सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढीपहिरो प्रभावितलाई दियो न्यानो कपडा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढीपहिरो प्रभावितका लागि न्यानो कपडा हस्तान्तरण गरेको छ । सोमबार आयोजित विभिन्न कार्यक्रममा सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई र इलाम नगरपालिकाका मेयर केदार थापालाई न्यानो कपडा प्रदान गरिएको हो । हस्तान्तरण कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले बाढी प्रभावितलाई बैंकका तर्फबाट कपडा हस्तान्तरण गरेका थिए । सूर्योदय नगरपालिकाका बाढीपहिरो प्रभावितका लागि ३५० वटा नयाँ ज्याकेट र दाताहरूबाट संकलित सात बोरा न्यानो कपडा, तथा इलाम नगरपालिकाका बाढी प्रभावितका लागि १७५ वटा नयाँ ज्याकेट र दाताहरूबाट संकलित पाँच बोरा न्यानो कपडा हस्तान्तरण गरिएको थियो । सांग्रिला डेभलपमेन्ट बैंकले स्थापना दिवसको अवसरमा इलामका बाढी प्रभावितका लागि न्यानो कपडा प्रदान गर्ने घोषणा अनुसार यो कार्यक्रम सम्पन्न गरेको हो ।
समृद्धि फाइनान्सको हिमाल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेड, पोखरा शाखाले हिमाल कलेज अफ म्यानेजमेन्टमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मध्यवर्ती स्तर तथा बीबीए प्रथम सेमेस्टरका ३० जना विद्यार्थी लक्षित उक्त कार्यक्रममा बैंक तथा वित्तीय संस्था (बीएफआई) सम्बन्धी विविध विषयमा जानकारी प्रदान गरिएको थियो । कार्यक्रम समृद्धि फाइनान्सका शाखा प्रबन्धक दीपक कुमार श्रेष्ठको नेतृत्वमा सम्पन्न भयो । कार्यक्रममा बीएफआईहरूको कार्यक्षेत्र, रोजगारीका अवसर, बैंक वर्गीकरण, सहकारी तथा बैंकबीचको भिन्नता लगायतका विषयमा विस्तृत जानकारी दिइयो । साथै, वित्तीय क्षेत्रमा रहेको करियर र अवसरबारे विद्यार्थीहरूलाई मार्गदर्शन गरिएको थियो । विद्यार्थीहरूले कार्यक्रमलाई अत्यन्तै जानकारीमूलक तथा उपयोगी रहेको प्रतिक्रिया दिएका छन् । समृद्धि फाइनान्सले आगामी दिनहरूमा पनि यस्ता वित्तीय सचेतना कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ । संस्थाले आरटीजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ्ग, मोबाइल बैंकिङ, डेबिट कार्ड तथा क्यूआर कोडजस्ता डिजिटल सेवा तथा सुविधाहरू प्रदान गरिरहेको छ ।
राजपत्रमा सूचना प्रकाशित भएसँगै नेपाली कम्युनिस्ट पार्टीले पायो आधिकारिकता
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आधिकारिक मान्यता प्राप्त गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० बमोजिम नेपालका विभिन्न कम्युनिस्ट पार्टीहरूबीच भएको एकीकरण र पुनर्गठनसम्बन्धी आधिकारिक जानकारी सार्वजनिक गरेको हो । सोमबार प्रकाशित नेपाल राजपत्रमार्फत पाँचवटा कम्युनिस्ट पार्टीहरू मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको सूचना सार्वजनिक गरिएको हो । राजपत्रमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी, जनमत समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी समाजवादी र नेपाल कम्युनिस्ट पार्टी मालेबीच भएको दल पुनर्गठन तथा एकीकरण प्रक्रियाले राजनीतिक दलसम्बन्धी कानुनमा उल्लेखित प्रावधानहरू पूरा गरेको जनाइएको छ । दर्ता, अद्यावधिक र नाम परिवर्तनसहितका सम्पूर्ण कागजातहरू विधिसम्मत भएको पुष्टि गर्दै राजपत्रको अनुसूची ‘ङ मा उल्लेखित आधारमा सूचना प्रकाशित भएको हो ।
कामना सेवा विकास बैंकले पायो अग्राधिकार सेयर निष्कासनको स्वीकृति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार निष्कासन गर्न स्वीकृति दिएको छ । बैंकले अंकित मूल्य १ सयका दरले ३५ लाख कित्ता सेयर निष्कासन गर्न स्वीकृति पाएको हो । बैंकलाई ९ प्रतिशत लाभांश दर तोकिएको छ । विकास बैंकको १८औँ वार्षिक साधारण सभाबाट अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि धितोपत्र बोर्डमा पेस गरिएको थियो । बोर्डले सबै प्रक्रिया पूरा भएपछि सेयर जारी गर्ने अनुमति दिएको हो । अग्राधिकार सेयर निष्कासनपछि बैंकको पूँजीगत संरचना थप सुदृढ हुने, पुँजीकोष बढ्ने तथा बैंकले व्यवसाय विस्तारका अवसरहरू थप पाउने अपेक्षा गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार हालको बजार तरलता तथा प्रतिफल दरको अवस्थालाई हेर्दा ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार सेयर संस्थागत लगानीकर्ताका लागि उचित माध्यम हुनेछ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई पुँजीकोष सुदृढीकरणका लागि हकप्रद सेयरका विकल्प स्वरूप अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गर्न सर्कुलरमार्फत गरेको थियो ।
केन्द्रीय समितिको अवैज्ञानिक तालिका, तोकिएको मितिमा महाधिवेशन असम्भव : केसी
काठमाडौं । कांग्रेसको केन्द्रीय समिति बैठकले सहमतिमा सार्वजनिक गरेको तालिकाअनुसार १५ औं महाधिवेशन हुनेमा कांग्रेसकै नेताहरूले आशंका व्यक्त गरेका छन् । संस्थापन इतर पक्षका नेता जगदीश्वर नरसिंह केसीले सार्वजनिक गरेको तालिकामा महाधिवेशन गर्न सम्भव नरहेको बताएका हुन् । केसीले एक वर्षमा नसकिएको क्रियाशील सदस्यता नवीकरण र वितरण अब केही दिनमा नसकिने दावी गर्छन् । केन्द्रीय समितिले गर्न नसकिने महाधिवेशनको निर्णय गरेको उनको भनाइ छ । ‘एक सातामा वडादेखि प्रदेशसम्मको अधिवेशन सम्भव हुँदैन । वडाबाट सुरु भएको दश दिनमा केन्द्रीय महाधिवेशन सकाउने तालिका अवैज्ञानिक छ । महाधिवेशन नगर्ने र विशेष महाधिवेशनको प्रस्तावलाई भुत्ते बनाउने उद्देश्यसहित यो तालिका आयो,’ उनले भने ।
५० अर्बको परियोजना अघि बढाउने काम थालिएको छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको बताउँदै त्यसलाई चिर्न जरुरी रहेको बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औँ वार्षिक साधारण सभामा अध्यक्ष ढकालले यस्तो बताएका हुन् । अध्यक्ष ढकालका अनुसार नेपालकै पुँजीबाटै धेरै ठूला आयोजना निर्माण गर्न सकिने सम्भावना छ । ठूला पूर्वाधार निर्माणका लागि नेपाल डेभलपमेन्ट पब्लिक (एनडीपी) स्थापनाको उद्देश्य पनि यही रहेको उनले बताए । उनका अनुसार व्यवसायीलाई समेटेर नेपालकै पुँजी परिचालन गरी ४०–५० अर्ब रुपैयाँका परियोजना अघि बढाउने काम थालिएको छ । नेपालमै लगानीको सकारात्मक वातावरण रहेको सन्देश दिनका लागि पनि एनडीपीको योजनालाई अघि बढाइएको उनले स्पष्ट पारे । ढकालले आम व्यवसायीसँगै नागरिकको मनोबल उकास्ने गरी अब सरकारले काम गर्न जरुरी रहेको पनि बताए । महासंघ अध्यक्ष ढकालले भने– ‘वास्तवमा सुरक्षाको कुरा अत्यन्तै महत्वपूर्ण छ । आउने दिनमा कुनै एउटै व्यवसायी वा व्यक्तिभन्दा पनि आम नागरिकलाई आत्मविश्वास दिलाउने खालको सुरक्षा व्यवस्था मिलाइनुपर्छ ।’ सोही कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरन्द्रबहादुर पाण्डेले मुलुकमा चुनावपछि निजी क्षेत्रले लगानी वातावरणमा सुधार हुने अपेक्षा राखेको बताए । निर्वाचनअघि बनेको यो सरकारले नीतिगत विषयहरूलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष पाण्डेले भने– ‘अर्थतन्त्रको कुनै एउटै क्षेत्रमा समस्या आउँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्छ । आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै दीगो विकासका लागि नीतिगत तथा कानुनी सुधार अनिवार्य छ ।’ उनका अनुसार जेनजी आन्दोलनपछिको सिथिलतालाई सबैले मिलेर सामना गर्दै सबल अर्थतन्त्रका लागि अघि बढ्नुपर्ने आवश्यकता रहेको छ ।
जीवन बीमकको नयाँ व्यवसाय २९ प्रतिशतले बढ्यो : अग्रस्थानमा नेपाल लाइफ, अन्यको अवस्था कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को चार महिना (साउन–कार्त्तिक) सम्ममा जीवन बीमा कम्पनीहरूको प्रथम बीमा शुल्क उल्लेखनीय वृद्धि भएको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार कार्त्तिक मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले १२ अर्ब ७२ करोड ३९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । जुन गत आवको यही अवधिको तुलनामा २९.९१ प्रतिशतले वृद्धि हो । बीमा कम्पनीहरूले गत आवको यही अवधिमा ९ अर्ब ७९ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको थिए । कार्त्तिकसम्ममा नयाँ व्यवसाय आर्जनमा नेपाल लाइफ अगाडि देखिएको छ । उक्त अवधिमा नेपाल लाइफले तीन अर्ब ६७ करोड ५३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ । चालु आवको चार महिनामा नेपाल लाइफले आर्जन गरेको प्रथम शुल्क गत आवको सोही अवधिको तुलनामा ४४.४५ प्रतिशतले बढी हो । गत आवको सो अवधिमा कम्पनीले २ अर्ब ५४ करोड ४३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको थियो। दोस्रोमा नेशनल लाइफले एक अर्ब ८८ करोड ६६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ लाख ४७ हजार ३५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको थियो । गत आवको तुलनामा चालु आवको चार महिनामा नेशनल लाइफको प्रथम बीमा शुल्क २८.०५ प्रतिशतले बढेको छ । तेस्रोमा एलआईसी नेपालले ९३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गर्न सफल भएको छ, जुन गत आवको तुलनामा २५.६२ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा कम्पनीले ७४ करोड २० लाख रुपैयाँ आर्जन गरेको थियो । त्यस्तै, सूर्यज्योति लाइफले ८३ करोड ९ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । गत आवको यही अवधिमा कम्पनीले ७१ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको थियो । गत आवको तुलनामा चालु आवमा कम्पनीको नयाँ व्यवसाय १६.०२ प्रतिशतले बढेको छ । चार महिनाको अवधिमा सिटिजन लाइफले ७४ करोड ३५ लाख रुपैयाँ, हिमालयन लाइफले, हिमालयन लाइफले ६८ करोड, एशियन लाइफले ६२ करोड, आएमई लाइफ ५८ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ५४ करोड रुपैयाँ, रियायबल नेपालले ५३ करोड, प्रभु महालक्ष्मी लाइफले ४२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । गत आवको तुलनामा सिटिजन्सको ४३.५७, एशियनको ३५.२५, आईएमईको ८४.२५, सानिमाको २१.४ प्रतिशत, रिलायबलको ३७.९४ र प्रभु महालक्ष्मीको २४.४७ प्रतिशतले प्रथम बीमाशुल्क बढेको छ । त्यसैगरी, चार महिनामा सरकारी बीमा कम्पनी राष्ट्रिय जीवन बीमाको प्रथम बीमा शुल्क ४९ करोड ४१ लाख रुपैयाँ, मेट लाइफको ४७ करोड ४० लाख रुपैयाँ र सन् नेपालको २८ करोड ८४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।
एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाई खरिद खुला
काठमाडौं । एनआईसी एशिया क्यापिटलले एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाई नियमित खरिद-पुनर्खरिद खुला राखेको छ । नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेर पहिलो चरणको बाँडफाँड सम्पन्न भएको मितिले तीन महिनाभित्र योजना नियमित खरिद-पुर्नखरिदका लागि खुला गर्नुपर्ने प्रावधानअनुसार मंसिर १५ गतेदेखि नियमित कारोबारका लागि खुला गरिएको जनाएको हो । हालका लागि इकाइ खरिद तथा पुर्नखरिद प्रक्रिया एनआईसी एशिया क्यापिटलको रजिस्टर्ड कार्यालय ट्रेड टावर नेपाल, थापाथली-काठमाडौंबाट गर्न सकिने व्यवस्था मिलाइएको छ । क्यापिटलका अनुसार निकट भविष्यमै मोबाइल एप, अनलाइन पोर्टल तथा डिजिटल भुक्तानी माध्यममार्फत पनि इकाइ खरिद-पुनर्खरिद गर्न सकिनेछ । एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित 'एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम' कम्पनीको दोस्रो खुलामुखी म्युचुअल फन्ड योजना हो । नेपालमा सञ्चालित खुलामुखी म्युचुअल फन्डहरूमध्ये पहिलो पटक मिनी एसआईपी (५ सय रुपैयाँ) तथा एसटीपी (सिस्टेमाटिक ट्रान्सफर प्लान) जस्ता विशेषताहरू यस योजनामा समावेश गरिएको क्यापिटलले जनाएको छ । योजनामा संकलित रकममध्ये अधिकांश हिस्सा धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरूका सेयरमा लगानी गरिनेछ । भविष्यमा राम्रो प्रतिफल दिन सक्ने कम्पनीहरूको छनोट गरी लगानी गर्ने लक्ष्य यस इक्विटी-ओरिएन्टेड फन्डको रहेको छ । योजनाको पहिलो चरणअन्तर्गत १० रुपैयाँ अंकित दरका ५ करोड इकाइ साउन २९ गतेदेखि भदौ १२ गतेसम्म सार्वजनिक निष्कासन गरिएको थियो । सो अवधिमा ८२ हजार ७३७ जना लगानीकर्ताबाट ७४ लाख १७ हजार इकाई बराबरको आवेदन प्राप्त भएको थियो, जुन कुल मागको १.४८ गुणा बढी हो । योग्य आवेदन दिने सबै लगानीकर्तालाई भदौ १६ गते इकाई वितरण गरिएको क्यापिटलले जनाएको छ ।