आमाबाबुलाई बालबालिकासँग हुँदा फोन टाढा राख्न आग्रह
काठमाडौं । स्विडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले आमाबाबुको मोबाइल प्रयोगले बालबालिकाको व्यवहार, बानी र पारिवारिक अन्तरक्रियामा असर पार्न सक्ने निष्कर्ष सार्वजनिक गर्दै बालबालिकासँग समय बिताउँदा फोन प्रयोग सीमित गर्न आग्रह गरेको छ । नयाँ सिफारिसमार्फत एजेन्सीले आमाबाबुलाई बच्चासँग हुँदा सकेसम्म फोन टाढा राख्न र अत्यावश्यक अवस्थामा मात्र प्रयोग गर्न सुझाव दिएको हो । स्विडेनको जनस्वास्थ्य एजेन्सीले सोमबार जारी गरेको नयाँ मार्गनिर्देशन स्क्रिन प्रयोगसम्बन्धी पछिल्ला अनुसन्धानमा आधारित रहेको जनाएको छ । एजेन्सीले सन् २०२४ देखि नै आमाबाबुलाई बालबालिकाको वरिपरि स्मार्टफोन प्रयोगबारे सचेत हुन सुझाव दिँदै आएको भए पनि यसपटक थप स्पष्ट र व्यवहारिक सल्लाह अघि सारेको छ । स्वास्थ्य प्राधिकरणले जारी गरेको वक्तव्यमा भनिएको छ, 'जब तपाईं आफ्नो बच्चासँग हुनुहुन्छ, आफ्नो फोन टाढा राख्नुहोस् । आवश्यक परेमा मात्र प्रयोग गर्नुहोस् वा बच्चासँगै प्रयोग गरिरहनुभएको अवस्थामा मात्र प्रयोग गर्नुहोस् ।' एजेन्सीले आमाबाबुलाई आफ्नै जीवनमा पनि ‘स्वस्थ स्क्रिन बानी’ विकास गर्न आग्रह गरेको छ । यसको कारण के हो भने बालबालिकाले वयस्कहरूको व्यवहारबाट प्रत्यक्ष प्रभाव ग्रहण गर्ने भएकाले आमाबाबुको डिजिटल बानीले उनीहरूको आचरण निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने अनुसन्धानले देखाएको छ । स्वास्थ्य एजेन्सीका अनुसार अध्ययनहरूले आमाबाबुको अत्यधिक स्क्रिन प्रयोगले बालबालिकासँग हुने प्रत्यक्ष संवाद र भावनात्मक सम्बन्धमा नकारात्मक असर पार्न सक्ने देखाएका छन् । त्यस्तै, धेरै समय मोबाइल वा अन्य स्क्रिनमा बिताउने आमाबाबुका बच्चाहरूमा पनि त्यस्तै बानी विकास हुने सम्भावना उच्च रहने उल्लेख गरिएको छ । नयाँ सिफारिसमा घरभित्र ‘स्क्रिन–मुक्त क्षेत्र’ बनाउने अभ्यासलाई पनि प्राथमिकता दिइएको छ । एजेन्सीले शयनकक्ष, खाना खाने टेबल वा परिवार सँगै समय बिताउने स्थानहरूमा मोबाइल तथा अन्य स्क्रिन उपकरणको प्रयोग नगर्न सुझाव दिएको छ । एजेन्सीमा कार्यरत मनोचिकित्सक हेलेना फ्रिलिङ्स्डोर्फले बालबालिकाले केवल वयस्कका शब्द मात्र नभई, उनीहरूको व्यवहार पनि नजिकबाट सिक्ने बताए । उनले विज्ञप्तिमा भनेका छन्, 'बालबालिकाहरू वयस्कहरूले के भन्छन् भन्ने कुराले मात्र प्रभावित हुँदैनन्, उनीहरूले वयस्कहरूले के गर्छन् भन्ने कुरा पनि हेर्छन् । त्यसैले दैनिक जीवनका साना परिवर्तनहरूले तत्कालको पारिवारिक अन्तरक्रिया र दीर्घकालमा बच्चाको आफ्नै बानी दुवैमा प्रभाव पार्न सक्छन् ।' हालका वर्षहरूमा स्विडेनले बालबालिकाको अत्यधिक स्क्रिन समय घटाउन विभिन्न नीति र कदम अघि बढाउँदै आएको छ । त्यसैको निरन्तरतामा जनवरीमा सरकारले कक्षा ९ सम्मका विद्यार्थीका लागि विद्यालयभित्र स्मार्टफोन प्रयोगमा प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरेको थियो । यो नियम लागू भएमा करिब १५–१६ वर्ष उमेरसम्मका बालबालिकाहरू विद्यालयमा स्मार्टफोन प्रयोग गर्न पाउने छैनन् । स्विडेनको पछिल्लो सिफारिसलाई केवल फोन प्रयोग घटाउने प्रयासका रूपमा मात्र नभई परिवारभित्र प्रत्यक्ष संवाद, सहभागिता र स्वस्थ डिजिटल संस्कार प्रवर्द्धन गर्ने अभियानका रूपमा पनि हेरिएको छ । रासस
माननीय हुँ भन्दै ट्राफिक प्रहरी धम्क्याउने तामाङ पक्राउ
काठमाडौं । सिन्धुली क्षेत्र नम्बर १ को माननीयको हुँ भन्दै ट्राफिक प्रहरीलाई धम्क्याउने एक जना पक्राउ परेका छन् । बिहीबार सिन्धुली कमलामाई ७ का ३६ वर्षीय लोकबहादुर तामाङ पक्राउ परेका हुन् । उनले आफूलाई सिन्धुली क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य माननीय धनेन्द्र कार्की हुँ भन्दै झुटो परिचय दिने गरेका थिए । तामाङले ट्राफिक प्रहरीलगायत विभिन्न व्यक्तिहरूलाई फोनमार्फत दबाब दिने काम कारवाहीमा अनुचित प्रभाव पार्न खोज्ने गरेका थिए । अभद्र व्यवहारसमेत गरेको भन्ने बेहोराको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उज्वल कार्कीले जानकारी दिए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय, सिन्धुलीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
खगेन्द्र नवजीवन विशेष शिक्षा विद्यालयलाई कृषि विकास बैंकको स्मार्टबोर्ड
काठमाडौं । कृषि विकास बैंकले काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ६ जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा विद्यालयलाई शैक्षिक सामग्री डिजिटल स्मार्टबोर्ड सहयोग गरेको छ । सोमबार (आज) एक कार्यक्रमको आयाेजना गरी बैंकले उक्त सामग्री सहयोग गरेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सहयोग प्रदान गरिएको बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईंले बताए । सो कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यपक राघवप्रसाद दवाडीले बैंकको सहयोगले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सहयोग गरेकोमा कृतज्ञतासहित हार्दिक आभार प्रकट गरे । कार्यक्रममा बैंकको तर्फबाट विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, अभिभावक संघका अध्यक्ष जनकबहादुर अधिकारीलगायत विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक किरण धितालले गरेका थिए ।
रणवीर र रश्मिकासँग कजारियाको ‘घरमा कजारिया’ अभियान सार्वजनिक
काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले नयाँ ब्रान्ड अभियान ‘घरमा कजारिया, सबैले सोध्ने नै भयो नि !’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार देशव्यापी रूपमा सञ्चालन हुने उक्त अभियान जेठ ११ देखि सुरु हुनेछ । चर्चित ब्रान्ड एम्बेसेडर रणवीर सिंह र रश्मिका मन्दानालाई समेटिएको अभियानले आफ्नै घर हुनुको गर्विलो अनुभूति र त्यसमा प्रयोग गरिएका कजारिया टायल्सले दिने आकर्षणलाई प्रस्तुत गर्ने लक्ष्य लिएको छ । अभियानमार्फत विश्वस्तरीय टायल्सको प्रयोगले सामान्य घरलाई समेत स्टाइलिस र आकर्षक बनाउने तथा पाहुनाहरूको ध्यान खिच्ने सन्देश दिइएको छ । प्रिमियम इन्टेरियर रोजाइमार्फत समाजमा प्राप्त हुने पहिचान र प्रशंसालाई अभियानको मुख्य अवधारणाका रूपमा प्रस्तुत गरिएको छ । रणवीर सिंहको ऊर्जाशील व्यक्तित्व र रश्मिका मन्दानाको आकर्षक शालीनताको संयोजनमार्फत कजारियाका डिजाइनहरूले नेपाली घरहरूलाई अन्तर्राष्ट्रिय स्तरको भव्यता प्रदान गर्ने सन्देश दिइएको कम्पनीले जनाएको छ । अभियान सार्वजनिक कार्यक्रममा कम्पनीका प्रवक्ताले ‘घर व्यक्तिको सफलता र अभिरुचिको प्रतिबिम्ब हुने’ उल्लेख गर्दै नयाँ अभियानले घरमा आउने पाहुनाहरूले फ्लोर र वालको सौन्दर्य देखेर प्रशंसा गर्ने क्षणलाई समेटेको बताए । साथै, अन्तर्राष्ट्रिय स्तरको विलासिता नेपाली घरसम्म पुर्याउने प्रतिबद्धता दोहोर्याइएको छ ।
थुनछेक बहसका लागि तुलसा अधिकारीलाई पुनः भोलि अदालत लगिने
काठमाडौं । टिकटकर तथा व्यवसायी तुलसा अधिकारीलाई अदालतमा हाजिर गराइएको छ । सोमबार अदालतमा उपस्थित गराइए पनि थुनछेक बहस हुन सकेन । जिल्ला प्रहरी परिसरका प्रवक्ता गौतम मिश्रले आज ललितपुर जिल्ला अदालतमा पेश गरिने पनि थुनछेक बहस हुन नसकेको जानकारी दिए । ‘अदालत खुलेपछि आजै पेश गरिएको थियो अधिकारीलाई,’ उनले भने, ‘विविध कारणले बहस हुन सकेन ।’ भोलि पुनः अदालतमा पेश गरिने मिश्रको भनाइ छ । अदालतमा उनीविरुद्ध आपराधिक विश्वासघात, आपराधिक लाभ ठगी र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलाइएको छ । शनिबार राति १ बजे अधिकारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । इन्टरपोलमार्फत उनलाई प्रहरीले थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएको हो । उनी केही समयदेखि चीनमा बसेर पत्थर तथा मुगाको व्यापार गर्दै आइरहेकी थिइन् ।
टोखामा ‘पल्सर आरपीएम टेकओभर’ कार्यक्रम सम्पन्न
काठमाडौं । पल्सर आरपीएमले गत जेठ १६ गते टोखास्थित स्केटर्स नेपालमा आयोजना गरेको ‘पल्सर आरपीएम टेकओभर टोखा’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । युवा पुस्ताको ऊर्जा, सिर्जनशीलता र साहसिक प्रतिभालाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न विधाका कलाकार तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा बी–बोइङ (ब्रेक डान्स), स्केटबोर्डिङ, बीएमएक्स प्रदर्शन तथा ¥याप ब्याटलजस्ता आकर्षक प्रस्तुतिहरू समावेश गरिएको थियो । ती गतिविधिमार्फत नेपालका उदीयमान तथा भूमिगत प्रतिभाहरूले आफ्नो कला र क्षमता प्रदर्शन गरेका थिए । कार्यक्रममा उपस्थित दर्शकहरूले उत्साहपूर्ण सहभागिता जनाउँदै प्रत्येक प्रस्तुतिको भरपुर मनोरञ्जन लिएका थिए । कार्यक्रमको मुख्य आकर्षणका रूपमा स्टन्ट राइडर रबिन श्रेष्ठले पल्सर एनएस२०० मा सवार हुँदै रोमाञ्चक स्टन्ट प्रदर्शन गरेका थिए । उनको साहसिक प्रस्तुति र उत्कृष्ट नियन्त्रण क्षमताले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो । स्टन्ट प्रदर्शनका क्रममा देखाइएको कौशल, गति र सन्तुलनले कार्यक्रमको रोमाञ्चलाई थप उचाइमा पुर्याएको थियो । आयोजकका अनुसार ‘पल्सर आरपीएम टेकओभर’ केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई गति, सीप, सिर्जनशीलता र आत्मविश्वासको उत्सवका रूपमा सम्पन्न भएको हो । एकै स्थानमा विविध कला, खेलकुद र सांगीतिक प्रस्तुतिहरूलाई समेट्दै सम्पन्न उक्त कार्यक्रमले युवा पुस्ताको उत्साह र प्रतिभालाई उजागर गर्नुका साथै सहभागीहरूलाई अविस्मरणीय अनुभव प्रदान गरेको थियो ।
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ११३ जनाको आवेदन
काठमाडौं । ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेको उपकुलपति पदका लागि १ सय १३ जनाले आवेदन दिएका छन् । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट समितिले दरखास्त आह्वान गरेसँगै १ सय १३ जनाले आवेदन दिएका हुन् । ६ वटा प्रतिष्ठानमध्ये सबैभन्दा बढी आवेदन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि परेको छ भने सबैभन्दा कम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि परेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २६ जनाले आवेदन दिएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का लागि २४ जनाको, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १९ जनाको, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १७ जनाको, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १६ जनाको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सबैभन्दा कम ११ जनाको आवेदन परेको छ ।
झापा इनर्जी प्लान्टमा आगलागी, करिब ६ करोडको क्षति
काठमाडौं । झापा इनर्जी प्लान्टमा आगलागी भएको छ । सोमबार दिउँसो झापा शिवसताक्षी नगरपालिका ४ फुलचोक रहेको झापा इनर्जी प्लान्टमा आगलागी भएको हो । आगलागी हुँदा विभिन्न मेसिनहरू जलेर अन्दाजी ६ करोड बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी सुमन बानियाले जानकारी दिए । के कारणले आगलागी भएको त्यसबारेमा अनुसन्धान भइरहेको उनको भनाइ छ । दुधेका स्थानीय वर्षीय ५० को लाल प्रसाद सावा रहेको उनले जानकारी दिए । शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको दमकल साथै स्थानीय बासिन्दाहरुको संयुक्त प्रयासमा आगो निभाइएको उनले बताए ।