विकासन्युज

हनुमन्ते सरसफाइ अभियानले ९१ हप्तामा, सात टन फाेहाेर सङ्कलन

काठमाडौं । हनुमन्ते नदी सरसफाइ अभियानको ९१औँ हप्ता मनोहरा र हनुमन्तेको सङ्गमस्थल हनुमान मन्दिरको अगाडिबाट नदीको सफाइ गरिएको छ । मध्यपुरथिमि नगरपालिका–९ र ललितपुर तथा काठमाडौँको सिमानामा रहेको हनुमन्ते नदीमा भएको सफाइ अभियानमा सात टन फोहोर सङ्कलन भएको हनुमन्ते अभियानका सफाइ दूत एवं चलचित्र निर्देशक मदन घिमिरेले जानकारी दिए । अभियानका वीर दल गणका नेपाली सेनाको टोली, नेपाल प्रहरीको टोली, सशस्त्र प्रहरीको टोली, विभिन्न सामाजिक सङ्घसंस्थाहरुका टोली एवं प्रतिनिधि, सञ्चारकर्मीलगायतका अभियन्ता टोलीको सफाइ अभियानमा सहभागिता रहेको थियो । कार्यक्रमको शुरुवात गर्दै पूर्वप्रधानमन्त्री एवं राप्रपा संयुक्तका नेता लोकेन्द्रबहादुर चन्दले देशमा साना कामबाट पनि ठूलो परिवर्तन गर्न सकिने बताए । उनले हनुमन्ते सफाइ अभियान हेर्दा सानो भएपछि यो नियमित र ठूलो परिवर्तनको काम भएकाले यसको अभियन्ताहरु सम्मानको पात्र भएको बताउँदै खोला र नदीहरुमा फोहर गर्नेहरु पनि फोहर गर्न रोक्नुपर्ने बताए । विश्वमै वातावरण प्रदूषण भइरहेको बेलामा नेपालमा पनि यसको ठूलो चपेटामा परेको भन्दै नेपालमा पनि वातावरण प्रदूषणबाट जोगाउन यस्ता काम प्रभावकारी हुने भएकाले सबैले साथ र सहयोग दिएर लाग्नुपर्ने बताए । रासस

पर्यटन, औद्योगिक र कृषि मेलाको फ्यूजनले मुलुकको विकास हुने

काठमाडौं । नेपाल चेम्बर अफकमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले पर्यटन, औद्योगिकर कृषि मेलाको फ्युजनले मुलकको तिब्र विकासको लागि आवश्यक पूर्वाधारको विकास भएको सूचना सम्प्रेषण हुने बताए । चेम्बर अफ कमर्ससँग आबद्ध उद्योग व्यापार संगठन भैरहवाले आयोजना गरेको पाँचौ लुम्बिनी पर्यटन प्रबद्र्धन, औद्योगिक व्यापार तथा कृषिमहोत्सव २०७६ को अवलोकन तथा अन्र्तक्रियामा सहभागि हुदै यस्तो मेला वर्षेनी गर्दै प्रचारप्रसार गर्नु पर्नेमा जोड दिए । उद्योग व्यापार संगठन भैरहवाका अध्यक्ष नारायण भण्डारीको सभापतित्वमा भएको सो कार्यक्रममा उद्योगी व्यवसायीहरुको उपस्थिती रहेको थियो । यसैबिच गुल्मी चेम्बर अफकमर्सको प्रथम साधारण सभाको बिशेष अतिथि राजेश काजी श्रेष्ठले उद्घाटन गर्दै मुलुकको समग्र विकासमा व्यापारी व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले चेम्बरको इतिहास हकहितका साथै समाजिक सेवामा पनि चेम्बर सकृय रहेको जानकारी दिए । रिडिको प्रचार हुन आवश्यक रहेकाले धार्मिक पर्यटनको लागि आन्तरिक र वाह्य प्रचार हुन आवश्यक रहेको बताए । अन्य सस्थाहरु संगको समन्वमा हकहितमा लाग्नु पर्ने गुल्मि चेम्बर अफ कमर्सको प्रथम साधारण सभा सभापति अध्यक्ष युवराज न्यौपाने प्रमुख अतिथि अध्यक्ष राजेश काजी श्रेष्ठ , बिशेष अतिथि प्रदेश सभा सदस्य दिनेश पन्थी,प्रजिअ कोषहरी निरौला,चेम्बर प्रदेश अध्यक्ष भिमलाल पौडेल, कार्यकारी सदस्य टंकप्रसाद पोखरेल, गुल्मी पत्रकार महासंघ, उद्योग वाणिज्य संघ अध्यक्षको उपस्थिति रहेको थियो ।

सुपुष्पा अभिनित ‘टिलपिल टिलपिल तारा’ बजारमा

काठमाडौं । मोडल तथा नायिका सुपुष्पा भट्ट अभिनित म्युजिक भिडियो ‘टिलपिल टिलपिल तारा…’ सार्वजनिक भएको छ । विक्रमजंग शाह र मेलिना राईको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुमन श्रापितको शब्द, जीवन परियारको सङ्गीत र सुदिप सागरको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा सुपुष्पासँगै रोहन असिब र अजय पुनलाई फिचरिङ गरिएको छ । संगीता श्रेष्ठको निर्देशन, रोहन असिबको कोरियोग्राफ रहेको गीतको भिडियोमा शिवराम श्रेष्ठको छायाँकन र लोकेश बज्रचार्यको सम्पादन रहेको छ । तल क्लिक गर्नुहाेस् :  हेर्नुहाेस् म्युजिक भिडियो    

११०० मेगावाटका ३० आयोजना ग्रिडमा जोडिँदै, २२०० मेगावाट नेपालमा नै उत्पादन हुने

काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ मा ११ सय मेगावाटका ३० जलविद्युत आयोजना ग्रिडमा जोडिने भएका छन् । विद्युत विकास विभागको तथ्याङ्क अनसार चालु आवभित्र ११ सय २५ मेगावाटका ३० आयोजनाहरुको निर्माण सम्मपन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएका हुन् । विद्युत विकास विभागले ५५६ मेगावाटको माथिल्लो तामाकोशी, १११ मेगावाटको रसुवागढी, १४.८ मेगावाटको माथिल्लो सान्जेन र निजी क्षेत्रका आयोजनाहरुबाट चालु आवमा करिब ११ सय २५ मेगावाट विद्युत प्रणालीमा थपिने गरी काम भइरहेको जनाएको छ । यस्तै निर्माणाधीन अवस्थामा रहेका आयोजनाहरुमा ४० मेगावाटको खानीखोला, २७ मेगावाटको दोर्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, ८२ मेगावाटको तल्लो सोलु, २३.३ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनाहरु रहेका छन् । यी आयोजनाहरु कुनै निर्माण सम्पन्न गरिसकेका छन् भने कुनै आयोजना निर्माणको अन्तिम चरणमा छन् । देशभर निर्माधिन आयोजनाहरुबाट उक्त बिजुली उत्पादन भएमा हालसम्मकै सबैभन्दा बढी बिजुली उत्पादन हुने विभागले जनाएको छ । विभिन्न २४ वटा सरकारी तथा नीजि जलविद्युत आयोजना निर्माणधीन रहेकोले चालु आवमा उक्त क्षमताको बिजुली आउने उल्लेख छ । निर्माणाधीन आयोजनाहरुबाट एक वर्षभित्र सम्पन्न गरी विद्युत उत्पादन शुरु गर्ने विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंहले बताए । निर्माणाधीन आयोजनाहरु एक वर्षभित्र पूरा भए चालु आव भित्रै २२ सय मेगावाट विद्युत नेपालमा उत्पादन हुनेछ । हाल नेपालले भारतबाट बिजुली आयात गरेर लोडसेडिङ हटाइएको छ । निर्माणाधीन आयोजना निर्धारित समयमै पूरा नभएको अवस्थामा नेपालले यसै वर्षबाट बढी भएको बिजुली उल्लेख्य मात्रामा निर्यात गर्ने उल्लेख छ । यस वर्ष थप हुने आयोजनाहरु संख्यात्मक रुपमा नीजि क्षेत्रका धेरै छन् । उत्पादन अनुमति जारी भई निर्माणको विभिन्न चरणमा रहेका आयोजना २०९ वटा छन् । यी आयोजनाको बिजुली उत्पादन क्षमता ७ हजार ९ सय ७२ मेगावाट छ । यसै गरी उत्पादन अनुमतिका लागि निवेदन दिएका दुई हजार ५ सय ६३ मेगावाटका आयोजना ३७ आयोजनाहरु रहेका छन् । सर्वेक्षेण अनुमति जारी भएका १७ हजार ८ सय ७६ मेगावाटका २ सय ८६ आयोजना छन् । २ हजार ५ सय ६३ मेगावाटका २८ आयोजनाले सर्वेक्षणको निम्ति दरखास्त दिएको विद्युत विकास विभागको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष २०७५÷७६ मा पनि नेपाल सरकारले २० वटा जलविद्युत आयोजनाहरुबाट २ सय ८७ मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको थियो तर लक्ष्य लिए अनुसारको उत्पादन भएको थिएन । गत आर्थिक वर्ष २०७५÷०७६ को असार मसान्तसम्ममा नेपाल सरकारले १ सय ४३ मेगावाट विद्युत उत्पादन गरि राष्ट्रिय प्रसारण लाईनमा जोडेको छ । हालसम्म करिब ११ सय विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

पश्चिमी न्यूनचापीय वायुको प्रभाव हिमपात तथा वर्षाकाे सम्भावना

काठमाडौं । पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार आगामी दिन देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ । आइतबार देशका मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली भई मध्य र पहाडी भू–भागमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सोमबार देशका मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली भई पूर्वी र मध्य पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियसे छ । त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । रासस

नेपालगञ्ज विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने मन्त्री भट्टराईको प्रतिवद्धता

काठमाडौं । नेपालगञ्ज विमानस्थलको विस्तार र स्तरोन्नतिको अध्ययन र छलफलका लागि आफू नेपालगञ्ज आएको बताउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले छिट्टै अन्तर्राष्ट्रिय उडान भर्न सक्ने विमानस्थल तयार गर्ने दावी गरेका छन् । नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणको नेपालगञ्जमा उद्घाटन गर्दै उनले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई राष्ट्रव्यापी बनाउँदै हासिल भएका उपलब्धिलाई अन्तर्राष्ट्रियकरण गर्ने दिशामा अघि बढेको जनाए । सरकारको नारालाई देश विदेशमा पुर्याउन नेपालगञ्ज म्याराथनले सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै मन्त्री भट्टराईले नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सरकारले सहयोग गर्ने बताए । शान्ति, सद्भाव र एकताका लागि नेपालगञ्ज म्याराथनले भूमिका खेलेको चर्चा गर्दै स्वास्थ्यका लागि खेलकुद जरुरी रहेको उनको भनाइ थियो ।  ‘मुलुकमा समृद्धि ल्याउने दिशामा सरकार लागि परेको छ’ उनले भने । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सिना, नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाह, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शमशेर राणा लगायतले नेपालगञ्ज म्याराथनले नेपालगञ्जलाई चिनाउन सहयोग गरेको बताए । नेपालगञ्ज म्याराथनको पाँचौ संस्करणमा २ हजार ७ सय जनाभन्दा बढी सहभागि भएका छन् । नेपाल सरकार र तत्कालिन विद्रोही माओवादीबीच २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको सम्झनामा नेपालगञ्ज म्याराथनको शुरवात गरिएको क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए । उनका अनुसार म्याराथनमा प्रथम हुनेलाई ६५ हजाररुपैयाँ, दोस्रो हुनेलाई ३५ हजार रुपैयाँ र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै हाफ म्याराराथनतर्फ प्रथम हुनेलाई ३५ हजार रुपैयाँ, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २० हजार र १० हजार रुपैयाँ प्रदान गरिने छ । नेपालगञ्जको वीपीचोकबाट शुरु भई कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः वीपीचोकमा आएर म्याराथन पूरा हुनेछ । रासस

सिमेण्ट उत्पादक संघको उपाध्यक्षमा सुरेन्द्र गोयल नियुक्त

काठमाडौ । नेपाल सिमेण्ट उत्पादक संघको केन्द्रीय उपाध्यक्षमा शिवम् सिमेण्ट हेटौंडाका प्रमूख सुरेन्द्र गोयल मनोनित भएका छन् । उत्पादक संघका अध्यक्ष ध्रुव्र थापाले शुकबार शिवम् सिमेण्टका प्रमूख गोयललाई मनोनित गरेका हुन् । उपाध्यक्षमा मनोनित भएपछि गोयलले आफू अब निर्माण व्यवसायी कम्पनी, उपभोक्ताको हित र सिमेण्ट उत्पादक कम्पनीको बजार ब्यवस्थापनमा दरिलो भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । गोयलले स्वदेशी उत्पादनमा आत्मनिर्भर गराउन आफू सक्रियरुपमा लाग्ने बताउँदै नेपाल र सरकार र सम्बन्धित पक्षको भरपूर सहयोग रहनेमा आशावादी रहेको बताए ।

मुस्ताङको जोमसोममा टाटा मोटर्सको वर्कशप

जोमसोम । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि ले मुस्ताङको जोमसोममा टाटा मोटर्सका गाडीहरूका लागि सेवा प्रदान गर्नका लागि वर्कशप खोलेको छ । समुद्र सतहभन्दा २,७४३ मिटर उचाइँमा अवस्थित उक्त वर्कशपको उद्घाटन सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोर्टसका कस्टमर केयर इन्टरनेशनल बिजनेस, कमर्सियल भेइकलका प्रमुख गणेश शेट्टीले गरेका हुन् । जोमसोम क्षेत्रमा टाटा मोटर्सका सबै रेन्जका गाडीहरूलाई सेवा प्रदान गर्ने यो नै पहिलो र एकमात्र वर्कशप हो । उक्त उद्घाटन समारोहमा बोल्दै टाटा मोर्टसको कर्मशियल बिजनेस, कस्टमर केयर इन्टरनेशनल प्रमुख गणेश शेट्टीले भने-“ जब कुनै ग्राहकले टाटाका कुनै उत्पादन खरिद गर्दछ तब उसले टाटाका सेवाहरू माथि अधिकार प्राप्त गर्दछ र सो अधिकार पूरा गर्ने दायित्व कम्पनीको हो । टाटा मोटर्सका गाडीहरू किन्ने हाम्रा ग्राहकहरूलाई हाम्रा यी वर्कशपहरूले फेरि प्रत्याभूति र विश्वास दिनेछ भन्ने हाम्रो आशा रहेको छ र सबैभन्दा उच्च स्थानमा-समुद्र सतहभन्दा २,७४३ मिटर उचाइँमा वर्कशप खोल्नु भनेको हामी हाम्रा सबै ग्राहकहरूसम्म पुग्छौँ भन्ने कुराको पुनः प्रत्याभूति हो ।” सिप्रदी ट्रेडिङ प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने- “सिप्रदीको स्थापनादेखि नै सिप्रदीले सेवालाई उच्च प्राथमिकतामा राख्दै देशका कुनाकाप्चामा भएका ग्राहकहरूसम्म पुग्ने लक्ष्य लिएको छ र जोमसोममा अवस्थित यो वर्कशपले हामीले चाहिरहेको लक्ष्य प्राप्तिका लागि अर्को सफलता दिलाएको छ।” टाटा मोटर्स र सिप्रदी ट्रेडिङ्ग प्रा.लि. प्रति आभार व्यक्त गर्दै घोरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले भने- “सिप्रदी र टाटा मोटर्सले जोमसोममा वर्कशप खोल्नु भनेको यो स्थानको महत्व बुझ्नु हो । सिप्रदी र टाटा मोटर्सलाई यहाँ स्वागत छ । हामीलाई विश्वास छ कि यो वर्कशप घोरपझोङ गाउँपालिका र कम्पनी दुवैका लागि फाइदाजनक हुनेछ ।” उद्घाटन समारोहमा मुस्ताङको घोरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली, उपाध्यक्ष शर्मिला गुरुङ, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा टाटा मोटर्स तथा सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का प्रतिनिधिहरूका साथै सो क्षेत्रका स्थानीय बासिन्दा र टाटा मोटर्सका ग्राहकहरूको पनि सहभागिता थियो ।