काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार सन् २०२५ मा नेपालमा ११ लाख ५८ हजार विदेशी पर्यटकको आगमन भयो । उनीहरुको औसत बसाई १६ दशमलव ३४ दिन थियो ।
अर्थमन्त्री वाग्लेको हिसाबमा नेपालका पर्यटकीय होटलहरुले वर्ष भरिमा १ करोड ८९ लाख २१ हजार ७२० शैय्या पर्यटकलाई बेचे । यो होटलहरुको कुल क्षमताको ८१ प्रतिशत हो ।
अर्थमन्त्रालयले सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक स्थितिपत्रमा उल्लेख भए अनुसार हाल नेपालमा २२२ वटा तारे होटलसहित पर्यटकीय स्तरका कुल १६ भन्दा बढी होटलहरु सञ्चालनमा छन्, जसको दैनिक क्षमता ६४ हजार शैय्याभन्दा बढी छ ।
मन्त्रालयका अनुसार नेपालका होटलहरुले दैनिक ६४ हजारभन्दा बढी पर्यटकलाई आरामदायी रुपमा बस्ने सुविधा दिन सक्छन् । यस हिसावले होटलहरुले बार्षिक २ करोड ३३ लाख ६० हजार शैय्या बेच्न सक्छन् । त्यसमध्ये सन् २०२५ मा होटलहरुले १ करोड ८९ लाख २१ हजार ७२० शैय्या पर्यटकलाई बेचे ।
यसमा देशभित्रका आन्तरिक पर्यटकको हिसाब छैन । पर्यटकीय होटलहरुमा आन्तरिक पर्यटकहरु पनि बस्ने गर्दछन् । खासगरी उच्च आर्य भएको व्यवसायी, उच्च व्यवस्थापक तथा कर्मचारीहरु तारे वा पर्यटक स्थरीय होटलमा बस्ने गर्दछन् ।
होटल व्यवसायीहरुका अनुसार पर्यटकीय होटलहरुमा कति नेपाली पर्यटक बस्छन् भन्ने यकिन तथ्यांक नभए पनि ठूलो संख्यामा बस्ने गरेका छन् । होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष तुलसी राम (टिआर) भण्डारीका अनुसार सन् २०२५ मा नेपालमा भित्रिएका साढे ११ लाख पर्यटकको गणनामा भिसा लगाएर नेपाल आउने गैरआवासीय नेपालीहरू लाई पनि विदेशी पर्यटककै रूपमा समावेश गरिएको छ ।
उनका अनुसार नेपालभित्रका होटलहरुको करिब ५० लाख पर्यटकहरूलाई धान्न सक्ने क्षमताको विकास भइसकेको छ । गत वर्ष होटलहरूको औसत अकुपेन्सी ५८ देखि ६० प्रतिशतको हाराहारीमा थियो । केही होटलहरूको अकुपेन्सी ७०–८० भएपनि समग्र औसत ६० प्रतिशत भन्दा माथि नपुगेको भण्डारीले बताए ।
बाह्य पर्यटकको संख्या करिब १२ लाख मात्र भएकाले बाँकी रहेको ठूलो हिस्सा आन्तरिक पर्यटकहरूले धानेको उनको भनाइ छ । उनले पर्यटन क्षेत्रमा आन्तरिक पर्यटनको महत्व निकै बढी रहेको उल्लेख गरे ।