विकासन्युज

४८ हजार ८ सय मूल्यकाे सामसङ ‘ए सेभेन जीरो एस’ नेपाली बजारमा, के-के छन् विशेषता ?

काठमाडाैं ।  विश्वको सबैभन्दा ठूलो कन्ज्युमर इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्राण्ड, सामसङले नयाँ ग्यालेक्सी ‘ए सेभेनजिरो एस’ नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले सोमबार मात्रै नयाँ स्मार्टफोन ग्यालेक्सी ‘ए सेभेन जीरो एस’ नेपाल भित्र्याएको हो । उक्त मोबाइलमा नाइट मोडमा एवं सुपर स्टेडी भिडियोको साथ ६४ मेगापिम्सलको ट्रिपल क्यामेरा रहेको छ । यस्तै एआई गेम बुस्टर, ४५ सय एमएएचको ब्याट्री, तथा २५ वाटको सुपरफास्टचार्जिङ्ग जस्ता विशेषताहरु रहेको सामसङ मोबाइल बिजिनेस हेड प्रणय रत्न स्थापितले बताए । मोबाइलमा ६.७ इन्चको एफएचडी इन्फिनिटी–यू डिस्प्ले, अक्टाकोर क्वालकोम स्न्यापड्रैगन ६७५ प्रोसेसरको स्विधा रहेको बताए । स्थापितले नेपाली बजारमा उक्त मोबाइलको मूल्य ४८ हजार ८ सय ९० रहेको बताए । मोबाइलमा ६ जीबि प्लस १२८ मेमोरी रहेको छ ।            

राष्ट्रिय वाणिज्य बैंकद्धारा राष्ट्रिय महिला भलिबल टिम सम्मानित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्धारा राष्ट्रिय महिला भलिबल टिम सोमबार एक कार्यक्रमका बीच सम्मानित भएको छ । उक्त टिमले पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जितेको हुँदा बैंकले सो टिमलाई सम्मानपत्र, पुरस्कार प्रदान गरेर बधाई तथा सम्मान व्यक्त गरेको हाे । बैंकले हालै बंगलादेशमा सम्पन्न भएको ‘एशियन सेन्ट्रल जोन सिनिएर वोमेन भलिबल’ प्रतियोगितामा नेपाली राष्ट्रिय महिला भलिबल टिम प्रथम भएकाेमा उक्त टिमलाई सम्मान गरेकाे हाे । कार्यक्रममा बैंक संचालक समितिका सदस्य निर्मलहरि अधिकारीले बैंकले भलिबललाई विगत देखि गरेको सहयोगको परिणाम आएको र अन्तर्राष्ट्रिय रुपमा प्राप्त भएको उपलब्धिले देशको शिर उच्च भएको बताएका छन् । त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियतालाई देखेर बैंकले केही वर्ष अगाडि देखिनै सहयोग गरेको बताउँदै यस्तो कार्यक्रमले खेल खेलाडीहरुको मनोबल बढ्ने बताए । राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघबीच आरबीबी-एनभीए राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितालाई मूख्य प्रायोजन गर्ने सम्झौता ४ वर्षदेखि रहँदै आएको छ । ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेतले संचालन गरेका उक्त कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका सदस्यहरु, नायब प्रमुख कार्यकारी अधिकृतहरु कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, बैंक भित्र क्रियाशिल युनियनका अध्यक्षहरु, मुख्य प्रशिक्षक जगदीश भट्ट, विजयी टिमका खेलाडीहरु, नेपाल भलिबल संघका महासचिव जीतेन्द्र बहादुर चन्द लगायतको उपस्थिती रहेको थियो ।

ग्लोबल आइएमईको २५% लाभांश पारित, मर्जरपछि सञ्चालकमा ग्लोबलबाट ५ र जनताबाट २ जना

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रस्तावित २५.५ प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न बैंकको १३औं वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश दिने संचालक समितिको प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै बैंकका आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीले १२.७५ प्रतिशत बोनस सेयर र १२.७५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने संचालक समितिको प्रस्तावलाई पारित गरेको हो । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ७६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड रुपैयाँ पुग्नेछ । साथै, साधारण सभाले जनता बैंक नेपाललाई ग्लोबल आइएमई बैंकमा गाभ्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैक समक्ष अन्तिम स्वीकृति प्राप्त गरी ग्लोबल आईएमइ बैंकको नामबाट एकिकृत कारोबारका लागि अन्तिम तयारी भइरहेको छ । सभाले बैंकको अधिकृत पूँजी १६ अर्बलाई वृद्धि गरी २५ अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।सभामा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले मंसिर महिनाभित्र एकीकृत कारोबार सुरु गर्ने योजना रहेको बताएका छन् । मर्जरपछि ग्लोबल आइएमई ठूलो र सबल बैंक बन्ने अध्यक्ष ढकालले बताए । यी दुई बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमती गरेका थिए भने कार्तिक ८ गते मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक, अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यस्तै, मर्जरपछि बन्ने बैंकको कार्यकारी प्रमुख अधिकृत परशुरामकुँवर क्षेत्री र वरिष्ठ नायव कार्यकारी प्रमुख अधिकृत महेशशर्मा ढकाल हुने सहमतिभएको छ । मर्जरपछि बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब १० अर्ब भन्दा बढी र कुल कर्जा लगानी करिब २ खर्ब रुपैयाँ पुग्नेछ । त्यस्तै, बैंकको शाखा सञ्जाल करिब ३०० तथा सेवा केन्द्रको संख्या ८५० भन्दा बढी हुनेछ । साथै, बैंकमा ३ हजार २५० भन्दा बढी कर्मचारीहरु रहने छन् ।

लक्ष्मी बैंकको नयाँ शाखा सुर्खेतको छिञ्चुमा, शाखा संख्या ११७ पुग्यो

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो ११७औं शाखा सुर्खेतको छिञ्चुमा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै सानातथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । यससँगै बैंकको संजाल ४८ जिल्लामा ११७ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४२ एटीएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखारहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको यस बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सेवा विस्तार गर्दै आएको छ ।

सिटिजन्स बैंकका ग्राहकले चिरायु नेसनल हस्पिटलको सेवा शुल्कमा विशेष छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटको सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकहरुले चिरायु नेसनल हस्पिटलमा उपचार गराउँदा तथा अन्य सेवा लिँदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकको विस्वास रहेको छ । हाल बैंकको ८५ वटा शाखा, ८२ वटा एटीएम र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको १५औं शाखा ललितपुरको टंगलमा, थप दुई शाखा खोल्ने तयारी

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आफ्नो १५औं शाखा ललितपुरको टंगलमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका पुर्व गर्भनर सत्येन्द्र प्यारा श्रेष्ठले गरेको हुन् । शाखा उद्घाटन कार्यक्रममा नेपाल सरकारका पुर्व मुख्य सचिव तिर्थमान शाक्य, संस्थाका अध्यक्ष श्रीमान श्रेष्ठ, पुर्व अध्यक्ष राजेशलाल श्रेष्ठ, संचालकहरु सरोजनी श्रेष्ठ, राजेश मानन्धर तथा प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठको उपस्थिति थियो । प्रधान कार्यालय ललितपुरको हरिहर भवनमा रहेको यस संस्थाको प्रदेश नम्बर एकमा २ वटा, प्रदेश नम्बर दुईमा ५ वटा र १ वटा एक्सटेन्सन काउन्टर, प्रदेश नम्बर तीनमा ४ वटा र प्रदेश नम्बर ५ मा २ वटा शाखा कार्यालयहरु रहेको छ । यसका साथै, संस्थाले केही समयमै खैरेनी, रुपन्देही जिल्लामा शाखा कार्यालय विस्तार गर्ने तयारी गरिरहेको छ । हाल संस्थाले २०७६ असाेज मसान्तसम्ममा निक्षेप संकलन ३ अर्ब ९८ करोड रुपैयाँ तथा कर्जा ३ अर्ब २२ करोड रुपैयाँ प्रवाह गरी २ करोड ३४ लाख रुपैयाँ संचालन मुनाफा गरेको संस्थाले जनाएको छ । यस वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा २३ करोड ७२ लाख रुपैयाँ रहेको छ । बैंकिङ्ग सेवामा एटीएम सेवा, एसएमएस बैंकिङ् सेवा ई बैंकिङ् सेवा, इसीसी सेवा, आईपीएस/कनेक्ट आईपीएस सेवा, सेवा डिपोजिट लकर सुविधा, टपअप फ्यासिलिटिज, विभिन्न विप्रेषण सेवा तथा डीपी सेवा र सीआश्वा सेवा साथै व्यक्तिगत खाताको लागि ३ लाखसम्मको निक्षेप बीमा समेत गरिएको छ । साथै, मोबाइल बैंकिङ्को सेवा पनि शुरु गर्दै रहेको संस्थाले जनाएको छ ।

सिद्धार्थ बैंकको नयाँ शाखा मोरङको ट्राफिक चोकमा

काठमाडौं । सिद्धार्थ बैंकले सोमबार मोरङको ट्राफिक चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । यससँगै बैंकको कुल शाखा सञ्जाल संख्या १७२ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १८७ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनका साथ बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

जनता बैंकको १२ प्रतिशत लाभांश सहित ग्लोबल आईएमइसँगको मर्जर सम्बन्धि सम्पूर्ण एजेण्डा पारित

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको प्रस्तावित १२ प्रतिशत लाभांश पारित भएको छ । मंसिर २ गते सम्पन्न बैंकको १०औं वार्षिक साधारणसभाले शेयरधनीलाई ६ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम बैंकले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीहरुलाई १२ प्रतिशतले हुन आउने रकम ९६ करोड ९४ हजार ३१० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने छ । सभाले जनता बैक नेपालको १०० कित्ता शेयरलाई ग्लोबल आईएमइ बैकको ८५ कित्ता (१ः०.८५) शेयर आदानप्रदान अनुपात कायम हुने गरी ग्लोबल आईएमइ बैंकसँगको मर्जर सम्बन्धि सम्पूर्ण एजेण्डालाई पारित गरेको छ । शेयरधनीहरुको सभाबाट पारित भएसँगै दुई बैंक मर्जरका लागि नेपाल राष्ट्र बैंकसमक्ष अन्तिम स्वीकृत प्राप्त गरी ग्लोबल आईएमइ बैकको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भईरहेको छ । मर्जर पश्चात बन्ने ग्लोबल आईएमइ बैंकको ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा करिव ३०० भन्दा बढी शाखा सञ्जाल, ३२०० कर्मचारी, २० लाख ग्राहक संख्या सहितको बैक बन्नेछ । मर्जरपश्चात कम्पनीको चुक्ता पूँजी करिब १९ अर्ब, निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ हुने बैंकले जनाकारी दिएको छ ।