काठमाडौं । काठमाडौंमा प्रहरीको साताव्यापी अपराधी खोजतलास अभियानबाट लागुऔषध खैरो हेरोइनसहित ११ जनालाई पक्राउ गरिएको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले काठमाडौँका विभिन्न स्थानमा यही जेठ १२ गतेदेखि १७ गतेसम्म गरिएको खोजी अभियानका क्रममा ११ जनालाई पक्राउ गरिएको जानकारी दिए ।
जिल्लाका विभिन्न स्थानबाट लागुऔषध कारोबारमा संलग्न र सक्रिय रहेको भन्ने सूचनाका आधारमा ब्यूरोले टोली खटाएको थियो । सो क्रममा निजहरूबाट १०१ ग्राम लागुऔषध बरामद भएकाले सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।
ब्यूरोले आज सार्वजनिक गरेको विवरण अनुसार पक्राउ पर्नेमा कैलाली, घोडाघोडी बस्ने ३२ वर्षीय दीपाकुमारी विष्ट, महोत्तरी, एकडरा-४ का २६ वर्षीय अमरकुमार साह, चितवन, भरतपुर महानगरपालिका-१७ का ३६ वर्षीय सुनिल लामा, इलाम, चुलाचुली गाउँपालिका-४ का ३५ वर्षीया सङ्गिता बास्कोटा, काठमाडौं महानगरपालिका-२६ का ३७ वर्षीय प्रशान्त राना मगर र नुवाकोट, शिवपुरी गाउँपालिका-२ का ३३ वर्षीय पेम्बा लामा रहेका रेग्मीले जानकारी दिए ।
उनका अनुसार चितवन, भरतपुर महानगरपालिका-७ का ३८ वर्षीय जीवनकुमार लामा, नवलपरासी (पूर्व), कावासोती नगरपालिका-२ का २९ वर्षीय सरोज गुरुङ, भारतको दरभङ्गा जिल्ला, फिर्मा पञ्चायत, कचुवा-२ ठेगाना भएका २६ वर्षीय आकाश सिंह, सुनसरीको धरान उपमहानगरपालिका-१७ की २० वर्षीया जिया राई र मकवानपुर, थाहा नगरपालिका-९ ठेगाना भएकी २० वर्षीया स्वस्तिका तामाङलाई पनि पक्राउ गरिएको छ ।
निजहरूमध्ये सुनिल लामा र सङ्गिता बास्कोटा लागुऔषध मुद्दामा केन्द्रीय कारागार सुन्धारामा थुनामा रहेको अवस्थामा भाद्र २३ र २४ गतेको आन्दोलनमा फरार रहेका रेग्मीले उल्लेख गरे ।