अब एकै जनाको नाममा जतिपनि डिम्याट खाता खोल्न मिल्ने, यस्ता छन् सेयर बजार सुधारका योजना
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजी बजारसँग सम्बन्धी सुझाव तत्काल कार्यान्वयन गर्ने भएको छ । धितोपत्र बोर्डले पुँजी बजारमा आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधार सम्बन्धी अध्ययन प्रतिवेदनमा भएका सुझाव तत्काल कार्यान्वयन गर्ने भएको हो । मंसिर १५ गतेभित्र सुझाव कार्यान्वयन गर्ने गरी बोर्डले कार्यतालिका नै तयार पारेको हो । कात्तिक मसान्तभित्र धितोपत्र दलाल व्यवसायी मार्फत मार्जिन कारोबार प्रणाली र सिडिएस एण्ड क्लियरिङ्गबाट प्रदान गरिने इटरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आइएसआईएन)मा एकरुपता कायम गर्न निश्चित मापदण्ड कार्यान्वयन गर्ने बोर्डले जनाएको छ । यस्तै, कात्तिक १५ गतेभित्र लगानीकर्ताले दुई वा सो भन्दा बढी हितग्राही खाता (डिम्याट खाता) खोल्न सक्ने व्यवस्था गरिनेछ । उक्त व्यवस्था कार्यान्वयनको प्रक्रियामा अगाडि बढिसकेको जनाएको छ । साथै, मंसिर १५ गतेभित्र धितोपत्र दलाल व्यवसायीले लगानीकर्ताले समयमै खरिद आदेश बमोजिमको रकम भुक्तानी गर्न नसकेमा वा धितोपत्र दलाल व्यवसायीले समयमा लगानीकर्तालाई भुक्तानी गर्न नसकेमा उक्त रकमबाट सृजित दायित्व वा प्रतिफल भुक्तानी सम्बन्धी व्यवस्थामा एकरुपता कायम गर्ने जनाएको छ । धितोपत्र बोर्डका अनुसार संगठित संस्थाले लगानीकर्तालाई प्रदान गर्ने बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित संगठित संस्थाले नै मिलान गरी भुक्तानी गर्नुपर्ने व्यवस्था, नेपाल स्टक एक्सचेन्जले सूचीकृत कम्पनीहरूको वित्तीय सबलता, तरलता तथा संस्थागत सुशासनको अवस्थाका आधारमा गर्ने वर्गीकरण वस्तुनिष्ठ बनाउने तथा वर्गीकरण पश्चात् जेड समूहमा कम्पनीहरूको कारोबार गर्दा सतप्रतिशत नगद मार्जिन लिनुपर्ने व्यवस्था तत्काल कार्यान्वयन गरिनेछ । यस्तै, लगानीकर्ताको समस्या तथा गुनासो तत्काल सम्बोधनका लागि आवश्यक गुनासो व्यवस्थापन संयन्त्रको स्थापना गरी सञ्चालनमा ल्याउने र धितोपत्र सम्बन्धी कसुरको जाँचबुझ समयमा प्रभावकारी ढंगले सम्पन्न गर्न संयन्त्रको स्थापना गर्ने काम पनि तत्काल कार्यान्वयन गरिने बोर्डले जनाएको छ । लगानीकर्ताहरूमा पुँजी बजार सम्बन्धी साक्षरताको लागि विभिन्न प्रशिक्षण तथा कार्यशाला सञ्चालन गर्ने काम भने निरन्तर रहेको बोर्डको भनाइ छ ।
क्रान्तिपछिको क्रान्तिकारी सरकार भएकाले बकबक नगर्न गृहमन्त्री अर्यालको चेतावनी
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारलाई क्रान्तिपछि बनेको क्रान्तिकारी सरकार भन्दै सरकारका कामकारबाहीबारे अनावश्यक टिप्पणी नगर्न चेतावनी दिएका छन् । माइतीघर मण्डलामा अनशनरत युवा मदन बुढाको अनशन तोड्ने कार्यक्रममा बोल्दै मन्त्री अर्यालले भ्रष्टाचारविरुद्धको सरकारको कठोर कदमलाई विभिन्न बहानामा कमजोर पार्ने प्रयासहरू स्वीकार्य नहुने स्पष्ट पारे । उनले भने, यो क्रान्तिपछि बनेको सरकार हो । कोही कन्फ्युजनमा नहुन अहिले बकबक गरिरहेका मानिसहरू पनि कन्फ्युजनमा होलान् । यो क्रान्तिकारी सरकार हो । भ्रष्टाचारी खोज्न पाइँदैन, शान्ति–सुरक्षा कायम गर्न पाइँदैन भन्ने कुरा कदापि स्वीकार्य छैन ।’ गृहमन्त्री अर्यालले सरकारको प्रमुख दायित्व निर्वाचन सम्पन्न गर्नुका साथै शान्ति–सुरक्षा कायम राख्नु र भ्रष्टाचार अन्त्य गर्नु भएको बताउँदै निर्वाचनको बहानामा भ्रष्टाचारीमाथि कारबाही गर्न थाल्दा अनेक बहाना नबनाउन अनुरोध गरे । उनी भन्छन्, ‘यो सरकारले निर्वाचन पनि गराउँछ, तर शान्ति–सुरक्षा र भ्रष्टाचार निर्मूल गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो । गृहमन्त्रीको यो अभिव्यक्ति सरकारका कतिपय निर्णयहरूलाई लिएर सार्वजनिक चासो र आलोचना बढिरहेका बेला आएको हो ।
भाइटीकाको उत्तम साइत ११ः३९ बजे
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा. देवमणि भट्टराईले जानकारी दिए । ‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन,’ उनले भने । यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ । कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । यसै दिन साँझ दीपमालिका गरिन्छ । कात्तिक ३ गते सोमबार दिउँसो ०२ः५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत् रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । सायकालमा औंशी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मङ्गलबार बिहान गर्नुपर्नेछ । कात्तिक ४ गते दिउँसो ०४ः२९ बजेसम्म औँशी तिथि रहेको समितिले जनाएको छ । गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ५ गते बुधबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा म्ह पूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । म्ह पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ । समितिले स्वीकृति दिने तीन पात्रो (पञ्चाङ्ग) नेवार समुदायका पञ्चाङ्गकारले प्रकाशन गर्ने गरेका छन् । सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चाङ्गकारले पनि कात्तिक ५ गते नै म्ह् पूजा गर्ने विषय आफ्ना पञ्चाङ्ग (पात्रो) मा उल्लेख गरेका छन् । यसै दिन यस वर्ष नेपाल संवत् अनुसार नयाँ वर्ष मनाउनुपर्ने समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको अध्यक्ष ढकालले बताए । यसै दिनदेखि नेपाल संवत् ११४६ सुरु हुन्छ । शास्त्रीय विधिअनुसार भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक ६ गते बिहीबार मनाइनेछ । मङ्सिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि छ । शास्त्रीय वचन अनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ । शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउँछ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै दाजुभाईलाई टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक भनिने तिहार पर्व मनाइन्छ । यस पर्वमा कात्तिक कृष्ण त्रयोदशीको साँझदेखि कात्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीपदान गरिन्छ । यमदीपदान परिवारको सङ्ख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । काग र कुकुरलाई पनि यमदूतका रूपमा मीठा परिकार खान दिएर खुसी बनाउने वैदिक परम्परा छ । जसले यमलोकमा सहयोग गर्ने विश्वास गरिन्छ ।
ललितपुरका मेयर जुम्लामा, मन्दिर निर्माणका लागि दिए ३५ लाख रुपैयाँ
जुम्ला । ललितपुर महानगरका मेयर चिरीबाबु महर्जसहितको प्रतिनिधिमण्डल जुम्ला पुगेका छन् । उनी जुम्लाको चन्दननाथ नगरपालिकामा महानगरमा भएका मन्दिर जस्तै झल्को दिने मन्दिर निर्माणको उद्घाटनको लागि पुगेका हुन् । जुम्लामा मेयर महर्जनसहित प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, महानगरका निर्देशक देवप्रसाद गुरागाईं, वडा नं.२८ का अध्यक्ष वीरेन्द्र महर्जन रहेका छन् । उक्त नगरपालिकामा गणेश मन्दिर निर्माणको लागि महानगरले ३५ लाख रुपैयाँ सहयोग गरेको प्रमुख महर्जनले बताए । चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतका अनुसार मन्दिर १९ लाख ७५ हजार निर्माण सम्पन्न भएको हो । बाँकी रकम गेट मन्दिरको गेट बनाउनका लागि खर्च गरिने उनले जानकारी दिए । महानगरका अनुसार गणेशका मूर्ति बनाउने ढुंगा खोकनाबाट ल्याइएको थियो भने मन्दिर निर्माणका लागि ललितपुरकै कालीगढहरूलाई लगाइएको थियो । गणेशको मन्दिर प्रतिस्थापन गरिएको उक्त मन्दिर चन्दननाथ नगरपालिकाको वडा नं. ५ मा अवस्थित छ । चन्दननाथ नगरपालिकामा १० वटा वडा रहेका छन् । ललितपुर महानगर र चन्दननाथ नगरपालिकाबीच ३ वर्षअघि भगिनी सम्बन्ध कायम भएको थियो । भगिनी सम्बन्ध कायम भएका पालिकाको विकासमा साझेदारी कायम गर्न ललितपुर महानगरले विभिन्न परियोजना कायम गर्दै आएको छ । मेयर महर्जनले भगिनी सम्बन्ध कायम भएका पालिकालाई सहयोग गर्नु जिम्मेवारी सम्झेर मन्दिर निर्माणमा सहयोग गरेको बताए । उनले भने, ‘भगिनी सम्बन्ध कायम भएपछि हामी मित भयौं, अर्थात हामी मित भयौं, एउटा मितले अर्को मितलाई सहयोग गर्नु कर्तव्य हो ।’ महर्जनले मितहरूबीच एक–अर्कामा दुःख–सुख साझेदारी गर्ने हक भएको बताउँदै भगिनी सम्बन्ध भएका पालिकाहरूलाई महानगरले सम्पदा र वातावरणमैत्री परियोजनालाई सहयोग गर्दै आएको जानकारी दिए । महानगर मेयर महर्जनका अनुसार ललितपुर महानगरको आकृति झल्कने संरचना निर्माणलाई प्राथमिकतामा राखेर महानगरले परियोजना दिँदै आएको छ । यस्तो परियोजनामा आगमी दिनमा पनि महानगरको सहयोग रहने महर्जनले प्रतिबद्धता जनाएका छन् । नगरपालिकाका मेयर कठायतले दुर्गम जिल्लामा रहेको पालिकालाई उपत्यकाको सुगम र सम्पदायुक्त महानगरले सहयोग गरेकोमा धन्यावद दिए । त्यस्तै, नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले पनि महानगरलाई धन्यवाद दिँदै भविष्मा यस्तै परियोजनमा योगदानको लागि अनुरोधसमेत गरिन् । त्यस्तै, जुम्ला जिल्ला समन्वय समितिका सभापति गौरीनन्द आचार्यले पालिकाको विकासमा भगिनी सम्बन्ध कायम गरेर सम्पदा र वातावरण परियोजनामा महानगरले गरेको सहयोगको लागि धन्यवाद दिए । ललितपुर महानगरको भगिनी सम्बन्ध कायम भएका पालिकाहरूमा सल्यानको शारदा नगरपालिका, दोलखाको भीमेश्वर नगरपालिका, गुल्मीको मालिका गाउँपालिका, संखुवाभभाको चैनपुर नगरपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका हुन् । त्यस्तै, महानगरको अन्तर्राष्ट्रिय स्तरमा कोरियाको चेओरवन सहर र रसियाको उलान उदे सहरसँग भगिनी सम्बन्ध कायम रहेको छ ।
मौलिक समाजवाद र प्राकृतिक जनराज्यको बहस शीतयुद्धकालीनवादबाट अगाडि बढ्नुपर्छ : नवराज सुवेदी
काठमाडौं । जनयुग पार्टीका संयोजक नवराज सुवेदीले नेपालमा वैचारिक रूपान्तरणको बहस नयाँ मोडतर्फ उन्मुख हुँदै गएको बताएका छन् । परम्परागत राजनीतिक विचारधाराबाट बाहिरिएर देशले मौलिक साेंचसहितको समाजवादको बाटो अँगाल्नु आजको आवश्यकता रहेको संयोजक सुवेदीले बताए । बिकासन्युजसँग कुरा गर्दै उनले नेपालको राजनीतिक यात्राले अब पुराना वादहरूबाट अलग भएर देशीय सन्दर्भ अनुकूल वैकल्पिक मार्ग अवलम्बन गर्नुपर्ने धारणा व्यक्त गरे । सुवेदीले भने, ‘हामी अब वादको नाममा होइन, प्रभावकारी शासन प्रणाली र जनउत्तरदायी नीतिको नाममा अघि बढ्नुपर्छ ।’ उनका अनुसार मौलिक समाजवाद भन्ने अवधारणा नेपालको भूगोल, संस्कृति, समुदाय र आवश्यकता अनुरूपको समाजवाद हो, जुन न त सोभियत शैलीको हो, न त अमेरिकी ढाँचाको हो । यो समाजवाद स्रोत र निर्णयको विकेन्द्रीकरण, सहकारी अर्थतन्त्र, र समुदाय सशक्तिकरणमा आधारित हुनेछ । ‘नेपालको जैविक विविधता र प्राकृतिक स्रोत–साधनलाई आत्मसात गर्दै विकास गर्नुपर्ने आवश्यकता छ । त्यसैले हामीले प्राकृतिक जनराज्य भन्ने अवधारणा अघि सारेका छौं,’उनले थपे । सुवेदीका अनुसार जल, जंगल, जमिन र जीवजन्तुको संरक्षण गर्दै नवीकरणीय ऊर्जामा आधारित प्रकृतिमैत्री अर्थतन्त्रको निर्माण नै नेपालको दिगो विकासको आधार बन्न सक्छ । सामाजिक सेवामा पनि वैज्ञानिक मानवतावादको खाँचो रहेको सुवेदीको भनाइ छ । ‘शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षालाई भावना होइन, विज्ञानमा आधारित नीतिमार्फत सम्बोधन गर्नुपर्छ,’ उनले भने । नीति निर्माणमा तथ्य, डेटा, अनुसन्धान र प्रविधिको प्रयोगलाई प्रमुखता दिइनुपर्नेमा उनले जोड दिए । जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने गास, बास, कपास, स्वास्थ्य, शिक्षा र सुरक्षाजस्ता विषयलाई व्यवहारिक ढंगले सम्बोधन गर्न सके मात्र नयाँ सोच सफल हुने सुवेदीको निष्कर्ष छ । नेपालमा अहिले उदीयमान मौलिक समाजवाद र प्राकृतिक जनराज्यको अवधारणाले परम्परागत वाद–विवादमाथि गहिरो प्रश्न उठाइरहेको छ । यसले देशको आवश्यकता र सम्भावनालाई केन्द्रमा राखेर भविष्यको राजनीतिक दिशा तय गर्न सक्ने सम्भावना देखिएको सुवेदीले बताए । सुवेदी ०५१ र ५६ सालको प्रतिनिधि सभा सदस्य हुन् । लामो समय मोहनविक्रम सिहको नेकपा मसालमा आबद्ध रहेका सुवेदी नेकपा माओवादी केन्द्र हुँदै बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा समेत पुगेका थिए । भट्टराईकै सिफारिसमा संयुक्त अरब इमिरेट्सको राजदूतसमेत भएका सुवेदीले केही दिन पहिले नयाँ पार्टी खोलेका हुन् । उनको पार्टी निर्वाचन आयोगमा दर्ता हुने प्रक्रियामा रहेको छ ।
सुनको मूल्य साढे २ लाख नजिक पुग्दा थप बढ्न थाल्यो तस्करी, ‘ठूला व्यवसायी’ नै संलग्न
काठमाडौं । सुनको मूल्य बढेर दैनिक नयाँ रेकर्ड बनिरहेको छ । मंगलबार एकैदिन सुनको मूल्य तोलामा ८ हजार एक सय रुपैयाँ बढेर २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छ जुन हालसम्मकै उच्च हो । सुनसँगै चाँदीको मूल्य पनि बढेर प्रतितोला ३ हजार ३२५ रुपैयाँ पुगेको पुगिसकेको छ । बजारमा सुनचाँदीको मूल्य बढिरहँदा बजारमा सुन तस्करहरू भने थप चलायमान हुन थालेका छन् । मंगलबारमात्रै पर्सामा ठूलो परिमाणमा सुन बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार २५४ ग्राम सुन र १० हजार ३५४ ग्राम चाँदी बरामद गरेको जानकारी दिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले बरामद भएको सुनचाँदी र नगद राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको जानकारी दिए । ‘भन्सार छली गरेर सुन चाँदी भित्र्याएको आशङ्कामा सोमबार छापा मर्दा सो परिमाणको सुनचाँदी बरामद भएको हो’, उनले भने, ‘संयुक्त टोलीद्वारा उक्त सुनचाँदी नियन्त्रणमा लिई सुन चाँदी व्यवसायी संघमा लगेर मापन गर्दा सुन दुई हजार २५४.८६ ग्राम र चाँदी १० हजार ३५४.०७ ग्राम फेला परेको छ ।’ सशस्त्र प्रहरीले सुनजस्तो देखिने थप पाँच सय ५९.१० ग्राम र चाँदीजस्तो देखिने पाँच सय ५० ग्राम पनि बरामद गरेको जनाएको छ । त्यसैगरी सोही गोदामबाट एक लाख नौ हजार नेपाली रुपैयाँ र भारू ४१ हजार ६० पनि बरामद गरेको छ । पथलैया स्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुनचाँदीको परीक्षण र अन्य अनुसन्धानको काम अघि बढाइने बताए । ‘बरामद भएको सुनचाँदीको परीक्षण भएपछि राजस्व अनुसन्धान विभागबाट अनुसन्धान अधिकृत तोकेर आएपछि छानबिनको प्रक्रिया अघि बढ्नेछ’, उनले भने । राजस्व चुहावटको सूचनाका आधारमा सो सुनचाँदी बरामद भएकाले पनि आवश्यक कागजात हेरेर मुद्दा चलाइने उनको भनाइ छ । बरामत भएको सुन व्यवसायी अभिषेक सर्राफको रहेको बुझिएको छ । सर्राफ वीरगन्ज–८ मा रहेको अभिषेक ज्वेलर्सका सञ्चालक हुन् । राजस्व चुहावटको आशंकाको आधारमा राजस्व अनुसन्धान कार्यालयले उनको घर, पसल र गोदाममा खानतलासी गरेको थियो । प्रहरीले उनको बैंक खाता, विद्युतीय माध्यम र अन्य प्रमाणहरू आफ्नो कब्जामा लिएको बुझिएको छ । प्रहरीका अनुसार पछिल्लो समय सुन तस्करहरु सलबलाउन थालेका छन् । प्रहरीले विभिन्न ठाउँमा सूचनाका आधारमा छापा मार्ने तथा अनुसन्धान गर्ने कामलाई तीव्रता दिएको छ । प्रहरीका अनुसार ठूला सुनचाँदी व्यवसायीहरू नै यस्तो काममा संलग्न छन् ।
नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौं—ग्वाञ्जाओ उडान रद्द
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अक्टोबर १९ को काठमाडौं–ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ । निगमका प्रवक्ता सुवास डाँगीले सोमबार एक विज्ञप्ति जारी गरी नियमित उडान तालिका बमोजिम १९ अक्टोबरको काठमाडौं—ग्वाञ्जाओ उडान निगमको आन्तरिक कारणले रद्द गरिएको जानकारी दिए । उक्त उडानको सम्पूर्ण यात्रुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थापन गरिएको समेत निगमले जनाएको छ । निगमले काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं सेक्टरको नियमित उडान तालिकाबमोजिम १६ अक्टोबरको काठमाडौं—ग्वाञ्जाओ उडानमा ६८ यात्रु र १७ अक्टोबरका लागि ग्वाञ्जाओ—काठमाडौंं उडानमा ४१ यात्रुहरूको टिकट बिक्री भइसकेको जनाएको छ । यसैगरी, २३ अक्टोबरको काठमाडौं—ग्वाञ्जाओ र २४ अक्टोबरको ग्वाञ्जाओ—काठमाडौं उडानमा क्रमशः ९३ र २० वटा टिकट बिक्री भइसकेको निगमको भनाइ छ । निगमले उक्त उडानमा यात्रु सङ्ख्या कम भई रद्द गरिएको भन्ने समाचार केही सञ्चारमाध्यममा प्रकाशित भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । उक्त गन्तव्य नेपालका लागि नयाँ भएको र सो गन्तव्यको पूर्णरूपमा प्रचारप्रसार भइनसकेको हुँदा यात्रुहरुलाई सुसूचित गर्ने कार्य जारी रहेको निगमको भनाइ छ । निगमले उक्त गन्तव्यमा टिकट बुकिङ बढ्ने क्रम रहेकाले नयाँ सेक्टर प्रवद्र्धनमा निगमलाई सहयोग गर्न सम्पूर्ण सञ्चारजगत्लगायत सबैमा अनुरोधसमेत गरेको छ ।
२०२५ को पहिलो ९ महिनामा चीनको व्यापार ३३.६ ट्रिलियन युआन पार, स्थायित्व कायम
२०२५ को सुरुवातदेखि नै जटिल बाह्य वातावरणको बीचमा चीनको वैदेशिक व्यापारले स्थिरता कायम राखेको छ । सकारात्मक विकास प्रवृत्तिलाई कायम राखेको चीनले जनाएको छ । भन्सार सामान्य प्रशासनका उपप्रमुख वाङ जुनले सोमबार एक पत्रकार सम्मेलनमा यसबारे टिप्पणी गरेका हुन् । भन्सार सामान्य प्रशासनका अनुसार २०२५ को पहिलो नौ महिनामा चीनको युआन–निर्यातमा कुल सामान आयात र निर्यात ३३.६१ ट्रिलियन युआन (लगभग ४.७३ ट्रिलियन अमेरिकी डलर) पुगेको छ । जुन वर्ष–दर–वर्ष ४ प्रतिशतले बढेको छ । वस्तु निर्यात कुल १९.९५ ट्रिलियन युआन पुगेको छ । जुन वर्ष–दर–वर्ष ७.१ प्रतिशतले बढेको छ । जबकि आयात १३.६६ ट्रिलियन युआन पुगेको छ । जुन ०.२ प्रतिशतले थोरै कमी हो । सेप्टेम्बरमा मात्र चीनको सामान आयात र निर्यात वर्षदर ८ प्रतिशतले बढेर ४.०४ ट्रिलियन युआन पुगेको छ । २०२५ को पहिलो नौ महिनामा बेल्ट एण्ड रोड साझेदार देशहरूसँग चीनको सामान व्यापार १७.३७ ट्रिलियन युआन पुगेको छ । जुन एक वर्ष अघिको भन्दा ६.२ प्रतिशतले बढी हो । आसियान, ल्याटिन अमेरिका, अफ्रिका र मध्य एसियासँगको व्यापारमा वर्षमा क्रमशः ९.६ प्रतिशत, ३.९ प्रतिशत, १९.५ प्रतिशत र १६.७ प्रतिशतले वृद्धि भएको छ भने एशिया–प्रशान्त आर्थिक सहयोगका अन्य अर्थतन्त्रहरूसँगको व्यापारमा २ प्रतिशतले वृद्धि भएको छ ।