विदेशका ठूल्ठूला लगानीकर्ता नेपालमा लगानी गर्न तयार छन् : विनोद चौधरी

काठमाडौं । उद्योगी विनोद चौधरीले विदेशी लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् । उनले मुलुकमा लगानी आकर्षित गर्ने पर्याप्त सम्भावना रहेकाले नीतिगत र प्रक्रियागत अवरोध हटाउन आवश्यक रहेको बताए । 

नेपाल उद्योग परिसंघको २२औं वार्षिक साधारणसभामा बोल्दै चौधरीले नेपाल अहिले आर्थिक रूपान्तरणको महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै सरकार र निजी क्षेत्रले उपलब्ध अवसरलाई सदुपयोग गर्नुपर्ने बताए । परिसंघका पूर्वअध्यक्ष समेत रहेका उनले विदेशका ठूला–ठूला लगानीकर्ता नेपालमा आएर काम गर्न र लगानी गर्न तयार भए पनि लगानीमैत्री वातावरण निर्माणमा अझै सुधार आवश्यक रहेको बताए । 

‘नेपालमा काम गर्ने मान्छेको कमी छैन, विदेशका ठूलाठूला लगानीकर्ता पनि नेपालमा आएर काम गर्न तयार छन्,’ चौधरीले भने, ‘तर लगानीलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छ ।’

उनले पछिल्लो समय नयाँ पुस्ताको प्रभाव रहेको सरकारले तीव्र गतिमा काम गर्ने अठोटका साथ १०० बुँदे कार्यसूची अघि सारेको उल्लेख गर्दै यसले निजी क्षेत्रलाई आशावादी बनाएको बताए ।  सरकारले लिएका केही नीतिगत निर्णय र सुधारका प्रयासले सकारात्मक सन्देश दिएको उनको भनाइ छ ।

चौधरीले यस वर्षको बजेटलाई पनि फरक शैली र सोचका साथ प्रस्तुत गरिएको भन्दै यसले परिवर्तनको अपेक्षा बढाएको बताए । ‘नयाँ ढंगले आएको बजेटले परिवर्तनको आशा जगाएको छ,’ उनले भने । 

मुलुकले अभूतपूर्व अवसर प्राप्त गरेको उल्लेख गर्दै उनले सरकारका साहसिक निर्णयलाई कार्यान्वयनमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए । ‘मुलुकले अभूतपूर्व अवसरलाई सदुपयोग गर्नुपर्छ । सरकारले बोल्ड डिसिजन गरिरहेको छ,’ उनले भने । 

चौधरीले नेपालमा पर्याप्त जनशक्ति, प्राकृतिक स्रोत र बजार सम्भावना रहेकाले सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउन सके विदेशी लगानी भित्र्याउने तथा आर्थिक विकासलाई तीव्रता दिने अवसर रहेको धारणा व्यक्त गरे । 
 

Share News