मानसरोवर जाँदै गरेका मगर १४ हजार ५ सय डलरसहित पक्राउ

काठमाडौं । रसुवामा अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । सोमबार साँझ रसुवा उत्तरगया गाउँपालिका ५ बेत्रावती बजारस्थित पासाङ ल्हामु सडकखण्डमा ३९ वर्षीय मिनबहादुर मगर पक्राउ परेका हुन्।

काठमाण्डौंबाट टिमुरेतर्फ जाँदै गरेको बा. प्र. ०१००६ ख ७६०७ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा ओखलढुङ्गा ठुलाछाप गाउँपालिकाका मगरलाई पक्राउ गरिएको रसुवा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजु शाहले जानकारी दिए ।

मानसरोवर जाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । उनीसँग ८ जना मलेसियन पर्यटक रहेको प्रवक्ता शाहले जानकारी दिए ।

शाहले मगरलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवन, ललितपुर पठाइएको जानकारी दिए । 

केही दिनअघि रसुवाबाटै ४३ हजार अमेरिकन डलरसहित सुशील गुरुङ पक्राउ परेका थिए ।

Share News