घट्यो सेयर बजार, ४ अर्ब ८५ करोडको कारोबार
काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.२४ अंकले घटेर २७७७ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ६९ कम्पनीको सेयर मूल्य बढ्दा १९० कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३४२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको भएको आँखु खोलाको ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै रिडि पावरको १६ करोड, साहस ऊर्जाको १४ करोड, न्यादी गुप्रको १३ करोड ७३ लाख र एपीआई पावर कम्पनीको १३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको कारोबारका कालिन्चोक हाइड्रो, कुथेली बुखरी, त्रिशुली जलविद्युत, श्रृजनशील लघुवित्त र नेपाल रिपब्लीकका सेयर लगानीकर्ताले कमाएका छन् । यस्तै सुपर खुदि हाइड्रो र ग्रीन डेभलपमेन्टका सेयर लगानीकर्ताले गुमाएका छन् ।
काठमाडौंमा फिन इलेक्ट्रो–टेक आयोजना हुने, ४ दिनसम्म अन्तर्राष्ट्रिय प्रविधि प्रदर्शनी
काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा 'फिन इलेक्ट्रो–टेक २०२६' नामक अन्तर्राष्ट्रिय स्तरको बृहत् प्रदर्शनी आगामी जेठ २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ । विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित यस प्रदर्शनीमा आधुनिक तथा सुरक्षित प्रविधिको प्रदर्शन गरिने आयोजकले जनाएको छ । नेपालमा जलविद्युत उत्पादन, विद्युत पहुँच विस्तार र डिजिटल प्रविधिको प्रयोग तीव्र बन्दै गइरहेको अवस्थामा गुणस्तरीय विद्युतीय सामग्रीको आवश्यकता बढ्दो छ । उक्त आवश्यकतालाई मध्यनजर गर्दै उपभोक्ता, व्यवसायी तथा प्राविधिक जनशक्तिलाई अन्तर्राष्ट्रिय मापदण्ड, सुरक्षा प्रणाली तथा ऊर्जा दक्ष प्रविधिबारे जानकारी दिने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो । आयोजकका अनुसार प्रदर्शनीले स्वदेशी उत्पादन प्रवद्र्धन, विदेशी प्रविधि तथा लगानी भित्र्याउने, व्यवसायिक नेटवर्क विस्तार गर्ने तथा अन्तर्राष्ट्रिय व्यापार सहकार्य मजबुत बनाउने अपेक्षा गरिएको छ । साथै ऊर्जा, पूर्वाधार र स्मार्ट प्रविधिसँग सम्बन्धित नयाँ अवसरहरूको पहिचानमा पनि यसले योगदान गर्ने विश्वास गरिएको छ । चार दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपालसहित विभिन्न देशका कम्पनी, उत्पादक, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायकहरूको सहभागिता रहनेछ । प्रदर्शनीमा ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, स्मार्ट ऊर्जा समाधान, औद्योगिक तथा घरेलु विद्युतीय उपकरण, वायर तथा केबुल, एलईडी लाइटिङ, स्मार्ट स्विच, सुरक्षा प्रणाली, सौर्य ऊर्जा, अटोमेसन प्रणाली र अत्याधुनिक आईटी सामग्री प्रदर्शन गरिनेछ । आगन्तुकहरूले एउटै स्थानमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादन तुलना गर्न, नयाँ प्रविधिको अनुभव लिन र प्राविधिक जानकारी हासिल गर्न सक्नेछन् । यसले सुरक्षित विद्युतीय सामग्रीको प्रयोगबारे जनचेतना अभिवृद्धिमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रदर्शनीका सम्पूर्ण स्टल बुकिङ भइसकेका छन् । आयोजकका अनुसार टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सर्फमर, पावर बाईमा ह्याभेल्स, प्लेटिनम स्पोन्सरमा जनता के.इ.आई., डायमण्ड स्पोन्सरमा लेजर इन्डिया र ग्रेटहाइट इलेक्ट्रीकल्स रहेका छन् । गोल्ड स्पोन्सरमा ब्रिलेन्ट एलईडी रहेको छ भने अफिसियल बैंकमा नविल बैंक, इन्स्योरेन्समा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र क्यारियरमा एस.के.बी ग्रुप छन् । यसैगरी टेक्नोलोजी पार्टनरमा जुलाई टेक ल्याब्स, इन्टरनेट पार्टनरमा सजिलो नेट तथा व्यवस्थापन मिडिया स्पेसले गरिरहेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शलगायत विभिन्न संस्थाको सहयोग रहने उक्त प्रदर्शनीमा उद्योगी, व्यवसायी, इन्जिनियर, विद्यार्थी, सञ्चारकर्मी तथा सर्वसाधारण गरी हजारौं आगन्तुकको सहभागिता रहने अपेक्षा गरिएको छ ।
मध्य काठमाडौंमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । चक्रपथभित्र सहज रुपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ सो प्रसारण लाइन निर्माण गर्न लागिएको हो । विद्युत् खपत बढाउने र सहरमा सौन्दर्य अभिवृद्धि गर्ने लक्ष्यका साथ भूमिगत प्रसारण लाइन निर्माण हुन लागेको बताइएको छ । प्रस्तावबमोजिम बालाजु महाराजगञ्ज–राजदरबार–रत्नपार्क हुँदै सिंहदरबारसम्म सो प्रसारण लाइन जोडिनेछ । बालाजु सवस्टशेनदेखि सिंहदरबारसम्म जोडिने सो प्रसारण लाइनको लम्बाइ ११ दशमलव ९२ किलोमिटर रहनेछ । डलब सर्किट सो प्रसारण लाइन आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुनेछ । यस्तै, महाराजगञ्जमा एक सय ३२/११ केभी राजदरबारमा एक सय ३२/११ केभी क्षमताको सवस्टेशन निर्माण हुनेछ । यस्तै, रत्नपार्कमा एक सय ३२/११ केभी र सिंहदरबारमा एक ३२/६६/११ केभी क्षमताको सवस्टेशन समेत निर्माण हुनेछ । सो प्रसारण लाइन र सवस्टेशन निर्माणका लागि अनुमति मात्रै प्राधिकरणले विद्युत् विकास विभागमा आवेदन दिएको छ । सो प्रसारण लाइनको क्षमता १३२ केभी बराबर रहनेछ । भूमिगत डबल सर्किट रहने सो प्रसारण लाइनमा ३५० मेगावाटसम्मको विद्युत् शक्ति प्रवाह हुनेछ । सो प्रसारण लाइन लाइनमा २१ ‘ज्वाइन्ट पिट्स’हरु निर्माण हुनेछ । त्यसको अधिकतम दूरी ५०० मिटरसम्म हुनेछ । आयोजना निर्माणको लागि कूल एक दशमलव ६२ हेक्टर जमिन आवश्यक पर्नेछ । सो प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा विद्युत् ऐन, २०४९ को दफा २४ बमोजिम भूक्षय, बाढी, वायुप्रदूषण आदिद्वारा वातावारणमा उल्लेखनीय प्रतिकुल नपर्ने गरी निर्माण गर्नुपर्नेछ । विभागले आयोजनाका सम्बन्धमा आवश्यक सुझाव र सल्लाह उपलब्ध गराउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । प्राधिकरणले यसअघि रत्नपार्क महाराजगञ्ज क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माण गरिसकेको छ । काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा समेत भूमिगत प्रसारण लाइन निर्माणको क्रममा छ । पोखरा र भरतपुरमा समेत भूमिगत प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ । सहरी सौन्दर्य बढाउने र सहज रुपमा विद्युत् उपलब्ध गराउने उद्देश्यका साथ सुरु गरिएको भूमिगत प्रसारण लाइन निर्माण तोकिएको समयमा पूरा नहुँदा अपेक्षित लक्ष्य हासिल हुन सकेको छैन ।
सुर्तिजन्य पदार्थमा ६० प्रतिशत कर लगाउने तयारी
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुर्तिजन्य पदार्थमा कर बढाउने तयारी गरेको छ । विभिन्न संघ संस्था र सांसदहरुले समेत कर बढाउन सुझाव दिएसँगै सरकारले पनि कर बढाउने तयारी गरेको हो । अहिले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बजेट लेखन गरिरहेका छन् । उनले विभिन्न निकाय तथा विज्ञहरुसँग पनि बजेटका कार्यक्रमका विषयमा छलफल गरिरहेका छन् । अधिकांश संघ संस्था तथा निकायहरुले पनि सुर्तिजन्य पदार्थमा कर बढाउन सुझाव दिएपछि उनी त्यसमा सकारात्मक भएको बुझिएको छ । सुर्तीजन्य पदार्थको सेवनका कारण स्वास्थ्यमा नकारात्मक असर परेको र हजारौं मानिसको अकालमै मृत्यु भइरहेकोले यसको प्रयोगमा निरुत्साहन गर्न कर बढाउनुपर्ने तर्क उनीहरुको छ । ‘विभिन्न सरोकारवाला निकायबाट सुर्तिजन्य पदार्थमा कर बढाउनुपर्छ भन्ने सुझाव आएको छ, हामीले पनि कर बढाउनुपर्छ भनेर अर्थमन्त्रालय समक्ष प्रस्ताव गरेका छौं, त्यसमा बजेट लेखन टोली र अर्थमन्त्रीज्यू पनि सकारात्मक हुनु हुन्छ,’ स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को सुर्ती सम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धिमा सुर्तीमा वर्सेनि कर बढाउँदै जानु पर्ने व्यवस्था गरिएको छ । यसको नेपाल पनि अनुमोदनकर्ता हो । तर, नेपालमा सुर्तीजन्य पदार्थमा कर सबैभन्दा थोरै छ । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपाल र नेपाल विकास अनुसन्धान प्रतिष्ठान लगायत संघ संस्थानहरुले पनि सुर्तिजन्य पदार्थमा कर बढाउनु पर्ने माग राखेका छन् । सुर्तीजन्य पदार्थको सेवनबाट मृत्युदर बढ्दै गएको र कम कर लगाउँदा राज्यको व्ययभार पनि बढेकोले अब सुर्तिजन्य पदार्थमा कर वृद्धि गर्नु पर्ने सुझाव ती संस्थाहरूको छ । ती संघ संस्थाहरूले नेपालमा सुर्तीजन्य पदार्थमा ६० प्रतिशत भन्दा बढी कर निर्धारण गर्नु पर्ने सुझाव राखेका छन् । नेपालले अहिले सुर्तीजन्य पदार्थमा ४१ प्रतिशत कर लगाइँदै आएको छ । डब्लूएचओका अनुसार सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लागु हुनुपर्छ । सुर्तीजन्य पदार्थमा भारतले ५८ प्रतिशत, बंगालादेशले ७३ प्रतिशत, श्रीलंकाले ७७ प्रतिशत र पाकिस्तानले ६१ प्रतिशत कर उठाउने गरेको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सुर्तिजन्य पदार्थजस्ता हानिकारक अनुत्पादक वस्तुहरुमा करको दर वृद्धि गर्नु उत्तम र औचित्यपूर्ण उपाय हुने बताएको छ । सरकारले कर वृद्धि गरेर ६० प्रतिशत कायम गरेमा २० अर्ब रुपैयाँसम्म राजस्व बढ्ने र १३ प्रतिशतसम्म खपत घट्ने प्रतिष्ठानको विश्लेषण छ । सुर्तीजन्य पदार्थबाट नेपालमा वर्सेनि औसत ३० अर्ब रुपैयाँ बढी राजस्व असुल हुँदै आएको छ । सुर्तिजन्य पदार्थमा कर बढाउने हो भने वार्षिक ८० अर्ब उठाउन सकिने धारणा अधिकांशको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद गुरु प्रसाद बरालले पनि सुर्तिजन्य पदार्थमा कर बढाउनुपर्ने धारणा राखे । उनले भने, ‘नेपालमा सुर्तिजन्य पदार्थबाट ८५ लाखभन्दा बढी मानिस आक्रान्त छन् । १४ देखि २४ वर्ष उमेर समूहका युवाहरु मात्रै ८ लाख सुर्तिजन्य पदार्थको कुलतमा छन् । वार्षिक ३९ हजार मानिसले सुर्तिजन्य पदार्थको सेवनकै कारण मृत्युवरण गर्नुपरेको छ । डब्लूएचओले ७५ प्रतिशत कर लगाएर नियन्त्रण गराउनुपर्छ भनेको छ । तर, नेपालमा ४० प्रतिशतमात्रै कर लाग्छ, यो बजेटमार्फत बढाउनै पर्छ ।’ केही दिनअघि संसद बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले पनि डब्लूएचओको सिफारिस अनुसार बजेटमार्फत कर बढाउनुपर्ने माग राखेका थिइन् । उनले पनि सुर्तिजन्य पदार्थमा न्यूनतम ५० प्रतिशत कर लगाउनुपर्ने सुझाव दिएकी थिइन् ।
गोकर्णेश्वर–५ मा तीन दिने विशेषज्ञ न्यूरोथेरापी शिविर सम्पन्न, ५५० भन्दा बढी लाभान्वित
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा आयोजित तीन दिने विशेषज्ञ न्यूरोथेरापी शिविर सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ को आयोजनामा तथा नेपाल न्यूरोथेरापी ट्रेनिङ इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरको व्यवस्थापनमा सञ्चालन गरिएको शिविरमा ५ सय ५० भन्दा बढी सेवाग्राहीले उपचार सेवा लिएका छन् । शिविर अवधिभर करिब ९ सय पटक सेवा प्रदान गरिएको सेन्टरका अध्यक्ष खेमराज नेपालले जानकारी दिए । उनका अनुसार शिविरमा भारतस्थित डा. लाजपतराय मेहरा न्युरोथेरापी एकेडेमीका वरिष्ठ न्यूरोथेरापिस्ट कमलेश चौहानको नेतृत्वमा १५ जना विशेषज्ञ डाक्टर तथा थेरापिस्ट सहभागी थिए । टोलीले विभिन्न नसासम्बन्धी, शरीर दुखाइ तथा दीर्घरोगसँग सम्बन्धित समस्याका बिरामीलाई परामर्श तथा उपचार सेवा दिएको जनाएको छ । वडा नम्बर ५ का अध्यक्ष तथा गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायण सुवेदीले शिविर प्रभावकारी र उपलब्धिमूलक भएको बताए । उनले स्थानीयले विश्वस्तरीय सेवा पाएकाले आगामी दिनमा यस्ता स्वास्थ्य शिविर नगरपालिकास्तरमै विस्तार गर्ने योजना रहेको जानकारी दिए । नेपाल न्यूरोथेरापी ट्रेनिङ इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरले हाल जावलाखेल र चावहिलमा न्यूरोथेरापी सेवा सञ्चालन गर्दै आएको छ ।
बीमा दाबी भुक्तानी मार्गदर्शन संशोधन गर्दै प्राधिकरण, सरोकारवालासँग माग्यो सुझाव
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मार्गदर्शन शंसोधन गर्ने भएको छ । प्राधिकरणले बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१ लाई समयानुकूल, व्यवहारिक तथा प्रभावकारी बनाउन आवश्यक देखिएको भन्दै संशोधन गर्न लागेको जनाएको छ । स उक्त मार्गदर्शनमा संशोधन गर्न आवश्यक देखिएका विषय, व्यवस्था, प्रक्रिया तथा प्रावधान सम्बन्धमा प्राधिकरणले सुझाव मागेको छ । प्राधिकरणका अनुसार सुझाव सूचना जारी भएको १५ दिनभित्र पठाइसक्नुपर्ने छ । बीमासँग सम्बन्धित सरोकारवाला निकाय, बीमक, पुनर्बीमक, बीमा सर्भेयर, बीमा अभिकर्ता, बीमित तथा सर्वसाधारणले सुझाव पेश गर्न सक्नेछन् ।
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
काठमाडौं । श्रीलंकाको केन्द्रीय बैंकले उच्च मुद्रास्फीति र मध्य पूर्व युद्धले उत्पन्न गरेको आर्थिक अस्थिरताको बीचमा मंगलबार तीन वर्ष भन्दा लामो समय पछि पहिलो पटक ब्याज दर समायोजन गरेको छ । द्वन्द्वले घरेलु मूल्य र स्थिरतामा नकारात्मक प्रभाव पारेको भन्दै बैंकले ब्याज दर १०० आधार अंकले बढाएर ८.७५ प्रतिशत बनाएको जनाएको छ । गत फेब्रुअरीको अन्त्यमा सुरु भएको मध्यपूर्व युद्धले तेल र ग्याँस लगायतका अत्यावश्यक सामान आयात गर्ने होर्मुज जलमार्गलाई प्रभावकारी रूपमा बन्द गरेको छ, जसले ऊर्जाको मूल्यसँगै विश्वव्यापी मुद्रास्फीति बढाएको छ । मध्यपूर्वमा बढेको तनावबाट उत्पन्न अनिश्चितताले विश्वव्यापी रुपमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनुका साथै घरेलु अर्थतन्त्रलाई प्रतिकूल असर पारेको श्रीलंकाको केन्द्रीय बैंकले उल्लेख गरेको छ । श्रीलंकाको मुद्रास्फीति अप्रिलमा दोब्बर भन्दा बढीले बढेर ५.४ प्रतिशत पुगेको छ, जुन केन्द्रीय बैंकले सन् २०२६ लागि कायम गरेको ५ प्रतिशतको लक्ष्य भन्दा बढी हो । यसै बीच मुद्राको मुल्य सन् २०२६ को सुरु देखि अमेरिकी डलरको तुलनामा सात प्रतिशत भन्दा बढीले घटेको बैंकले जनाएको छ । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा आक्रमण गरे पछि श्रीलंका सरकारले ऊर्जाको मूल्य एक तिहाइ भन्दा बढीले बढाएको छ भने इन्धन र बिजुलीको शुल्कमा तीव्र वृद्धि गरेको छ । श्रीलंकाले यस हप्ताको अन्त्यमा आईएमएफबाट करिब ७० करोड डलर प्राप्त गर्ने अपेक्षा गरिएको छ । जुन श्रीलंकामा उत्पन्न भएको खराब आर्थिक सङ्कटको अवस्थामा सन् २०२३ को सुरुमा सहमति भएको रकमको बाँकी किस्ता हो । गत वर्षको अन्त्यमा आएको चक्रवातले श्रीलंकामा ६४३ जनाको मृत्यु भएको थियो भने १० प्रतिशत भन्दा बढी जनसङ्ख्या प्रभावित भएको थियो । विश्व बैंकका अनुसार आँधीले श्रीलंकामा ४.१ अर्ब डलरको भौतिक क्षति पुर्याएको छ । रासस
प्रयोगशाला रिपोर्ट किर्तेबारे कान्तिबाललाई परिषदले सोध्यो स्पष्टीकरण
काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले कान्ति बाल अस्पताललाई एक साताभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणका रिपोर्टहरू किर्ते गरिएको उजुरी परेपछि परिषद्ले औपचारिक रूपमा स्पष्टीकरण सोधेको हो । परिषद्का अनुसार चैत्र १ गतेदेखि एक महिनाको अवधिमा करिब एक हजार प्रयोगशाला रिपोर्ट प्रक्रियागत रूपमा शंकास्पद देखिएको उजुरी परेको छ । उजुरीमा अस्पतालले आफ्नै प्रयोगशालाबाट परीक्षण नगराई निजी प्रयोगशालाबाट तयार गरिएका रिपोर्टलाई अस्पतालकै आधिकारिक रिपोर्टका रूपमा वितरण गरेको आरोप लगाइएको छ । अस्पतालले सेरो डाइग्नोष्टिक कम्पनीले जडान गरेको भिट्रोस ५६०० मेसिनमार्फत सेवा सञ्चालन गरेपछि परीक्षण प्रक्रिया र रिपोर्ट प्रमाणीकरणबारे प्रश्न उठ्न थालेको थियो । आरोपअनुसार अस्पतालले बिरामीबाट नमुना संकलन गरी निजी प्रयोगशालामा पठाउने, त्यसपछि आएको रिपोर्टलाई कान्तिकै रिपोर्ट झैं प्रस्तुत गरेर अस्पतालका प्राविधिकमार्फत हस्ताक्षर गराई बिरामीलाई दिने गरिएको थियो । यो काम नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐनविपरीत भएको दाबी गर्दै परिषद्मा औपचारिक उजुरी परेको हो । त्यसपछि परिषद्ले गत बिहीबार अस्पताललाई पत्र पठाउँदै किन कारबाही नगर्ने ? भन्ने प्रश्नसहित सात दिनभित्र उपस्थित भएर स्पष्ट कारण पेश गर्न निर्देशन दिएको हो । परिषद्का प्रवक्ता शितल बस्नेतले उजुरीका आधारमा स्पष्टीकरण मागिएको पुष्टि गरे । उनका अनुसार प्राप्त विवरणमाथि प्रारम्भिक अध्ययनपछि परिषद् आवश्यक कारबाही प्रक्रियातर्फ अघि बढेको हो । बाल स्वास्थ्य सेवाका लागि देशकै प्रमुख सरकारी अस्पताल मानिने कान्तिमा यस्तो आरोप सार्वजनिक भएपछि बिरामीका अभिभावक र स्वास्थ्य क्षेत्रमै गम्भीर चासो बढेको छ । परीक्षण रिपोर्टको विश्वसनीयतामाथि प्रश्न उठेपछि अस्पताल प्रशासनमाथि पारदर्शी छानबिनको दबाबसमेत बढेको छ । कान्तिमा करोडौंका उपकरण थन्किए कान्तिबालको बदमासीमा मुछिए पूर्वमन्त्री बस्नेत, अख्तियारमा उजुरी कानुनी अपराधमा कान्ति बाल, निजी ल्याबको रिपोर्ट आफ्नो भन्दै हस्ताक्षर बदमासी ढाकछोप गर्न कर्मचारीको सातो खाँदै प्रशासन कान्ति बाल अस्पतालमा बदमासी : अत्याधुनिक मेसिन थन्क्याएर निजी ल्याबमा परीक्षण काजमै राज गरिरहेका भीआईपी चिकित्सक