३ दिनको वर्षापछि फेरि चर्किंदै गर्मी, तातो हावाको लहर चल्ने
काठमाडौं । विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब विस्तारै फेरि तातो बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम ३७ डिग्रीबाट माथि नचढेकामा अब फेरि तापक्रम विस्तारै उकालो लाग्ने भएको छ । साेमबारबाट वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ्ने बताइएको छ । साेमबार भैरहवामा अधिकतम तापक्रम ३७.५ डिग्री पुगेको छ । साेमबार राति १० बजेको ताजा अवस्थामा पछिल्लो एक घण्टामा देशको कुनै पनि ठाउँमा वर्षा भएको छैन । पछिल्लो २४ घण्टामा पनि दैलेखलगायत केही जिल्लामा हल्का वर्षा भए पनि अन्य क्षेत्रमा खास वर्षा रोकिएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार आज (जेठ १९ गते) मधेस प्रदेशमा तथा कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ । देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने छ । तराई भू-भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । बुधबार देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको विभागले आज साँझ बुलेटिन जारी गरी जानकारी दिएको छ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको बताइएको छ ।
चीनको आर्थिक र प्रविधि केन्द्रमा सिधा हवाई, हिमालय एयरले सातामा २ उडान गर्दै
काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन शहरसँग राजधानी काठमाडौंलाई प्रत्यक्ष हवाई सेवामार्फत जोड्ने भएको छ । कम्पनीले जेठ २१ गतेदेखि काठमाडौं-शेन्जेन-काठमाडौं सिधा उडान सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो । नयाँ उडान सेवाअन्तर्गत काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको शेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलबीच साप्ताहिक दुई उडान सञ्चालन गरिनेछ । कम्पनीका अनुसार काठमाडौंबाट शेन्जेनका लागि उडान प्रत्येक मङ्गलबार र बिहीबार हुनेछ भने शेन्जेनबाट काठमाडौं फर्कने उडान बुधबार र शुक्रबार सञ्चालन हुनेछ । हिमालय एयरलाइन्सले यो सेवा नेपाल-चीन हवाई सम्पर्क विस्तारको दिशामा महत्वपूर्ण कदम भएको जनाउँदै यात्रुको मागका आधारमा भविष्यमा उडान सङ्ख्या थप्ने योजना पनि बनाएको उल्लेख गरेको छ । कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ गन्तव्य थपिनु हिमालय एयरलाइन्सको अन्तर्राष्ट्रिय सञ्जाल विस्तारको रणनीतिक उपलब्धि भएको बताए । काठमाडौं-शेन्जेन उडानले दुई देशका नागरिक बीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै पर्यटन, व्यापार तथा लगानीका अवसर विस्तार गर्न सहयोग पुग्ने उनको भनाइ छ । ‘हिमालय एयरलाइन्सले चीनका विभिन्न शहरसँग नेपाललाई जोड्ने प्रयास निरन्तर गर्दै आएको छ । शेन्जेन उडानले नेपाल र चीनबीचको आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनेछ,’ उपाध्यक्ष श्रेष्ठले भने । चीनको ‘सिलिकन भ्याली’ का रूपमा परिचित शेन्जेन विश्वका प्रमुख प्रविधि, उत्पादन तथा नवप्रवर्तन केन्द्रमध्ये एक मानिन्छ । नयाँ हवाई सेवाले व्यापारिक यात्रु, पर्यटक, विद्यार्थी तथा लगानीकर्तालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । हिमालय एयरलाइन्सले यात्रुलाई सुरक्षित, सहज र गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । कम्पनीले नयाँ उडान सञ्चालनसँगै नेपाल र चीनबीच पर्यटन प्रवर्द्धन, व्यापार विस्तार तथा जनस्तरको सम्बन्ध सुदृढ हुने अपेक्षा गरेको छ ।
वैदेशिक रोजगार विभागद्वारा पुनः श्रम स्वीकृतिका लागि शर्त निर्धारण
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति स्वचालित प्रणालीमार्फत गर्ने जनाएको छ । वैदेशिक रोजगार विभागले सोमबार (आज) सूचना जारी गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने योजनाअनुसार पुनः श्रम स्वीकृतिलाई स्वचालित बनाइएको जनाएको हो । वैदेशिक रोजगार विभागले अनलाइनमार्फत स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृति लिँदा पालना गर्नुपर्ने नयाँ शर्तसहित विभिन्न मापदण्ड अनिवार्य गरेको हो । विभागका अनुसार स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृति आवेदन दिँदा यसअघि श्रम स्वीकृति प्राप्त गरेको देश र कम्पनीका लागि मात्र आवेदन दिएको हुनुपर्ने छ । संस्था वा कम्पनी परिवर्तन भएकाहरूको हकमा यो नियम लागू नहुने विभागले जनाएको छ । विभागले विज्ञप्तीमार्फत कम्तीमा तीन महिना अवधि भएको राहदानी हुनुपर्ने, भिसा वैध हुनुपर्ने, कम्पनीसँग करार सम्झौता गरेको हुनुपर्ने, सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेको हुनुपर्ने, वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको हुनुपर्ने, आवधिक जीवन बिमा गरेको हुनुपर्नेलगायत शर्त अनिवार्य गरेको हो । अनलाइन प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र सञ्चारमैत्री बनाउन यी शर्तहरू अघि सारिएको जनाइएको छ । विभागले शर्त पूरा नभएका आवेदनलाई प्रणालीले स्वतः अस्वीकृत गर्ने भएकाले आवश्यक सजगता अपनाउन सेवाग्राहीलाई आग्रह गरेको छ ।
कांग्रेसले माग्यो नयाँ क्रियाशील सदस्यता: स्वदेश र विदेशबाटै अनलाइन आवेदन दिन सकिने
काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान गरेको छ । पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको संयोजकत्वमा सोमबार (आज) केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले स्वदेश तथा विदेशमा रहेका इच्छुक नेपाली नागरिकका लागि नयाँ क्रियाशील सदस्यता आह्वान गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले नयाँ क्रियाशील सदस्य बन्न इच्छुक व्यक्तिले पार्टीको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाइएको जानकारी दिए ।
पूर्वसभामुख महरालाई थुनामुक्त गर्न आदेश
काठमाडौं । विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र विदुर कोइरालाको इजलासले निजलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो । महराविरुद्ध सुन तस्करीको मुद्दा दायर भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बराबरको सुन भन्सार छली तस्करी गरेर राज्यलाई हानी नोक्सानी पु¥याएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
१ अर्ब २१ करोडको मादी पुल अन्तिम चरणमा
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मादीमा निर्माणाधीन चार लेनको पुलको सोमबार (आज) निरीक्षण गरेका छन् । निरीक्षणपछि मन्त्री लम्सालले निर्धारित समयमा निर्माण पूरा गर्न निर्माता कम्पनीलाई निर्देशन दिए । पुलको भौतिक प्रगति ८४ प्रतिशत भएको छ । तीन सय १५ मिटर लामो पुलमा छ वटा स्पान हुनेछन् । पुल निर्माणको ठेक्का एक अर्ब २१ करोड रुपैयाँमा दिइएको हो । मन्त्री लम्सालले आजै मुग्लिन-पोखरा सडकखण्डअन्तर्गत पूर्वी र पश्चिमी खण्डको समेत निरीक्षण गरेका मुग्लिन-पोखरा सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
हेडफोन कानमा, हिमाल आँखैमा: नाम्चेमा सम्पन्न भयो अनोठो ‘साइलेन्ट कन्सर्ट’
काठमाडौं । टल्किएका हिमशृङ्खला । सगरमाथाको प्रवेशद्वार मानिने सुन्दर नाम्चे बजार । हिमालकै श्रृङ्खला मुनी रहेको (३,४४०) हेलिप्याड । जहाँ प्रकृतिको शान्त वातावरण । अर्कोतिर संगीतको धुन । कुनै ठूलो लाउडस्पिकरको कोलाहल थिएन । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा नाम्चेले नौलो सांगीतिक अनुभव महसुस गर्ने अवसर पायो । हाइल्याण्ड कलेक्टिभ र ३३ डिग्री स्काइ वेस्ट स्काइबारको संयुक्त आयोजनामा नाम्चेमा ‘साइलेन्ट सेसन हाइल्याण्ड एक्सिपरियन्स’ सम्पन्न भएको हो । विश्वकै प्रसिद्ध हिमाली क्षेत्रमा आयोजित यस कार्यक्रमले परम्परागत कन्सर्टको परिभाषालाई बदलिदिएको थियो । साइलेन्ट सेसन (शान्त सत्र) को अवधारणा अनुरूप सहभागीहरूले विशेष वायरलेस हेडफोन लगाएर संगीतको आनन्द लिएका थिए । हेडफोनभित्र चर्चित डीजेहरू फिन्जेक, नोर्चेन, डिक्छु र तेन्जीलेको ऊर्जावान् र जादुमयी सांगीतिक धुन गुन्जिरहेको थियो । हेडफोनबाहिर हिमाली पर्यावरणको प्राकृतिक शितलता लिन पाइरहेका थिए । स्वच्छ हिमाली हावा, मनोरम दृश्य र संगीतको अद्भूत संयोजनले उपस्थित सबैलाई उत्साहित बनाइरहेको थियो । संगीतको तालमा दर्शकहरू घण्टौँसम्म झुमिरहेका देखिन्थे । नौलो प्रस्तुतीमा सहभागी हुन करिब १५० जना संगीतप्रेमी पुगेका थिए । साहसिक अनुभवको खोजीमा रहेका उनीहरू नाम्चे पुगेका थिए । आन्तरिक मात्र नभई बाह्य पर्यटकहरूको समेत सहभागिता थियो । हिमाल आरोहण र पदयात्राका लागि मात्र चिनिने नाम्चेमा मनोरञ्जनको हिस्सा बन्न पाउनु आफ्ना लागि जीवनभरकै अविस्मरणीय अनुभव भएको सहभागीहरूले बताए । हिमालको फेदमुनी यस्तो प्रयोगलाई सफल पार्न नाम्चेबजारका स्थानीयबासीको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण थियो । कठिन र उचाइको क्षेत्रमा यस्तो कार्यक्रम व्यवस्थापन गर्नु चुनौतीपूर्ण थियो । स्थानीयबासीले मन खोलेर सहयोग गरेका थिए । सगरमाथाको काखमा आयोजित यस कार्यक्रमले नेपालको प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन र आधुनिक मनोरञ्जनलाई विश्वसामु प्रस्तुत गर्ने अवसर प्रदान गरेको ३३ डिग्री स्काइ वेस्ट बारका अध्यक्ष रबिन श्रेष्ठले बताए । यस्ता कार्यक्रमले नेपाललाई अन्तर्राष्ट्रिय इभेन्ट तथा पर्यटनका लागि नयाँ गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुर्‍याउँने उनको भनाइ छ । मनोरञ्जनमा मात्र सीमित नभइ यसले नेपाली पर्यटन क्षेत्रमा एउटा नयाँ सम्भावनाको ढोका समेत खोलेको श्रेष्ठले बताए । उनका अनुसार अनुसार साहसिक पर्यटन, संगीत र मनोरञ्जनलाई एउटै मञ्चमा जोड्ने यो प्रयासले नेपालका हिमाली गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकारात्मक योगदान पुर्याउनेछ । नाम्चे बजार केवल हिमाल आरोहणको प्रवेशद्वार मात्र नभएर विश्वस्तरीय मनोरञ्जन र सांगीतिक इभेन्टहरूको लागि पनि गन्तव्य बनेको छ । नेपालका हिमाली क्षेत्रहरूलाई विश्वस्तरीय ‘इभेन्ट गन्तव्य’ का रूपमा स्थापित गर्ने लक्ष्यका साथ विभिन्न नयाँ अवधारणाहरूमा यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्दै जाने प्रतिबद्धता आयोजक जनाएका छन् ।
संविधान संशोधनका लागि नागरिकबाट ४४ हजार बढी सुझाव
काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट ४४ हजार ६१३ सुझाव प्राप्त गरेको छ । कार्यदलको सचिवालयले यही जेठ ८ गते एक सूचना जारी गर्दै संविधानमा गर्नुपर्ने आवश्यक सुधार तथा संशोधनका विषयमा इच्छुक नेपाली नागरिकबाट लिखित सुझाव माग गरेको थियो । सोही सूचनाअनुसार नागरिकले लिखित सुझाव दिएका हुन् । कार्यदलका सदस्यसचिव लिलाधर सुवेदीले १९ हजार २३९ इमेलमार्फत र २५ हजार ३७४ सुझाव सामाजिक सञ्जाल ह्वट्सएपमार्फत प्राप्त भएका जानकारी दिए । कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्न गर्ने उद्देश्यले लिखित रूपमा सुझावका लागि आह्वान गरेको थियो । कार्यकारी राष्ट्रपति, सङ्घीयताको पुनरावलोकन, संवैधानिक निकायको पुनःसंरचना र पुनरावलोकन, निर्वाचन प्रणालीमा सुधार, न्यायपालिकाको सुधारका लागि प्रतिस्पर्धाबाट न्यायाधीशको नियुक्ति, जनप्रतिनिधिको योग्यता तोक्नुपर्नेलगायत विषयमा नागरिकबाट सुझाव प्राप्त भएका सदस्यसचिव सुवेदीले जानकारी दिए । उनका अनुसार कार्यदलले प्राप्त सुझावहरू अध्ययन गरिरहेको छ ।