नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कोषका निर्देशक छबिरमण अधिकारी र बैंकका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार योगदानमा आधारित तथा गैर–योगदानमा आधारित उपदान कोष र अतिरिक्त अवकाश कोषको व्यवस्थापन कोषले गर्नेछ । बैंकका कर्मचारीहरूले मासिक वा वार्षिक रूपमा कोष कट्टी गरी नियमित रूपमा नागरिक लगानी कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कोषले कर्मचारीहरूको व्यक्तिगत खाता तयार गरी अभिलेख राख्नेछ भने बैंकको सिफारिसमा सेवा निवृत्त कर्मचारीलाई अवकाश रकम भुक्तानी गर्नेछ ।

यसैगरी, कोषमा जम्मा भएको रकममा नागरिक लगानी कोष ऐन, नियम तथा निर्देशिकाअनुसार ब्याज, प्रतिफल र अन्य सेवा–सुविधा उपलब्ध गराइनेछ । कर्मचारीहरूको व्यक्तिगत खातामा रहेको बचत, ऋण तथा लगानी विवरण कोषलाई बुझाउनुपर्ने व्यवस्था पनि गरिएको छ ।

कोषले सेवा निवृत्त कर्मचारीलाई नियमानुसार कर कट्टा गरी भुक्तानी उपलब्ध गराउनेछ । त्यसका लागि बैंकले कर्मचारीहरूको विवरण उपलब्ध गराउने, मासिक तथा वार्षिक कट्टा रकम जम्मा गर्ने तथा अवकाश रकम भुक्तानीका लागि सिफारिस गर्ने जिम्मेवारी लिएको छ ।

सम्झौताअनुसार आयकर ऐन २०५८ बमोजिम स्वीकृत साबिकका अवकाश कोषहरूमा रहेको बैंकका कर्मचारीहरूको उपदान तथा अतिरिक्त अवकाश कोष रकमसमेत नागरिक लगानी कोषमा रकमान्तरण गरिनेछ ।

Share News