विकासन्युज

५० औं वर्षमा प्रवेश गर्‍यो हिट्को प्रालि, इभीका लागि पनि आवश्यक सामग्री उपलब्ध गराउँदै

काठमाडौं । हिट्को प्रालि ५०औं वर्षमा प्रवेश गरेको छ । विसं २०३२ को मंसिर ७ गते स्थापना भएको हिट्को प्रालि ४९ वर्ष पुरा भएर ५० वर्षमा प्रवेश गरेको हिट्को प्रालिका म्यानेजिङ डाइरेक्टर प्रदिपमान प्रधानले जानकारी दिए । हिट्कोले सेल्स सर्भिसका लागि आवश्यक उपकरण उपलब्ध गराउँदै आएकाे छ । कम्पनील हाल टु ह्विलर, फोर ह्विलर, ट्रयाक्टर, हेभी इक्विपमेन्ट मर्मतका लागि आवश्यक टुल्स, पार्ट्सजस्ता उपकरण उपलब्ध गराउँदै आएको छ । त्यसैगरी, उद्योगका लागि एयर कम्प्रेसर र मेटरियल ह्यान्डलिङ उपकरण पनि उपलब्ध गराएकाे छ । हिट्कोले पछिल्लो समयमा इलेक्ट्रिक गाडीको सर्भिस सेन्टर निर्माणका लागि आवश्यक उपकरणसमेत उपलब्ध गराउँदै आएको प्रधानले बताए । उसले बीवाईडी, नेटा, एमजी, हुन्डाई, एसआरएम, एमएडब्लु आदिसँग सहकार्य गरिरहेको छ । सरकारी निर्माण कार्यमा प्रयोग हुने आवश्यक उपकरण आपूर्ति गर्ने उद्देश्यका साथ हिट्को प्रालिको स्थापना भएकाे भए पनि यसले अन्य प्रकारका उपकरणसमेत आयात गर्न थालेकाे थियाे । हिट्कोले सिजफायर ब्रान्डका फायर एक्स्टिङग्विसर पनि उपलब्ध गराइरहेको छ । पछिल्लो समय अटोबजार इलेक्ट्रिक भेइकलमा सिफ्ट भएसँगै कम्पनीले ईभीकै लागि भनेर विशेष प्रकारका उपकरण र अन्य सामग्रीको उत्पादनसमेत गरिरहेको छ । प्रदिपमान प्रधानका बुवा अक्षतमान प्रधानले कम्पनीको स्थापना गरेका थिए ।

एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ, एक लाख मानिस उपस्थिति गराउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को शुक्रबार काठमाडौंमा हुन लागेको जागरणसभाको र्‍याली भद्रकालीबाट प्रारम्भ भएको छ । भद्रकालीबाट सुरु भएको र्‍याली शहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरणसभामा परिणत हुने कार्यक्रम छ । कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्नेछन् । एमाले अध्यक्ष ओली कार्यक्रम स्थलमा दिउँसो १ः३० बजे पुग्ने कार्यक्रम रहेको छ । र्‍यालीको नेतृत्व नेकपा (एमाले) वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले गरेका छन् । जागरणसभाको संयोजकको जिम्मेवारी पाएका एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा राजन भट्टराई पार्टी कामको सिलसिलामा देश बाहिर जानु परेकाले जिम्मेवारी ढुङ्गेलले सम्हालेका हुन् । र्‍यालीमा बाजागाजासहित पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरू छन् । एमालेले आजको सभामा एक लाखभन्दा बढीको मानिस उपस्थिति गराउने लक्ष्य लिएको छ ।

ठगीको आरोप लागेसँगै धनीको सूचीबाट तल झरे अडानी, एकैदिन घट्यो १२.१ बिलियन डलर सम्पत्ति

काठमाडौं । ठगी र घुसखोरीको आरोप लागेसँगै अडानी समूहका अध्यक्ष गौतम अडानी धनीको सूचीबाट तल झरेका छन् । बिहीबार अमेरिकी अदालतले भारतको दोस्रो धनी व्यापारीसमेत रहेका अडानीविरुद्ध ठगी र घुसखोरीको मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि उनको सेयरमा भारी गिरावट आएको थियो । उक्त गिरावटसँगै उनी फोर्ब्सको रियल टाइम नेटवर्थ लिस्टमा तल आएका हुन्। अमेरिकी अदालतको आदेशपछि अडानीकाे कम्पनीको मार्केट क्याप ३.२ लाख करोड रुपैयाँभन्दा बढीले घटेको थियो । जसका कारण अडानीको नेटवर्थ पनि घटेको हो । कति घट्यो सम्पत्ति ? फोर्ब्सका अनुसार अदानीको सम्पत्ति एक दिनमा १७.३४ प्रतिशतले घटेको छ । अर्थात् अडानीको सम्पत्ति एक दिनमा १२.१ बिलियन डलरले घटेर ५७.७ बिलियन डलरमा पुगेको छ । सम्पत्तिमा आएको गिरावटका कारण अडानी फोर्ब्सको अर्बपतिको सूचीमा धेरै स्थान तल झरे । फोर्ब्सको रियल टाइम अर्बपतिहरूको सूचीमा अडानी २२ औं स्थानबाट २५ औं स्थानमा झरेका छन् । ब्लुमबर्ग बिलियनेयर इन्डेक्समा अडानी विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीमा १८ औं स्थानमा छन् । यस सूचीअनुसार अडानीको सम्पत्ति ८५.५ बिलियन डलर छ । अडानी समूहको स्पष्टीकरण यो कुरा बाहिर आएपछि अडानी समूहले बिहीबार नै स्पष्टीकरण दिएको छ । अडानी ग्रीनका निर्देशकहरू विरुद्ध लगाएको घुसखोरीको आरोप निराधार भएको समूहले विज्ञप्ति जारी गर्दै बताएकाे छ । विज्ञप्तिमा अमेरिकी न्याय विभागले भर्खरै आरोप दायर गरेको र दोषी प्रमाणित नभएसम्म प्रतिवादीहरू निर्दोष मानिने उल्लेख गरिएको छ । यस विषयमा सम्भावित सबै कानुनी उपायहरू अवलम्बन गरिने पनि उल्लेख गरिएको छ । के हो विषय ? अडानी र उनका भतिजासहित कुल ८ जनामाथि अमेरिकी अभियोजनकर्ताले घुस लिएको आरोप लगाएका छन् । अभियोजकहरूका अनुसार सौर्य ऊर्जाको ठेक्का लिनका लागि भारतीय सरकारी अधिकारीहरूलाई २६५ मिलियन डलर घुस दिएको आरोप छ । यस मामिलामा अदालतले अडानी र उनका भतिजा विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । २०२३ को सुरुमा हिन्डनबर्ग रिसर्चको रिपोर्ट आएपछि पनि अडानीको सेयर घटेको थियो । आजको गिरावट त्यसपछिको सबैभन्दा ठूलो गिरावट हो । (एजेन्सीहरूको सहयोगमा) यो पनि पढ्नूहोस् : अडानीविरुद्ध अमेरिकामा पक्राउ पूर्जी, अर्बौं डलर ठगीको आरोप

बीवाईडीको ३० औं वार्षिकोत्सवको दिनमा नेपालभर १०० युनिट डेलिभरी

काठमाडौं । बीवाईडीको लागि नेपालको आधिकारिक विक्रेता साइमेक्स इन्कले बीवाईडीको ३०औं वार्षिकोत्सव र १ करोडौं एनईभी विश्वव्यापी उत्पादनको अवसरमा नेपालभर १०० विद्युतीय गाडी डेलिभरी गरेकाे छ । यसले नेपाललाई दिगो यातायाततर्फ उन्मुख गराउने प्रयासलाई अझ बलियो बनाउँदै विश्वव्यापी अटोमोटिभ इन्डस्ट्रीमा भएको क्रान्तिकारी नेतृत्व र नेपालमा यसको बढ्दो प्रभावलाई झल्काउँछ । साइमेक्स इन्कले बीवाईडी अटो ३, बीवाईडी डल्फिन, बीवाईडी सीलजस्ता मोडलहरू प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । यी गाडीहरूमा अत्याधुनिक ब्लेड ब्याट्री प्रविधि, सुरक्षाको उच्च स्तर र उत्कृष्ट प्रदर्शनको कारणले नेपाली ग्राहकहरूको रोजाइमा परेका छन् । विश्वव्यापी रूपमा बीवाईडी १ करोड एनइभी उत्पादन गर्ने पहिलो गाडी निर्मातासमेत बनेको छ । ३० वर्ष पहिले २० कर्मचारीबाट सुरुवात भएको कम्पनी हाल विश्वभर करिव १० लाख कर्मचारी सहितको बहुराष्ट्रिय कम्पनीमा रूपान्तरण भएको छ । बीवाईडीले ५० लाख एनईभी उत्पादन गर्न १५ वर्षको समय लगाएको थियो । तर अर्को ५० लाख सवारीसाधन उत्पादनको लक्ष्य भने १५ महिनामै हासिल गर्न सफल भएको छ । बीवाईडीको स्थापना सन् १९९५ फेब्रुअरीमा भएको थियो । सुरुमा बीवाईडी रिचार्जेबल ब्याट्री उत्पादनमा केन्द्रित थियो । सन् १९९८ मा यो विश्वकै दोस्रो ठूलो ब्याट्री उत्पादक कम्पनी बन्यो । बीवाईडी मोटोरोला र नोकियालाई ब्याट्री उपलब्ध गराउने प्रमुख कम्पनी बन्यो । सन् २००३ मा जियान क्विनचुआन अटोमोटिभलाई प्राप्ति गरेर इन्धनबाट चल्ने सवारीसाधन उत्पादनका साथ बीवाईडी अटोमोटिभ इन्डष्ट्रीमा प्रवेश गरेको थियो ।

१२ वटा हवाई कम्पनीले बुझाए मन्त्रालयलाई हवाई भाडादरको विवरण

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने १२ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएका छन् । मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार अन्तर्राष्ट्रिय उडानमा कृत्रिम अभाव सिर्जना गरी यात्रुलाई दुःख दिएको गुनासो बढेपछि पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र भाडादर उपलब्ध गराउन बुधबार निर्देशन दिएको थियो । त्यहीँ निर्देशनबमोजिम एयरलाइन्सले हिजो बिहीबार मन्त्रालयलाई भाडादरसहित विवरण बुझाएका हुन् । प्रवक्ता रामकृष्ण लामिछाने भने, ‘हवाई भाडा महँगिएको थियो । यसलाई हामीले सहजै बनाउनुपर्छ भन्ने गुनासो आउन थाले । त्यसपछि पहलका लागि भाडादरको विवरण हामीले मागेका हौं ।’ विवरण बुझाउने एयरलाइन्समा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), कतार एयरवेज, सिङ्गापुर एयरलाइन्स, फ्लाइ दुबई, इण्डिगो एयरलाइन्स, एयर अरेबिया, टर्किस एयरलाइन्स, कोरियन एयरलाइन्स, सिचुवान एयरलाइन्स, मलेसियन एयरलाइन्स र जजिरा एयर रहेका प्रवक्ता लामिछाले जानकारी दिए । यसैबीच, अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यदल गठन गरेको समेत उनले बताए ।

संयुक्त लगानीको कम्पनीमा हजार कित्ताभन्दा कम सेयर भर्न नपाइने, यस्तो छ सेबोनको नयाँ व्यवस्था

काठमाडाैं । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका संशोधन गरेको छ । बोर्डले निर्देशिका संशोधन गर्दै संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको निष्कासन गरिने सेयरको सीमा एक हजारभन्दा बढी कायम गरेको छ । ‘संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको निष्कासन गरिने सेयरको दरखास्त दिन सकिने न्यूनतम सीमा एक हजार कित्ता र अधिकतम सोको गुणांकमा हुने गरी व्यवस्था गर्नु पर्नेछ,’ निर्देशिकामा भनिएको छ । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनी भन्नाले नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनी हो । सेबोनका प्रवक्ता नवराज अधिकारीले अन्य कम्पनीको सेयरको सीमा एथावत रहेपनि गैर आवासिय नेपालीहरूले लगानी गरेका कम्पनीहरुमा भने यो व्यवस्था गरेको जानकारी दिए । निर्देशिकामा संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको सेयर निष्कासनको लागि दरखास्त दिन सकिने अधिकतम सीमा विवरणपत्रमा उल्लेख भए बमोजिम हुने उल्लेख गरेको छ । यस्तै, संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको सेयर खरिदको लागि दरखास्त आह्वान गर्दा प्रति सेयर अङ्कित मूल्यको शत प्रतिशत बराबरको रकम दरखास्त साथ माग गर्नुपर्ने उल्लेख छ । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले निष्कासन गरेको सेयर बाडँफाँड भएको मितिले एक वर्षको अवधि पूरा नभई खरिद बिक्री गर्न नपाइने निर्देशिकामा उल्लेख छ । तर, संस्थापक सेयरको हकमा नियमावलीको नियम ३८ को उपनियम (१) बमोजिम हुने उल्लेख छ । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको सेयरधनीको हकप्रद सेयरको हक हस्तान्तरण गर्नुपर्ने भएमा गैरआवासीय नेपालीबीच मात्र हक हस्तान्तरण गर्नु पर्ने व्यवस्था गरेको छ । उपदफा (१) बमोजिम हक हस्तान्तरण गर्दा सेयरको खरिद बिक्री बन्देज अवधि (लकइन पिरियड) नसकिएको भएमा हस्तान्तरण भई जाने सेयरसमेत लकइनमा नै रहने निर्देशिकामा उल्लेख छ । [pdf id=524078]

सरकारको नेतृत्व गरिरहेको पार्टीकै कारण सडक अस्तव्यस्त, जनतालाई दुःख

काठमाडौं । सत्तारूढ नेकपा एमालेको कारण शुक्रबार उपत्यकाको सवारीसाधन आवागमन ठप्प भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पार्टीकै कारण आज काठमाडौं उपत्यकाका सडक अस्तव्यस्त बनेका हुन् । शुक्रबार काठमाडौंका अधिकांश सडकहरू ट्राफिक जाममा छन् । सवारीसाधनको आवतजावत ठप्प हुँदा कामका लागि घरबाहिर निस्केका सर्वसाधारणले दुःख पाएका छन् । एमालेले शुक्रबार काठमाडौंको दरबारमार्गमा सभा गर्दै छ । जनसभालाई आज दिउँसो साढे एक बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्दैछन् । सभाअघि एमालेले काठमाडौंको भद्रकालीबाट र्‍याली निकाल्ने तयारी गरिरहेको छ । र्‍याली सुन्धारा, रत्नपार्क हुँदै दरबारमार्ग पुगेर सभामा परिणत हुने जानकारी छ । एमालेले यसलाई जागरणसभाको उपमा दिएको छ । एमालेले नेतृत्व गरेको वर्तमान सरकारले गरेका कामको प्रचार र भ्रमलाई चिर्ने उद्देश्यले जागरण सभा आयोजना गर्न लागेको एमाले पार्टीको अनुशासन आयोगका संयोजक केशब बडालले बताए । यो सभालाई एमालेको शक्ति प्रदर्शनको रूपमा पनि हेरिएको छ । सरकारको नेतृत्व गरिरहेको पार्टी सत्तामा रहेर नीति निर्माण गर्ने र कार्यान्वयन गर्ने भूमिका निर्वाह गर्नु पर्नेमा सडकमा शक्ति प्रदर्शन गरेर अराजकता सुरु गरेको भनेर आलोचना पनि भइरहेको छ । सरकारको नेतृत्व गरिरहेकै पार्टीले सडकमा आन्दोलन गर्नुलाई लोकतान्त्रिक मूल्य मान्यताहरूमाथि पनि गम्भीर प्रश्न उठ्ने जानकारहरू बताउँछन् । सरकारको नेतृत्व गरिरहेकै पार्टीले सडकमा शक्ति प्रदर्शनको विकल्प खोज्नुलाई धेरै संशयमात्र मानेका छैनन्, ओली नेतृत्वको सरकार आफ्नै संयन्त्रप्रति असन्तुष्ट रहेको संकेत पनि दिन्छ । एमालेका कारण उपत्यका ट्राफिक अस्तव्यस्त भएको हुनाले ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सवारी रुट सार्वजनिक गरेको छ ।दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  

एमाले जागरणसभाका लागि र्‍याली सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को शुक्रबार दरबारमार्गमा हुने जागरणसभाका लागि तयारी पूरा भएको छ । जागरणसभाका लागि केहीबेरमा भद्रकालीबाट र्‍याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । एमालेको जागरणसभाका काठमाडौं, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तयारी रहेको छ । एमाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा जागरणसभाको कार्यक्रम हुँदैछ । कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले उक्त जागरणसभा आयोजना गर्न लागिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।