‘जेनजी आन्दोलनमा क्षति भएका व्यवसायीलाई क्षतिपूर्ति दिनु’
काठमाडौं । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा सार्वजनिक तथा निजी क्षेत्रमा भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिन सिफारिस गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगले बुधबार (आज) सार्वजनिक गरेको प्रतिवेदनले सो सिफारिस गरेको हो । नेपालको संविधानको धारा १७ (२) र २५ ले प्रदान गरेको पेशा, रोजगार तथा व्यवसाय गर्ने हक र सम्पत्तिको अधिकार राज्यबाट सुरक्षित हुन नसकेको निष्कर्ष निकाल्दै आयोगले यथाशक्य उचित र मनासिव क्षतिपूर्ति दिलाउन आदेश दिएको छ । ‘उल्लेखित २४ गतेको आन्दोलनमा सार्वजनिक र निजी क्षेत्रमा भएका क्षतिहरूको सम्बन्धमा के कस्ता निर्णय र सिफारिस गर्नु पर्ने हो ? भन्नेतर्फ विचार गर्दा नेपालको संविधानको धारा १७(२) र २५ द्वारा प्रदत्त पेशा रोजगार र व्यवसाय गर्न पाउने हक र सम्पत्तिको हक समेत राज्यको कारणबाट संरक्षित हुन नसकी हनन भएको भनी माथि तथ्य तथा विश्लेषण खण्डमा विवेचना गरी सकेको हुँदा ति त्यस्ता निजी क्षेत्रका व्यापारिक प्रतिष्ठान तथा निजी सम्पत्तिको हानी नोक्सानीको लगत लिई यथार्थ मूल्याङ्कन गरी यथाशक्य उचित र मनासिव क्षतिपूर्ति दिलाउन,’ प्रतिवेदनमा भनिएको छ ।
नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कोषका निर्देशक छबिरमण अधिकारी र बैंकका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार योगदानमा आधारित तथा गैर–योगदानमा आधारित उपदान कोष र अतिरिक्त अवकाश कोषको व्यवस्थापन कोषले गर्नेछ । बैंकका कर्मचारीहरूले मासिक वा वार्षिक रूपमा कोष कट्टी गरी नियमित रूपमा नागरिक लगानी कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ । कोषले कर्मचारीहरूको व्यक्तिगत खाता तयार गरी अभिलेख राख्नेछ भने बैंकको सिफारिसमा सेवा निवृत्त कर्मचारीलाई अवकाश रकम भुक्तानी गर्नेछ । यसैगरी, कोषमा जम्मा भएको रकममा नागरिक लगानी कोष ऐन, नियम तथा निर्देशिकाअनुसार ब्याज, प्रतिफल र अन्य सेवा–सुविधा उपलब्ध गराइनेछ । कर्मचारीहरूको व्यक्तिगत खातामा रहेको बचत, ऋण तथा लगानी विवरण कोषलाई बुझाउनुपर्ने व्यवस्था पनि गरिएको छ । कोषले सेवा निवृत्त कर्मचारीलाई नियमानुसार कर कट्टा गरी भुक्तानी उपलब्ध गराउनेछ । त्यसका लागि बैंकले कर्मचारीहरूको विवरण उपलब्ध गराउने, मासिक तथा वार्षिक कट्टा रकम जम्मा गर्ने तथा अवकाश रकम भुक्तानीका लागि सिफारिस गर्ने जिम्मेवारी लिएको छ । सम्झौताअनुसार आयकर ऐन २०५८ बमोजिम स्वीकृत साबिकका अवकाश कोषहरूमा रहेको बैंकका कर्मचारीहरूको उपदान तथा अतिरिक्त अवकाश कोष रकमसमेत नागरिक लगानी कोषमा रकमान्तरण गरिनेछ ।
नेपाल प्रहरी र सशस्त्रका आईजीपीसहितका सुरक्षाकर्मीलाई विभागीय कारबाही गर्न सिफारिस
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीका आईजीपी (तत्कालीन एआईजी) दानबहादुर कार्की र सशस्त्र प्रहरी आईजीपी (तत्कालीन एआईजी) नारायणदत्त पौडेलसहितका सुरक्षाकर्मीलाई विभागीय कारबाही गर्न सरकारसमक्ष सिफारिस गरेको छ । जेनजी आन्दोलनको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै आयोगले तत्कालीन एआईजी कार्कीसहित प्रहरी नायव महानिरीक्षक ओम राना, वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीलाई मानवअधिकार उल्लंघन गरेकोमा विभागीय कारबाही गर्न सिफारिस गरेको हो । त्यस्तै, सशस्त्र प्रहरी आईजीपी (तत्कालीन एआईजी) पौडेल, सशस्त्र प्रहरी उपरीक्षक जीवन केसी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन निर्देशक कृष्ण खनाल, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि विभागीय कारबाही गर्न सिफारिस गरेको हो । त्यस्तै, भदौ २३ गते बानेश्वर र संसद् भवन क्षेत्रमा फिल्डमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका फिल्ड कमाण्डरहरूलाई पनि विभागीय कारबाही गर्न सिफारिस गरिएको छ। त्यसैगरी, मानव अधिकार उल्लंघनमा जिम्मेवार देखिएका तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई नेपाललाई कारबाही गर्न सिफारिश गरिएको छ । संविधानको धारा २४९ को उपधारा २ (ग) बमोजिम कारबाही गर्नु पर्ने बताइएको छ । साथै उनीहरूलाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी रेकर्ड राख्नुपर्ने उल्लेख गरिएको छ ।
नेपाल–भारत सहयोगअन्तर्गत अशोक लेल्याण्डका १० वटा कैदीवाहक गाडी हस्तान्तरण
वीरगञ्ज । नेपाल–भारत सहयोग कार्यक्रमअन्तर्गत अशोक लेल्याण्डका १० वटा कैदी वाहक गाडी नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । वीरगञ्जमा आयोजित एक कार्यक्रममा आईएमई मोटर्सका उपमहाप्रबन्धक (डीजीएम) सुशील सुवेदीले सवारी साधनहरू हस्तान्तरण गरे । विशेष सुरक्षा प्रयोजनका लागि तयार गरिएका अशोक लेल्याण्ड पार्टनर गाडीहरू आधुनिक प्रविधि, मजबुत संरचना तथा भरपर्दो कार्यसम्पादनका लागि परिचित छन् । कैदी ओसारपसार तथा सुरक्षा व्यवस्थापनलाई थप सुरक्षित र व्यवस्थित बनाउन लक्षित यी गाडीहरूमा आधुनिक क्यामेरा प्रणाली जडान गरिएको छ, जसले निगरानी तथा सुरक्षा नियन्त्रणलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ । साथै आरामदायी यात्रा अनुभव, सुधारिएको सस्पेन्सन तथा चालकमैत्री डिजाइनले गाडीको सञ्चालनलाई अझ सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । उच्च सुरक्षा मापदण्ड तथा व्यावहारिक डिजाइनका कारण यी गाडीहरू सरकारी तथा संस्थागत प्रयोगका लागि उपयुक्त सवारी समाधानका रूपमा हेरिएको छ । यससँगै नेपाल–भारत सहयोग अन्तर्गत हालसम्म अशोक लेल्याण्डका कुल ६० वटा सवारी साधन हस्तान्तरण गरिएका छन् । यसअघि ५० वटा मालवाहक गाडी हस्तान्तरण गरिएको थियो भने हाल थप १० वटा कैदी वाहक गाडी उपलब्ध गराइएको हो । नेपालमा सन् २०१६ देखि आईएमई मोटर्सले विश्वप्रसिद्ध तथा उच्च गुणस्तरका लागि चिनिने अशोक लेल्याण्डका सवारी साधनहरू आधिकारिक रूपमा वितरण गर्दै आइरहेको छ । आईएमई मोटर्समार्फत अशोक लेल्याण्डका हल्का व्यावसायिक सवारी साधन (एलसीभी), ट्रक, टिपर तथा बसहरू नेपालभर उपलब्ध हुँदै आएका छन्, जसले विश्वसनीयता, मजबुती, आरामदायी यात्रा तथा उत्कृष्ट इन्धन दक्षता (माइलेज) का कारण व्यापक पहिचान बनाएको छ ।
महोत्तरीबाट १२ वर्षीय बालक सम्पर्कविहीन
काठमाडौं । महोत्तरीबाट एक किशोर सम्पर्कविहिन भएका छन् । महोत्तरी, जलेश्वर नगरपालिका १२ का गौतम कुमार यादव हराएका हुन् । गौतम अलहिब्स विद्यालको कक्षा ३ मा अध्ययनरत १२ वर्षीय यादव जेठ ७ गतेदेखि हराइरहेका हुन् । किशोरका बुबा आशुतोष यादवले बालकलाई कतै देखेमा परिवारलाई जानकारी गराइदिन अनुरोध गरेका छन् । यसका लागि उनले नम्बर ९८०५५३५३६९ समेत उपलब्ध गराएका छन् । शंकास्पद व्यक्तिलाई सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले विकासन्युजलाई बताए । हराएका किशोरका अन्य साथीहरूलाई सम्पर्कमा ल्याएर सोधपुछ गरिरहेको उनको भनाइ छ । विभिन्न ठाउँको सीसीटीभी हेरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए ।
सहकारी बैंक र नेफ्स्कुनबीच एकता गर्ने निर्णय, सीईओलाई ड्राफ्टको जिम्मेवारी
काठमाडौं । राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) बीच कार्यगत एकता गर्ने निर्णय भएको छ । एकताका लागि नेफ्स्कुनले पठाएको पत्रलाई स्वीकार गर्दै बैंकले पनि कार्यगत एकता गरेर अगाडि बढ्ने निर्णय गरेको हो । बैंकका निवर्तमान अध्यक्ष महेन्द्र कुमार गिरीले दुई संस्थाबीच कार्यगत एकता गर्ने निर्णय गरेको जानकारी दिए । ‘हामीले कार्यगत एकता गर्ने निर्णय गरेका छौं । अब यो निर्णयलाई अगाडि बढाउने जिम्मेवारी नवनिर्वाचित सञ्चालक समितिले पाएको छ, यसबाट दुई संस्था र सिंगो सहकारी अभियानलाई पनि टेवा पुग्छ भन्ने विश्वास लिएका छौं’, गिरीले भने । सरकारले बचत तथा ऋण सहकारीका संघहरूलाई वित्तीय कारोबार गर्न रोक लगाएपछि नेफ्स्कूनले बैंकसँग सहकार्य गर्न पत्राचार गरेको थियो । सरकारको नयाँ व्यवस्था अनुसार ऐन लागू भएको समयदेखि तीन वर्षभित्र बचत तथा ऋणको कारोबार बन्द गर्नुपर्ने हुन्छ । सोही तयारीका लागि नेफ्स्कुन बैंकसँग मिलेर काम गर्न तयार भएको हो । नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि कार्यगत एकताका लागि दुवै संस्था सहमत भएर अगाडि बढ्ने कुरा भएको बताए । ‘राष्ट्रिय सहकारी बैंक राष्ट्र बैंकको नियमनभित्र र नेफ्स्कुन सहकारी विभागको स्वीकृति पाएको संस्था हो । त्यसैले मर्जर नै भन्ने होइन । तर, कोर विषयमा सम्बन्धित संस्थाले फोकस गरौं भन्ने छलफल भएको छ,’ उनले भने, ‘बैंकले वित्तीय र नेफ्स्कुनले गैर–वित्तीय काम गर्ने हो ।’ उनका अनुसार भन्ने नेफ्स्कुनले स्थिरीकरण, तालिम तथा क्षमता अभिवृद्धिसँगै सूचना प्रविधिको विकासमा काम गर्छ । विगतमा दुई संस्थाबीच जुन प्रकारको ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको थियो त्यो अब नहोस् भन्ने किसिमले काम हुने उनको भनाइ छ । यसमा दुवै संस्थाबीच ‘अण्डरस्टाण्डिङ’ भएको छ । ‘हामीलाई विगतदेखि नै नेफ्स्कुनले होलसेल लेण्डिङ कारोबार गर्छ भन्ने आरोप छ, हामी अझै पनि नियमित बचत र केन्द्रीय तरलता काम गरिराख्छौं । तर, आफ्नो कोर काम के हो त्यसमा बढी फोकस गर्न खोजिएको हो,’ उनले भने । सीईओलाई ड्राफ्टको जिम्मेवारी प्रारम्भिक छलफलमा नेफ्स्कुनले अध्यक्ष ढकाललाई पदाधिकारीसँग समन्वय गर्ने जिम्मेवारी दिएको थियो भने बैंकले निवर्तमान अध्यक्ष गिरीलाई जिम्मेवारी दिएको थियो । अहिले कार्यगत एकता गर्ने निर्णय भइसकेपछि दुवै संस्थाले आ–आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई कार्यगत एकताको मस्यौदा (ड्राफ्ट) गर्ने जिम्मेवारी दिएका छन् । सीईओहरुले ड्राफ्ट तयार गरेपछि एउटा कार्यदल बनाएर अगाडि बढ्ने सहमति पनि भएको बताइएको छ । त्यसका लागि दुई जना सीईओ र दुवै संस्थाबाट दुई÷दुई जना सञ्चालक गरी ६ जनाको कार्यदल बनाएर अन्तिममा एकता गर्ने सहमति पनि भएको छ । ‘सीईओहरुलाई ड्राफ्ट बनाउन भनेका छौं । उहाँहरुले तत्काल गर्न सकिने र दीर्घकालिन गर्न सक्ने विषय छुट्याउनु हुन्छ । त्यसपछि काम अगाडि बढ्छ, विगतमा जेजस्तो अभ्यास भए पनि हामीले बैंक र नेफ्स्कुन एक सिक्काका दुई पाटा हुन् भन्ने बुझेका छौं,’ अध्यक्ष ढकालले भने । दुवै संस्थाको वित्तीय अवस्था राष्ट्रिय सहकारी बैंकको पछिल्लो वित्तीय विवरणअनुसार २ अर्ब ९१ करोड ४३ लाख रुपैयाँबराबरको सेयर पुँजी रहेको छ भने सञ्चित नाफा ३ अर्ब ८१ करोड ३८ लाख रुपैयाँ ऋणात्मक छ । बैंकको जगेडा कोष भने बलियो छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार बैंकसँग कुल ४ अर्ब ६ करोड ५२ लाख रुपैयाँको जगेडा कोष रहेको छ । बैंकसँग सेयरधनीलाई बाँडफाँड गर्न योग्य पुँजी ३ अर्ब १६ करोड ५७ लाख रुपैयाँ रहेको छ भने कुल दायित्व तथा पुँजी ४६ अर्ब ३९ करोड ४८ लाख रुपैयाँ रहेको छ । बैंकले कुल ४३ अर्ब ९ करोड ६३ लाख रुपैयाँ सहकारी संघसंस्थाबाट निक्षेप लिएको छ भने १० अर्ब ८३ करोड ८३ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । बैंकको प्रतिसेयर खुद सम्पत्ति मूल्य १०९ रुपैयाँ रहेको छ । चालु आवको ९ महिनामा बैंकको नाफा ७१ लाख २२ हजार रुपैयाँ रहेको छ भने ३८.०५ प्रतिशत निष्कृय कर्जा रहेको छ । बैंकको कुल १६ हजार ४९७ सेयर सदस्य, ५७ वटा शाखा र करिब ३०० जना कर्मचारी छन् । तर, अहिले बैंकले शाखा बन्द गर्ने र कर्मचारी कटौती गर्ने कार्यलाई तीव्रता दिएको छ । यस्तै, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को पछिल्लो वित्तीय विवरणअनुसार १ अर्ब ४३ करोड ३३ लाख रुपैयाँबराबरको सेयर पुँजी रहेको छ भने ५३ करोड ५४ लाख रुपैयाँबराबरको जगेडा कोष रहेको छ । नेफ्स्कुनसँग कुल १६ अर्ब ४४ करोड ८ लाख रुपैयाँ बचत संकलन गरेको छ भने ६ अर्ब १८ करोड १ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । यस्तै, नेफ्स्कुनसँग ७ अर्ब ७६ करोड ३९ लाख रुपैयाँ तरलता रहेको छ भने कुल संस्थागत पुँजी ५८ करोड ६१ लाख रुपैयाँ रहेको छ । नेफ्स्कुनसँग १९ अर्ब २९ करोड ७९ लाख रुपैयाँबराबरको कुल सम्पत्ति रहेको छ भने कुल सेयर सदस्य ४ हजार ३८६ र कुल ऋणी ४३१ रहेका छन् । नेफ्स्कुनले पनि कारोबार घटाउँदै गएको छ भने शाखा तथा कर्मचारी पनि घटाउँदै गएको छ । सम्बन्धित सामग्री : सहकारी बैंक र नेफ्स्कुनबीच मर्जरको बहस
कामना सेवा विकास बैंकले श्री पशुपति माध्यमिक विद्यालयलाई दियो तीन थान कुलर
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय कोटिहवामार्फत श्री पशुपति माध्यमिक विद्यालय, रुपन्देहीलाई कुलर हस्तान्तरण गरेको छ । बैंकको बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले विद्यालयका प्रधानाध्यापक वेदनारायण भट्टराईलाई ३ थान कुलर हस्तान्तरण गरे । विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीहरू अध्ययनरत रहेको र गर्मीको मौसममा अध्ययन–अध्यापन गर्न कठिन भएको अवस्थामा उक्त कुलरहरू उपयोगी हुने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो । विद्यालयमा कुलर जडान भएपछि कक्षाकोठाभित्रको तापक्रम न्यूनीकरण भई विद्यार्थीहरूलाई सहज र अनुकूल वातावरणमा अध्ययन गर्न मद्दत पुग्ने अपेक्षा प्रधानाध्यापक भट्टराईले गरेका थिए । यस प्रकारको सहयोगले विद्यार्थीहरूको पठनपाठनमा थप सहजता र प्रेरणा मिल्ने विश्वास बैंकका बुटवल क्षेत्र प्रमुख आचार्यले व्यक्त गरेका थिए । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
एनसेलले पायो गुणस्तर र वातावरणसम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता
काठमाडौं । एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको छ । आईएसओ ९००१ गुणस्तर व्यवस्थापन प्रणाली (क्वालिटी म्यानेजमेन्ट सिस्टम)को विश्वव्यापी मानक हो । यसले ग्राहकका आवश्यकता तथा नियामक निकायहरूका प्रावधानहरू पूरा गर्न व्यावसायिक प्रतिष्ठानहरूले आवश्यक प्रक्रियाहरू अपनाउने गरेको सुनिश्चित गर्दछ । त्यसैगरी, आईएसओ १४००१ ले वातावरणीय व्यवस्थापन प्रणाली (एन्भाइरमेन्टल म्यानेजमेन्ट सिस्टम)को मापदण्ड निर्धारण गर्दछ, जसले सङ्घ संस्था तथा व्यवसायहरूलाई उनीहरूको वातावरण प्रतिको जिम्मेवारी, फोहर मैला व्यवस्थापन र विद्यमान कानुन तथा नियमहरू प्रभावकारी रूपमा पालना गर्न मार्गदर्शन गर्दछ । एनसेलले पुस २०८१ मा आईएसओ २७००१÷२०२२ (आइएसएमएस) र आईएसओ २७७०१÷२०१९ (पीआईएमएस)को मान्यता प्राप्त गरेको थियो । उक्त प्रमाणीकरण यो वर्ष पनि नवीकरण गरिएको छ । यस्तो प्रमाणीकरण प्राप्त गर्ने एनसेल नेपालको पहिलो दूरसञ्चार सेवा प्रदायक हो ।