भ्यालेनटाइन डेको अवसरमा सिटी सेन्टरमा सामान किन्ने ग्राहकलाई विशेष छुट, कहिलेदेखि कहिलेसम्म ?
काठमाडौं । काठमाडौंको मुटु कमलपोखरीमा रहेको व्यवसायीक भवन सिटी सेन्टरले प्रणय दिवस भ्यालेनटाइन डे २०१९ लाई लक्षित गरी विशेष कार्यक्रमको घोषणा गरेको छ । युवावर्गलाई लक्षित गरी तयार गरिएको कार्यक्रममा १३ फ्रेवरीमा १५ रूपैयाँ पुरस्कार राशीको डान्स कम्पिटिसन गरिने सिटी सेन्टरले जनाएको छ । त्यसैगरी, सिटी सेन्टरमा १ फ्रेवरीदेखि १४ फ्रेवरीसम्ममा किनमेल गर्ने ग्राहकमध्ये लक्की ड्र मार्फत छनोट भएका एक जनालाई पोखराको प्रिमियम होटलमा २ रात ३ दिनको प्याकेजको व्यवस्था हुनेछ । सिटी सेन्टर भित्र यस अवधिमा किनमेल गर्ने ग्राहकहरुलाई विशेष छुटको व्यवस्था रहेको जानकारी व्यवस्थापन पक्षले दिएको छ । कार्यक्रममा विभिन्न प्रकारका मनोरञ्जनात्क गेमहरुको साथै लाइभ म्युजिकल कार्यक्रम आयोजन गरेको व्यहोरा विज्ञप्तीमा उल्लेख छ ।
भृकुटीमण्डपको ६० रोपनी जग्गा भाडामा लाउँदा साढे ३२ करोड घोटला, यस्तो थियो कनेक्सन
काठमाडौं । भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा ३२ करोड ५२ लाख भ्रष्ट्राचार भएको छ । समाज कल्याण परिषद र अन्य व्यक्तिको मिलेमतोमा भ्रष्ट्राचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्टी गरेको छ । आयोगले भ्रष्ट्राचारमा संलग्न रहेको भन्दै १४ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरको छ । मुद्दा दायर हुनेहरुमा बद्री प्रसाद न्यौपाने, कुञ्ज बिहारी प्रसाद चौधरी, रबिन्द्र कुमार, मोशनराज शर्मा, मदन कुमार लाल कर्ण, हरी न्यौपाने, टेक बहादुर गुरुङ, रविन्द्र गुरुङ, रत्न गाहामगर, मदन प्रसाद रिमाल, बल बहादर स्वार, प्रेम सिहँ धामी र जगदेव चौधरी रहेका छन् । आयोगले गरेको अध्ययनमा जग्गाको हालसम्म तिरिरहेको रकमलाई वृद्धि गरी मासिक ५ लाख ५५ हजार तथा समयावधिलाई बढाई १५ वर्षको लागी फनपार्क मेला संचालन गर्न ठेक्कामा दिने निर्णय गरेको देखिएको छ । उनीहरुले सरकारी ठेक्का बन्दोवस्त ऐन, २०२० को दफा ४ अनुसार नेपाल सरकारले कुनै रकम वा कुनै अन्य कामको ठेक्का बन्दोबस्त गर्न परेमा टेण्डर आमन्त्रित गरी वा बढावढ वा घटाघट गराई ठेक्कामा दिनु पर्नेमा बोलपत्र आव्हान नै नगरी ठेक्का लगाएका थिए ।
नेप्से सामान्य अंकले बढ्दा सामुदायिकका लगानीकर्ताकले कमाए ९ प्रतिशत बढी, अपरको सबैभन्दा बढी कारोबार
काठमाडौं । यस साताको शुरुदेखि निरन्तर घटेको बजार आज तेश्रो दिन भने सामान्य अंकले बढेको छ । दिनभर उतारचढाव भएको बजारमा नेप्से परिसूचक २.८३ अंकले बढेर ११४७.१० अंकमा पुगेको छ । सामान्य अंकले बढेको बजारमा सबैभन्दा बढी सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । उक्त संस्थाका लगानीकर्ताले सोमबारको तुलनामा मंगलबार ९.८८ प्रतिशत कमाएका छन् । बजारमा कुल १६३ कम्पनीको २३ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोको २ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४३ रुपैयाँ रहेको छ । जुन अघिल्लो दिनको तुलनामा ३ रुपैयाँले घटेको हो । सोमबार अपरको सेयर मूल्य प्रतिकित्ता २४६ रुपैयाँ रहेको थियो ।
नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी माघ २५ गते शुरु हुने, तयारी पूरा
काठमाडौँ । मिडिया स्पेस सोलुसन्स प्रालि नेपाल र फुटुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट प्रालि भारतको संयुक्त आयोजनामा नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ हुने भएको छ । माघ २५, २६ र २७ गते काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शनी आयोजना हुने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । प्रदर्शनीको तयारी पूरा भएको पत्रकार सम्मेलनमा बताइयो । प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ब्राण्डहरुका १५० भन्दा बढी स्टल रहने आयोजक मिडिया स्पेस सोलुशन प्रालिले जनाएको छ । निर्माण कम्पनी, डिलर, सबडिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बिन्धित उत्पादनहरु जानकारी गराउने र यो क्षेत्रमा आउने नयाँ नयाँ प्रबिधिको बारेमा बताउन प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजकले बताएका छन् । यस प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिकसहित निर्माण क्षेत्रमा काम गरिरहेका आर्किटेक्ट इञ्जिनियर, कन्ट्रयाक्टर, बिल्डर्स र इन्टेरियर डिजाइनरहरुको सहभागिता रहने बताइएको छ ।
यस्ताे छ एनसेललाई उछिन्ने टेलिकमका नयाँ हाकिमको महत्वकांक्षी योजना
काठमाडौं । नेपाल टेलिकमले १५ औं वार्षिक उत्सव मनाइरहँदा भर्खरै प्रबन्ध निर्देशक नियुक्त भएका डिल्लिराम अधिकारीले महत्वकांक्षी लक्ष्य प्रस्तुत गरेका छन् । टेलिकम सेवालाई अत्याधुनिक प्रविधिबाट अघि बढाई १ नम्बरको कम्पनी बनाउने निर्देशक अधिकारीले लक्ष्य राखेका छन् । फोरजी सेवा सञ्चालन सम्झौताबाट हौसिएका निर्देशक अधिकारीले घुमाउरो शैलीमा आफ्नो प्रमुख प्रतिस्पर्धी एनसेल नै भएको बताए । टेलिकमको पुरानो सेवा प्रणालीलाई सुधार गरी अत्याधुनिक सेवा प्रवाह गर्ने मेरो लक्ष्य हुनेछ । सेवा प्रवाहमा आधुनिक प्रविधि भित्र्याउने उद्देश्यले मैले काम अघि बढाएको छु । प्रविधिको तिब्र परिवर्तनसँगै टेलिकमको चुनौति पनि बढ्दै गएको छ । सार्वजनिक संस्थाको अवस्थामा निजी कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नु पर्ने अवस्था टेलिकमको रहेको छ–प्रबन्ध निर्देशक अधिकारीले भने । टेलिकमको मुख्य सेवा भनेको मोबाइल सेवा हो । यसको लागि फोरजी सेवा विस्तारको काम सुरु भैइसकेको छ । यसैगरी ग्राहकको रुचि फेरिन सक्ने अवस्थालाई टेलिकमको मार्केटिङले विशेष ध्यान दिने उनले बताए । १५ वर्षअघि कम्पनी सुरु हुदाँ ग्राहक संख्या ४ लाख २२ हजार रहेको थियो, तर आजको दिनसम्म आइपुग्दा टेलिकमको ग्राहक संख्या २ करोड १० लाख नागघसकेको छ । बजारको माग अनुसार सुलभ सेवा दिनु नै टेलिकमको मुख्य उद्देश्य हो । नेपालीहरुको लगानी र नेपाली माटोमै गरिएको व्यवसायिक क्रियाकलापमा सम्पूर्ण ग्राहकहरुले उल्लेख्य रुपमा सहभागिता जनाउनु पर्नेछ । आर्थिक वर्ष २०७४/७५ मा प्रतिशेयर ११६ रुपैयाँले बृद्धि भएको छ । टेलिकमको विकासमा कर्मचारीको महत्वपूर्ण भूमिका हुने भएकाले पुरस्कृत र दण्डित गर्ने प्रक्रियालाई निरन्तरता दिइने मंगलबार बार्षिकोत्सव समारोहमा उनले भने । यस्ता छन् वार्षिक उत्सवको सुविधा वार्षिक उत्सवको उपलक्ष्यमा जीएसएम पोस्टपेड ग्राहकलाई ९ सयको प्याकेजमा प्रतिमहिना २ जीवी डाटा र ५ सयको फ्रि रिसोर्स उपलब्ध गराउँदै आएकोमा प्रति महिना ३.३ जीबी र ५ सयको फ्रि रिर्सोर्स उपलब्ध गराइनेछ । माघ २३ देखि फागुन ८ सम्म रजिस्टर हुने नयाँ जीएसएम पोष्टपेड ग्राहकलाई ३ महिनासम्म अल टाइम डाटा १ जीबी र १ सय मिनेट कल टाइम फ्रि हुनेछ । टुरिष्ट प्याकेज अन्तर्गत ५ सयमा ५जीबी डाटा, ५० मिनेट भ्वाइस कल सेवा र सय रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय कल सेवा प्रदान गर्न सरिनेछ । यसैगरी, १ हजारमा १० जीबी डाटा, सय मिनेट कल, सय वटा एसएमएस सेवा प्रदान गरिनेछ । माघ २२ देखि चीनको कल सेवामा विभिन्न अफरहरु प्रदान गरिनेछ । यसैगरी, बक्यौता तिर्न बाँकी रहेका ग्राहकले चालू आर्थिक वर्षको अन्त्य सम्ममा बुझाए जरिवाना छुटको व्यवस्था गरिहेको नेपाल टेलिकमले जनाएको छ । वार्षिक उत्सव अवसरको उपलक्ष्यमा अन्तर्राष्ट्रिय रोमिङ कल सेवा सुरु गरेको छ। पोस्टपेड ग्राहकका लागि मात्रै दिइएको यस्तो सुविधा प्रिपेडमा पनि सुरु गरिएको हो । यो सेवा टेलिकमले सर्वप्रथम भारत र चीनमा उपल्बध गराउनेछ । कम्पनीले पोस्टपेड ग्राहकले यो सुविधा लिँदा लाग्ने धरौटी पनि घटाएको छ।
कृषि विकास बैंकद्धारा मकवानपुरको पालुङ्गमा वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । कृषि विकास बैंक, पालुङ्ग शाखाको आयोजना गरेको एक दिने वित्तिय कार्यक्रम सम्पन्न भएको छ । बैंककाे क्षेत्रीय कार्यालय वीरगञ्जका निर्देशक बाबुकाजी थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम बैंकको बित्त तथा लेखा विभागका विभागिय प्रमुख यज्ञप्रकाश न्यौपानेले उद्घाटन गरेका थिए । सो कार्यक्रममा थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, उपमेयर खड्ग गोपाली, विभिन्न सहकारीका अध्यक्ष, व्यवस्थापक, कलेजका शिक्षक, स्कुलका प्रधानाध्यापक, समाजसेवी, स्थानिय कलेजमा बिबिएस अध्ययनरत १५ जना विद्यार्थी तथा सर्वसाधारण गरी करीब ५० जना सहभागी थिए । उक्त अवसरमा बैंकको मुख्य कार्यालयका केन्द्रिय सुपरीवेक्षक यज्ञप्रकाश न्यौपानेले बैंकले स्थानिय स्तरमा लामो समय देखी गरेको सेवाका विषयमा जानकारी गराएका थिए । त्यसैगरी शाखा पालुङ्गका लेखपालद्धय संगीता थापा तथा निशा थापामगरले उद्यमशीलताको पूर्वाधारको रुपमा रहेको कर्जाका लागि आवश्यक पर्ने कागजात तथा प्रक्रिया, बैंकले हालै ल्याएको निशुल्क सुविधाहरु जस्तैः भिसा कार्ड, मोबाईल बैंकिंग, ईन्टरनेट बैंकिगं, सिआस्वा, डिम्याट खाता आदिका बारेमा जानकारी गराउंदै विभिन्न प्रकारका खाताका प्रकार, बैंकले तयार पारेको जिंगल प्रदर्शन, अत्याधुनिक विद्युतीय बैंकिंग सुविधाका सम्बन्धमा समेत प्रकाश पार्नुभएको थियो । कार्यक्रममा थाहा नगरपालिकाका मेयर लवशेर विष्टले बैंकले आयोजना गरेको यस प्रकारको कार्यक्रम फलदायी रहेको, बैंकसंग मिलेर भविष्यमा अन्य विकास निर्माण कार्यमा समेत हातेमालो गरी अगाडी बढ्न सकिने बताए । उक्त अवसरमा बैंकको क्षेत्रिय कार्यालय, वीरगञ्जका निर्देशक बाबुकाजी थापाले वित्तीय साक्षरताको अर्थ र आवश्यकता, नेपालको आर्थिक तथा वित्तीय प्रणाली, वचत गर्दा हुने फाईदा, आदिका बारेमा प्रशिक्षण दिएका थिए । निर्देशक थापाले सहभागीहरुबाट उठेका जिज्ञासाहरुको जवाफ दिंदै सफा नोटको महत्व, समृद्ध देश निर्माणको आधारको रुपमा रहेको विप्रेषण, घरायसी बजेट निर्माणको महत्वको आदिका बारेमा सचेतना गराउंदै कार्यक्रमको समापन भएको थियो ।
राष्ट्रिय बीमा कम्पनीको लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तरवार्ता कहिले ?
काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आवश्यक कर्मचारीका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । लिखित उत्तीर्ण गर्नेमा ५४ जना रहेका छन् । सबैभन्दा कम नबौँ तहमा पाँच जनाको नाम निस्केको छ भने सबैभन्दा बढी चौथो तहमा १६ जनाको नामा निस्केको छ। लिखितमा नाम निकाल्नेहरूको लागि प्रयोगगात्मक परीक्षा र अन्तर्वार्ताको समयपनि प्रकाशित सूचनामा तय गरिएको छ ।
उदयपुर सिमेन्टको महाप्रबन्धकमा आवेदन दिने म्याद फागुन २ सम्म, के चाहिन्छ योग्यता ?
काठमाडौँ । उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक पदका लागि आवेदन दिने म्याद फागुन २ गतेसम्म तोकिएको छ । महाप्रबन्धक नियुक्तिका लागि गठित छनौट तथा सिफारिश समितिले पदपूर्ति सम्बन्धी सूचना प्रकाशित गर्दै फागुन २ गतेसम्म उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा सिंहदरबार काठमाडौँमा शिलबन्दी आवेदन दिनु पर्ने उल्लेख गरेको छ । महाप्रबन्धकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रको व्यवस्थापकीय वा अधिकृत स्तरमा कम्तिमा ३ वर्षको कार्यानुभव हासिल गरेको हुनु पर्ने योग्यता निर्धारण गरिएको छ । साथै उमेरको हकमा ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदन दस्तुर ५ हजार लाग्ने समितिद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।