एमआईटी कलेजमा नयाँ गिनिज रेकर्ड बनाउने तयारी, मैदानमा नेपाली मेमोरी एथलेट कृष्ण पाण्डे
काठमाडौं । प्रख्यात मेमोरी एथलेट तथा पूर्व गिनिज वर्ल्ड रेकर्डधारी कृष्ण पाण्डेले नेपालमै नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गर्ने प्रयास गर्ने भएका छन् । मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) कलेज, बागबजारको आयोजनामा माघ ६ मा काठमाडौं मोडल सेकेन्डरी स्कूल बागबजारमा उक्त रेकर्ड प्रयास हुन लागेको हो । ‘फास्टेस्ट टाइम टु स्पेल फिफ्टी वर्ड्स ब्याकवार्ड्स’ शीर्षकअन्तर्गत हुने यस प्रयासले गिनिज वर्ल्ड रेकर्ड्सका कडा मापदण्डअनुसार नयाँ कीर्तिमान स्थापित गर्ने लक्ष्य लिएको छ । कार्यक्रम एमआईटी कलेजले केएमएसएससँगको सहकार्यमा आयोजना गर्न लागेको हो भने बेस्ट वेस्टर्न प्लस हस्पिटालिटी पार्टनरका रूपमा जोडिएको छ । एमआईटीका सहसंस्थापक आरके दाहालका अनुसार रेकर्ड प्रयास पूर्ण रूपमा नियन्त्रित र ध्यान भंग नहुने वातावरणमा सम्पन्न गरिनेछ । आयोजकका अनुसार यो कार्यक्रमले नेपाली प्रतिभालाई विश्वस्तरमा चिनाउने छ । ‍एमआईटीले आफ्नो शैक्षिक दृष्टिकोणअनुसार युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्दै उनीहरूको क्षमता पहिचान र विकास गर्न यस्ता कार्यक्रमहरू गर्दै आएको जनाएको छ । अन्तर्राष्ट्रिय अमेरिकी विश्वविद्यालयसँग आबद्ध एमआईटी कलेजले आईटी तथा व्यवस्थापन विषयमा विश्वस्तरीय शिक्षा प्रदान गर्दै व्यवहारिक सिकाइलाई प्राथमिकता दिँदै आएको छ । कार्यक्रमलाई व्यवस्थित र विश्वसनीय बनाउन सबै सरोकारवालाबीच औपचारिक सम्झौता भइसकेको आयोजकले जनाएको छ ।
विशेष महाधिवेशनको माग गर्दै कांग्रेस कार्यकर्ताले गरे सानेपा घेराउ
काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग चर्कँदै जाँदा त्यसका पक्षधर नेता–कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन् । नियमित १५ औं महाधिवेशनको कार्यतालिका कार्यान्वयन हुन नसकेपछि उत्पन्न असन्तुष्टिका बीच उनीहरू सानेपामा भेला भएर दबाबमूलक प्रदर्शनमा उत्रिएका हुन् । नियमित महाधिवेशनको प्रक्रिया अवरुद्ध भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तीव्र पारिएको नेता रामप्रसाद अधिकारीले जानकारी दिए। पार्टी विधानअनुसार समयमै महाधिवेशन हुन नसकेको र नेतृत्वले स्पष्ट मार्गचित्र दिन नसकेको भन्दै विशेष महाधिवेशन नै वर्तमान संकटको निकास हुने अधिकारीको दाबी छ । सानेपामा भेला भएका नेता–कार्यकर्ताले पार्टीभित्र देखिएको अन्योल अन्त्य गर्न, वैधानिकता कायम राख्न र आन्तरिक लोकतन्त्र सुदृढ गर्न विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन् । उनीहरूले नेतृत्वसँग तत्काल निर्णय लिन आग्रह गर्दै ढिलासुस्ती भए थप दबाबका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएको अधिकारीले बताए । महाधिवेशनको प्रकृति र मितिलाई लिएर कांग्रेसभित्र मतभेद तीव्र बन्दै गएको छ । एक पक्ष नियमित महाधिवेशनको पक्षमा उभिँदा अर्को पक्ष विशेष महाधिवेशनमार्फत पार्टीलाई नयाँ दिशामा लैजानुपर्नेमा जोड दिइरहेको छ ।
राष्ट्रिय सभा निर्वाचनमा एमालेको ७ सिट दाबी
काठमाडौं । नेकपा एमालेले आगामी राष्ट्रिय सभा निर्वाचनमा चुनावी तालमेलका क्रममा ७ सिटमा दाबी प्रस्तुत गरेको छ । सत्ता गठबन्धन तथा अन्य दलहरूसँगको छलफलमा एमालेले आफ्नो संगठनात्मक बल, विगतको प्रतिनिधित्व र प्रदेशगत सन्तुलनका आधारमा ७ सिट उपयुक्त हुने तर्क अघि सारेको हो । एमाले उपमहासचिव लेखराज भट्टका अनुसार राष्ट्रिय सभामा रिक्त हुन लागेको सिटहरूमा साझा उम्मेदवार तय गर्ने विषयमा प्रमुख दलहरूबीच निरन्तर संवाद भइरहेको छ । उनले एमालेले हाल राष्ट्रिय सभामा रहेको आफ्नो उपस्थितिलाई निरन्तरता दिन र प्रभावकारी भूमिका निर्वाह गर्न पर्याप्त सिट आवश्यक हुने बताएका छन् । एमाले नेतृत्वले राष्ट्रिय सभा निर्वाचनमा एक्लै नभई सहकार्यको मोडेललाई प्राथमिकता दिइरहे पनि सिट बाँडफाँडमा विकल्प खुला रहने संकेतसमेत दिएको छ । पार्टीभित्र ७ सिटभन्दा कम स्वीकार्य नहुने मत बलियो रूपमा उठिरहेको भट्टले जानकारी दिए ।
भेनेजुएला प्रकरणपछि ताइवान केन्द्रमा : चीनलाई अमेरिको कदमले के सन्देश दियो ?
काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई हटाएको अमेरिकी कदमप्रति चीनसहित अन्य विदेशी सरकारहरूले तीव्र आलोचना गरेका छन् । तर ट्रम्प प्रशासनको यो कदमले राष्ट्रपति सी जिनपिङलाई ताइवानमाथि कदम चाल्न प्रेरित गर्छ कि गर्दैन भन्ने विषयमा भने विज्ञहरू विभाजित छन् । अमेरिकी सेनाले जनवरी ३ मा मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर लागूऔषध र आतंकवादसम्बन्धी आरोपमा न्यूयोर्क ल्याएको थियो । आधुनिक इतिहासमै दुर्लभ मानिने यस कदमलाई राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले स्वागत गरे पनि आलोचकहरूले चीन झनै आक्रामक बन्दै गएको सन्दर्भमा यसले गलत उदाहरण स्थापित गरेको भन्दै चिन्ता व्यक्त गरे । क्वान्टम स्ट्राटेजीका डेभिड रोचले सीएनबीसीलाई भने, ‘यदि डोनाल्ड ट्रम्प कुनै देशमा पस्दै त्यसलाई कब्जा गर्न सक्छन् भने ‘युक्रेनबारे पुटिन गलत किन हुन्छन् र चीनले ताइवान कब्जा गर्न किन नपाउने ?’ तर अन्य विज्ञहरू यसमा सहमत छैनन् । सोमबार सीएनबीसीमा बोल्दै पूर्व अमेरिकी वाणिज्य सचिव (जर्ज डब्लु बुश प्रशासन) कार्लोस गुटिएरेजले चीन–भेनेजुएला सम्बन्धलाई ‘रणनीतिक सुविधामात्र’ को रूपमा व्याख्या गरे र यसले पूर्वी एसियामा सैन्य कारबाहीको उत्प्रेरक बन्ने सम्भावना कम रहेको बताए । ‘चीनले यसलाई ताइवानमाथि आक्रमण गर्ने बहाना वा औचित्य बनाउनेछ भन्ने मलाई विश्वास छैन । यो उनीहरूको सोच्ने तरिका होइन,’ गुटिएरेजले भने । ‘चीनले कडा र आक्रामक वक्तव्य दिनेछ— त्यो अपेक्षित नै हो । उनीहरूले त्यसो गर्नुपर्छ । तर चीनतर्फबाट ठोस र महत्त्वपूर्ण कारबाही हुन्छ जस्तो मलाई लाग्दैन,’ उनले थपे । हालै सार्वजनिक गरिएको राष्ट्रिय सुरक्षा रणनीतिमा अमेरिकाले ‘ट्रम्प कोरोलरी’ भन्ने अवधारणा अघि सारेको छ, जसले १८२० को दशकको मोन्रो सिद्धान्तलाई पुनर्जीवित गरेको छ । उक्त सिद्धान्तअनुसार अमेरिकाले पश्चिमी गोलार्धमा आफ्नो प्रभाव क्षेत्र कायम राख्ने दाबी गर्दछ । ‘प्रभाव क्षेत्र’ भन्नाले कुनै शक्तिशाली देशले औपचारिक रूपमा भूभाग कब्जा नगरी राजनीतिक, सैन्य वा आर्थिक निर्णयहरूमा प्रभुत्व जमाउन खोज्ने क्षेत्रलाई जनाउँछ । यो अवधारणा ऐतिहासिक रूपमा ल्याटिन अमेरिकामा अमेरिकी हस्तक्षेपलाई औचित्य ठहराउने ‘रूजवेल्ट कोरोलरी’सँग मेल खान्छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय कानुनका नियमहरूको सम्मान नगरिएकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै भेनेजुएलाका घटनाक्रमलाई ‘खतरनाक नजीर’ भनेका छन् । रोचले चेतावनी दिए, ‘एकातिर तपाईंले थुप्रै खतरा सिर्जना गर्नुभएको छ, अर्कोतिर आफ्नो दायराबाहिरको भूभाग कब्जा गर्न चाहने हरेक तानाशाही र अधिनायकवादी शासनलाई अनुमतिजस्तै सन्देश दिनुभएको छ ।’ ताइवान प्रश्न ट्रम्पको भेनेजुएलामाथिको आक्रमणअगावै चीन ताइवानमाथि दबाब बढाउन हौसिएको हो कि भन्ने प्रश्न उठ्दै आएका थिए । बेइजिङले लामो समयदेखि ताइवानलाई आफ्नो भू-भागको हिस्सा मान्दै आएको छ । डिसेम्बरमा चीनले ताइवान वरिपरि प्रत्यक्ष गोली–बारुदसहितका सैन्य अभ्यासहरू गर्यो, जसलाई उसले विदेशी हस्तक्षेपविरुद्धको चेतावनीका रूपमा प्रस्तुत गर्यो । नयाँ वर्षको सम्बोधनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानसँगको एकीकरण ‘अपरिहार्य’ रहेको घोषणा गरे, जुन अमेरिकी गुप्तचर मूल्यांकनसँग मेल खान्छ । जसअनुसार चीनले यो दशकभित्रै बल प्रयोग गरेर टापु कब्जा गर्न प्रयास गर्न सक्छ । तर ब्रुकिङ्स इन्स्टिच्युसनका वरिष्ठ फेलो तथा पूर्व अमेरिकी कूटनीतिज्ञ रायन हासले प्रत्यक्ष तुलना गर्न नहुने चेतावनी दिए । उनले एक्स (पूर्व ट्विटर) मा लेखे, ‘विदेश नीति विश्लेषकहरूमा ताइवानसँग तुलना गर्ने र ट्रम्पले चीनलाई ताइवानविरुद्ध प्रयोग गर्न सक्ने नजीर स्थापित गरे भनेर चेतावनी दिने आवेग हुनेछ । तर म त्यसप्रति सावधान रहन आग्रह गर्छु ।’ हासका अनुसार चीनले ताइवानविरुद्ध प्रत्यक्ष सैन्य कारबाही अन्तर्राष्ट्रिय कानुन वा मान्यताका कारण टारेको होइन, बरु हिंसाभन्दा तलको दबाब रणनीतिमा भर परेको हो । ‘बेइजिङ आजका घटनाबाट प्रेरणा लिएर ताइवानप्रतिको आफ्नो नीति बदल्नुभन्दा आफ्नो हित जोगाउने, अमेरिकी कदमको निन्दा गर्ने र अन्तर्राष्ट्रिय प्रणालीमा अमेरिकासँगको भिन्नता झन् तीव्र पार्नमै बढी केन्द्रित हुनेछ,’ हासले लेखे । आक्रमणपछि जारी वक्तव्यमा चीनको विदेश मन्त्रालयले ‘एक सार्वभौम राष्ट्रविरुद्ध अमेरिकाले गरेको खुला बल प्रयोग र राष्ट्रपतिको विरुद्धको कदमप्रति गहिरो आघात र कडा निन्दा’ व्यक्त गरेको छ । बेइजिङले यसलाई ‘वर्चस्ववादी कार्य’ भन्दै वासिङ्टनलाई ‘अन्य देशको सार्वभौमिकता र सुरक्षाको उल्लंघन रोक्न’ आह्वान गरेको छ । बीसीए रिसर्चका म्याक्रो–जियोपोलिटिकल प्रमुख रणनीतिकार मार्को पापिचका अनुसार ‘हालसम्मकै कुनै पनि अमेरिकी प्रशासनभन्दा ट्रम्प प्रशासन चीन र रुसजस्ता ठूला शक्तिहरूले आफ्ना प्रभाव क्षेत्र राख्न सक्छन् भन्ने अवधारणामा बढी सहज देखिन्छ ।’ ‘तर यसको अर्थ वासिङ्टनले ती देशहरूलाई आफ्नो प्रभाव क्षेत्र विस्तार गर्न अनुमति दिएको हो भन्ने होइन,’ उनले थपे । पापिचले सीएनबीसीको ‘स्क्वाक बक्स एसिया’ कार्यक्रममा भने, ‘ट्रम्प प्रशासनले ताइवानलाई ‘त्यागेको’ संकेत देखिँदैन ।’ उनले डिसेम्बरमा ताइवानले घोषणा गरेको ११ अर्ब डलरको हतियार खरिद सम्झौतालाई उदाहरण दिए । अमेरिकासँग ताइवानको पारस्परिक रक्षा सन्धि छैन, तर १९७९ को ताइवान सम्बन्ध ऐनले ताइवानको आत्मरक्षाका लागि आवश्यक हतियार उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । नियम तिम्रो लागि हो, मेरो लागि होइन कार्नेगी एन्डाउमेन्ट फर इन्टरनेशनल पिसका इभान फाइगेनबाउमका अनुसार अमेरिका सम्भवतः आफ्नो प्रभाव क्षेत्र पछ्याउनेछ, तर चीनलाई त्यस्तो अधिकार दिन चाहँदैन । उनले एक्समा लेखे, ‘संयुक्त राज्य अमेरिका एसियामा चिनियाँ प्रभाव क्षेत्रलाई ‘स्वीकृति’ दिनेवाला छैन । बरु उसले आफ्नै गोलार्धमा अमेरिकी प्रभाव क्षेत्र कायम राख्न खोज्नेछ र एसियामा चीनलाई त्यस्तो गर्न नदिने प्रयास गर्नेछ ।’ अर्को पोस्टमा उनले थपे, ‘अमेरिकी विदेश नीतिमा विरोधाभास र दोहोरो मापदण्ड छैनन् भनेर नसोचौं ।’ बीसीए रिसर्चका पापिचका अनुसार समय चीनको पक्षमा छ, र उसले ताइवानमा तुरुन्त कदम चाल्नैपर्ने दबाब छैन । बरु अमेरिका आफ्नै ‘पश्चिमी गोलार्ध’ मा केन्द्रित रहने सम्भावना बढी छ । उनले भने, ‘२०२६ को जनवरीमै ताइवानलाई सैन्य रूपमा एकीकरण गर्ने प्रयास गरेर सम्पूर्ण पश्चिमी विश्वलाई चीनविरुद्ध एकजुट गराउने जोखिम किन लिने ? जब आगामी १० वर्षमा समय सम्भवतः चीनकै पक्षमा छ र अमेरिका आफ्नो नजिकको क्षेत्रमै बढी ध्यान दिनेछ, विश्वभर कम ।’ (सीएनबीसीबाट अनुदित तथा सम्पादित)
१६० वटा स्टार्टअप उद्यममा मात्रै १४ सय बढीलाई रोजगारी
काठमाडौं । देशभरका स्टार्टअप उद्यममध्ये १६० वटा स्टार्टअप उद्यममा एकहजार ४ सय भन्दा बढिले रोजगारी पाइरहेको एक सरकारी अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले नेपालको कोशी प्रदेशमा रहेका स्टर्टअप उद्यमहरुमा गरेको अध्ययनमा १६० वटा स्टार्टअप उद्यममा आर्थिक वर्ष २०८०/८१ मा मात्रै कुल १ हजार ४३६ जनाले रोजगारी प्राप्त गरेका गरिरहेको पाइएको हो । अध्ययन प्रतिवेदनअनुसार रोजगारी पाउनेमा ४८.४ प्रतिशत महिला र ५१.६ प्रतिशत पुरुष रहेका छन् । क्षेत्रगत हिसाबमा सेवामूलक उद्यममा सबैभन्दा बढी ५७ प्रतिशत र सूचना प्रविधि क्षेत्रका उद्यममा सबैभन्दा कम २२.७ प्रतिशत महिला रोजगारीको हिस्सा रहेको छ । अध्ययनका क्रममा १६० वटा स्टार्टअप उद्यमको औसत क्षमता उपयोग ७१.४ प्रतिशत रहेको पाइएको छ । क्षेत्रगत रुपमा कृषि तथा वनजन्य क्षेत्रका उद्यमको औसत क्षमता उपयोग सबैभन्दा बढी ८२.१ प्रतिशत रहेको छ भने पर्यटन क्षेत्रका उद्यमको औसत क्षमता उपयोग सबैभन्दा कम ६०.७ प्रतिशत रहेको छ । सूचना प्रविधि, उत्पादनमूलक र सेवामूलक उद्यमको औसत क्षमता उपयोग क्रमशः ७२.० प्रतिशत, ६१.० प्रतिशत र ६४.८ प्रतिशत रहेको छ । अध्ययनका क्रममा स्टार्टअप उद्यममा प्रविधिको प्रयोगबारे पनि हेरिएको थियो । जसमध्ये १६० स्टार्टअप उद्यम मध्ये ४४ वटा उद्यममा उच्च प्रविधि प्रयोग भएको पाइयो भने १०४ वटा उद्यममा सामान्य प्रविधिको प्रयोग भएको छ भने १२ वटा उद्यममा प्रविधिको प्रयोग नभएको पाइएको छ । क्षेत्रगत रुपमा सूचना प्रविधि क्षेत्रका सबैभन्दा बढी ६६.७ प्रतिशत उद्यममा उच्च प्रविधिको प्रयोग भएको देखिन्छ भने कृषि तथा वनजन्य क्षेत्रका सबैभन्दा कम १०.६ प्रतिशत उद्यममा मात्र उच्च प्रविधिको प्रयोग भएको देखिन्छ । अध्ययन प्रतिवेदन अनुसार प्रविधिको प्रयोगले स्टार्टअप उद्यमको विकासमा महत्वपूर्ण योगदान पु¥याएको देखिन्छ । प्रविधिको प्रयोग गर्ने उद्यमीमध्ये सबैभन्दा बढी २९.४ प्रतिशतले प्रविधिको प्रयोगले ग्राहकसँगको पहुँचमा वृद्धि, २५.६ प्रतिशतले श्रम लागतमा कमी, १६.१ प्रतिशतले उत्पादकत्वमा वृद्धि, १२.८ प्रतिशतले उत्पादनमा वृद्धि, १०.६ प्रतिशतले उत्पादन लागतमा कमी र ५.५ प्रतिशतले अन्य (खास गरी गुणस्तर वृद्धि) मा सहयोग पुर्याएको बताएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ–‘यस अध्ययनमा समावेश कुल १६० वटा स्टार्टअप उद्यमहरू मध्ये १५५ वटा उद्यमले हाल सञ्चालन गरिरहेको व्यवसाय विस्तार गर्ने योजना बनाएको देखिन्छ भने ५ वटा उद्यमले व्यवसाय विस्तार नगर्ने देखिन्छ । ग्राहकसँगको पहुँचमा वृद्धि श्रम लागतमा कमी उत्पादकत्वमा वृद्धि उत्पादनमा वृद्धि उत्पादन लागतमा कमी अन्य प्रतिशत घड ३ वटा, उत्पादनमूलक र पर्यटन क्षेत्रका १/१ वटा बाहेक सबै उद्यमले आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाएको देखिन्छ ।’ स्टार्टअप उद्यम/व्यवसाय विस्तारको योजना बनाउने उद्यमीहरु मध्ये सबैभन्दा बढी ३३.३ प्रतिशतले क्षमता विस्तार, २९.६ प्रतिशतले वस्तु तथा सेवा विविधिकरण, १९ प्रतिशतले प्रविधिको प्रयोग र १८.१ प्रतिशतले बजार विस्तार गर्ने योजना बनाएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार अध्ययनमा समावेश भएका १६० वटा स्टार्टअप उद्यममध्ये आर्थिक वर्ष २०८०/८१ मा ८०.० प्रतिशत अर्थात १२८ वटा उद्यमहरू नाफामा रहेका छन् भने २०.० प्रतिशत अर्थात ३२ वटा उद्यमहरूले नोक्सान बेहोरेका छन् । अध्ययनमा समावेश गरिएका पाँच व्यावसायिक क्षेत्रका स्टार्टअप उद्यम मध्ये कृषि तथा वनजन्य क्षेत्रका सबैभन्दा बढी ८६.४ प्रतिशत उद्यमहरू नाफामा रहेको देखिन्छ भने सूचना प्रविधि क्षेत्रका सबैभन्दा कम ६० प्रतिशत उद्यमहरू मात्र नाफामा रहेको पाइएको छ । १६० स्टार्टअप उद्यमहरूको आ.व.२०८०/८१ को वित्तीय परिसूचकहरू हेर्दा ती स्टार्टअप उद्यमहरूको कुल बिक्री आम्दानी रु.९२ करोड ६४ लाख रहेको छ भने कुल नाफा १२ करोड ९२ लाख रहेको छ । स्टार्टअप उद्यमको औसत नाफा १३.९ प्रतिशत रहेको छ । त्यसैगरी आ.व.२०८०/८१ मा अध्ययनमा समावेश स्टार्टअप उद्यमहरूमा कुल लगानी २ अर्ब २४ करोड ९० लाख रहेको छ भने औसत लगानीमा प्रतिफल दर ५.७ प्रतिशत रहेको छ । अध्ययनमा समावेश भएका पाँच व्यावसायिक क्षेत्रका स्टार्टअप उद्यममध्ये पर्यटन क्षेत्रको कुल आम्दानीमा नाफा प्रतिशत सबैभन्दा उच्च २०.९ प्रतिशत रहेको छ भने सेवामूलक क्षेत्रको सबैभन्दा कम ९.९ प्रतिशत रहेको छ । कृषि तथा वनजन्य सूचना प्रविधि उत्पादनमूलक सेवामूलक पर्यटन समग्र प्रतिशत नाफा नोक्सान लगानीबाट प्राप्त प्रतिफलको दरसूचना प्रविधि क्षेत्रको सबैभन्दा बढी २०.९ प्रतिशत रहेको छ भने पर्यटन क्षेत्रमा सबैभन्दा कम ३ प्रतिशत रहेको छ । अध्ययनमा समावेश भएका १६० उद्यम मध्ये ९१.९ प्रतिशत उद्यम सफलता उन्मुख रहेको देखिन्छ भने ८.१ प्रतिशत उद्यम संकट उन्मुख रहेको देखिन्छ । क्षेत्रगत आधारमा कृषि तथा वनजन्य क्षेत्रका सबैभन्दा बढी ९८.५ प्रतिशत उद्यम सफलता उन्मुख रहेको देखिन्छ भने पर्यटन क्षेत्रमा सबैभन्दा कम ७७.३ प्रतिशत उद्यम सफलता उन्मुख रहेको पाइएको छ । त्यसैगरी सूचना प्रविधि, उत्पादनमूलक र सेवामूलक क्षेत्रका क्रमशः ८६.७ प्रतिशत, ९३.१ प्रतिशत र ८९.३ प्रतिशत उद्यम सफलता उन्मुख रहेको देखिन्छ । सफलता उन्मुख स्टार्टअप उद्यमले सफलता उन्मुख हुनुको कारणमा ४७.१ प्रतिशतले बजारको उपलब्धता, २६.३ प्रतिशतले प्रविधिको प्रयोग, १३.५ प्रतिशतले व्यवसायको इको सिस्टम निर्माण, ५.८ प्रतिशतले श्रमिकको उपलब्धता, २.७ प्रतिशतले उर्जा तथा पूर्वाधारको उपलब्धता, १.९ प्रतिशतले पुँजीको उपलब्धता र २.७ प्रतिशतले अन्य कारण (वस्तु तथा सेवामा भएको नयाँपन, स्वास्थ्यवर्धक उत्पादन, गुणस्तर, जनचेतनामा वृद्धि आदि) उल्लेख गरेको देखिन्छ । संकट उन्मुख उद्यमहरूले संकट उन्मुख हुनुका कारणमा ३०.८ प्रतिशतले बजारको अभाव, २६.९ प्रतिशतले पुँजीको अभाव, २३.२ प्रतिशतले प्रविधिको अभाव, ७.७ प्रतिशतले श्रमिक/कामदारको अभाव, ३.८ प्रतिशतले व्यवसायले कृषि तथा वनजन्य सूचना प्रविधि उत्पादनमूलक सेवामूलक पर्यटन प्रतिशत सफलता उन्मुख समस्याग्रस्त बजार प्रविधि व्यवसायको इको सिस्टम श्रमिक उर्जा तथा पूर्वाधार पुँजी अन्य प्रतिशत सिस्टम निर्माण गर्न नसक्नु, ३.८ प्रतिशतले उर्जा/पूर्वाधारको कमी र ३.८ प्रतिशले विदेशमा भुक्तानी गर्न र विदेशबाट भुक्तानी प्राप्तिमा कठिनाई, उद्यमको नगद प्रवाह र बैंकको किस्ताको बेमेल, खुल्ला सिमानाका कारण हुने अवैध आयात जस्ताहरु कारण देखाएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
काठमाडौं । सर्वोच्च अदालतमा आगजनीमा परेर जलेका १० हजार बढी मुद्दाको मिसिल तयार पारिएको छ । सर्वोच्चमा रहेका कुल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा २० हजार मिसिल आगलागीमा परेर जलेको थियो । चार हजार मिसिल मात्रै आगलागीबाट जोगिएको थियो । सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार यही पुस २१ गतेसम्म सेवाग्राही संस्था, महान्यायाधिवक्ताको कार्यालयबाट गरी हालसम्म जलेका मुद्दाहरुमध्ये १० हजार ३४० मुद्दाका मिसिल तयार पारिएको छ । सर्वोच्च अदालतले जलेका मुद्दाका मिसिलहरु महान्यायाधिवक्ता कार्यालय, नेपाल बार एसोसिएसन र सम्बन्धित मुद्दाका पक्षहरुसँग उपलब्ध गराउन आग्रह गरेको थियो । सोही अनुसार मुद्दाका मिसिलहरु सङ्कलन गर्ने काम भइरहको छ ।
नेपाल एसबीआई बैंकद्वारा १०७ बालबालिकालाई न्यानो कपडालगायत सामग्री सहयोग
काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठन (बाल मन्दिर) मा आश्रित १०७ जना बालबालिकालाई न्यानो कपडा, चप्पल, ब्ल्याङ्केट, म्याट्रेस, वाटर प्युरिफायरलगायत अत्यावश्यक सामग्री सहयोग गरेको छ । बैंकका अनुसार उक्त पहलबाट बालबालिकाको तत्काल आवश्यकता पूर्ति हुनुका साथै उनीहरूको समग्र विकासमा सहयोग पुर्याउने लक्ष्य लिइएको छ । सहयोग सामग्री हस्तान्तरण कार्यक्रमअन्तर्गत बैंकका अध्यक्ष वेंकट बंसीधर कुंचाले नेपाल बाल संगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेलाई सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, सञ्चालक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रवीण मुनि बज्राचार्यलगायत बैंक तथा संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । बैंकले समुदायस्तरमा यस्ता सामाजिक गतिविधि समय–समयमा सञ्चालन गर्दै आएको जनाएको छ । विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल एसबीआई बैंक लिमिटेडका हाल देशभर १०२ शाखा, २२ एक्सटेन्सन काउन्टर, २१ शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।
देउवा पक्षका ३० केन्द्रीय सदस्यको शेखरसँग भेट, विवाद समाधानमा अग्रसर हुन आग्रह
काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय ३० जना केन्द्रीय सदस्यहरूले वरिष्ठ नेता डा. शेखर कोइरालासँग भेट गरी पार्टीभित्र देखिएको विवाद समाधानमा अग्रसर भूमिका खेल्न आग्रह गरेका छन् । नेताहरूले मंगलबार बिहान कोइरालासँग करिब साढे दुई घण्टा लामो छलफल गरेको वार्तामा सहभागी नेता पुष्पा भुसालले जानकारी दिइन् । भेटमा पार्टीभित्र बढ्दै गएको मतभेद, महाधिवेशनको मिति र प्रकृतिसँग सम्बन्धित विवाद तथा त्यसको समाधानका उपायबारे गहन छलफल भएको उनले जानकारी दिइन् । केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ गतेको बैठकले बहुमतका आधारमा वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेपछि देखिएको विवाद समाधानका लागि अग्रसर हुन आफूहरूले आग्रह गरेको अर्का केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार अहिले देखिएका समस्या समाधानका लागि तीनवटा प्रस्तावमा छलफल भइरहेको छ । पछिल्लो समयमा नेता कोइरालासँग पार्टी बचाउन आग्रह गर्दै पुग्ने नेताहरू बढिरहेका छन् । उनी विशेष महाधिवेशनको पक्षमा पनि खुलेर उभिएका छैनन् । तर, केन्द्रीय कार्यसमितिले सर्वसम्मत निर्णय गरे विशेष महाधिवेशन गर्न सकिने धारणा उनले राख्दै आएका छन् । आजको छलफलमा नेताहरू राजन केसी, उदयशमशेर राणा, योगेन्द्र चौधरी लगायतका नेताहरू सहभागी रहेको नेता शेर्पाले जानकारी दिए । छलफल पछि बोल्दै शेर्पाले भने, ‘पार्टीभित्रका विवाद समाधानका विषयमा हामीले नेता कोइरालासँग विस्तृत छलफल ग‍रेका छौं ।’ उनका अनुसार नेता कोइराला पार्टीभित्रका मतभेद न्यूनीकरण गर्दै अघि बढ्न सकारात्मक देखिएका छन् । बिहान कोइराला निवास पुगेका सहमहामन्त्री बद्री पाण्डेले नेता कोइरालाले अगाडि सारेका प्रस्तावहरूले मात्रै पार्टीको एकता मजबुत पार्ने दावी गरे । उनले भने, ‘सबै पक्षका नेताहरूले कोइरालालाई नेतृत्व लिन र विवाद समाधान गर्न आग्रह गरेका छन् ।’