नेपालको सबैभन्दा ठूलो विद्युतीय प्रदर्शनी ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरे उद्घाटन, जेठ २५ सम्म चल्ने प्रदर्शनीमा नेपाल, भारत र चीनका प्रतिष्ठित ब्राण्डहरूको सहभागिता

काठमाडौं । नेपालको विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।

ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित प्रदर्शनीको उद्घाटन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका हुन् । नेपाल विद्युतीय व्यवसायी महासंघद्वारा आयोजित प्रदर्शनी जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।

नेपालकै विद्युतीय तथा ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रदर्शनीका रूपमा स्थापित फिन इलेक्ट्रो–टेकले ऊर्जा, विद्युतीय सामग्री, औद्योगिक स्वचालन, स्मार्ट प्रविधि तथा इलेक्ट्रोनिक्स क्षेत्रका नवीनतम उत्पादन र सेवाहरूलाई एकै थलोमा प्रस्तुत गरेको छ ।

महासंघका अध्यक्ष दिलीपकुमार अग्रवालका अनुसार वि.सं. १९९६ देखि निरन्तर आयोजना हुँदै आएको यस प्रदर्शनीले नेपालमा विद्युतीय व्यवसाय, ऊर्जा प्रविधि, औद्योगिक विकास तथा नवीन प्रविधिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । प्रदर्शनीले उत्पादक, आयातकर्ता, वितरक, इन्जिनियर, प्राविधिक, सरकारी निकाय, शैक्षिक संस्था तथा उपभोक्ताबीच ज्ञान, प्रविधि र व्यावसायिक अवसरको आदान–प्रदान गर्ने प्रभावकारी मञ्चका रूपमा पहिचान बनाएको उनले बताए ।

नेपालमा जलविद्युत उत्पादन, विद्युत पहुँच विस्तार, औद्योगिकीकरण तथा डिजिटल प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेका बेला सुरक्षित, गुणस्तरीय तथा आधुनिक विद्युतीय सामग्रीको आवश्यकता झन् बढ्दै गएको महासंघको भनाइ छ ।  विद्युत उत्पादन वृद्धि, प्रसारण तथा वितरण प्रणाली विस्तार, विद्युतीय सवारीसाधन प्रवर्द्धन तथा नवीकरणीय ऊर्जाको उपयोग बढाउने राष्ट्रिय लक्ष्यमा प्रदर्शनीले सहयोग पुर्याउने विश्वास आयोजकले व्यक्त गरेको छ ।

मेला संयोजक गोपाल अग्रवालले हालै सार्वजनिक आर्थिक वर्ष २०८३/८४ को बजेटले ऊर्जा तथा विद्युतीय क्षेत्रलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनका लागि आवश्यक सामग्री, उपकरण, प्रविधि र सेवाबारे जानकारी आदान–प्रदान गर्ने साझा मञ्चका रूपमा फिन इलेक्ट्रो–टेक उपयोगी हुने बताए ।

उद्घाटन समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, विभिन्न मन्त्रालयका प्रतिनिधि, ऊर्जा तथा पूर्वाधार क्षेत्रका नीति निर्माता, उद्योगी–व्यवसायी, वित्तीय संस्थाका प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

यस वर्षको प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी, उत्पादक संस्था, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायकहरूको उल्लेखनीय सहभागिता रहेको छ । ट्रान्सवेल्ड, हेभल्स, केईआई, जनता केबल, लेजर इन्डिया, ग्रेटह्वाइट इलेक्ट्रिकल्स, ब्रिलियन्ट एलईडी, इलेक्ट्रा इलेक्ट्रिक, बजाज, सिमेन्स, क्रम्टन, उषा, एङ्कर, लिपर, ओरिएन्ट इलेक्ट्रिक, चिन्ट, सी एन्ड एस इलेक्ट्रिक, प्राइम वायर्स लगायतका स्वदेशी तथा बहुराष्ट्रिय ब्राण्डहरूले आफ्ना नवीनतम उत्पादन तथा प्रविधिहरू प्रदर्शनीमा राखेका छन् ।

आयोजकका अनुसार प्रदर्शनीले उद्योगी, व्यवसायी, प्राविधिक, नीति निर्माता, शैक्षिक संस्था तथा उपभोक्ताबीच सहकार्य, ज्ञान आदान–प्रदान र नयाँ व्यावसायिक अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

Share News