सुकुटी बेचेर मासिक २ लाख आर्जन, परिवारसँगै घरमा बसेर गरेको व्यवसायले सन्तुष्टि
बेलबारी । बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको मासुबाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढेपछि सुकुटीको व्यापार फस्टाएको हो । विदेशको लोभलाग्दो कमाइ छोडेर स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले लक्ष्मीमार्गका केही युवाले सुरु गरेको सुकुटी पसलले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ । छ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा कतार बसेर आएका प्रेम श्रेष्ठले करिब १० वर्षदेखि लक्ष्मीमार्गमा सुकुटी व्यवसाय गर्दै आएका छन् । सुकुटीको माग दैनिक बढेसँगै पेसाप्रति सन्तुष्टि रहेको उनले बताए । रोजगारीको सिलसिलामा आठ वर्ष मलेसिया बसेर आएका दिलीप श्रेष्ठले पाँच वर्षअघि यो व्यवसाय सुरु गर्दा सातामा करिब २० देखि ३० किलो मात्र सुकुटी बिक्री हुने गरेकामा छ सयदेखि सात सय किलो सुकुटी बनाउने गरेका छन् । उनको अनुसार ‘स्वदेशी बजारमा भन्दा बेलायत र अमेरिकामा बस्ने नेपालीले यहाँको सुकुटु माग गर्नुहुन्छ, जनशक्ति अभावमा माग पूरा गर्न सकिएको छैन’, विदेशमा रहेका नेपालीहरुमा कोसेलीको रुपमा सुकुटीको माग उच्च रहे तापनि बनाउन धेरै झन्झट र मिहेनत पर्ने भएकाले मागअनुसार पुर्याउन नसकिरहेको श्रेष्ठ बताउँछन् । प्रतिकिलो दुई हजार रुपैयाँमा बिक्री भइरहेको सुकुटी व्यापारले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ । मासिक दुई लाख रुपैयाँसम्म आम्दानी भइरहेको उनी बताउँछिन् । वैदेशिक रोजगारीको सिलसिलामा सात वर्ष कतारमा काम गरेर आएका शोभितमान श्रेष्ठ नौ वर्षदेखि लक्ष्मीमार्गमा सुकुटी व्यापार गर्दै आएका छन् । साताको १० किलो मासु ल्याएर सुकुटी बनाउने गरेकामा हाल दैनिक २० देखि २५ किलो सुकुटी बनाउने गरेको उनी बताउँछन् । लक्ष्मीमार्गमा दैनिक राँगाको सुकुटीको माग बढ्दो क्रममा रहेको र आफूलाई भ्याइनभ्याइ भएको उनले बताए । विशेष गरी खाडी मुलुकमा रहेका उनी बताउँछन् । विदेशको भन्दा परिवारसँगै घरमा बसेर गरेको व्यवसायले सन्तुष्टि मिलेको उनले बताए । पूर्व पश्चिम राजमार्ग भएर यात्रा गर्ने धेरै टाढाटाढाबाट यहाँको सुकुटीको स्वाद चाख्न ग्राहकहरु आउने गरेको होटल सञ्चालक टफिनबाबु श्रेष्ठ बताउँछन् । लक्ष्मीमार्गको नयाँ परिचय यहाँको सुकुटी बनेको उनले बताए । रासस
करोडौँका ‘कोल्ड स्टोर’ प्रयोगविहीन, उत्पादन बोटबाटै बिक्री गर्न किसान बाध्य
पर्वत । यतिबेला जिल्लाका अधिकांश स्थानमा सुन्तला पाकेर लटरम्म पर्न थालेका छन् । जिल्लामा भरपर्दो र उपयुक्त चिस्यानगृह नहुँदा किसानहरु सुन्तला पाक्न नपाउँदै सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका छन् । जिल्लाभित्र करोडौँको लगानीमा निर्माण भएका चिस्यान केन्द्र प्रयोगविहीन बन्दा सुन्तला, किबी, आलुजस्ता कृषिउपज सिजनमै सस्तोमा बिक्री गर्नुपरेको हो । प्रयोग भएका गृह पनि आंशिक मात्रामा सञ्चालनमा रहेका छन् । जिल्लाका विभिन्न क्षेत्रमा निर्माण भएका चिस्यानगृहमा कृषकले उत्पादन गरेका तरकारी, फलफूल तथा अनाज भण्डारण नगरी सीधै व्यापारीलाई ठेक्कामा बिक्री गर्दा प्रयोगविहीन बनेका हुन् । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार, हाल जिल्लाभित्र विभिन्न प्रकृति र उद्देश्यका आठवटा चिस्यानगृह रहेका छन् । जिल्लाभित्र रहेको चिस्यानगृहको क्षमता करिब ६४ दशमलव ५ मेट्रिक टन रहेको छ । तीमध्ये १० मेट्रिक टन क्षमताका भोक्सिङ, शालिजा र बनौंमा रहेका तीनवटा चिस्यानगृहमा सिजनको बेला मात्र आलु भण्डारण गर्ने गरिन्छ । त्यसैगरी बाँसखर्कमा १० मेट्रिक टन क्षमता रहेको एक र कुर्घामा २ दशमलव ५ मेट्रिक टन क्षमता रहेका दुर्ईवटा कोल्डस्टोर सिजनअनुसार सुन्तला र आलु स्टोर गरिँदै आएको छ । ‘हामी जसरी ‘कोल्ड रुम’ बनाउन बजेटको लागि खट्छौँ, भनसुन गर्छौं, सोहीअनुसार सञ्चालनमा समेत यथोचित ध्यान नदिँदा अपेक्षित लाभ दिन नसकेका हुन् ।’ कृषि ज्ञान केन्द्र, पर्वतका प्रमुख परशुराम अधिकारीले भने,– ‘राज्यले भौतिक संरचनाका लागि मात्र बजेट विनियोजन गर्नुभन्दा निर्माणपश्चात्का जटिलता, प्राविधिक ज्ञान, सहुलियत विद्युत्लगायतका पक्षमा समेत यथोचित ध्यान दिनुपर्छ ।’ अधिकारीले चिस्यान केन्द्र निर्माण गरे पनि कृषकले भण्डारण नगरी ठेक्कामै आफ्ना उत्पादन बेच्ने परिपाटी विकसित हुँदै गएकोे र कृषिउपज टिप्ने, सङ्कलन गर्ने तथा भण्डारण गर्ने आवश्यक ज्ञान उनीहरुमा नदेखिएको हुँदा फसल लामो समयको लागि स्टोर गर्न समस्या देखिएको बताए । उनले राज्यस्तरबाटै निर्माणसँगै स–साना प्राविधिक ज्ञानका पक्षलाई पनि माथि उठाउनुपर्ने बताए । त्यसैगरी पाँच वर्ष अघि कुश्मा नगरपालिका–९ कटुवाचौपारीको बाह्रबिसेमा निर्माण गरिएको कोल्डरुममा आलु भण्डारण सफल रुपमा हुँदै आएको छ । कटुवाचौपारीको कोल्डरुममा विगत पाँच वर्षसम्म प्राविधिक ज्ञानको अभावका कारण केही कृषिउपज कुहिएर गएका थिए भने पछिल्लो समय आलु र सुन्तला भण्डारण सफल देखिएको सञ्चालक राजबाबु पिसीले जानकारी दिए । उनले आगामी दिनमा मासु स्टोर गर्न सकिने कोल्डरुम निर्माणको सोचमा आफू रहेको जानकारी दिए । त्यसैगरी पैयुँ गाउँपालिका–४ हातेमालोचोकमा चिस्यानगृह निर्माण सम्पन्न भइसकेर पनि हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन । पैंयुँको चिस्यानगृह निर्माणका लागि कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, ललितपुरको रु ११ लाख र पैयुँ गाउँपालिकाको रु ११ लाख लगानी रहेको छ । दक्ष प्राविधिकको अभावमा चिस्यानगृह सञ्चालनमा ल्याउन समस्या परेको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले बताए। उनका अनुसार आगामी सिजनमा आलु भण्डारण गर्ने तयारी गरिएको छ । त्यस्तै गरी जिल्लाको मोदी गाउँपालिकाको पातिचौरमा निर्माणाधीन रहेको ‘कोल्डरुम’ भने भौतिक संरचना निर्माणमा भएको ढिलाइका कारण हालसम्म पनि अलपत्र अवस्थामा रहेको छ । चिस्यान केन्द्र नहुँदा बोटबाटै काँचै सस्तो मूल्यमा सुन्तला बिक्री गर्नुपरेको मोदीका अगुवा कृषक दाताराम चापागाईले बताए । ‘राज्य तथा व्यक्तिहरु भौतिक संरचना निर्माणका क्रममा अहोरात्र खट्ने तर निर्माणपश्चात्को व्यवस्थापकीय पक्षमा उदासिन देखिने प्रवृत्तिका कारण चिस्यानगृह अपेक्षाअनुसार सफल हुन नसकेका हुन् ।’ स्थानीय कृषक शिव अधिकारीले भने,– ‘सरकारले भौतिक संरचना निर्माणमा मात्र होइन दीर्घकालसम्म कोल्डरुम सञ्चालनमा नीति नै बनाएर कृषक सँगसँगै हातेमालो गर्नुपर्छ । तब मात्र कृषकका लागि ल्याएका सुविधा सार्थक र कृषक केन्द्रित हुनेछन् ।’ कृषिउपज टिप्ने, अल्पकालीन भण्डारण गर्ने तथा ढुवानी गर्नेलगायतका विषयमा यथेष्ट ज्ञान, कोल्डरुमसम्बन्धी प्राविधिक ज्ञान र सहुलियत विद्युत् उपलब्ध गराउने राज्यतहको नीति बेलैमा नआउने हो भने हाम्रा सबै लगानी परिणाममुखी नहुने सरोकारवालाको भनाइ छ । ‘कोल्डरुम’ अपेक्षा गरेअनुसार कृषकका लागि उपयोगी हुन सकिरहेका छैनन् । निर्माणका क्रममा चुस्त देखिएका स्टोर अनेकन समस्या झेलेर सञ्चालनका क्रममा समस्या ग्रस्तरुपमा चलिरहेका देखिन्छन् । दक्ष प्राविधिक तथा ज्ञानको अभाव, विद्युतीकरणको अभाव, सहुलियत विद्युत् उपलब्ध गराउने नीतिको अभावलगायत पक्षमा राज्यबाट यथोचित व्यवस्थापन हुन नसक्दा समस्या रहेको सुन्तला कृषक उमाकान्त शर्माले बताए । रासस
१७ करोड बढीको लागतमा पक्की पुल निर्माण हुँदै
खोटाङ । जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमानामा पर्ने बुवाँखोलामा सवारी साधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण हुने भएको छ । मूल्य अभिवृद्धि करसहित १७ करोड ५८ लाख ७९ हजार सात सय २९ रुपैयाँको लागतमा निर्माण हुने पुलको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले बिहीबार शिलान्यास गरे । शिलान्याससँगै निर्माण पनि प्रारम्भ भएको छ । चिसापानी–देवीस्थान–मैनाटार–पौवासेरा ग्रामीण सडक समीप बग्ने बुवाँखोलामा एक सय ४८ मिटर लामो पुल निर्माण हुनेछ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल–खोटाङ बजार हुँदै दक्षिणी क्षेत्र जोड्ने चिसापानी–देवीस्थान–मैनाटार–पौवासेरा सडकमा पर्ने बुँवाखोलामा पुल नहुँदा वर्षायाममा आवागमन ठप्प हुने गरेको छ ।
लिवर्टी इनर्जीले मंसिर १६ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने
काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले मंसिर १६ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँको ५० प्रतिशत अर्थात् १ः०.५० को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले ७५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ७५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक २१ गते बुकक्लोज गरेको थियो । त्यसैले कात्तिक २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा पुस ७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै लिवर्टी इनर्जीको कार्यालय, प्रभु बैंक बेशिसहर, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको भोटेओडार, ग्लोबल आइएमई बैंकको दोर्दी लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले आइआरएन डबल बी प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ ।
नेप्सेमा साढे ३ अर्ब रुपैयाँको बोनस सेयर सूचीकृत
काठमाडौं । तीन महिनामा साढे ३ अर्ब रुपैयाँको बोनस सेयर सूचीकृत भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ३ अर्ब ४३ करोड बराबरको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको हो । यस्तै, १ अर्ब ७२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ४७ लाख रुपैयाँ बराबरको एफपीओ गरी कुल ५ अर्ब १५ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । २०८१ असोजसम्म नेप्सेमा सूचीकृत ८ अर्ब ३९ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ३२ अर्ब ९ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ४ अर्ब ६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ७० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
गरिमा विकास बैंक १८औं वर्षमा प्रवेश, निक्षेप संकलन ८३.२७ अर्ब पुग्यो
काठमाडौं । गरिमा विकास बैंक स्थापनाको १७ बर्ष पूरा गरि १८औं वर्षमा प्रवेश गरेको छ । शिक्षण, इन्जिनियरियङ, चिकित्सा, बैंकिङ तथा विभिन्न पेशा–व्यवसायमा संलग्न प्रतिष्ठित व्यक्तिहरूबाट १७ वर्ष अगाडि बैंकको स्थापना भएको थियो । कम्पनी ऐनअनुसार २०६४ साउन २२ गते गरिमा विकास बैंकको स्थापना भएको हो । यसले, २०६४ असोज २४ गतेदेखि वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र पाएको थियो । २०६४ कात्तिक १८ गते वालिङ नगरपालिका-३ स्याङ्जाबाट कारोबार सुरु गरेको बैंकले त्यस समयको निलगिरी विकास बैंक र शुभेच्छा विकास बैंकसँग मर्जर गरेपश्चात् २०७२ असार २९ गते राष्ट्रियस्तरको विकास बैंक बनेको हो । बैंकमा विविध पहिचान र अनुभवी सदस्यहरूको बाहुल्यता छ । जुन विविधतालाई बैंकले आफ्नो सबल पक्ष मानेको छ । बदलिँदो समय, बजार सुहाउँदो र प्रविधिको अधिकतम उपयोग गर्दै बैंकले देशैभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ एटीएम काउन्टरमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तथ्याङ्क अनुसार बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड रुपैयाँ, सञ्चित नाफा ६८ करोड ४४ लाख रुपैयाँ, जगेडा कोष २ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । यसअवधिमा बैंकले ८३ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ४१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । तीन महिनामा २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको बैंकको खराब कर्जा ३.८२ प्रतिशत रहेको छ ।
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ अन्य देशको मुद्राको भाउ
काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.९० रुपैयाँ र बिक्रीदर १३५.५० रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि खरिदर १३४.७७ रुपैयाँ र बिक्रीदर १३५.३७ रुपैयाँ थियो । आज युरोपियन यूरोको एकको खरिदर १४२.०२ रुपैयाँ र बिक्रीदर १४२.६७ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७०.६२ रुपैयाँ र बिक्रीदर १७१.३८ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५२.७१ रुपैयाँ र बिक्रीदर १५३.३८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.०० रुपैयाँ र बिक्रीदर ८८.३९ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.६३ रुपैयाँ र बिक्रीदर ९७.०६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.४४ रुपैयाँ र बिक्रीदर १००.८९ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७३ रुपैयाँ र बिक्रीदर ८.७७ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६३ रुपैयाँ र बिक्रीदर १८.७१ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.९३ रुपैयाँ र बिक्रीदर ३६.०९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.०० रुपैयाँ र बिक्रीदर ३७.१७ रुपैयाँ, थाई भाट एकको खरिददर ३.८९ रुपैयाँ र बिक्रीदर ३.९१ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.७३ रुपैयाँ र बिक्रीदर ३६.८९ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.२१ रुपैयाँ र बिक्रीदर ३०.३५ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६५ रुपैयाँ र बिक्रीदर ९.६९ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.२५ रुपैयाँ र बिक्रीदर १२.३० रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०६ रुपैयाँ र बिक्रीदर १९.१३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३३ रुपैयाँ र बिक्रीदर १७.४१ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.६७ रुपैयाँ र बिक्रीदर ४४०.६२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५७.९० रुपैयाँ र बिक्रीदर ३५९.४९ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५०.३७ रुपैयाँ र बिक्रीदर ३५१.९३ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
काठमाडौं । मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेकोे छ । आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो । मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यसअघि एक तहको कालोपत्र भइसकेको स्थानमा अन्तिम चरणको कालोपत्र थालिएको हो । हालसम्म २.०४ किलोमिटर कालोपत्र सकिएको छ । पूर्वी खण्डअन्तर्गत ६३ किलोमिटर कालोपत्र भएको छ । त्यसमध्ये २९ किलोमिटर खण्डमा ४ लेन र ५ किलोमिटर खण्डमा दुई लेन कालोपत्र भएको छ । पूर्वी खण्डअन्तर्गत दमौलीको बुल्दीपुलदेखि घाँसीकुवा क्षेत्रमा पनि केही दिनमा कालोपत्र गरिने इञ्जिनियर पाण्डेले बताए । दमौली बजारमा सडक विस्तार निर्माण भइरहेको छ । यो सडकको पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । यसमा १४ वटा साना पुल निर्माण भएका छन् । यो खण्ड ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँको लागतमा निर्माण हुँदैछ ।