विकासन्युज

प्रधानमन्त्रीलाई संसद्मा ल्याउन रास्वपाको प्रतिबद्धता

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधिसभामा उपस्थित गराएर प्रश्नोत्तरमा सहभागी गराउने प्रतिबद्धता जनाएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीलाई छिट्टै संसद्मा उपस्थित गराइने बताएका हुन् । बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको नियमित संसदीय उपस्थितिलाई लिएर प्रश्न उठाएपछि रास्वपाले यस्तो प्रतिबद्धता जनाएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीको संसद् उपस्थितिबारे पछिल्लो समय सत्ता र विपक्षबीच विवाद बढिरहेका बेला रास्वपाको उक्त अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।   

विधेयकमा शिक्षा मन्त्रालयले माग्यो सुझाव

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले ‘प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि सुझाव मागेको छ । गुणस्तरीय प्राविधिक शिक्षा र सीप विकासको अवसरलाई पहुँचयोग्य बनाइ शिक्षा र तालिमलाई सीप, श्रम, रोजगारी, उत्पादन र समृद्धिसँग आबद्ध गर्न ल्याउन लागिएको सो विधेयकलाई मन्त्रालयले बेवसाइटमा राखेर सुझाव मागेको हो । मुलुकको सामाजिक तथा आर्थिक रूपान्तरणमा योगदान गर्न सक्ने आधारभूत, मध्यम तथा उच्चस्तरको प्राविधिक जनशक्तिको उत्पादन गर्नका लागि सो विधेयक तयार गरिएको मन्त्रालयले जनाएको छ । विद्यमान ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५’ लाई खारेज गर्ने गरी प्रस्ताव गरिएको एकीकृत विधेयकमा परिषद्लाई श्रम बजारको आवश्यकताबमोजिम पाठ्यक्रम, सम्बन्धन र शिक्षालय निर्धारणको अधिकार दिइएको छ । 

नेपाल बैंकको सञ्चालकमा अमृत लम्साल नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालकमा अमृत लम्साल नियुक्त भएका छन् । बैंकले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई पठाएको पत्रमार्फत अर्थ मन्त्रालयको तर्फबाट लम्साललाई सञ्चालक समितिमा नियुक्त गरिएको जानकारी गराएको हो । कम्पनीका सचिव केशवप्रसाद भण्डारीका अनुसार अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै आएका सञ्चालक महेश भट्टराई बिदा समेत भएका छन् । 

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा मंगलबार छापावाला सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबारका लागि भने दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार हुने गरी निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा ९० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला पाँच हजार १५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार ६० निर्धारण भएको छ ।      

काठमाडौं महानगरको छात्रवृत्तिमा २६ हजार बढीको आवेदन, त्रुटि सच्याउन २ दिनको समय

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूमा कक्षा ११ र १२ मा छात्रवृत्ति पाउनका लागि २६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन दिएका छन् ।  महानगरपालिकाको शिक्षा विभागका अनुसार आवेदन दिनेहरूमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ जना छात्रा र ६ जना अन्य रहेका छन् ।  २३ हजार बढीको आवेदन स्वीकृत, त्रुटि सच्याउन आग्रहप्राप्त आवेदनहरूमध्ये हालसम्म २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ ।  बाँकी आवेदकहरूमध्ये ३ हजार ३०२ जनाको विवरणमा त्रुटि देखिएकाले त्यसलाई सच्याउन महानगरले आग्रह गरेको छ । शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार विवरण सच्याउनुपर्ने विद्यार्थीहरूलाई उनीहरूको मोबाइल र इमेलमार्फत सूचित गरिसकिएको छ । त्रुटि भएका आवेदकहरूले विवरण सच्याएर पुनः पेश गरिसक्नुपर्नेछ ।  तोकिएको समयभित्र आवश्यक कागजात वा विवरण अपलोड नगरेमा आवेदन स्वतः रद्द हुनेछ । हालसम्म आवश्यक प्रक्रिया नपुर्‍याएका, सबै ठाउँमा एउटै डकुमेन्ट राखेका तथा अनावश्यक कागजात संलग्न गरेका ८४ जनाको आवेदन अस्वीकृत भइसकेको छ ।  जेठ १३ गतेसम्म आवेदन फाराम स्वीकृत गर्ने प्रक्रिया जारी रहने महानगरले जनाएको छ । छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीहरूमध्ये सबैभन्दा ठूलो संख्या विज्ञान विषय अध्ययन गर्न चाहनेहरूको  छ । विज्ञानमा १८ हजार ९९६, व्यवस्थापनमा ७ हजार २७१, कानुनमा ४०७, शिक्षामा १३५ र मानविकीमा ७९ जना विद्यार्थी रहेका छन् । विद्यार्थी र अभिभावकका लागि सहायता कक्षअनलाइन प्रणालीमार्फत आवेदन दिन कठिनाइ महसुस गर्ने विद्यार्थी र अभिभावकहरूलाई सहजीकरण गर्न महानगरको शिक्षा विभागमा सहायता कक्ष स्थापना गरिएको छ ।  त्यहाँबाट आवश्यक प्राविधिक सहयोग लिन सकिनेछ । प्रवेशपत्र र परीक्षा प्रणाली आवेदन स्वीकृत भएका विद्यार्थीहरूले जेठ १४ गते बिहान १० बजेपछि फाराम भरेकै वेबसाइटमा गएर आफ्नो प्रवेश पत्र डाउनलोड गरी कलर प्रिन्ट गर्न सक्नेछन् ।  परीक्षा केन्द्र र परीक्षा सम्बन्धी अन्य विस्तृत विवरण प्रवेश पत्रमै उल्लेख हुनेछ।कक्षा १० सम्मको छात्रवृत्ति वडास्तरीय समितिको सिफारिसमा हुने गरे पनि कक्षा ११ र १२ को हकमा भने शिक्षा विभागले परीक्षा सञ्चालन गर्नेछ ।  परीक्षापछि योग्यता क्रम र म्याचिङ लिष्टका आधारमा विद्यार्थीको नाम सिफारिस गरिनेछ। यसरी छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीहरूले कक्षा ११ र १२ मा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नुपर्ने छैन ।  

मानसरोवर जाँदै गरेका मगर १४ हजार ५ सय डलरसहित पक्राउ

काठमाडौं । रसुवामा अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । सोमबार साँझ रसुवा उत्तरगया गाउँपालिका ५ बेत्रावती बजारस्थित पासाङ ल्हामु सडकखण्डमा ३९ वर्षीय मिनबहादुर मगर पक्राउ परेका हुन्। काठमाण्डौंबाट टिमुरेतर्फ जाँदै गरेको बा. प्र. ०१००६ ख ७६०७ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा ओखलढुङ्गा ठुलाछाप गाउँपालिकाका मगरलाई पक्राउ गरिएको रसुवा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजु शाहले जानकारी दिए । मानसरोवर जाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । उनीसँग ८ जना मलेसियन पर्यटक रहेको प्रवक्ता शाहले जानकारी दिए । शाहले मगरलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवन, ललितपुर पठाइएको जानकारी दिए ।  केही दिनअघि रसुवाबाटै ४३ हजार अमेरिकन डलरसहित सुशील गुरुङ पक्राउ परेका थिए ।

अटोचालकको पेसामा महिलाको आकर्षण, आत्मनिर्भरतातर्फ अघि बढ्दै

कर्णाली । पछिल्लो समय अटोचालक व्यवसायमा महिलाहरू आकर्षित हुँदै गएका छन् ।  सुर्खेतमा  १०० भन्दा बढी महिला अटो चालक पेसामा आबद्ध छन् । सहर पसेसँगै उनीहरुले श्रम, सीप र साहसका साथ पेसालाई आत्मनिर्भर बनाउँदै लगेका छन् । जसबाट उनीहरुको दैनिकी मात्र चलेको  छैन, भविष्यका लागि बचत समेत गर्न सफल भएका छन् । महिलालाई आत्मनिर्भरतर्फ उन्मुख राखिराख्न कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले ५४  अटोचालक महिलालाई यहाँ तालिम प्रदान गरेको छ । अटोचालकहरु कार्यक्रममा सहभागी मात्र भएनन्, त्यहाँ उनीहरुले पेसाको जोखिम, समाजले उनीहरुप्रति राख्ने दृष्टिकोण, गर्ने व्यवहार र सामना गर्नुपरेको चुनौतिका बारेमा खुलेर आ–आफ्नो धारण राखेका थिए । कार्यक्रममा अटो चालक सुशीला सापकोटाले समाजमा महिलाले पनि चुनौतीपूर्ण कामलाई अवसरमा ढाल्न सक्ने र उनीहरु कमजोर नभएको तर्क गरे । तालिम कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले पेसालाई माया गर्न र व्यबसाय प्रति प्रतिबद्ध भएर कर्म गर्न सुझाव दिए । कर्णाली महिला स्वास्थ्य क्लिनिक सुर्खेतका प्रमुख तथा कर्णाली प्रदेश अस्पतालका स्त्रीरोग विशेषज्ञ तथा डा ललित शाहीले महिला अटोचालकलाई बच्चा र आमाको स्वास्थ्य अवस्था ठिक राख्न बेला बेलामा अस्पतालमा जाँच गर्नसमेत सल्लाह दिए । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले महिला अटोचालकको व्यवसायलाई मर्यादित, सम्मानित र सुरक्षित बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताए । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अधिकृत खगेन्द्रप्रकाश गैरेले महिला अटोचाललाई मानसिक र नसर्ने रोगका बारेमा जानकारी दिए । मानसिक रोगका कारण कर्णालीमा दैनिक एकजनाले आत्महत्या गरेको बताउँदै उनले अस्पतालमा १२ प्रकारका औषधि निःशुल्क पाइनेबारे जानकारी दिए ।   

तेल र ग्यास आपूर्ति सुरक्षित राख्न यूएई र कतारको ‘डार्क ट्रान्जिट’ रणनीति

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण ग्लोबल इनर्जी सप्लाई (विश्वव्यापी ऊर्जा आपूर्ति) का मार्गहरूमा दबाब बढेको छ । यसैबीच संयुक्त अरब इमिरेट्स (यूएई) र कतारका ठूला तेल कम्पनीहरूले फारसको खाडीबाट ऊर्जाको आवश्यकता भएका देशहरूसम्म आफ्नो तेल र ग्यास पुर्‍याउन एक फरक प्रकारको शिपिंग रणनीतिको सहारा लिइरहेका छन् । यूएईको सरकारी तेल कम्पनी एडनक विश्वकै सबैभन्दा संवेदनशील समुद्री मार्गहरूमध्ये एक हर्मुज स्ट्रेटबाट गुज्रिरहेको छ । यो त्यस्तो ठाउँ हो जहाँ क्षेत्रीय तनाव बढिरहेका बेला इरानी सेना र अमेरिकी नौसेनाका गस्ती टोलीहरू एक-अर्काको निकै नजिक रहेर काम गर्छन् । ब्लूमबर्गद्वारा सार्वजनिक गरिएको जहाज ट्र्याकिङ डेटा र यस मामिलाका जानकार व्यक्तिहरूका अनुसार यूएईको सरकारी ऊर्जा कम्पनीले ‘डार्क ट्रान्जिट’ मा भरोसा गरेको छ। डार्क ट्रान्जिट यस्तो यात्रा हो जसमा जहाजहरू हर्मुज स्ट्रेटबाट गुज्रँदा आफ्नो ट्रान्सपोन्डर (सिग्नल यन्त्र) बन्द गरिदिन्छन् । यसले तेल ट्याङ्करहरूलाई वास्तविक समयमा ट्र्याक हुन वा समातिनबाट जोगिन मद्दत गर्छ । सजिलो शब्दमा भन्नुपर्दा जहाजहरूको यात्रा अँध्यारोमा वा लुकेर सुरु हुन्छ । यो रणनीतिले अहिलेसम्म भू–राजनीतिक जोखिमका समयमा पनि निर्यातलाई निरन्तरता दिन मद्दत गरेको छ । भाडाका जहाजहरूमा निर्भर रहने धेरै क्षेत्रीय उत्पादकहरू र कमोडिटी व्यापारीहरूको विपरीत एडनकले आफ्नै जहाजको फ्लिटमा भरोसा गरेको छ । यस फ्लिटमा नाभी जी ८ मार्फत सञ्चालन हुने जहाजहरू पनि सामेल छन्, जसमा एडनकको शिपिङ र लजिस्टिक शाखाको मुख्य हिस्सेदारी छ ।  साथै वान्हुआ केमिकल ग्रुपसँग पनि उसको संयुक्त उद्यम रहेको छ । यस फ्लिटमा कच्चा तेल बोक्ने जहाज, रिफाइन्ड उत्पादनका ट्याङ्कर र ग्यास ढुवानी गर्ने जहाजहरू सामेल छन् । यसले कम्पनीलाई काम गर्न थप लचकता प्रदान गर्दछ । उद्योग सम्बद्ध स्रोतहरूका अनुसार यस व्यवस्थाका कारण एडनकले जहाजहरूबाट सामानको आवतजावतलाई धेरै हदसम्म जारी राख्न सकेको छ । अर्कोतर्फ अन्य कम्पनीहरूले भने जहाज मालिकहरूको जोखिम मोल्ने क्षमताको कमीका कारण उत्पन्न अवरोधहरूको सामना गरिरहेका छन् । कतारले पनि हर्मुजको बाटो भएर आफ्नो निर्यात जारी राखेको छ । यो खाडी क्षेत्रका उत्पादकहरू विश्वको सबैभन्दा महत्त्वपूर्ण ऊर्जा मार्गहरूमध्ये एकमा परिवर्तन भइरहेको परिस्थितिसँग आफूलाई अनुकूल बनाउँदैछन् भन्ने कुराको संकेत हो । जहाजहरूको डेटा अनुसार हालै एउटा एलएनजी ट्याङ्कर ‘अल रयान’ हर्मुज स्ट्रेटबाट गुज्रिएपछि मस्कटको उत्तरमा देखिएको थियो । यो चीनतर्फ जाँदै थियो । यद्यपि, यस महिनाको सुरुमा कतारको ‘रास लफान’ प्लान्ट नजिकै यसले केही समयका लागि आफ्नो सिग्नल पठाउन बन्द गरेको थियो । जहाजहरूले ‘स्टेल्थ नेभिगेसन’ (लुकेर चल्ने) तरिकाहरू अपनाउँदै जाँदा यसरी बीच–बीचमा सिग्नल गायब हुनु अचेल सामान्य कुरा भएको छ । एडनकको रणनीतिमा छोटो समयको ‘शटल रन’ पनि सामेल छ   । यसमा जहाजहरू सामान पु¥याउनासाथ तुरुन्तै फर्किन्छन् ताकि उनीहरूले फेरि सामान भर्न सकून् । यसले जिरकु टापु र रुवैस रिफाइनरी कम्प्लेक्स जस्ता टर्मिनलहरूबाट सामानको आवतजावतलाई बढीभन्दा बढी बढाउन मद्दत गर्दछ । जहाजहरू बीच सामानको आदानप्रदान (शिप–टु–शिप ट्रान्सफर) फुजैराह वा सोहर नजिकैको सुरक्षित समुद्री क्षेत्रमा वा भारतको पश्चिमी तटतर्फ जाँदै गर्दा गर्ने गरिएको बताइन्छ । एलएनजी सञ्चालनको मामिलामा पनि यस्तै प्रकारको गोप्य आवतजावत देखिएको छ । ट्याङ्करहरू फुजैराहनजिकै स्ट्रेटमा प्रवेश गर्छन् । त्यसपछि दास टापुतर्फ जाँदा ट्र्याकिङ सिस्टमलाई निष्क्रिय बनाइदिन्छन् । दास टापु खाडीभित्र एडनकको प्रमुख निर्यात हब हो ।  ब्लूमबर्गले विश्लेषकहरूलाई उद्धृत गर्दै लेखेको छ कि यो दृष्टिकोणले रणनीतिक गम्भीरता र व्यवस्थापकीय (लजिस्टिक) आवश्यकतालाई दर्साउँछ । यसको कारण के हो भने भण्डारण (स्टोरेज) को अभाव र भू–राजनीतिक अनिश्चितताले उत्पादकहरूलाई निर्यात जारी राख्न बाध्य पारिरहेको छ । यद्यपि यस्ता शिपमेन्टहरूको परिमाण द्वन्द्व–पूर्वको स्तरभन्दा तल नै रहेको छ । विशेष गरी एलएनजी व्यापारमा जहाँ सामान्य दैनिक प्रवाहको तुलनामा हालका महिनाहरूमा केही क्रसिङहरूको मात्र पुष्टि भएको छ । कम भिजिबिलिटी भएको नेभिगेसनमा निर्भरताले कार्गो मार्गहरूको प्रमाणीकरणलाई पनि जटिल बनाउँछ । यसले गर्दा जहाजहरूले वैकल्पिक मार्गहरू चयन गर्न सक्छन् वा इरानको प्रभाव रहेको जलक्षेत्रबाट गुज्रन सक्छन् जहाँ अनौपचारिक व्यवस्थाहरू लागू हुन सक्छन् । यो अस्पष्टताका बाबजुद पनि यो ट्रेन्डले उत्पादकहरू हर्मुज स्ट्रेटमार्फत महत्त्वपूर्ण ऊर्जा आपूर्ति कायम राख्न कसरी व्यवस्था मिलाउँदैछन् भन्ने कुरा स्पष्ट पार्छ ।   अर्बपति वुओङको ७ अर्ब डलरको रहस्यमयी कारोबार कमजोर हुँदै भारतीय रुपैयाँ नयाँ विश्व व्यवस्थाको केन्द्र बन्दै चीन इरान र अमेरिकाबीच बल्झिएका ५ मुद्दाहरू पौने दुई करोड डलर जरिवाना तिर्न अडानी समूह सहमत इरानलाई आणविक हतियार निषेध गर्ने अमेरिका-चीनबीच सहमति