काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा अस्थायी प्रहरी चौकी निर्माण र सिमानाको विषयलाई लिएर झडप भएको छ । झडपमा जनप्रतिनिधि, कर्मचारी र प्रहरीसहित ६ जना घाइते भएका छन् ।
घाइते हुनेमा ३४ वर्षीय पेमा गारा गुरुङ, ३३ वर्षीया लक्ष्मी गुरुङ, नरबहादुर गुरुङ, मीनु कुँवर, प्रहरी महेश धामी र कुलबहादुर थापा रहेका छन् ।
हिमाली गाउँपालिका ३ लाम्पाटास्थित अस्थायी प्रहरी चौकी निर्माण गर्दा स्थानीयहरूबीच सिमाना र निर्माणसम्बन्धी विवाद उत्पन्न भएको थियो ।
आक्रोशित समूहले निर्माण सामग्री समेत फालिदिएपछि हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले प्रहरीलाई जानकारी दिएका थिए ।
हिमाली गाउँपालिकाका अध्यक्ष मल्ल र ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ अभियानमा रहेका धनगढी उपमहानगरपालिकाका नगर प्रमुख मेयर गोपाल हमालसहितको ४० जनाको भ्रमण टोली पनि घटनास्थल पुगेको थियो ।
ड्रोनबाट भिडियो खिच्न थालेपछि हुम्लाको खार्पुनाथ गाउँपालिका २ थालीका ४०–५० जना स्थानीय अचानक आक्रोशित भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेश बहादुर शाहीले जानकारी दिए ।
भनाभन र वादविवाद हुँदा दुवै पक्षबीच हातपात भएको उनले बताए ।