विकासन्युज

संविधान संशोधनका लागि नागरिकबाट ४४ हजार बढी सुझाव

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट ४४ हजार ६१३ सुझाव प्राप्त गरेको छ । कार्यदलको सचिवालयले यही जेठ ८ गते एक सूचना जारी गर्दै संविधानमा गर्नुपर्ने आवश्यक सुधार तथा संशोधनका विषयमा इच्छुक नेपाली नागरिकबाट लिखित सुझाव माग गरेको थियो । सोही सूचनाअनुसार नागरिकले लिखित सुझाव दिएका हुन् । कार्यदलका सदस्यसचिव लिलाधर सुवेदीले १९ हजार २३९ इमेलमार्फत र २५ हजार ३७४ सुझाव सामाजिक सञ्जाल ह्वट्सएपमार्फत प्राप्त भएका जानकारी दिए । कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्न गर्ने उद्देश्यले लिखित रूपमा सुझावका लागि आह्वान गरेको थियो । कार्यकारी राष्ट्रपति, सङ्घीयताको पुनरावलोकन, संवैधानिक निकायको पुनःसंरचना र पुनरावलोकन, निर्वाचन प्रणालीमा सुधार, न्यायपालिकाको सुधारका लागि प्रतिस्पर्धाबाट न्यायाधीशको नियुक्ति, जनप्रतिनिधिको योग्यता तोक्नुपर्नेलगायत विषयमा नागरिकबाट सुझाव प्राप्त भएका सदस्यसचिव सुवेदीले जानकारी दिए । उनका अनुसार कार्यदलले प्राप्त सुझावहरू अध्ययन गरिरहेको छ । 

न्यायालयप्रतिको जनआस्था जगाउन प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्यायसम्पादनमा इमान्दारपूर्वक लाग्न २१ बुँदे निर्देशन दिएका छन्  । आम नागरिकले न्यायपालिकाबाट स्वच्छ, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय र प्रभावकारी न्यायसम्पादन तथा सुशासनयुक्त न्याय प्रशासनको अपेक्षा राखेकाले न्यायालयप्रतिको जनआस्था कायम राख्न समर्पणभाव, जिम्मेवारीबोध, लगनशीलता र इमान्दारिताका साथ कार्य गर्न उनले निर्देशन दिएका हुन् ।  प्रधानन्यायाधीश शर्माले वर्तमान समयमा जनताको चाहनाअनुसार राज्यका सबै निकायले सुशासन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाहलाई छिटो, सहज तथा प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए । न्यायपालिकाले तयार गरेको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना तथा गत वर्ष भदौ २३ र २४ गतेको घटनापछि तयार गरिएको सङ्कट व्यवस्थापन कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमार्फत न्यायपालिकाप्रति जनताको विश्वास र आस्था कायम राख्नुपर्ने उनको जोड छ । निर्देशनमा रणनीतिक योजना र कार्ययोजनालाई सुधारको आधार बनाउने, बक्यौता मुद्दा न्यूनीकरण गर्ने, मुद्दा प्रवाह व्यवस्थापन प्रभावकारी बनाउने, पेशी, कजलिस्ट तथा इजलास व्यवस्थापन सुधार गर्ने, विकृति, विसङ्गति र अनियमितताप्रति शून्य सहनशीलता अपनाउने तथा सुशासनसम्बन्धी प्रतिवेदन प्रणालीलाई सुदृढ बनाउन भनिएको छ । गुनासो सुनुवाइका प्रभावकारी संयन्त्र सञ्चालन गर्ने, नागरिक बडापत्र, सूचना कक्ष तथा सेवाग्राहीमैत्री व्यवहारलाई प्रभावकारी बनाउने, म्याद तामेली व्यवस्थित गर्ने, सूचना प्रविधिको प्रयोग बढाउने, अनलाइन बहस, ‘भिडियो कन्फरेन्सिङ’ तथा ‘लाइभ स्ट्रिमिङ’को उपयोग विस्तार गर्ने, स्वचालित पेशी-तारेख प्रणाली र पारदर्शितालाई संस्थागत गर्ने तथा फैसला लेखन र कार्यान्वयनलाई तीव्रता दिन निर्देशन दिइएको छ । प्रधानन्यायाधीश शर्माले पीडितमैत्री न्याय र क्षतिपूर्तिसहितको न्याय सुनिश्चित गर्ने, मेलमिलाप तथा विवाद समाधानका वैकल्पिक उपायलाई प्रभावकारी बनाउने, न्यायमा पहुँच अभिवृद्धि गर्ने, बयान, बकपत्र र प्रमाण परीक्षणमा न्यायाधीशको निगरानी सुनिश्चित गर्ने, वित्तीय अनुशासन कायम गर्ने, बजेटको प्राथमिकताका आधारमा पारदर्शी खर्च सुनिश्चित गर्ने तथा न्यायाधीश र कर्मचारीको आचरण, उपस्थिति, सुरक्षा र जनआस्था अभिवृद्धिमा विशेष ध्यान दिन निर्देशन दिए ।

३३ एसएसपीको सरुवा, काठमाडौंमा घिमिरे र ललितपुरमा कार्की

काठमाडौं । नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाका अनुसार नियमित प्रक्रियाअन्तर्गत उनीहरूको सरुवा गरिएको हो । सरुवा सूचीअनुसार उपत्यकाका दुई महत्त्वपूर्ण जिल्लाका प्रहरी परिसरमा नयाँ कमाण्डर पठाइएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंमा एसएसपी दिलिप घिमिरेको सरुवा भएको छ । उनी यसअघि प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग वृत्ति विकास महाशाखामा कार्यरत थिए । त्यस्तै, जिल्ला प्रहरी परिसर, ललितपुरको कमाण्ड एसएसपी तुलबहादुर कार्कीले पाएका छन् । उनी यसअघि गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पोखरामा कार्यरत थिए । अन्य सरुवा भएका एसएसपीहरूलाई पनि देशका विभिन्न प्रदेश, ब्यूरो, तालिम केन्द्र र प्रधान कार्यालयका विभिन्न महाशाखाहरूमा जिम्मेवारी तोकिएको मानव स्रोत विकास विभागले जनाएको छ ।  

खैरो हेरोइनसहित ११ जना पक्राउ

काठमाडौं । काठमाडौंमा प्रहरीको साताव्यापी अपराधी खोजतलास अभियानबाट लागुऔषध खैरो हेरोइनसहित ११ जनालाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले काठमाडौँका विभिन्न स्थानमा यही जेठ १२ गतेदेखि १७ गतेसम्म गरिएको खोजी अभियानका क्रममा ११ जनालाई पक्राउ गरिएको जानकारी दिए । जिल्लाका विभिन्न स्थानबाट लागुऔषध कारोबारमा संलग्न र सक्रिय रहेको भन्ने सूचनाका आधारमा ब्यूरोले टोली खटाएको थियो । सो क्रममा निजहरूबाट १०१ ग्राम लागुऔषध बरामद भएकाले सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । ब्यूरोले आज सार्वजनिक गरेको विवरण अनुसार पक्राउ पर्नेमा कैलाली, घोडाघोडी बस्ने ३२ वर्षीय दीपाकुमारी विष्ट, महोत्तरी, एकडरा-४ का २६ वर्षीय अमरकुमार साह, चितवन, भरतपुर महानगरपालिका-१७ का ३६ वर्षीय सुनिल लामा, इलाम, चुलाचुली गाउँपालिका-४ का ३५ वर्षीया सङ्गिता बास्कोटा, काठमाडौं महानगरपालिका-२६ का ३७ वर्षीय प्रशान्त राना मगर र नुवाकोट, शिवपुरी गाउँपालिका-२ का ३३ वर्षीय पेम्बा लामा रहेका रेग्मीले जानकारी दिए । उनका अनुसार चितवन, भरतपुर महानगरपालिका-७ का ३८ वर्षीय जीवनकुमार लामा, नवलपरासी (पूर्व), कावासोती नगरपालिका-२ का २९ वर्षीय सरोज गुरुङ, भारतको दरभङ्गा जिल्ला, फिर्मा पञ्चायत, कचुवा-२ ठेगाना भएका २६ वर्षीय आकाश सिंह, सुनसरीको धरान उपमहानगरपालिका-१७ की २० वर्षीया जिया राई र मकवानपुर, थाहा नगरपालिका-९ ठेगाना भएकी २० वर्षीया स्वस्तिका तामाङलाई पनि पक्राउ गरिएको छ । निजहरूमध्ये सुनिल लामा र सङ्गिता बास्कोटा लागुऔषध मुद्दामा केन्द्रीय कारागार सुन्धारामा थुनामा रहेको अवस्थामा भाद्र २३ र २४ गतेको आन्दोलनमा फरार रहेका रेग्मीले उल्लेख गरे । 

नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छः सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालले विश्वका जुनसुकै देशमा छरिएर रहेका भए पनि नेपाली मूलका मानिसलाई नेपालले फरक एवं फराकिलो ढङ्गले समेट्नुपर्ने बताएका छन् ।  नेपाली मूलका नागरिकको छाता संस्था एसोसिएशन अफ नेपाली ओरिजिन (एएनओ) को प्रतिनिधिमण्डलसँग सोमबार (आज) सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा भेट्दै सभामुख अर्यालले नेपाली मूलका मानिसलाई सम्बोधन गर्नेगरी नेपालको राष्ट्रिय हित अनुकूलको कानुन बनाएर अघि बढ्नुपर्ने जानकारी दिए । भेटका अवसरमा एएनओका उपाध्यक्ष एवं वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले जतिसुकै पुस्ता भए पनि नेपाली मूलका मानिसलाई सांस्कृतिक रूपमा नेपालसँग जोड्ने र जहाँ बसे पनि नेपालीपनको संरक्षण गर्न सक्ने वातावरण बनाउन एएनओ क्रियाशील रहेको बताए।  हाल छलफलमा रहेको गैरआवासीय नेपालीसम्बन्धी ऐनको मस्यौदामा उल्लिखित नेपाली उत्पत्तिका व्यक्तिको परिभाषालगायत विषयमा आफ्नो संस्थाका तर्फबाट पेस गरिएका सुझावलाई समेट्न उनले माग गरे ।  त्यसअवसरमा प्रतिनिधिमण्डलले एएनओका तर्फबाट तयार पारिएको स्मरणपत्र सभामुख अर्याललाई पनि हस्तान्तरण गरेको थियो ।  स्मरणपत्रमा ऐनको मस्यौदामा भएका कतिपय बुँदा असान्दर्भिक, अव्यावहारिक र पुस्तौंदेखि विदेशमा रहेका नेपालीलाई नेपालसँग जोड्न अपर्याप्त रहेको भन्दै यस्ता प्रावधानहरु खारेज गर्न माग गरिएको छ ।  आजै सो प्रतिनिधिमण्डलले परराष्ट्र सचिव अमृत राईसँग पनि भेट गरी उक्त ऐनमा समेट्नका लागि एएनओका तर्फबाट तयार गरिएको सुझावपत्र प्रस्तुतथ गरेको थियो ।

लागूऔषधसहित ४ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित कैलाली र मोरङबाट चार जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरीका अनुसार कैलाली, टीकापुर नगरपालिका-९ सुनफाँटाबाट खैरो हेरोइनसहित दुई जनालाई आज दिउँसो पक्राउ गरिएको हो ।   यसैगरी, मोरङको रङ्गेली नगरपालिका-४ चोप्राहबाट खैरो हेरोइनसहित दुई जनालाई आजै पक्राउ गरिएको छ । अभियुक्तहरूले भारतबाट खैरो हेरोइन ल्याएका थिए ।  मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिएर कारबाही थालिएको जनाइएको छ ।  

वेस्ट सेती ४०० केभी प्रसारण लाइन निर्माणमा पीपीपी मोडेल

काठमाडौं । पश्चिम नेपालमा निर्माण हुने ठूला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडेलमा वेस्ट सेती ४०० केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ । आयोजनाको कार्यान्वयनका लागि ‘वेस्ट सेती ट्रान्समिसन लिमिटेड’ नामक विशेष प्रयोजन कम्पनी (एसपीभी) स्थापना गरिएको छ । करिब २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना ३० प्रतिशत इक्विटी र ७० प्रतिशत ऋण लगानीमा निर्माण गरिनेछ ।  राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल) को सञ्चालक समितिले लगानी संरचना स्वीकृत गरेसँगै कम्पनी दर्ता प्रक्रिया पूरा भएको हो । सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले कम्पनीका संस्थापक साझेदारहरूलाई सम्बोधन गर्दै ऊर्जा उत्पादनमा निजी क्षेत्रले पु¥याउँदै आएको योगदान अब प्रसारण पूर्वाधार विकासमा समेत विस्तार भएको बताए ।  उनले प्रसारण लाइनलाई ऊर्जा क्षेत्रको ‘लाइफ लाइन’को संज्ञा दिँदै यस्तो साझेदारीले ऊर्जा क्षेत्रमा नयाँ युगको सुरुआत गर्ने विश्वास व्यक्त गरे । ‘सहभागितामूलक विकास लोकतन्त्रको अभ्यास पनि हो । प्रसारण लाइनमा निजी क्षेत्रसँगको सहकार्य नेपालका लागि नयाँ अभ्यास भएकाले सरकारले यसलाई प्रोत्साहन गर्नेछ,’ मन्त्री श्रेष्ठले भने । विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) सम्बन्धी समीक्षा प्रक्रिया जारी रहेको जानकारी दिँदै उनले प्राप्त प्रतिवेदनका आधारमा आवश्यक निर्णय गरिने बताए । ऊर्जा क्षेत्रमा दिगो र विश्वसनीय आपूर्ति सुनिश्चित भए मुलुकको अर्थतन्त्रले नयाँ गति लिने र सुदूरपश्चिमको आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो ।  आयोजनाको सफल कार्यान्वयनका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री श्रेष्ठले समस्या समाधान गर्न सरकार तयार रहेको बताए । ‘निजी क्षेत्रले जोखिम मोलेर अघि बढेको छ । आयोजना सफलतापूर्वक सम्पन्न गर्न सरकार आफुनो जिम्मेवारीबाट पछि हट्दैन,’ उनले भने । आरपीजीसीएलका प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठले जग्गा प्राप्ति, ‘राइट अफ वे’ तथा वन क्षेत्रको स्वीकृतिपछि निर्माण कार्य तीव्र रूपमा अघि बढाइने जानकारी दिए । यसका लागि आवश्यक तयारी सुरु भइसकेको उनले बताए । कम्पनीका साझेदार समृद्धि इनर्जी लिमिटेडका अध्यक्ष शैलेन्द्र गुरागाईंले आयोजनालाई ऊर्जा क्षेत्रको ‘गेम चेन्जर’ परियोजनाको संज्ञा दिँदै दीर्घकालीन महत्वका कारण निजी क्षेत्र लगानी गर्न उत्साहित भएको बताए । त्यस्तै, नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले रणनीतिक दृष्टिले पनि आयोजना अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । कम्पनीको सेयर संरचनाअनुसार सरकारी पक्षको ५१ प्रतिशत स्वामित्व रहनेछ । यसअन्तर्गत आरपीजीसीएलको २६ प्रतिशत, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको १२.५ प्रतिशत र चैनपुर सेती हाइड्रोपावर कम्पनी लिमिटेडको १२.५ प्रतिशत लगानी रहनेछ । निजी क्षेत्रतर्फ समृद्धि इनर्जी लिमिटेडको २५.१ प्रतिशत, ङादी ग्रुप पावर लिमिटेडको ७ प्रतिशत र स्युरी ङादी पावर लिमिटेडको ६.९ प्रतिशत सेयर रहनेछ । बाँकी १० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।  बझाङको जयपृथ्वी नगरपालिका-१ स्थित चैनपुर सबस्टेसनदेखि डोटीको बनलेक हुँदै कैलालीको बर्दगोरिया गाउँपालिका-२ स्थित दोधोधरा सबस्टेसनसम्म करिब १४५ किलोमिटर लम्बाइको ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ । आयोजनाअन्तर्गत चैनपुरमा १६० एमभीए र बनलेकमा ३१५ एमभीए क्षमताका सबस्टेसन निर्माण गरिने छन् । आयोजनाका लागि आवश्यक जग्गा प्राप्ति तथा प्रारम्भिक सर्वेक्षण सम्पन्न भइसकेको छ भने निर्माण अवधि पाँच वर्ष निर्धारण गरिएको छ । यो प्रसारण लाइनमार्फत ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना, ४५० मेगावाटको सेती नदी–६ आयोजना, १७० मेगावाटको अपर सेती आयोजना लगायत सेती नदी प्रणाली तथा यसका सहायक नदीहरूमा निर्माण हुने विभिन्न आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिनेछ । करिब २ हजार ५०० मेगावाटसम्म विद्युत् निकासी क्षमता विकास गर्ने लक्ष्य राखिएको यस आयोजनाले राष्ट्रिय विद्युत् प्रणालीको विश्वसनीयता बढाउनुका साथै सीमापार विद्युत् व्यापार, ऊर्जा सुरक्षा र दीर्घकालीन ऊर्जा विकास रणनीतिलाई समेत सुदृढ बनाउने अपेक्षा गरिएको छ ।  नेपालमा सार्वजनिक-निजी साझेदारी मोडेलमा विकास हुन लागेको प्रमुख प्रसारण पूर्वाधारमध्ये एक मानिएको यो आयोजना ४०० केभी तहको प्रसारण लाइन क्षेत्रमा महत्वपूर्ण कोसेढुंगा सावित हुने विश्वास गरिएको छ ।  वेस्ट सेती ट्रान्समिसन लिमिटेड २०८३ जेठ १३ गते औपचारिक रूपमा दर्ता भइसकेको छ भने आवश्यक नियामकीय स्वीकृतिपछि निर्माण प्रक्रिया अघि बढाइने जनाइएको छ ।

अग्रवालको डेरामा ५ लाख भारूसहित करिब एक किलो सुन बरामद

काठमाडौं । सुर्खेतको एक पसलबाट प्रहरीले ठुलो परिमाणमा सुनका गहना र भारतीय रुपैयाँ फेला परेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर-६ स्थित श्याम सुन्दर अग्रवालको कपडा पसलमा प्रहरीले छापा मारेर सुनका गहना र करिब सात लाख भारु बरामद गरेको छ । अग्रवालले सुनका गहना धितो राखेर ब्याजमा ऋण लगाउने गरेको कर्णाली प्रदेश प्रहरीका प्रवक्ता एसएसपी रामप्रकाश शाहले जानकारी दिए ।  उनका अनुसार कोठाबाट करिब एक किलो सुनका गहना छन् । उनले भारत जाने भारतीय तथा नेपालीलाई भारू साटेर दिन गरेका थिए ।  गहना धितोमा राखेर पैसा दिने गरेको पाइएको शाहले उल्लेख गरे । डेरामा छापा मार्दा विभिन्न खालका गहनासहित भारू रकम बरामद गरिएको उनले प्रस्ट पारे ।