विकासन्युज

अबको सभापति पनि रवि, बालेन वरिष्ठ नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशनको आयोजना गर्दैछ । पहिलो महाधिवेशन भएकोले अब रास्वपाको नेतृत्व कसले गर्नेछ र पदाधिकारीहरू को-को बन्नेछन् भन्ने विषयमा पनि धेरैको चासो र जिज्ञासा बढेको छ ।  रास्वपाका नेताहरूले पनि यही जिज्ञासाको जवाफ दिँदै रास्वपामा अबको सभापति पनि रवि लामिछाने नै हुने प्रष्ट पारेका छन् । रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुलीले बुधबार संसद परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीको अबको सभापति पनि रवि लामिछाने नै हुने बताएका हुन् ।  पराजुलीले रास्वपाभित्र विभिन्न राजनीतिक शक्तिहरू समाहित भए पनि सबैको लक्ष्य राष्ट्र निर्माण नै रहेकाले गुट र उपगुटको कुनै सम्भावना नरहेको धारणा राखे । उनले रवि लामिछाने अहिलेका लागि पार्टी र जनताका लागि पनि उत्तम पात्र भएको जानकारी दिए ।  ‘हामीले नयाँ नेतृत्व खोजेका छैनौं, पार्टी र जनताले रविको विकल्प देखेका छैनन्,’ उनले भने ।  यस्तै, रास्वपाका सांसद खगेन्द्र सुनारले पनि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अहिले रास्वपामा रवि र सरकारमा बालेन्द्र शाहको विकल्प नरहेको बताए । ‘व्यक्ति दुई भए पनि रवि र बालेन अहिले एक अर्काका परिपूरक हुन् । रविजी अब पनि सभापति बन्नुहुन्छ, सरकारको नेतृत्व बालेनजीले गर्नुहुन्छ, पार्टीमा कुनै गुट उपगुट हुँदैन । लोकतान्त्रिक प्रक्रियाबाट महाधिवेशन हुन्छ,’ उनले भने ।  उनका अनुसार सभापति लामिछाने र वरिष्ठ नेता बालेन सोही पदमा दोहोरिनेछन् । अरू पदमा भने निर्वाचन हुन सक्नेछ । पार्टी स्रोतका अनुसार उपसभापति डा. स्वर्णिम वाग्ले र महामन्त्री भूपदेव शाह पनि सोही पदमा दोहोरिन सक्छन् । शाह केही समयअघि मात्रै महामन्त्री बनेकोले उनलाई निर्विरोध निर्वाचित गराउने तयारी छ ।  तथापि अन्य पदमा पनि सर्वसहमतिको प्रयास भइरहेको बुझिएको छ । पार्टीका एक पदाधिकारीका अनुसार पार्टीको पहिलो महाधिवेशन भएकोले एकताको सन्देश प्रवाह गर्न सभापतिदेखि पदाधिकारी र केन्द्रीय सहमतिमै चयन गर्ने प्रयास हुनेछ ।  रास्वपाको विधानमा एक सभापतिसहित ११ पदाधिकारी रहने व्यवस्था छ । महाधिवेशन प्रतिनिधिहरूबाट पहिलो चरणमा १ सभापति र ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । तिनै निर्वाचित ९९ केन्द्रीय सदस्यहरू मध्येबाट ३ उपसभापति, २ महामन्त्री र ४ सहमहामन्त्री चयन हुने व्यवस्था छ । 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे नियमित काममा फर्किए

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे नियमित काममा फर्किएका छन् । स्मार्ट टेलिकम प्रकरणमा पक्राउ परेका पाण्डेलाई सर्वोच्च अदालतले सशर्त रिहा गर्ने आदेश दिएको थियो । अदालतको आदेशपछि पाण्डेले पुनः बैंकको नियमित कार्य सम्हालेको बैंकले जनाएको छ ।   

रास्वपामा रवि लामिछानेको विकल्प सोच्न सकिँदैनः उपनेता पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीभित्र कुनैपनि किसिमको गुटबन्दी नभएको दाबी गरेका छन् । संघीय संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता पराजुलीले रास्वपाभित्र विभिन्न राजनीतिक शक्तिहरू समाहित भएपनि सबैको लक्ष्य राष्ट्र निर्माण नै रहेकाले गुट र उपगुटको कुनै सम्भावना नरहेको स्पष्ट पारे ।  पार्टीको आगामी महाधिवेशनका सन्दर्भमा बोल्दै उनले सभापति रवि लामिछानेको विकल्प पार्टी र जनता कसैले पनि नखोजेको बताए । संसदको कामकारबाही र बजेट छलफलका सम्बन्धमा बोल्दै उपनेता पराजुलीले यसपटक विनियोजन विधेयक र नीति तथा कार्यक्रममाथिको छलफल विगतको तुलनामा द्रुत गतिमा भएपनि यो अर्थपूर्ण रहेको उल्लेख गरे ।  प्रतिपक्षले उठाएका महत्त्वपूर्ण सुझावहरूलाई बजेटमा समेट्न प्रधानमन्त्री र अर्थमन्त्रीले प्रतिवद्धता जनाएको पराजुलीको भनाइ छ ।  प्रधानमन्त्री संसदमा अनुपस्थित भएको भन्ने आरोपको खण्डन गर्दै पराजुलीले प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी र टेबल गर्नुपर्ने विषयहरूमा सक्रियता देखाइरहनुभएको बताउनु भयो ।  सरकारको १०० दिने कार्ययोजनाबारे जानकारी दिँदै उनले मन्त्रीहरू सार्वजनिक कार्यक्रम र रिबन काट्ने काममा भन्दा नतिजामुखी काममा केन्द्रित भएको दाबी गरे ।  पार्टीका नेताहरूमाथि लागेका आरोप र नैतिकताका विषयमा स्पष्ट पार्दै उपनेता पराजुलीले पूर्व गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिइसकेको र सम्पत्ति छानबिनका लागि समिति बनेको जानकारी दिए । मोरङ क्षेत्र नं. २ का सांसद र अन्य सदस्यहरूका विरुद्ध लागेका आरोपहरू आधारहीन र चरित्र हत्या गर्ने उद्देश्यले आएको दावीसमेत गरे ।

भिभोले नेपालमा सार्वजनिक गर्‍यो वाई ११ डि र वाई २१ फाइभ जी

काठमाडौं । भिभोले नेपालमा आफ्नो वाई सिरिजअन्तर्गत दुई नयाँ स्मार्टफोन वाई ११ डि र वाई २१ फाइभ जी सार्वजनिक गरेको छ । कम्पनीका अनुसार आधुनिक प्रयोगकर्ताको आवश्यकता लक्षित गर्दै सार्वजनिक गरिएका यी स्मार्टफोनमा उच्च क्षमताको ब्याट्री, स्मूथ प्रदर्शन र आकर्षक डिजाइन उपलब्ध गराइएको छ । दुवै स्मार्टफोनमा ६५०० एमएएच ब्लुभोल्ट ब्याट्री राखिएको छ । साथै ४४ वाट फ्ल्यासचार्ज प्रविधि र २९ तहको सुरक्षा प्रणाली समावेश गरिएको कम्पनीले जनाएको छ । फोनमा आईपी ६५ धुलो तथा पानी प्रतिरोध क्षमता, प्रोफेसनल एन्टी–ड्रप डिजाइन तथा प्रिमियम मेटल क्यामेरा मोड्युल दिइएको छ । सनराइज गोल्ड कलर विकल्प र डायनामिक लाइट एक्सेन्ट पनि यसको विशेषताका रूपमा रहेका छन् । दुवै स्मार्टफोनमा १२० हर्ज रिफ्रेस रेट तथा १२०० निट्स पीक ब्राइटनेस भएको डिस्प्ले प्रयोग गरिएको छ । कम्पनीका अनुसार २०० प्रतिशत भोल्युम बुस्ट र अधिकतम ६ जीबी प्लस ६ जीबी एक्सटेन्डेड र्याम सुविधाले मल्टिटास्किङ अनुभवलाई थप सहज बनाउनेछ । फोटोग्राफीका लागि ५० मेगापिक्सेलको अल्ट्रा क्लियर मुख्य क्यामेरा राखिएको छ । भिभो वाई २१ फाइभ जीको ६ जीबी प्लस १२८ जीबी भेरियन्टको मूल्य ३२ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यस्तै, वाई ११ डि को ४ जीबी प्लस १२८ जीबी भेरियन्टको मूल्य २१ हजार ४९९ रुपैयाँ र ६ जीबी प्लस १२८ जीबी भेरियन्टको मूल्य २६ हजार ९९९ रुपैयाँ रहेको छ । यी स्मार्टफोन नेपालभरका भिभो रिटेल स्टोर तथा दराजमार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

अस्थायी प्रहरी चौकी निर्माण गर्दा झडप, प्रहरीसहित ६ जना घाइते

काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा अस्थायी प्रहरी चौकी निर्माण र सिमानाको विषयलाई लिएर झडप भएको छ ।  झडपमा जनप्रतिनिधि, कर्मचारी र प्रहरीसहित ६ जना घाइते भएका छन् । घाइते हुनेमा ३४ वर्षीय पेमा गारा गुरुङ, ३३ वर्षीया लक्ष्मी गुरुङ, नरबहादुर गुरुङ, मीनु कुँवर, प्रहरी महेश धामी र कुलबहादुर थापा रहेका छन् । हिमाली गाउँपालिका ३ लाम्पाटास्थित अस्थायी प्रहरी चौकी निर्माण गर्दा स्थानीयहरूबीच सिमाना र निर्माणसम्बन्धी विवाद उत्पन्न भएको थियो । आक्रोशित समूहले निर्माण सामग्री समेत फालिदिएपछि हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले प्रहरीलाई जानकारी दिएका थिए । हिमाली गाउँपालिकाका अध्यक्ष मल्ल र ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ अभियानमा रहेका धनगढी उपमहानगरपालिकाका नगर प्रमुख मेयर गोपाल हमालसहितको ४० जनाको भ्रमण टोली पनि घटनास्थल पुगेको थियो । ड्रोनबाट भिडियो खिच्न थालेपछि हुम्लाको खार्पुनाथ गाउँपालिका २ थालीका ४०–५० जना स्थानीय अचानक आक्रोशित भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेश बहादुर शाहीले जानकारी दिए । भनाभन र वादविवाद हुँदा दुवै पक्षबीच हातपात भएको उनले  बताए ।

३० अंकले बढ्यो नेप्से, अप्पर लोहोरे खोलामा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० अंकले बढेर २७५४ बिन्दुमा पुगेको छ ।  नेप्सेका अनुसार २४९ कम्पनीको सेयर मूल्य बढ्दा २१ कम्पनीको सेयर मूल्य घटेको छ ।  बुधबार ३४६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार कर्पोरेट डेभलपमेन्ट बैंकको भएको छ । कर्पोरेटको १७ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै आँखु खोला जलविद्युतको १७ करोड ६५ लाख, एपीआई पावर कम्पनीको ११ करोड ३२ लाख, रिडि पावरको ११ करोड २५ लाख र नेसनल हाइड्रोको ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बुधबार सबै समूहका उपसूचकमा हरियाली छाएको छ । बैंकिङ ०.७३ प्रतिशत, डेभलपमेन्ट बैंकको ०.४४ प्रतिशत, फाइनान्स १.४० प्रतिशत, होटल एन्ड टुरिजम १.८९ प्रतिशत, हाइड्रोपावर १.८९ प्रतिशत, इन्भेष्टमेन्ट १.१५ प्रतिशत, लाइफ इन्स्योरेन्स ०.९७ प्रतिशत, उत्पादन तथा प्रशोधन १.१५ प्रतिशत, माइक्रोफाइनान्स ०.६२ प्रतिशत, म्युचल फन्ड ०.८२ प्रतिशत, नन लाइफ इन्स्योरेन्स ०.४४ प्रतिशत, अन्य १.०९ प्रतिशत र ट्रेडिङको १.५१ प्रतिशतले बढेका छन् ।    

प्रतिष्ठित ‘इन्टरनेसनल बुकर प्राइज’ उपन्यास ‘ताइवान ट्राभलग’ लाई

काठमाडौं । ताइवानको परिकार र निषेधित प्रेमको कथामा आधारित उपन्यास ‘ताइवान ट्राभलग’ ले प्रतिष्ठित इन्टरनेसनल बुकर प्राइज जितेको छ । मन्दारिन चिनियाँ भाषाबाट अनुवाद गरिएको कुनै उपन्यासले यो सम्मान पाएको यो पहिलो पटक हो । यो उपन्यास ताइवानी लेखक याङ सुआङ जीले लेखेकी हुन् भने ताइवानी–अमेरिकी नागरिक लिन किङले अंग्रेजीमा अनुवाद गरेकी हुन् । यसको कथा सन् १९३० को दशकको ताइवानको पृष्ठभूमिमा आधारित छ, जुन समयमा यो जापानी शासनको अधीनमा थियो । यसमा दुई महिलाको ताइवानका विभिन्न परिकारहरूको यात्रालाई देखाइएको छ । उपन्यासलाई यसरी प्रस्तुत गरिएको छ कि मानौं यो कुनै पुरानो यात्रा संस्मरणको अनुवाद हो, जसमा काल्पनिक फुटनोटहरूसमेत समावेश छन् । सन् २०२० मा यो पुस्तक प्रकाशित हुँदा धेरै पाठकहरूलाई यो वास्तवमै कुनै ऐतिहासिक दस्तावेज हो जस्तो लागेको थियो । जुरी प्यानलकी अध्यक्ष नताशा ब्राउनले यसलाई ‘अत्यन्तै आकर्षक र चलाखीपूर्वक लेखिएको परिष्कृत उपन्यास’ भनेकी छन् । कथाकी मुख्य पात्र काल्पनिक जापानी लेखिका आओयामा चिजुको हुन्, जो सरकारद्वारा प्रायोजित ताइवान यात्रामा निस्कन्छिन् । उनीसँग ताइवानी अनुवादक ओ चिजुरु हुन्छिन्, जसको प्रेममा उनी पर्छिन् । उपन्यासले यी दुई पात्रहरूका माध्यमबाट प्रेम, संस्कृति, औपनिवेशिक इतिहास र सत्ताजस्ता विषयहरूको खोजी गर्दछ ।

निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले गत निर्वाचनका लागि जारी भएका अध्यादेशलाई प्रतिस्थापन गर्ने बनेका दुई विधेयक प्रस्तुत गरेकी छन् ।         मन्त्री गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’  प्रस्तुत गरेकी हुन् । ती विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव बहुमतले स्वीकृत भएको थियो ।        प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ७ गते बिहीबार बिहान ११ः०० बजे बस्नेछ ।