विकासन्युज

जगदम्बा इन्टरप्राइजेजको ‘जगशक्ति गोल्ड फलामे छड’ नेपाली बजारमा

काठमाडौं । जगदम्बा इन्टरप्राइजेजले जगशक्ति गोल्ड फी ५०० डी टीएमटी फलामे छड नेपाली बजारमा ल्याएको छ । कम्पनीले शुक्रबारदेखि बजारमा उपलब्ध हुनेगरी छडलाई बजारमा ल्याएको हो । छडले प्राविधिक रुपमा निर्माण कार्य हुँदा कंक्रिटले अत्याधिक दबाब सहने क्षमता राख्ने कम्पनीका अध्यक्ष शंकरलाल अग्रवालले बताए । छड भूकम्पछिको पुननिर्माणमा निकै उपयोगी हुने कम्पनीको विस्वास रहेको छ । कम्पनीले ब्राण्ड एम्बेस्डरको रुपमा कलाकार जोडी सिताराम कटेल र कुञ्जना घिमिरेलाई अनुबन्ध गरेको छ ।

रुपन्देहीको मानपकडीमा गण्डकी विकास बैंक

काठमाडौं । गण्डकी विकास बैंकले रुपन्देहीको मानपकडीेमा नयाँ शाखाको उद्घाटन भएको छ । प्रमुख अतिथि प्रदेश नं. ५ रुपन्देही क्षेत्र नं. ३ का प्रदेश सभासद तुल्सीप्रसाद चौधरीले सो शाखाको उद्घाटन गरेका हुन् । बैंकका सञ्चालक वासुदेव त्रिपाठीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरी , शुद्धोधन गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष श्री पुण्यराम गौतम एवंम समाजसेवी शिवराम न्यौपानेले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैंकको गतिविधिका बारेमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र पन्तले जानकारी गराएका थिए । बैंकका प्रबन्धक मिलनकुमार पुनले स्वागत मन्तव्य व्यक्त गरेका थिए, भने उक्त कार्यक्रमको सञ्चालन बैंकका कर्मचारी आविष्कार खनालले गरेका थिए । हाल बैंकका ७७ वटा शाखा कार्यालय मार्फत विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एविविएस, एटिएम, सि एएसविए, आईपिएस, मोबाइबाट बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आएको छ ।

व्याजदर घटाउन मोरङका उद्योगीकाे माग

काठमाडौं । बैंकले लिने व्याजलाई सरकारले अविलम्ब घटाउनुपर्ने उद्योगी एवंं व्यापारीले माग गरेका छन् । उनीहरूले उत्पादनमूलक उद्योगसँग ७ प्रतिशत र व्यवसायीमूलक उद्योगसँग नौ प्रतिशतसम्म बैंक ब्याजदर कायम हुनुपर्ने माग राखेका हुन् । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा संयुक्तरूपमा विहीबार आयोजित छलफलमा सहभागीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने सङ्कल्प र पाँच लाख युवालाई रोजगार दिने सरकारको प्रतिबद्धता उद्योग र व्यापार क्षेत्रबाट मात्र सम्भव भएकाले यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिएका छन् । नयाँ सामन्तीका रूपमा देखा परेका कुनै पनि बैंक घाटामा नरहेको यथार्थलाई नेपाल राष्ट्र बैंकले बुझ्नु जरुरी छ भन्दै उद्योगी र व्यापारीले मुलुकमा व्यापार घाटा कम गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र प्रशस्त रोजगारी सिर्जना गर्न उद्योग र व्यापार फस्टाउनु पर्नेमा तर्क थियो । उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले आर्थिक क्रान्तिबिना राजनीतिक क्रान्ति सफल नहुने भन्दै उद्योग र व्यापार क्षेत्रमा देखिएको समस्यालाई तत्काल सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभयो । मोरङ व्यापार सङ्घका अध्यक्ष पवनकुमार शारडाले स्वदेशी लगानी बढाउन र विदेशी पूँजी भित्र्याउन ब्याजदर कम हुनुपर्ने धारणा राखेका थिए । सङ्गठनका वरिष्ठ उपाध्यक्ष सुशेन प्याकुरेल र उद्योगी मोती दुगडले बैंकको गलत नीतिले उद्योग र व्यापार डुब्न लागेको छ भन्दै यसले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर देखा पर्ने निश्चित छ बताए । रासस

बैंकरलाई केवाईसीको सकस, गभर्नर भन्छन्: यसले नि काम गरेन

काठमाडौं । बैंकर्स संघ र विकास बैंक एसोसिएसनका अध्यक्षहरुले केवाईसीका कारण बैंक र उपभोक्तालाई सकस भएको बताएका छन् । केवाईसीले राम्रो नतिजा दिन नसकेको भन्दै उनीहरुले यसलाई परिमार्जन गरिनु पर्ने बताएका हुन् । नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले पनि केवाईसीले काम नगरेको बताए । बैंक तथा वित्तीय संस्थामा सम्पति सुदृढीकरण निवारण सम्बन्धि चौथो सम्मेलनको राजधानीमा उद्घाटन गर्दै गभर्नर नेपालले सम्पत्ति सुदृढीकरण निवारण न्यूनीकरणमा केवाईसीले सहयोग नपुगेको बताएका हुन् । आन्तरिक व्यवस्थापन, अडिट रिपोर्ट, रेगुलेसन र सुपर भिजनका कारण सम्पत्ति सुदृढीकरण बढेको नेपालले बताए । उनले छ महिनामा सम्पती सुदृढीकरणका ८८७ वटा अध्ययन गरेको र ३१२ वटा कारोबारलाई कारवाही लागि सम्बन्धित निकायमा पठाइएको जानकारी दिए । बैंकहरुले प्रयोग गरिरहेको प्रविधिले पनि सम्पत्ति सुदृढीकरणको जोखिम वृद्धि गरेको गर्भरनर नेपालले दाबी गरे । बैकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले केवाईसीका कारण बैंकमा नयाँ उपभोक्ता नआएको बताए । उनले सानो कारोबार गर्ने उपभोक्तालाई केवाईसीले हैरानी दिएको पनि बताए । वर्षेनी एकै प्रकारको विवरण भराउनु उपयुुक्त नहुने बताए । आम्दानी र त्यसको श्रोत, ठेगाना मात्रै हेर्नू पर्ने उनको भनाइ छ । ढुङ्गानाले केवाईसीको केन्द्रिय तथ्यांक व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिए । उनले सम्पती शुद्धिकरण प्रमाणपत्र एएमएल सर्टीफिकेटको आवश्यकता परिसकेको पनि बताए । विकास बैंक एसोसिएसनका अध्यक्ष गोबिन्द ढकालले पनि केवाईसीका कारण नयाँ ग्राहक बिच्किएको बताए । नेपाल बैकिङ ईन्स्टिच्युटका सीईओ सन्जिब सुब्बाले सम्पती शुद्धिकरण पेचिलो विषय बन्दै गएको बताए । कार्यक्रममा भारत र बङगलादेशका विज्ञले सम्पत्ति सुदृढीकरण बारे आफ्ना अनुभव राखेका छन् । कार्यक्रममा बैंक तथा वित्तीय संस्थाको सम्बन्धित विभागका कर्मचारीहरुको सहभागिता रहेको छ ।

एनएमबी बैंकको नाफा झण्डै एक अर्ब, अरु सूचक कस्ता छन् ?

काठमाडौं । एनएमबी बैंकले ६ महिनामा ९७ करोड नाफा कमाएको छ । बैंकले कमाएको यो नाफा गत आर्थिक बर्षको पहिलो ६ महिनाको तुलनामा ३ करोड रुपैंयाँले कम हो । सो अवधीमा बैंकले १ अर्ब नाफा कमाएको थियो । एनएमबीले चालु आवको पुस मसान्त अवधीमा ८८ अर्ब निक्षेप संकलन गरेर ८५ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सिडी रेसियो ७८.९५ प्रतिशत पुगेको छ । एनएमबीले २ अर्ब ११ करोड रुपैंयाँ खुद ब्याज आम्दानी गरेको छ । ८ अर्ब ७४ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ३७ करोड रुपैंयाँ रहेको छ । बैंकको खराब कर्जा ०.७६ प्रतिशत छ भने आधार ब्याजदर १०.११ प्रतिशत छ । बैंकको कष्ट अफ फण्ड ७.३२ प्रतिशत छ भने प्रति सेयर आम्दानी २५.५५ रुपैंयाँ रहेको छ ।

नेपाल सिमेन्टमा आत्मनिर्भर, २०७६ सालदेखि विदेशमा निर्यात गर्ने तयारीमा उद्याेगी

काठमाडौंँ । नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ । करिब दुई खर्ब रूपैयाँ लगानी भएको र वार्षिक १५० अर्ब रूपैयाँ बराबरको कारोवार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यो वर्षदेखि आत्मनिर्भर भएको व्यवसायीले बताएका छन् । निजी क्षेत्र प्रवेश भएको झण्डै १६ वर्षको अन्तरालमा शून्यबाट आत्मनिर्भरमा पुगेको बताउँदै नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुवराज थापाले अर्काे वर्षदेखि नेपाल सिमेन्ट निर्यात गर्ने अवस्थामा पुग्ने बताए ।  “अन्य उद्योगको तुलनामा सिमेन्टमा फरक किसिमले छिटो उत्पादन बढेको छ, यो नेपाल कै लागि गौरव हो, अब सरकारले उद्योगमा देखिएका समस्या समाधानमा पहल गर्नुपर्ने देखिन्छ”, थापाले भने। सन् १८४५ देखि सिमेन्ट उत्पादन शुरु भए पनि नेपालमा १९६० देखि मात्रै उत्पादन शुरु गरिएको थियो । नेपालमा अहिले तीन किसिमका सिमेन्टको गुणस्तर मापन भएको छ । नेपालमा पहिलो हिमाल सिमेन्टले उत्पादन शुरु गरेको थियो । निजी क्षेत्रबाट भने १६ वर्ष पहिलादेखि मात्रै लगानी थालिएको हो । नेपालमा अहिले ५६ वटा सिमेन्ट उद्योगले उत्पादन गर्दै आएका छन् । हाल उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सरकारले सञ्चालन गर्दै आएको छ । अध्यक्ष थापाले नेपालमा गएको वर्ष ९० लाख टन सिमेन्ट उत्पादन भएको र झण्डै त्यति नै खपत भएको जानकारी दिए । उनले भने – “उत्पादन क्षमता भने एक करोड ३० लाख टन रहेको छ तर विभिन्न कारणले केही विदेशी उद्योगीका सिमेन्ट गुणस्तरका लागि पाँच प्रतिशत मात्रै गत वर्ष आयात भएको थियो ।” अबदेखि त्यो पनि आयात नहुने बताइएको छ । आगामी दिनमा आयात शून्य प्रतिशतमा जाने अपेक्षा गरिएको व्यवसायीले बताएका छन् । नेपालमा वार्षिक १० प्रतिशतले सिमेन्ट उत्पादनमा वृद्धि भइरहेको छ । आर्थिक वर्ष २०७६/७७ सालदेखि नेपालमा उत्पादित सिमेन्ट निर्यात हुने जनाइएको छ । लागत मूल्य कम गर्न नसकेकाले समस्या बढी रहेको उनीहरूको भनाइ छ । विश्वमै महँगो उत्पादनका रूपमा नेपालको सिमेन्ट रहेको बताइएको छ । आगामी वर्ष एक करोड १० लाख टन माग हुने र उत्पादन भने एक करोड ७० लाख टनमा पुग्ने अनुमान गरिएको छ । “त्यसैले अब निर्याततर्फ हामी जानै पर्छ”, सङ्घका महानिर्देशक गोकुल धितालले भने । विश्वमा सिमेन्टको कूल उत्पादन चार अर्ब २० करोड टन रहेको छ। सबैभन्दा बढी चीनले सिमेन्ट उत्पादन गर्दै आएको छ । कूल उत्पादनको ५५ प्रतिशत चीनले उत्पादन गर्ने गरेको थापाले जानकारी दिए । नेपालमा चुन भण्डार प्रशस्त रहेको छ । सरकार परिवर्तन भएसँगै नीतिमा आउने परिवर्तन, श्रम कानूनमा देखिएको समस्या विदेशी जनशक्ति ल्याउनुपर्ने अवस्था, खानी तथा वनसँग हुने समस्या स्थानीय तह र प्रदेशले पनि करमा हिस्सा खोज्नेलगायत समस्या रहेको व्यवसायीले बताएका छन् । नेपालमा कच्चापदार्थ र कोइला नहुँदा पनि ठूलो समस्या छ । व्यवसायीले विदेशी उद्योगीलाई प्रोत्साहनभन्दा नेपाली उद्योगलाई प्रोत्साहन गर्नु जरुरी रहेको बताएका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नेपालमा ९२७ गुणस्तर स्वीकृत भएका उद्योगमध्ये ३७० ले अनुमति प्राप्त गरिसकेको जानकारी दिए । नेपालमा नमूना सङ्कलन गरिएका सिमेन्ट उद्योगमध्ये कम मात्रैमा समस्या रहेको भन्दै उनले पछिल्लो समयमा आधुनिक प्रविधिको प्रयोगका कारण नेपाली सिमेन्ट गुणस्तरयुक्त रहेको बताए । मातृकाप्रसाद यादव कूल १३४ ले लाइसेन्स प्राप्त गरेको पुडासैनीले जानकारी दिए । नेपालमा पूरा क्षमतामा चल्ने हो भने नेपाली सिमेन्टको बजार रु २५० अर्बको रहेको उनको भनाइ थियो । खानी तथा भूगर्भ विभागका इञ्जिनीयर जयराज घिमिरेले नेपालमा चुनखानीको प्रवद्र्धन कार्यक्रम गर्ने कार्यक्रम शुरु गरेको जानकारी दिँदै १६८ उद्योगलाई उत्खनन अनुमति दिइएको र ४० वटालाई उत्खनन अनुमतिको प्रक्रियामा रहेको उल्लेख गरे । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमातृकाप्रसाद यादवले विगतका ऐन कानून तत्कालै हटाउन नसकिने भएकाले परिवर्तन हुने चरणमा रहेको भन्दै उद्योगलाई कसरी विकास गर्न सकिन्छ भनेर सरकार लागि परेको बताए । उनी भन्छन् “सहकार्य गरौँ कहाँ कहाँ समस्या छ, छलफल गरौँ, सरकरको उद्देश्य भनेकै उद्योगको विकास गरी आर्थिक समृद्धि ल्याउने हो ।” उद्योगको विकास नगरी र निजी क्षेत्रसँग सहकार्य नगरी समृद्धि नआउने उनको भनाइ छ । रासस

आशा लघुवित्तको आइपीओ आजदेखि, एक हजारकै आवेदन गर्ने सुविधा

काठमाडौं । आशा लघुवित्तको आइपीओ आजबाट बिक्रि खुल्ला भएको छ । कम्पनीले ६ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । जसमा न्युनतम १० कित्ता अर्थात एक हजार रुपैंयँकै आवेदन दिन सकिनेछ भने अधिकतम ३ हजार ३ सय ७० कत्तासम्म आवेदन दिन सकिन्छ । छिटोमा माघ २२ गते र ढिलोमा फागुन १९ गते निष्काशन बन्द हुनेछ । निष्काशित सेयरमध्ये १० हजार ३ सय ७० कित्ता कर्मचारीलाई, ३३ हजार ७ सय कित्ता म्युचुअल फण्डलाई र बाँकी ६ लाख २९ हजार ९ सय ३० कित्ता सर्वसाधारणका लागि छुट्याईएको छ । आशा लघु वित्त कम्पनीलाई प्रभु ग्रुपले प्रवद्र्धन गरिरहेको छ ।

अमेरिकी डलर ओसार्ने विदेशी पक्राउ, यात्रुकाे पाकेट मार्ने पाँच भारतीय महिना थुनामा

काठमाडौँ । प्रहरीले अवैध रुपमा लैजान लागेको १९ हजार ७०० अमेरिकी डलरसहित इजरायली नागरिकलाई विहीबार पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ प्रस्थान गर्ने स्थानबाट इजरायली नागरिक तासी छकी बेन मोहा बेनलाई उक्त परिमाणको अवैध डलरसहित पक्राउ गरिएको हो । काठमाडौँबाट थाइल्याण्ड जान लागेका उनलाई जाँच गर्दा अवैध रुपमा डलर लैजान लागेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई इजरायली नागरिकलाई आवश्यक कारबाहीका लागि राजश्व विभाग हरिहरभवन ललितपुर पठाइएको छ । उनीकाे साथमा रहेकाे करिब २० हजार अमेरिकी डलर प्रहरीले जफत गरेकाे छ ।  विहीबार नै महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक सवारी साधनमा पाकेटमारी गर्ने पाँच भारतीय महिलालाई पक्राउ गरेको छ । वृत्तको टोलीले बसुन्धराबाट नारायणगोपाल चोक जाँदै गरेको कान्तिपुर बसमा पाकेटमारी गर्ने भारत गोरखपुरका प्रिति चमार, नितु चमार, पुजा चमार, पिङ्की चमार र सोनी चमारलाई आज दिउँसो पक्राउ गरेको हो वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईंले सुस्मिता कुँवरको रु ५२ हजार पाकेटरमारी गरेर बसबाट ओर्लर्न लाग्दा पक्राउ गरीएको बताए । “सार्वजनिक सवारीमा धकेलाधकेल गरी पैसा चोरेको अनुसन्धानमा खुलेको छ”,उनले भने । पक्राउ परेकालाई चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा मुद्दा दर्ता गरी कारवाही अघि बढाइने वृत्तले जनाएको छ ।