बजाजको ‘ग्रान्ड एक्सचेन्ज मेला’ मा आकर्षक छुट, ४५ मिनेटमै फाइनान्स सुविधा
काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ आयोजना गरेको छ । आइतबतार (आज)बाट सुरु भएको यो मेला १७ गतेसम्म चल्ने कम्पनीले जनाएको छ । मेलामा ग्राहकहरूले कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटर ल्याएर नयाँ बजाज मोटरसाइकलसँग साट्न सक्ने बजाज शोरुम टेकुका सुमन प्रसाईंले जानकारी दिए । ‘हामीले विभिन्न भ्यालुएटरहरूको माध्यमबाट पुराना बाइकको बजारकै उत्कृष्ट मूल्यांकन दिइरहेका छौं ताकि ग्राहकले आफ्नो साधनको उचित मूल्य पाउन सकून्,’ उनले भने । एक्सचेन्ज मेलामा नयाँ बाइक खरिद गर्दा ग्राहकले ७ हजार रुपैयाँदेखि ८ हजारसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै हेल्मेट र लेग गार्डजस्ता आवश्यक एक्सेसरीजहरू पनि निःशुल्क प्रदान गरिनेछ । मेलामा सहज फाइनान्सको पनि व्यवस्था गरिएको छ । ग्राहकले न्यूनतम ४० प्रतिशत डाउन पेमेन्ट गरेर नयाँ बाइक खरिद गर्न सक्नेछन् । ४० प्रतिशत डाउन पेमेन्टमा १२.९९ प्रतिशत, ५० प्रतिशतमा ११.९९ प्रतिशत र ६० प्रतिशत डाउन पेमेन्टमा ९.९९ प्रतिशतको आकर्षक ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध छ । कम्पनीका अनुसार आवश्यक कागजात पूरा भएको अवस्थामा केवल ४५ मिनेटभित्रै फाइनान्स प्रक्रिया सम्पन्न हुनेछ । नयाँ पल्सर २२० एफ मुख्य आकर्षण मेलाको मुख्य आकर्षणको रूपमा नयाँ पल्सर २२० एफ रहेको छ । नयाँ अपडेटसहित सार्वजनिक भएको यो मोडलमा फ्युल इन्जेक्सन, बीएस ६ इन्जिन, र ब्लुटुथ कनेक्टिभिटीसहितको स्मार्ट मिटर जस्ता अत्याधुनिक फिचरहरू छन् । यो विभिन्न नयाँ र आकर्षक रङहरूमा उपलब्ध छ । यसबाहेक मेलामा प्लाटिनादेखि डोमिनार ४०० सम्मका सबै मोडल, एन-सिरिजका नयाँ बाइकहरू र चेतक इलेक्ट्रिक स्कुटर पनि उपलब्ध छन् । मेला सुरु भएसँगै ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको छ ।
उम्मेदवारले बैंकमा एकै प्रकृतिका दुई खाता खोल्न पाउने
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारले एकै प्रकृतिका दुई खाता खोल्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारका लागि यस्तो सुविधाको व्यवस्था गरेको हो। राष्ट्र बैंकले निर्वाचन आयोग नेपालको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले उम्मेदवारको खाता खोल्न सक्ने व्यवस्था गरेको हो । यस्तो खाता आमनिर्वाचन सम्पन्न भई निर्वाचन आयोगद्वारा निर्णय गरी बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुने राष्ट्र बैंकको भनाइ छ । प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूको सिफारिसमा निर्वाचन अभियान समूहमा नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्न सक्ने गरी प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार (समानुपातिक समेत) को छुट्टै एउटा बैंक खाता खोली कारोबार सञ्चालन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
साइबर ब्यूरो पुगेर स्वागत नेपालले मागे माफी
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले अधिवक्ता स्वागत नेपाललाई सोधपुछ गरेको छ । केही दिनअघि ब्यूरोमा बोलाएर नेपाललाई विद्युतीय अपराध ऐनविपरीतको कसुर गरेको आरोपमा सोधपुछ सोधपुछ गरेको हो। ‘लोक आवाज’ नामको युट्युबमा दिएका अन्तर्वातामा उनले ‘जसले पृथ्वीनारायण शाहको विरोध गर्छ, त्यसको टाउको काटिन्छ, काट्नु पर्छ र म काट्न तयार हुन्छु,’ भनेका थिए । भड्किलो अभिव्यक्ति दिएको र त्यसबारे बुझ्न भन्दै उनलाई ब्यूरोमा बोलाइएको एसपी दीपकराज अवस्थीले उल्लेख गरेका छन् । ‘ब्यूरोमा उपस्थित गराएर सोधपुछ गर्दा अब उप्रान्त यस्तो गलत अर्थ लाग्ने अभिव्यक्ति दिने छैन, कानुनको पालना गर्ने गरी अभिव्यक्ति दिनेछु भनी लिखत कागज गर्नु भएकाले खोजी भएका बेला उपस्थित हुने गरी घटनाको अनुसन्धान भइरहेको छ,’ अवस्थीले भने । सामाजिक सञ्जाल र अन्य डिजिटल प्लेटफर्ममा कानुन विपरीतका अभिव्यक्ति दिने तथा श्रव्यदृश्य सामग्री पाेस्ट गर्नेविरुद्धसमेत ब्यूरोले निगरानी भइरहेको बताएको छ । फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर २ मा नेपालले उम्मेदवारी दिएका छन् ।
प्राधिकरणको नेतृत्व फेरी फेरिए, पहिलो पटक महिला अध्यक्ष
काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी चन्द्रकला पौडेललाई दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सो जिम्मेवारी दिएको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव पदमा कार्यरत छिन् । प्राधिकरणको अध्यक्ष बनेपछि अब उनले मन्त्रालयको काम छोड्छिन् वा दुवै निकायलाई सँगै अगाडि बढाउँछिन् भन्ने हेर्न बाँकी छ । पौडेल प्राधिकरणको अध्यक्ष बन्ने पहिलो महिला हुन् । यसअघि प्राधिकरणमा पुरुषमात्रै अध्यक्ष बनेका थिए । हालसम्म प्राधिकरणले एक दर्जन अध्यक्ष पाइसकेको छ । पौडेल प्राधिकरणको तेह्राैं अध्यक्ष हुन् । सरकारले अर्को कर्मचारीलाई प्राधिकरणको जिम्मेवारी दिएर प्राधिकरणको स्वायत्ततामाथि प्रहार गर्दै आएको आरोप पनि लाग्दै आएको छ । यसअघि गत असोज ९ गतेको मन्त्रिपरिषद् बैठकले जनकराज शर्मालाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । उनले असोज १० गते सपथ खाएर कार्यभार सम्हालेका थिए । उनी अर्थमन्त्रालयका सहसचिव हुँदा प्राधिकरणको अध्यक्ष बनेका थिए । त्यसअघि अर्थात् असार ३० गते केपी शर्मा ओली नेतृत्वको सरकारले सहसचिव सेवन्तक पोखरेललाई अध्यक्षमा नियुक्त गरेको थियो । गत असार ३० गते सरकारले प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझाको योग्यतामाथि छानबिन गर्ने निर्णय गरेसँगै ओझा स्वतः निलम्बनमा परेका थिए । तत्कालीन सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । त्यसपछि ओझा अदालत पुगेको थिए । उनको योग्यतासम्बन्धी विवाद सर्वोच्च अदालतमा समेत विचाराधीन छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले दुई अध्यक्ष फेरिसकेको छ । बीमा ऐन, २०७९ को दफा ४ को १ मा बीमा व्यवसायको नियमनकारी निकायको रूपमा रहेको नेपाल बीमा प्राधिकरण अविछिन्न र उत्तराधिकारवाला एक स्वशासित संगठित संस्था हुने व्यवस्था छ । सोही ऐनको दफा ५ मा प्राधिकरणको काम, कर्तव्य र अधिकारको चर्चा गर्दै प्राधिकरण बीमा सम्बन्धमा नेपाल सरकारको सल्लाहकारको रूपमा काम गर्ने व्यवस्था छ । ऐनको दफा १४७ को उपदफा ३ ले प्राधिकरणलाई जिल्ला अदालत सरहको अधिकार पनि प्रदान गरेको छ । अर्थात् बीमा सम्बन्धी विभिन्न मुद्दाहरू प्राधिकरण आफैले सुनुवाइ गरेर त्यसउपर कारवाही तथा दण्ड जरिवाना समेत गर्न सक्ने अधिकार ऐनले दिएको छ । बीमा ऐन, २०७९ को दफा ७ को १ मा समितिको अध्यक्ष नियुक्तिको लागि नेपाल सरकारसमक्ष नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा मन्त्रालयका सचिव र बीमा क्षेत्रसँग सम्बन्धित विशेषज्ञ सदस्य रहेको एक समिति रहने र सो समितिले सिफारिस गरेको तीन जना व्यक्तिबाट मन्त्रिपरिषद् बैठकले एक जनालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्न सक्ने व्यवस्था छ । तर, अर्थमन्त्रालयले भने विभिन्न कमजोरीको फाइदा उठाउँदै एकपछि अर्को आफ्ना कर्मचारीलाई प्राधिकरणको अध्यक्ष बनाएर इतिहास रच्ने प्रयत्न गरिरहेको छ । अहिलेसम्म कुनै नियमनकारी निकायमा नभएको अभ्यास गर्दै एक वर्षमा ६ जनालाई प्राधिकरणको अध्यक्ष बनाएर इतिहास रच्ने दौडमा अर्थमन्त्रालय देखिएको हो । एउटा स्वायत्त र अर्धन्यायिक नियमनकारी निकायमा मन परेको व्यक्तिलाई अध्यक्ष बनाएर पठाउने अर्थमन्त्रालयको गलत अभ्यासले ऐनको त धज्जी उडाएको नै छ, बीमा क्षेत्रको अभिभावकको भूमिकामा रहेको प्राधिकरणको गरिमा पनि धूमिल बन्दै गएको छ । बीमा विज्ञहरूले अर्थमन्त्रालयले प्राधिकरणलाई एउटा शाखाको रूपमा व्यवहार गरेको तर्क गर्छन् । अर्थमन्त्रालयले एकपछि अर्को कर्मचारीलाई प्राधिकरणमा पठाएर बीमा बुझ्ने परीक्षण र प्रशिक्षण शाखाको काम गराएको बीमा विज्ञहरू बताउँछन् । एक वर्षमा ६ जना अध्यक्षमध्ये तीनजना अध्यक्षहरू अर्थमन्त्रालयकै सहसचिव हुन् र एक सचिव रहेका छन् । पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंले सफलताका साथ आफ्नो चार वर्षीय कार्यकाल पूरा गरेपछि प्राधिकरणमा किचलो मच्चिएको हो । उनको बहिर्गमनपछि सरकारले प्राधिकरणको अध्यक्षमा सूर्यप्रसाद सिलवाललाई नियुक्त गरेको थियो । उनको पनि कार्यकाल समाप्त हुनै लाग्दा उनीमाथि भ्रष्टाचारको आरोप लाग्यो । उनी निलम्बनमा परे । अन्ततः उनले सफाइ पाए पनि त्यतिबेलासम्म उनको कार्यकाल समाप्त भइसकेको थियो । सिलवाल निलम्बनमा परेपछि सरकारले प्राधिकरणको अध्यक्षमा अर्को व्यवस्था नहुञ्जेलसम्मको लागि भन्दै अर्थमन्त्रालयका सहसचिव मदन दाहाललाई जिम्मेवारी दियो । प्राधिकरणजस्तै नियमनकारी निकाय नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरमध्येबाट एक जनालाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिने व्यवस्था छ । तर, अर्थमन्त्रालयले बीमा प्राधिकरणमा आफ्ना कर्मचारीलाई जिम्मेवारी दिने गरेको छ । सिलवाल निलम्बनमा परेपछि सरकारले रिक्त पदपूर्तिको लागि सिफारिस समिति गठन गर्यो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको नेतृत्वमा सिफारिस समिति गठन भएको थियो । सिफारिस समितिले पठाएको तीन जनाको नाममध्ये सरकारले गत फागुन १२ गते शरद ओझालाई अध्यक्षमा नियुक्ति गर्यो । अध्यक्षमा नियुक्तिको सुरुवातमै विवादित बन्न पुगेका ओझा छोटो अवधिमै निलम्बनमा परे । योग्यता नपुगे पनि झुटो प्रमाण पेश गरेर नियुक्ति लिएको भन्दै अख्तियारमा उजुरी परेपछि उनी निलम्बनमा परे । मन्त्रिपरिषदले आफूलाई पदमुक्त गर्न गरेको निर्णय खारेजी र पुनर्बहालीको माग गर्दै ओझाले अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गर्दै मन्त्रिपरिषदको निर्णयहरू कार्यान्वयन नगरी यथावस्थामा राख्न भदौ २३ गते अल्पकालीन आदेश पनि दिएको थियो । सर्वोच्चको अल्पकालीन आदेशलाई आधार बनाउँदै निलम्बित ओझा गत भदौ ३१ गते कार्यालयमा हाजिर समेत भए । तर, अन्तरिम सरकारले असोज २ गते ओझालाई बीमा प्राधिकरणको अध्यक्षका रूपमा कामकारबाही गर्न नदिन आदेश दियो । नियुक्ति भएको चार महिनामै ओझा निलम्बनमा परेपछि सरकारले अर्को व्यवस्था नहुञ्जेलसम्मको लागि भन्दै अर्थमन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई अध्यक्षको जिम्मेवारी तोकेको थियो । त्यसको दुई महिनापछि अन्तरिम सरकारले प्राधिकरणको नयाँ अध्यक्षमा अर्थमन्त्रालयकै सहसचिव जनकराज शर्मालाई अध्यक्षको जिम्मेवारी दियो । उनले प्राधिकरणमा काम गरेको तीन महिना राम्रोसँग नबित्दै अन्तरिम सरकारले नै सचिव पौडेललाई प्राधिकरणको जिम्मेवारी दिएको हो । काम चलाउ अध्यक्षले प्राधिकरण सुस्त बनेको प्राधिकरणका कर्मचारीहरूको गुनासो छ । प्राधिकरणबाट हुने काम कारवाही छिटो छरितो रूपमा अघि बढ्न नसकेको कर्मचारीहरू बताउँछन् ।
आमनिर्वाचन २०८२ : पाल्पामा पुराना शक्ति आमने-सामने, नयाँ दलको सीमित चुनौती
काठमाडौं । पाल्पा जिल्ला पश्चिम नेपालको पहाडी राजनीतिमा प्रभावशाली जिल्लाका रूपमा चिनिन्छ । लामो समयदेखि नेकपा एमाले र नेपाली कांग्रेसको बलियो प्रतिस्पर्धा रहेको पाल्पामा पछिल्ला निर्वाचनहरूमा मतदाताको व्यवहारमा स्थिरता देखिएको छ । २०७९ को आमनिर्वाचनले पुराना दलहरूमाथि दबाब बढ्दै गएको देखाए पनि नयाँ शक्तिहरू हस्तक्षेपकारी भएको संकेत पाल्पामा देखिएको थिएन । तर नयाँ राजनीतिक विकल्पप्रति सीमित तर उल्लेखनीय आकर्षण देखाएको संकेत भने गरेको थियो । पाल्पा जिल्लामा प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेका छन् । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा लामो समयदेखि कांग्रेस र एमाले बीचको प्रतिस्पर्धा रहँदै आएको छ । ग्रामीण क्षेत्रको बाहुल्यता र परम्परागत मताधारका कारण यहाँ मतदाताको झुकाव तुलनात्मक रूपमा स्थिर देखिन्छ । सिंगो पाल्पामा २०७९ को निर्वाचनमा मुख्य प्रतिस्पर्धा कांग्रेस र एमाले दुई दलबीच सीमित रह्यो भने तत्कालीन नेकपा माओवादी केन्द्र र अन्य साना दलहरू सहायक भूमिकामा देखिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अघिल्लो निर्वाचनमा तुलनात्मक कमजोर रहे पनि यस निर्वाचनमा उसको उपस्थिति यस क्षेत्रमा कस्तो रहन्छ भन्ने विषयले निर्वाचनको परिणाम प्रभावित हुने पाल्पाका राजनीतिक विश्लेषक भगवान भण्डारी बताउँछन् । पाल्पाको १ नम्बर निर्वाचन क्षेत्र तुलनात्मक ग्रामीण क्षेत्र हो भने दुई नम्बर निर्वाचन क्षेत्र तानसेन नगरपालिकासहितको सहरी क्षेत्र हो । पाल्पाका दुवै निर्वाचन क्षेत्रको परिणाम हेर्दा नेकपा एमालेले जित हासिल गर्दै आएको देखिन्छ । अघिल्लो निर्वाचनमा पाल्पा १ मा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्यले ३१ हजार १०३ मत ल्याउँदा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार २५६ मत प्राप्त गरेका थिए । पाल्पा–२ लाई भने जिल्लाकै सबैभन्दा प्रतिस्पर्धी क्षेत्र मानिन्छ । यहाँ सहरीकरण, वैदेशिक रोजगारीको प्रभाव र युवाको राजनीतिक चेतनाले मतदाताको निर्णयमा भूमिका खेलेको देखिन्छ । २०७९ मा मतान्तर साँघुरो रहेकोले यस क्षेत्रलाई स्विङ क्षेत्रका रूपमा समेत व्याख्या गर्न सकिन्छ । अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट एमालेका ठाकुर गैरेले २८ हजार ७४५ मत ल्याएका थिए । उनलाई पाँच दलीय गठबन्धनमा उम्मेदवार रहेका तत्कालीन नेकपा एकीकृत समाजवादीका हेभिवेट उम्मेदवार सोमप्रसाद पाण्डेले २४ हजार ८९९ मतसहित टक्कर दिएका थिए । अर्गलीको फाँटदेखि तिनाउको काखसम्म फैलिएको पाल्पामा २०४८ मा तीन निर्वाचन क्षेत्र रहँदा तीनै क्षेत्रमा कांग्रेसले जित हासिल गरेको थियो । ०५१ मा भने एमालेले तीनै सिटमा विजयी हासिल गर्यो । ०५१ को मध्यावधिपछि यस जिल्लामा एमालेले पछाडि फर्केर हेर्नु परेको छैन । ०६५ मा देशैभर तत्कालीन नेकपा माओवादीको माहोलका बाबजुद पनि पाल्पाका तीन क्षेत्रमध्ये दुई क्षेत्रमा एमालेले निर्वाचन आफ्नो पक्षमा पारेको थियो । पछिल्लो राज्य पुनर्संरचनापछि २०७४ र २०७९ का दुवै निर्वाचनमा जित हासिल गरेको एमाले अहिले पनि जित निकाल्ने रणनीतिमा रहेको छ । आमनिर्वाचन २०८२ मा एमालेले दुवै निर्वाचन क्षेत्रमा पुरानै उम्मेदवार दाहोर्याएको छ । एमालेले निर्वाचन क्षेत्र नम्बर २ बाट चर्चित विद्यार्थी नेता ठाकुर गैरेलाई उम्मेदवार बनाएको छ भने एकबाट नारायणप्रसाद आचार्यलाई मैदानमा उतारेको छ । कांग्रेसले युवा नेता हिमालदत्त श्रेष्ठलाई दुई नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाएको छ । अर्को एक नम्बर क्षेत्रबाट सन्दीप रानालाई मैदानमा उतारेको छ । संघीय निर्वाचनका लागि कांग्रेसका दुवै नयाँ अनुहार हुन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले दुई नम्बर निर्वाचन क्षेत्रबाट वरिष्ठ नेता सोमप्रसाद पाण्डेलाई उम्मेदवार बनाउँदा निर्वाचन क्षेत्र नम्बर १ बाट होमप्रसाद सुनारी मगरलाई मैदानमा उतारेको छ । पाण्डे ०५१ को आमनिर्वाचनदेखिका अनुहार हुन् भने सुनारी नयाँ अनुहार हुन् । स्थानीय विश्लेषक गाेविन्द भट्टराईका अनुसार पाण्डेको संगठन कमजोर भए पनि उनी हेभिवेट नेता हुन् । सुनारी भने संगठन र व्यक्तित्व दुवैमा कम प्रभावशाली मानिन्छन् । रास्वपाले पाल्पाको दुई नम्बर निर्वाचन क्षेत्रबाट माधवबहादुर थापा र एकबाट विमल पन्तलाई उम्मेदवार बनाएको छ । थापा बुटवलका मेडिकल व्यवसायी हुन् भने पन्त स्थानीय बासिन्दा हुन् । पाल्पामा एमाले र नेकपाबाट पुरानै उम्मेदवार दाहोरिँदा कांग्रेस, रास्वपाका उम्मेदवार भने पहिलोपटक प्रतिनिधि सभाका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । कांग्रेसको अवस्था कस्तो छ ? पाल्पामा कांग्रेसको संगठन पुरानो र संरचनागत रूपमा बलियो छ । स्थानीय तहमा पहुँच र सामाजिक सञ्जालका कारण कांग्रेसले स्थिर मताधार जोगाउँदै आएको स्थानीय कांग्रेस कार्यकर्ताहरू बताउँछन् । कांग्रेसका जिल्ला नेता अजय कर्माचार्यले पाल्पाली जनताले यस निर्वाचनमा स्थिर शक्ति र नयाँ नेता खोजेकोले कांग्रेस मतदाताको रोजाइमा पर्ने दाबी गर्छन् । २०४८ पछि उत्साहजनक परिणाम दिन नसकेको कांग्रेस यसपटक नयाँ इतिहास लेख्ने दौडमा धेरै अगाडि बढेको कर्माचार्यको कथन रहेको छ । २०७९ मा कांग्रेसले कुल समानुपातिक मततर्फ कुल ३८ हजार ९०९ मत प्राप्त गरेको थियो । उक्त निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर एकबाट १८ हजार ७५५ र दुईबाट २० हजार १५४ मत प्राप्त गरेको निर्वाचन आयोगले बताएको छ । एमालेको अवस्था कस्तो ? एमालेको पकड जिल्लाभर सशक्त देखिन्छ । सांगठनिक अनुशासन र कार्यकर्ता परिचालन यसको मुख्य शक्ति रहेको एमाले नेता घनेन्द्र घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार एमाले जिल्लाको पहिलो शक्ति हो । अरूको प्रतिष्पर्धा दोस्रो बन्नका लागि भएको दावी उनको छ । पछिल्लो आमचुनाव २०७९ मा गठबन्धनका उम्मेदवारलाई हराएर एमालेले निर्वाचन जितेको थियो । उक्त निर्वाचनमा समानुपातिकतर्फ एमालेको मत ५१ हजार ४३९ रहेको थियो । पाल्पा एकबाट एमालेले २८ हजार ९१० र दुईबाट २२ हजार ५२९ मत प्राप्त गरेको थियो। नयाँ दल तथा स्वतन्त्र उम्मेदवार २०७९ मा पाल्पामा युवामाझ असन्तुष्टि बढ्दो रहेको संकेत नयाँ दलहरूको मत परिणामले देखाएको थियो । तर उक्त निर्वाचनमा समानुपातिकतर्फ १२ हजार ६६२ मत प्राप्त गर्दै तेस्रो स्थान सुरक्षित गर्न रास्वपा सफल भएको थियो । रास्वपा उपसभापति सुमन गैरे अघिल्लोपटक राखेको बीउ यसपटक फल्ने दावी गर्छन् । उनले भने, ‘दुईवटा निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नम्बर दुई जित्छौं, एकमा राम्रै प्रतिस्पर्धा गर्छौं ।’ मतदाता प्रवृत्ति र मुद्दा पाल्पाली मतदाताका प्रमुख चासोका विषयहरू सडक, स्वास्थ्य र शिक्षा, पूर्वाधार कृषि र रोजगारी रहेको पाल्पाको माडीफाँटकी स्थानीय कल्पना काफ्ले बताउँछिन् । उनका अनुसार स्थानीय विकास र बजेट वितरणमा समानतासँगै युवाको विदेश पलायन रोक्ने पहल गर्ने नेतृत्व पाल्पाली जनतालाई चाहिएको छ । काफ्ले पाल्पाली जनताले राजनीतिक दलभन्दा पनि उम्मेदवारको छवि र पहुँच हेर्ने दाबी गर्छिन् । आगामी निर्वाचनको संकेत आमनिर्वाचन २०८२ मा पाल्पामा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी हुन् । स्थानीय राजनीतिक विश्लेषक गोविन्द भट्टराईका अनुसार निर्वाचनको समग्र परिस्थिति एमाले र कांग्रेस वरिपरि नै घुम्छ । नयाँ दलले सीमित क्षेत्रमा मात्र चुनौती दिने संकेत देखिएको भट्टराई दावी गर्छन् । स्थानीय विश्लेषकहरूका अनुसार पाल्पा एकमा एमाले अहिले राम्रो मतसहित अग्रस्थानमै रहने सम्भावना छ भने पाल्पा–२ मा मत परिणाम स्विङ भोटरको प्रवृत्तिमा निर्भर रहन्छ ।
सिङ्गापुरको निर्माण क्षेत्रमा वृद्धि, औषधि उत्पादनमा कमी
सिङ्गापुर । सिङ्गापुरको निर्माण उत्पादन डिसेम्बर सन् २०२५ मा वार्षिक आधारमा ८.३ प्रतिशतले बढेको सरकारको तथ्याङ्कले सोमबार देखाएको छ । मौसमी रूपमा समायोजित आधारमा, नोभेम्बरसँग तुलना गर्दा कुल उत्पादन १३.३ प्रतिशत घटेको छ । छ वटा प्रमुख समूहमध्ये इलेक्ट्रोनिक्स, यातायात इन्जिनियरिङ् र प्रिसिजन इन्जिनियरिङ्ले वार्षिक वृद्धि देखाएका छन् । यसमध्ये इलेक्ट्रोनिक्सले ३०.८ प्रतिशतले सबैभन्दा ठूलो वृद्धि देखाएको छ । तर, बायोमेडिकल निर्माण उत्पादन वार्षिक आधारमा ३८.८ प्रतिशतले घटेको छ । सिङ्गापुर आर्थिक विकास बोर्डका अनुसार औषधि खण्डमा उत्पादन ६९.७ प्रतिशतले घटेको छ, किनभने गत वर्षको तुलनामा सक्रिय औषधि तत्व (एपीआई) को मिश्रण फरक भएको थियो । रासायनिक उत्पादनमा पनि वार्षिक कमी देखिएको छ, जबकि सामान्य निर्माण उत्पादन स्थिर रहेको छ । रासस
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अनुसार ४४ वर्षीय कृष्ण कुँवर, २६ वर्षीया मनिषा अधिकारी, ४४ वर्षीय भक्त प्रसाद मरासिनी र २७ वर्षीय सरल आचार्य पक्राउ परेका हुन् । चारै जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पीडितहरूबाट कुँवरले सर्बिया पठाउने भन्दै २ लाख ५० हजार , अधिकारीले क्यानडा पठाउने भन्दै २ लाख ५० हजार, मरासिनीले रोमानिया पठाउने भन्दै २ लाख २५ हजार ठगेको र आचार्यले युएई पठाउने २ लाख ६२ हजार ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
टी–२० विश्वकपमा डेभिल्सको नयाँ अभियान 'डेभिल्स खाऔँ, मुम्बई जाऔँ’
काठमाडौं । डेभिल्सले नेपाली क्रिकेट इतिहासकै महत्वपूर्ण क्षणलाई प्रोत्साहन गर्दै नयाँ अभियान सार्वजनिक गरेको छ । ‘डेभिल्स खाऔँ, मुम्बई जाऔँ’ नामक यस अभियानमार्फत क्रिकेटप्रेमीहरूलाई टी–२० विश्वकपमा नेपालको पहिलो सहभागिताको प्रत्यक्ष साक्षी बन्ने दुर्लभ अवसर प्रदान गरिएको छ । अभियानअन्तर्गत एक जना भाग्यशाली विजेताले मुम्बईको वानखेड़े स्टेडियममा फेब्रुअरी १५ गते बिहान ११ः१५ बजे हुने नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक खेल प्रत्यक्ष हेर्न सबै खर्च समेटिएको भ्रमण जित्नेछन् । विश्व क्रिकेटका प्रतिष्ठित रंगशालामध्ये एक वानखेड़े स्टेडियममा बसेर नेपालको विश्वकप डेब्यु हेर्ने अवसर प्रदान गर्दै डेभिल्सले समर्थकहरूलाई खेलको केन्द्रमा ल्याउने लक्ष्य लिएको छ । ‘डेभिल्स खाऔँ, मुम्बई जाऔँ’ अभियान डेभिल्सका आधिकारिक सामाजिक सञ्जालमार्फत सञ्चालन हुनेछ । सहभागी हुन इच्छुकले डेभिल्सको आधिकारिक पेज फलो गर्नुपर्नेछ, अभियान पोस्टमा सोधिएको प्रश्नको सही उत्तर कमेन्ट गर्नुपर्नेछ र तीन जना साथीलाई ट्याग गर्नुपर्नेछ । पोस्ट सेयर गर्न भने प्रोत्साहन गरिएको छ । पुरस्कार प्याकेजमा मुम्बई आवत–जावतका हवाई टिकट, खेल प्रवेश टिकट, तीनतारे होटलमा चार दिनको बसाइ (ब्रेकफास्टसहित), एयरपोर्ट ट्रान्सफर, सिटी टुर, प्रमुख दर्शनीय स्थल भ्रमण, पर्यटन कर तथा वानखेड़े स्टेडियम आवत–जावतको सम्पूर्ण यातायात व्यवस्था समावेश गरिएको छ । अभियानबारे टिप्पणी गर्दै एसियन थाई फुडका निर्देशक आशिष जाजुले टी–२० विश्वकपका लागि नेपालको छनोट राष्ट्रका लागि गर्व र ऐतिहासिक क्षण भएको बताए । उनले भने, 'डेभिल्स खाऔँ, मुम्बई जाऔँ अभियानमार्फत हामी यस उपलब्धिलाई उत्सवका रूपमा मनाउँदै समर्थकहरूलाई स्टेडियममै बसेर इतिहासको साक्षी बन्ने अवसर दिन चाहन्थ्यौँ । क्रिकेटले लाखौँ मानिसलाई जोड्छ, र यो अभियान विश्वमञ्चमा नेपाली टोलीलाई समर्थन गर्ने हाम्रो प्रयास हो ।' यस अभियानमार्फत डेभिल्सले नेपाली क्रिकेटको गर्विलो क्षणलाई समर्थकहरूसँग साझा गर्दै खेलकुदले जोड्ने भावना र उत्साहलाई अझ सशक्त बनाएको छ ।