विकासन्युज

ट्रान्स फ्याट नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । खाद्य पदार्थको स्तर निर्धारण प्रक्रिया सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलको आयोजना र नेपाल पाउरोटी उद्योग संघ, काठमाडौंको सहकार्यमा बुधबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल हार्ट फाउन्डेसनका वरिष्ठ सदस्य तथा स्त्री क्यान्सर रोग विशेषज्ञ डा। सुशीला वैद्यले ट्रान्स फ्याटले मानव स्वास्थ्यमा पार्ने असर सम्बन्धी जानकारीको कार्यपत्र प्रस्तुत गरिन् । विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ सम्बन्धी जानकारीको कार्यपत्र र विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा। बालकुमारी शर्माले खाद्य पदार्थको अनिवार्य गुणस्तरको स्तर निर्धारण प्रकृया र खाद्य पदार्थमा ट्रान्स फ्याटको अनिवार्य गुणस्तर सम्बन्धी जानकारीको कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा विभागका उपमहानिर्देशक महिपाल राम वैद्यले बेकरीजन्य खाद्य पदार्थमा ट्रान्स फ्याटको जोखिम न्यूनीकरण गर्नका लागि आयात बिन्दुमा नियमन साथै नेपालको परिप्रेष्यमात्र नभई अन्तर्राष्ट्रिय अभ्यासहरू समेत मनन गर्नुपर्नेमा जोड दिए।  साथै ट्रान्स फ्याटसम्बन्धी समस्या हाल नेपालमा सार्वधिक जन चासोको विषय रहेको हुँदा सम्पूर्ण सरोकारवाला निकायहरू साथै विभागले हातेमालो गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।  नेपाल उद्योग वाणिज्य महासं का वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले समयानुकूल खाद्य पदार्थको गुणस्तरको सम्बन्धमा अन्तक्र्रियाहरू आवश्यक रहेको र यसमा महासंघ सहयोग गर्न सधैं तयार रहेको बताए । छलफलको क्रममा सहभागीहरूबाट ट्रान्स फ्याट सम्बन्धी समस्यालाई सम्बोधन गर्न उद्योगीले खेल्नुपर्ने मुख्य भूमिका नेपाल सरकारबाट निर्दिष्ट हुनुपर्ने, उपभोक्ता जनचेतना र उद्योगीलाई नियमन गर्ने कार्य समानान्तर हिसाबले अघि बढाउनुपर्ने, खाद्य स्वच्छता तथा गुणस्तर ऐन सम्बन्धी जनचेतना बढाउने किसिमका थप कार्यक्रमहरू हुनुपर्ने आदिजस्ता राय सुझाव प्राप्त भएका थिए । कार्यक्रममा बेकरी उद्योगी व्यवसायी, उद्योग वाणिज्य महासंघका पदाधिकारी, सरोकारवालाहरू र विभागका कर्मचारी गरी ९० जनाको उपस्थिति रहेको थियो ।

यी हुन् एमालेका निर्वाचित १९ पदाधिकारी, कसले कति मत पाए ?

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको मतगणना सम्पन्न भएको छ । अध्यक्षदेखि सचिवसम्मको पदाधिकारीमा ओली प्यानल विजयी भएको छ ।  यस्तो छ मत परिणाम : अध्यक्ष : केपी शर्मा ओली १ हजार ६६३ मत  उपाध्यक्ष : पृथ्वीसुब्बा गुरुङ १७३७ मत  विष्णुप्रसाद पौडेल १६७५ मत  रामबहादुर थापा बादल १५१६ मत गोकर्णराज विष्ट १३६८ मत  गुरुप्रसाद बराल ११३७ मत महासचिव : शंकर पोखरेल १२२८ मत  उपमहासचिव : लेखराज भट्ट  १४५२ मत  रघुवीर महासेठ १३६८ मत  योगेश भट्टराई १३४८ मत  सचिव : महेश बस्नेत १५४४ मत पद्मा कुमारी अर्याल १५३० मत  छविलाल विश्वकर्मा १५०६ मत  शेरधन राई  १५०३ मत  खगराज अधिकारी १३३७ मत  हिक्मत कुमार कार्की १३३७ मत  यमलाल कँडेल ११८५ मत  राजन भट्टराई  ११८१ मत  भानुभक्त ढकाल ११०८ मत

अध्यक्षमा ओलीको ह्याट्रिक

काठमाडौं । केपी शर्मा ओली नेकपा एमालेको अध्यक्षमा लगातार तेस्रो पटक निर्वाचित भएका छन् । ओलीले १ हजार ६६३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरे । यसअघि नवौं र दशौं महाधिवेशनमा पनि ओली नै अध्यक्ष बनेका थिए । ओलीको जन्म २००८ फागुन ११ गते तेह्रथुम जिल्लामा भएको हो । उनको राजनीतिक यात्रा विद्यार्थी जीवनबाटै सुरु भएको हो । झापा आन्दोलनको समयमा उनी कम्युनिष्ट राजनीतिमा सक्रिय भए । पञ्चायती शासनविरुद्ध भूमिगत आन्दोलनमा सहभागी हुँदा उनी पटक–पटक पक्राउ परे र करिब १४ वर्ष निरन्तर जेल जीवन बिताए ।  यही कालखण्डले उनलाई कट्टर कम्युनिष्ट कार्यकर्ता र अनुशासित संगठनकर्ता बनायो । २०४२ सालमा जेलमुक्त भएपछि ओली पुनः भूमिगत भए ।  २०४६ सालको जनआन्दोलनपछि बहुदलीय व्यवस्था स्थापना भएलगत्तै ओली खुला राजनीतिमा आए । त्यसपछि नेकपा एमालेको संगठन विस्तार, आन्दोलन र संसदीय अभ्यासमा उनी सक्रिय भए ।  उनी एमालेभित्र व्यावहारिक राजनीतिका पक्षधर मानिन्थे । २०५० र २०६० को दशकमा ओली एमालेको केन्द्रीय नेतृत्वमा स्थापित भए । पार्टीभित्र स्पष्ट वक्तृत्व, राष्ट्रिय मुद्दामा कडा अडान र निर्णायक शैलीका कारण उनी फरकयो समयमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भए । ओली पटकपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका व्यक्ति हुन् । उनी विभिन्न समयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, परराष्ट्र मन्त्रीलगायत जिम्मेवारीमा रहे । २०७२ सालमा संविधान जारी भएपछि ओली पहिलो पटक प्रधानमन्त्री बने । त्यसबेला भारतसँगको नाकाबन्दीका समयमा राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको मुद्दा उठाएर उनले व्यापक जनसमर्थन कमाए । २०७४ को निर्वाचनपछि नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धनमार्फत उनी दोस्रो पटक प्रधानमन्त्री बने । यही कालखण्डमा चीनसँग पारवहन सम्झौता, ठूला पूर्वाधार योजनाहरू र समृद्ध नेपाल, सुखी नेपालीको  नारालाई अघि अघि बढाए । २०७१ असारमा सम्पन्न नवौं महाधिवेशनबाट ओली पहिलो पटक एमाले अध्यक्ष निर्वाचित भएका हुन् । एमालेका शक्तिशाली नेता माधव नेपाललाई पराजित गरेर ओली पहिलो पटक एमालेको अध्यक्षमा निर्वाचित भएका हुन् ।  त्यसपछि पार्टी एकता, विघटन, पुनः एमाले पुनःस्थापना जस्ता जटिल राजनीतिक प्रक्रियाको केन्द्रमा ओली रहे । माधव नेपाल, झलनाथ खनाललगायत नेतासँगको आन्तरिक संघर्षपछि उनले पार्टीमा आफ्नो पकड थप बलियो बनाए । दशौं र एघारौं महाधिवेशनबाट समेत अध्यक्षमा निर्वाचित हुँदै उनले एमालेभित्र निर्णायक नेताको हैसियत कायम राखेका छन् । ओलीलाई समर्थकहरूले राष्ट्रवादी, स्पष्टवक्ता र दृढ नेतृत्वकर्ता मान्छन् भने आलोचकहरूले उनलाई सत्ता केन्द्रित र कठोर नेतृत्व शैली भएको नेता भन्छन् । यद्यपि तीन दशकभन्दा लामो राजनीतिक यात्रामा ओली नेपाली कम्युनिष्ट आन्दोलन र राज्य राजनीतिमा केन्द्रीय पात्रका रूपमा स्थापित रहेका नेता हुन् ।

नेपाल टेलिकमका सहप्रवक्तामा थापा नियुक्त

काठमाडौं । नेपाल टेलिकमले प्रक्षेत थापालाई सहप्रवक्तामा नियुक्त गरेको छ । उपप्रबन्धक थापा कम्पनीको केन्द्रीय कार्यालयमा कार्यरत छन् । कम्पनीले संस्थागत सूचना प्रवाहलाई थप प्रभावकारी बनाउन थापालाई सहप्रवक्ताको जिम्मेवारी दिएको जनाएको छ । 

अध्यक्षमा ओली निर्वाचित

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनले १ हजार ६६३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरेका छन् । निर्वाचन परिणामको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।

पोखरेल पक्षका तीन पदाधिकारी सेफ जोनमा

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी चयनको मतगणनामा पोखरेल पक्षका तीन पदाधिकारी सेफ जोनमा देखिएका छन् । उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले आफ्नो स्थान जोगाउने संकेत दिएका छन् । उपाध्यक्षमा विष्ट ७१३ मतसहित तेस्रो स्थानमा छन् । उपमहासचिवमा भट्टराई ७०९ मतसहित पहिलो वरीयतामा छन् ।  सोही समूहबाट सचिवमा अघि सारिएका नेता गोकुल बास्कोटा पनि ५२८ मतसहितसेफ जोनमा रहेका छन्।   मतगणना अझै जारी रहेकाले अन्तिम नतिजासँगै पदाधिकारी संरचना स्पष्ट हुने र त्यसले एमालेको आगामी राजनीतिक दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ ।

११३९ मत गणना हुँदा  अध्यक्षमा ओलीको अग्रता कायमै, अधिकांश पदाधिकारीमा ओली पक्ष हावी

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतगणनामा १ हजार १३९ मत गणना हुँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले फराकिलो अग्रता बनाएका छन् ।  हालसम्मको गणनाअनुसार ओलीले ८४३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मत पाएका छन् । अध्यक्ष पदमा ओलीको झण्डै तीन गुणा मतको अग्रताले महाधिवेशनको परिणाम ओली पक्षको पक्षमा जाने संकेत देखिएको छ । उपाध्यक्ष पदमा बहुपदका लागि भइरहेको प्रतिस्पर्धामा पृथ्वी सुव्वा गुरुङले सबैभन्दा धेरै ९०० मत प्राप्त गरेका छन् । विष्णु प्रसाद पौडेलले ८४६ मत ल्याउँदै बलियो उपस्थिति जनाएका छन् भने गोकर्णराज विष्टले ७१३ र रघुजी पन्तले ६१७ मत प्राप्त गरेका छन् । गुरु प्रसाद बराल (५८५), रामबहादुर थापा ‘बादल’ (४७४) र विन्दा पाण्डे (४७४) पनि प्रतिस्पर्धामा देखिएका छन् । अन्य उम्मेदवारहरूमा अरुण नेपाल (२२३), पर्शुराम मेघि गुरुङ (२३४), भीम प्रसाद आचार्य (१४३) र टंकप्रसाद कार्की (१८६) छन् । महासचिव पदमा शंकर पोख्रेलले ६१३ मत प्राप्त गर्दै अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी सुरेन्द्र प्रसाद पाण्डेले ५२६ मत पाएका छन् । मतान्तर अत्यन्तै कम भएकाले यो पदमा प्रतिस्पर्धा रोचक बन्दै गएको छ । उपमहासचिव पदमा लेखराज भट्टले ७३४ मत ल्याउँदै शीर्ष स्थानमा छन् । योगेश भट्टराई (७०९) र रघुवीर महासेठ (६८९) नजिकै पछ्याइरहेका छन् । विष्णुप्रसाद रिमालले ५४० मत प्राप्त गरेका छन् भने अन्य उम्मेदवारहरूमा आनन्द प्रसाद पोख्रेल (३३४), वैजनाथ चौधरी (२७१) र राजेन्द्र प्रसाद गौतम (१४०) रहेका छन् । सचिव पदतर्फ पद्मा कुमारी अर्यालले ७७८ मत प्राप्त गर्दै अग्रता लिएकी छन् । महेश बस्नेतले ७८३ र शेरधन राईले ७६७ मत पाउँदै कडा प्रतिस्पर्धा देखिएको छ । खगराज अधिकारी (६८०), यमलाल कँडेल (६२६), भानुभक्त ढकाल (५५२), गोकुलप्रसाद बास्कोटा (५२८) लगायतका उम्मेदवारहरू पनि अग्रपंक्तिमा छन् । अन्य उम्मेदवारहरूले २०० देखि ४६० मतसम्म प्राप्त गरेका छन् ।

एनभीडीयाको एकाधिकारलाई चुनौती, चिनियाँ एआई चिप कम्पनीहरूको उदय

काठमाडौं । बुधबार शाङ्घाइ बजारमा चिप निर्माता मेटाएक्स इन्टीग्रेटेड सर्किट्सको सेयर सूचीकृत हुनेबित्तिकै ७०० प्रतिशतले उक्लिँदा डेजा भू (पहिले देखिएको) अनुभूति भयो । यसअघि दुई हप्ता अगाडि मात्रै मुर थ्रेड्सका सेयरहरू पहिलो दिनमै ४०० प्रतिशतभन्दा बढी उछाल आएको थियो । यी दुवै चीनका पछिल्ला कृत्रिम बौद्धिकता (एआई) चिप कम्पनीहरू हुन्, जसमा देशका लगानीकर्ताहरूले ठूलो मात्रामा लगानी गरिरहेका छन् । अमेरिकाको निर्यात नियन्त्रणबीच आफ्नै सेमिकन्डक्टर विकास गर्ने र एनभीडीयाको प्रभुत्वलाई चुनौती दिने चीनको दौड तीव्र बन्दै गएको छ । यी दुवै कम्पनीले ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) विकास गरिरहेका छन्, जुन एनभीडीयाले उत्पादन गर्ने र उन्नत एआईका लागि प्रयोग हुने चिप हो । म्याकक्युरीका इक्विटी विश्लेषक यूजिन सियाओका अनुसार अमेरिकासँगको तनाव जारी रहँदा चीनले आत्मनिर्भर सेमिकन्डक्टर इकोसिस्टम निर्माण गर्ने विश्वाससहित चिनियाँ एआई–चिप आईपीओप्रति लगानीकर्ताको उत्साह देखिएको हो । वाशिङ्टनले एनभीडीयाका सबैभन्दा उन्नत सेमिकन्डक्टर चीनमा बिक्री गर्न प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही एनभीडीया चिपमा निर्यात नियन्त्रण खुकुलो पारे पनि फाइनान्सियल टाइम्सका अनुसार यस महिनाको सुरुमा चीनका नियामकहरूले एआई दौडमा विदेशी प्रविधिमा निर्भरता घटाउने उद्देश्यले कम्पनीका प्रोसेसरमा पहुँच सीमित गर्ने योजना बनाइरहेका थिए । हालसम्म हुवावे, अलिबाबा र बाइडुजस्ता प्रविधि दिग्गजहरू समेत समेटिएका चीनका कुनै पनि एआई चिप निर्माताले एनभीडीयाका सबैभन्दा उन्नत प्रोसेसरसरह क्षमतायुक्त चिप विकास गर्न सकेका छैनन् । यद्यपि उपकरणजस्ता केही आपूर्ति शृंखलाका क्षेत्रमा निर्यात नियन्त्रणले चुनौती कायम राखे पनि मेमोरीजस्ता क्षेत्रमा चीनले उल्लेखनीय प्रगति गरेको छ । यहाँ चीनका एआई चिप क्षेत्रमा एनभीडीयाका प्रतिस्पर्धीहरूको अवस्था प्रस्तुत गरिएको छ । हुवावे निजी स्वामित्वको प्रविधि दिग्गज हुवावेले असेन्ड सिरिजका चिपहरू विकास गरिरहेको छ । यसको आगामी पुस्ताको मोडेल असेन्ड ९५० सन् २०२६ मा सार्वजनिक हुने तयारीमा छ । नयाँ प्रणाली घोषणा हुँदा एनभीडीयाले प्रतिस्पर्धा सुरु भइसकेको भनेको थियो । पहिलेका असेन्ड मोडेलहरू चिप–टु–चिप आधारमा एनभीडीयासँग प्रतिस्पर्धी मानिएका थिएनन् । तर हुवावेले धेरै प्रोसेसरहरू आपसमा जोडेर उच्च कार्यक्षमताका क्लस्टर निर्माण गर्दै एनभीडीयाका अत्याधुनिक प्रणालीसँग प्रतिस्पर्धा गर्न सफल भएको छ । काउन्टरपोइन्ट रिसर्चका सहनिर्देशक ब्राडी वाङका अनुसार ‘यो रणनीतिले उच्च–गति, सम्भवतः अप्टिकल इन्टरकनेक्ट प्रयोग गरेर ठूला क्लस्टरभर डाटा छिटो सार्न सहयोग गर्छ । जसका लागि अत्याधुनिक चिप आवश्यक पर्दैन र यो चीनका हालका क्षमतासँग मेल खान्छ ।’ बाइडू चीनको सबैभन्दा ठूलो खोज प्लेटफर्म बाइडूले एआईमा लगानी बढाउँदै आएको छ र चिप डिजाइनर कुनलुनसिङमा बहुमत स्वामित्व राख्छ । नोभेम्बरमा कम्पनीले कुनलुनएआई चिपका लागि पाँचवर्षे रोडम्याप सार्वजनिक गर्दै २०२६ र २०२७ मा नयाँ प्रोसेसर ल्याउने योजना घोषणा गरेको थियो । नासडकमा सूचीकृत बाइडूले आफ्ना डाटा सेन्टरमा स्वदेशी चिप र एनभीडीयाका उत्पादन दुवै प्रयोग गरेर आफ्नै एआई मोडेल सञ्चालन गर्छ । कम्पनीले चिप, सर्भर, डाटा सेन्टरदेखि एआई मोडेल र एप्लिकेसनसम्म उत्पादन गर्ने फुल–स्ट्याक प्रदायकको रूपमा आफूलाई स्थापित गर्न खोजिरहेको छ । डोयचे बैंका विश्लेषकहरूका अनुसार, ‘कुनलुनसिङ ठूला भाषा मोडेल प्रशिक्षण र इन्फरेन्स, क्लाउड कम्प्युटिङ, टेलिकम तथा उद्यमीय कार्यभारका लागि उच्च कार्यक्षमताका घरेलु एआई चिप विकासकर्ताका रूपमा उदाएको छ ।’ जेपीमोर्गनले पनि यसको एआई चिपलाई चिनियाँ हाइपरस्केलरहरूले स्थानीय समाधान प्रदायकबाट चिप खरिद बढाउँदै जाँदा ‘सबैभन्दा राम्रो स्थितिमा रहेका’ मध्ये एक मानेको छ । अलिबाबा स्थानीय रूपमा ठूला क्लाउड प्रदायकमध्ये एक अलबाबाले सन् २०१० को अन्त्यतिर एआई चिप विकास सुरु गरेको थियो । सीएनबीसीका अनुसार कम्पनीले अगस्टमा प्रशिक्षणभन्दा इन्फरेन्सका लागि विशेष रूपमा डिजाइन गरिएको नयाँ एआई चिप विकास गरिरहेको थियो। सेप्टेम्बरमा अलिबाबाका सेयरहरू बढेका थिए, जब कम्पनीले आफ्ना एआई चिपका लागि ठूलो ग्राहक सुरक्षित गरेको समाचार आयो । मर्निङस्टारकी विश्लेषक चेल्सी ट्यामका अनुसार स्व–विकसित चिपको सुधारिएको प्रदर्शन अलिबाबाको क्लाउड डिभिजनको आम्दानी वृद्धि सहयोग गर्ने प्रमुख कारणमध्ये एक हो । कामब्रिकन एआई प्रशिक्षण र इन्फरेन्सका लागि चिप विकास गर्ने कामब्रिकनले २०२५ को पहिलो छ महिनामा रेकर्ड नाफा कमाएको छ । सन् २०१६ मा स्थापना भएको यस कम्पनीको आम्दानी वार्षिक आधारमा ४ हजार प्रतिशतभन्दा बढीले बढेर २.८८ अर्ब युआन पुगेको छ भने खुद नाफा १.०४ अर्ब युआन पुगेको छ । एबरडीन समूहका लगानी निर्देशक जेमी मिल्स ओ’ब्रायनका अनुसार कामब्रिकन चीनको एआई एक्सेलेरेटर बजारमा सबैभन्दा सम्भावित विजेता हो, जुन चिप पहुँचको दृष्टिले अमेरिकी बजारको तुलनामा अझै प्रारम्भिक चरणमै छ । उनले आगामी १–२ वर्षमा उत्पादन परिपक्वता, ग्राहक स्वीकृति र इकोसिस्टम निर्माणजस्ता चुनौतीहरू क्रमशः समाधान हुँदै जाने र कामब्रिकनलाई चीनमा एनभीडीयाका डाउनग्रेडेड चिपहरूको ‘निकै राम्रो’ विकल्प बनाउने अपेक्षा व्यक्त गरे । अन्य एआई चिप कम्पनीहरू मेटाएक्सले बुधबारको आईपीओमार्फत करिब ६० करोड डलर उठाएको छ । यो कम्पनी पूर्व एएमडी कार्यकारी चेन वेइलियाङले स्थापना गरेका हुन् । सन् २०२० मा एनभीडीयाको चिनियाँ शाखाका पूर्व महाप्रबन्धकले स्थापना गरेको मुर थ्रेड्सलाई कहिलेकाहीँ चीनको एनभीडीया भनेर पनि चिनिन्छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार कम्पनीले यस हप्ता बेइजिङमा हुने डेभलपर सम्मेलनमा आफ्नो पछिल्लो जीपीयू आर्किटेक्चर सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओबाट प्राप्त रकम स्व–विकसित एआई प्रशिक्षण र इन्फरेन्स जीपीयू चिप उत्पादनसहित मुख्य अनुसन्धान तथा विकास कार्यलाई तीव्र बनाउन आवश्यक रहेको बताएको छ । इनफ्लेम सन् २०१८ मा पूर्व एएमडी कर्मचारीहरूले स्थापना गरेका हुन् र एआई प्रशिक्षणमा केन्द्रित डाटा सेन्टर चिप डिजाइन गर्छ । सन् २०१९ मा स्थापना भएको बिरेन टेक्नोलोजीले उच्च कार्यक्षमताका जीपीयू डिजाइन गरिरहेको छ ।  चिनियाँ नियामकले मंगलबार कम्पनीलाई आईपीओका लागि स्वीकृति दिएको छ ।