तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा
टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले किशोरावस्थामा देखिने तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा दिन थालेको छ । पालिकाको स्वास्थ्य शाखाले मानसिक स्वास्थ्य सेवालाई प्राथमिकता दिएर विद्यालय तथा समुदायस्तरमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गरिरहेको जनाएको छ । हालसम्म २० वटा विद्यालय र १० वटा समुदायमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भइसकेको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए । कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थी र टोल विकास संस्थामा आबद्ध स्थानीयलाई मानसिक स्वास्थ्यबारे सचेतना दिइएको उनले बताए । 'हामीले अभियानकै रूपमा सचेतना कार्यक्रम सञ्चालन गरेका छौँ । जेठ महिनामा अभियानका धेरै विद्यार्थी र नागरिकलाई मानसिक स्वास्थ्यबारे जानकारी दिएका छौँ', रावलले भने, 'विद्यालय तथा समुदायमा कार्यक्रम गर्दा मानसिक समस्या भएकाहरू खुलेर परामर्श तथा उपचारका लागि आउने वातावरण बनिरहेको छ ।' मनमा गुम्सिएका कुरा व्यक्त गर्न नपाउँदा र विविध समस्याले तनाव बढ्दा मानिसलाई मानसिक स्वास्थ्य समस्या हुने भएकाले पालिकाले प्राथमिकता दिएर काम गरिरहेको शाखा प्रमुख रावलले बताए । 'मानसिक समस्याका कारण आत्महत्याका घटना बढ्दै गएका छन् । कतिपयले विविध मानसिक समस्या भोगिरहेको विषष सार्वजनिक भइरहेकै छ । त्यसैले मनोसेवालाई प्राथमिकता दिनुपर्ने आवश्यकता महसुस गरेका हौँ । अभियानका क्रममा विद्यार्थीका भावनात्मक परिवर्तन बुझ्न, पढाइ, अभाव, पारिवारिक र सामाजिक वातावरणले हुने तनाव व्यवस्थापन गर्न सहयोग पुगेको छ', उनी भन्छन्, 'कार्यक्रममा कतिपय बालबालिकाले मनका कुरा खोल्नुभयो, केही बालबालिका भक्कानिएर रोएर मन हल्का गर्नुभयो । हामीले उनीहरुलाई आवश्यक परामर्शका लागि निरन्तर सम्पर्कमा ल्याएका छौँ ।' बालबालिकाको शैक्षिक विकासका लागि पनि मानसिक स्वास्थ्यमा लगानी बढाउनुपर्ने विद्यार्थीको माग छ । 'हामीले धेरै कुरा अभिभावक तथा शिक्षकलाई भन्न सक्दैनौँ', बालिका सन्ध्या चौधरीले भनिन्, 'पढाइमा पनि अभिभावकको अपेक्षाअनुसार गर्न सकिएको हुँदैन । परिवार, साथीभाइ र समाजसँग राम्रो सम्बन्ध बनाउन सकिरहेका छैनौँ । यस्तो बेला हामीलाई धेरै तनाव छ । त्यसैले नगरपालिकाको कार्यक्रमबाट लाभान्वित भएका छौँ ।' पालिकामा यसै वर्षबाट प्रदेश सरकार, सिएमसी नेपाल नामक संस्था र पालिकाको सहकार्यमा सङ्क्रमणकालीन न्यायका लागि मनोसेवा सुरु गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत सशस्त्र द्वन्द्वका समयमा पीडित तथा प्रभावित परिवारको मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने भनिएको छ । मानसिक स्वास्थ्य सेवाका लागि टीकापुर नगरपालिकामा दुई जना परामर्शदाता छन् । मनोसामाजिक परामर्शकर्ता मीना कुँवरले सामी कार्यक्रममार्फत वैदेशिक रोजगारीमा गएका र उनीहरूका परिवारका सदस्यलाई परामर्श दिने गरेकी छन् । सहरी स्वास्थ्य केन्द्र विजयनगरमा कार्यरत स्वास्थ्यकर्मी उषा भुसालले पनि मनोपरामर्श दिने गरेको छ भने टीकापुर अस्पतालमा सातामा तीन दिन चिकित्सकको सेवा उपलब्ध छ । टीकापुरका दुई स्वास्थ्य संस्था विजयनगर र नारायणपुरबाट मानसिक समस्या भएकालाई १२ किसिमको औषधि निःशुल्क रूपमा वितरण गर्ने व्यवस्था मिलाइएको छ । सहरी स्वास्थ्य केन्द्र विजयनगरका इञ्चार्ज उषा भुसालले कार्यक्रम गर्दा धेरै बालबालिकाले खुलेर आफ्नो समस्या भन्न थालेका र समुदायस्तरमा नागरिक पनि मानसिक स्वास्थ्यबारे सचेत हुँदै गएका बताइन् । 'मानिसको आत्मविश्वास कम भएमा पनि मानसिक समस्या बढ्दै जान्छ । चिन्ता, तनाव, निराशाजस्ता समस्याका सङ्केत चिन्न र समयमै सहयोग खोज्न नागरिकलाई हौसला दिनुपर्छ', उनले भनिन्, 'मानसिक स्वास्थ्य ठीक भएमा जोखिमपूर्ण व्यवहारजस्तै लागुऔषधको सेवन, हिंसा तथा हानिकारण गतिविधि घट्छन् । मानिस स्वस्थ भए मात्र समाज स्वस्थ हुन्छ । त्यसैले पनि हामीले सचेतनालाई प्राथमिकता दिएका छौँ ।' मनोसामाजिक परामर्शकता मीना कुँवर समुदायमा मानसिक समस्याका थुप्रै समस्या रहेकाले उपचार तथा परामर्शमा आउन पनि कार्यक्रम आवश्यक रहेको बताउँसछन् । वैदेशिक रोजगारी, आर्थिक समस्या, अभाव, एक्लोपन, आपसी बेमेलजस्ता कारणले थरिथरिका समस्या देखिएकाले कतिपयलाई परामर्श सेवा, उपचारलगायतको खाँचो रहेको उनको भनाइ छ । कुँवरले भनिन्, 'मानसिक स्वास्थ्य सबैका लागि महत्त्वपूर्ण छ । मानसिक स्वास्थ्य ठीक नभएमा मानिसले छोटो समयमा गलत निर्णय लिनसक्ने र जसले ठूलो क्षति हुनसक्ने भएकाले मानसिक स्वास्थ्यलाई नागरिकले पनि प्राथमिकता दिनुपर्छ ।' रासस
काउली किलोको ८० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४०, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३३ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४३ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ८०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ । समितिका अनुसार बोडी (तने) प्रतिकिलो रु ४०, मकै बोडी प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु २००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु १२०, भटमास कोसा प्रतिकिलो रु १२०, तीते करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ७०, परवर (लोकल) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, भिन्डी प्रतिकिलो रु ४०, सखरखण्ड प्रतिकिलो रु ८० र पिँडालु प्रतिकिलो रु ७०, स्कुस प्रतिकिलो ६० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकिलो रु ९०, चमसुरको साग प्रतिकिलो रु ९०,हरियो प्याज प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकिलो रु ३५० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ३५०, न्युरो प्रतिकेजी रु ८०, ब्रोकाउली प्रतिकिलो रु १२०, चुकन्दर प्रतिकेजी रु ६०, सजीवन प्रतिकेजी रु १२०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १३०, पार्सले प्रतिकिलो रु २२०, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु १२०, गान्टेमूला प्रतिकिलो रु ७०, इमली प्रतिकिलो रु २००, तामा प्रतिकिलो रु १४०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २००, केरा (मालभोग) २२०, कागती प्रतिकिलो रु १७०, अनार प्रतिकिलो रु ४२०, आँप (मालदह) प्रतिकिलो रु ७०, आँप (दशहरी) प्रतिकिलो रु १००, तरबुजा (हरियो) प्रतिकिलो रु ५०, जुनार प्रतिकिलो रु २२०, भुइँकटहर प्रतिकिलो रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ७०, रुखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु १६०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १०० र लिची (लोकल) रु २५०, लिची (भारतीय) रु ३००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १३०, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४०, माछे खुर्सानी प्रतिकिलो रु ६०, अकबरे प्रतिकिलो रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।
आजको मौसम: आंशिक बदलीदेखि चट्याङसहित वर्षा हुने
काठमाडौं । आज देशका विभिन्न भू-भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराईका भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । यस्तै, कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा र बाँकी हिमाली तथा पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । आज मधेस प्रदेशलगायत, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तातो दिन हुने सम्भावना रहेको जनाइएको छ । आज राति कोशी प्रदेशलगायत देशका हिमाली भू-भागमा साधारणतया बादल, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका थोरै स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा कर्णाली प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सप्तकोशी डेभलपमेन्ट बैंक मर्जरमा जाने
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक मर्जरमा जाने भएको छ । बैंक सञ्चालक समितिको जेठ २३ गते बसेको बैठकले मर्जरमा जाने निर्णय गरेको हो । मर्जरसम्बन्धी प्रस्ताव पारित गर्न बैंकले असार १४ गते बिहान ११ बजे विराटनगर, मोरङस्थित होटल रुविजमा १५औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभिने वा प्राप्ति (मर्जर/एक्विजिसन) सम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिनेछ । साथै मर्जर प्रक्रियाका लागि आवश्यक मूल्याङ्कनकर्ता नियुक्ति तथा सम्पत्ति-दायित्व मूल्याङ्कनसम्बन्धी अधिकार पनि समितिलाई नै दिने प्रस्ताव छ । यस्तै, सभामा गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वित्तीय विवरण तथा नगद प्रवाह विवरण अनुमोदन गर्ने प्रस्ताव पेश गरिनेछ । साथै चालु आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ । बैंकले साधारण सभा प्रयोजनका लागि असार २ देखि असार १४ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द रहने जनाएको छ । असार १ गतेसम्म कारोबार भई नामसारी भएका सेयरधनीहरू सभामा सहभागी हुन सक्नेछन् ।
४ जिल्लामा कार्यक्षेत्र विस्तार गर्दै सालपा विकास बैंक, सञ्चालकको भत्ता बढाउने
काठमाडौं । सालपा विकास बैंकले आफ्नो सेवा विस्तार गर्दै थप चार जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने भएको छ । बैंक सञ्चालक समितिको निर्णयअनुसार हालको कार्यक्षेत्रबाहेक थप चार जिल्लामा सेवा विस्तार गर्ने प्रस्ताव आगामी साधारण सभामा लैजाने तयारी गरिएको हो । बैंकले उक्त प्रस्तावसहित अन्य विविध विषयहरू पारित गर्न असार १५ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ स्थित शुभम फाउण्डेशनको परिसरमा बिहान ११ बजे १४औँ वार्षिक साधारण सभा बोलाएको छ । सभामा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न निर्देशन आएमा आवश्यक संशोधन गर्न सञ्चालक समिति तथा सो समितिले तोकेको व्यक्तिलाई अख्तियार दिने प्रस्ताव पनि पेश गरिनेछ । साथै सञ्चालकहरूको सेवा सुविधा पुनरावलोकन गर्ने विषयमा पनि छलफल हुनेछ । यसैगरी गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा चालु आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि सभामा समावेश गरिएको छ । त्यस्तै आगामी कार्यकालका लागि सञ्चालक समिति चयन गर्ने विषयमा पनि निर्णय हुने बैंकले जनाएको छ।
धितो र गैर बैंकिङ सम्पत्ति मूल्याङ्कनका लागि राष्ट्रिय वाणिज्य बैंकले माग्यो भ्यालुएटर
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाममा धितो पारित हुने चल तथा अचल सम्पत्ति, मेशिनरी र गैर–बैंकिङ सम्पत्तिको मूल्याङ्कन कार्यका लागि मूल्याङ्कनकर्ता (भ्यालुएटर) सूचीकृत गर्न आवेदन आह्वान गरेको छ । बैंकको कर्जा प्रशासन विभागका अनुसार विभिन्न शाखाबाट प्रवाह हुने कर्जा सुविधाअन्तर्गत धितो सुरक्षणका रूपमा रहने सम्पत्ति तथा मेशिनरीको मूल्याङ्कन गर्न योग्य ओभरसियर, इन्जिनियर, इन्जिनियरिङ कन्सल्टेन्सी फर्म तथा कम्पनीहरूबाट आवेदन माग गरिएको हो । धितो मूल्याङ्कन कार्यविधि, २०७७ (संशोधनसहित) अनुसार योग्यता पुगेका र अयोग्य घोषित नभएका व्यक्तिहरू तथा संस्थाले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ । आवेदन बैंकको केन्द्रीय कार्यालयस्थित कर्जा प्रशासन विभाग तथा देशभर रहेका प्रादेशिक कार्यालयहरूमा बुझाउन सकिने व्यवस्था गरिएको छ । बैंकका अनुसार यसअघि सूचीकृत भई सम्झौताको म्याद सकिएको तीन महिना नाघेका मूल्याङ्कनकर्ताको सम्झौता नवीकरण नहुने भएकाले उनीहरूले समेत नयाँ प्रक्रियाअन्तर्गत पुनः आवेदन दिएर सूचीकृत हुनुपर्नेछ ।
प्राकृतिक सौन्दर्य र व्यापारको केन्द्र बन्दै दोमुख
काठमाडौं । हुम्ला र मुगु जिल्लाको सिमानामा रहेको हुम्ला कर्णाली तथा मुगु कर्णाली नदीको सङ्गमस्थल ‘दोमुख’ पर्यटकीय तथा व्यावसायिक दृष्टिले महत्त्वपूर्ण क्षेत्रका रूपमा परिचित बन्दै गएको छ । कर्णाली करिडोरसँग जोडिएको दोमुख हुम्लाको अदानचुली गाउँपालिका-१ मा पर्दछ भने हुम्ला कर्णाली नदी पारिको क्षेत्र मुगुको सोरु गाउँपालिका-३ मा पर्छ । हुम्लातर्फ रहेको दोमुख बजार अदानचुली गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रमध्ये एक मानिन्छ । कर्णाली करिडोर सञ्चालनमा आएपछि व्यापारिक गतिविधि बढ्दै गएको दोमुख बजार व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर बुढाले बताए । उनका अनुसार हुम्ला र मुगुका नागरिकको आवतजावत तथा किनमेलका लागि समेत दोमुख बजार महत्त्वपूर्ण केन्द्र बनेको छ । करिडोर भएका कारण सो क्षेत्रमा व्यापार व्यवसाय फस्टाएको छ । दोमुख क्षेत्रमा हुम्ला कर्णाली र मुगु कर्णाली नदीको सङ्गमले थप सौन्दर्य थपेको छ । नदी किनार, वरिपरिका पहाड र प्राकृतिक वातावरणका कारण यहाँ आन्तरिक पर्यटनको राम्रो सम्भावना छ । तर आवश्यक पर्यटकीय पूर्वाधार, प्रचारप्रसार तथा व्यवस्थापनको अभाव छ । सो क्षेत्र मन्दिरसहितको पूर्वाधार निर्माणको पर्खाइमा छ । स्थानीयवासीका अनुसार दोमुख क्षेत्रमा पर्यटक विश्रामस्थल, दृश्यावलोकन स्थल, खाने बस्ने सुविधा तथा अन्य आवश्यक पूर्वाधार निर्माण गर्नसके पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने देखिन्छ । कर्णाली करिडोरसँगको पहुँचले यस क्षेत्रलाई अझ बढी सम्भावनायुक्त बनाएको छ । प्राकृतिक सौन्दर्य, नदीको सङ्गमस्थल, व्यापारिक महत्व तथा माछा उत्पादनको केन्द्रका रूपमा परिचित दोमुख अहिले पनि आवश्यक पूर्वाधार र प्रवर्द्धनको प्रतीक्षामा रहेको अध्यक्ष बुढाले बताए । दोमुख क्षेत्र धार्मिक तथा सांस्कृतिक दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ । यसलाई स्थानीयले गौजो काट्नेदेखि, व्रतबन्ध, काजकिरीया, मृत्यु संस्कार तथा विभिन्न धार्मिक एवं सांस्कृतिक अनुष्ठान सम्पन्न गर्ने थलोका रुपमा प्रयोग गर्दै आएका छन् । यसले दोमुखलाई केवल पर्यटकीय र व्यापारिक केन्द्रमात्र नभई स्थानीय समुदायको आस्था र संस्कृतिसँग जोडिएको महत्त्वपूर्ण स्थलका रूपमा पनि स्थापित गरेको छ । दोमुख क्षेत्र कर्णालीमा पाइने विभिन्न प्रजातिका माछाका कारण पनि प्रख्यात छ ।
एक सातामै १ अर्ब ३ करोड निकासा, २१७ अस्पतालले पाए रोकिएको बीमा भुक्तानी
काठमाडौं । स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बीमा भुक्तानी अब सहज हुन थालेको छ । वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि विगत सरकारका पालामा बाँकी रहेको बीमा बापतको रकम भुक्तानीले तीव्रता पाएको हो । पछिल्लो सातामात्र सरकारले स्वास्थ्य बीमा बापत १ अर्ब ३ करोड रुपैयाँ सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ । जसबाट १५५ सरकारी, २५ सामुदायिक तथा ३७ निजी गरी २१७ अस्पतालले बीमा बापतको रकम प्राप्त गरेका छन् । सरकारले अघिल्लो वर्षको बक्यौता बीमा रकमसमेत भुक्तानी हुने गरी देशका विभिन्न स्वास्थ्य संस्थाहरूमा पटकपटक गरी १ अर्ब ३ करोड रुपैयाँ पठाएपछि स्वास्थ्य बीमाको रकमसम्बन्धी समस्या क्रमशः हल हुने बाटोमा लागेको हो । स्वास्थ्य बीमा बोर्डबाट सार्वजनिक गरिएको जानकारीअनुसार दुई दिनअघि मात्र विपन्न वर्ग लक्षित ३२ करोड ६ लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गरिएको छ । बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवन शाहले केही समयअघि सरकारी अस्पतालमा उपचार गराउनेलाई मात्र बीमा बापतको रकम भुक्तानी गर्ने गरिएकामा यसपटक निजी स्वास्थ्य संस्थामा उपचार गराउनेलाई पनि भुक्तानी दिइएको जानकारी दिए । यसरी भुक्तानी पाउने अस्पतालहरूमा मध्य विन्दु जिल्ला अस्पताल, भेरी अञ्चल अस्पताल, नारायणी अस्पताल, नेपाल मणिपाल शिक्षण अस्पताल, त्रिवि शिक्षण अस्पताललगायतका ढेड सयभन्दा बढी अस्पतालहरू रहेका छन् । त्यस्तै राष्ट्रिय ट्रमा सेन्टर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र झापाको बीएण्डसी शिक्षण अस्पताल लगायतका निजी अस्पतालमा उपचार गराउने विपन्न समेत बीमा रकम सरकारले भुक्तानी गर्नका लागि पठाएको छ । उक्त रकम राष्ट्रिय बीमा बोर्डको निर्णयअनुसार विपन्न नागरिकको मिर्गौलाको डायलाइसिस सेवा, मुटुरोगको उपचार, टाउकोको गम्भीर चोटपटक, स्पाइनल इन्जुरी आदि रोगको शोधभर्ना बापत भुक्तानी गरिएको हो । स्वास्थ्य संस्थाबाट प्राप्त दाबीहरूमध्ये कागजात पूरा भएका दाबीहरूको भुक्तानी पठाइएको हो । भुक्तानी स्रोतको अभावका कारण स्वास्थ्य बीमा कार्यक्रमको भविष्यमा अन्योल छाउने अवस्था आउन नदिन सरकारले यसपटक १५ अर्ब रुपैयाँ छुट्याएको छ । यसका साथै स्रोतको परिधिभित्र आउनेगरी बीमा गराउने, अस्पतालको स्वास्थ्य परीक्षण र सामान खरिदमा कडा अनुगमन गर्नेजस्ता उपाय अपनाउने सोचाइ सरकारले बनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमा जस्तो कल्याणकारी कार्यक्रमलाई अन्योलमा पर्न नदिन सरकारले अहिलेसम्मका बक्यौता रकम भुक्तानी गर्दै जाने बताइन् । समस्या दोहोरिन नदिन अबको स्वास्थ्य बीमालाई कडाइका साथ निगरानी र नियमन गरिने उनको भनाइ छ ।