काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘मानवतामा आधारित सहर’ निर्माण गर्ने लक्ष्यसहित सडक सहयोगापेक्षी रहित काठमाडौँ बनाउने अभियानलाई निरन्तरता दिएको छ । महानगरले मानव सेवा आश्रमसँगको सहकार्यमा २०७४ मंसिर १ गतेदेखि सडकमा आश्रित तथा सहयोगको अपेक्षामा रहेका व्यक्तिहरूको उद्धार, व्यवस्थापन, पारिवारिक पुनर्मिलन र सामाजिक पुनःस्थापनाको काम गर्दै आएको जनाएको छ ।
महानगरका अनुसार हालसम्म २ हजार ४२१ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये १ हजार ५७१ पुरुष र ८५० महिला रहेका छन्। यस अवधिमा ८८३ जनाको पारिवारिक पुनर्मिलन तथा ५३४ जनाको सामाजिक पुनःस्थापना गरिएको छ।
सडकमा आश्रित व्यक्तिहरूको अवस्था र आवश्यकता पहिचान गर्न तिलगंगामा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ। २०८३ वैशाख २० गते महानगरपालिका, पशुपति क्षेत्र विकास कोष, उपत्यका प्रहरी कार्यालय र मानव सेवा आश्रमबीच भएको सम्झौतापछि सञ्चालनमा आएको सेन्टरमा जेठ २१ गतेसम्म २०२ जनालाई सेवा प्रदान गरिएको छ। तीमध्ये ६३ जनाको पारिवारिक पुनर्मिलन, ७१ जनाको सामुदायिक पुनःस्थापना र ४२ जनाको स्वेच्छिक बहिर्गमन भएको छ।
महानगरले २०७६ असोज २० गते पशुपति क्षेत्रलाई मगन्तेरहित क्षेत्र घोषणा गरी माग्ने पेशालाई निरुत्साहित गर्ने अभियानसमेत सुरु गरेको थियो । २०८२ मंसिर १७ गते मानव सेवा आश्रमसँग पुनः सम्झौता गरी सहयोगापेक्षी व्यक्तिहरूलाई मानवोचित बासस्थान, स्याहार तथा पुनःस्थापनाको कार्यक्रमलाई थप प्रभावकारी बनाइएको जनाएको छ ।
उद्धार गरिएका व्यक्तिहरूमध्ये अधिकांशमा मानसिक तथा शारीरिक स्वास्थ्य समस्या, सामाजिक व्यवहारमा कमी, परिचय खुलाउन नसक्ने अवस्था, कुपोषण, घाउचोट तथा कुलतसम्बन्धी समस्या देखिएको महानगरले जनाएको छ । केही व्यक्ति पारिवारिक समस्या, लागूऔषध तथा मदिरा सेवनका कारण सडकमा पुगेका छन् भने कतिपयले माग्ने कार्यलाई पेशाका रूपमा अपनाएको पाइएको छ ।
उद्धारपछि आश्रममा रहँदा ३२३ जनाको निधन भएको तथ्याङ्क छ । हाल मानव सेवा आश्रममा ३४४ जना आश्रित रहेका छन् । महानगरले सहयोगापेक्षी व्यवस्थापनलाई बहुक्षेत्रीय विषयका रूपमा व्याख्या गर्दै गरिबी, अशिक्षा, बेरोजगारी, अपाङ्गता, कुलत, पारिवारिक तथा सामाजिक द्वन्द्वजस्ता कारण न्यूनीकरण गर्ने नीति तथा कार्यक्रम ल्याउने जनाएको छ । साथै, भविष्यमा कोही पनि सहयोगापेक्षी बन्न नपर्ने अवस्था सिर्जना गर्न व्यक्तिगत, पारिवारिक र सामाजिक व्यवस्थापनमा केन्द्रित दिगो संयन्त्र विकास गरिने उल्लेख गरेको छ ।
महानगरले अभियान सफल बनाउन मानव सेवा आश्रम, विभिन्न सरकारी तथा गैरसरकारी संस्था, स्वयंसेवक, सञ्चारकर्मी तथा अभियन्ताहरूको योगदानको उच्च प्रशंसा गरेको छ ।