विकासन्युज

नवीकरणीय ऊर्जा विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने सरकारको लक्ष्य

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन् । शुक्रबार विश्व वातावरण दिवसको अवसरमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा आयोजित ‘नेपालमा ग्रीन हाइड्रोजन विकासमा भएका पहलहरूको राष्ट्रिय समीक्षा’ कार्यशालालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको प्रचुर सम्भावना भएकाले नेपाल ग्रीन हाइड्रोजन उत्पादनका लागि अत्यन्त सम्भावनायुक्त मुलुक रहेको बताए । उद्योग, यातायात तथा ऊर्जा भण्डारणजस्ता क्षेत्रमा कार्बन उत्सर्जन न्यूनीकरणका लागि विश्वभर ग्रीन हाइड्रोजनको प्रयोग बढ्दै गएको उनले उल्लेख गरे  । उनले विश्वभर यसले ऊर्जा सुरक्षा सुदृढ गर्न, औद्योगिक प्रतिस्पर्धात्मक बढाउन तथा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न महत्वपूर्ण योगदान पु¥याउने धारणा राखे । मन्त्री श्रेष्ठले हरित अर्थतन्त्र निर्माणका लागि विकसित तथा विकासशील मुलुकहरूले ग्रीन हाइड्रोजनमा लगानी बढाइरहेको सन्दर्भमा नेपालले पनि यस अवसरलाई उपयोग गर्नुपर्ने बताए ।  स्वच्छ ऊर्जाको उपयोगमार्फत ग्रीन हाइड्रोजन उत्पादन गरी औद्योगिक विकास, ऊर्जा विविधीकरण तथा निर्यातको नयाँ सम्भावना सिर्जना गर्न सकिने उनको भनाइ थियो ।  यसले ऊर्जा आत्मनिर्भरता र हरित औद्योगिकीकरणलाई समेत गति दिने उनले उल्लेख गरे  । उनले सरकारले ग्रीन हाइड्रोजन नीति-२०८० कार्यान्वयनमा ल्याइसकेको र आगामी आर्थिक वर्षको बजेटमार्फत व्यावसायिक उत्पादनका लागि पाइलट परियोजना सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरिएको जानकारी दिए ।  अनुसन्धान, प्रविधि विकास, लगानी आकर्षण तथा निजी क्षेत्रको सहभागिता विस्तारमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।  ग्रीन हाइड्रोजनको व्यावसायिक विकासका लागि सरकारी निकाय, विकास साझेदार, विश्वविद्यालय, अनुसन्धान संस्था तथा निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले ज्ञान, प्रविधि, लगानी र अनुभवको साझेदारीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए । उनले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी छुट्टै कानुन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिँदै संसद्को चालु अधिवेशनबाट सम्बन्धित विधेयक पारित गर्ने लक्ष्यसहित काम भइरहेको बताए ।  उक्त कानुन लागू भएपछि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता क्षेत्रको प्रवद्र्धनका लागि थप सशक्त कानुनी र नियामक आधार तयार हुने उले विश्वास व्यक्त गरे ।  कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जिवी चटौतले अतिरिक्त जलविद्युत् ऊर्जालाई उच्च मूल्यको स्वच्छ इन्धनमा रूपान्तरण गर्ने माध्यमका रूपमा ग्रीन हाइड्रोजनको विकास आवश्यक रहेको बताए ।  उनले आगामी आर्थिक वर्षको बजेटमा हेटौंडामा २।५ मेगावाट क्षमताको ग्रीन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाका रूपमा अघि बढाउन बजेट व्यवस्था गरिएको जानकारी दिए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले नेपालमा ग्रीन हाइड्रोजन विकासका लागि भइरहेका प्रयासहरूको समीक्षा, अनुभव आदानप्रदान तथा आगामी कार्यदिशा तय गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको बताए ।  केन्द्रले ग्रीन हाइड्रोजन नीति-२०८० को कार्यान्वयन, सम्भावित परियोजना पहिचान तथा लगानी प्राथमिकता निर्धारणसम्बन्धी अध्ययनसमेत गरिरहेको उनले जानकारी दिए । कार्यशालामा नेपाल विद्युत् प्राधिकरण, नेपाल आयल निगम, जल तथा ऊर्जा आयोगको सचिवालय, विभिन्न विकास साझेदार संस्था, विश्वविद्यालय तथा निजी क्षेत्रका प्रतिनिधिहरूले ग्रीन हाइड्रोजन क्षेत्रमा भएका पहल, वर्तमान अवस्था र भावी योजनाबारे प्रस्तुति दिएका थिए । कार्यक्रममा भएको छलफलबाट प्राप्त सुझावका आधारमा ग्रीन हाइड्रोजन नीति कार्यान्वयनका लागि कार्ययोजना तयार गर्ने, अध्ययन-अनुसन्धान तथा नमुना परियोजना सञ्चालन गर्ने, सुरक्षा मापदण्ड विकास गर्ने, प्राविधिक जनशक्ति उत्पादन तथा क्षमता अभिवृद्धि गर्ने र अन्तर्राष्ट्रिय सहकार्यमार्फत ठूला परियोजनाको सम्भावना खोजिने केन्द्रले जनाएको छ ।

प्रधानमन्त्रीले काम गर्नुहुन्छ, अनावश्यक भ्रमण गर्नुहुन्नँ : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारको मुख्य प्राथमिकता काम गर्ने रहेको भन्दै प्रधानमन्त्रीले आवश्यक परेमा मात्र विदेश भ्रमण गर्ने बताएका छन् । पाँचदिने भारत भ्रमण सम्पन्न गरेर शुक्रबार स्वदेश फर्किएका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री वालेन्द्र शाहको भूमिका काममुखी हुने र अनावश्यक भ्रमणमा केन्द्रित नहुने बताए । 'प्रधानमन्त्री वालेन्द्र शाह आवश्यक पर्ने ठाउँमा जानुहुन्छ, नचाहिने ठाउँमा पार्टी सभापति र अन्य साथीहरू जाने सहमति भएको छ, 'उनले भने, सरकारलाई काम गर्न दिऔं ।'  विमानस्थलमा सञ्चारकर्मीले पछिल्लो समय आफू प्रधानमन्त्री बन्न सक्ने चर्चा चलिरहेको विषयमा प्रश्न गरेपछि लामिछानेले त्यसबारे टिप्पणी गर्न अस्वीकार गरे। उनले निर्वाचनअघि पार्टीले सार्वजनिक गरेको प्रतिबद्धता स्मरण गराउँदै त्यसैमा पार्टी अडिग रहेको बताए । 'म केही भन्न चाहन्नँ। निर्वाचनअघि हामीले लेखेको कागज एकपटक पढ्न आग्रह गर्न चाहन्छु,' उनले भने । लामिछानेले रास्वपा कुनै पनि प्रकारको राजनीतिक अस्थिरताको पक्षमा नरहेको स्पष्ट पार्दै जनताले स्थिर सरकार र स्थिर राजनीतिक वातावरणको अपेक्षासहित आफ्नो पार्टीलाई समर्थन गरेको बताए । 'हामी अस्थिरताको पक्षमा छैनौं, हामी स्थिरताको पक्षमा छौं,' उनले भने, 'नेपाली जनताले स्थिरताका लागि हामीलाई मतदान गरेका हुन्। हामीले जनतासँग गरेको वाचाप्रति अडिग छौं र रहिरहन्छौं ।'  उनले सरकारलाई काम गर्ने वातावरण दिनुपर्नेमा जोड दिँदै अहिलेको आवश्यकता राजनीतिक खिचातानीभन्दा पनि सुशासन, विकास र समृद्धिको एजेन्डालाई अघि बढाउनु रहेको बताए ।

१०० बिलियन डलरको अर्थतन्त्रका लागि निजी क्षेत्रको साथ अनिवार्यः अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई १०० बिलियन डलरको अर्थतन्त्र बनाउने लक्ष्य हासिल गर्न निजी क्षेत्रको साथ अनिवार्य रहेको बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) को २३औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले मुलुकको आर्थिक समृद्धिमा निजी क्षेत्र नै मुख्य संवाहक भएको प्रष्ट पारे । ‘सधैं जोखिम मोलेर लगानी गर्ने निजी क्षेत्र नै हो,’ साधारणसभालाई सम्बोधन गर्दै उनले भने, ‘जथाभावी नीति नियम बनाएर निजी क्षेत्रलाई हतोत्साही गर्ने काम अब हुनुहुँदैन । त्यसैले अहिलेको सरकारले जग र थिति बसाउने गरी बजेट ल्याएको छ ।’ अर्थमन्त्री डा. वाग्लेले सरकारको मुख्य ध्यान सुशासन कायम गर्ने र पूर्वाधार क्षेत्रमा ’बिग पुस’ (ठूलो फड्को) मार्ने कुरामा केन्द्रित रहेको बताए ।  विगतमा सुरु भएर अलपत्र परेका तथा अधुरा रहेका ठूला–ठूला आयोजनाहरूलाई पूरा गर्न यसपटक पूर्वाधार क्षेत्रमा बढी बजेट विनियोजन गरिएको उनको दाबी छ । आर्थिक सुधारका लागि सरकारले कडा कदम चालेको उल्लेख गर्दै उनले भने, ‘सरकारले तीन दिनभित्रै डेढ सयभन्दा बढी ऐन संशोधन गरेको छ भने दर्जनभन्दा बढी संस्थाहरू खारेज गरिदिएको छ ।’ शिथिल बनेको अर्थतन्त्रमा निजी क्षेत्रलाई फेरि ‘तताउन’ र चलायमान बनाउन सरकारले करका दरहरूमा महत्त्वपूर्ण परिवर्तन गरेको अर्थमन्त्रीले जानकारी दिए । उनले ठूला उद्योगीहरूलाई प्रोत्साहन गर्न आयकरको माथिल्लो सीमा घटाइएको उदाहरण समेत प्रस्तुत गरे । ‘उदाहरणका लागि, उद्योगी विनोद चौधरीले तिर्ने आयकरमा १० प्रतिशत कटौती गर्दै ३९ प्रतिशतबाट २९ प्रतिशतमा झारिएको छ । यसले ठूला लगानीकर्तालाई नेपालमै लगानी थप्न प्रोत्साहन मिल्नेछ,’ अर्थमन्त्रीले भने । ’नीतिगत विचौलिया’ प्रवृत्तिको अन्त्य र बजेटको इतिहासकै उच्च निजी क्षेत्रमैत्री रूप विगतका वर्षहरूमा बजेट निर्माणका बेला करका दरहरू थपघट गर्न हुने गरेका अस्वस्थ अभ्यास र चलखेललाई यसपटक पूर्ण रूपमा अन्त्य गरिएको उनले स्पष्ट पारे ।  बजेट पूर्णतः पारदर्शी र देशको आवश्यकता अनुरूप आएको उनको भनाइ थियो । बजेट कतिसम्म निजी क्षेत्रमैत्री छ भन्ने कुरा प्रष्ट्याउँदै अर्थमन्त्री डा. वाग्लेले भने, ‘यदि सीएनआई आफैले बजेटको ड्राफ्ट तयार गरेको भए पनि सायद यति धेरै निजी क्षेत्र मैत्री बजेट आउने थिएन होला । यो बजेटले उद्योगी र व्यवसायीमा नयाँ उत्साह जगाउनेछ ।’ 

‘विगतका गल्ती र भारी हामी बोक्दैनौं, नेपाल–भारतबीच सम्वृद्धिको सहकार्य हुन्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारत विगतका गल्ती र बोझ बोकेर अगाडि बढ्न नसक्ने भन्दै दुवै देश समृद्धिको साझा यात्रामा सहकार्य गर्न सहमत भएको बताएका छन् ।  भारतको पाँचदिने भ्रमण सम्पन्न गरेर शुक्रबार स्वदेश फर्किएका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने विषयमा सकारात्मक छलफल भएको बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्तालाई पारदर्शी र खुला संवादका रूपमा व्याख्या गर्दै दुई देशबीचको सम्बन्ध तथा साझा समृद्धिका विषयमा केन्द्रित भएर कुराकानी भएको जानकारी दिए ।  ‘पारदर्शिताका रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी भएको छ । नेपाल–भारत सम्बन्ध र समृद्धिका विषयमा विस्तृत छलफल भएको छ,’ लामिछानेले भने ।  उनका अनुसार खेलकुद, सूचना प्रविधि तथा अन्य सम्भावना बोकेका क्षेत्रहरूमा सहकार्य र लगानी विस्तारका विषयमा पनि दुवै पक्षबीच विचार आदानप्रदान भएको छ । ती क्षेत्रमा लगानी भित्र्याएर आर्थिक विकास र समृद्धिलाई गति दिन सकिने विषयमा जोड दिइएको उनले बताए । ‘हामीले अगाडि बढ्न चाहेका खेलकुददेखि सूचना प्रविधिसम्मका क्षेत्रबारे कुराकानी गरेका छौं । ती क्षेत्रमा लगानी गरेर समृद्धि हासिल गर्ने विषयमा सकारात्मक समझदारी बनेको छ,’ उनले भने ।  लामिछानेले नेपाल–भारत सम्बन्धलाई विगतका विवाद र असमझदारीको दृष्टिले मात्र हेर्न नहुने उल्लेख गर्दै वर्तमान पुस्ताले साझा हित र पारस्परिक समृद्धिलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताए । ‘विगतका गल्ती र भारी हामी बोक्दैनौं । वर्तमान सरकारले आपसी समृद्धि र हितका लागि काम गर्ने समझदारी बनाएको छ,’ उनले भने, ‘हामी सँगै हिँडेर समृद्धिको बाटोमा जाने सहमति भएको छ ।’ भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न तहमा संवाद र सहकार्य विस्तार गर्ने विषयमा पनि सकारात्मक वातावरण बनेको उनको दाबी छ । लामिछानेले नेपालबाट हुने औपचारिक भ्रमणका सम्बन्धमा पनि समझदारी बनेको जानकारी दिँदै आवश्यकता र सन्दर्भअनुसार सरकार तथा दलका प्रतिनिधिहरू सहभागी हुने बताए । ‘प्रधानमन्त्री वालेन्द्र शाह आवश्यक पर्ने ठाउँमा जानुहुन्छ, नचाहिने ठाउँमा पार्टी सभापति र अन्य साथीहरू जाने सहमति भएको छ,’ उनले भने, ‘सरकारलाई काम गर्न दिऔं ।’ उनले नेपाल–भारत सम्बन्धलाई केवल कूटनीतिक सम्बन्धका रूपमा नभई आर्थिक, सामाजिक र विकास साझेदारीको दृष्टिकोणबाट अघि बढाउनुपर्नेमा उनले जोड दिए ।    

सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल सवार गाडी गुल्मीमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरविक्रम विश्वकर्माले दुर्घटना भएको पुष्टि गर्दै घटनाबारे थप विवरण आउन बाँकी रहेको बताएका छन् । उनका अनुसार दुर्घटनाको कारण, गाडीमा सवार व्यक्तिहरूको अवस्था तथा क्षतिको विवरण हालसम्म प्राप्त भएको छैन । प्रहरीले घटनास्थलबाट थप जानकारी संकलन गरिरहेको जनाएको छ। दुर्घटनासम्बन्धी विस्तृत विवरण प्राप्त भएपछि सार्वजनिक गरिने डीएसपी विश्वकर्माले बताए ।

रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । जेठ १८ गतेदेखि भारत भ्रमणमा रहेका सभापति लामिछाने शुक्रवार साँझ काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।  भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए ।  उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एशियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेटवार्ता गरे ।  भारत भ्रमणको क्रममा सीमा समस्या लगायत नेपाल–भारतका सरोकार र प्राथमिकतासँग सम्बन्धित समग्र विषयमा छलफल भएको सभापति लामिछानेले जानकारी दिए ।

विदेशका ठूल्ठूला लगानीकर्ता नेपालमा लगानी गर्न तयार छन् : विनोद चौधरी

काठमाडौं । उद्योगी विनोद चौधरीले विदेशी लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् । उनले मुलुकमा लगानी आकर्षित गर्ने पर्याप्त सम्भावना रहेकाले नीतिगत र प्रक्रियागत अवरोध हटाउन आवश्यक रहेको बताए ।  नेपाल उद्योग परिसंघको २२औं वार्षिक साधारणसभामा बोल्दै चौधरीले नेपाल अहिले आर्थिक रूपान्तरणको महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै सरकार र निजी क्षेत्रले उपलब्ध अवसरलाई सदुपयोग गर्नुपर्ने बताए । परिसंघका पूर्वअध्यक्ष समेत रहेका उनले विदेशका ठूला–ठूला लगानीकर्ता नेपालमा आएर काम गर्न र लगानी गर्न तयार भए पनि लगानीमैत्री वातावरण निर्माणमा अझै सुधार आवश्यक रहेको बताए ।  ‘नेपालमा काम गर्ने मान्छेको कमी छैन, विदेशका ठूलाठूला लगानीकर्ता पनि नेपालमा आएर काम गर्न तयार छन्,’ चौधरीले भने, ‘तर लगानीलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छ ।’ उनले पछिल्लो समय नयाँ पुस्ताको प्रभाव रहेको सरकारले तीव्र गतिमा काम गर्ने अठोटका साथ १०० बुँदे कार्यसूची अघि सारेको उल्लेख गर्दै यसले निजी क्षेत्रलाई आशावादी बनाएको बताए ।  सरकारले लिएका केही नीतिगत निर्णय र सुधारका प्रयासले सकारात्मक सन्देश दिएको उनको भनाइ छ । चौधरीले यस वर्षको बजेटलाई पनि फरक शैली र सोचका साथ प्रस्तुत गरिएको भन्दै यसले परिवर्तनको अपेक्षा बढाएको बताए । ‘नयाँ ढंगले आएको बजेटले परिवर्तनको आशा जगाएको छ,’ उनले भने ।  मुलुकले अभूतपूर्व अवसर प्राप्त गरेको उल्लेख गर्दै उनले सरकारका साहसिक निर्णयलाई कार्यान्वयनमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए । ‘मुलुकले अभूतपूर्व अवसरलाई सदुपयोग गर्नुपर्छ । सरकारले बोल्ड डिसिजन गरिरहेको छ,’ उनले भने ।  चौधरीले नेपालमा पर्याप्त जनशक्ति, प्राकृतिक स्रोत र बजार सम्भावना रहेकाले सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउन सके विदेशी लगानी भित्र्याउने तथा आर्थिक विकासलाई तीव्रता दिने अवसर रहेको धारणा व्यक्त गरे ।   

राणा र प्रसाईं मिलेर पार्टी खोल्ने, मलमासपछि घोषणा

काठमाडौं । ‘नागरिक बचाऊ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच नयाँ राजनीतिक दल गठन गर्ने औपचारिक सहमति भएको छ ।  बृहत् राष्ट्रवादी एकता कायम गरी देशलाई नयाँ दिशा दिने उद्देश्यका साथ दुई पक्षबीच ११ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो । शुक्रबार आज दुवै नेताहरूले हस्ताक्षर गरी जारी गरेको सम्झौता पत्रमा संवैधानिक राजसंस्थाको पुनःस्थापना, वैदिक सनातन हिन्दू अधिराज्य र युवा तथा महिलाको ६० प्रतिशत सहभागिता रहने गरी नयाँ पार्टी घोषणा गर्नेसम्मका रणनीतिक बुँदाहरू समेटिएका छन् । सम्झौता पत्रको प्रस्तावनामा नेपालको भू-अखण्डता, सांस्कृतिक मौलिकता, धार्मिक स्वतन्त्रता, भाषिक विविधता र सभ्यतागत निरन्तरताको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।  विदेशी प्रभाव र आन्तरिक विखण्डनविरुद्ध राष्ट्रलाई सुदृढ दिशा दिनु आजको प्रमुख आवश्यकता रहेको ठहर गर्दै संसद्‌मा किरात र बौद्धसहितको वैदिक सनातन हिन्दू अधिराज्य र संवैधानिक राजसंस्थाको पुनःस्थापनाका लागि एक सशक्त, लोकतान्त्रिक तथा राष्ट्रवादी राजनीतिक शक्तिको आवश्यकतालाई आत्मसात् गरिएको पत्रमा उल्लेख छ । सहमतिका ११ मुख्य बुँदाहरू  १. सनातन हिन्दू अधिराज्य: नेपालको भूगोल, भूगोलको गर्भमा रहेको किराँत, बौद्धसहितको सनातन हिन्दू अधिराज्य। २. राष्ट्रवादि दर्शन: राष्ट्रिय एकताका प्रतिक श्री ५ पृथ्वीनारायण शाहका दिव्य उपदेशमा आधारित राष्ट्रवादि दर्शन। ३. सुधारमुखि संघीयता: राष्ट्रिय स्वाभिमान सहितको सुधारमुखी संघीयता। ४. दोहोरो नागरिकताको व्यवस्था: एक पटकको नेपाली सधैको नेपाली र दोहोरो नागरिकता राख्न पाउनु पर्ने व्यवस्था। ५. ऋण तथा सुकुम्बासी समस्या समाधान: लघुवित्त, सहकारी, बैंक र मिटरब्याजिबाट कालो सुचिमा पारिएका भुमिविहिन सुकुम्बासी नेपाली नागरिकको दिगो समस्या समाधान। ६. परराष्ट्र नीतिस् असंलग्न परराष्ट्र नीति । ७. सुशासन : सुशासन र भ्रष्टाचार मुक्त समाज । ८. अर्थतन्त्र: स्वदेशी उत्पादनमा आधारित मिश्रीत अर्थतन्त्र । ९. विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दल, अभियान, संगठन र व्यक्तिहरुलाई साथ लिएर नयाँ राजनीतिक पार्टी घोषणा १०. नयाँ निर्माण हुने राजनीतिक दलमा ६० प्रतिशत युवा तथा महिला सहभागिता ११. नेपाली नागरिकको गर्भबाट जन्मिएको नागरिक केन्द्रित राष्ट्रवादी दर्शन