१२ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवको सरुवा तथा पदस्थापन
काठमाडौं । गृह मन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित १८ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले जेठ १३ र २२ गतेको निर्णयअनुसार १८ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेको जनाएको हो । सरुवा तथा पदस्थापन गरिएकामध्ये १२ जना सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । बाँकी सहसचिवहरूलाई गृह मन्त्रालय तथा मातहतका विभिन्न निकायमा पदस्थापन गरिएको मन्त्रालय स्रोतले जनाएको छ । गृह प्रशासनलाई थप प्रभावकारी, चुस्त र परिणाममुखी बनाउने उद्देश्यले सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ । सरुवा तथा पदस्थापन भएका सहसचिवहरूको विस्तृत विवरण गृह मन्त्रालयले सार्वजनिक गरेको छ ।
नेपालको सबैभन्दा ठूलो विद्युतीय प्रदर्शनी ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु
काठमाडौं । नेपालको विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित प्रदर्शनीको उद्घाटन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका हुन् । नेपाल विद्युतीय व्यवसायी महासंघद्वारा आयोजित प्रदर्शनी जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । नेपालकै विद्युतीय तथा ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रदर्शनीका रूपमा स्थापित फिन इलेक्ट्रो–टेकले ऊर्जा, विद्युतीय सामग्री, औद्योगिक स्वचालन, स्मार्ट प्रविधि तथा इलेक्ट्रोनिक्स क्षेत्रका नवीनतम उत्पादन र सेवाहरूलाई एकै थलोमा प्रस्तुत गरेको छ । महासंघका अध्यक्ष दिलीपकुमार अग्रवालका अनुसार वि.सं. १९९६ देखि निरन्तर आयोजना हुँदै आएको यस प्रदर्शनीले नेपालमा विद्युतीय व्यवसाय, ऊर्जा प्रविधि, औद्योगिक विकास तथा नवीन प्रविधिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । प्रदर्शनीले उत्पादक, आयातकर्ता, वितरक, इन्जिनियर, प्राविधिक, सरकारी निकाय, शैक्षिक संस्था तथा उपभोक्ताबीच ज्ञान, प्रविधि र व्यावसायिक अवसरको आदान–प्रदान गर्ने प्रभावकारी मञ्चका रूपमा पहिचान बनाएको उनले बताए । नेपालमा जलविद्युत उत्पादन, विद्युत पहुँच विस्तार, औद्योगिकीकरण तथा डिजिटल प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेका बेला सुरक्षित, गुणस्तरीय तथा आधुनिक विद्युतीय सामग्रीको आवश्यकता झन् बढ्दै गएको महासंघको भनाइ छ । विद्युत उत्पादन वृद्धि, प्रसारण तथा वितरण प्रणाली विस्तार, विद्युतीय सवारीसाधन प्रवर्द्धन तथा नवीकरणीय ऊर्जाको उपयोग बढाउने राष्ट्रिय लक्ष्यमा प्रदर्शनीले सहयोग पुर्याउने विश्वास आयोजकले व्यक्त गरेको छ । मेला संयोजक गोपाल अग्रवालले हालै सार्वजनिक आर्थिक वर्ष २०८३/८४ को बजेटले ऊर्जा तथा विद्युतीय क्षेत्रलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनका लागि आवश्यक सामग्री, उपकरण, प्रविधि र सेवाबारे जानकारी आदान–प्रदान गर्ने साझा मञ्चका रूपमा फिन इलेक्ट्रो–टेक उपयोगी हुने बताए । उद्घाटन समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, विभिन्न मन्त्रालयका प्रतिनिधि, ऊर्जा तथा पूर्वाधार क्षेत्रका नीति निर्माता, उद्योगी–व्यवसायी, वित्तीय संस्थाका प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो । यस वर्षको प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी, उत्पादक संस्था, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायकहरूको उल्लेखनीय सहभागिता रहेको छ । ट्रान्सवेल्ड, हेभल्स, केईआई, जनता केबल, लेजर इन्डिया, ग्रेटह्वाइट इलेक्ट्रिकल्स, ब्रिलियन्ट एलईडी, इलेक्ट्रा इलेक्ट्रिक, बजाज, सिमेन्स, क्रम्टन, उषा, एङ्कर, लिपर, ओरिएन्ट इलेक्ट्रिक, चिन्ट, सी एन्ड एस इलेक्ट्रिक, प्राइम वायर्स लगायतका स्वदेशी तथा बहुराष्ट्रिय ब्राण्डहरूले आफ्ना नवीनतम उत्पादन तथा प्रविधिहरू प्रदर्शनीमा राखेका छन् । आयोजकका अनुसार प्रदर्शनीले उद्योगी, व्यवसायी, प्राविधिक, नीति निर्माता, शैक्षिक संस्था तथा उपभोक्ताबीच सहकार्य, ज्ञान आदान–प्रदान र नयाँ व्यावसायिक अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।
लोटस ओभरसिजलाई ५० हजार रुपैयाँ जरिवाना, ८ कम्पनीलाई सुधारको निर्देशन
काठमाडौं । लोटस ओभरसिजलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार (जेठ २२ गते) गरेको बजार अनुगमनका क्रममा मध्यपुर थिमी नगरपालिका-२ स्थित लोटस ओभरसिजलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २०(२) बमोजिमको व्यवस्था पालना नगरेको पाइएपछि उक्त कम्पनीलाई ऐनको दफा ३८(ट) अन्तर्गतको कसुरमा दफा ३९(१)(घ) बमोजिम कारबाही गरेको विभागले जनाएको छ । अनुगमनका क्रममा विभिन्न ८ वटा उद्योग तथा व्यवसायलाई सुधारको निर्देशन पनि दिएको छ । विभागका अनुसार ललितपुर महानगरपालिका-१३ भनिमण्डलस्थित फेथ वक्र्स ब्याग्स एण्ड एक्सेसरिज प्रालि, जावलाखेलस्थित भूसाल फर्निसिङ्ग फ्लोरिङ्ग एण्ड फर्निचर, मध्यपुर थिमीस्थित अमृत हार्डवेयर, आशिष ट्रेडिङ सेन्टर र ग्लोबल ट्रेडिङ इम्पेक्सलाई सामान्य निर्देशन दिइएको छ । त्यस्तै, काठमाडौं महानगरपालिका-१६ बनस्थलीस्थित प्राइम अटो स्पेयर्स, वडा नम्बर १५ चमतीस्थित आलिया सिलाई सेन्टर तथा वडा नम्बर २९ स्थित माछापुच्छ्रे फर्निसिङ्ग सेन्टरलाई पनि सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।
प्रधानमन्त्री बालेनलाई मेसेज पठाउने सचिव जगेडामा तानिए
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार बिहीबारको निर्णयको मिति राखेर उनको सरुवा गरिएको हो । लामो समयदेखि शक्तिकेन्द्रसँग निकट रहेर राज्य संयन्त्रमा हालीमुहाली गर्दै आएका सचिव पुष्करलाई अतिरिक्त समूहमा राखिएको उच्च स्रोतले जनाएको छ । सरकारी सेवामा प्रवेश गरेयता उनी पहिलोपटक अतिरिक्त समूहमा सरुवा भएका हुन् । २०५९ सालको शाखा अधिकृत ब्याच नम्बर १८ का पुष्कर निजामती सेवामा प्रवेश गरेदेखि नै महत्वपूर्ण जिम्मेवारी र अवसर प्राप्त गर्ने अधिकारीका रूपमा चिनिँदै आएका छन् । स्रोतका अनुसार उनी प्रदेश सरकारमा नखटिई संघीय सचिव बनेका दुर्लभ अधिकारीमध्ये एक हुन् । हालै प्रधानमन्त्री बालेन्द्र शाहलाई पठाइएको भनिएको एक सन्देश सार्वजनिक भएपछि सचिव पुष्कर थप चर्चामा आएका थिए । त्यसको केही समयपछि नै उनको सरुवा भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो । यद्यपि सरकारले उनको सरुवाको औपचारिक कारण सार्वजनिक गरेको छैन । स्रोतका अनुसार सचिव पुष्करको सरुवासम्बन्धी निर्णय बिहीबार नै गरिएको भए पनि त्यसबारेको औपचारिक जानकारी सम्बन्धित निकायलाई क्रमशः पठाउने प्रक्रिया जारी छ ।
आइजीआई प्रुडेन्सियल र नेपाल पुलिस फुटबल क्लबबीच सहकार्य सम्झौता
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल पुलिस फुटबल क्लबबीच खेलकुद क्षेत्रको विकास तथा खेलाडीहरूको वित्तीय सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले सहकार्य सम्झौता भएको छ । सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले हस्ताक्षर गरेका छन् । सम्झौतापछि नेपाल पुलिस अन्तर्गत राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानसँग आवद्ध खेलाडी, प्रशिक्षक, कर्मचारी तथा पदाधिकारीहरूलाई आइजीआई प्रुडेन्सियलका विभिन्न बीमा योजनामा आबद्ध गराई सेवा प्रदान गरिने जनाइएको छ । यस सहकार्य अन्तर्गत कम्पनीले नेपाल पुलिस फुटबल क्लबलाई आर्थिक सहयोगसमेत प्रदान गर्नेछ। उक्त सहयोगले क्लबको खेलकुद गतिविधि विस्तार, खेलाडी विकास तथा संस्थागत सुदृढीकरणमा टेवा पुग्ने विश्वास लिइएको छ । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपालको ऐतिहासिक र गौरवशाली क्लबसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै यसले खेलाडीहरूको मनोबल उच्च राख्न तथा समग्र खेलकुद क्षेत्रको विकासमा योगदान पुग्ने बताए । उनले दुवै संस्थाबीचको सहकार्य आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी, प्रहरी अतिरिक्त महानिरीक्षक शाहले खेलाडी विकासमा सहयोग गरेकोमा कम्पनीप्रति आभार व्यक्त गर्दै यस सहकार्यले क्लबको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले यस सम्झौताले दुवै पक्षबीच दीर्घकालीन सहकार्यको आधार तयार गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
महानगरले गर्यो २ हजार ४२१ सडक आश्रितको उद्धार
काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘मानवतामा आधारित सहर’ निर्माण गर्ने लक्ष्यसहित सडक सहयोगापेक्षी रहित काठमाडौँ बनाउने अभियानलाई निरन्तरता दिएको छ । महानगरले मानव सेवा आश्रमसँगको सहकार्यमा २०७४ मंसिर १ गतेदेखि सडकमा आश्रित तथा सहयोगको अपेक्षामा रहेका व्यक्तिहरूको उद्धार, व्यवस्थापन, पारिवारिक पुनर्मिलन र सामाजिक पुनःस्थापनाको काम गर्दै आएको जनाएको छ । महानगरका अनुसार हालसम्म २ हजार ४२१ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये १ हजार ५७१ पुरुष र ८५० महिला रहेका छन्। यस अवधिमा ८८३ जनाको पारिवारिक पुनर्मिलन तथा ५३४ जनाको सामाजिक पुनःस्थापना गरिएको छ। सडकमा आश्रित व्यक्तिहरूको अवस्था र आवश्यकता पहिचान गर्न तिलगंगामा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ। २०८३ वैशाख २० गते महानगरपालिका, पशुपति क्षेत्र विकास कोष, उपत्यका प्रहरी कार्यालय र मानव सेवा आश्रमबीच भएको सम्झौतापछि सञ्चालनमा आएको सेन्टरमा जेठ २१ गतेसम्म २०२ जनालाई सेवा प्रदान गरिएको छ। तीमध्ये ६३ जनाको पारिवारिक पुनर्मिलन, ७१ जनाको सामुदायिक पुनःस्थापना र ४२ जनाको स्वेच्छिक बहिर्गमन भएको छ। महानगरले २०७६ असोज २० गते पशुपति क्षेत्रलाई मगन्तेरहित क्षेत्र घोषणा गरी माग्ने पेशालाई निरुत्साहित गर्ने अभियानसमेत सुरु गरेको थियो । २०८२ मंसिर १७ गते मानव सेवा आश्रमसँग पुनः सम्झौता गरी सहयोगापेक्षी व्यक्तिहरूलाई मानवोचित बासस्थान, स्याहार तथा पुनःस्थापनाको कार्यक्रमलाई थप प्रभावकारी बनाइएको जनाएको छ । उद्धार गरिएका व्यक्तिहरूमध्ये अधिकांशमा मानसिक तथा शारीरिक स्वास्थ्य समस्या, सामाजिक व्यवहारमा कमी, परिचय खुलाउन नसक्ने अवस्था, कुपोषण, घाउचोट तथा कुलतसम्बन्धी समस्या देखिएको महानगरले जनाएको छ । केही व्यक्ति पारिवारिक समस्या, लागूऔषध तथा मदिरा सेवनका कारण सडकमा पुगेका छन् भने कतिपयले माग्ने कार्यलाई पेशाका रूपमा अपनाएको पाइएको छ । उद्धारपछि आश्रममा रहँदा ३२३ जनाको निधन भएको तथ्याङ्क छ । हाल मानव सेवा आश्रममा ३४४ जना आश्रित रहेका छन् । महानगरले सहयोगापेक्षी व्यवस्थापनलाई बहुक्षेत्रीय विषयका रूपमा व्याख्या गर्दै गरिबी, अशिक्षा, बेरोजगारी, अपाङ्गता, कुलत, पारिवारिक तथा सामाजिक द्वन्द्वजस्ता कारण न्यूनीकरण गर्ने नीति तथा कार्यक्रम ल्याउने जनाएको छ । साथै, भविष्यमा कोही पनि सहयोगापेक्षी बन्न नपर्ने अवस्था सिर्जना गर्न व्यक्तिगत, पारिवारिक र सामाजिक व्यवस्थापनमा केन्द्रित दिगो संयन्त्र विकास गरिने उल्लेख गरेको छ । महानगरले अभियान सफल बनाउन मानव सेवा आश्रम, विभिन्न सरकारी तथा गैरसरकारी संस्था, स्वयंसेवक, सञ्चारकर्मी तथा अभियन्ताहरूको योगदानको उच्च प्रशंसा गरेको छ ।
७७९ विद्युतीय सवारी नियन्त्रण प्रकरणमा छानबिन समिति गठन
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा बिहीवार अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकार सुशासन र राजस्व रक्षाका मामिलामा सचेत रहेकाले तत्कालै समिति गठन गरी कानुनी प्रक्रिया अघि बढाइएको हो । समितिले सवारीसाधन नियन्त्रणमा लिइएकै स्थलगत रूपमै पुगेर द्रुत गतिमा छानबिन सुरु गरिसकेको उनले जानकारी दिए । विज्ञ दाहालले भनिन्, ‘सवारीसाधनको संख्या ठूलो भएकाले राजस्व र भन्सार सम्बद्ध सबै कानुनी कागजातहरूको सुक्ष्म अध्ययन र प्रमाणीकरण गर्न केही समय लाग्न सक्छ। छानबिन नसकिँदासम्म धैर्य गर्न र आश्वस्त रहन हामी अनुरोध गर्दछौं ।’ राज्यको अर्थतन्त्र र कानुन कार्यान्वयनलाई बलियो बनाउन सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।
सेयर बजारमा ५ अर्ब ६२ करोड रुपैयाँको कारोबार
काठमाडौं । शुक्रबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.३७ अंकले घटेर २७५५.४१ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार शुक्रबार ७४ कम्पनीको सेयर मूल्य बढ्दा १८४ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । शुक्रबार ३५१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको भएको छ । आँखुको ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै सिटी होटलको १९ करोड, १०.२५ प्रतिशत एनबीबीएल डिभेन्चर २०८५ को १८ करोड ८६ लाख, सेन्ट्रल फाइनान्सको १८ करोड ५० लाख र रिडि पावरको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार कालिन्चोक हाइड्रोको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।