विकासन्युज

नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओमा ऋषी प्रसाद न्यौपाने नियुक्त

काठमाडौं । काभ्रेपलाञ्चोकस्थित नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सहायक प्रमुख कार्यकारी अधिकृत ऋषी प्रसाद न्यौपाने नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले न्यौपानेलाई कायम मुकायम सीईओ पदको जिम्मेवारी दिने निर्णय गरेको हो । यस अघि कामु सीईओ भागनागरायण साहुले मंसिर २४ गते स्वैच्छिक अवकाश लिएपछि उक्त जिम्मेवारी न्यौपानेलाई सुम्पिएको हो । न्यौपानेले २०५५ सालमा लघुवित्त क्षेत्रमा सेवा प्रवेश गरी निर्घन उत्थान लघुवित्त वित्तीय संस्थामा फिल्ड सहायक पदबाट करियर सुरु गरेका थिए । २०६१ सालमा नेरुडे लघुवित्तमा अधिकृत पदमा प्रवेश गरेका न्यौपाने यसअघि जनशक्ति व्यवस्थापन विभाग प्रमुख र कम्पनी सचिवको रूपमा पनि कार्यरत रहेकाछन् । मर्जरपछि उनले नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आन्तरिक लेखापरीक्षण विभागको प्रमुख लगायत कार्यकारिणी तहका जिम्मेवारीहरू सफलतापूर्वक बहन गरिसकेका छन् । करीब अढाई दशक लामो अनुभव भएका न्यौपाने लघुवित्त क्षेत्रका अनुभवी पेशेवर हुन् । सञ्चालक समितिको विश्वास अनुसार, प्रमुख कार्यकारी अधिकृतका रूपमा उनले नियामकीय निर्देशनहरू पालना गर्दै संस्थाले उत्कृष्ट सेवा प्रदान गर्ने, सेयरधनीलाई यथोचित प्रतिफल दिने र कर्मचारी व्यवस्थापनलाई सुदृढ बनाउने काम गर्नेछन् । न्यौपानेले आफ्नो कार्यकालमा लघुवित्तको सन्तुलित व्यापार विस्तार, ग्राहक सेवामा नयाँ र सुरक्षित प्रविधियुक्त बैंकिङ सुविधा उपलब्ध गराउने र लगानीकर्तालाई उचित प्रतिफलसहित बजारमा संस्थाको सम्मानजनक उपस्थिति अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सरकारले अनुमोदन गर्यो जेनजी समूहसँग भएको सम्झौता

काठमाडौं । सरकारले जेनजी समूहसँग भएको सम्झौतालाई अनुमोदन गरेको छ ।  नेपाल सरकारले जेनजी समूहसँग बुधवार मात्रै सम्झौता गरेको थियो ।  उक्त सम्झौता राजपत्रमा प्रकाशन गर्ने निर्णय मन्त्रिपरिषदले गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

वेवारिसे अवस्थामा करिब एक टन गाँजा बरामद

विराटनगर । मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ ।      इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिए । घटनापछि गाँजा ओसारपसारमा लाग्ने व्यक्तिको खोजी भइरहेको उनले बताए ।   

ऋतु प्रधान मल्ल एनआइबिएल इक्विटी पार्टनर्सको सह-प्रमुखमा नियुक्त

काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको एनआइबिएल इक्विटी पार्टनर्सको सह-प्रमुखमा ऋतु प्रधान मल्ल नियुक्त भएकी छन् । मल्लले अब कम्पनीको प्राइभेट इक्विटी, लगानी व्यवस्थापन र दिगो वित्त लगायतका क्षेत्रमा रणनीतिक नेतृत्व प्रदान गर्नेछिन् । कम्पनीका अनुसार उनले ईएसजी (पर्यावरण, सामाजिक र शासन) एकीकृत लगानी ढाँचाको विस्तार र पोर्टफोलियो निगरानीमा महत्वपूर्ण भूमिका निभाउनेछिन् । क्लाइमेट फाइनान्स, प्राइभेट इक्विटी र उद्यम विकासको क्षेत्रमा १४ वर्षभन्दा बढी अनुभव संगालेकी मल्लले यसअघि बिजनेस अक्सिजन, क्रस बाउन्ड्री एडभाइजरी र यूएसएआईडी अन्तर्गतका परियोजनाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी छन् । उनले हाल घामपावरको स्वतन्त्र सञ्चालक र इम्प्याक्ट हब काठमाडौंको सल्लाहकार बोर्ड सदस्यको रूपमा पनि काम गरिरहेकी छिन् । एनआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवान्त बहादुर पाँडेले मल्लको अनुभवले कम्पनीको लगानी रणनीति र नेपालको वित्तीय क्षेत्रमा दीर्घकालीन मूल्य सिर्जना गर्ने लक्ष्यमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।  ऋतु प्रधान मल्लले भनिन्, 'नेपालको पुँजी बजार तीव्र रूपमा विकास हुँदै गर्दा म एनआईबिएल इक्विटी पार्टनर्समा सामेल हुन पाउँदा सम्मानित अनुभव गरिरहेकी छु । कम्पनीमा योगदान पुर्‍याउन र नेपालको वित्तीय क्षेत्रमा नयाँ अध्यायको विकासमा सहयोग गर्न तत्पर छु ।'

महाधिवेशन प्रतिनिधिले नचाहे अध्यक्षको उम्मेदवार बन्दिनँ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी नेतृत्व चयनमा सहमतिको वातावरण निर्माण गर्न आफू प्रयासरत रहेको बताएका छन् ।  बिहीबार पत्रकारसँगको कुराकानीमा उनले भने, ‘दबाब र भेदभाव बिना सहमति खोजिन्छ, नभए लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन हुनेछ ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रतिनिधिहरूले नचाहे आफू अध्यक्ष पदबाट हट्न पनि तयार रहेको बताए । तर प्रतिनिधिहरूले निरन्तरता दिन चाहे त्यसका लागि पनि आफू सकारात्मक रहने उनको भनाइ थियो ।  उनले भने, ‘एमालेमा महाधिवेशन प्रतिनिधिहरू सार्वभौम छन् । सार्वभौम प्रतिनिधिहरूको निर्णय र विवेक नै अन्तिम हुन्छ ।’ ११ औं महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष पदमा नेता ईश्वर पोखरेलले गरेको घोषणाबारे सम्पादकहरूले जिज्ञासा राख्दा ओलीले भने– मलाई यसबारे जानकारी भएन ।  ‘बाहिर-बाहिर अध्यक्षमा उम्मेदवारी दिएँ भन्ने कमरेड पोखरेलको भनाइलाई कसरी बुझ्ने ?,’ ओलीले थपे । एमालेको महाधिवेशन नजिकिँदै गर्दा शीर्ष नेताहरूबीचको दौडधूप तीव्र बन्दै गएका बेला ओलीको यस अभिव्यक्तिलाई महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको छ ।

स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइन : अर्थमन्त्री खनाल

काठमाडौं । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो १० वर्षमा स्वास्थ्य तथा शिक्षाजस्ता आधारभुत क्षेत्रमा बजेट घटेको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रमा बजेट कटौती हुनु राम्रो नभएको बताएका हुन् ।  देशको समग्र राजस्व संरचनामा वृद्धि भएपनि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा बजेट घटेको उनको भनाई छ । स्वास्थ्य क्षेत्रमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा सरकारी संयन्त्रबीच आवश्यक सहकार्य नभएको कारण बजेट घटेको हुनसक्ने बताए । यसलाई एकैपटकमा सुधार गर्न नसकिने उनको भनाई छ । उहाँले स्वास्थ्य बीमा भुक्तानीको जिम्मेवारी सरकारले लिनुपर्ने पनि बताए । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बाँकी रहेको भुक्तानी गर्नुपर्ने पक्षमा आफू रहेको उनको भनाई छ । स्वास्थ्यमन्त्रीलाई सबै भुक्तानी छिटो पूरा गर्ने प्रक्रियाका लागि आग्रह गरेको उनले जानकारी दिए । विगतका सरकारले रोक्यो भनेर अहिलेको सरकारले रोक्न नमिल्ने उनको भनाई छ । स्वास्थ्य बीमा आवश्यक छ वा छैन भन्ने विषयमा भने पुनर्विचार गर्नुपर्नेमा जोड दिए । राज्यले धान्न नसक्ने संरचना राख्न नहुने उनको भनाई छ । स्वास्थ्य संस्थालाई पर्याप्त वित्तीय पहुँच पुर्याउनुपर्नेमा जोड दिए ।  उनले भने, ‘फाईनान्समा गभरमेन्टको पर्समा, हाम्रो पर्सको साईज अवश्य बढेको छ, आजभन्दा १५ वर्ष अगाडी टोटल जिडिपीको १३ प्रतिशत पुर्याउन पनि हामीलाई गार्हो थियो । अहिले टोटल जिडिपीको २३ प्रतिशत नजिकसम्म हाम्रो रेभिन्युवेश चाहीँ पुग्यो, अहिले झरेर १८–१९ प्रतिशत पुगेको छ । गभर्मेन्टको रिसोर्सको साईज बढ्दै जाने तर हेल्थमा, एजुकेसनमा गरिएको एलिकेशन घट्दै जानु राम्रो होइन ।’  उनले अर्थमन्त्रालयले बिना कारण स्वास्थ्य क्षेत्रको बजेट काट्न नमिल्ने बताए । यद्यपि माग्ने बित्तिकै बजेट नपाइने उल्लेख गरे । राष्ट्रको स्रोत सदुपयोग गर्न सबैले ध्यान दिनुपर्ने बताए ।

नेपालगञ्जमा दिपाल र नामीको सोरुम उद्घाटन, टेस्ट ड्राइभ र​​​​​​​ एक्सचेञ्ज क्याम्प हुने

काठमाडौं । नेपालगञ्जमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटनको अवसरमा एमएडब्लु वृिद्धले आगामी शनिबारदेखि तीन दिन लामो ‘टेस्ट ड्राइभ र एक्सचेञ्ज क्याम्प’ आयोजना गर्ने भएको छ । कार्यक्रम मंसिर २७ देखि २९ सम्म चल्नेछ । कम्पनीका अनुसार क्याम्पमा आगन्तुकहरूले दिपाल, नामी, सेरेस र अवतारका अत्याधुनिक र फ्युचरिस्टिक इलेक्ट्रिक सवारी साधनहरूको नजिकबाट अनुभव लिन सक्नेछन् । यी ब्रान्डहरू अहिले नेपालमा तीव्र रूपमा लोकप्रिय बन्दै गएका प्रमुख इभि ब्रान्डका रूपमा स्थापित भइरहेका छन् । नयाँ सोरुममा आयोजना हुने कार्यक्रममा आगन्तुकहरूले नवीनतम प्रविधि, डिजाइन र नवप्रवर्तनसम्बन्धी जानकारी पाउनेछन् । कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रोबोटसँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने अवसरसमेत रहनेछ, जसले आगन्तुकलाई भविष्यको प्रविधि मननीय बनाउन मद्दत गर्ने एमएडब्लुले जनाएको छ । हालै सम्पन्न नाडा अटो शोमा धेरै चर्चा बटुलेका दिपाल एस०५ र नामी भिगो मोडेलको पनि सोही क्याम्पमा टेस्ट ड्राइभ गर्न सकिनेछ । स्लिम डिजाइन, आधुनिक फिचर र दिगो गतिशीलताको संयोजनका कारण यी मोडेलहरू छोटो समयमै ग्राहकबीच लोकप्रिय बनेका छन् । कार्यक्रममा कम्पनीले विशेष प्रमोशनल अफरहरूसमेत ल्याएको छ । पुराना गाडी साट्न चाहनेका लागि आकर्षक एक्सचेञ्ज बोनस, नगद छुट, प्रत्येक खरिदमा निःशुल्क एसेसरी तथा टेस्ट ड्राइभमा सहभागी हुने आगन्तुकका लागि उपहार राखिएको छ । इलेक्ट्रिक सवारीतर्फ रूपान्तरण गर्न इच्छुक वा केवल भविष्यको यातायात प्रविधि अनुभव गर्न चाहनेका लागि नेपालगञ्जस्थित नयाँ दिपाल र नामी सोरुममा हुने तीनदिने क्याम्प उपयुक्त अवसर भएको कम्पनीले जनाएको छ ।

सर्लाहीको विष्णु गाउँपालिकाबाट नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं । सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।      ‘अनटेष्ट’ लेखिएको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जिल्लाकै कौडेना गाउँपालिका–५ छपकैयाका ३० वर्षीय फिरोज खानलाई उक्त नोटसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।      इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरी टोलीले बुधबार राति खानलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।