विकासन्युज

राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा सुधा श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा गभर्नरको कार्यालयकी कामु निर्देशक सुधा श्रेष्ठ नियुक्त भएकी छन् । बैंकले सोमबार (आज)देखि लागू हुने गरी श्रेष्ठलाई उक्त जिम्मेवारी सुम्पिएको जनाएको छ । नवनियुक्त सहप्रवक्ता एवं सूचना अधिकारी श्रेष्ठ विगत लामो समयदेखि केन्द्रीय बैंकमा सेवारत छिन् ।  उनी विसं. २०६४ सालदेखि नेपाल राष्ट्र बैंकमा आबद्ध भई विभिन्न विभागहरूमा कार्यअनुभव सँगालेकी दक्ष अधिकृत हुन् । केन्द्रीय बैंकले सर्वसाधारण र सञ्चारमाध्यमलाई बैंकका सूचना तथा गतिविधिहरू पारदर्शी र सहज रूपमा उपलब्ध गराउनका लागि उनको सम्पर्क विवरणसमेत सार्वजनिक गरेको छ। 

एनआईसी एशिया बैंकको साधारण सभाबाट हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । एनआईसी एशिया बैंकको २८औं वार्षिक साधारण सभा सोमबार काठमाडौंस्थित भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ । यसैगरी, सञ्चालक समितिले प्रस्ताव गरेअनुसार आवश्यक नियामक निकायको स्वीकृति पश्चात् बैंकको हाल कायम चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभाबाट अनुमोदन भएको छ । अन्य विविध प्रस्तावहरू समेत पारित गरिएको बैंकले जनाएको छ । सभाबाट सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट अशोक कुमार अग्रवाल, रामचन्द्र संघई, जयन्त कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनीको तर्फबाट आदित्य कुमार अग्रवाल, केशव प्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारी निर्वाचित भएका छन् ।

बजेटलाई लगानीकर्ताको इग्नोर, नेप्से २७ अंकले घट्दा साढे ५ अर्बको कारोबार

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएपछि खुलेको पहिलो कारोबार दिन सेयर बजार घटेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.७२ अंकले घटेर २ हजार ७५५.०५ विन्दुमा झरेको छ । बजेटमार्फत सेयर कारोबारबाट हुने पुँजीगत लाभकर बढाइएपछि त्यसको असर बजारमा परेको लगानीकर्ताहरू बताउँछन् । बजेटमा एक वर्षभन्दा कम अवधिको सेयर किनबेचबाट प्राप्त नाफामा लाग्ने कर ७.५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याइएको छ । त्यस्तै, एक वर्षभन्दा बढी अवधि सेयर होल्ड गरेर नाफा कमाउने लगानीकर्ताले तिर्नुपर्ने कर ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत कायम गरिएको छ । यद्यपि केही लगानीकर्ताहरूले भने बजार घट्नुको प्रमुख कारण कर वृद्धि मात्र नभएको बताउँछन् । ‘बजार घट्नुको कुनै ठोस कारण छैन । क्यापिटल गेन ट्याक्स बढे पनि त्यसले ठूलो असर पार्नुपर्ने अवस्था होइन । पुँजीगत लाभकरलाई अन्तिम कर मानिएको छ, जुन आफैंमा सकारात्मक विषय हो,’ एक लगानीकर्ताले भने ।  ‘कर सामान्य बढ्दैमा बजार घट्नु हुँदैन । सम्पत्ति शुद्धीकरण र सम्पत्ति छानबिनसम्बन्धी विषयले लगानीकर्ता केही सशंकित भएका हुन् । बजेटबाट तर्सिनुपर्ने अवस्था छैन,’ उनले भने ।  नेप्सेका अनुसार सोमबार ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ । यस दिन ३४९ कम्पनीका १ करोड कित्ता सेयर किनबेच हुँदा कुल ५ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार आँखुखोला जलविद्युत कम्पनीको भएको छ । उक्त कम्पनीको ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसपछि नेपाल रिइन्स्योरेन्स कम्पनीको ३७ करोड, हिमालयन रिइन्स्योरेन्सको २५ करोड र रिडी पावर कम्पनीको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेपाल रिइन्स्योरेन्स कम्पनी र कालिन्चोक हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। दुवै कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले वृद्धि भएको छ । १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ। नन–लाइफ इन्स्योरेन्स उपसमूह १.३७ प्रतिशत र अन्य उपसमूह ३.३६ प्रतिशतले बढेका छन् ।

हिरासतमा पुगेर लागुपदार्थ दिन खोज्ने रिजाल पक्राउ

काठमाडौं । प्रहरी हिरासतमै रहेका एक थुनुवालाई लागुपदार्थ दिने एक व्यक्ति पक्राउ परेका छन् । शनिबार प्रहरी वृत्त बालाजुको प्रहरी हिरासत रहेका थुनुवालाई लुगा दिन पुगेका २२ वर्षीय कृतन रिजाल पक्राउ परेका हुन्। रिजालले दिएको जिन्सको पेन्टमा खैरो हेरोइन थियो ।  उनले दिएको लुगालाई चेकजाँच गर्दा जिन्स पाइन्टमा लुकाई राखेको अवस्थामा लागुऔषध खैरो हेरोइन तीन सय मिलीग्राम फेला परेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए । नुवाकोट, सूर्यगढी नगरपालिका ५ का रिजाल काठमाडौं, तारकेश्वर नगरपालिका- ८ शान्तिटोलमा बस्दै आएका थिए । उनलाई काठमाडौं जिल्ला अदालतबाट दश दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।  अर्का थुनुवालाई भने लागुऔषधसम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको छ ।

यसकारण विद्यार्थीको रोजाइमा टेक्सास कलेज

काठमाडौं । भक्तपुर काँडाघारीका अविरल पराजुली कक्षा ११ मा विज्ञान विषय लिएर पढ्ने योजनामा छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ३.६६ जीपीए ल्याएर पास भएपछि उनी विज्ञान विषय पढाइ हुने उत्कृष्ट कलेज खोजी गर्दै उपत्यकाका विभिन्न कलेजमा पुगे । जहाँ पढ्ने वातावरण सहज होस्, पढाइका लागि आवश्यक ल्याबदेखि दक्ष शिक्षक पर्याप्त छन् र शिक्षकको व्यवहार साथीजस्तै हुन्छ, त्यस्तै स्कुल रोज्ने उनको योजना थियो । अविरल पराजुली । यसैक्रममा उनी मंगलबार चावहिलमा रहेको टेक्सास इन्टरनेसनल कलेज पुगे । उनलाई यो कलेज मन पर्यो । साथीसँगै कलेज आएका उनले कक्षाकोठा, ल्याब, खेल्ने ठाउँ हेरिसकेपछि अब टेक्सास स्कुल रोज्ने योजना बनाएका छन् । ‘ल्याब, कक्षाकोठा, लाइब्रेरी, सबै हेरेँ राम्रो लाग्यो, अब धेरै कति स्कुल/कलेज घुमिरहनु ? अब यहीँ पढ्ने सोच बनाएँ,’ अविरलले भने । काभ्रेका संयोग तामाङ आमासँगै टेक्सास कलेज पुगेका थिए । ३.८१  जीपीए ल्याएर एसईईमा पास भएका संयोगले पनि कलेजको भ्रमण गरे । उनले त्यहाँका शिक्षक, विद्यार्थी, काउन्सिलरसँग कुराकानी गरिसकेपछि टेक्सास पढ्ने योजना बनाएका छन् ।  व्यवस्थापनबाट कम्प्युटर साइन्स विषय लिएर पढ्ने योजना बनाएका तामाङ यो विषयका लागि यो कलेज उत्कृष्ट रहेको बताउँछन् । ‘मेरो साथी पनि पहिले यही स्कुलमा पढेका थिए, उनीहरू राम्रै नम्बर ल्याएर पास पनि भए । अब म पनि यही पढ्ने योजनामा छु,’ उनले भने । महोत्तरीको रूपेश पण्डित बहिनीको लागि राम्रो कलेजको खोजीमा थिए । कम्प्युटर साइन्स लिएर पढ्ने योजना बनाएकी बहिनीका लागि सही कलेज टेक्सास हुनसक्ने भन्दै उनी यो कलेज पुगेका हुन् । कलेज भ्रमण गरिसकेका रूपेश भन्छन्, ‘कलेजको व्यवस्थापन राम्रो रहेछ,  यहाँका शिक्षकहरू सहयोगी हुनुहुँदो रहेछ, मलाई कलेज राम्रो लाग्यो ।’ अविरल, संयोगजस्तै धेरै विद्यार्थी टेक्सास कलेजमा पुग्छन् । कोही साथीभाइसँग त कोही विद्यार्थी अभिभावकसँग भ्रमणका लागि पुग्ने गर्छन् । सक्रिय पूर्व विद्यार्थी टेक्सासमा कक्षा ११/१२ पढेका धेरैजसो विद्यार्थी नयाँ पढ्न आउने विद्यार्थी तथा अभिभावकलाई परामर्श गरिरहेका छन् । उनीहरूले कक्षाकोठामा शिक्षकले विद्यार्थीलाई गर्ने व्यवहार, विद्यालयमा सिकाइने विषय लगायत पुरै कलेजको वातावरणबारे विद्यार्थीलाई बुझाउँछन् ।  साथै उनीहरूले विद्यालयमा आएका विद्यार्थी र अभिभावकलाई विद्यालयमा भएका ल्याब, कक्षाकोठा, लगायतका ठाउँहरू देखाउँदै पुरै विद्यालय भ्रमण गराउँछन् । विद्यार्थीसँगसँगै कलेजले राखेका परामर्शदाता र शिक्षकहरूले पनि विद्यार्थीलाई परामर्श दिने काम गरिरहेका छन् । कञ्चनपुरका विवेक खड्का अहिले कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा छन् । टेक्सासमै बिजनेस स्टडिज लिएर प्लस टु पढेका उनी कक्षा ११ मा भर्ना हुन आउने नयाँ विद्यार्थीलाई कलेजका बारे जानकारी दिने काम गर्छन् ।  भन्छन्, ‘धेरै विद्यार्थीहरू आउनुहुन्छ, स्कुलबारे बुझ्नुहुन्छ । कतिपयलाई हामीले परामर्श गर्छौं, कतिपयलाई सरहरूले काउन्सिलिङ गर्नुहुन्छ, दिनहुँ धेरै विद्यार्थी र  अभिभावक आइरहनुहुन्छ, उहाँहरूलाई हामी पुरै विद्यालय भिजिट गराइरहेका छौं ।’ फिजिक्स ल्याबदेखि कम्प्युटर ल्याबको व्यवस्था कक्षा १२ को परीक्षा दिएर बसिरहेकी गोर्खाकी अनुशा ठकुरी अहिले टेक्सासमा कक्षा ११ भर्ना हुन आउने विद्यार्थीलाई विद्यालय भ्रमण गराउँछिन् । यही कलेजमा पढेकी उनी आफ्नो अनुभव सेयर गर्दै विद्यार्थीलाई कलेजमा भएका ल्याबबारे जानकारी गराउँछिन् ।  अनुसा ठकुरी । उनी यो कलेजमा ११/१२ का विज्ञान विषय लिएर पढ्ने विद्यार्थीका लागि आवश्यक ल्याबको व्यवस्था रहेको बताउँछिन् । उनी धेरै कुराहरू पढेरमात्र नभइ व्याहारिक रूपमा पनि लागू गर्नुपर्ने हुँदा ल्याबमा आएर अभ्यास गर्न मिल्ने बताउँछिन् । कलेजमा फिजिक्स, केमेस्ट्री र बायो ल्याबको व्यवस्था पनि छ । कम्प्युटर साइन्स पढ्ने विद्यार्थीका लागि कम्प्युटर ल्यावको व्यवस्था पनि टेक्सास कलेजमा छ । टेक्सासबाटै कक्षा १२ परीक्षा दिएर बसिरहेकी इस्मोन राई टेक्सासमा  विद्यार्थीका लागि पढ्ने वातावरण राम्रो रहेको बताउँछिन् । प्लसु टुपछि विदेश पढ्न जाने योजना बनाइरहेकी उनी टेक्सासमा प्लस टु गरिरहँदा किताबी ज्ञानसँगै अन्य बाह्य कुराको धेरै अनुभव बटुल्न पाएको अनुभव सुनाउँछिन् ।  इस्मोन राई । टेक्सास इन्टरनेसनल कलेजमा मन्टेस्वरीदेखि मास्टर्स डिग्रीसम्म पढाइ हुन्छ ।  यहाँ कक्षा ११ मा एक हजार विद्यार्थी भर्ना गरिन्छ । विज्ञान, व्यवस्थापन, मानविकी र कानुनका विषयहरू पढाइ हुन्छ ।  यसका लागि ए, बी, सी र डी गरी चारवटा ब्लकहरू छन् । ब्लक डीमा बीएसडब्लुको पढाइ हुन्छ भने नर्सिङरुम पनि त्यो ब्लकमा छ ।  ब्लक सीमा व्यवस्थापनका विषयहरू पढाइ हुन्छ भने ल्याब पनि त्यही छ । त्यस्तै, ब्लक बीमा बीआईटीको पढाइहुन्छ भने दुईवटा ल्याबहरू पनि छन् । ब्लक एमा विज्ञान विषयमा पढाइ हुन्छ । कलेजभित्रै क्यान्टीनको व्यवस्था पनि छ ।                             पढाइमात्र होइन, टेक्सासमा विद्यार्थीका लागि पर्याप्त खेल्ने ठाउँ पनि छ ।  जहाँ ब्याडमिन्टन, टेबल टेनिसदेखि लिएर बास्केटबल, फुटसललगायत विभिन्न खेलहरू खेल्ने ठाउँको व्यवस्था छ । यस्तै, स्कुभित्रका कार्यक्रमका लागि सेमिनार हलको पनि व्यवस्था छ । कलेजमा इन्टरकलेज फुटसल पनि भइरहन्छ भने अन्य खेलका लागि विद्यार्थीलाई बाहिर लगिन्छ ।  सबै विद्यार्थी भर्ना गर्नसक्ने अवस्था छैन कक्षा ११ मा अध्ययनको लागि धेरैजसो विद्यार्थीले कलेज छनोट गरिसके पनि अझै धेरै विद्यार्थी कलेज खोजीमै लागिरहेका छन् । विशेषगरी, उपत्यका बाहिरबाट अध्ययनका लागि काठमाडौं आएकाहरू अहिले पनि विभिन्न कलेज भ्रमण गरिरहेका छन् । सरकारले कक्षा ११ को पढाइ असार १ गतेबाट सुरु गर्न भनेको छ । कलेजहरूले पनि विद्यार्थीहरू भर्ना गर्ने काम गरिरहेका छन् । टेक्सास कलेजले कक्षा ११ मा भर्ना हुन आउका सबै विद्यार्थीलाई भर्ना गर्न नसक्ने जनाएको छ ।  विद्यालयका प्रधानाध्यापक श्यामसुन्दर श्रेष्ठ विद्यालयमा आउने सबै विद्यार्थीको भर्ना लिन नसकिने हो कि भन्ने अवस्थामा कलेज रहेको बताउँछन् । कलेजको भौतिक संरचनाको सीमितताका कारण धेरै विद्यार्थी भर्ना गर्न नसकिने उल्लेख गर्दै उनी यो कलेज विद्यार्थी र अभिभावकको आकर्षणको रूपमा रहेको बताए । प्रधानाध्यापक श्यामसुन्दर श्रेष्ठ । प्लस टुमा भर्ना हुन आउने विद्यार्थीको आकर्षण विज्ञान र व्यवस्थापनमा रहेको प्रधानाध्यापक श्रेष्ठ बताउँछन् । उनी यसको पछाडि कारण रहेको बताउँछन् ।  भन्छन्, ‘विज्ञान विषय पढिसकेपछि विद्यार्थीहरू मेडिकल, इन्जिनियरिङ क्षेत्रबाहेक अन्य जुनसुकै विषय पनि रोज्न सक्ने भएकाले आकर्षण बढेको हुनसक्छ भने अहिले विश्वमा नै व्यवस्थापन विषयमा आकर्षण बढेकाले यसको प्रभाव पनि हुन सक्छ ।’ 

प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले आइतबार प्रतिनिधि सभामा राखेको नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभा बैठकमा प्रतिपक्ष दलहरूले विरोध जनाएका छन् ।  सोमबारको बैठकमा प्रतिपक्ष दलहरूले उभिएर प्रधानमन्त्री साहको भनाइप्रति आपत्ति जनाउँदै विरोध गरेका हुन् । अध्यक्ष नारायणप्रसाद दाहालले सदनको कारबाही सुचारु गर्न लाग्दा प्रतिपक्ष दलहरूले उभिएर प्रधानमन्त्रीको विरोध जनाए । प्रधानमन्त्रीको भनाइ संसदको रेकर्डबाट नहटेसम्म सदन अवरुद्ध जारी राख्ने चेतावनी दिए ।  आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री साहले भारतले मात्रै नेपालको भूमि मिचेको नभइ नेपालले पनि भारतीय भूमि मिचेको र वार्ताद्वारा समाधान गर्ने बताएका थिए ।  प्रधानमन्त्रीको भनाइपछि विपक्षी दल लगायत बुद्धिजीविहरुले प्रधानमन्त्रीको उक्त भनाइ राष्ट्रघाती भएको टिप्पणी गर्दै आएका छन् । राष्ट्रिय सभाको बैठक अहिले अवरुद्ध छ ।    

शवको पहिचान खुल्यो, रमा राति साढे ९ बजे आफै निस्केकी थिइन्

काठमाडौं । झापाको दमकस्थित रतुवा खोलाको पुलमुनि फेला परेको शवको पहिचान खुलेको छ । शव दमक नगरपालिका ८ का बसन्त टोलकी २१ वर्षीय रमा तिवारीको रहेको झापा जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता सुमन बानियाले जानकारी दिए । मृतकका अभिभावकले शवको पहिचान गरेर सनाखत गरिसकेको प्रहरीले जनाएको छ ।   तिवारी गत १३ गते घरबाट राति साढे ९ बजे घरबाट बाहिर निस्किएकी थिइन् । त्यसपछि उनी घरमा फर्किएकी थिइनन् ।  प्रहरीको अनुसन्धानमा उनी लागुपदार्थको कुलतमा लागेको हुनसक्ने देखिएको छ । विभिन्न व्यक्तिहरूलाई सोधपुछ गर्ने क्रम जारी रहेको प्रवक्ता बानियाले बताए । शनिवार बोराभित्र पोका पारेर राखेको अवस्थामा शव फेला परेको थियो ।  ११ बजे झापा दमक नगरपालिका १० सेतुमाडीस्थित रतुवाखोलाको पुलमुनी बगिरहेको बोरामा पोको पारेको अवस्थामा शव फेला परेको हो । दुई-तीन दिन अगाडिदेखि नै शव पानीमा रहेर ढाडिएको अवस्थामा फेला परेको थियो । 

एमालेले भन्यो : बालेनले संसद र जनतासँग माफी माग्नुपर्छ

काठमाडाैं । नेकपा (एमाले) ले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा व्यक्त गरेको भनाइप्रति असन्तुष्टि जनाउँदै सार्वजनिक रूपमा खेद प्रकट गरेको छ । एमालेले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हितविपरीत रहेको दाबी गर्दै त्यसबारे संसद् र आम नेपाली जनतासमक्ष स्पष्टिकरणसहित माफी माग्न आग्रह गरेको छ। सोमबार महासचिव शंकर पोखरेलद्वारा जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्री शाहको भनाइलाई गैरजिम्मेवार, ऐतिहासिक तथ्यसँग मेल नखाने र राष्ट्रहितविरुद्धको अभिव्यक्तिका रूपमा व्याख्या गरिएको छ । पार्टीले सुगौली सन्धि लगायतका ऐतिहासिक दस्तावेजले सम्बन्धित भूभाग नेपालकै रहेको पुष्टि गर्ने दाबी गरेको छ। साथै खेतीपाती, नदीको बहाव वा स्थानीय सीमांकनका कारण देखिने सामान्य प्राविधिक विवादलाई राज्यस्तरमा भएको भूमि अतिक्रमणसँग तुलना गर्न नमिल्ने स्पष्ट पारेको छ ।