विकासन्युज

सामान्य बिरामीलाई आकस्मिक सेवा दिए दाबी भुक्तानी हुँदैन: स्वास्थ्य बीमा बोर्ड

काठमाडाैं । स्वास्थ्य बीमा बोर्डले निजी सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई आकस्मिक स्वास्थ्य सेवासम्बन्धी प्रावधान कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। बोर्डले जारी गरेको पत्रअनुसार आकस्मिक उपचार आवश्यक पर्ने अवस्थामा मात्र बिरामीलाई आकस्मिक स्वास्थ्य सेवा दिनुपर्ने स्पष्ट गरिएको छ । त्यस्ता बिरामीको उपचारका क्रममा आवश्यक परेमा भर्ना वा शल्यक्रिया समेत उपचार पद्धति अनुसार गर्न सकिने व्यवस्था रहेको छ । तर सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवाका रूपमा उपचार गरी दाबी पेश गरिएमा त्यस्ता दाबीको भुक्तानी नहुने बोर्डले जनाएको छ । साथै, यस्ता कार्य प्रचलित कानुनअनुसार अघि बढाइने पनि स्पष्ट पारिएको छ । बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवन कुमार साहका अनुसार उक्त व्यवस्था स्वास्थ्य बीमा प्रणालीको दुरुपयोग रोक्न तथा सेवा प्रवाहलाई व्यवस्थित बनाउन लागू गरिएको हो । साथै, सेवाग्राहीहरूलाई आवश्यक उपचार सेवाका लागि तोकिएको प्रक्रिया पालना गर्न तथा सेवा प्रदायक संस्था र स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब नदिन आग्रह गरिएको छ ।

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पक्राउ गरेको छ। जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पर्साको ठोरी क्षेत्रबाट आइतबार बिहान सवा ६ बजे सिंहलाई पक्राउ गरिएको हो । जिल्ला अदालत पर्साले जेठ १२ गते नै उनीसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा अदालतले उक्त आदेश जारी गरेको बताइएको छ । पक्राउ परेका मेयर सिंहलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान तथा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

लालीबजारको कमाइ ८ करोड, यी चलचित्र भए फ्लप

काठमाडौं । यस वर्ष २०८३ सालमा हालसम्म प्रदर्शन भएका चलचित्रमध्ये सबैभन्दा बढी कमाई चलचित्र ‘लालीबजार’ले  गरेको छ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत जेठ १६ गते शनिबारसम्म उक्त चलचित्रले ८ करोड रुपैयाँ हाराहारीको कमाइ गरेको छ । बोर्डअन्तर्गतको ‘सिनेपा-२ बक्सअफिस’ मा उल्लेख भए अनुसार गत शनिबारसम्म चलचित्र ‘लालीबजार’ ले ७ करोड ९० लाख ३१ हजार ४७६ रुपैयाँ कमाई गरेको छ । अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ को सोही अवधिमा कूल १ लाख ९६ हजार ४०६ टिकट बिक्री भएका छन् । गत वैशाख २५ गतेदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त चलचित्रले घरेलु बजारमा पाएको सफलताले चलचित्रसँग जोडिएको सम्पूर्ण सदस्यलाई उत्साहित बनाएको अभिनेता रवीन्द्रसिंह बानियाले बताए । उनले भने, ‘हामीले दर्शकबाट पाएको मायाले मेहनतको फल पाएको आभाष भएको छ । यसपटक हामीले सामाजिक दायित्वका रुपमा मनोरञ्जनसँगै शिक्षाको ज्योतिले समाज र व्यक्तिमा पार्ने प्रभावलाई देखाएका थियौँ, जसलाई दर्शकले रुचाउनुभयो । यो चलचित्रले शिक्षा नभई जीवन उज्यालो हुन सक्दैन भन्ने सन्देश प्रवाह गर्छ ।’ उनका अनुसार नेपालभर नै विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई दर्शकले मुक्तकण्ठले तारिफ गरेका छन् । उक्त चलचित्रमा अभिनेता बानियाँसँगै समाइरा थापा, मुकुन्द कुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रशंसा सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ ।  यस्तै, गत वैशाख ११ गते प्रदर्शन भएको चलचित्र ‘परालको आगो’ ले ४ करोड २७ लाख ८४ हजार ४४५ रुपैयाँ कमाई गरेको छ । सुशील पोखरेलले निर्माण गरेको उक्त चलचित्रका लागी कुल १ लाख ५४ हजार ३४ टिकट बिक्री भएका छन् । लक्ष्मण सुनारको निर्देशनमा तयार भएको उक्त चलचित्रमा प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारीलगायत कलाकारले अभिनय गरेका छन् । यस्तै, गत २५ वैशाखदेखि नै प्रदर्शनरत नेपाली चलचित्र ‘मालती मङ्गले’ ले ५१ लाख ७३ हजार ७९३ रुपैयाँ कमाई गरेको छ । उक्त चलचित्रका लागि कुल १६ हजार १८८ टिकट बिक्री भएका छन् । गायक रामकृष्ण ढकालले निर्माण गरेको उक्त चलचित्रमा वर्षा राउत, विजय बराल, मेक्सम गौडेल लगायत कलाकारले अभिनय गरेका छन् । प्रकु पाण्डेयले निर्देशन गरेकाे उक्त चलचित्रले घरेलु बजारमा राम्रो कमाइ गर्न सकेको छैन ।  गत वैशाख २५ मै प्रदर्शन भएको चलचित्र ‘गुरु आमा’ ले २९ लाख ४२ हजार ५७६ रुपैयाँ कमाई गरेको छ । उक्त चलचित्रका लागि कुल नौ हजार ३२७ टिकट बिक्री भएका छन् । प्रेम सोनी सुनारले निर्देशन गरेको उक्त चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टीका सानु, सुष्मा थापा, सुशील पोखरेल, ध्रुव कोइराला, उत्तम केसी, गिरी बहादुर पुनलगायत कलाकारले अभिनय गरेका छन् । यस्तै, गत जेठ १ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘एक मुठ्ठी बादल’ ले ५ लाख २१ हजार ८२५ रुपैयाँ कमाई गरेको छ । सहारा शर्माले निर्देशन गरेको उक्त चलचित्रका लागि कूल १ हजार ५०५ टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा अभिनेत्री आँचल शर्मा, सहयोग अधिकारी, उषा रजक, निशा शर्मा लगायतले अभिनय गरेका छन् ।  गत जेठ १ मै प्रदर्शन भएको चलचित्र ‘लाइफ ड्यामेज’ ले ३३ लाख २६ हजार ३२० रुपैयाँ कमाई गरेको छ । निमेष श्रेष्ठले निर्देशन गरेको उक्त चलचित्रका लागि कुल १० हजार ८५५ टिकट बिक्री भएका छन् । ‘फेन्टासी कमेडी ड्रामा’मा निर्माण गरिएको उक्त चलचित्रमा सुरक्षा पन्त, निमेष श्रेष्ठ, ईशा थापा, सन्जना महर्जन, अमोघ अर्याल, अनिश जङ्ग थापा, अजय पन्त, सविन बास्तोला र निरु खड्कालगायत कलाकारले अभिनय गरेका छन् ।  यस्तै, गत जेठ ८ मा प्रदर्शन भएका दुई चलचित्र ‘काजी’ र ‘मित ज्यू’ ले दर्शकको राम्रो साथ पाएको छैन । यी दुई चलचित्रले पहिलो साता सुखद व्यापार गर्न सकेको छैन । अभिनेत्री विपिन कार्की, अभिनेत्री केकी अधिकारी, गरिमा शर्माले अभिनय गरेको चलचित्र ‘काजी’ ले ४० लाख ८८ हजार १७५ रुपैयाँ कमाएको छ । लक्ष्मण रिजालले निर्देशन गरेको उक्त चलचित्रका लागि कुल १३ हजार ७ वटा टिकट बिक्री भएका छन् । रामप्रसाद रिजालले निर्माण गरेको उक्त चलचित्रमा ग्रामीण भेगको प्रेमकथा देखाइएको थियो । गत जेठ ८ मै प्रदर्शन भएको चलचित्र ‘मितज्यू’ ले सोही अवधिमा १ करोड २० लाख ५९ हजार ८२ रुपैयाँ कमाई गरेको छ । अनिल बुढा मगरको निर्देशनमा तयार भएको उक्त चलचित्रका लागि कुल ४१ हजार २४८ टिकट बिक्री भएका छन् ।  जनक घर्तीमगरले निर्माण गरेको उक्त चलचित्रमा अभिनेता सौगात मल्ल, दयाहाङ राई, टेरिया फौजा मगरलगायत कलाकारले अभिनय गरेका छन् । बोर्डअन्तर्गतको ‘सिनेपा २ बक्सअफिस’ मा रहेको सार्वजनिक तथ्याङ्कअनुसार यस वर्ष जेठ मध्यसम्म प्रदर्शन भएका चलचित्रमा घरेलु बजारमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र ‘लालीबजार’ देखिएको छ । चलचित्र विकास बोर्डले प्रत्येक सोमबार नेपाली चलचित्रले गरेको कमाइको विवरण आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेको छ । 

पर्वतमा ५ सय मिटर तल खस्यो जिप, वडा सदस्यको निधन

काठमाडौं । पर्वत जिल्लाको कुश्मा नगरपालिका-१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिप सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आर्थरडाँडाखर्कस्थित वडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको ग१ज ५८६५ नम्बरको जिप अँधेरीनेटा भन्ने स्थानमा दुर्घटना हुँदा वडासदस्य ५२ वर्षीय केशवराज पौडेलको निधन भएको हो ।  टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई उपचारको लागि पोखरा लगिएकामा चिकित्सकले  मृत घोषणा गरेका थिए । दुर्घटनामा जिप चालक सोही वडाकै २७ वर्षीय बुद्धिसागर पौडेल र ४६ वर्षीय राजेन्द्र पौडेल घाइते भएका छन् । दुवै जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

काभ्रेमा ४७९ बस्ती जोखिममा, स्थानान्तरण नगरी निगरानीमा राखिने

काठमाडौं । मनसुनजन्य विपद्का कारण  काभ्रेपलाञ्चोकको १३ स्थानीय तहका ४७९ बस्ती उच्च जोखिममा रहेका छन् । सोमबार जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा जोखिममा रहेको बस्तीको विवरण सार्वजनिक गरिएको हो । बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले स्थानीय तहगत रुपमा बस्तीको जोखिमयुक्त प्रतिवेदन पेस गरेका थिए । गुरागाईंद्वारा प्रस्तुत तथ्यांकअनुसार ४७९ बस्ती उच्च जोखिममा रहेका, २०९ बस्ती खुला स्थानमा रहेका छन् । १९२ बस्ती सुरक्षित स्थानमा रहेका र ८१ बस्तीमा उद्धारका लागि हेलिप्याडको समेत व्यवस्था गरिएको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले उच्च जोखिममा रहेका बस्तीलाई तत्काल स्थानान्तरण गर्न नसकिने बताए । उनले भने, ‘हालको अवस्थामा स्थानान्तरण गर्न सकिँदैन, ती बस्तीलाई निगरानीमा राखेर विपद्ले क्षति पुर्‍याए, स्थानीय सुरक्षाकर्मीद्वारा ‘क्वीक रेस्पोन्स’ गर्नसम्म सकिन्छ ।’ उनका अनुसार जिल्लामा आवश्यक उद्धार सामग्री पर्याप्त छैन । बैठकमा स्थानीय तहलाई युवा लक्षित विपद् प्रतिकार्यको तालिम दिन तथा विपद्पछि राहत उद्धारका लागि सकेसम्म आवश्यक सामग्री खरिद गरी तयारी अवस्थामा रहन अनुरोध गरिएको छ । समितिले स्थानीय तहका विपद् व्यवस्थापन समिति तथा जनप्रतिनिधि र सुरक्षाकर्मीको तथ्यांकका आधारमा उक्त जनसंख्या यस वर्षको मनसुनजन्य विपद्बाट प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको हो । ‘विशेषगरी यस वर्षको बाढीपहिरोले जिल्लाका रोसी, सुनकोशी, इन्द्रावती, पुण्यमाता, झिकुखोला, दाप्चा खोलालगायत तटीय क्षेत्र आसपास बसोबास गर्ने नागरिक प्रभावित हुने अनुमान गरिएको छ, यसबाट सतर्कता अपनाउन आग्रह पनि गर्दै आएका छौं,’ समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी अधिकारीले भने । उनका अनुसार काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तह बाढी पहिरोको उच्च जोखिममा छन् । समितिलाई स्थानीय तहद्वारा प्राप्त तथ्यांकअनुसार जिल्लामा सबैभन्दा बढी बेथानचोक गाउँपालिकामा करिब १०० बस्ती र सबैभन्दा कम चौँरी देउराली गाउँपालिकामा पाँच बस्ती उच्च जोखिममा छन् । यस्तै, धुलिखेल नगरमा २५, बनेपा र नमोबुद्ध नगरमा ५०/५०, पाँचखाल नगरमा ८३, पनौती नगरमा १५, मण्डनदेउपुर नगरमा १५ तथा तेमाल गाउँपालिकामा ३५, रोशी गाउँपालिकामा १२, भुम्लु गाउँपालिकामा ४०, खानीखोला गाउँपालिकामा ३० र महाभारत गाउँपालिकामा १९ परिवार विपद्को जोखिममा रहेका छन् । विसं २०८१ असोज १०, ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण काभ्रेपलाञ्चोकमा ७८ जनाको मृत्यु भएको थियो भने ६ जना बेपत्तामा सूचीकृत भएका छन् । कार्यालयका अनुसार उक्त घटनामा ७५ जना घाइते भएका थिए । बाढी पहिरोमा मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरका १७ जना थिए । त्यतिबेला काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पाँचखाल, खानीखोला र महाभारतमा भने मानवीय क्षति हुन पाएन । काभ्रेपलाञ्चोकमा बाढीपहिरोमा परी ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको थियो । यीमध्ये २१ विद्यार्थी थिए ।

बुटवल-नारायणगढ सडकमा यात्रा सहज बन्दै, धुलो र जाम घट्दै

काठमाडौं । वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्तताको समस्या झेल्दै आएको बुटवल-नारायणगढ सडक खण्डमा सवारी आवागमन अब सहज बन्दै गएको छ । सडक विस्तारअन्तर्गत ढलान तथा स्तरोन्नतिको अधिकांश काम सम्पन्न भएसँगै यात्रुले राहत महसुस गर्न थालेका छन् । निर्माणाधीन सडकका प्रमुख भागमा ढलानको काम लगभग सकिएको र सवारीसाधन सञ्चालनका लागि सडकको अवस्था सुधार भएकाले यात्रा अवधि छोटिएको छ । यसअघि घण्टौँसम्म जाममा बस्नुपर्ने अवस्था रहेकामा बुटवल-नारायणगढ यात्रा तुलनात्मक रूपमा सहज र छिटो भएको यात्रुले बताएका छन् । सडक विस्तार आयोजनाका अनुसार अधिकांश क्षेत्रमा ढलान तथा कालोपत्र सम्पन्न भइसकेको छ भने बाँकी काम अन्तिम चरणमा पुगेको छ । निर्माण कार्यले गति लिएसँगै सडकमा सवारीसाधनको चाप व्यवस्थापन हुन थालेको र आवागमनमा सुधार देखिएको छ । वि.सं. २०७५ देखि विस्तारको काम सुरु भएको यस सडक खण्डमा निर्माण ढिलाइका कारण यात्रुले लामो समय सास्ती भोग्नुपरेको थियो । तर हाल काम सम्पन्नतर्फ उन्मुख भएपछि यात्रु, व्यवसायी तथा यातायात व्यवसायीले राहत महसुस गरेका छन् । आयोजना पूरा भएपछि बुटवल-नारायणगढ सडक खण्डमा यात्रा अझ सुरक्षित, सहज र समय बचत हुने अपेक्षा गरिएको छ ।

२० करोडको लगानीले फेरियो नगरकोटको मुहार

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका-६ स्थित पर्यटकीय गन्तव्य नगरकोट यतिबेला तीनै तहका सरकारको लगानीले तीव्र रूपमा विकास हुँदै गएको छ । सडक, खानेपानी, स्वास्थ्य, शिक्षा तथा पर्यटन पूर्वाधारमा भएको लगानीले नगरकोटको मुहार फेरिँदै गएको स्थानीयवासी बताउँछन् । विगत एक दशकदेखि जीर्ण बनेको भक्तपुर-नगरकोट सडकले नगरकोटको पर्यटन क्षेत्रमा नकारात्मक असर पारेको थियो । तर चाँगुनारायण नगरपालिकाले सडक कालोपत्र गरेपछि र संघ, प्रदेश तथा स्थानीय सरकारको वार्षिक २० करोड रुपैयाँभन्दा बढी लगानीले नगरकोटको विकासले गति लिएको छ । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा वडा कार्यालय परिसरमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा बासिन्दाले नगरकोटको विकासप्रति सन्तुष्टि व्यक्त गरे । कार्यक्रममा चाँगुनारायण नगरपालिका-६ का वडाध्यक्ष धनबहादुर लामाले पछिल्लो चार वर्षमा नगरकोटले उल्लेखनीय परिवर्तन हासिल गरेको बताए ।  उनले भने, ‘ठेकेदारले अलपत्र पारेको भक्तपुर-नगरकोट सडक नगरपालिकाले कालोपत्र गर्यो। नगरकोट भ्रमण वर्ष २०८२ सञ्चालन गरियो । चाँगुनारायण नगरपालिकासँगै काभ्रेको मण्डनदेउपुर, बनेपा तथा काठमाडौंको शङ्खरापुर नगरपालिकाले पनि नगरकोट जोड्ने सडक स्तरोन्नति र कालोपत्र गरेपछि पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ ।’ उनका अनुसार नगरकोटमा खानेपानी ट्याङ्की निर्माण गरी घरघरमा धारा विस्तार गरिएको छ । साथै बतासेडाँडामा बुद्ध मूर्ति तथा विभिन्न शालिक स्थापना, पर्यटकीय संरचना निर्माण, बसपार्कदेखि होटलसम्म पुग्ने सडक स्तरोन्नति, स्वास्थ्य र शिक्षामा पहुँच विस्तार, सरसफाइ अभियान, शुक्रबारे हाटबजार सञ्चालन तथा पर्यटक सुरक्षालगायतका कार्यक्रमले विकासलाई गति दिएका छन् । वडाध्यक्ष लामाले नगरकोटमा तामाङ सङ्ग्रहालय स्थापना गर्ने योजनाका लागि उपयुक्त स्थानको खोजी भइरहेको जानकारी दिए । साथै कम्तीमा १० श्ययाको अस्पताल सञ्चालन गर्ने योजना रहेको र नगरकोटलाई औपचारिक रूपमा पर्यटकीय क्षेत्र घोषणा गर्न सरकारसँग माग गरिएको बताए । सार्वजनिक सुनुवाइमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) र राप्रपालगायत विभिन्न दलका प्रतिनिधिहरूले नगरकोटको विकासप्रति सन्तुष्टि व्यक्त गर्दै जनप्रतिनिधिहरूको कार्यसम्पादन सकारात्मक रहेको बताए । वडासचिव राजेन्द्र गणेशका अनुसार चालु आर्थिक वर्षमा वडाबाट विभिन्न शीर्षकमा १ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । वडामा स्वीकृत १०० योजनामध्ये ६२ वटा सम्पन्न भइसकेका छन् भने ३८ वटा निर्माणाधीन छन् । यस अवधिमा १०१ वटा घटना दर्ता भएका छन् भने ३९१ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

३ दिनको वर्षापछि फेरि चर्किंदै गर्मी, तातो हावाको लहर चल्ने

काठमाडौं । विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब विस्तारै फेरि तातो बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम ३७ डिग्रीबाट माथि नचढेकामा अब फेरि तापक्रम विस्तारै उकालो लाग्ने भएको छ । साेमबारबाट वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ्ने बताइएको छ । साेमबार भैरहवामा अधिकतम तापक्रम ३७.५ डिग्री पुगेको छ । साेमबार राति १० बजेको ताजा अवस्थामा पछिल्लो एक घण्टामा देशको कुनै पनि ठाउँमा वर्षा भएको छैन । पछिल्लो २४ घण्टामा पनि दैलेखलगायत केही जिल्लामा हल्का वर्षा भए पनि अन्य क्षेत्रमा खास वर्षा रोकिएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार आज (जेठ १९ गते) मधेस प्रदेशमा तथा कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ । देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने छ । तराई भू-भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।  बुधबार देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको विभागले आज साँझ बुलेटिन जारी गरी जानकारी दिएको छ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको बताइएको छ ।