र टमाटरको माला बजारको माग बुझेर उत्पादन गर्दा आम्दानी आइहाल्छ । नत्र त्यत्तिकै तरकारी खेर जाने उनको भनाइ छ । विगत सम्झँदै खड्काले भने, ‘वि.सं. २०७९ वैशाखमा मंसिरमा आमचुनाव हुन्छ । चुनावको प्रचारमा आउने कार्यकर्ताले तरकारी किन्छन् भनेर बारीमा तरकारी लगाएँ । मंसिरमा मात्रै २० हजार बराबरको सिमी बिक्री भयो । निर्वाचनको अवधिमा छ क्विन्टल त बन्दा बेचेँ ।’ उम्मेदवारलाई आफूले उत्पादन गरेको सिमी र टमाटरको मालासमेत लगाइदिएको उनले जानकारी दिए । सिमी, काँक्रा, चिचिन्डोलगायत बीउ खड्का आफैं उत्पादन गर्छन् । ‘हाइब्रिड जातको बीउ भने पसलबाट खरिद गर्छु । वि.सं. २०८० फागुन–चैतमा मात्र रु २५ हजार बराबरको चिचिन्डोका बेर्ना बिक्री गरें’, उनले भने, ‘म तरकारी कहिले बिक्री हुन्छ भन्ने बुझेर उत्पादन गर्छु, यसपालि दुई सय बोट काउली र त्यही अनुपातमा बन्दा लगाएको छु, राम्रै फलेको छ ।’ ठूला दुईवटा टनेलमा छ क्विन्टलजति गोलभेंडा तयार छन् । एउटा बोटमा तीन–चार केजीसम्म गोलभेंडा फलेको खड्काले जानकारी दिए । उनले भने, ‘भर्खरै मात्र दुई हजार पाँच रुपैयाँमा टमाटर बेचेर आएँ । अग्र्यानिक टमाटर हो यो, ६० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।’ कृषिसम्बन्धी तालिम लिएका खड्का घरमै कीटनाशक औषधि बनाउँछन् । मैले अहिलेसम्म तरकारीमा विषादी हालेको छैन । उनले भने, ‘अग्र्यानिक मल नै फालाफाल छ । बजारिया मल किन किन्नु, माटो बिगार्छ ।’ परम्परागत रूपमा खेती गर्दै आएका खड्काले अहिलेसम्म गैरसरकारी संघसंस्थाको सहयोग पाए पनि राज्यबाट कुनै अनुदान नपाएको बताए । तरकारीखेतीका लागि खड्कालाई सिँचाइको समस्या छ । एकपटक सेवक नामक संस्थाले उनलाई पाल दिएको थियो । पालको छानो राखी उनले बारीनजिकै पोखरी बताएका छन् । वरपर पानीको ठूलो मुहान नभएकाले सिँचाइको समस्या अझै छ । कक्षा ३ सम्म अध्ययन गरेका नगेन्द्र गाउँका अन्य किसानलाई तरकारी कसरी लगाउने ज्ञान बाँड्छन् । खड्का चामुन्डाविन्द्रासैनी नगरपालिकाबाट पुरस्कृत पनि भएका छन् । रासस
काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प
काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्प गएको छ । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर गएराति पौने ११ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको छ । भूकम्पको झड्का सानो भएकाले यसले क्षति भने पुर्याएको विवरण छैन ।
पर्साको पोखरिया अस्पताल ५० शैयामा स्तरोन्नति हुँदै
वीरगञ्ज । सरकारले पर्साको पोखरिया अस्पताललाई ५० शैयामा स्तरोन्नति गरेर प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ । सङ्घीय मन्त्रिपरिषद्को बिहीबारको बैठकले १५ शैयाको उक्त अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले बिहीबारको मन्त्रिपरिषद्को बैठकले १५ शैयायुक्त पोखरिया जिल्ला अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल घोषणा गर्ने निर्णय गरेको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । वर्षौंदेखिको प्रयास र जनताको माग पूरा हुन लागेको उल्लेख गर्दै उनले अस्पताल स्तरोन्नतिको निर्णयबाट पोखरियाका लागि मात्र नभएर मधेस प्रदेशको स्वास्थ्य सेवामा नयाँ आयाम थपिने विश्वास व्यक्त गरेका छन् ।