बगेर खेर गइरहेछ भोटको नुन, सङ्कलन गर्ने संरचना बेवारिसे
काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्थे । ‘मुस्ताङमात्र नभएर यो खानीको नुन म्याग्दी, पर्वत, बागलुङमा भोटको नुनले परिचित थियो, आयोडिन मिसाएको नुन आउन थालेपछि हाम्रो खानीको नुन नर्साङखोलामा बगेर खेर गइरहेको छ,’ उनले भने । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा पर्ने नुनखानी उपभोग हुनसकेको छैन । कुनै समय ‘भोटको नुन’का रूपमा चिनने यहाँको खानी बेवारिसे बनेको छ । तेताङगाउँबाट नर्साङ खोलैखोला करिब एक घण्टा पैदलयात्रा गरेपछि नुनखानीमा पुगिन्छ । अग्ला पहाडको फेदीमा नुनिलो पानी निस्कने चारवटा मुहान छन् । प्रयोग हुन नसक्दा मुहानबाट निस्कने नुनिलो पानी नर्साङखोलामा बगेर खेर गइरहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का वडासदस्य तथा तेताङका बासिन्दा धवा गुरुङले बताए । गुरुङका अनुसार आयातित नुनको सहज उपलब्धतासँगै यहाँको खानी तीन दशकयता उत्खनन भएको छैन । ‘पहिले तेताङका बासिन्दा तीन महिनासम्म खानीमै बसेर वर्षमा ६०/७० मुरी नुन निकाल्ने गर्दथे,’ उनले भने, ‘अहिले नुन निकाल्ने मान्छे पनि छैनन् । बाटो नभएकाले त्यहाँ पुग्न पनि गाह्रो छ ।’ स्थानीयवासीले परम्परागत प्रविधि अपनाएर नुनीलो पानीलाई सुकाएर ढिक्के नुन उत्पादन गर्दथे । नुनिलो पानीलाई कुण्डमा सङ्कलन गरी घाममा सुकाएर नुन बनाउने गरिएको थियो । मुहानबाट पाइपमार्फत कुण्डमा नुनिलो पानी ल्याएर सङ्कलन गर्ने संरचनाहरू अझै छन् । पहिले खाली जमिनमा सुकाइने नुनिलो पानी पछिल्लो समय त्रिपाल र प्लाष्टिकमाथि जम्मा गर्न थालिएको थियो । उत्खनन हुन छाडेपछि नाउर, झारल, घोरललगायत वन्यजन्तु नुन खानका लागि खानीमा आउने गर्छन् । नुनखानी हेर्न जानेहरूले वरपर जङ्गली जनावर देखिने बताउँछन् । घुम्न गएका पर्यटकले नुनिलो पानीलाई बोतलमा हालेर प्रसादका रूपमा घरमा लैजाने गर्छन् । बर्खामा नर्साङखोलामा बाढी आउने र हिउँदमा हिउँ पर्ने भएकाले वैशाख, जेठ र असारमा खानीमै बसेर नुन निकाल्ने गरिएको तेताङका बूढापाका बताउँछन् । राणा शासनकालमा थासाङ गाउँपालिका–१ टुकुचेका तत्कालीन सुब्बा शङ्करमान शेरचनलाई नुन उत्खननको जिम्मा दिइएको थियो । शेरचन र उनका सन्तानहरू बसाइँ सरेर काठमाडौं गएपछि खानी उत्खनन हुन छाडेको हो । म्याग्दी, बागलुङ र पर्वतका बासिन्दा हप्तौँ पैदलयात्रा गरेर मुस्ताङमा नुन लिन जाने गर्दथे । बेनी नगरपालिका–५ का केदार पौडेलले मुस्ताङ गएर चामलसँग साटेर नुन ल्याउने गरेको सम्झन्छन् । ‘मुस्ताङमा धानखेती नहुने भएकाले हामीले यताबाट चामल बोकेर लैजाथ्यौँ र एक पाथी चामलको एक पाथी नुन ल्याएर आउथ्यौँ,’ ७० वर्षीय पौडेलले भने, ‘पछि पुतलीखेतमा गाडी आएपछि नुन ल्याउन मुस्ताङ जान छाडियो । अहिले त आयोडिनयुक्त नुन गाडीले गाउँगाउँमै ल्याउँछ ।’ गाउँघरमा बूढापाकाहरूले भोटको नुन ल्याउन थाकखोला जाँदाको अनुभव सुनाउने गर्छन् । भोटको नुन अहिले एकादेशको कथामा सीमित भएको छ । जोमसोमबाठ तल पर्ने थकाली समुदायको बसोबास भएको बस्तीलाई थाकखोला भन्ने गरिन्छ । नुनको माग रहेको बेला तेताङका धेरैले रोजगारी पाएका थिए । रोजगारीसँगै पैसा तिरेर महँगोमा नुन खान नपरे आफूहरूलाई ठीक हुने स्थानीयवासीको माग छ । विसं २०७७ मा खानी तथा भूगर्भ विभागका प्राविधिक इन्जिनियरसहितको टोलीले यस क्षेत्रमा स्थलगत रूपमा नुन खानीको अध्ययन गरेको थियो । टोलीले यो खानीको नुनमा ७०.२८ प्रतिशत देखि ९३.७ प्रतिशतसम्म सोडियम क्लोराइड रहेको र यहाँको नुन खान योग्य भएको पुष्टि गरेको थियो । जोमसोम देखि ३० किलोमिटर टाढा छुसाङको तेताङ नजिकैको नर्साङखोला आसपासको दुई किलोमिटर क्षेत्रफलमा नुनको भण्डार रहेको विभागको अध्ययन प्रतिवेदनमा उल्लेख छ । तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री सोमप्रसाद पाण्डे आफैँ नुनखानीको अनुगमन गर्न आएका थिए । पूर्वप्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनका अनुसार मुस्ताङको नुनलाई ‘हिमालयन साल्ट’का रूपमा ब्राण्डिङ गरेर बिक्री गर्ने लक्ष्यसहित २०७७ सालमा खानी तथा भूगर्भ विभागले नुनखानी उत्खननका लागि प्रस्ताव आह्वान गरेको थियो । विभागका अनुसार नुनखानी उत्खनन गर्न कुनै पनि कम्पनीले प्रस्ताव गरेनन् । निजी क्षेत्रले चासो नदेखाएपछि नुनखानी उत्खननको विषय ओझेल परेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का वडाध्यक्ष विनोद गुरुङले बताए । ‘भूगोल हाम्रो भए पनि खानी उत्खनन गर्ने सामथ्र्य र अधिकार गाउँपालिका वडालाई छैन, खानीलाई संरक्षण गरेर पर्यटकीयस्थल बनाउन सकिन्छ । त्यसका लागि बाटोको समस्या छ,’ उनले भने । सडकमार्गको पहुँच र नुनखानी रहेको पहाडबाट बग्ने नुनिलो पानीलाई पाइप लाइनमार्फत सहज ठाउँमा ल्याएर उत्पादन गर्न सकिने सम्भावना छ । परम्परागत रूपमा विगतमा नुनको उत्खनन भए पनि त्यसलाई आधुनिक तरिकाले गर्न आवश्यक छ । उत्खनन भएको नुनलाई आयोडिन मिसाएर प्रयोगयोग्य बनाउन सकिन्छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले नुनखानी भएको ठाउँलाई तेताङ र छुसाङका बासिन्दाहरूको आफ्नो भूगोलमा पर्ने दाबी गर्दा विवाद भएको र व्यक्तिगत जग्गामा खानी भएकाले त्यसका लागि सरकारले नीतिगत निर्णय गर्नुपर्ने बताए । यसअघि गाउँपालिकाले २०७५ सालमा नुनखानीबाट निस्कने नुनिलो पानी सङ्कलन गर्ने तीनवटा पोखरी बनाएको थियो । गाउँपालिकाले बनाएको उक्त अस्थायी संरचना नर्साङखोलाको बाढीले क्षति पुर्याएको छ । मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले खानी रहेको ठाउँको जग्गा व्यक्तिको स्वामित्वमा रहेकाले त्यहाँ सरकारी निकायबाट पूर्वाधार बनाउन नीतिगत समस्या हुने भएकाले अलमल रहेको बताए । मुस्ताङमा नुनको मात्र नभएर युरेनियम, कोइला र ग्यासको खानी छ । मुक्तिनाथ मन्दिर परिसरमा ग्यासको खानी भएकाले त्यहाँ निरन्तर बलिरहने ज्वाला छ । खानी तथा भूगर्भ विभागले २०७०/७१ सालमा गरेको प्रारम्भिक अन्वेषणमा लोमान्थाङ क्षेत्रमा १० किमी लम्बाइ र तीन किमी चौडाइमा युरेनियम भेटिएको थियो । युरेनियनको खानीको संरक्षण र सुरक्षाका लागि लोमान्थाङको लुङखुफाँटमा नेपाली सेनाको क्याम्प राखिएको छ । युरेनियमलाई इन्धन र परमाणु हतियार निर्माणका लागि कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिन्छ । जोमसोम नजिकैको ठिनी लेकमा कोइला खानी छ । मुस्ताङमा रहेका खानीको व्यवस्थित हिसाबले उत्खनन र संरक्षण गर्न सकेमा रोजगारी सृर्जना, आयात घटाउन र देशको अर्थतन्त्रमा योगदान पुग्ने देखिन्छ ।
अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने, मूल्य ३५१.९३ रुपैयाँ
काठमाडौं । नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा नेपालमा खरिद बिक्री हुने जनाएको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको जनाएको छ । विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराईका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी उक्त मुद्रालाई नेपालमा कारोबारका लागि थप गरिएको छ । हाल नेपालभर विभिन्न २१ वटा विदेशी मुद्राको खरिद बिक्री हुँदै आएको छ । ओमानी रियालको खरिद बिक्री सुरु भएपछि वैदेशिक रोजगारीका लागि ओमान पुगेको नेपाली नागरिकका लागि थप सहज हुने बताइएको छ । राष्ट्र बैंकले शुक्रबार उक्त मुद्राको खरिद मूल्य ३५०.३७ रुपैयाँ र बिक्री मूल्य मूल्य ३५१.९३ रुपैयाँ तोकेको छ ।
कोशी, बागमती, गण्डकी र कर्णालीमा वर्षा र हिमपात हुने, बाँकी भागमा मौसम सफा
काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी,बागमती गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/ई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
नेप्सेले सार्वजनिक गर्याे कारोबार योग्य ११२ कम्पनी (सूचीसहित)
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कारोबार योग्य कम्पनीको सूची सार्वजनिक गरेको छ । नेप्सेले पहिलोपटक धितोपत्र व्यापारी (स्टक डिलर)का लागि कारोबार योग्य ११२ कम्पनीको सूची सार्वजनिक गरेको हो । धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३ (२) बमोजिम योग्य कम्पनीहरूको सूची सार्वजनिक गरेको नेप्सेले जनाएको छ । कारोबार योग्य कम्पनीहरू दफा ३(३) बमोजिम आर्थिक वर्ष २०८१/८२ का लागि अद्यवधिक गरी सोही कार्यविधिको दफा ३(१) मा रहेको व्यवस्था बमोजिम सूची सार्वजनिक गरिएको नेप्सेको भनाइ छ ।[pdf id=523973]
नेपालले पायो डबल बी माइनस कन्ट्री रेटिङ, सरकारकाे घाटा जीडीपीको ४ प्रतिशतमा झर्ने
काठमाडौं । नेपालले डबल बी माइनस कन्ट्री रेटिङ पाएको छ । अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिचले नेपाललाई डबल बी माइनस कन्ट्री रेटिङ दिएको हो । सरकारले पहिलोपटक कन्ट्री रेटिङ गराएको हो । फिचले देशको आर्थिक अवस्थालाई सकारात्मक रूपमा मूल्यांकन गर्दै राजनीतिक स्थिरता भए आर्थिक सुधार हुने जनाएको छ । कम ऋण, कमजोर संरचनात्मक पक्ष जलविद्युत क्षेत्रको समर्थित द्रुत वृद्धिको सम्भावनाले देशको बलियो आर्थिक विकास सुनिश्चित गरेको छ । प्रतिव्यक्ति आय र शासनका मापदण्डहरू ‘बीबी’ मेडियनभन्दा निकै तल छन्, तर २००६ मा सशस्त्र द्वन्द्व अन्त्य र राजनीतिक परिवर्तनपछि ती सुधार हुँदै गएका छन् । स्थिर ऋण फिचले १५ जुलाई २०२४ मा समाप्त हुने आर्थिक वर्षमा संघीय (केन्द्रीय) सरकारको ऋण जीडीपीको ४४ प्रतिशतभन्दा बढी पुग्यो, जुन ‘बीबी’ मापनको ५५ प्रतिशतभन्दा तल छ । नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा आर्थिक स्थिरता र विकास योजनाहरू अपनाउँदै आगामी वर्षहरूमा यस स्तरमा ऋणलाई स्थिर राख्ने अपेक्षा गरिएको छ । गैर-वित्तीय दायित्वहरू सीमित छन्, यद्यपि निगरानी र अनुगमन पूर्ण रूपमा भएकाे छैन । बलियो ऋण पहुँच आर्थिक वर्ष २०८१ मा संघीय सरकारको ब्याज भुक्तानी राजस्वको करिब ८ प्रतिशतसम्म पुग्यो, जुन ‘बीबी’ मापनको भन्दा अलि तल छ । करिब ४० प्रतिशत सरकारको ऋण बाह्य छ । राजस्व झट्का गत वर्षमा आयात र त्यससम्बन्धी करहरूमा तीव्र गिरावटले राजस्वमा असर पारेको थियो । यसले अर्थव्यवस्थालाई कमजोर बनायो, यद्यपि कोभिडपछिको पर्यटन पुनरुत्थान र रेमिट्यान्सले केही राहत दिएको थियो । राजनीतिक अस्थिरता २०१४ देखि अहिलेसम्म नेपालले आठ पटक सरकार परिवर्तन गरेको छ । यसले दीर्घकालीन नीति निर्माणमा बाधा पुर्याए पनि आर्थिक व्यवस्थापनमा व्यापक सहमति देखिन्छ । राजनीतिक स्थिरता भए आर्थिक सुधार हुने देखिन्छ । बैंकिङ र विदेशी मुद्रा सञ्चिति बैंकिङ क्षेत्रमा पनि सकारात्मक संकेत देखिएको छ । निजी क्षेत्रमा ऋण कुल ग्राहस्थ उत्पादनको ८६ प्रतिशत पुगेको छ भने बैंकमा निक्षेप रकम १०६ प्रतिशतसम्म पुगेको छ । यसैगरी विदेशी मुद्रा सञ्चिति १३ अर्ब अमेरिकी डलर पुगेको छ ।
वायुसेवा निगमले घटायो अन्तर्राष्ट्रिय सेक्टरको हवाई भाडादर
काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय सेक्टरको भाडादर घटाएको छ । निगमले न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म भाडादर घटाएको हो । निगमले विज्ञप्ति जारी गरी भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा भाडादर घटाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई भाडादर घटाउन विशेष निर्देशन दिएपछि सबै सेक्टरमा भाडादरमा छुट दिन थालिएको निगमको भनाइ छ । निगमकाअनुसार दिल्ली, मुम्बई र बैंगलोरमा प्रतिटिकट २ हजार ५ सय तथा दोहो, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिताका लागि प्रतिटिकट ५ हजार रुपैयाँसम्म छुट दिइएको छ ।
नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै, १० करोड लाग्ने
खजुरा । नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति निर्माण भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले १०८ फिट अग्लो हनुमानको मूर्ति बनाइरहेको जनाएको छ । मन्दिरको फाउन्डेसन (बेस) र प्लेटफर्मको काम सकिएपछि अहिले मूर्ति निर्माणको काम सुरु गरिएको उपमानगरपालिकाका इञ्जिनीयर सुरज शर्माले बताए । उनका अनुसार हनुमानको खुट्टा ढलानको काम सम्पन्न भएको छ । उपमहानगरपालिका–२ हनुमानगढीस्थित बालदा तलाउमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण हुन लागेको हो । उपमहानगरपालिकाले जम्बुदिप कन्स्ट्रक्सन प्रालि काठमाडौंलाई दुई वर्षभित्र निर्माणकार्य सम्पन्न गर्ने गरी १७ मार्च २०२३ मा सम्झौता गरेको थियो । मूर्ति निर्माणका लागि भ्याटसहित १० करोड ११ लाख ५२ हजार ४९४ रुपैयाँमा ठेक्का सम्झौता भएको इञ्जिनीयर शर्माले बताए । नेपालगञ्जमा धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि ऐतिहसिक हनुमानको मूर्ति बनाउन थालिएको हो । भारतको अयोध्यामा राम मन्दिर बनेपछि राम र हनुमानको सम्बन्धलाई एकाकार गर्दै आयोध्यासँग नेपालगञ्जलाई ‘टाइअप’ गर्ने उद्देश्यका साथ हनुमानको मूर्ति निर्माण सुरु गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए । उनले नेपालगञ्जको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गर्दै अयोध्यासँगको आध्यात्मिक ‘कनेक्सन’ मा यो मूर्ति कोशेढुङ्गा सावित हुने बताए ।
अडानी समूहले दियो सफाइ, भन्छ- घूसखोरी र ठगीको आरोप निराधार
काठमाडौं । अडानी समूहले अमेरिकी न्याय विभाग र यूएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) ले लगाएका आरोपलाई आधारहीन बताएकाे छ । अमेरिकी अदालतले अडानी समूहका अध्यक्ष गौतम अडानीसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको थियाे । अडानी ग्रीनका निर्देशकहरू विरुद्ध लगाएको घुसखोरीको आरोप निराधार भएको समूहले विज्ञप्ति जारी गर्दै बताएकाे छ । विज्ञप्तिमा अमेरिकी न्याय विभागले भर्खरै आरोप दायर गरेको र दोषी प्रमाणित नभएसम्म प्रतिवादीहरू निर्दोष मानिने उल्लेख गरिएको छ । यस विषयमा सम्भावित सबै कानुनी उपायहरू अवलम्बन गरिने पनि उल्लेख गरिएको छ । सेयरधनीलाई आश्वासन अडानी समूहले विज्ञप्तिमा आफ्ना सेयरधनीहरूलाई आश्वासन दिएको छ । यसले अडानी समूहले सधैं सबै क्षेत्रहरूमा पारदर्शिता र नियामक नियमहरूको पालना गरेको र त्यसलाई निरन्तरता दिने बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी हाम्रा सेयरधनीहरू, साझेदारहरू र समूहका कर्मचारीहरूलाई कानुनको पूर्ण पालना गर्ने संस्था हौं भन्ने विश्वस्त पार्न चाहन्छाैं ।’ के हो विषय ? अडानी र उनका भतिजासहित कुल ८ जनामाथि अमेरिकी अभियोजनकर्ताले घुस लिएको आरोप लगाएका छन् । अभियोजकहरूका अनुसार सौर्य ऊर्जाको ठेक्का लिनका लागि भारतीय सरकारी अधिकारीहरूलाई २६५ मिलियन डलर घुस दिएको आरोप छ । यस मामिलामा अदालतले अडानी र उनका भतिजा विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । सेयरमा ठूलो गिरावट यी आरोपलगत्तै अडानी समूहका सबै सेयरमा भारी गिरावट आएको छ । समूहको प्रमुख कम्पनी अडानी इन्टरप्राइजेजको सेयर २० प्रतिशतले घटेको छ । अडानी इनर्जी सोलुसन्सको सेयर पनि २० प्रतिशतको तल्लो सर्किटमा पुगेकाे छ । अडानी पोर्ट्स पनि २०% ले घट्यो । २ लाख करोडभन्दा बढीको घाटा सेयरमा आएको गिरावटका कारण अडानीलाई २ लाख करोड भारुभन्दा बढीको घाटा भएको छ । सेयरमा आएको गिरावटका कारण अडानी समूहका कम्पनीहरूको मार्केट क्याप करिब २ लाख करोड भारुले घटेको छ । केही मिडिया रिपोर्टमा यो घाटा करिब ३ लाख करोड भारु रहेको पनि बताइएको छ । २०२३ को सुरुमा हिन्डनबर्ग रिसर्चको रिपोर्ट आएपछि पनि अडानीको सेयर घटेको थियो । आजको गिरावट त्यसपछिको सबैभन्दा ठूलो गिरावट हो । (एजेन्सीहरूको सहयोगमा) यो पनि पढाैं- अडानीविरुद्ध अमेरिकामा पक्राउ पूर्जी, अर्बौं डलर ठगीको आरोप