रास्वपामा रवि लामिछानेको विकल्प सोच्न सकिँदैनः उपनेता पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीभित्र कुनैपनि किसिमको गुटबन्दी नभएको दाबी गरेका छन् ।

संघीय संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता पराजुलीले रास्वपाभित्र विभिन्न राजनीतिक शक्तिहरू समाहित भएपनि सबैको लक्ष्य राष्ट्र निर्माण नै रहेकाले गुट र उपगुटको कुनै सम्भावना नरहेको स्पष्ट पारे । 

पार्टीको आगामी महाधिवेशनका सन्दर्भमा बोल्दै उनले सभापति रवि लामिछानेको विकल्प पार्टी र जनता कसैले पनि नखोजेको बताए ।

संसदको कामकारबाही र बजेट छलफलका सम्बन्धमा बोल्दै उपनेता पराजुलीले यसपटक विनियोजन विधेयक र नीति तथा कार्यक्रममाथिको छलफल विगतको तुलनामा द्रुत गतिमा भएपनि यो अर्थपूर्ण रहेको उल्लेख गरे । 

प्रतिपक्षले उठाएका महत्त्वपूर्ण सुझावहरूलाई बजेटमा समेट्न प्रधानमन्त्री र अर्थमन्त्रीले प्रतिवद्धता जनाएको पराजुलीको भनाइ छ । 

प्रधानमन्त्री संसदमा अनुपस्थित भएको भन्ने आरोपको खण्डन गर्दै पराजुलीले प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी र टेबल गर्नुपर्ने विषयहरूमा सक्रियता देखाइरहनुभएको बताउनु भयो । 

सरकारको १०० दिने कार्ययोजनाबारे जानकारी दिँदै उनले मन्त्रीहरू सार्वजनिक कार्यक्रम र रिबन काट्ने काममा भन्दा नतिजामुखी काममा केन्द्रित भएको दाबी गरे । 

पार्टीका नेताहरूमाथि लागेका आरोप र नैतिकताका विषयमा स्पष्ट पार्दै उपनेता पराजुलीले पूर्व गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिइसकेको र सम्पत्ति छानबिनका लागि समिति बनेको जानकारी दिए ।

मोरङ क्षेत्र नं. २ का सांसद र अन्य सदस्यहरूका विरुद्ध लागेका आरोपहरू आधारहीन र चरित्र हत्या गर्ने उद्देश्यले आएको दावीसमेत गरे ।

Share News