विकासन्युज

युनाइटेड इन्स्योरेन्सले ५ लाख कित्ता शेयर बिक्री खुला गर्यो

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले संस्थापक तथा सर्वसाधारण तर्फको अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । सोही प्रयोजनको लागि इन्स्योरेन्स कम्पनीले शिलबन्द बोलपत्र आह्वानको सूचना प्रकाशन गरेको छ । इन्स्योरेन्स कम्पनीले गत भदौ ३ गतेदेखि असोज २३ गतेसम्म बिक्री खुल्ला गरि आवेदन माग गरेको थियो । त्यति बेला सो शेयर खरिद भएन । त्यसपछि इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको १ लाख ५७ हजार ६ सय कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख ४१ हजार ५ सय कित्ता गरी जम्मा ४ लाख ९९ हजार १ सय कित्ता शेयर बिक्रीका लागि आवेदन खुला गरेको हो । इन्स्योरेन्स कम्पनीको संचालक समितिको निर्णय अनुसार संस्थापक समूह तर्फको सेयर खरिद गर्न चाहने व्यक्ति तथा संघ संस्थाहृले मंङ्सिर १७ गते ३ बजेसम्म शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्ने छन् । शिलबन्दी बोलपत्र मंसिर १० गते देखि ढिलोमा मंसिर १७ गतेसम्म पेश गर्न सकिने बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

सर्वसाधारणलाई शेयर निष्काशन गर्ने प्रस्तावसहित इन्फ्रास्ट्रकचर बैंकको प्रथम साधारणसभा मंसिर २९ गते

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकको प्रथम साधारणसभा यहि मंसिर २९ गते आइतबार हुने भएको छ । बैंक संचालक समितिको यस अघि कार्तिक २५ गते बसेको बैठकले ¥याडिसन होटल, लाजिम्पाटमा बेलुका ४ बजे प्रथम साधारणसभा हुने मितितय गरेको हो । सभामा सर्वसाधारणको लागि छुट्याइएको ४० प्रतिशत शेयर निष्काशन सम्बन्धि प्रस्ताव पेश गर्ने बैंकको कार्य तालिका रहेको छ । सर्वसाधारण र कर्मचारीका लागि छुट्याएको ८ अर्ब रुपैयाँको ८ करोड कित्ता शेयर निष्काशन गर्ने विषयमा साधारणसभामा विशेष छलफल गरी पारित गर्ने विषय राखिएको छ । शेयर निष्कासन प्रस्ताव पारित भएपछि बैंकको चुक्ता पुँजी १२ अर्ब रुपैयाँबाट बढेर २० अर्ब पुग्नेछ । यसै अनुरुप बैंकको प्रवन्धपत्र संशोधन गर्ने तथा संस्थापक समूहबाट प्रतिनिधित्व गने संचालकको निर्वाचन गर्ने कार्य तालिका साधारणसभाको रहेको छ ।

अर्थमन्त्रीले साह्रै मन पर्यो भनेको यो लेख : मान्छेले आफ्नाे रिसलाई कसरी नियन्त्रण गर्ने ?

काठमाडाैं । मान्छेका मनमा विभिन्न किसिमका आवेग र संवेगहरू आइरहन्छन् । ती आवेग र संवेगहरूलाई सचेततापूर्वक कज्याउन सकियो भने तिनले अपेक्षित फल दिन्छन् । अन्यथा ठिक विपरित नतिजा निस्कन्छ । मानवजगत भनेको मनोजगत पनि हो। यो निकै जटिल पनि छ । मनोजगतकाे निर्माणाधार बस्तु जगत नै हो, तापनि यो जगत केवल आंकडाका भरमा चल्दैन । जीवनमा आफ्ना उद्देश्य हासिल गर्नका लागि मानिसहरूका भावना बुझ्न र सोही बमोजिमको व्यवहार गर्नु आवश्यक छ । मान्छे जतिसुकै विद्वान भए पनि र जतिसुकै सकारात्मक सोच राख्ने खालको भए पनि आवेग संवेगलाई व्यवस्थित गर्न सकेन भने त्यसले कुनै पनि सङ्गठनलाई नेतृत्व दिन सक्दैन । सामान्य व्यवस्थापकीय कार्य पनि कुशलतापूर्वक सम्पन्न गर्न सक्तैन । सानो कुराले खिन्न भइहाल्ने र सानो कुराले एकदम उत्साहित हुने मान्छेले अनेक जटिलताले जेलिएको मानवीय सङ्गठनलाई बुझ्नै सक्दैन । हाँस्न सक्ने त झन् कुरै भएन । त्यसैकारणले पछिल्ला दिनहरूमा विकसित मुलुकमा व्यवस्थापनको कुनै पनि तहमा भर्ना हुन चाहनेले बुद्धि परीक्षण (आइक्यू) मात्र होइन, संवेग परीक्षण (ईक्यू) मा पनि उत्तीर्ण हुनु पर्ने व्यवस्था मिलाइएको पाइन्छ । आवेगात्मक सन्तुलनले युक्त जनशक्ति उत्पादन गर्ने ध्ययेले विद्यालय तहबाटै संवेगात्मक बुद्धि (Emotional Intelligence) पढाउन थालेको पाइन्छ। व्यवस्थापनको प्रारम्भिक तहमा प्रविष्टिका लागि आइक्यू नै महत्वपूर्ण हुन सक्ला तर सफलताको सिँढी चढेर शिखरमा पुग्न इक्यू अनिवार्य र निर्विवाद छ । आवेगात्मक बुद्धि आफ्नो र अरूको उत्तेजनालाई बुझ्ने, व्यक्त गर्ने र नियन्त्रण गर्ने क्षमता हो। यति मात्रै पनि होइन । सचेतनापूर्वक आफ्नो व्यवहार र सम्बन्धहरूलाई व्यवस्थित गर्ने दक्षता पनि हो। आवेगात्मक बुद्धिले व्यक्तिको आत्मसंयम, सामाजिक जटिलताहरूका बीचमा बाटो पहिल्याउने विवेक र वैयक्तिक निर्णयहरू गर्ने क्षमताद्वारा सकारात्मक नतिजा प्राप्त गर्ने सामर्थ्यलाई निर्धारित गर्दछ। आवेगात्मक सन्तुलन भएको व्यक्ति आफ्नो भावनात्मक समझको उपयोग गरेर सम्मुखको व्यक्तिसित राम्रो ढङ्गले संवाद गरी निकै राम्रो परिणाम निकाल्न सक्दछ । आवेगात्मक बुद्धि मनोविज्ञानको विषय हो। यो नितान्त मनसित सम्बन्धित छ। मनमा कति बेला के कारणले कस्तो आवेग उत्पन्न हुन्छ र त्यसले तनलाई तत्काल कस्तो प्रतिक्रिया दिन उत्प्रेरित गर्छ भन्ने नै आवेगात्मक बुद्धिको अध्ययन तथा व्यवस्थापनको विषय हो । ‘उत्तेजनाको पारो घरि ह्वात्तै माथि जानु र घरि एकदम तल झन् आवेगात्मक असन्तुलन हो। आवेग यसरी असन्तुलित बन्न पुगेपछि मान्छेले उही चिजलाई पनि भिन्नाभिन्नै रूपमा देख्छ । यो असन्तुलनले वस्तु जस्तो छ त्योभन्दा भिन्न देखाउँछ र मान्छेले धोका खान्छ । यस्ता मान्छेलाई अरूले त्यति पत्याउँदैनन् पनि ।’ यसो नहोस् भन्नकै लागि ‘ठोस स्थितिको ठोस विश्लेषण’ भन्ने गरिन्छ । तर जसले यसो भन्छन् तिनैले ठोस स्थितिको तरल विश्लेषण र तरल स्थितिको ठोस विश्लेषण गरेको पनि देखिन्छ । साँच्चै ठोस स्थितिको ठोस विश्लेषण गरेका हुन्थे भने तिनले बोलेका कुरा फरकै पर्ने थिएनन् । विपरीत नतिजा आउने थिएन । कसैले आफूभित्र उठेर आउँदै गरेको आवेगलाई परैबाट छ्याङ्ग देख्छन् । कसैले थाहै पाउँदैनन् । उत्तेजना शक्तिशाली भूकम्प आएझै गरी आउँछ र तहसनहस हुनेगरी हल्लाएर जान्छ । मन बेहोसीमै कहाँ कहाँ पुगेर के के गरिसक्छ । होसै हुँदैन । पछि उसले पछाडि फर्केर हेर्छ अनि बल्ल थाहा पाउँछ– ‘त्यो भीषण आँधी आएर गएछ ।’ देख्छ- ‘कहाँ कहाँ ढलेछन् सद्भावका वृक्षहरू र उडेछन् प्रेमका छानाहरू। कहाँ थप्रिएछन् धुलो र पातपतिङ्गर । कहाँ लागेछ चोट र बसेछ खोट ।’ मनभित्र आउँदा आउँदैको आँधीलाई उसले आँधी हो भनेर किन चिन्न सकेन ? यस्तो रहेछ यसो हुनुको रहस्य- ज्ञानेन्द्रीयबाट प्राप्त सूचनाहरू विद्युतीय सङ्केतमा रूपान्तरित भई कोषपछि कोष हँदै मेरुदण्डको भित्र रहेको स्पाइनलकर्डमार्फत मस्तिष्कमा प्रवेश गर्दा रहेछन् र सोझै गएर मस्तिष्कको संवेदना केन्द्रमा ठोकिँदा रहेछन् । त्यसपछि बल्ल मस्तिष्कमा रहेको विवेककेन्द्रतिर जाँदा रहेछन् । त्यसकारण रिसाइसकेपछि होस आउँदो रहेछ। विवेक राम्ररी जागेका मान्छेहरूले भने संवेदना केन्द्रमा जाग्न लागेको उत्तेजनालाई पहिल्यै देखेर समेलिँदा रहेछन् । उत्तेजना केन्द्र र विवेक केन्द्रका बीचमा सम्बन्ध स्थापित गर्न सक्ने मान्छेहरूको आवेगमा उतारचढाव नआउँदो रहेछ । यिनै दुई केन्द्रबीच सम्बन्ध स्थापना गर्ने सामर्थ्य नै इमोसनल इन्टेलिजेन्स रहेछ । ट्राभिस ब्याडबरी र जीन ग्रिसले ‘इमोसनल इन्टेलिजेन्स २.०’ नामक पुस्तकमा ज्ञानेन्द्रीयबाट प्राप्त सूचना दिमागमा प्रवेश गर्ने र उत्तेजना केन्द्र हुँदै विवेक केन्द्रसम्म पुग्ने मार्गचित्र यसरी प्रस्तुत गरेका छन् । Limbic system – आधारभूत संवेगहरू (भोक, प्यास, रिस, कामवासना आदि) लाई नियन्त्रण गर्ने मस्तिष्कको जटिल स्नायु प्रणाली। Spinal Cord – मेरुदण्डको भित्रपट्टि रहने मेरुरज्जु सुषुम्ना । आवेग नियन्त्रण सामर्थ्य आनुवंशिक हो कि आर्जित हो। भन्ने विषयमा मनोवैज्ञानिकहरूका बीचमा बहस जारी नै छ । अधिकांश मनोवैज्ञानिकहरूले उचित शिक्षा दिएर अभ्यास गराउँदै जाने हो भने आवेगात्मक सन्तुलन आर्जन गर्न सम्भव भएको निष्कर्ष निकालेका छन् । आवेगात्मक बुद्धि चारवटा दक्षता (Skills) को योगबाट  निर्माण भएको हुन्छ । १.स्व-सचेतता, २. स्व-व्यवस्थापन ३. सामाजिक सचेतता र ४. सम्बन्ध व्यवस्थापन । स्वसचेतता र स्वव्यवस्थापन वैयक्तिक दक्षतामा पर्दछन् भने सामाजिक सचेतता र सम्बन्ध व्यवस्थापन सामाजिक दक्षतामा पर्दछन्। स्व-सचेतताः विभिन्न परिस्थितिहरूमा विभिन्न क्षणमा आफुमा उत्पन्न हुने आवेगहरूलाई ठिक ढङ्गले चिन्ने तथा भने सामर्थ्य स्व-सचेतता हो । खास घटना, चुनौती तथा व्यक्तिरूका बारेमा आफूभित्र उत्पन्न हुने प्रतिक्रियाको ज्ञान हो। स्व-सचेतना भएको व्यक्तिले आफ्ना आवेग तथा संवेगहरूको मूल प्रवृत्ति ठम्याएको हुन्छ। यस्ता व्यक्तिहरूले आफूभित्र उठ्न लागेको रिसलाई पहिल्यै देख्दछन्। स्व-व्यवस्थापनः आफ्ना उत्तेजनाप्रति सचेत रहन र लचकदार ढङ्गले आफ्ना व्यवहारलाई सकारात्मकतातिर मोड्नु नै स्व-व्यवस्थापन हो । यसले अन्य व्यक्तिहरू र परिस्थितिका प्रतिको आफ्नो प्रतिक्रियालाई व्यवस्थित गर्दछ । कुनै म्यानेजरलाई कुनै कर्मचारीको काम गराइ पटक्कै मन परेन भनेर ठाडै निर्मम ढङ्गले आक्रोश पोख्नु स्व-व्यवस्थापनको अभाव हो। त्यसलाई संबाेधन गर्ने उपयुक्त अर्कै विधि हुन्छ। सामाजिक सचेतताः अरूका मनका आवेग संवेगहरू बुझ्ने सामर्थ्य सामाजिक सचेतता हो । यो सामाजिक दक्षताको सर्वाधिक महत्वपूर्ण पाटो हो । आफूले अन्य व्यक्तिहरूसित अन्तरसंवाद तथा अन्तरक्रिया गरिरहेका समयमा तिनको अनुभूति थाहा पाउन्ले सही ढङ्गले परिस्थितिलाई बोध गर्न सघाउँछ । यसले आधारभूत सम्बन्धहरूमा प्रभाव पार्दछ। सामाजिक सचेतताको सीप निर्माण गर्नका निमित्त हरेक परिस्थितिमा होसमा रही मान्छेहरूको गहिरो अवलोकन गरिएको हुनुपर्छ। सम्बन्ध व्यवस्थापनः आफ्नो र अरूको आवेग संवेगलाइ अधिकतम उपयोग गरी अन्तरसंवादलाई व्यवस्थित गर्ने दक्षता नै सम्बन्ध व्यवस्थापन हो। सम्बन्ध व्यवस्थापनले आपसमा सुस्पष्ट सञ्चारको माग गर्दछ र द्वन्द्वलाई प्रभावकारी ढङ्गले परिचालन गर्दछ । आफ्ना सञ्जालभित्रका आवश्यक सामाजिक सम्बन्धहरूलाई निरन्तर जीवन्त राख्न सकिएन भने त्यसले मौकामा काम दिदैन। ह्वात्तै सम्बन्ध राख्ने र च्वाटै बिर्सने परिपाटी सम्बन्ध व्यवस्थापनको अकुशलता हो । जीवन्त सम्बन्धमा रहेर काम गर्नका लागि निरन्तर समय, प्रयत्न र ज्ञानको खाँचो पर्दछ। यहाँ ज्ञान भनेको त्यो संवेगात्मक बुद्धि हो, जसबाट आफू र ऊ दुवै तर्फका आवश्यकता तृप्त हुन्छन्। आवेगात्मक बुद्धिलाई संवेगात्मक बुद्धि या संवेगात्मक चातुर्य पनि भन्न सकिन्छ । यस्तो चातुर्य भएको मान्छेमा प्रत्युत्पन्न मति प्रबल हुन्छ। यस्तो मति भएको व्यक्ति ‘फलानाले यसो भनेको बेलामा यस्तो जवाफ दिन पर्दो रहेछ’ भनेर घर पुगेपछि पछुताउनुको साटो तत्कालै सही जवाफ दिएर सन्तुष्ट भई घर फर्किएको हुन्छ । जुन जवाफले आफूलाई र सामाजिक सम्बन्धलाई पनि बलियो बनाउँछ। आवेगहरूलाई चिन्नु, त्यसको स्रोत थाहा पाउनु र सही ढङ्गले निकास दिनु आवेगात्मक सन्तुलन हो। यस्तो सन्तुलन निरन्तर अध्ययन, अवलोकन र मननको त्रिवेणीमा अवतरित हुन्छ। नाम नसम्झेको कुनै लेखकको एक वाक्यबाट यो लेख टुङ्ग्याउँछु- “Do not lose your temper. If you do so, the situation can go out of your control.” (पंज्ञानी राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी हुन्, यो आलेख नेपाल बैंक लिमिटेडको वार्षिक विशेषांकबाट साभार गरिएको हो ।)

बीएफआईएनले मंसिर ४ गते अन्तर्राष्ट्रिय स्तरको सम्मेलन गर्दै

काठमाडौं । बैकिंङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल(बीएफआईएन) लिमिटेडले आगामी मंसिर ४ गते ‘एमएफआई बोर्ड अफ डाइरेक्टरर्स एण्ड म्यानेजमेन्ट कनसोटियम २०१९’ सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको सम्मेलन गर्ने भएको छ । कम्पनीले सो दिन बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा उक्त सम्मेलनको आयोजना गर्न लागेको हो । नेपालमा लघुवित्त संस्थाहरुले पुर्याएको योगदान तथा देखिएका चुनौतीहरु बारे छलफल गर्न र बंगलादेशका लघुवित्त संस्थाहरुको अनुभव र लघुवित्तबाट वाणिज्य बैंकका रुपमा परिणत भएको बन्धन बैंकको अनुभवबाट नेपालका माइक्रोफाइनान्स इन्स्टिट्युसनस्ले के कस्तो बिषयहरुमा कार्वान्वयन ल्याउन सकिन्छ भन्ने उद्धेश्यले यो सम्मेलन आयोजना गरिएको बीएफआईएनका कार्यकारी निर्देशकले बताए । बीएफआईएन र माइक्रोफाइनान्स एसोसियसनस् अफ नेपालले आयोजना गरेको यस सम्मेलनमा १५० जना सहभागीहरुले भाग लिने अपेक्षा गरिएको छ । साथै, यस सम्मेलनले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लघुवित्तका संचालकहरु, प्रमुखहरु र कर्मचारीहरुको ज्ञान बृद्धि गर्नमा योगदान पुग्ने विश्वास गरिएको छ ।

कर लगाउँदा त्यति मात्र लिनु जति माहुरीले फूलबाट रस लिन्छ- राजेशकाजी श्रेष्ठ

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले ‘कर लगाउँदा त्यति मात्र लिनु जति माहुरीले फूलबाट रस लिन्छ’ भनेका छन् । उनले उक्त टुक्कालाई थप व्याख्या गर्दै जसबाट फूलको महक पनि कम नहुने र मह पनि बन्ने जस्तो अवधारणाबाट अभिप्रेरित हुनुपर्ने भन्दै सो कुरा बताएका हुन् । अध्यक्ष श्रेष्ठले आठौं कर दिवस तथा कर सप्ताह कार्यक्रमको अवसरको दोश्रो दिन नेपाल चेम्बर अफ कमर्सले चेम्बर भवनमा गरेको अन्तक्र्रियामा अत्यावश्यक मेगा प्रोजेक्ट र ठूला विकासका कार्य छ भने मात्र अधिक कर लिनुपर्ने व्यवस्था हुनुपर्ने बताए । कार्यक्रममा अध्यक्ष श्रेष्ठले आर्थिक ऐन २०७६ लागू भएको चार महिना व्यतित नहुँदै अन्तशुल्क करका दरमा परिवर्तन गर्नुले व्यवसायमा स्थिरता नहुने बताए । कर दिवसले करदातालाई आफूले तिरेको रकमको सही सदुपयोग हुने भएकाले कर कानूनको परिपालना, कर चुहावट नियन्त्रण एंव करदाता शिक्षाको माध्यमबाट सर्वसाधारणलाई कर सम्बन्धी जनचेतना जगाउन महत्वपूर्ण भूमिका हुने बताए । उनले उद्यमी व्यवसायीले कर सम्बनधी कानून उल्लघंन गरेका पाइएमा उनीहरुलाई फौज्दारी अभियोग नलगाई आर्थिक जरिवाना मात्र लगाउनु पर्ने धारणा राख्दै कर अधिकृतको स्वविवेकीय अधिकारलाई वस्तुपरक र निश्चित मापदण्डभित्र ल्याउनु पर्ने बताए । उनले सर्वसाधारणलाई अतिरिक्त व्ययभार नपर्ने गरी एकपटकको लागि विभिन्न करदाताले आफ्नो सम्पत्तिको स्वघोषणा गर्ने अवसर उपलब्ध गराइनुका साथै प्राप्त सूचनाको आधारमा सरकारले पर्पर्टी इन्डेक्स पनि तयार गर्नु पर्ने दावी गरेका छन् । त्यस्तै, कार्यक्रममा  आन्तरिक राजश्व विभागका महानिर्देशक विनोद बहादुर कुँवरले करले उद्योग व्यवसायमा नकारात्मक असर नहोस् भनेर व्यवसायीसँग छलफल गरेर टुङ्गो लगाउने बताउँदै उनले प्रविधीमैत्री कर प्रशासनमा जोड दिनुपर्ने जनाएका छन् । महानिर्देशक कुँवरले कर शिक्षालाई प्राथमिकता दिँदै प्रणाली र प्रक्रियागत प्रणालीमा सुधार गरि कर कार्यालय नपुगि कर भुक्तानी र कर विवरण मोबाईलमा जानकारी दिने दिशामा भएकाले उद्योगी व्यवसायी एंव करदाताको साथ अनिवार्य रहेको धारणा राखे । कार्यक्रममा न्यू ब्यालेन्ट होम र युथ चेम्बर अफ कमर्सबीच कर सम्बन्धी तालिम दिनेबारे सम्झौता भएको छ । होमका अध्यक्ष कुमार थापा र चेम्बरका महानिर्देशक कैलाश कुमार बजिमयले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार आ.व. २०७५/७६ मा राजश्व परिचालन ८६५ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधीमा सरकारको कूल राजश्व ७२६ खर्ब ७२ करोड रुपैयाँ रहेको थियो । यस आव वर्ष २०७६/७७ को दुई महिनाको राजश्व संकलन १४१ अर्ब ५१ करोड रहेको र सो अघिल्लो वर्षको सोही अवधिमा ११९ अर्ब २० करोड रुपैयाँ रहेको थियो । २०७४/७५ को तुलनामा २०७६/७७ मा १६ प्रतिशतले राजश्व वृद्धि भएको र आ.व.२०७६/७७ को दुई महिनामा सो वृद्धि करिब १५.७ प्रतिशतले वृद्धि भएबाट राजश्वको उठती वृद्धि भैरहेको छ । सोही अवधिमा खर्च भने ५३ प्रतिशतले घटेको कटु यथार्थ रहेको छ ।

सपनाको खेती नबनोस् ‘सिस्नेरी खोला’

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको विकल्पका रुपमा उपत्यकाको ललितपुर जिल्ला क्षेत्रभित्र खानेपानी आपूर्ति गर्ने उद्देश्यले मकवानपुरमा अवस्थित सिस्नेरी खोलाको पूर्व सम्भाव्यता अध्ययन थालिएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड)ले मकवानपुरमा अवस्थित सिस्नेरी र कोगटे खोलाको पूर्व सम्भाव्यता अध्ययन थालेको छ । गत शुक्रबार खानेपानी मन्त्री बिना मगरको नेतृत्वमा बोर्डका पदाधिकारी सहितको टोलीले उक्त खोलाको अवलोकन र निरीक्षण गरेको छ । यो आयोजनालाई मेलम्चीको विकल्पका रुपमा हेरिएको छ । काठमाडौं जिल्ला राजधानी भनिएपनि अघोसित रुपमा ललितपुर पनि राजधानीको एउटा अंग बन्दै छ । काठमाडौंमा सँगै ललितपुर र भक्तपुरमा बस्ती बढ्दो छ । पानीको माग पनि बढ्दो छ । सिस्नेरीबाट पानी ल्याउने हो भने ललितपुर र भक्तपुरका धेरै ठाउँहरुमा खानेपानी आपूर्ति सहज बन्न सक्छ । भक्तपुरका लागि खानेपानी आपूर्ति गर्न महादेव खोलामा काम शुरु भएको बताइएको छ । भविष्यमा मेलम्चीको पानीमा कुनै समस्या सिस्नेरी वा महादेव खोलाको पानीले काठमाडौं उपत्यकाको खानेपानीमा समस्या समाधान गर्न केही सहयोग पुग्न सक्छ । सिस्नेरी फर्पिङ पम्पिङ स्टेशनबाट १४ किलोमिटर दक्षिणमा पर्दछ । जुन कुलेखानी खोला, सिस्नेरी खोला र मकवानपुर जिल्ला हुँदै बगेको बागमती नदीको नजिक पर्दछ । सिस्नेरीमा रहेको कोगटे खोला कुलेखानीको शाखा हो भने कुलेखानी बागमती नदीको शाखा हो । यस आयोजना अन्तर्गत सिस्नेरीमा बाँध निर्माण गरी कोगटे खोला र कुलेखानी खोलाको पानी वर्षायामको समयमा संकलन गरिनेछ र संकलित पानीलाई पम्प गरी सैंबु जलाशयमा पठाई ललितपुर महानगर क्षेत्रभित्र वितरण गर्न सकिने छ । सिस्नेरीमा बनाईने बाँधको लम्बाई १९० मिटर र चौडाई ७५ मिटर रहनेछ । सिस्नेरी बाँध स्थलदेखि सैंबु पानी प्रशोधन केन्द्रसम्म कूल १९ किलोमिटर रहेको छ । निर्माणाधिन काठमाडौं निजगढ द्रुत मार्ग हुँदै सिस्नेरीदेखि सैंबुसम्म पाईप लाईन निर्माण गरेर पानी लैजान सकिने छ । सिस्नेरीबाट दैनिक १३ देखि १४ करोड लिटर पानी ललितपुरको सैंबु जलाशयमा पठाई ललितपुर क्षेत्रभित्र वितरण गर्न सकिने प्रारम्भिक अनुमान छ । परियोजनाको लागत करिब २६ अर्ब रुपैयाँ अनुमान गरिएको छ । एक अध्ययनले सन् २०३० पछि काठमाडौं उपत्यकाको जनसंख्यालाई मेलम्चीको पानीले धान्न नसक्ने जनाएको छ । त्यस अवस्थामा यी दुई खोलाको पानी राजधानीबासीको प्यास मेटाउन राम्रो विकल्प हो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा ल्याउने योजनाले दुई दशकसम्म पूर्णता पाउने सकेको छैन । काठमाडौका जनताहरुको खाने पानीको लागि मकवानपुर सिस्नेरी खोलाबाट पानी ल्याउने यो योजना र सम्भाब्यता अध्यायन सारै राम्रो कुरा हो । यसमा खाली फोटो खिचाएर प्रचारबाजी गर्ने र गफैगफमा जनताहरुलाई आसै आस देखाएर भुलाउने मात्रै नहोस । साँच्चै नै जाँगर लगाएर ठोस कामको सुरुवात गरियोस र यसमा पनि कसैको कमाइखाने भाँडो नवनोस । यो परियोजना राजधानी बासीको लागि अर्को सपना खेती नबनोस् ।

वासुदेव अधिकारीले देखेको नेपाल बैंकका ३ संकट, दोस्रो विश्व युद्धदेखि २१ औं शताब्दीसम्मै संघर्ष

काठमाडौं । नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीले २०५८ सालको संकटपछिको हालसम्मको सुधारलाई तेस्रो फड्कोको रुपमा व्याख्या गरेका छन् । नेपाल बैंकले आफ्नो ८३ वर्षीय इतिहासमा त्यस अघिपनि दुई वटा संकटको सामना गर्नु परेको र त्यसले बैंकलाई खारेजीको अवस्थासम्म पुर्याएको भन्दै अब भने बैंक नयाँ युगको प्रतिस्पर्धात्मक बैंक बन्नेतर्फ अघि बढेको बताए । अधिकारीको नजरमा नेपाल बैंकले पहिलो पटक स्थापना कालको दोस्रो वर्षदेखि नै पहिलो संकटको सामना गर्नु परेको थियो । त्यति बेला तत्कालिन इण्ट इन्डिया सरकारले सञ्चालनमा ल्याएको कम्पनी रुपैयाँको भाउ निरन्तर घट्दै जाँदा नेपाल बैंकले विनिमय गर्नै नसक्ने अवस्था सिर्जना भएको थियो । जवकी त्यो बेला नेपाल बैंकको मुख्य व्यवसाय नै विनिमय थियो । अधिकारीले नेपाल बैकले भोगेको दोस्रो संकट भने प्रजातन्त्र स्थापनापछिको समयलाई मानेका छन् । राणा शासनको अन्त्यपछि सरकारमा राणाहरूको पहुँच गुमेसँगै अधिकांश शेयर हिस्सा राणा परिवारको भएको बैंकमा बैंक एकातिर लगानीकर्ता अर्कोतिर भएको इतिहास आफूले पढेको उनले बताए । त्यो तत्कालिन नेपाल सरकारले ४० प्रतिशत रहेको आफ्नो शेयर हिस्सालाई बढाएर शेयर बेच्न चाहने शेयर खरिद गरेर दोस्रो संकट टारेको थियो । तेस्रो संकट भने २०५८ सालको संकट हो । जतिबेला नेपाल बैंकको खराब कर्जा ६० प्रतिशत पुग्दा बैंक लिक्विडेसनको अवस्थामा पुगिसकेको थियो । पछि नेपाल सरकारले दोस्रो चरणको वित्तीय सुधारको कार्यक्रम अन्तर्गत बैंकमा लगानी थप गरेर बैंकलाई लिक्विडेसनमा जानबाट बचाएको अधिकारीले स्मरण गरे । उनले त्यो संकटको घण्डीमा सहयोग गर्ने नेपाल सरकार र राष्ट्र बैंकको समेत स्मरण गरे । नेपाल बैंक अब शेयर धनीलाई लाभांश बाड्न सक्ने बैंक बनिसकेको, प्रविधिमैत्री, सुशासित र प्रतिस्पर्धात्मक बैंक बन्ने चरणमा अघि बढिसकेको भन्दै उनले यो अवस्थासम्म बैंकको स्थापना र विकासमा योगदान दिने निर सुब्बा गुञ्जमान सिंह, तात्कालिन राणा प्रधानमन्त्री जुद्धसम्शेर, केशरसम्शेर र बहादुरसम्शेर जबरा, भीमबहादुर पाण्डे, ठाकुरसिंह कठैत, अनन्तभक्त राजभण्डारी र साहित्यकार बालकृष्ण समको योगदानको स्मरण गरे । निर सुब्बा गुञ्जमान सिंहले बेलायतबाट फर्केपछि नेपालमा बैंक खोलौं भन्ने भावना अनुसार नेपाल बैंक खोल्ने प्रस्ताव गरेका थिए । अध्यक्ष अधिकारीले सिंहकै भावनाको प्रतिफल  नेपाल बैंक स्थापना भएको भन्दै त्यो भावनालाई शासक भएर पनि तात्कालिन राणा प्रधानमन्त्री जुद्धसम्शेर स्वीकार गरेको उनको भनाई थियो । त्यस्तै, बैंक स्थापनापछि नेपाल बैंकको पहिलो ९ बैठक सम्म अध्यक्षता ग्रहण गरेर कर्मलिगमा अघि बढाउने व्यक्तिको रुपमा केशरसम्शेर जबरालाई, पहिलो अध्यक्षको रुपमा बहादुरसम्शेर जबरालाई स्मरण गरेका हुन् । त्यस्तै, तत्कालिन अध्यक्ष अध्यक्ष विजयसम्शेर राणाले संकटको घडीमा अहिलेको केन्द्रीय कार्यालयको जग्गा सरकारबाट सित्तैमा स्थानान्तरण गरेर ल्याउने काम गरेका थिए भने प्रजातन्त्रपछिको संकटलाई सन्तुलित तबरले व्यवस्थापन गर्ने काम भीमबहादुर पाण्डेले गरेका थिए । देहेरादुनको बैंकमा काम गरेका ठाकुरसिंह कठैतले भने बैंक स्थापना हुँदा सबै प्रबन्धहरु मिलाउने वाणिज्य क्षेत्रका शब्दावलीहरु रचना गर्ने काम गरेको बताए । पूर्व महाप्रबन्धक अनन्तभक्त राजभण्डारीकोे योगदान पनि नेपाल बैंकको लागि शीर्ष रहेको उनको भनाइ थियो । नेपाल बैंकको लोगो भने नेपाली साहित्यका त्रिमुर्ति तथा साहित्यकार तथा नाटककार बालकृष्ण समले गरेका थिए । यसले नेपल बैंकको गर्विलो इतिहासलाई प्रस्तुत गर्ने उनको भनाई थियो ।१९८७ मा एशियाका ठूला २०० बैंकमध्ये नेपाल बैंकको रोल नं १९३ औं रहेको भन्दै उनले यस्तै राम्रा र गर्विला इतिहासलाई कायम राख्ने र नराम्रा इतिहासबाट पाठ सिक्दै अघि बढ्नुपर्ने उनको भनाई थियो । नेपाल बैंकले साेमबार मात्रै शेयरधनीलाई १५ प्रतिशत बोनससहित २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

किन किन्ने यामाहाको ‘एफजि २५ एबीएस’? जान्नुस ६ कारण

काठमाडाैं । यामाहाको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा.लि.ले केहि दिन अघि मात्र एफजि २५ को एबीएस भर्जनलाई नेपाली बजारमा भित्र्याएको छ । नेपाली बजारमा एफजि २५ एबीएसको मूल्य चार लाख २९ हजार नौ सय रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार एफजि २५ एबीएस नेपालमा लञ्च भएसँगै सो बाइकको नन-एबीएस भर्जनको भने विक्री वितरण बन्द भएको छ । १. लुक्स एफजि २५ को मस्कुलर ट्याङ्क, शार्प एज, फ्युचरस्टीक एलईडी हेडलाइट एवं टेल लाइट लगायतले यस बाइकलाई एकदमै एग्रेशिभ लुक्स प्रदान गरेको छ । त्यसैगरी यसको हेभि डाइमेन्सन र चौडा टायरहरुको कारण यस बाइकले दमदार रोड प्रेजेन्स पाएको छ । यसका साथै बाइकको विभिन्न पार्टस्हरुमा दिइएको म्याट ब्ल्याक फिनिसिङ्गले गर्दा यस बाइकले पर्फेक्ट फिनिसिङ्ग पाएको भान पनि हुन्छ । २. डुअल-च्यानल एबीएस नेपालमा लञ्च भए पश्चात् नेपालीहरुले एफजि २५ मा एबीएसको अनुभव लिन पाउने भएका छन् । दुवै चक्काहरुमा एबीएस दिइएको हुनाले यस बाइकको ब्रेकिङ्ग एकदमै सुरक्षित हुन पुगेको छ । ३. पावर र टर्क एफजि २५ मा २४९ सीसीको फ्युल इन्जेक्टेड, ओयल कुल्ड इञ्जिन समावेस छ जसले २०.९ एचपीको पावर र २० एनएमको टर्क प्रोड्युस गर्दछ । यस इञ्जिनको सवल पक्ष भनेको यसले केवल ६००० आरपीएम मै २० एनएमको टर्क उत्पादन गर्न सक्छ जसले गर्दा बाइकले राम्रो सुरुवाती पुल पाएको छ । ४. विश्वसनियता यामाहाले एफजि २५ मा राम्रो क्वालिटीका पार्टस्हरु प्रयोग गरेको छ । त्यसैगरी, यस बाइकको इञ्जिन आयु लामो हुनु, यामाहाको सर्भिस सेन्टर ठाउँठाउँमै तथा सबै पार्टस्हरु सजिलै उपलब्ध हुनु लगायतले एफजि २५ सबैको रोजाई बन्न सफल भएको छ । ५. तौल एफजि २५ को तौल केवल १५२ केजी रहेको छ जसले गर्दा यो बाइकलाई चलाउँदा हल्का फिल हुन्छ । त्यसैगरी यसको पावर २०.९ बीएचपी भएको हुनाले यसको पावर टु वेट रेसियो पनि राम्रो हुन गएको छ जसले गर्दा बाइकको सुरुवाती गती बढ्न पुगेको छ । ६. उत्कृष्ट माइलेज एफजि २५ ले ४३ केएमपीएलको माइलेज दिन्छ भनी कम्पनीले दावी गरेको छ । बजारमा ३० केएमपीएल हाराहारीको माइलेज दिने २०० सीसीका बाइकहरु रहेकोअवस्थामा यो २५० सीसी बाइकले यति धेरै माइलेज दिनुलाई यस बाइकको सवल पक्षका रुपमा लिन सकिन्छ ।