विकासन्युज

सुनको माग चार प्रतिशत वृद्धि, बढ्यो कारोबार

बेइजिङ, चीन । विश्वव्यापीरूपमा सुनको माग बढ्दो अवस्थामा रहेको वल्र्ड गोल्ड काउन्सिल (डब्लुजीसी) ले बिहीबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ । केन्द्रीय बैंकले दशकौँदेखि बढी मात्रामा सुन खरिद र सुनमा लगानी तीब्र पारेको कारणले सुनको मागमा वृद्धि देखिएको हो । सन् २०१७ मा सुनको विश्वभर जम्मा चार हजार ३४५ टन माग रहेकोमा सन् २०१८ मा यसमा चार प्रतिशतको वृद्धि देखिएको डब्लुजीसीले रिपोर्टमा उल्लेख गरेको छ । हरेक मुलुकको केन्द्रीय बैंकद्वारा हुने सुनको खरिदमा अघिल्ला बर्षको तुलनामा सन् २०१८ मा ७४ प्रतिशतले वृद्धि भई जम्मा ६५१.५ टन पुगेको छ । यो आर्थिक बर्षमा सुनको कारोबारमा अहिलेसम्मकै दोस्रो धेरै खरिदविक्री भएको प्रतिवेदनमा उल्लेख छ । गत बर्षमा गहनाका लागि दुई हजार २०० टन सुनको माग रहेको थियो यो अघिल्लो बर्षको तुलनामा सामान्य वृद्धि हो । सुनको सिक्का र बारहरूको लागि सुनको मागमा पनि चार प्रतिशतको वृद्धि आई गत बर्ष जम्मा एक हजार ९० टन पुगेको छ । सुनमा आधारित विनिमय व्यापार कोष तथा अन्य उत्पादनमा भने सुनको मागमा भने अघिल्लो बर्षको तुलनामा सन् २०१८ मा ६७ प्रतिशतले कमी आउँदा यस शीर्षकका लागि जम्मा ६८.९ टन माग देखिएको छ । गत बर्ष प्रविधि क्षेत्रमा ३३४.६ टन सुनको प्रयोग भएको छ, जुन अघिल्लो बर्षको तुलनामा जम्मा एक प्रतिशत बढी हो । स्मार्ट फोनको विक्रीमा देखिएको मन्दीका कारण प्रविधि क्षेत्रमा सुनको प्रयोगमा कमी आएको डब्लुजीसीले उल्लेख गरेको छ । , रासस÷सिन्ह्वा

नूबियाले स्मार्टफोनको मूल्य घटायो, अब कतिमा पाइन्छ ?

काठमाडौँ । नूबियाले नेपाली बजारमा लोकप्रिय मोबाइल फोनहरुको मूल्य घटाएको छ । नूबिया फोनको नेपालका लागि आधिकारिक बितरक आइटिपी नेपाल प्रालिले चार मोडलहरु जेड १७ मिनी, जेड १७ लाइट, जेड १७ मिनी एस र भी १८ स्मार्टफोनको अधिकतम बजार मूल्य घटाएको हो । कम्पनीले जेड १७ मिनी स्मार्टफोनको मूल्य घटाउँदै रु.२३,०००/– कायम गरेको छ । यसअघि जेड १७ मिनीको पुरानो मूल्य रु.२४,५९०/– रहेको थियो । जेड १७ लाइटको मूल्यमा पनि रु.२,०००/– घटाउँदै नयाँ मूल्य रु.२६,५००/– कायम गरेको छ । नूबिया जेड १७ मिनी एसको नयाँ मूल्य रु. २८,०००/– रहेको छ । यसअघि यो स्मार्टफोनको पुरानो बजार मूल्य रु.२९,५००/– रहेको थियो । त्यसैगरी नूबिया भी १८ स्मार्टफोनको मूल्यमा रु.२,५००/– घटाएर नयाँ बजार मूल्य रु. २५,०००/– कायम गरेको छ । नूबियाका स्मार्टफोनहरुमा घटेको बजार मूल्यमा नै यी फोनहरु नेपालभर उपलब्ध रहेको आइटीपी नेपाल प्रालिले जनाएको छ । जेड १७ लाइट र जेड १७ मिनी एस स्मार्टफोनमा कम्पनीले स्न्यापड्रागन ६५३ प्रोसेसर राखेको छ भने यसमा ६जीबी र्याम तथा ६४ जीबीको स्टोरेज रहेको छ । ड्यूल रियर क्यामरा भएका स्मार्टफोनहरुमा ३२०० एमएएचको ब्याट्री ब्याकअप तथा फिंगरप्रिन्ट सेन्सर पनि रहेको छ । ६ जीबी र्याम भएका यी स्मार्टफोनहरु नेपाली बजारमा सबैभन्दा सस्तो मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सांग्रिला बैंकका ग्राहकलाई ग्राण्डीमा विशेष छुट

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच बैंकका कर्मचारी तथा ग्राकहहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट कर्जा तथा मार्केटिङ्ग विभाग प्रमुख निर्मल कुमार श्रेष्ठ र हस्पिटलको तर्फबाट मार्केटिङ्ग तथा व्यापार विकास विभागका उज्वल रेग्मीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा यस विकास बैंकको हाल संचालनमा रहेका ८० वटै शाखाका भिसा डेविट कार्ड प्रयोगकर्ता गा्रहकहरुले बैंकको ग्राण्डी हस्पिटल प्रालिले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट पाउने छन् । यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैंकिङ सेवाको अतिरिक्त ग्राण्डी हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सम्बन्धी विभिन्न उपचारहरुमा पनि विशेष छुट दिलाई सहयोग गर्न लागेको बैकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।

एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’, सुबिधा यसरी लिन सकिन्छ

काठमाडौँ । एनसेलका ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग सुलभ दरमा असीमित कुराकानीको मजा लिन सक्ने भएका छन् । नजिकिदै गरेको प्रणय दिवसको अवसरमा एनसेलले आफ्ना ग्राहकका लागी भ्यालेन्टाइन अफर ल्याएको छ, जसअन्तर्गत ग्राहकले आफुले छानेको एउटा विषेश एनसेल नम्बरमा मात्र ५० पैसा(कर सहित ६४ पैसा) प्रति मिनेटका दरले कुरा गर्न सक्नेछन् । यो भ्यालेनटाइन अफर यहि शुक्रबारबाट लागु हुनेछ । अफर अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले एउटा एनसेल नम्बरलाई आफ्नो नम्बरसँग बिना कुनै शुल्क पेयर गरी मात्र ५० पैसा (कर बाहेक) प्रति मिनेटमा फेब्रुअरी महिना(माघ १८ देखि फागुन १६ गते) भर कुरा गर्न सक्नेछन् । यसका साथै यो सेवा सुचारु गर्ने ग्राहकले १०० वटा एसएमएस निःशुल्क पाउने छन् । यसरी प्राप्त निःशुल्क एसएमएस पेयर गरीएको नम्बरमा सन्देशहरु पठाउन प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकले एस्ट्रिक्स् १७१०६ एस्ट्रिक्स् पेयर गरिने मोबाइल नम्बर ह्यास डायल गरी यो सेवा सुचारु गर्न सक्नेछन् । ग्राहकहरुले सिधै १७१०६ डायल गरेर पनि अफर सुचारु गरी आफुले चाहेको एनसेल नम्बर पेयर गर्न सक्नेछन् । साथै उनीहरुले एनसेल एपबाट पनि यो सेवा सहजै सुचारु गर्न सक्छन् । भ्यालेन्टाइन अफरले ग्राहकलाई सुलभ दरमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

एक नम्बरको प्रतिष्पर्धामा पाँच बाणिज्य बैंक, स्थापितलाई टक्कर दिँदै एनआईसी एसिया र ग्लोबल

काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनाको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक हुँदा पाँच वटा बैंक एक नम्बरका लागि कडा प्रतिष्ष्पर्धा गरिरहेका छन् । निक्षेप, कर्जा लगानी र खुद ब्याज आम्दानी जस्ता आधारभुत गणनामा पाँच बैंकबीच कडा टक्कर रहेको देखिन्छ । नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई र एनआईसी एसिया बैंकले खरो प्रतिष्पर्धामा देखिएका हुन् । नविल र नेपाल इन्भेष्टमेन्ट र एभरेष्ट बैंकबीचको प्रतिष्पर्धामा नयाँ खेलाडीका रुपमा एनआइसी एसिया र ग्लोबल आइएमई थपिएका छन् । नाफामा केहि पछि परेपनि निक्षेप र कर्जा लगानीमा एनआइसी एसिया बैंकले सबै बैंकलाई उछिनेको छ । एनआइसी एसिया बैंकले १ खर्ब ६३ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ४९ अर्ब कर्जा लगानी गरेको छ। जबकी नविल बैंकको निक्षेप १ खर्ब ४३ अर्ब र कर्ज लगानी १ खर्ब ३० अर्ब मात्रै रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको निक्षेप १ खर्ब ४१ अर्ब छ भने कर्जा लगानी जम्मा १ खर्ब २७ अर्ब कर्जा लगानी गरेको छ । एभरेष्ट बैंकले १ खर्ब २० अर्ब निक्षेप संकलन गरेर १ खर्ब ५ अर्ब कर्जा लगानी गरेकोे देखिन्छ । ग्लोबल आइएमई बैंकले पनि आफुलाई शिर्ष बैंकको दौडमा अब्बल बनाउँदै लगेको छ । ग्लोबलको निक्षेप १ खर्ब ११ अर्ब निक्षेप संकलन गरेर १ खर्ब २ अर्ब कर्जा लगानी गरेको छ । खुद ब्याज आम्दानीमा भने अझैसम्म नविल बैंक नै अगाडी रहेको छ । नविलले ३ अर्ब ६१ करोड खुद ब्याज आम्दानी गरेको छ भने एनआइसी एसियाको ३ अर्ब ६० करोड रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले भने ३ अर्ब ३१ करोड खुद ब्याज आम्दानी गरेको छ । एभरेष्ट बैंकले २ अर्ब ६७ करोड खुद ब्याज आम्दानी गर्दा पाँचौं नम्बरमा भने हिमालयन बैंक आईपुगेको छ । हिमालयनको खुद ब्याज आम्दानी २ अर्ब ४९ करोड पुगेको छ । २ अर्ब ३८ करोड खुद ब्याज आम्दानीका आधारमा ग्लोबल आइएमइ बैंक छैठो स्थानमा देखिन्छ । नफाका आधारमा पनि नविल बैंक नै एक नम्बरमा रहेको छ । नविलले २ अर्ब ४ करोड खुद नाफा गरेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ७२ करोड नाफा गरेको छ । एनआइसी एसियाको नाफा १ अर्ब २६ करोड रहेको छ भने चौथो नम्बरमा हिमालयन बैंक आईपुगेको छ । हिमालयनको नाफा १ अर्ब १६ करोड पुगेको छ । पाँचौं नम्बरमा ग्लोबल आइमएइ बैंकले १ अर्ब १२ करोड नाफा गरेको देखिन्छ । नाफाका आधारमा छैठौं नम्बरमा प्रभु बैंक परेको छ, प्रभुले १ अर्ब ८ करोड नाफा गरेको छ । एभरेष्ट बैंक भने सातौं नम्बरमा पुगेको छ । एभरेष्टले चालु आवको ६ महिनामा १ अर्ब ४ करोड मात्रै नाफा गरेको देखिन्छ । नाफाका हिसाबले सानिमा बैंक पनि टप ८ मा आईपुगेको छ । सानिमाले ६ महिनामा ९४ करोड खुद नाफा गरेको देखिन्छ । उत्कृष्ठ रहँदै आएका स्थापित बैंकहरुलाई यसपालीदेखि एनआइसी एसिया र ग्लोबल आइएमइ बैंकले कडा टक्कर दिएका छन् । नाफाको मुल आधारका रुपमा रहेको निक्षेप संकलन र कर्जा लगानीका हिसाबले एनआइसी एसिया बैंकले अन्य बैंकहरुलाई पछि धकेलिसकेको छ । खराब कर्जाको मात्रालाई राम्रो व्यवस्थापन गर्न सके एनआइसी एसिया बैंकले अन्य बैंकलाई राम्रै चुनौती दिने देखिन्छ । ग्लोबल आइएमई बैंक, हिमालयन बैंकले पनि आफुलाई अब्बल बनाउँदै लगेका छन् ।

पुनर्निर्माणकाे जिम्मेवारी ३२ जिल्लाका स्थानीय तहलाई हस्तान्तरण

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प प्रभावित ३२ जिल्लाका स्थानीय तहहरुलाई पुननिर्माणको कार्य जिम्मेवारी, साधन स्रोत र अधिकार हस्तान्तरण गरेको छ । संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय पुन निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुन निर्माणका कार्यलाई गति दिन, स्थानीय तहहरुमा स्वामित्व बढाउन, संस्थागत दिगोपना बढाउन र संघीयताको कार्यन्वयनका लागि प्राधिकरणले स्थानीय तहरुलाई अधिकार हस्तान्तरण गरेको जानकारी दिएका छन् । भूकम्प प्रभावित जिल्लाहरुमा २ सय ८४ स्थानीय तह छन् । प्राधिकरणले अभियानका रुपमा स्थानीय तहहरुसँग ११ बुँदे समझदारी गरी अधिकार हस्तान्तरण गरेको थियो । संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु सहित जिल्ला पुनर्निर्माण समितिहरुलाई सकृय पारेको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यसबाट संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भई पुन निर्माण अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे । समितिमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले निजी आवास, शैक्षिक संस्था, सरकारी भवन, सुरक्षा निकायका भवन, साँस्कृतिक सम्पदा लगायतको पुननिर्माणमा हालसम्म भएको प्रगति र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए । बैठकमा सांसदहरुले सम्पदाहरुको पुनर्निर्माण, विदेशमा भएका लाभग्राही, पुनर्निर्माणमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, लाभग्राहीले ठाउँ परिवर्तन गर्न पाउनेरनपाउने, सहुलियत ऋण, तेस्रो किस्ता लिने लाभग्राही, वैदेशिक सहयोग, गैरसरकारी संस्थाहरुको परिचालन, प्राधिकरणलाई आईपरेका चुनौतीहरु लगायतबारे जिज्ञासा राखेका थिए । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सांसदहरुका जिज्ञासाको उत्तर दिँदै लक्ष्य स्पष्ट गरी काम गरेकाले पूर्व निर्धारित समयमा नै पुन निर्माण सम्पन्न हुने बताए । बजेट व्यवस्थापन चूनौतीपूर्ण रहेको भन्दै प्राधिकरण अन्तर्गतका कर्मचारीहरुलाई समायोजन प्रकृयामा समावेश गरिए त्यसले पनि पुन निर्माणमा असर पार्न सक्ने धारणा व्यक्त गरेका थिए । समितिले निजी आवास, शैक्षिक संस्था, सम्पदा, स्वास्थ्य संस्था, एकीकृत बस्ती लगायतलाई प्राथमिकताका आधारमा पुन निर्माण गर्न निर्देशन दिएको छ । यस्तै समितिले सम्पदाहरुको पुन निर्माण गर्दा समय, गुणस्तर र ऐतिहासिकता महत्वलाई ध्यान दिन, तीन तहका संरचनाहरुबीच समन्वय गर्न, पुननिर्माण सम्बन्धी स्थानीय तहसम्म रहेका सबै संरचनाहरुलाई अझ बढी कृयाशील बनाउन लगायतका निर्देशनहरु दिएको छ ।

देशको चिन्ता लिनु पर्ने दिन आउँदैनः प्रम ओली

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने बताएका छन् । सरकारले देशको समृद्धि र विकासको एजेण्डामा क्रियाशील भएर काम गरेको जोड दिँदै प्रम ओलीले अब कसैले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने बताए । उनले भने, “सरकारले चौतर्फी तीव्रगतिले काम गरेको छ, त्यसैले अब कसैले पनि देशको चिन्ता लिने दिन आउँदैन ।” झापाको दमक नगरपालिकाले यहाँ आजदेखि आयोजना गरेको पाँचदिने प्रदेशस्तरीय बृहत् बालमहोत्सवको उद्घाटन गर्दै प्रम ओलीले वर्तमान सरकारको एकमात्र लक्ष्य विकास र समृद्धि भएकाले त्यहीँबाट नेपालले फड्को मार्ने जोड दिए । देशको अहिलेको आवश्यकता पूरा गर्न सरकार स्पष्ट र जिम्मेवारीका साथ अगाडि बढेकोउल्लेख गर्दै उनले विकास र समृद्धिको महान् यात्रामा अब सबै नेपाली एक ढिक्का हुनुपर्ने खाँचो रहेको औँल्याए । उनले देशको साझा लक्ष्यप्राप्तिका लागि कसैले बाधक बन्न नहुने धारणा राखे । सरकारले ‘सुखी नेपाली र समृद्धि नेपाल’को परिकल्पना सरकारको लक्ष्यमात्र नभएर देशकै योजना भएको उनको जिकिर थियो । प्रधानमन्त्री ओलीले देशको विकाससँगै नेपाली जनताको अधिकार प्राप्ति र विकासमा आधुनिकता हासिल गर्न उन्मुख भएकाले पनि देश रुपान्तरितको दिशामा अगाडि बढेको छ भने । उनले बालमहोत्सवले बालबालिकाभित्रका लुकेका प्रतिभालाई उजागर गर्ने अवसर भएको बताए । यस्ता महोत्सव आफ्ना क्षेत्रको पहिचानसँगै देशको आर्थिक विकासमा सघाउ पु¥याउन सहयोग पुग्ने माध्यम भएको उनको भनाइ थियो । त्यसअवसरमा उनले नगरपालिकाद्वारा प्रकाशित ‘प्रोफाइल’को समेत विमोचन गरे । कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देशको विकास र समृद्धिको महान् लक्ष्यप्राप्तिका लागि सबै एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेकामा जोड दिए । नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा भएको बालमहोत्सव उद्घाटनमा नगरउपप्रमुख तथा बालमहोत्सव मूल समितिका संयोजक गीता अधिकारीले बालमहोत्सव बालमैत्री नगर बनाउन यसले सघाउ पु¥याउने चर्चा गरिन् । बालमहोत्सवको उद्घाटनमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, भौतिक योजनमन्त्री रघुवीर महासेठलगायत प्रदेशका मन्त्रीको उपस्थिति थियो । महोत्सवमा स्थानीय जातिका झाँकी, नृत्यसमेत प्रस्तुत गरिएको थियो । दमक–९ स्थित हिमालय माध्यमिक विद्यालयमा शुरु भएको उक्त बालमहोत्सवमा बालबालिकाको प्रतिभा उजागर गर्ने नृत्य, निबन्ध, चित्रकला, कविता, हाजिरीजवाफ, वक्तृत्वकला, विज्ञान प्रतियोगितालगायतका एक दर्जन बढी विभिन्न विधामा एक हजार बढी विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । दैनिक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चल्ने महोत्सवभरि स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको प्रस्तुतिसमेत रहने जनाइएको छ । करीब एक लाख सर्वसाधारणले अवलोकन गर्ने लक्ष्य राखिएको उक्त महोत्सवमा बालबालिकासहित विभिन्न ५० वटा व्यावसायिक कक्ष रहनेछन् । रासस

ज्योति विकास बैंकको नयाँँ शाखा धरानमा

ज्योति विकास बैंकले सुनसरी जिल्लाको धरानमा नयाँ शाखा संचालनमा ल्याएको छ । धरान उपमहानगरपालिका वडा नं १२ मा रहेको उक्त नयाँ शाखा प्रमुख अतिथि सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाह र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ६० हजार भन्दा बढि खाताबाट रु. साढे २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १२ हजारभन्दा बढि ऋणी मार्फत रु. २० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।