विकासन्युज

औषधि व्यवसायी सङ्घको अध्यक्षमा जोशी

कैलाली । औषधि व्यवसायी सङ्घ कैलालीको प्रथम अधिवेशनबाट अध्यक्षमा जनकराज जोशी निर्विरोध चयन भएका छन् । सङ्घको शनिबार धनगढीमा भएको अधिवेशनबाट जोशीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन भएको हो । त्यस्तै, उपाध्यक्षमा प्रेमराज बिसी, महासचिवमा मधुकर कुश्मी, कोषाध्यक्षमा रमेश पाण्डे, सहकोषाध्यक्षमा द्वारिकाप्रसाद चौधरी, सचिवमा चन्द्रिकाप्रसाद चौधरी चयन भएको सङ्घले जनाएको छ । सदस्यमा खेमराज भट्ट, चन्द्रबहादुर रावल र ठाकुरप्रसाद चौधरी चयन भएका छन् । रासस

बीमा संस्थानद्वारा कर्णाली प्रदेशमा बीमा अभिकर्ता तालिम सम्पन

काठमाडौं । राष्ट्रिय बीमा संस्थान सुर्खेत शाखाले कर्णाली प्रदेशमा पहिलोपटक तीन दिने बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ। मङ्सिर ५, ६ र ७ गते भएको उक्त कार्यक्रममा ३३ जनाको सहभागिता थियो । कार्यक्रममा बीमा र यसको महत्व, सिद्धान्त र प्रकारहरु बीमा एन नियामावली तथा बिनियामावलीहरु बीमा संस्थानमा प्रचलित बीमालेखहरु बीमा बजारीकरण र अभिकर्ता व्यवसाय वृद्धिका तरिकाहरुका बारेमा प्रशिक्षण दिएको थियो। यसैगरी, कार्यक्रममा संस्थानका प्रशाशक कविप्रसाद पाठकले संस्थानको भाव िकार्यदिशा यस क्षेत्रको विस्तारमा बीमा अभिकर्ताले निर्वाह गर्नुपर्ने भुमिकाको बारेमा सहभागीहरुलाई प्रशिक्षित गराएका हुन् । त्यसैगरी, उक्त संस्थानका सुर्खेत शाखा प्रमुख रमेश उपाध्यायले बीमाको इतिहास र राष्ट्रिय बीमा संस्थानको परिचय तथा काम कर्तव्यबारे प्रशिक्षित गराएका थिए ।

नेशनल माइक्रोफाइनान्सका सेयरधनीलाई ७५ प्रतिशत बोनस, लगत्तै ५० प्रतिशत हकप्रद सेयर

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई ७५ प्रतिशत बोनस सेयर दिने भएको छ । लगत्तै माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । धादिङमा केन्द्रीय कार्यालय रहेको यस फाइक्रोफाइनान्सको चुक्ता पुँजी १५ करोड रुपैयाँ छ । बोनस सेयरपछि २६ करोड ४० लाख रुपैयाँ हुने छ । त्यस्तै हकप्रद सेयर निष्काशन गरेपछि चुक्ता पुँजी करिव ४० करोड रुपैयाँ हुनेछ । संस्थाको साधारणसभा मंसिर २९ गते धादिङबेसीमा हुँदैछ । मंसिर १५ गतेसम्म सेयर किन्नेले बोनस सेयर पाउने छन् भने १६ गतेदेखि बुक क्लोज हुनेछ । यस संस्थाको सेयर प्रतिकित्ता १७०० रुपैयाँभन्दा बढी मूल्यमा कारोबार भईरहेको छ ।

अर्थका सह–सचिव हरिशरण पुडासैनी चीनका लागि नेपालीे महावाणिज्य दुत

काठमाडौं । अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखा प्रमुख हरिशरण पुडासैनी चीनका लागि नेपाली महावाणिज्य दुतमा नियुक्त हुनु भएका छन् । पुडासैनीले गत शुक्रबार चीनका लागि नेपाली महावाणिज्य दुतको नियुक्तिपत्र बुझेका हुन् । गत भदौमा मन्त्री परिषद्को बैठकले पुडासैनीलाई चीनका लागि नेपाली महावाणिज्य दुतमा नियुक्त गरेका हुन्छ । ४ वर्षे कार्यकालका लागि उनी यसै साता कार्यभार सम्हाल्न चीन प्रस्थात गर्दै छन् ।

मासिक डेढ लाखको जागिर छोडेका युवा ६ अर्बको बजारमा जम्दै, १० वर्षकाे वारेन्टीसहित नयाँ उत्पादन ‘सिल्कवेयर’

राजन झा, निर्देशक- जोनसन इन्टरनेशनल तथा इन्टरनेशल सिमेन्ट प्रा.लि. छोटो अवधिमा ग्लोवल आईएमई बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक हुँदै प्रोगे्रशिभ फाइनान्स लिमिटेडको डेपुटी सीईओ बनेका थिए राजन झा । मासिक करिब डेढ लाख रुपैयाँ तलब थियो । जागिर खानेहरुको लागि रोजाईको क्षेत्र बनेको बैकिङ क्षेत्रमा अझै उनले ३० औं वर्ष काम गर्न सक्थे । लण्डनबाट एमबीए गरेका झा वाणिज्य बैंकमा सीईओ बन्ने सम्भावना छँदै थियो । सबैलाई थाहा भएकै विषय हो वाणिज्य बैंकहरुको सीईओले वार्षिक २÷३ करोड रुपैयाँ बराबर तलब सुविधा पाउँदै आएका छन् । तर झा यो संसारमा रमाउन सकेनन् । धेरै नेपाली युवामा जागिर छोडेर उद्यमी तथा व्यवसायी बन्ने चाहाना बढेको छ । त्यस मध्येका एक हुन् राजन झा । उनी बैकिङ क्षेत्रबाट बाहिरिए । उनी अहिले उद्योग तथा व्यापारको क्षेत्रमा जम्दैछन् । उनी हाल जोनसन इन्टरनेशनल तथा इन्टरनेशल सिमेन्ट प्रा.लिका निर्देशक हुन्, पुँजी लगानीसहित । जोनसन इन्टरनेशनलले सिल्कवेयर ब्राण्डका धारा तथा फँसिट्, स्यानीटरी, एक्सेसरी उत्पादन गर्दैछ भने इन्टरनेशनल सिमेन्ट प्रा.लिले ओम सिमेन्ट उत्पादन गर्छ । सेवा तथा व्यापारजन्य व्यवसाय भन्दा उद्योग चलाउनु नेपालको लागि कठिन मानिन्छ । तर उनी त्यसलाई ‘हेर्ने नजर’ हो भन्छन् । ‘उद्योग व्यवसायबाहेक मोटिभेटर पनि हुँ । सकारात्मक सोचका साथ हेर्ने हो भने नेपालमा औद्योगिक क्षेत्रको सम्भावना धेरै छ’ उनले भने । उद्योग नै रोज्नुको कारणबारे उनले भने ‘बैदेशिक व्यापार घाटा धेरै नै छ । त्यसलाई कम गर्न औद्योगिक विकास हुनैपर्छ ।’ उद्योगमा पैसासँगै पहिचाहन पनि जोडिएको उनले बताए । चट्याङ मास्टरको व्याङ्ग्यात्मक कवितामा भनिएको छ ‘उद्योग नखोल बाबु, पार्टी खोल’ । त्यसमा यो देशमा उद्योगीहरुले भोग्नु परेको पीडा व्यक्त गरिएको छ र नेपालमा उद्योग चलाउनु सबैभन्दा गाह्रो कामको रुपमा चित्रण गरिएको छ । तर उद्यमी राजन झा उद्योग खोलेकोमा, उद्यमी भएकोमा रमाउँछन् । ‘नेपालमा भन्दा सिरियामा बहुत धेरै गाह्रो छ विजनेश गर्न । इरानमा झन् गाह्रो । त्यहाँ भन्दा नेपालमा व्यवसाय गर्न धेरै सजिलो छ ।’ उनी परिभाषामा गए । ‘उद्यमशिलता भनेको साहासिक काम हो । जोखिम लिनुपर्छ । व्यवस्थापन राम्रो हुनुपर्छ । तत्कालिन र दीर्घकालिन योजना, नीति, रणनीति लिनुपर्छ’ छोटकरीमा बताए । राजन झा उद्योग क्षेत्रमा संलग्न भएको एक वर्ष मात्र भयो । तर उनलाई लाग्दैन कि यो क्षेत्र मेरो लागि नयाँ छ । भन्छन्–‘बैकिङ क्षेत्रमा बसेर मैले उद्योग व्यवसायलाई राम्ररी हेरेको छु । ओल्टाईपल्टाई हेरेको छु । शून्यबाट ठूलो उद्योग भएको पनि हेरेको छु । ठूलो उद्योग शून्यमा झरेको पनि देखेको छु । बैंकका ऋणिहरु को कहाँ चुके, हामी बैंकमा बसेर राम्ररी देखेका छौं ।’ विश्वविद्यालयका प्राध्यापकले राजनीति सिकाउँछन् तर राजनीति गर्न वा सत्ता चलाउन जान्दैनन् । समाचार कसरी लेख्ने भनेर पत्रकारका गुरुहरुले सिकाउँछन् तर उनीहरु आफै गज्जब राम्रो समाचार लेख्न सक्दैनन्, जान्दैनन । बैंकर्सले कसरी उद्योग चलाउन सक्छ ? हामीले प्रश्न गर्यौ । प्रश्नमा उद्यमी झा सहमत भए । र, थपे–‘नजरिया पनि हो । हामीले विश्लेषण गरेका छौं । मैले मेरो क्षमता बुझ्ने प्रयास गरेको छु । जे सोच्छौं, त्यो गर्न सक्छौं । थ्याङ्स गड (भगवानलाई धन्यवाद) । एक वर्षमा मैले जे गर्न प्रयास गरे, त्यसमा म सफल भएँ ।’ मौका मिलेसम्म अरुलाई उत्प्रेरणा दिने झाले आफैलाई प्रेरित गरे । ‘आफूलाई बुझौ । भ्रमबाट बाहिर निष्कौं । विनासर्त खुशी हुने प्रयास गरौं ।’ सिमेन्ट उद्यमी राजन झा इन्टरनेशनल सिमेन्ट प्रा.लिका सञ्चाकल हुन् । एक वर्ष भयो ओम सिमेन्टको सञ्चालक भएको । विरगञ्जमा रहेको यो उद्योगले ओम ब्राण्डको सिमेन्ट उत्पादन गर्दै आएको छ । ‘सिमेन्ट उद्योगमा नेपाल आत्मनिर्भर भएको छ । यो अवस्थामा आएको नयाँ कम्पनीले राम्रो नतिजा दिईरहेको छ’ उनले भने । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने इन्टरनेशनल सिमेन्ट उद्योगको क्षमता छ । ओपीसी, पीपीसी सहित दैनिक करिब १० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको उनले जानकारी दिए । निर्माण क्षेत्रका काम बन्द जस्तै छ । सिमेन्ट र स्टीलको बिक्री घटेको छ । मूल्य पनि घटेको छ । तर झा निरास छैनन् । सरकारले बिटुमिन सडकको सट्टा कंक्रिट सडक बनाउन जोड दिने हो सिमेन्ट तथा स्टील उद्योग फस्टाउने उनको तर्क छ । भारत लगायत विकसित देशमा पनि कंक्रिट रोडको प्रयोग बढ्दैछ । यस्तो सडकको आयु पनि बढी हुन्छ । त्यस्तै, वायु प्रदुषण कम हुन्छ । यस्तो सडकमा गुड्ने सवारीको टायरको आयु भने छोटो हुनेछ । ‘सिमेन्ट उद्योगको लागि तत्कालका लागि केही कठिन छ तर भविष्य राम्रो देख्छु’ उनी आशावादी भए । सिमेन्ट उत्पादक संघले सिमेन्ट उद्योगमा विदेशी लगानीको विरोध गरिरहेको छ । विदेशी लगानीले नेपालीको लगानी जोखिममा परेको धारणा पनि आईरहेको छ । राजन झा पनि यस संघको कार्यसमितिको सदस्य हुन् । भन्छन्–‘नेपालीहरुको लगानीले नै सिमेन्ट उद्योगमा हामी आत्मनिर्भर भएका छौं भने विदेशी लगानी आवश्यक पर्दैन ।’ ढुवानी लागत बढी हुने भएकोले सिमेन्ट निर्यात गर्न पनि नसकिने उनले बताए । दुई वर्षअघि ओपीसी सिमेन्टको मूल्य प्रति बोरा ९०० रुपैयाँ माथि थियो । पीसीसी सिमेन्टको मूल्य ८०० भन्दा माथि थियो । अहिले ओपीसी ७०० र पीसीसी ६०० रुपैयाँमा झरेको छ । प्रतिस्पर्धाले उपभोक्तालाई लाभ पुगेको छ तर अवस्था यहि रह्यो भने सिमेन्ट उद्योगमा लगानी भएको पुँजी डुब्ने उनको बुझाई छ । ध्यान ६ अर्बको बजारमा केन्द्रीत युवा उद्यमी झा सिमेन्ट उद्योगमा मात्र सीमित छैनन् । उनले ‘सिल्कवेयर’ ब्राण्डका धारा उत्पादन थालेका छन् । घर तथा अफिसका किचेन, वासरुम, वाथरुममा प्रयोग हुने धाराहरु बजारमा ल्याईसकेका छन् । ‘हामीले काम थालेको ३ वर्ष भयो । जोनसन इन्टरनेशनलले उत्पादन गरेको सिल्कवेयर बजारमा उपलब्ध भईसकेको छ । औपचारिक रुपमा सार्वजनिक गरिएको छैन’ उनले भने–‘जोनसन इन्टरनेशनलले आईएसओ ९००१ः२०१५ सर्टिफिकेट पाइसकेको छ ।’ सिल्कवेयर ब्राण्डका सामानमा १० वर्षको रिप्लेसमेन्ट ग्यारेन्टी दिएको, १० वर्षभन्दा अघि बिग्रियो भने ७२ घण्टाभित्र नयाँ दिएर पुरानो फिर्ता लिने सुविधा ग्राहकलाई दिएको उनले बताए । जापानीज टेक्टोलोजिमा स्पाण्डल बनाईएको, जर्मन टेक्नोलोजिमा यसका जाली बनाएको यी धारा नेपाली भएपनि उच्च गुणस्तरको भएको उनले बताए । ७०० देखि ८००० रुपैयाँ पर्ने धाराहरु बजारमा उपलब्ध रहेको उनले जानकारी दिए । विरगञ्जमा उद्योग भए पनि यो उत्पादन देशभर बिक्री गर्न सकिने झाले बताए । नेपालमा खपत हुने सबै धारा विदेशबाट आयात हुन्छन् । नेपाली उत्पादन सिल्कवेयर मात्र हो । ‘हामीले आयातलाई पूर्णत विस्तावित गर्न समय लाग्छ तर हामी छोटो अवधिमा बजारमा विश्वास जित्नेछौं’ झाले भने । विदेशबाट आउने जुनसुकै प्रडक्टसँग प्रतिष्पर्धा गर्न सिल्कवेयर सक्षम हुने उनले बताए । बाथरुममा प्रयोग हुने स्यानीटरी, फँसिट्, एक्सेसरी सामानको बजार वार्षिक ६ अर्ब रुपैयाँ भन्दा बढीको भएको उनको अनुमान छ । यी सबै सामान उत्पादन गर्ने क्रममा रहेको उनले बताए । सबै सामान उत्पादन भईसकेपछि बजारिकरण गर्ने उनको तयारी छ ।

 जोरपाटी–सुन्दरीजल सडक तत्काल नबन्ने, चाैडा २२ मिटर कि १४ मिटर भन्नेमा विवाद

काठमाडौं । जोरपाटी–सुन्दरीजल सडक सार्वजनिक जग्गा भएको स्थानमा २२ र निजी जग्गा भएका स्थानमा १४ मिटरमा कालोपत्र गर्ने सहमति जनप्रतिनिधिबीच जुटेपनि तत्काल काम भने नहुने भएको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले मन्त्रिपरिषद् वा मन्त्रीस्तरीय निर्णय नभएसम्म सहमति जुटेअनुसार काम अघि बढ्न नसक्ने जनाएको हो । आयोजना प्रमुख अर्जुन अर्यालले यसअघि २२ मिटर सडक बनाउन ठेक्का भएकाले कतै १४ मिटर र कतै २२ मिटर बनाउने भन्ने निर्णय आउनुपर्ने बताए । जनप्रतिनिधिबीच जुटेको भनी सार्वजनिक गरिएको सहमतिमा जोरपाटी–सुन्दरीजल सडक सरोकार समिति पनि असन्तुष्ट छ । समिति सचिव सुशील सिम्खडाले सर्वोच्च अदालतले मुआब्जा नदिई निजी सम्पत्तिको इट्टा पनि नझिक्नु भन्ने फैसला गरेकाले क्षतिपूर्ति नलिई व्यक्तिको घर भत्काउन र जग्गा छोड्न सहमत नहुने बताए । “पीडितसँग सहमति गरेर सडक बनाउन हामी तयार थियौँ, हामीलाई पन्छाएर जनप्रतिनिधिबीच सहमति भएछ, अन्यत्रका पीडित अदालत गएपछि पहिलेकै जति सडकमा कालोपत्र भइरहेको छ, अब हामी पनि अदालत जानुपर्ने अवस्था आएको छ ।”, उनले भने । जनताको घर भत्काएर सडक विस्तारभन्दा दक्षिणढोकाबाट गोकर्ण मन्दिर निस्कने सडक खुलाउन जनप्रतिनिधिले ध्यान दिनुपर्ने समितिको माग छ । गोकर्ण फरेस्ट रिसोर्ट रहेको वन क्षेत्रको यो बाटो खुलाए यात्रुले तत्काल जामको सास्ती भोग्नु नपर्ने स्थानीयवासी रामचन्द्र श्रेष्ठले बताए । यो हाल नेपाल ट्रष्टको कार्यालयअन्तर्गत छ । आयोजनाले निकालेको ठेक्काअनुसार पहिलोपटकको म्याद गत वर्ष भदौमै सकिएको थियो । २०७७ असार मसान्तसम्म म्याद थपेपनि सात किमी सडकमा काम हुन सकेको छैन । रु ६० करोडमा सात किमी सडक २२ मिटरमा विस्तार गर्न ठेक्का गरिएको थियो । यसविरुद्ध यहाँका करीब ९०० परिवार आन्दोलित भएका थिए । सहमति जुटेको भन्दै गोकर्णेश्वर नगरपालिकाले सार्वजनिक जग्गामा केन्द्रबिन्दुबाट दायाँबायाँ ११/११ मिटर र निजी जग्गा भएका स्थानमा केन्द्रबिन्दुबाट सात/सात मिटरभित्र बनेका संरचना खाली गर्न सार्वजनिक अपील गरेको छ । यसभित्र पैदल मार्गसमेत निर्माण गरिने जनाइएको छ । नगरप्रमुख सन्तोष चालिसेले सबै पक्षलाई मिलाएर लामो समयदेखि रोकिएको सडकको काम गरिने बताए । सडक अलपत्र हुँदा सवारी दुर्घटना हुने गरेको छ । जोरपाटीबाट माथिको सडकमा सवारी चलाउन मुस्किल हुने गरेको चालक रामबहादुर तामाङले गुनासो गरे । रासस

भ्रमण वर्षको पोस्टर भारतीय गाडीमा टाँस्ने अभियान शुरु

काठमाडौं । पूर्वकाे नाका काँकडभिट्टामा लायन्स क्लब अफ काँकडभिट्टाले नेपाल प्रवेश गरेका सबै भारतीय सवारी साधनहरुमा नेपाल भ्रमण वर्ष २०२० को लोगो अङ्कित पोस्टर टाँस्ने अभियान शुरु भएको छ । सङ्घीय सांसद् राम कार्की तथा प्रदेशसभा सदस्यद्वय श्रीप्रसाद मैनाली र गोपाल बुढाथोकीले डब्लुबी ७४ एके ८८६४ नंको भारतीय गाडीमा संयुक्त रुपमा पोस्टर टाँसेर अभियानको शुरुवात गरेका हुन् । रङ्गीन कलेवरमा पर्यटन वर्षको लोगोसहित छापिएको पोस्टरमा ‘नेपाल भ्रमण वर्ष २०२० मा पाल्नुहुने सम्पूर्ण वैदेशिक तथा आन्तरिक पर्यटकहरुलाई स्वागत गर्दै पर्यटन वर्ष सफल पारौँ’ उल्लेख गरिएको छ । गाडीहरुमा पोस्टर टाँसिएपछि त्यसमा उल्लेख भएको सन्देश भारतका विभिन्न स्थानमा सहजै पुग्ने लायन्स क्लब अफ काँकडभिट्टाका अध्यक्ष शङ्कर थापाले बताए । भूटान, बङ्गलादेश, म्यान्मा र उत्तरपूर्वी भारतको पश्चिम बङ्गाल, सिक्किम, मेघालय, आसाम, नागाल्यान्ड, मिजोरम लगायत प्रान्तका पर्यटकहरुका लागि नेपाल प्रवेश गर्ने सबैभन्दा सहज स्थलनाका काँकडभिट्टा हो । नेपालमा भ्रमण वर्ष सफल बनाउन लायन्स र लियो क्लबहरुले पर्यटक लोभ्याउने अभियान नाकाबाटै शुरु गरेको लायन्स क्लबका डिस्ट्रिक कोअर्डिनेटर लीला चिमरियाले जानकारी दिए । रासस

चितवन मेडिकल कलेज तथा अस्पताल परिसरमा गोलीसहित पेस्तोल भेटियो

काठमाडौं । बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने भन्दै विद्यार्थी र अभिभावक आन्दोलित भएपछि पठनपाठन ठप्प भएको  चितवन मेडिकल कलेज परिसरमा बेवारिसे अवस्थामा पेस्तोल र गोली फेला परेको छ । भरतपुर महानगरपालिका–५ कैलाशनगरस्थित कलेजको परिसरमा दिउँसो बेवारिसे पेस्तोल भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार अमेरिकामा निर्मित नाइन एमएमको अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली फेला परेको हो । त्यससँगै थ्रि नट थ्रिको सात राउण्ड खाली खोका, थ्रि नट थ्रिको एक राउण्ड गोली र दुई राउण्ड नाइन एमएमको गोली बरामत गरिएको उनले जानकारी दिए । इलाका प्रहरी कार्यालय गीतानगरले दिएको जानकारीअनुसार दिउँसो ३ः३० बजे पेस्तोलसहित गोली भेटाएको हो । कलेजको सुरक्षा गार्डले पेस्तोल भेटिएको जानकारी प्रहरीलाई गराएको थियो । प्रहरी उपरीक्षक मल्लले पेस्तोल र गोलीका विषयमा अध्ययन शुरु गरिएको बताए । कलेजले शुल्क बढी लिएको भन्दै फिर्ता गर्न विद्यार्थीले मागसँगै आन्दोलन गरेपछि भदौ ५ गतेबाट कलेजको पठनपाठन प्रभावित भएको छ । दशैंपछि एक साता पढाइ भए पनि सो पश्चात शैक्षिक कार्यक्रम ठप्प रहेको छ । कलेज परिसरमै रहेको आवास नजिकै पेस्तोल र गोली फेला परेको हो । आवासमा २०० विद्यार्थी बसोबास गर्छन् । रासस