सेयर बजारमा निर्जीवन बीमा कम्पनीहरूको साढे ५ अर्ब लगानी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म सेयर बजारमा निर्जीवन बीमा कम्पनीहरूले ५ अर्बभन्दा बढीको लगानी गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूले ५ अर्ब ४४ करोड ६५ लाख रुपैयाँको लगानी गरेका हुन् । तथ्यांकअनुसार चालु आवको तेस्रो त्रैमाससम्ममा बीमा कम्पनीहरूले गरेको लगानी गत आवको तुलनामा १९.७४ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा बीमा कम्पनीहरूले सेयर बजारमा ४ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ बराबरको लगानी गरेका थिए । तेस्रो त्रैमाससम्ममा सेयर बजारमा सबैभन्दा धेरै लगानी गर्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले चैत्रसम्ममा ७९ करोड ४१ रुपैयाँ लगानी गरेका छन् । गत आवको तुलनामा भने कम्पनीले लगानी वृद्धि गर्न सकेको छैन । दोस्रो धेरै लगानी गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । कम्पनीले चैत्रसम्ममा ७७ करोड ३६ लाख रुपैयाँको लगानी गरेको छ । गत आवको यही अवधिमा कम्पनीले ५० करोड १३ लाख रुपैयाँ लगानी गरेका थिए । गत आवको तुलनामा कम्पनीको सेयर बजारमा गरेको लगानी ५४.३० प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, तेस्रो त्रैमाससम्ममा नेको इन्स्योरेन्सले ६२ करोड ४९ लाख रुपैयाँ सेयरमा बजारमा लगानी गरेको छ । गत आवको यही अवधिमा कम्पनीले ५९ लाख ६८ हजार रुपैयाँ लगानी गरेका थिए । गत आवको तुलनामा कम्पनीले सेयर बजारमा ४.७२ प्रतिशतले लगानी बढाएका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चैत्रसम्ममा ५८ करोड ५५ लाख रुपैयाँ लगानी गरेको छ । गत आवको यही अवधिमा कम्पनीले ५० करोड ३५ लाख रुपैयाँ लगानी गरेका थिए । गत आवको तुलनामा कम्पनीको पुँजी बजारमा लगानी १६.२८ प्रतिशतले बढेको छ । त्यसैगरी, तेस्रो त्रैमाससम्ममा हिमालयन एभरेष्टले ४९ करोड ७२ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ४७ करोड ७९ लाख रुपैयाँ, युनाइटेड अजोडले ४७ करोड १५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ३३ करोड ५९ लाख र एनएलजी इन्स्योरेन्सले २१ करोड ३० लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका छन् । गत आवको यही अवधिको तुलनामा हिमालयन एभरेष्टले ६९.७६ प्रतिशत, आइजिआई प्रुडेन्सियलले ३.३० प्रतिशत, युनाइटेड अजोडले १८९.८४ प्रतिशत, नेपाल इन्स्योरेन्सले ०.९२ प्रतिशत र एनएलजी इन्स्योरेन्सले ३३.०४ प्रतिशते लगानी बढाएका छन् । गत आवको तुलनामा सानिमा जिआइसी, शिखर इन्स्योरेन्स र प्रभु इन्स्योरन्सले भने सेयर बजारमा लगानी घटाएका छन् । गत आवको तुलनामा सानिमा जिआईसीको २.८५ प्रतिशत, शिखर इन्स्योरेन्सको ११.२४ प्रतिशत र प्रभु इन्स्योरेन्सको २४.१० प्रतिशतले लगानी घटाएका छन् ।
मुक्तिनाथ विकास बैंकको फाइदा एपमा सेल्फ–रिन्यु सुविधा सुरु
काठमाडौं । मुक्तिनाथ विकास बैंकले मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ लगायतका नयाँ सुविधा थप गरेको छ । यस सुविधासँगै ग्राहकहरूले मोबाइल बैंकिङ सेवा नवीकरण गर्न शाखा धाउनुपर्ने बाध्यता हटेको बैंकले जनाएको छ । अब ग्राहकहरूले घरमै बसेर वा आफूलाई सहज हुने समयमा एपमार्फत सेवा नवीकरण गर्न सक्नेछन् । नवीकरणका लागि प्रयोगकर्ताले एपमा लगइन गरेपछि एक्सपाइरीसम्बन्धी पपअप देखिएमा रिन्यू नाउमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि नवीकरण शुल्कसम्बन्धी जानकारी हेरेर कन्टीनिउ थिची आफ्नो ट्रान्जेक्सन पिन प्रविष्ट गरेपछि सेवा तुरुन्त सक्रिय हुने व्यवस्था मिलाइएको छ । यसका साथै बैंकले फाइदा एपमार्फत ग्राहकले शाखा नगई आफ्नो केवाईसी विवरण, प्यान, मोबाइल नम्बर तथा इमेल अपडेट गर्न सक्ने सुविधा पनि उपलब्ध गराएको जनाएको छ । डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी र ग्राहकमैत्री बनाउने उद्देश्यले यो सुविधा ल्याइएको बैंकले जनाएको छ। फाइदा एपमार्फत ग्राहकहरूले विभिन्न बैंकिङ सेवा सहज रूपमा प्रयोग गर्न सक्नेछन् । बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङका अनुसार यस सेवाले ग्राहकको समय बचत गर्नुका साथै बैंकिङ पहुँचलाई अझ सरल बनाउने विश्वास लिइएको छ ।
एनआईसी एशिया बैंकले धनुषाको विद्यालयलाई दियो शैक्षिक सामग्री
काठमाडौं । एनआईसी एशिया बैंकले धनुषाको महेन्द्रनगरस्थित दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री सहयोग उपलब्ध गराएको छ । विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको जनाएको छ । १३८ भन्दा बढी विद्यार्थी अध्ययनरत यस विद्यालयका लागि बैंकका जनकपुर सर्कल हेड उत्सुक राज श्रेष्ठले जेठ १२ गते आयोजित एक कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक ममता पण्डितलाई झोला लगायत अन्य शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सितेश कुमार झा, शिक्षक–शिक्षिका, विद्यार्थीहरू तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकले उपलब्ध गराएको सहयोगले विद्यार्थीहरूको अध्ययनमा सहजता ल्याउनुका साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ ।
कन्सुलर विभागले ल्यायो 'मोफा मित्र एप'
काठमाडौं । विदेशमा रहेका नेपालीहरूका लागि कन्सुलर विभागले 'मोफा मित्र एप' ल्याएको छ । परराष्ट्र अन्तर्गतको कन्सुलर सेवा विभागले उक्त एप संचालनमा ल्याएको हो । मंगलबार परराष्ट्र मन्त्री शिशिर खनालले एक कार्यक्रमकाबीच उक्त एपको उद्घाटन गरेका छन् । आफ्नो स्मार्टफोनमा उक्त एप डाउनलोड गरेर विदेशमा रहेका नेपाली तथा उनीहरूका आफन्तले गुनासो तथा समस्या राख्ने सक्नेछन् । विभागका महानिर्देशक दुरपदा सापकोटाले विदेशमा रहेका नेपालीहरूका उजुरी, गुनासा, उद्दार लगायतका कार्य उक्त एप मार्फत सहजै गर्न सक्ने बताइन् । हाल संचालनमा रहेको अनलाइन प्रणालीमा उजुरी तथा समस्या राख्न सक्छन् । तर, उक्त अनलाइनमा भने विभागमा उजुरी आईसकेपछि विभागले सम्बन्धित नियोगमा पठाउने गरेको छ। तर उक्त एप मार्फत सिधै नियोगमा उजुरी गर्ने उनको भनाइ छ। उद्घाटनमा मन्त्री खनालले सहज पहुँच सुनिश्चित गर्नका लागि उक्त एप सञ्चालनमा ल्याइएको बताए । विदेशमा रहेका नेपालीहरू समस्यामा परेको खण्डमा वा उद्दार गर्नुपर्ने अवस्था आएको खण्डमा एप मार्फत नै सहज हुने बताए । 'एउटा एपले यहाहरूको गुनासो सम्बोधन हुन्छ भन्ने हाम्रो अपेक्षा छ । प्रविधिको अत्यधिक प्रयोग गरेर समस्यामा परेका नेपालीका समस्या समाधान गर्न हामी प्रतिवद्द छौँ,' मन्त्री खनालले भने । प्रविधिमार्फत हरेक नेपालीको हातहातमा पुर्याउने उदेश्यसहित एप सञ्चालनमा ल्याइएको विभागले जनाएको छ ।
‘नेपालको विदेश नीति सन्तुलित र व्यावहारिक हुन्छ’
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको विदेश नीति सन्तुलित र व्यावहारिक हुने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आझ काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली संघ (ईयू) तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौंस्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा उनले यस्तो बताएका हुन् । ‘हाम्रा छिमेकी, विकास साझेदार र मित्र राष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता, र साझा समृद्धिका सिद्धान्तहरूद्वारा निर्देशित छ,’ उनले भने । उनले नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग पुर्याउँदै आएको भन्दै नेपालका सबै विकास साझेदार र मित्र राष्ट्रहरूप्रति आभार प्रकट गरे । प्रधानमन्त्री शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको दावी गरे । उक्त भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट र निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पारेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री शाहले भेटवार्तामा भनेका छन्, ‘नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन । नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौं ।’ उनले नेपालको सुशासन र अर्थतन्त्रको समावेशी वृद्धिका लागि आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको दोहोर्याए। जनताका लागि नयाँ अवसरहरू सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको, बृहत् लगानी आकर्षित गर्न प्रक्रियाहरूलाई थप सहज बनाउँदै नवप्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिवद्ध रहेको उनले बताए । साथै उनले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन तथा अन्य प्रमुख क्षेत्रहरूमा सहकार्य गर्न र त्यसलाई अझ सुदृढ बनाउन नेपाल लागिरहेको रहेको स्पष्ट पारे । भेटका क्रममा प्रधानमन्त्री शाहले विश्वका विभिन्न भू-भागहरूमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेका बेला सर्वसाधारण नागरिकहरूले नै सबैभन्दा बढी पीडा भोग्नु परेको भन्दै शान्ति कायम गर्न सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनले प्राथमिकता पाउनुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिए । भेटमा काठमाडौं र नयाँ दिल्लीस्थित युरोपियन युनियनका राजदूतहरू तथा काठमाडौंस्थित अन्य राजदूतहरूले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गरेका थिए। साथै उनीहरूले सुशासन, आर्थिक विकास र समृद्धिको म्यान्डेटसहित नयाँ सरकारको नेतृत्वमा पुगेकोमा प्रधानमन्त्री शाहलाई बधाई दिएका थिए । आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य तथा लगानी गर्न आफूहरू तयार रहेको उनीहरूले बताएका थिए । यसअघि गत चैत २५ गते प्रधानमन्त्रीले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गरेका थिए ।
नेपाल लाइफद्वारा वित्तीय पारदर्शिता र जोखिम व्यवस्थापनमा जोड
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य र आम विनाशकारी हातहतियारमा हुने वित्तीय लगानी निवारण (एएमएल/सीएफटी/सीपीएफ) सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंमा आयोजित उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक तथा सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रका विज्ञ डा. हरि कुमार नेपालले प्रशिक्षण दिएका थिए । उनले बीमा क्षेत्रमा लागू हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था र त्यसको व्यवहारिक कार्यान्वयनबारे विस्तृत प्रस्तुति दिएका थिए । प्रशिक्षणमा कम्पनीका सञ्चालक समिति पदाधिकारी, आधारभूत सेयरधनी, उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो । कार्यक्रममा एएमएल/सीएफटी सम्बन्धी कानुनी व्यवस्था, नियामकीय निर्देशन, जोखिम पहिचान तथा व्यवस्थापन, ग्राहक पहिचान प्रक्रिया र शंकास्पद कारोबार पहिचानबारे जानकारी दिइएको थियो । कार्यक्रममा सञ्चालक कमलेश कुमार अग्रवालले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र एएमएल/सीएफटी अनुपालन कम्पनीको दीर्घकालीन स्थायित्वका लागि महत्वपूर्ण रहेको बताए । प्रभावकारी अनुपालनले मात्र कम्पनीलाई सुरक्षित र दिगो बनाउन सक्ने उनको भनाइ थियो । त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले प्रचलित कानुनको व्यवहारिक कार्यान्वयनमा जोड दिँदै नियामकीय मापदण्डहरूलाई दैनिक कार्यप्रणालीमै प्रभावकारी रूपमा लागू गरिएको जानकारी दिए । कम्पनीका अनुसार यस प्रशिक्षणले वित्तीय अपराध न्यूनीकरण, संस्थागत सुशासन तथा वित्तीय पारदर्शिता सुदृढ गर्न सहयोग पुगेको छ । कम्पनीले यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ ।
प्रतिवादीले अब विदेशबाटै बयान दिन पाउने
काठमाडौं । विदेशमा रहेका प्रतिवादीले अब भिडियो कन्फरेन्समार्फत बयान दिन पाउने भएका छन् । सर्वोच्च अदालतले विदेशमा रहेका प्रतिवादीलाई भिडियो कन्फेरेन्समार्फत बयान दिन नदिने विशेष अदालतको आदेश बदर गर्दै अब विदेशबाटै श्रव्य-दृश्य संवादमार्फत बयान दिन सकिने बाटो खुला गरिदिएको हो । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले भ्रष्टाचार मुद्दाकी प्रतिवादी सभ्यता केसीको निवेदनमाथि सुनुवाइ गर्दै विशेष अदालतको बहुमत आदेश त्रुटिपूर्ण रहेको निष्कर्स निकालेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनका आधारमा केसीविरुद्ध गलत लिखत तयार गरी सरकारी कागजात सच्याएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । विशेष अदालतमा उपस्थित हुनुपर्ने म्यादभित्र उनी अध्ययनका लागि अष्ट्रेलियामा रहेको र तत्काल नेपाल फर्किन नसक्ने अवस्था देखाउँदै उनले भिडियो कन्फेरेन्समार्फत बयान दिन अनुमति मागेकी थिइन् । यसअघि विशेष अदालतले विदेशमा रहेका प्रतिवादीको बयानपछि थुनछेक, धरौटी वा जमानत सम्बन्धी आदेश कार्यान्वयनमा समस्या हुने भन्दै भिडियो कन्फेरेन्समार्फत बयान लिन नमिल्ने आदेश दिएको थियो । विशेष अदालतको एक नम्बर इजलासमा अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापा रहेका थिए । बहुमत आदेशमा विदेशमा रहेका प्रतिवादीलाई पहिलोपटक अदालतमा उपस्थित गराई भिडियो कन्फेरेन्समार्फत बयान लिन सकिने स्पष्ट कानुनी व्यवस्था नभएको उल्लेख गरिएको थियो । प्रतिवादीको बयानसँगै थुनछेक, धरौटी वा जमानत सम्बन्धी आदेश कार्यान्वयनको प्रश्नसमेत जोडिने भएकाले विदेशमै रहेर बयान गराउने व्यवस्था व्यवहारिक र कानुनी रूपमा कार्यान्वयनयोग्य नदेखिएको अदालतको निष्कर्स थियो । विशेष अदालतले विशेष अदालत ऐन, २०५९ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दफा ६७, ६८, ६९ र ८९ को कार्यान्वयनमा समेत जटिलता उत्पन्न हुने ठहर गरेको थियो । तर अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरले भने फरक राय राख्दै प्रतिवादीलाई उक्त सुविधा दिनुपर्ने मत व्यक्त गरेका थिए । उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२२ को उपदफा ५ र दफा १२२ को उपदफा ६ तथा सर्वोच्च अदालतद्वारा जारी अदालतमा श्रव्य-दृश्यमार्फत सुनुवाइ सञ्चालन सम्बन्धी निर्देशिका, २०७८ ले विदेशस्थित नेपाली राजदूतावासमार्फत बयान गराउने बाटो खुला गरेको व्याख्या गरेका थिए । फरक रायमा विदेशमा रहेका साक्षीको बकपत्र यसअघि पनि भिडियो कन्फरेन्समार्फत लिइँदै आएको उल्लेख गर्दै प्रतिवादीलाई समेत सम्बन्धित देशस्थित नेपाली दूतावासमा उपस्थित गराई बयान लिन सकिने तर्क गरिएको थियो । सर्वोच्च अदालतले अन्ततः विशेष अदालतको बहुमतको आदेश उल्ट्याउँदै भिडियो कन्फरेन्समार्फत बयान लिन नपाइने भन्ने कानुनमा स्पष्ट निषेध नरहेको व्याख्या गरेको छ । अदालतले प्रविधिको विकास, विश्वभर फैलिएको नेपाली समुदाय र न्यायमा सहज पहुँचको संवैधानिक अधिकारलाई ध्यानमा राख्दै न्यायिक प्रक्रियामा प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गरेको छ । सर्वोच्चले विदेशस्थित नेपाली राजदूतावासमा उपस्थित भई भिडियो कन्फरेन्समार्फत बयान दिन सकिने र आवश्यक परे दूतावास तथा कूटनीतिक माध्यमबाट अदालतको आदेश कार्यान्वयन गर्न सकिने समेत स्पष्ट पारेको छ । यो आदेशसँगै अब विदेशमा रहेका नेपाली प्रतिवादीलाई अदालतमा शारीरिक रूपमा उपस्थित नभई नेपाली दूतावासमार्फत भिडियो कन्फेरेन्स प्रयोग गरेर बयान दिने कानुनी बाटो खुलेको छ ।
घट्यो सेयर बजार, ४ अर्ब ८५ करोडको कारोबार
काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.२४ अंकले घटेर २७७७ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ६९ कम्पनीको सेयर मूल्य बढ्दा १९० कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३४२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको भएको आँखु खोलाको ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै रिडि पावरको १६ करोड, साहस ऊर्जाको १४ करोड, न्यादी गुप्रको १३ करोड ७३ लाख र एपीआई पावर कम्पनीको १३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको कारोबारका कालिन्चोक हाइड्रो, कुथेली बुखरी, त्रिशुली जलविद्युत, श्रृजनशील लघुवित्त र नेपाल रिपब्लीकका सेयर लगानीकर्ताले कमाएका छन् । यस्तै सुपर खुदि हाइड्रो र ग्रीन डेभलपमेन्टका सेयर लगानीकर्ताले गुमाएका छन् ।