त्रिभुवन विमानस्थलले उठायो ५५ करोड बक्यौता, एयर एशियाले २१ करोड तिरेन
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ११ महिनाको अवधिमा ५५ करोडभन्दा बढी बक्यौता उठाएको छ । मङ्सिर मसान्तसम्म विभिन्न वायुसेवा प्रदायक कम्पनीबाट करीब ५० करोड र पुस महिनामा पनि झण्डै सात करोड बक्यौता उठेको विमानस्थल कार्यालयले जनाएको छ । एक महिनाको अवधिमा ५५ करोड बढी पुरानो बक्यौता उठाइएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । बक्यौता बाँकी रहेका निकायलाई पनि निरन्तर ताकेता गरिएको छ । विमानस्थल कार्यालयले अझै करीब डेढ अर्ब बक्यौता उठाउन बाँकी रहेको बताइएको छ । बढी बक्यौता हुनेमा सरकारी निकाय भन्सार विभाग, नेपाल वायुसेवा निगमसहित निजी क्षेत्रका हवाई कम्पनी छन् । भन्सार विभागको करीब ५५ करोड बक्यौता छ भने नेपाल वायुसेवा निगमको करीब रु ४० करोड छ । निगमले किस्ताबन्दीमा रकम तिरेपनि भन्सार विभागले भने लामो समयदेखि रकम नतिरेको बताइन्छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को विमानस्थल सेवा शुल्क नियमावलीअनुसार ६० दिनभित्र रकम नबुझाउने एयरलाइन्सको उडान रोक्न र जहाज ‘ग्राउन्डेड’ गर्न सकिने प्रावधान छ । साँवा रकम नबुझाएपछि ३० प्रतिशतका दरले विलम्ब शुल्क लाग्छ । समयमा बुझाउँदा छूटको व्यवस्था छ । विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार बिल जारी गरेको सात दिनभित्र बक्यौता रकम तिरेमा तीन प्रतिशत शुल्क छुट दिने व्यवस्था छ । त्यस्तै ३० दिनभित्र बक्यौता रकम तिरेमा जरिवाना शुल्क तिर्नुपर्दैन । ३० दिनदेखि ४५ दिनसम्म पाँच प्रतिशत जरिवाना लाग्ने गरेको छ । ४५ देखि ५९ दिनसम्म बक्यौता रकम बुझाएमा १५ प्रतिशत जरिवाना तिर्नुपर्ने नियमावलीमा व्यवस्था छ । यसैगरी ६० दिनदेखि माथि रकम भुक्तानी नगरेमा ३० प्रतिशतको दरले जरिवाना लाग्नेछ । विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाई परिवहन, सुरक्षा शुल्क, कार्यालय सञ्चालन कोठा, काउन्टर, होडिङ बोर्ड विमानस्थलभित्र सञ्चालन भएका पसल, भण्डारण, यात्रुलाई सेवा प्रवाहलगायतमा विमानस्थलले शुल्क लिने गर्छ । एयर एशियाले २१ करोड तिरेन मलेशियाको बजेट एयरलाइन्स एयर एशियाले विलम्ब शुल्कसहितको विमानस्थल सेवा शुल्कबापतको २१ करोड बक्यौता तिरेको छैन । यसमा सात करोड ५० लाख साँवा र विलम्ब शुल्क १३ करोड बाँकी छ । क्वालालम्पुर–काठमाडौँ सिधा उडान गर्दै आएको यो कम्पनीले बक्यौता नतिरेपछि केही महीनाअघि सेवा बन्द गरेको छ । महाप्रबन्धक क्षेत्रीका अनुसार बढी बक्यौता रहेको एयर एशियाबाट विमानस्थलले हालसम्म ३१ करोड उठाएको छ । सो कम्पनीले रु साढे सात करोडको चेक मात्रै बुझाएको छ तर ती चेक बाउन्स भएपछि कम्पनीका नेपाल एजेन्ट हरिमान लामा झण्डै छ महीनादेखि सम्पर्कविहीन रहेको बताइन्छ । चेक बाउन्स प्रकरणमा विमानस्थलका तत्कालीन कर्मचारीकोे समेत संलग्नता रहेको भन्दै प्राधिकरणले छानबिन अघि बढाएको बताइएको छ । सञ्चालनमा नरहेका सङ्घसंस्थाको बक्यौता करीब तीन करोड छ । कुन कम्पनीबाट कति उठ्यो विमानस्थलले एयर एशियाबाट ३१ करोड, हिमालयन एयरलाइन्सबाट पाँच करोड, सिम्रिक एयरबाट करीब तीन करोड, सौर्य एयरलाइन्सबाट एक करोड ८० लाख, रसुवा केडीको एक करोडभन्दा बढी, थाई एयरलाइन्सबाट एक करोड २५ लाख र पार्किङ शुल्क डेढ करोड तथा अन्य साना कम्पनीबाट थोरै–थोरै गरी करीब सात करोड रकम उठाएको छ । हिमालय एयरलाइन्सलाई एक महिने अल्टिमेटम अन्तर्राष्ट्रिय उडानमा रहेको हिमालय एयरलाइन्सले विमानस्थललाई सेवा शुल्कबापतको रकम समयमा नबुझाएपछि एक महीनाको चेतावनी (अल्टिमेटम) दिइएको छ । एक महिनाभित्र रकम नबुझाए उडान बन्द गर्ने चेतावनीसहित विमानस्थलले पत्राचार गरेपछि उक्त एयरलाइन्सले विमानस्थललाई रकम भुक्तानी गर्ने आश्वासन दिएको छ । एक महीनाभित्र उडान नगरे सेवा बन्द गर्नेसम्मको कारवाही हुने विमानस्थलले जनाएको छ । उक्त कम्पनीले गत पुसको अन्तिम साता विमानस्थललाई ५० लाख भुक्तानी गर्दै बाँकी रकम तिर्न एक महीनाको समय मागेको थियो । हिमालयनले करीब १४ करोड बक्यौता तिर्न बाँकी छ । नेपाल र चीनको संयुक्त लगानीमा सन् २०१४ देखि सञ्चालनमा आएको हिमालय एयरलाइन्सले मलेशियाको क्वालालम्पुर, साउदी अरेबियाको दमाम, युएइको दुबई र कतारको दोहामा नियमित उडान भर्दै आएको छ । हिमालयका तीनवटै जहाज सञ्चालनमा रहेकाले बक्यौता तिर्न नियमित सम्पर्कमै रहेकाले यो रकम चाँडै उठ्ने महाप्रबन्धक क्षेत्रीको विश्वास छ । सौर्य एयरलाइन्स दुई महिनादेखि उडान बन्द विमानस्थललाई तिर्नुपर्ने बक्यौता नतिरेपछि निजी क्षेत्रको अर्को हवाई कम्पनी सौर्य एयरलाइन्सको दुई महिनाभन्दा बढी समयदेखि उडान बन्द रहेको छ । करीब रु तीन करोड बक्यौता भुक्तान गर्न नसकेपछि सौर्यका जहाज ‘ग्राउण्डेड’ भएका हुन् । पटकपटक ताकेता गर्दा पनि बक्यौता नतिरेपछि उडान बन्द गरिएको विमानस्थलका महाप्रबन्धक क्षेत्रीको भनाइ छ । एयरलाइन्सले चाँडै बक्यौता भुक्तानी गर्ने मौखिक प्रतिबद्धता जनाएको भए पनि अहिलेसम्म विमानस्थलको सम्पर्कमा आएको छैन । सौर्यसँग सिआरजे २०० सिरिजका दुईवटा विमान रहेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३१ वटा वायुसेवा प्रदायक कम्पनीले विभिन्न २३ गन्तव्यमा हवाई सेवा सञ्चालन गर्दै आएका छन् । उडान औसतमा ५० देखि ५५ अन्तर्राष्ट्रिय उडान हुन्छ । आन्तरिकतर्फ करीब ३०० उडान हुन्छ । आन्तरिकमा १० हेलिकप्टरसहित २० वटा वायुसेवा प्रदायक कम्पनीले हवाई सेवा सञ्चालन गर्दै आएका छन् । रासस
चार मिनरल वाटर उत्पादक कम्पनीलाई कारवाही, पानी उत्पादनमा रोक
पर्वत । खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले पर्वत र बागलुङका चार पानी उत्पादक कम्पनीमाथि कारवाही थालेको छ । ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगरेको पाइएकाले ती कम्पनीलाई पानी उत्पादनमा समेत रोक लगाइएको छ । कारवाहीमा पर्नेमा पर्वतका मुक्तिनाथ फुड एण्ड वेभरेज प्रालि र कर्माचार्य ब्रदर्श मिनरल वाटर एण्ड वेभरेज इन्डष्ट्रिज तथा बागलुङका महालक्ष्मी मिनरल वाटर एण्ड वेभरेज र कार्की मिनरल वाटर रहेका छन् । उक्त कार्यालयका निमित्त प्रमुख केदार पौडेलका अनुसार कार्यालयले अनुगमन गर्ने क्रममा ती कम्पनीले निर्देशिका पालना नगरेको पाइएकाले उत्पादन बन्द गर्न निर्देशन दिइएको हो । निर्देशिकाअनुसार बोतलको सफाइ, फिलिङ र क्यापिङको काम स्वचालित उपकरणबाट गर्नुपर्नेमा त्यसो नगरिएका कारण उनीहरूमाथि कारवाहीको प्रक्रिया अगाडि बढाइएको उनले बताए । उद्योगको वास्तविक अवस्थाबारे तयार गरिएको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय बागलुङमा जस्तै पर्वतमा पनि प्राप्त भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।
२ लाख नगदसहित १२ जुवाडे पक्राउ, तास र कौडा बरामद
काठमाडौँ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जुवा खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–९ मिलनटोलमा रहेको होटल हाइवेमा जुवा खेलिरहेको अवस्थामा राजु गुरुङ, अभिषेक तामाङ, सन्तकुमार मोक्तान, ताराकुमार श्रेष्ठ, विजय लामा, रोहित कार्की, रामबहादुर गुरुङ, साजन विक, वुद्धराज थेवे, विमल मगर, सनम राई र शान्ति तामाङलाई शुक्रबार राति पक्राउ गरेको हो । वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले तास र कौडा खेलिरहेको अवस्थामा दुई लाख २० हजार ७०५ नगदसहित पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग तीन बुक तास र कौडा बरामद गरिएको वृत्तले जनाएको छ । पक्राउ परेकालाई जुवा खेल्न तथा सट्टाबाजी गर्न नहुने कसुर सम्बन्धी अनुसन्धान गरेर मुद्दा चलाउने तयारी भएको प्रसाईँले बताए । रासस
बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण सुस्त, १९ हजार रोपनीको वितरण बाँकी
काठमाडौँ । बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा निर्धारण भएको १९ हजार ३७४ रोपनी जग्गाका जग्गाधनीलाई मुआब्जा वितरण गर्न बाँकी रहेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सो परियोजनाको धादिङ र गोरखातर्फ मुआब्जा निर्धारण भए पनि तीव्ररुपमा वितरण हुन सकेको छैन । सरकारले गोरखातर्फ कूल नौ हजार ३७२ रोपनी र धादिङतर्फ कूल दश हजार दुई रोपनी जग्गाको मुआब्जा निर्धारण गरिसकेको छ । तर निर्धारण भएका क्षेत्रको समेत जग्गाधनीलाई वितरण हुन सकेको छैन । सरकारले चालू आर्थिक वर्षमा आयोजना प्रभावित क्षेत्रका लागि १७ अर्ब ९९ करोड ९६ लाख बराबरको मुआब्जा वितरणका लागि बजेट विनियोजन गरेको छ । दुवै जिल्लाका मालपोत र नापी कार्यालयमा कर्मचारी अभावका कारण मुआब्जा वितरण कार्य प्रभावकारी बन्न सकेको छैन । आर्थिक वर्ष २०७३÷७४ मा दुवै जिल्लाका एक हजार ९९३ जग्गाधनीका कूल आठ हजार ३६६ रोपनी जग्गाका लागि चार अर्ब ३५ करोड बराबरको मुआब्जा वितरण गरेको थियो । यस्तै आव २०७४/०७५ मा पाँच हजार १०२ जग्गाधनीका १७ हजार २३१ रोपनी जग्गाका लागि १० अर्ब ८४ करोड २२ लाख बराबरको मुआब्जा वितरण गरेको थियो । चालू आवको हालसम्म दुई हजार ४६३ जग्गाधनीको सात हजार ७५२ रोपनी जग्गाका लागि चार अर्ब ७० करोड ५१ लाख २५ हजार ४१५ बराबरको मुआब्जा वितरणको प्रक्रियामा छ । आयोजनाले हालसम्म कूल नौ हजार ५५८ जग्गाधनीका ३३ हजार ३४९ रोपनी जग्गाका लागि रु १९ अर्ब ८९ करोड ७३ लाख २५ हजार ४१५ बराबरको मुआब्जा वितरण गरेको छ । आयोजनाले गोरखाको दर्बुङ, फुजेल, बोर्लाङ, आश्राङ र नामजुङको १९३ फाइल प्राप्त भएका र त्यसको मुआब्जा रकम वितरण गर्ने तयारी गरिएको छ । यस्तै फुजेल, बोर्लाङ, बुङ्काट, आश्राङ र धावाको कूल ५३९ फाइलको मालपोत कार्यालयमा कार्य भइरहेको छ । फुजेल, नामजुङ, बुङ्कोट र दरबुङको एक हजार ५८२ जग्गाधनीका तीन हजार १६४ कित्ता जग्गाका लागि दुई अर्ब ७५ करोड ७० लाख बराबरको रकम बैंकमा दाखिला भएको छ । त्यस्तै धादिङको चैनपुर, सलाङ, मैदी, खरी, ज्यामरुङ, सल्यानकोट र आगिनचोकको गरी कूल ८८१ जग्गाधनीको एक हजार ७२० कित्ता जग्गाको रु एक अर्ब ९४ करोड ८० लाख बराबरको मुआब्जा बैंकमा दाखिला भइसकेको छ । छुटेका फाइलसमेत रुजुका लागि नापी तथा मालपोत कार्यालयमा पठाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिलीपकुमार सडौलाले जानकारी दिए । सहसचिव सडौलाले केही दिन पहिले प्रतिनिधिसभाको कृषि, जलस्रोत तथा प्राकृतिक स्रोत साधन समितिको बैठकमा पेश गर्नुभएको विवरणअनुसार गोरखातर्फ तीन हजार ३०० रोपनी र धादिङतर्फ दुई हजार रोपनी जग्गाको मुआब्जा निर्धारण भइसकेको छैन । आयोजना प्रभावितले मुआब्जा निर्धारण हुन नसकेका स्थानको तत्काल मुआब्जा निर्धारण गरिदिन आग्रह गर्दै आएका छन् । नौबिसे र हेटौँडामा सवस्टशेन बन्ने सरकारको योजनाअनुसार बूढीगण्डकी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडनका लागि धादिङको नौबिसे र मकवानपुरको हेटौँडामा ४००-४०० केभी क्षमताका दुई वटा सवस्टेशन निर्माण गरिने भएका छन् । आयोजनास्थलदेखि धादिङको नौबिसेसम्म ४०.३ किलोमिटर लामो प्रसारण लाइनमार्फत नौबिसेमा निर्माण हुने सवस्टेशनमा विद्युत् जोडिनेछ । यस्तै हेटौँडामा निर्माण हुने सवस्टेशनमा कूल ५८.७ किलोमिटर लामो प्रसारण लाइनमार्फत जोडिनेछ । प्रसारण लाइन र सवस्टेशनका लागि मार्ग र स्थानको निक्र्यौल गरिनेछ । वातावरणीय प्रभाव मूल्याङ्कनपछि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइनेछ । रासस
वार्षिक २० मेट्रिक टन मह उत्पादन, मौरीका घार १० हजार
अमरगढी । डडेल्धुरामा वार्षिक २० मेट्रिक टन मह उत्पादन हुने गरेको एक तथ्याङ्कले देखाएको छ । साविकको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा सरदर १५ देखि २० मेट्रिक टन मह उत्पादन हुने गरेको हो । पहिलेदेखि नै मौरीपालनतर्फ कृषक लागिरहे पनि पछिल्लो समय मौरीका चरन क्षेत्र विस्तार भएका र मौरीलाई आवश्यक पर्ने चरन क्षेत्र पर्याप्त भएकाले मह उत्पादन बढ्दै गएको अमरगढी कृषि शाखा अधिकृत टेकबहादुर विष्टले बताए । “जिल्लामा मौरीपालनको सम्भावना व्यापक रूपमा रहेको छ, उत्पादित महले सजिलै बजार पाउने र आम्दानी राम्रो हुने भएकाले कृषक पनि यसतर्फ आकर्षित भइरहेका छन्”, अधिकृत विष्टले भने । जिल्लामा अहिले करीब १० हजार घारमा मह उत्पादन हुने गरेको छ । त्यसमध्ये ६० प्रतिशत पुराना घार र ४० प्रतिशतमात्रै आधुनिक घारमा मौरीपालन हुने गरेको सो कार्यालयले जनाएको छ । मह उत्पादन गर्दा बजार सजिलै पाइने भएकाले मौरीपालन व्यवसाय सञ्चालन गर्न सहज र आम्दानी राम्रो हुने गरेको अजयमेरु गाउँपालिका–१ खानीका मौरीपालक कृषक लक्ष्मी पाठकले बताउनुभयो । अहिले जिल्लामा करीब ४०० कृषक मौरीपालन व्यवसायमा आबद्ध छन् । मौरीपालनलाई व्यावसायिक बनाउन कार्यालयले पकेट क्षेत्र तोकेर मौरीपालनका लागि आवश्यक पर्ने घार तथा युवालाई दुई लाख बराबरको अनुदान र अन्य औजारलाई २५ देखि ५० प्रतिशतसम्मको अनुदान उपलब्ध गराइँदै आएको अधिकृत विष्टले जानकारी दिए । अमरगढी र परशुराम नगरपालिका, आलिताल गाउँपालिका र गांखेत, नवदुर्गा को चमा, चौड, अजयमेरुको समैजी, गन्यापधुरा भागेश्वर बगरकोटलगायतका क्षेत्र मह उत्पादनमा पकेट क्षेत्र मानिन्छन् । यहाँका कृषकले स्थानीय एपी सेरेना जातको मौरीपालन गर्दै आएका छन् । माहुरीपालनबाटै व्यवसायीले वर्सेनी करोडौँ आम्दानी गर्न सफल भएका छन् । डडेल्धुराका विभिन्न गाउँपालिका र नगरक्षेत्रमा बढ्दै गइरहेको माहुरीपालनका कारण जीवनस्तरमा राम्रो परिर्वतन आएको बताइएको छ । व्यावसायिक मौरीपालनले स्थानीयस्तरमा रोजगारी सिर्जना भएको छ भने मह तथा घार निर्यातका लागि डडेल्धुरा प्रसिद्ध बन्दै गएको छ । आधुनिक र खोपे घारमा मह उत्पादन भइरहेकोे जिल्ला कृषि ज्ञान केन्द्र कार्यालयको तथ्याङ्क छ । मौरीपालक किसानको समूहगत आम्दानी वर्सेनी रु दशौँ करोड रहेको जिल्ला कृषि ज्ञानकेन्द्र कार्यालयले जनाएको छ । मौरीपालनबाट छोटो समयमै फेरिएको जीवनप्रति यहाँका किसान दङ्ग छन् । मौरीपालनप्रतिको आकर्षणलाई ध्यानमा राखी सिप विकास, बजार र चरन प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको सो कार्यालयले जनाएको छ । सिँचाइ सुविधा नचाहिने र कम लगानीमै व्यवसाय गर्न सकिने तथा उच्च बजार सम्भावना भएकाले मौरीपालन व्यवसायमा आकर्षण बढिरहेको जिल्ला कृषि ज्ञानकेन्द्रले जनाएको छ । रासस
साताको शेयर बजारः ४४ लाख ६६ हजार कित्ता खरिद बिक्री, एक अर्ब २९ करोडको कारोबार
काठमाडौँ । धितोपत्र बजारमा यस साता कूल १६८ कम्पनीको ४४ लाख ६६ हजार ५६८ कित्ता शेयर एक अर्ब २९ करोड ३६ लाख ४९ हजार ७३७ मूल्यमा खरिद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक समेत यस साता सामान्य अङ्कले घटेको छ । साताको पहिलो दिन कारोवार मापक नेप्से परिसूचक ११.८४ विन्दुले घटेर एक हजार १६०.९३ विन्दुमा झर्यो । स्टकका अनुसार सो दिन कूल १६३ कम्पनीको १० लाख ७९ हजार ५८० कित्ता शेयर ३० करोड ३० लाख ३६ हजार ८८८ मूल्यमा खरीद बिक्री भए । यस्तै साताको दोस्रो दिन कारोवार मापक नेप्से परिसूचक २.७९ विन्दुले बढेर एक हजार १६४.८९ विन्दुमा पुग्यो । सो दिन कूल १६५ कम्पनीको आठ लाख ७१ हजार ८२८ कित्ता शेयर २२ करोड ४३ लाख १६ हजार ५२७ मा खरीद बिक्री भए । साताको तेस्रो दिन कारोवार मापक नेप्से परिसूचक ३.८९ विन्दुले घटेर एक हजार १६०।९९ विन्दुमा झ¥यो । सो दिन कूल १६३ कम्पनीको १० लाख ३५ हजार ७१ कित्ता शेयर ३० करोड आठ लाख १४ हजार ३८७ मूल्यमा खरीद बिक्री भए । बुधबार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ४ विन्दुले घटेर एक हजार १६० दशमलव ५९ विन्दुमा कायम रह्यो । सो दिन कूल १६८ कम्पनीको पाँच लाख ७२ हजार ७७५ कित्ता शेयर १९ करोड २० लाख ९४ हजार ४९२ मूल्यमा खरीद बिक्री भए । यस्तै साताको अन्तिम दिन बिहिबार कूल १६८ कम्पनीको नौ लाख सात हजार ३१४ कित्ता शेयर रु २७ करोड ३३ लाख ८७ हजार ४४३ मूल्यमा खरिद बिक्री भयो । सो दिन नेप्से परिसूचक १.०४ विन्दुले बढेर एक हजार १६१.६३ विन्दुमा कायम भइ बजार बन्द भएको छ । रासस
गुणस्तर प्रमाण चिह्न बिना ग्याँस उद्योग सञ्चालन, तत्काल लिन निर्देशन
बनेपा । जिल्ला अनुगमन समितिले जिल्लामा सञ्चालित तीन ग्यास उद्योगलाई तत्काल गुणस्तर प्रमाण चिह्न लिन निर्देशन दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाल आयल निगमका उपनिर्देशक प्रलयङ्कर आचार्य र नेपाल गुणस्तर तथा नापतौल विभागका केमिस्ट इञ्जय मानन्धर र बनेपा नगरपालिकाको प्रतिनिधिसहितको टोलीले काभ्रेपलाञ्चोकको बनेपामा रहेको चण्डेश्वरी ग्यास उद्योग, सूर्य ग्यास उद्योग र उग्रचण्डी ग्यास उद्योगमा अनुगमनको क्रममा गुणस्तर तथा नापतौल विभागबाट लिनुपर्ने गुणस्तर प्रमाण चिह्न नलिएको पाइएकोमा तत्काल प्राप्त गर्ने प्रक्रियामा लाग्न निर्देशन दिएको हो । सो क्रममा उद्योगमा काम गर्ने कर्मचारीलाई प्राविधिक तथा सुरक्षा तालिम नदिएको, वितरक, विक्रेताको सङ्ख्या ठेगाना र विवरण नराखेको, चालू वर्षमा प्रयोग अवधि समाप्त हुने सिलिण्डरको सङ्ख्या विवरण अद्यावधिक नराखेको लगायतका पाइएकाले त्यसलाई छ महिनाभित्रमा व्यवस्था गरी जानकारी गराउनसमेत उद्योगलाई निर्देशन दिएको छ । जिल्लामा सञ्चालित पाँच वटा ग्यास उद्योगमध्ये सगरमाथा ग्यास उद्योग र भैँसेपाटीमा रहेको गौरीशङ्कर ग्यास उद्योगले मात्रै गुणस्तर प्रमाण चिह्न प्राप्त गरिसकेको जनाएको छ । सगरमाथा ग्यास उद्योगले सगर ब्राण्डको सिलिण्डर र गौरीशङ्कर ग्यास उद्योगले हिमाल ब्राण्डको सिलिण्डर बजारमा ल्याएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागका केमिष्ट इञ्जय मानन्धरले म्याद नाघेको सिलिण्डर बाहिर उपभोक्तामा पठाएको पाइएमा कारवाही गर्ने बताए ।
नेपाल बैंकको नाफा ६ करोडले ओरालो, सिडी रेसियो ७१.४७ प्रतिशत मात्रै
काठमाडौं । नेपालको बैंकको नाफा ६ करोडले ओरालो लागेको छ । २०७४ पुसमा १ अर्ब ६३ करोड नाफा गरेको बैंकले २०७५ पुसमा १ अर्ब ५७ करोडमा झरेको हो । बैंकले १ खर्ब ५ अर्ब निक्षेप संकलन गरेर जम्मा ८५ अर्ब मात्रै ऋण लगानी गरेको छ । नेपाल बैंकको सिडी रेसियो जम्मा ७१.४७ प्रतिशत मात्रै रहेको छ । बैंकले असोजदेखि पुस मसान्त अवधीमा १२ अर्ब निक्षेप बढाएर ६ अर्ब कर्जा लगानी वृद्धि गरेको छ । असोजमा ९३ अर्ब रहेको निक्षेप पुसमा १ खर्ब ५ अर्ब पुर्याएको हो भने ७९ अर्बको कर्जा लगानीलाई ८५ अर्ब बनाएको हो । ९ अर्ब ९१ करोड चुक्ता पुँजी रहेको नेपाल बैंकको जगेडा कोषमा १९ अर्ब ६५ करोड रुपैंयाँ रहेको छ । बैंकले ३ अर्ब १६ करोड खुद ब्याज आम्दानी गरेको छ । बैंकको खराब कर्जा २.७४ प्रतिशतमा झरेको छ भने आधार ब्याजदर ६.०६ प्रतिशत रहेको छ । नेपाल बैंकको स्प्रेड दर ४.९९ प्रतिशत रहेको छ भने कष्ट अफ फण्ड ३.५८ प्रतिशत रहेको छ । नेपाल बैंकको प्रति सेयर आम्दानी भने ३३.८७ रुपैंयाँ रहेको छ ।