‘विगतका गल्ती र भारी हामी बोक्दैनौं, नेपाल–भारतबीच सम्वृद्धिको सहकार्य हुन्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारत विगतका गल्ती र बोझ बोकेर अगाडि बढ्न नसक्ने भन्दै दुवै देश समृद्धिको साझा यात्रामा सहकार्य गर्न सहमत भएको बताएका छन् । 

भारतको पाँचदिने भ्रमण सम्पन्न गरेर शुक्रबार स्वदेश फर्किएका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने विषयमा सकारात्मक छलफल भएको बताए ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्तालाई पारदर्शी र खुला संवादका रूपमा व्याख्या गर्दै दुई देशबीचको सम्बन्ध तथा साझा समृद्धिका विषयमा केन्द्रित भएर कुराकानी भएको जानकारी दिए । 

‘पारदर्शिताका रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी भएको छ । नेपाल–भारत सम्बन्ध र समृद्धिका विषयमा विस्तृत छलफल भएको छ,’ लामिछानेले भने । 

उनका अनुसार खेलकुद, सूचना प्रविधि तथा अन्य सम्भावना बोकेका क्षेत्रहरूमा सहकार्य र लगानी विस्तारका विषयमा पनि दुवै पक्षबीच विचार आदानप्रदान भएको छ । ती क्षेत्रमा लगानी भित्र्याएर आर्थिक विकास र समृद्धिलाई गति दिन सकिने विषयमा जोड दिइएको उनले बताए ।

‘हामीले अगाडि बढ्न चाहेका खेलकुददेखि सूचना प्रविधिसम्मका क्षेत्रबारे कुराकानी गरेका छौं । ती क्षेत्रमा लगानी गरेर समृद्धि हासिल गर्ने विषयमा सकारात्मक समझदारी बनेको छ,’ उनले भने । 

लामिछानेले नेपाल–भारत सम्बन्धलाई विगतका विवाद र असमझदारीको दृष्टिले मात्र हेर्न नहुने उल्लेख गर्दै वर्तमान पुस्ताले साझा हित र पारस्परिक समृद्धिलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताए ।

‘विगतका गल्ती र भारी हामी बोक्दैनौं । वर्तमान सरकारले आपसी समृद्धि र हितका लागि काम गर्ने समझदारी बनाएको छ,’ उनले भने, ‘हामी सँगै हिँडेर समृद्धिको बाटोमा जाने सहमति भएको छ ।’

भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न तहमा संवाद र सहकार्य विस्तार गर्ने विषयमा पनि सकारात्मक वातावरण बनेको उनको दाबी छ ।

लामिछानेले नेपालबाट हुने औपचारिक भ्रमणका सम्बन्धमा पनि समझदारी बनेको जानकारी दिँदै आवश्यकता र सन्दर्भअनुसार सरकार तथा दलका प्रतिनिधिहरू सहभागी हुने बताए ।

‘प्रधानमन्त्री वालेन्द्र शाह आवश्यक पर्ने ठाउँमा जानुहुन्छ, नचाहिने ठाउँमा पार्टी सभापति र अन्य साथीहरू जाने सहमति भएको छ,’ उनले भने, ‘सरकारलाई काम गर्न दिऔं ।’

उनले नेपाल–भारत सम्बन्धलाई केवल कूटनीतिक सम्बन्धका रूपमा नभई आर्थिक, सामाजिक र विकास साझेदारीको दृष्टिकोणबाट अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
 
 

Share News