काठमाडौं । सुर्खेतको एक पसलबाट प्रहरीले ठुलो परिमाणमा सुनका गहना र भारतीय रुपैयाँ फेला परेको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर-६ स्थित श्याम सुन्दर अग्रवालको कपडा पसलमा प्रहरीले छापा मारेर सुनका गहना र करिब सात लाख भारु बरामद गरेको छ ।
अग्रवालले सुनका गहना धितो राखेर ब्याजमा ऋण लगाउने गरेको कर्णाली प्रदेश प्रहरीका प्रवक्ता एसएसपी रामप्रकाश शाहले जानकारी दिए ।
उनका अनुसार कोठाबाट करिब एक किलो सुनका गहना छन् । उनले भारत जाने भारतीय तथा नेपालीलाई भारू साटेर दिन गरेका थिए ।
गहना धितोमा राखेर पैसा दिने गरेको पाइएको शाहले उल्लेख गरे । डेरामा छापा मार्दा विभिन्न खालका गहनासहित भारू रकम बरामद गरिएको उनले प्रस्ट पारे ।