विकासन्युज

अब महानगर र उपमहानगरमा ३ करोडभन्दा बढीको घरजग्गा कारोबार कम्पनीमार्फत गर्नुपर्ने

काठमाडौं । सरकारले घरजग्गाको कारोबार गर्नेहरूका लागि नयाँ नियम ल्याएको छ । सरकारले ल्याएको नयाँ नियमअनुसार काठमाडौं महानगरपालिकासहित ६ वटै महानगरपालिका र धरान उपमहानगरपालिकासहित ११ वटै उपमहानगरपालिकामा ३ करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार अब अनिवार्य रूपमा कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था लागू गरीएको छ । मालपोत ऐन, २०३४ को दफा २६ क र २६ ख मा संशोधन गर्दै सरकारले उक्त नयाँ व्यवस्था लागु गरेको हो ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सह–प्रवक्ता दामोदर वाग्लेले जानकारी दिएअनुसार जग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन यो कदम चालिएको हो । वाग्ले भन्छन्, ‘देशभरको जग्गा कारोबारलाई क्रमशः दर्ता भएका कम्पनीमार्फत सञ्चालन गर्ने दिशामा सरकारले काम अघि बढाएको छ ।’  उनका अनुसार अहिले महानगर र उपमहानगरमा लागू भएको यो व्यवस्था विस्तारै सम्पूर्ण देशभर कार्यान्वयन गरिनेछ ।

भोटेकोशीको सेयर निःशुल्क होइन, १०० रुपैयाँमा बेच्ने सहमति

काठमाडौं । भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेड ९बीकेपीसी०ले जेनजीलाई सेयर निशुल्क नभई सय रुपैयाँमा बेच्ने सहमति भएको जनाएको छ ।  बुधबार बीकेपीसीले विज्ञप्ति जारी गर्दै यस्तो सहमति भएको जानकारी दिएको हो । स्थानीय बासिन्दाहरूको प्रतिनीधित्व गर्ने भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेड र बीकेपीसीबीच निःशुल्क सेयर लिनेरदिने सहमति नभएको विज्ञप्तिमा उल्लेख छ । १० प्रतिशत सेयरको लागि आवेदन दिनु अगाडि जेनजीलाई पब्लिक लिमिटेड कम्पनीको सेयरधनी बना‍इसकेपछि प्रति सेयर बराबर अंकित मूल्य १०० रहेको सेयर १०  प्रतिशतमात्र उल्लेखित पब्लिक लिमिटेड कम्पनीलाई बिक्री गर्ने सहमति भएको बीकेपीसीले जनाएको छ । बीकेपीसीका अनुसार निर्माण कार्य पूरा भइसकेको परियोजनाको हकमा सार्वजनिक लिमिटेड कम्पनीले वार्षिक रूपमा वितरण हुने लाभांशबाट १० प्रतिशत सेयर बराबरको रकम प्राप्त गर्ने व्यवस्था गरिएको छ । तर, उक्त रकम कम्पनीले आफ्नो ऋण र त्यसको ब्याज तिर्नका लागि प्रयोग गर्ने सहमति भएको हो । कम्पनीले निःशुल्क सेयर दिइएको भन्ने प्रचार पूर्ण रूपमा भ्रामक रहेको बताउँदै सबै सञ्चारमाध्यम र सरोकारवाला पक्षलाई यस्ता भ्रामक समाचार नछाप्न आग्रहसमेत गरेको छ ।

तरलता नियन्त्रण गर्न ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार ३५ अर्ब निक्षेप खिच्दैछ । नेपाल राष्ट्र बैंककाअनुसार अधिक तरलता कायमै रहेपछि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत तरलता कम गर्न निक्षेप खिच्न लागिएको हो ।  ब्याजदर अनलाइन बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ कात्तिक २ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।  अहिले कुल निक्षेप ७३ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालिन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

सेप्टेम्बरमा २१ लाख विद्युतीय सवारी बिक्री

काठमाडौं । विश्वभरका विद्युतीय सवारीसाधन (ईभी) को बिक्री सेप्टेम्बर महिनामा ऐतिहासिक उचाइमा पुगेको छ । बजार अनुसन्धान संस्था आरएचओ मोसनका अनुसार पूर्ण रूपमा विद्युतीय र प्लग–इन हाइब्रिड सवारीसाधनको बिक्री गत वर्षको तुलनामा २६ प्रतिशतले बढ्दै २१ लाख इकाई पुगेको हो ।  यो वृद्धि मुख्य रूपमा चीनमा देखिएको बलियो माग र अमेरिकामा कर–राहत अन्त्य हुनुअघि देखिएको खरिद–हडबडीका कारण भएको हो । आरएचओ मोसनका डाटा प्रबन्धक चार्ल्स लेस्टरका अनुसार चीनले विश्वव्यापी बिक्रीको करिब दुई तिहाइ हिस्सा ओगटेको छ, जसमा करिब १३ लाख सवारीसाधन बिक्री भएका छन् । यसैबीच, उत्तरी अमेरिकामा पनि रेकर्ड स्तरको बिक्री देखिएको छ, किनभने अमेरिकी उपभोक्ताहरूले समाप्त हुँदै गएको कर–राहत योजना (७ हजार ५०० अमेरिकी डलर) को फाइदा लिन उत्साहपूर्वक ईभी खरिद गरेका थिए । चीन र अमेरिकाको अगुवाइ चीन विश्वकै सबैभन्दा ठूलो मोटर गाडी बजार हो र विश्वव्यापी ईभी बिक्रीको आधाभन्दा बढी हिस्सा चीनकै हो । सेप्टेम्बर महिनालाई सामान्यतया चीनमा सवारी खरिदको उच्च समय मानिन्छ । यसपटक उपभोक्ताहरूले पुराना सवारी साट्ने अनुदान समाप्त हुनुअघि बढीभन्दा बढी फाइदा लिन गाडी खरिद गरेका थिए । अर्कोतर्फ अमेरिकामा संघीय कर–राहत अन्त्य हुनुअघि मागमा तीव्र वृद्धि देखियो । तर, चौथो त्रैमासिकमा माग तीव्र रूपमा घट्ने अनुमान गरिएको छ किनभने उपभोक्ता र व्यवसाय दुवैले संघीय प्रोत्साहन गुमाउने मोसनले जनाएको छ । युरोपमा पनि नयाँ रेकर्ड युरोपमा समेत ईभी बिक्री उच्चतम स्तरमा पुगेको छ । जर्मनीमा सरकारी प्रोत्साहन योजनाहरू र बेलायतमा बढ्दो मागले बजारलाई थप बलियो बनाएको छ । साथै टेस्लाले सस्तो मूल्यको मोडेल वाई युरोपमा सार्वजनिक गरेपछि प्रतिस्पर्धा झन् तीव्र हुने अपेक्षा गरिएको छ । मोसनको तथ्यांकअनुसार सेप्टेम्बर महिनामा ब्याट्री–इलेक्ट्रिक र प्लग–इन हाइब्रिड सवारीसाधनको बिक्री २६ प्रतिशत बढेर २१ लाख इकाई  चीनमा करिब १३ लाख सवारीसाधन बिक्री युरोप : बिक्री ३६ प्रतिशत बढेर ४ लाख २७ हजार ५४१ एकाइ उत्तरी अमेरिका : बिक्री ६६ प्रतिशत बढेर करिब २ लाख १५ हजार एकाइ अन्य क्षेत्रहरू : बिक्री ४८ प्रतिशत बढेर १ लाख ५३ हजार ५९४ सवारीसाधन डाटा प्रबन्धक चार्ल्स लेस्टरका अनुसार संघीय कर–राहत समाप्त भएपछि वर्षको अन्तिम त्रैमासमा अमेरिकाको माग तीव्र रूपमा घट्ने अपेक्षा छ । उनका अनुसार केही प्रमुख निर्माता कम्पनीहरू जस्तै जनरल मोटर्स (जीएम) र हुन्डाईले बिक्रीमा आउने असर न्यून पार्न छुट योजना र डिलरमार्फत भण्डारण सवारीसाधन बिक्रीको रणनीति अपनाइरहेका छन् । तर समग्रमा उत्पादन स्तर घटाइएको छ । टेस्लाको तलब प्याकेजले मस्कलाई असफलतामै अर्बौं कमाइको बाटो

अर्थमन्त्री खनालले अमेरिकी अधिकारीसँग व्यापार, लगानी र सहयोग विस्तारबारे गरे छलफल

काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन संयुक्त राज्य अमेरिका पुगेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले बुधबार अमेरिकाको वासिङ्टन डीसीमा विभिन्न देशका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । अर्थमन्त्री खनालले संयुक्त राज्य अमेरिकाका वाणिज्य प्रतिनिधिसँग नेपालको व्यापार र लगानी प्रवर्द्धनबारे छलफल गर्नुका साथै नेपाल ट्रेड प्रिफरेन्स प्रोग्रामको म्याद थप गर्न आग्रह गरेका छन् । सो अवसरमा अमेरिकी स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँग पनि दुई देशबीचका सम्बन्ध सुदृढ गर्ने तथा आपसी हितका विषयमा संवाद भएको थियो । त्यसैगरी अर्थमन्त्री खनालले साउदी फन्ड र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिसँग छुटाछुट्टै भेटवार्ता गर्दै नेपालमा पूर्वाधार र मानव विकासका क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् । साउदी फन्डका प्रतिनिधिले नेपालमा सिंचाइ र जलविद्युत क्षेत्रमा लगानी जारी रहने जानकारी दिएका छन् । जाइका प्रतिनिधिसँगको भेटमा विपी राजमार्ग पुनर्स्थापना, नागढुंगा सुरुङ मार्ग, र कोटेश्वर सेक्सन आयोजना छिटो अघि बढाउनेबारे विस्तृत छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री खनालले त्यही दिन अन्तर्राष्ट्रिय मुद्रा कोषका एशिया–प्रशान्त निर्देशक कृष्णा श्रीनिवासनसँग समेत भेटवार्ता गरेका थिए । सो अवसरमा कोषको सहयोगमा सञ्चालित विस्तारित कर्जा कार्यक्रम  लाई निरन्तरता दिने विषयमा छलफल भएको थियो । बैठकमा नेपाल राष्ट्र बैंक ऐनमा आवश्यक संशोधन, वाणिज्य बैंकहरूको कर्जा पोर्टफोलियो अध्ययन, र वित्तीय स्थायित्व कायम गर्ने उपाय सम्बन्धी विचार आदान–प्रदान पनि भएको थियो । उक्त छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको समेत उपस्थिति रहेको थियो ।

जेनजीका माग पूरा नगरी संसद पुनःस्थापना गर्नु हुँदैन : ज्ञानबहादुर शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले जेनजीका माग पूरा नगरीकन संसद पुनःस्थापना गर्न नहुने बताएका छन् । बुधबार सभामुखसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।  उनले राप्रपाले सभामुख देवराज घिमिरेसँग जेनजीका माग पूरा नगरीकन संसद पुनःस्थापना गर्नु हुँदैन भनेर स्पष्ट धारणा राखेको बताए । जेनजीको अहिलेको माग प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज र गैरदलीय स्थानीय तह रहेको बताए । गैरदलीय स्थानीय तह नहुने पनि जेनजीकै मागहरु रहेको बताए । देशमा भ्रष्टाचार व्याप्त रहेको र यसलाई नियन्त्रण गर्न संविधानका केही धाराहरू बाधक रहेकाले त्यसलाई परिमार्जन गर्न जरुरी रहेको जानकारी दिए ।  ‘हामीले सभामुखलाई स्पष्ट अडान राखेका छौँ । जेनजीका माग पूरा नगरीकन संसद पुनःस्थापना गर्नु हुँदैन । संसदबाट पारित गर्छौं भन्ने प्रतिवद्धता भएमात्रै संसद पुनःस्थापना गरौँ नत्र नगरौँ । देशमा भ्रष्टाचार व्याप्त छ, भ्रष्टाचार नियन्त्रणका लागि संविधानका केही धाराहरू बाधक छन्, ति धारालाई परिमार्जन गर्ने प्रतिवद्धता हुनुपर्छ,' उनले भने । उनले नेपालको संविधानमा १८ वर्ष उमेर पूरा गरेको व्यक्तिले मतदान गर्न पाउने र उम्मेदावर बन्न नपाउने उमेहरदबन्दी हटाउनुपर्ने जानकारी दिए ।   

सभामुख र निवर्तमान प्रमुख सचेतकहरूबीच छलफल शुरु, रास्वपा बैठकमा अनुपस्थित

काठमाडौं । सभामुख देवराज घिमिरे र निवर्तमान राजनीतिक दलहरूका प्रमुख सचेतकहरुबीचको छलफल शुरु भएको छ । बुधबार बिहान सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा छलफल शुरु भएको हो ।  जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भएको छ । सभामुख घिमिरे प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने निवेदनसहित अदालत जाने तयारीमा छन् । प्रतिनिधि सभा विघटन संविधान विपरित रहेको र नेकपा एमाले र नेपाली काँग्रेससहितका राजनीतिक दलहरुले संसद विघटन संविधानसम्मत नरहेको बताएका छन् । नेकपा एमालेले पदाधिकारी बैठकबाट प्रतिनिधि सभा विघटनविरुद्ध अदालत जाने निर्णय गरिसकेको छ भने काँग्रेस केन्द्रिय समितिको बैठकबाट आफ्नो धारणा स्पष्ट पार्ने बताउँदै आएको छ ।  यस्तो अवस्थामा सभामुखले विघटन हुनुपूर्वको प्रतिनिधि सभामा सहभागी राजनीतिक दलका प्रमुख सचेतकसँग पार्टीको धारणा माग्न बैठक राखेका हुन् । बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल लगायतका राजनीतिक दलहरु रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि भने सहभागी छैनन् ।

प्रदेश अस्पतालमा बिरामीलाई शय्या अभाव, भुइँमै बिरामी राखेर उपचार गर्न बाध्य

पर्वत । जाडो याम सुरु हुन थालेसँगै पछिल्ला केही दिनयता प्रदेश अस्पतालमा बिरामीको सङ्ख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ । चाप बढ्दै गएपछि बिरामीलाई शय्या अभाव भएको छ ।  बिरामीलाई अस्पतालको आकस्मिक कक्षमै र कतिपय अवस्थामा भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता बढेको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बाँस्तोलाले जानकारी दिए । उपचारका लागि आउने अधिकांश बिरामी भर्ना नै गर्नुपर्ने किसिमका रहेका उनको भनाइ छ ।  पछिल्ला केही दिनयता ‘जनरल वार्ड’का शय्या बिरामीले भरिएपछि भर्ना गरेर राख्नुपनेलाई समेत आकस्मिक उपचारका लागि छुट्याइएका शय्यामा भर्ना गरेर राखिएको छ । डा. बाँस्तोलाका अनुसार दैनिक तीन सय ५० जनाभन्दा बढी बिरामीको ‘ओपिडी’ र ‘इमर्जेन्सी’ कक्षमा उपचार गरिएको छ । एकै दिनमा तीन सय ९६ जनासम्मको उपचार गरिएको उनले बताए ।  पन्ध्र शय्याको अनुमतिप्राप्त प्रदेश अस्पतालमा अहिले ६४ शय्या सञ्चालन गरेर सेवा सञ्चालन भइरहेको छ । अस्पतालमा रहेको कम जनशक्तिलाई परिचालन गरेर बिहान ७ः०० देखि साँझ ७ः०० बजेसम्म नै बहिरङ्ग सेवा प्रदान गरेर सेवा प्रवाह जारी छ ।  डा बाँस्तोलाले भने, 'भर्ना गरेर राख्नेगरी ओपिडीमा रहेका २६ वटै शय्या भरिएका छन् । गर्मी समय सकिएर चिसो सुरु भइसकेको छ, यो बेलामा बिरामीको सङ्ख्या हरेक वर्ष बढ्छ ।'  बहिरङ्ग विभागका बिरामीले नै आकस्मिक उपचारका शय्या भरिएपछि आकस्मिक उपचारका बिरामी आएको अवस्थामा बहिरङ्गका बिरामीलाई शय्या अभाव भएको हो । त्यस्तो अवस्थामा आकस्मिक कक्षमा बसेर उपचार सेवा लिइरहेका बिरामीलाई भुइँमा नै राखेर भए पनि आकस्मिक अवस्थाका बिरामीलाई सेवा दिनुपर्ने बाध्यता भएको उनको भनाइ छ ।  सिजनल फ्लुका कारण एकै दिनमा १८ जनासम्म बालबालिकालाई भर्ना गरेर उपचार गरिएको डा. एनिस श्रेष्ठले बताए । उनीहरूमा मुख्यगरी ज्वरो, रुघाखोकी, बान्तालगायत समस्या देखिएको छ । यस्तै ज्येष्ठ नागरिकमा दम तथा श्वासप्रश्वासको समस्या छ । अस्पतालको आकस्मिक उपचारकक्षमा मात्र दैनिक करिब ४० जनाले सेवा लिइरहेका छन् । आकस्मिक कक्षमा आउनेहरूमा ज्वरो, दमसहितका श्वासप्रश्वास, झाडापखाला, बान्ता र केही सवारी दुर्घटनाका घाइते छन् । रासस