काठमाडौं । सालपा विकास बैंकले आफ्नो सेवा विस्तार गर्दै थप चार जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने भएको छ । बैंक सञ्चालक समितिको निर्णयअनुसार हालको कार्यक्षेत्रबाहेक थप चार जिल्लामा सेवा विस्तार गर्ने प्रस्ताव आगामी साधारण सभामा लैजाने तयारी गरिएको हो ।
बैंकले उक्त प्रस्तावसहित अन्य विविध विषयहरू पारित गर्न असार १५ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ स्थित शुभम फाउण्डेशनको परिसरमा बिहान ११ बजे १४औँ वार्षिक साधारण सभा बोलाएको छ ।
सभामा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न निर्देशन आएमा आवश्यक संशोधन गर्न सञ्चालक समिति तथा सो समितिले तोकेको व्यक्तिलाई अख्तियार दिने प्रस्ताव पनि पेश गरिनेछ । साथै सञ्चालकहरूको सेवा सुविधा पुनरावलोकन गर्ने विषयमा पनि छलफल हुनेछ ।
यसैगरी गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा चालु आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि सभामा समावेश गरिएको छ ।
त्यस्तै आगामी कार्यकालका लागि सञ्चालक समिति चयन गर्ने विषयमा पनि निर्णय हुने बैंकले जनाएको छ।