यस्तो छ मंंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । मंंगलबारका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य बढेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ र बिक्रीदर १६९ रुपैयाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ७० पैसा र बिक्रीदर १८२ रुपैयाँ ४६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११२ रुपैयाँ २३ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १९ पैसा र बिक्रीदर नौ रुपैयाँ २३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५१ पैसा र बिक्रीदर २० रुपैयाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ३० पैसा र बिक्रीदर ३८ रुपैयाँ ४६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५ रुपैयाँ ७१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६३ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रुपैयाँ १० पैसा र बिक्रीदर ४६९ रुपैयाँ ०५ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
समानुपातिकतर्फ ६४ दलको भिडन्त, ५८ निर्वाचन चिन्हसहित बन्दसूची दर्ता
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ५ दर्जन बढी राजनीतिक दलहरू प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन आयोगमा पेश गरिएको बन्द सूचीअनुसार कुल ६४ वटा दलले ५८ वटा निर्वाचन चिन्हमार्फत समानुपातिक प्रणालीमा भाग लिने गरी उम्मेदवार सूची दर्ता गराएका हुन् । यो संख्या अघिल्ला निर्वाचनको तुलनामा धेरै हो । निर्वाचन आयोगका अनुसार २२ वटा राजनीतिक दलले प्रतिनिधि सभाको समानुपातिकतर्फ उपलब्ध सबै सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् । ती दलहरूले समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यसहित महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएका क्षेत्र तथा अन्य समूहलाई समेटेर पूर्ण बन्दसूची पेश गरेका हुन् । आयोगले तोकेको कानुनी मापदण्डअनुसार सूची तयार गरिएको जनाइएको छ । बाँकी दलहरूले भने आफ्नो सांगठनिक क्षमता, प्रभाव क्षेत्र र निर्वाचन रणनीतिअनुसार सीमित संख्यामा बन्दसूची बुझाएका छन् । आयोगका विवरणअनुसार दलहरूले न्यूनतम् १० जनादेखि अधिकतम १०१ जनासम्मका उम्मेदवारको नाम समानुपातिक बन्दसूचीमा समावेश गरेका छन् । केही साना तथा नयाँ दलहरूले सीमित सिट लक्षित गर्दै न्यूनतम् सूची पेश गरेका छन् भने केही मध्यम स्तरका दलहरूले सम्भावित मत प्रतिशतका आधारमा तुलनात्मक रूपमा ठूलो सूची दर्ता गरेका छन् । यसपटकको निर्वाचनमा समानुपातिक प्रणालीलाई दलहरूले संगठन सन्तुलन मिलाउने, आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्ने र विभिन्न समुदायलाई प्रतिनिधित्व गराउने महत्वपूर्ण माध्यमका रूपमा प्रयोग गरेका छन् । बन्दसूचीमा समावेश नामहरूलाई लिएर दलभित्रै बहस र प्रतिस्पर्धा देखिए पनि अन्ततः आयोगमा तोकिएको समय सीमाभित्र सूची पेश गरिएको हो । निर्वाचन आयोगले बन्दसूची दर्तापछि प्रारम्भिक जाँच प्रक्रिया सुरु गरिसकेको छ । आयोगका अधिकारीहरूका अनुसार सूचीमा रहेका उम्मेदवारहरूको योग्यता, समावेशी कोटा मिलान र कानुनी प्रावधानको पालना भए नभएको विषयमा विस्तृत परीक्षण भइरहेको छ । आवश्यक परेमा सच्याउन दलहरूलाई निर्देशन दिइने आयोगले जनाएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार समानुपातिकतर्फ ठूलो संख्यामा दलहरूको सहभागिताले संसदको संरचना थप विविध र बहुरङ्गी बन्न सक्ने संकेत गरेको छ। यद्यपि, मत विभाजन बढ्ने र साना दलहरूबीच प्रतिस्पर्धा चर्किने सम्भावना पनि उत्तिकै रहेको उनीहरूको विश्लेषण छ। निर्वाचन कानुन अनुसार समानुपातिक प्रतिनिधित्व गर्न कुल सदर मतको १.५ प्रतिशत प्राप्त गरि एक स्थानमा प्रत्यक्ष निर्वाचन जितेको दल हुनुपर्छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमार्फत सांसद चयन गरिनेछ । समानुपातिकतर्फ दलहरूले प्राप्त गर्ने सिट संख्या अन्ततः उनीहरूले पाएको कुल मतको आधारमा निर्धारण हुनेछ । निर्वाचन नजिकिदै जाँदा बन्दसूचीमा समेटिएका उम्मेदवारहरू र दलहरूको रणनीतिलाई लिएर राजनीतिक गतिविधि थप सक्रिय बन्दै जाने देखिएको छ ।
मुक्तिनाथ-तेताङ चक्रपथ सडकको भौतिक प्रगति ३९ प्रतिशत
काठमाडौं । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक मार्ग हुँदै माथिल्लो मुस्ताङ जान सकिने गरी मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १, २ र ३ नम्बर वडा जोड्ने (मुक्तिनाथ-तेताङ) चक्रपथ सडक निर्माण जारी छ । चालु आवको पाँच महिनामा सो सडकको भौतिक प्रगति ३९ प्रतिशत पुर्याइएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय गण्डकीअन्तर्गत पूर्वाधार विकास कार्यालयद्वारा मुक्तिनाथ पुराङ हुँदै झोङदेखि तेताङ जोड्ने १० किलोमिटर चक्रपथ सडक योजना कार्यान्वयनमा ल्याइएको हो । मुस्ताङस्थित मुक्तिनाथ-तेताङ जोड्ने ६ मिटर चौडा वैकल्पिक सडकमार्ग विस्तार गर्न ७ करोड १ लाख ५६ हजार रुपैयाँ लागतमा निर्माण कम्पनीले २०८१ साल साउन २९ गते यहाँको पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो । २ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित सडक स्तरोन्नति तथा नयाँ ट्रयाक खोल्न कार्यालयले २०८३ साल साउन २९ गतेसम्म निर्माण कम्पनीलाई समयावधि तोकिएको छ । मुक्तिनाथ-तेताङ जोड्ने सडकको ठेक्का सम्झौता मुताविक १० किलोमिटर सडकमध्ये ६.५ किलोमिटर नयाँ खोल्ने र ३.५ किलोमिटर सडक स्तरोन्नति गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालयका सब इन्जिनियर जगदीश चन्द्र जोशीले जानकारी दिए । उनका अनुसार सडकको नयाँ ट्रयाक खोल्ने कार्य सकिएता पनि गत असोजको वर्षाले आंशिक रूपमा क्षति पुर्याएकाले उक्त स्थानमा सडक मर्मत सम्भार गर्नुपर्ने देखिएको छ । वारागुङ मुक्तिक्षेत्रको वडा १, २, ३ र ४ वडालाई चत्रपथ सडकले जोड्ने गरी मुक्तिनाथ सडक स्तरोन्नति कार्य भइरहेको सब इन्जिनियर जोशीले जानकारी दिए । उनका अनुसार यहाँको मुक्तिनाथ–तेताङ सडक योजनाको ३९ प्रतिशत भौतिक प्रगति हुँदा वित्तीय प्रगति २८.५८ प्रतिशत छ । हालसम्म निर्माण कम्पनीले २ करोड ५६ हजार रुपैयाँ भुक्तानी लगिसकेको छ । प्रादेश सरकारद्वारा अघि बढाइएको मुक्तिनाथ-तेताङ सडक स्तरोन्नति पूरा भएमा माथिल्लो मुस्ताङका स्थानीय नागरिक तथा पर्यटक कागबेनी झरेर खिङ्गा हुँदै मुक्तिनाथ जानु नपर्ने जनाइएको छ । छुसाङदेखि माथिल्लो भेगका नागरिक मुक्तिनाथ जानुपरेमा छुसाङबाट तेताङ हुँदै वैकल्पिक चक्रपथ सडक प्रयोग गरेर मुक्तिनाथ जान सजिलो हुने यसबाट माथिल्लो मुस्ताङबाट मुक्तिनाथ जाने पर्यटक तथा स्थानीय नागरिकहरूका लागि दूरीमा छोटिने बताइएको छ । यो सडक सम्पन्न भएपछि वारागुङ मुक्ति क्षेत्रको छेङ्गुर, झोङ, पुडाक र तेताङ गाउँका स्थानीय नागरिकलाई यातायात आवागमनमा निकै सहज हुनेछ ।
आईपीओको अनुमति पाएपछि पाल्पा सिमेण्टको साधारण सभा स्थगित
काठमाडौं । पाल्पा सिमेण्ट इण्डष्ट्रिज लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । पुस १४ गते बेलाएको साधारण सभा स्थगित भएको कम्पनीले जानकारी दिएको छ । पाल्पा सिमेण्टको आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा गर्न पुस १४ गते सोमबार बोलाइएको थियो । कम्पनीले आईपीओ निष्काशन गर्न पुस ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि साधारण सभा स्थगित गरिएको जनाएको छ । बोर्डले पाल्पा सिमेण्ट इन्डष्ट्रिजलाई ७५ करोड रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरमा ७५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री गर्न अनुमति दिएको हो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को दफा ४९ मा सार्वजनिक निष्काशनका लागि अनुमति प्राप्त गरिसकेको संगठित संस्थाले नयाँ सेयरधनीहरु समेत समावेश नभई साधारणसभा गर्नु नहुने भन्ने कानूनी व्यवस्था बमोजिम अर्को सूचना जारी नगरेसम्म सभा स्थगित गरिएको हो । कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
निर्वाचन आयोगले तोक्यो उम्मेदवारले गर्ने खर्चको सीमा, ३३ लाखसम्म खर्च गर्न पाउने
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरक फरक खर्च सीमा निर्धारण गरेको हो । आयोगका अनुसार काठमाडौंका ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौं क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन् । यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाख रुपैयाँ बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ । त्यस्तै, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख रुपैयाँ बराबर खर्च गर्न पाउनेछन् । आयोगका अनुसार ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख रुपैयाँ, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँ बराबरको खर्च गर्न पाउने गरी सीमा निर्धारण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्नुपर्नेछ । खर्च गर्ने जिम्मेवार अधिकारी तोकी विवरण निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ । उम्मेदवारले तोकेको खर्चको हदभित्र रहेर निर्वाचन खर्च गर्न र प्रतिनिधिसभा सदस्य ऐन बमोजिम निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।
गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदै, आज सार्वजनिक बिदा
काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको जानकारहरू बताउँछन् । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना हुँदैछ । कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेषभूषामा सजिएर सहभागी हुन्छन् । कार्यक्रममा गुरुङ समुदायको परिकार विशेषको प्रदर्शनी गरिनेछ । यस अवसरमा आइतबारदेखि राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव सुरु भएको छ । महोत्सवमा हजारौं सर्वसाधारणको सहभागिता छ ।
पेट्रोलियम पदार्थ आयातबाट मात्रै ३ अर्ब ८० करोड राजस्व सङ्कलन
काठमाडौं । झापाको मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को ५ महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट ३ अर्ब ८० करोड ५८ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले चालु आवको ५ महिनामा ५ किसिमका ७ अर्ब ८४ करोड ४० लाख रुपैयाँ बराबरका ११ हजार २८ किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिए । उनका अनुसार पेट्रोलियम पदार्थले कार्यालयको कुल राजस्व सङ्कलनको ५५.८० प्रतिशत हिस्सा ओगटेको छ । त्यसैगरी, कार्यालयको तथ्याङ्कअनुसार तयारी कपडाबाट ४.१४ प्रतिशत, यातायातका साधन तथा तिनका पार्टपुर्जाबाट ३.६८ प्रतिशत, तरकारीबाट ३.४० प्रतिशत र सिमेन्ट क्लिङ्करबाट ३.३० प्रतिशत राजस्व सङ्कलन भएको छ ।
बालेनलाई साक्षी राखेर रास्वपा र उनेपाबीच ७ बुँदे सहमति, कुलमान उपसभापति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी (उनेपा) र बालेन्द्र शाहबीच एकतासम्बन्धी त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको छ । आज भएको सहमतिअनुसार पार्टीको नेतृत्व संरचनामा केन्द्रीय सभापति रवि लामिछाने र उपसभापति कुलमान घिसिङ हुने छन् । यस्तै, अन्य उपसभापतिमा डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले रहने उल्लेख छ । रास्वपा सभापति रवि लामिछाने र उनेपा अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेको समझदारी पत्रमा बालेन्द्र शाहले साक्षीका रूपमा हस्ताक्षर गरेका छन् । सहमतिमा एकतापछि साविक रास्वपाकै नाम र चुनाव चिन्ह रहने उल्लेख छ । यस्तै, रास्वपाको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न ‘घण्टी’ अन्तर्गत लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गर्ने पनि सहमतिपत्रअनुसार उल्लेख छ । सहमतिपत्रअनुसार दुवै पार्टीले नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध रहँदै सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र समतामूलक शासन स्थापित गर्न आवश्यक भएको स्वीकार गर्दै नयाँ राजनीतिक शक्ति निर्माणका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै, भदौ २३ र २४ को जेनजी आन्दोलनलगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनका सहिद एवं घाइतेको बलिदानलाई प्रेरणा स्रोतको रूपमा लिइएको छ । नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको मर्म आत्मसात गर्दै घाइते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने पनि प्रतिबद्धता जनाइएको छ । सहमतिपत्रमा भनिएको छ, ‘उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, योग्यता प्रणालीको स्थापना, भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासनप्रति प्रतिबद्ध रहँदै समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनुपर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनागत सुधारमार्फत आर्थिक, सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने ।’ उज्यालो नेपाल पार्टीका अभियान र युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई एकतापछि पार्टी संरचनामा समायोजन गरी जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार बनाउने पनि उल्लेख गरिएको छ ।