विकासन्युज

बीमा समितिले एक्चुरीको सूची तयार पार्ने, ४५ दिन भित्र आवेदन दिन आग्रह

काठमाडौँ । बीमा समितिले बीमांकक (एक्चुरी) को सूची तयार पार्ने भएको छ । समितिले विश्वव्यापीरूपमा सूचना प्रकाशित गरी बीमांककको सूचीमा सहभागी हुन आग्रह गरेको हो । नेपालमा बीमा व्यवसाय शुरु भएको लामो इतिहास भएपनि नेपालभित्र बीमांकक नभएपछि स्वदेशमा नै दक्ष जनशक्ति उपलब्ध गराउने नभए मात्रै विदेशी कम्पनीलाई सहभागी गराउने लक्ष्यका साथ उक्त सूचना सार्वजनिक गरिएको हो । समितिले केही दिन पहिले सार्वजनिक सूचना प्रकाशित गरी ४५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ । समितिले कम्पनी र नियमनकारी निकायबीच आवश्यक समन्वय, बीमा व्यवसायको विश्वसनीयताका लागि पनि उक्त प्रयास गरिएको जनाएको छ । नेपालमा जीवन बीमा र निर्जीवन बीमा गरी कूल ३९ कम्पनी कार्यरत छन् । एक बीमा कम्पनीको मूल्याङ्कनसहितको लेखापरीक्षणका लागि न्यूनतम रु चार लाख देखि चार लाख ५० हजारसम्म खर्च हुने गरेको छ । यस्तै बीमा समितिले केही समय पहिलेदेखि लागू गरेको ‘एनएफआरएस’का लागि समेत सोही परिमाणमा रकम खर्च हुने गरेको छ । समितिले बीमाकंकको उपाधि हासिल गरेकालाई सूचीमा सहभागी हुन आग्रह गरेको हो । नेपालका अधिकाशं बीमा कम्पनीको लेखापरीक्षण नेपालमा नभई छिमेकी देश भारतमा हुने गरेको छ । राष्ट्रिय पूँजी विदेश गइरहेको पाइएपछि समितिले स्वदेशमा नै काम गराउने लक्ष्यसहित सूची तयार पार्न लागेको हो । समितिले बीमाकंकको नाम, नम्बर र ठेगानासमेत सूचीमा समावेश गर्ने भएकाले बीमा कम्पनीले सहजै उनीहरूलाई सम्पर्क गर्न सक्नेछन् । जानकारहरूका अनुसार नेपालमा बीमाकंकको उपाधि हासिल गरेकाको सङ्ख्या असाध्यै न्यून छ । जसका कारण ठूलो धनराशि विदेशिइरहेको छ । बीमा समितिले बीमाकंकको सम्पूर्ण विवरणलाई अध्ययन गरेर सार्वजनिक गर्ने जनाएको छ । युनाइटेड इन्स्योरेन्स कम्पनीका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बीमा कम्पनीको लेखापरीक्षण गराउन स्वदेशमा नै जनशक्ति खोजी गर्ने प्रयासलाई स्वागत गरेका छन् । समयमा नै ‘एक्चुरियल’ लेखापरीक्षण हुन नसक्दा बीमा कम्पनीले तोकेको समयमा साधारणसभा गर्नसमेत पाएका छैनन् । पछिल्लो पटक ‘एनएफआरएस’ लागू भएका कारण पनि समस्या परेको छ । समितिले भारत, बेलायत, अष्टे«लियाका पाँच कम्पनीलाई बीमाकंकको काम गर्ने गरी सूचीमा राखेको छ । नेपाल स्टक एक्सचेञ्जमा विभिन्न सात जीवन बीमा कम्पनी र १५ निर्जीवन बीमा कम्पनी सूचीकृत छन् । केही कम्पनी भने सूचीकृत भएका छैनन् । रासस

हेटौँडा सिमेन्ट अझै ५१ करोड घाटामा, ८३ करोडबाट कम हुँदै

हेटौँडा । सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको घाटा कम हुँदै गएको छ । ८३ करोड घाटा रहेको सो उद्योगको हाल घाटा ५१ करोडमा झारिएको उद्योग प्रशासनले जनाएको छ । लामा समयदेखि घाटामा रहेको सो उद्योगले २०७१ सालबाट वार्षिक १८ करोडदेखि २० करोड मूल्य बराबरको सिमेन्ट उत्पादन बिक्री गरी नाफा कमाएको छ । उद्योगले हाल दैनिक ७५० टन सिमेन्ट उत्पादन गर्दै आएको छ । वर्षमा २७ लाख बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता भए पनि उच्च प्रविधि र प्राविधिकको अभाव कारण २१ लाख बोरा सिमेन्ट मात्र उत्पादन हुने गरेको उद्योग सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले बताए । नेपाल सरकारको सहयोग भएमा सम्भाव्यताको आधारमा एक हजार २०० देखि दुई हजार ५०० टन दैनिक सिमेन्ट उत्पादन गर्ने लक्ष रहेको उद्योग प्रसाशनले बताएको छ । बजार डिलरका अनुसार हेटौँडा सिमेन्ट उद्योगको माग अत्यधिक छ । यसको क्षमता वृद्धि भएमा बजार राम्रो हुने बताइएको छ । निजी क्षेत्रमा उत्पादित सिमेन्ट केही सस्तो भएकाले यसले आफ्नो बिक्री मूल्य घटाउनु पर्ने हेटौँडाका सिमेन्ट व्यवसायी रामप्रसाद साहले भए । यो उद्योगको उत्पादन गुणस्तरीय हुन्छ भन्ने सर्वसाधारणको विश्वास छ ।

हृदयाघातका विरामी पारसको स्वास्थ्यमा सुधार

काठमाडौं ।  नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत  पूर्व पुवराजा पारस विक्रम शाहको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत  पूर्व राजा पारस  हिडडुल गर्न र सामान्य क्रियाकलाप गर्ने आदि गर्न सक्ने भएको छन् । सोमबार साँझ पूर्व युवराज पारस विक्रम शाहलाई तेस्रो पटक हृदयाघात भएको थियो । मुटुको धमनी बन्द भएको अवस्थामा नर्भिक इन्टरनेशनल अस्पताल पुगेको शाहको उपचारमा सुधार आएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

गुड्दा गुड्दै चार्ज हुने ईलेक्ट्रिक कार ‘कोना इभि’ सार्बजनिक, मूल्य ५२ लाख रूपैयाँ

काठमाडौँ । हुण्डाइ माेटर्सकाे नयाँ उत्पादन ‘कोना इभि’ सेगमेन्टकाे इलेक्ट्रिक कार नेपाली बजारमा बिक्री वितरण शुरू भएकाे छ । गुड्दा गुड्दै चार्ज हुने मुख्य विशेषता भएकाे याे कार हुन्डाईको नेपालका लागि आधिकारिक डिलर लक्ष्मी इन्टरकन्टिनेन्टलले बिहीवार सार्वजनिक गरेकाे हाे । कम्पनीले यस कारको मूल्य ५१ लाख ९६ हजार रुपैयाँ तोकेको छ । गाडीमा भएका सुविधाका आधारमा मूल्य महँगाे नभएकाे कम्पनीले जनाएकाे छ । नयाँ कारकाे बुकिङ शुरूवात राम्राे भएकाे लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकार श्रेष्ठले बताए । याे कार पूर्ण इलेक्ट्रिक सब कम्प्याक्ट एसयुभी हाे  जसमा बनावट आकर्षक छ । आधुनिक र सबै प्रयाेगजकाे चलाउन मिल्ने कार भएकाेले बजारमा याे आकर्षक कार बन्ने कम्पनीकाे विश्वास छ । कम्पनीका अनुसार कोना इभि कारलाई फूल चार्ज गर्दा ३९ युनिट विद्युत खपत हुन्छ । एक पटक फूल चार्ज गरेपछि ३१२ किलो मिटर कार चलाउन सकिन्छ । यो कार गुड्दा गुड्दै १० प्रतिशत व्याट्रि आफैँ चार्ज हुन्छ । कार चलिरहेको बेला ब्रेक हान्दा पनि ब्याट्रि चार्ज हुने बताइएको छ । फूल चार्ज गर्न डिसी फास्ट चार्जरबाट ५७ मिनेट लाग्छ । यो कार सफल रेन्जको सबै भन्दा नयाँ मोडल हो । यसको १३५ पिएसको पावरले यस युभिको दरिलो पनको साथ ईलेक्ट्रिक पावर प्रदान गर्दछ । सिंगल चार्ज गर्दा यसको ईलेक्ट्रिक ड्राईभिङ रेन्ज ३०० किलोमिटर भन्दा बढी छ । भिन्न टप बटम, एलइडि डिआरएलयस, हेडल्याम्प ढाकिएको फ्रन्ट चार्ज पोर्ट, एलइडि रियर ल्याम्प, ईलेक्ट्रीक पार्किङ ब्रेक, प्याडल सिफटर, तातो हावा जाने अगाडिको सिट, ताररहीत फोन चार्जर, ६ एअरब्याग र हिल एसिस्ट कन्ट्रोल जस्ता विशेषता रहेको छ । उच्च प्रभावकारिता र वातावरण मैत्री सवारी-साधन उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई कोना इभिको साथ पूरा गर्दै उल्लेखनीय फड्को मारेको छ । ग्राहकहरुलाई ड्राइभिङ डाइन्यामिक्स, लुक्स र पर्फरमेन्समा सम्झौता नगरी विविध वातावरण मैत्री गाडीहरुबाट प्रेरित गर्ने हुन्डाईका डिलरसिप हेड दिवाकर रेग्मीले बताए ।

क्यान इन्फोटेककाे दाेस्राे दिनमा एक लाखद्वारा अवलोकन

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेलाको दुई दिन दिनमै एक लाखभन्दा बढीले अवलोकन गरेका छन् । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १५ गतेदेखि आयोजना गरेको २५औं संस्करणको क्यान इन्फोटेक २०१९ मा अवलोकनकर्ताले उत्साहजनक सहभागिता जनाएका हुन् । ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ईसेवा’ नाम दिइएको मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका छन् । मेलामा बुधबारदेखि सुरु भएको रोबोट ब्याटल कम्पिटिसनमा अवलोकनकर्ताको विशेष आकर्षण देखिएको छ । मेलामा रहेको रोबोटिक्स जोनमा मेलाको अन्तिम दिन आइतबार (२० गते)सम्म पाँच दिन रोबोट ब्याटल कम्पिटिसन हुनेछ । कम्पिटिसनमा मावि, उच्च मावि तथा इन्जिनिरिङ कलेजका विद्यार्थीले बनाएका रोबोटबीच ब्याटल कम्पिटिसन हुनेछ । कुल १७५ स्टल रहेको मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल छन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । माघ १७ गते बिहीबार बिजनेस डेका दिन भने सबैले १०० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ । प्रविधि मेलामा सामूहिक रुपमा आउन चाहने सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यालयबाट पत्र लिएर आएमा निःशुल्क प्रवेश पाउने व्यवस्था मिलाइएको छ । त्यस्तै, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई पनि निःशुल्क प्रवेशको सुविधा दिइएको छ । २५औं संस्करणको क्यान इन्फोटेकको मुख्य प्रायोजक सुबिसु केबलनेट प्रा.लि. हो भने एसोसिएट प्रायोजक ई सेवा फोन पे प्रा.लि. हो । डाइमन्ड स्पोन्सरमा प्रभु ग्रुप रहेको छ । त्यस्तै, गोल्ड स्पोन्सरमा एनसेल प्रा.लि. र लर्ड बुद्ध एजुकेसन फाउन्डेसन रहेका छन् ।

पोखरा फाइनान्सको बोनस सेयर सूचिकृत

काठमाडौं । पोखरा फाइनान्सको ४ लाख ८ हजार २२५ कित्ता बोनस सेयर सूचिकृत भएको छ । फाइनान्सको बिहीबार मात्रै सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । केन्द्रिय कार्यालय पोखरामा रहेको यस फाइनान्सको हाल ८५ करोड ७२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । बिहीबार संस्थाको सेयर मूल्य प्रतिकित्ता १३३ रुपैयाँ रहेको छ । हालसम्म संस्थाको ८५ लाख ७२ हजार ७२६ कित्ता सेयर नेप्सेमा सूचिकृत भइसकेको छ ।

काँठमा नयाँ शहर: जग्गाधनी विस्थापित हुनु नपर्ने, नयाँ शहर विकासपछि जग्गाको मूल्य बढ्ने

काठमाडौं । परामर्शदाताहरुले काँठमा बन्ने ४ शहरको प्रारम्भिक प्रतिवेदन बुझाउन थालेका छन् । उपत्यकामा व्यवस्थित बस्ती विकास गर्नका लागि विभिन्न चरणमा अध्ययन भैरहेको छ । प्रारम्भिक चरणको अध्ययनमा सकारात्मक प्रतिवेदन आएको काठमाण्डौ उपत्यका विकास प्राधिकरणका कामु नायब विकास आयुक्त तथा आयोजना प्रमुख दिलिप पौडेलले बताए । नायब विकास आयुक्त पौडेलका अनुसार परामर्शदाताहरुले फिजिबिलीटीको प्रतिवेदन तयार गरिरहेका छन् । व्यवस्थित बस्ती विकासका लागि उपत्यका विकास प्राधिकरणले ४ शहरको काम गरिरहेको छ । अहिले जग्गा क्षेत्र निर्धारणको काम भइरहेको छ । शहरको कुन क्षेत्रमा कस्ता खालका भौतिक पूर्वाधारहरु निर्माण गर्न सकिन्छ भनेर अध्ययन भैरहेको प्राधिकरणका इन्जिनियर भागवतभक्त खोखालीले बताए । नयाँ शहर बन्दा जग्गा धनि विस्थापित हुनु नपर्ने शहर विकास आयोजनाको योजना अनुसार नयाँ शहर बन्दा एक जनापनि विस्थापित हुनु नपर्ने आयोजना प्रमुख पौडेलले बताए । उनका अनुसार शहर विकासका लागि अहिले जनस्तरमा छलफल भैरहेको छ । आयोजना क्षेत्रमा पर्ने १ वा २ आना जग्गा हुने व्यक्तिलाई पनि अर्को स्थानमा जग्गा मिलाउने गरी काम भैरहेको छ । आयोजनामा पर्ने सडक, ढल, पार्किङ, पार्क, अस्पताल लगायत पूर्वाधार विकासका लागि कति प्रतिशत जमिन कटौती गर्ने भन्ने विषयमा छलफल हुनै बाँकी रहेको छ । यस्ता पूर्वाधारमा पर्ने थोरै जग्गा हुने व्यक्ति जग्गा परेमा त्यस्ता व्यक्तिलाई अरु स्थानमा जग्गाको व्यवस्थापन गरिनेछ । आयोजना क्षेत्रमा भने हाल कित्ताकाट गर्न प्रतिबन्ध लगाइएको छ । कुनै व्यक्तिले पहिलेकै कित्ता अनुसार भने जग्गा किनबेच गर्न पाउनेछ । नयाँ शहर विकासपछि जग्गाको मूल्य बढ्ने ४ शहर विकास भैसकेपछि हरेक घडेरीमा विजुली, पानी, सडक, पार्क, पार्किङ, विद्यालय इत्यादिको विकास हुनेछ । यसले उपत्यकामा मानिसको चामलाई सन्तुलन गर्ने प्राधिकरणको विस्वास रहेको छ । उत्कृष्ट स्वदेशी तथा विदेशी परामर्श दाताहरुले अध्ययन गरी प्लानिङ गरिएको घडेरीले राम्रो मूल्य पाउन सक्ने विस्वास गरिएको छ । परामर्शदाताहरुले आगामी भदौसम्म अन्तिम प्रतिवेदन बुझाउनेछ । प्रतिवेदन तयार भएपछि प्राधिकरणले बिस्तृत योजना सहित शहरी विकास मन्त्रालयमा पेश गर्नेछ । यसपछि मन्त्रालयले थप अध्ययन गरी मन्त्रिपरिषदमा पेश गर्नेछ । यदि मन्त्रालयबाट पेश भएमा शहरमा पूर्वाधार विकासको काम अघि बढ्नेछ । यस्ता छन् नयाँ बन्ने शहरहरु: काठमाडौं आग्नेय भक्तपुरमा निर्माण हुने यो शहर १० हजार रोपनीमा फैलिएको हुनेछ । यसको पूर्वमा अरनिको राजमार्गको सूर्यविनायक चोकबाट सूर्यविनायक मन्दिर अगाडिको वनलाई बाहिर पार्दै अघि बढ्नेछ । पश्चिमतर्फ खहरे खोला, बालकोट विरुवा सडक, पानी ट्यांकी, बालकोट अमरनगर थिमी हुँदै अरनिको राजमार्गसम्म आइपुग्नेछ । उत्तरमा भने अरनिको राजमार्गलाई छुनेछ । दक्षिणमा भने यो शहरले सिलामखाल, रानीकोट जंगल छेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार विरुवा हुँदै खहरेसम्म पुग्नेछ । यो शहरको डिपीआर इआरएमसी एनइएसटी एडीए जेभीले निर्माण गरिरहेको छ । काठमाडौं नैऋत्य १० हजार रोपनी क्षेत्रफल ओगट्ने यो शहरले ललितपुरको विभिन्न भू–भागलाई समेट्नेछ । नैऋत्य काठमाडौंको पूर्वी भाग साबिकको खोकना १ देखि ८ नम्बर वडासम्म पुगेर बुङमति वडा नम्बर १ भएर छम्पी जाने बाटो बाटोबाट वडा नम्बर २ देखि ६ नम्बरसम्म पुग्नेछ । पश्चिममा बागमति नदी छेउम्म यो शहर निर्माण हुनेछ । उत्तरमा भने साविकको सैँबु गाबिसको सिमानासम्म शहरले छुनेछ । दक्षिणमा भने काठमाडौं नैऋत्यले बागमति नदि किनार नै छुनेछ । यो शहर पनि १० हजार रोपनी क्षेत्रमा फैलिएको हुनेछ । यो शहरको डीपीआरको काम इआरएमसी एनइएसटी एडीए जेभी कम्पनीले गरिरहेको छ । जेभी कम्पनीले १ वर्षभित्र डीपीआर सक्ने गरी सम्झौता गरेको छ । ‘डिपीआर निर्माणका लागि प्रधिकरणले २ करोड रुपैंयाँ छुट्याएको छ । नयाँ शहरमा भवन निर्माण आचार संहिता अनुसारका भूकम्प प्रतिरोधी भवन, सडक, ढल निकास, खुल्ला मैदान, मनोरञ्जन पार्क, स्वास्थ्य केन्द्र, खेल मैदान, एकिकृत सरकारी सेवा केन्द्र, शिक्षाको उपयुक्त प्रबन्ध लगायतका संरचना निर्माण गरिनेछ । इशान काठमाडौं यो शहर काठमाडौंको पूर्व उत्तर क्षेत्रमा पर्छ । यो शहर पूर्वमा भक्तपुरको नगरकोट जाने बाटो, तेलकोट सडक, पश्चिममा जोरपाटी क्रिकेट मैदान, मुलपानी गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिनेछ । त्यस्तै, उत्तर तर्फ साँखु बजार र साँखु जाने मुल सडकसम्म फैलिनेछ । दक्षिणमा भने भक्तपुर पुरानो बाटो सैनिक प्रतिष्ठान, इतापाके जग्गा एकिकरण आयोजना लगायतको क्षेत्रमा फैलिएको हुनेछ । यो नयाँ शहर एक लाख रोपनी क्षेत्रफलमा निर्माण हुनेछ । सबैभन्दा ठूलो शहरको रुपमा हेरिएको यो शहरको डिजाइन फिनल्याण्डको हेलेन एण्ड आर्किटेक जेभीले निर्माण गरिरहेको छ । काठमाडौं उत्तर यो शहरले काठमाडौं जिल्लाको १० हजार रोपनी जमिन ओगट्नेछ । यसमा पूर्वतिर सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म आउनेछ । त्यस्तै, पश्चिममा काभ्रेस्थली देखि बाइपास आउने मुल सडक पर्नेछ । उत्तरतर्फ भने सपनतिर्थ मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म पुग्नेछ । दक्षिणमा भने यो शहरले ग्रीनल्याण् चौक देखि महादेवखोला काभ्रेस्थली मुल सडक छुनेछ । यो शहरको वृस्तिृत योजना प्रतिवेदन डीपीआर फुल ब्राइट कम्पनीले बनाइरहेको छ । कम्पनीले १ वर्षमा आयोजनाको प्रतिवेदन तयार पारी बुझाउने प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले बताए । उनका अनुसार कम्पनीसँग प्राधिकरणले १ करोड ४२ लाखमा डीपीआर निर्माण गर्ने सम्झौता भएको छ ।

मुख्यमन्त्री,बेटी पढाउ, बेटी बचाउकोष र प्रभु बैंकबीच मुद्दती बचत सम्बन्धि सम्झौता

काठमाडौं । प्रभु बैंक र मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कोषबीच मुद्दती बचत सम्बन्धि सम्झौता भएको छ । उक्त अभियान अन्तर्गत छोरी शिक्षा बीमा/मुद्दती बचत कार्यक्रम कार्यान्वयन सम्बन्धी सो सम्झौता भएको हो । प्रदेशस्तरीय मन्त्री परिषदको तर्फबाट सचिव हरिप्रसाद फुयाल र प्रभु बैंकका तर्फबाट सहायक महा प्रबन्धक अशोक खडगीले उक्त सम्झौतामा हस्ताक्षर गरी प्रदेश नं. २ का मुख्यमन्त्री लालबहादुर राउतलाई हस्तान्तरण गरिएको थियो । प्रदेश नं. २ का ८ जिल्लामा जन्मिएका छोरीहरुको नाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सिफारिसको आधारमा प्रभु बैंक लिमिटेडले २० वर्षको अवधिको लागि मुद्दती खाता खोलि दिनेछ । मन्त्रालयले प्रदान गर्ने रु. १३ हजार ६ सय ४६ रुपैयाँ र १५ पैसामाखोलिएको मुद्दती खाता २० वर्ष पछि सम्बन्धित छोरीको अभिभावकले एकमुष्ठ १ लाख रुपैयाँ पाउने व्यवस्था रहेको छ । खाता खोलिएको छोरीको मृत्यु भएमा वा कडा रोग लागेको प्रमाणित भएका वा अभिभावकको मृत्यु भएमा मन्त्रालयको सिफारिसको आधारमा खातामा जम्मा भएको रकमको साँवा र व्याज प्राप्त गर्न सकिने व्यवस्था समेत रहेको छ । प्रदेश नं. २ स्थित मन्त्रीपरिषदको कार्यालयले सञ्चालनमा ल्याएको लोकप्रिय अभियानमा बैंकिङ्ग सहकार्य गर्दै प्रभु बैंकले आफुलाई व्यवसायिक मात्र नभएर सामाजसेवी बैंकको रुपमा स्थापित गराउन अग्रसर रहेको छ । साथै, प्रभु बैंक सामाजिक सेवाभाव सहितको बैंकिङ्ग सेवा उपभोग गरी प्रदेश नं. २ को समग्र विकासमा टेवापुग्ने बैंकले बताएको छ ।