९०० मेगावाटको अरुण तेस्रो जलविद्युतकाे २४% निर्माण सम्पन्न, २०२३ भित्रै सक्ने लक्ष्य
काठमाडौं । भारतीय लगानीमा निर्माणधिन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको २४ प्रतिशत निर्माण सम्पन्न भएको छ । प्रवद्र्धक सतलजल जलविद्युत् निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुण धिमानले ऊर्जा सम्मेलनको प्रोजेक्ट सो केस सेसनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै पछिल्लो समय आयोजनाको निर्माण तीव्र गतिमा भइरहेको बताए । ‘अहिले अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ,’ उनले भने । सीईओ धिमानले सन् २०२३ भित्र निर्माण गर्ने योजना रहेको बताए ।‘अहिलेकै गतिमा निर्माण भएको खण्डमा लक्ष्य सहजै सहजै भेटाउनेछौं,’ उनले भने,‘यो आयोजना भारत र नेपाल दूबैको लागि अति महत्वपूर्ण भएकाले पनि तोकिएको समयसीमाभित्रै निर्माण सम्पन्न गर्नेछौं ।’ कार्यकारी अधिकृत धिमानले तोकिएको समयमा नै सम्पन्न गरेर अन्य आयोजनाको लागि मार्गदर्शक बन्ने योजनामा रहेको सुनाए । ‘नेपालको हालसम्मकै ठूलो आयोजना निर्माण गर्न लागेका हौं । त्यसैले व्यवस्थित ढंगले निर्माण सम्पन्न गरेर उदाहरणीय बन्न चाहेका छौं’ उनले भने । सतलजल जलविद्युत्ले सन् २०२३ सम्म पाँच हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित विभिन्न जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ । ‘हाम्रो कम्पनीले सन् २०३० सम्म १२ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित विभिन्न देशमा जलविद्युत् क्षेत्रमा लगानी गरिरहेका छौं,’ उनले भने,‘सन् २०४० सम्म २५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ ।’ आयोजना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाखमा स्विच थिचेर शिलान्यास गरेका थिए । सतलज कम्पनीमा भारतीय केन्द्रीय सरकारको ६४.४६ प्रतिशत सेयर छ । जसमा हिमाञ्चल प्रदेशको २५ .५१ प्रतिशत र बाँंकी सर्वधारणको सेयर छ । कम्पनीले नै संखुवासभामा रहेको आयोजनास्थलदेखि ढल्केबर सवस्टेसनसम्म ४ सय केभीको प्रसारणलाइन निर्माण गर्नेछ । २२५ मेगावाट क्षमताको चार वटा युनिटबाट ९ सय मेगावट बिजुली उत्पादन गरिनेछ ।
हृदयरोग विशेषज्ञ डा. कपुरले नेपालका १५० व्यक्तिलाई हृदयरोग अधिवक्ताको तालिम दिने
काठमाडौं। एकजना व्यक्ति हृदयरोगको बारेमा जानकारी भए उनले ५ अन्य व्यक्तिलाई यसबारे बताउन सक्छ। यसरी जब एकले अर्का व्यक्तिलाई हृदयरोगको बारेमा जागरुक बनाउँछ तब यसले रोग ५ देखि ६ प्रतिशतले घटाएको विभिन्न अध्यनहरुले देखाएको गुरुग्राम भारतका मेदान्त अस्पतालका उपाध्यक्ष हृदयरोग विशेषज्ञ डा. रजनिश कपुरले बताए। शुक्रबार एक समारोह बिच बोल्दै डा. रजनिश कपुरले यस्तो बताएका हुन्। यहि उदेश्यको साथ मेडिसिटि अस्पतालको संयोजकतामा डा. कपुरले १ सय ५० व्यक्तिलाई मुटुको अधिवक्ताको लागि तालिम दिने भएका छन् । डा. कपुरले भने, ‘यस अभियानका माध्यमबाट नेपालमा भएका व्यक्तिहरुले छिटो र कुनै लागत बिना नयाँ जानकारी, स्वास्थ्य सेवा राणनितिहरु र कार्यक्रमहरुमा पहुँच पाउनेछन्।’ कपुरको अनुसार नयाँ उपचार विकल्पहरुको जनचेतनाले बिरामीहरुलाई बचाउन सकिन्छ। हृदयरोग सम्बन्धी ज्ञान नहुँदा मानिसहरुले अकालमै ज्यान गुमाउने गरेका छन्। नेपालमा हुने १८ प्रतिशत मृत्यु मुटुरोगको कारण हुने गर्दछ । अस्वस्थ जिवनशैलीको कारण मानिसहरु मुटुरोगको शिकार हुने गरेका छन् । खानपानमा गुलियो, पिरो, नुनिलो कम गर्न, नियमित व्ययाम गर्न, तनाव कम गर्न, धुम्रपान मध्यपान नगर्न जस्ता जिवनशैली अप्नाएर मुटुरोगको शिकार हुनबाट जोगिन सक्छौं। विश्व स्वास्थ्य संगठनको अनुसार विश्वमा ३१ प्रतिशत मृत्युको कारण हृदयरोगको कारण हुने गरेको छ। व्यस्त जीवनशैलीमा कामको तनाव, एउटै ठाउँमा लामो समय सम्मा बस्ने व्यक्तिलाई हृदयरोग हुने सम्भावन हुन्छ। यस्ता परिवारमा कसैलाई हेदयरोग भएको अवस्थामा दोस्रो व्यक्तिलाई हृदयरोग हुने सम्भावना ५० प्रतिशत बढि हुन्छ। मुटुरोगको कुनै पनि लक्षण देखिएको अवस्थामा ईसिजी गर्नु एकदमै आवश्यक हुन्छ र पहिलो ईसिजी सामान्य आएको अवस्थामा पनि दुई पटक सम्म ईसिजी गर्न डाक्टरहरु सुझाव दिन्छन् किनभने कतिपय अवस्थामा पहिलो ईसिजीको नतिजा ठीक नआउन सक्छ।
संसदीय समितिमा पुनर्निर्माणको प्रगति, ६२ प्रतिशत निजी आवास सम्पन्न, २४ प्रतिशत बन्दै
काठमाडौं । भूकम्पबाट क्षति भएकामध्ये ६२ प्रतिशत निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ भने २४ प्रतिशत घर बन्दैछन् । संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ४ लाख ७९ हजार ५ सय ४५ घरको पुनर्निर्माण सम्पन्न भएको र १ लाख ८९ हजार १ सय ४१ घर पुनर्निर्माणका क्रममा रहेको जानकारी दिए । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बनिसकेका र बन्दै गरेकासहित निजी आवास पुनर्निर्माणमा ८६ प्रतिशत प्रगति हासिल भएको बताए । निजी आवास पुनर्निर्माणका लागि ७ लाख ७६ हजार ४ सय २७ लाभग्राहीसँग अनुदान सम्झौता भएको छ । त्यसमध्ये ९९ प्रतिशतले पहिलो किस्ता ५० हजार, ८० प्रतिशतले दोस्रो किस्ता १ लाख ५० हजार र ६७ प्रतिशतले तेस्रो किस्ता ३ लाख रुपैयाँ अनुदान प्राप्त गरिसकेका छन् । प्राधिकरणले जोखिमपूर्ण बस्तीमा रहेका ४९ सय २९ लाभग्राहीमध्ये ४ हजार २ सय ४ लाभग्राहीलाई सुरक्षित बस्तीमा व्यवस्थित गरेको बताएको छ । यस्तै ८ हजार २ सय ८६ भूमिहिन भूकम्पपीडित मध्ये ८७ सय ४४ लाई घर बनाउने व्यवस्था मिलाएको जानकारी दिएको छ । प्राधिकरणका अनुसार भूकम्पबाट क्षति भएका ७ हजार ५ सय ५३ विद्यालयमध्ये ७१ प्रतिशत सम्पन्न र २४ प्रतिशत पुनर्निर्माणको क्रममा छन् । ११ सय ९७ स्वास्थ्य संस्थामा क्षति पुगेकोमा ५८ प्रतिशत सम्पन्न र १४ प्रतिशत निर्माणाधिन छन् । भूकम्प अति प्रभावित जिल्लामा ७ सय ५३ वटा सम्पदामा क्षति पुगकोमा ५१ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको र १६ प्रतिशत पुनर्निर्माणाधिन छन् । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले रानीपोखरी, धरहरा, सिंहदरबार, काष्ठमण्ड लगायतका संरचनाको पुनर्निर्माण द्रुत गतिमा भइरहेको जानकारी दिए । प्राधिकरणले समितिले यसअघिका दिएका निर्देशन कार्यान्वयनको प्रगति पनि पेश गरेको थियो । जसमा गुनासो सुनुवाई, जोखिममा परेका वर्गका लागि थप ५० हजार उपलब्ध गराउने व्यवस्था, सुकुम्बासी तथा भूमिहिनहरूलाई घर बनाउने व्यवस्था, आर्थिक अभावका कारण पहिलो किस्ता लिएर दोस्रो किस्ता नलिएकालाई सहुलियत दरमा ऋण लिने व्यवस्था, जीविकोपार्जन सम्बन्धी कार्यक्रम लगायत छन् । समिति सभापति कल्याणी खड्काले समितिको निर्देशनअनुसार काम भएकोमा खुशी व्यक्त गर्दै एकजना भूकम्प पीडितले घर बनाउन बाँकी रहँदासम्म विशेष ध्यान दिनु पर्ने बताए । सभापति खड्काले सहुलियत ऋण प्रवाह, जीविकोपार्जन, संसदको पुरानो भवनको पुनर्निर्माण लगायतमा ध्यान दिन निर्देशन दिए । बैठकमा सांसद गणेश पहाडीले पुनर्निर्माण राम्रोसँग अघि बढेको भन्दै प्रवलीकरणमा ध्यान दिन आग्रह गरे । सांसद विना श्रेष्ठले पछिल्लो समयमा रानीपोखरी, धरहराको पुनर्निर्माणमा राम्रो प्रगति भएको भन्दै बसन्तपुर क्षेत्रमा रहेका सम्पदा पुनर्निर्माणमा अझ बढी ध्यान दिन आग्रह गरिन् ।
नेपालमा लगानी गरि आर्थिक फाईदा लिन अमेरिकी लगानीकर्ताहरुलाई आग्रह
काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले नेपालमा लगानी गरि आर्थिक फाईदा लिन अमेरिकी लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । हाल अमेरिकाको भ्रमणमा रहेका मुख्यमन्त्री गुरुङले अमेरिकाको वाशिङटन राज्यका गर्भनर जे इन्सुली संगको दुई पक्षीय भेटका क्रममा सो आग्रह गरेका हुन्। दुई पक्षिय भेटमा मुख्यमन्त्री गुरुङले भौगोलिक रुपमा नेपाल विश्वका दुई ठूला अर्थतन्त्र चीन र भारतकोबीचमा रहेकाले नेपालमा लगानी गरि प्रचूर आर्थिक फाईदा लिन आग्रह गरेका छन् । नेपालमा खास गरि पूर्वाधार निर्माण जलविधूत, कृषि, स्वच्छ ऊर्जा, पर्यटन, जडिवुटी र वनस्पति जस्ता क्षेत्रमा लगानीको प्रचूर संम्भावना रहेकाले नेपाल भ्रमण गरि ती सम्भावनाहरुलाई लगानीमा परिणत गर्न मुख्यमन्त्री गुरुङले अनुरोध गरेका छन्। प्रतिउत्तरमा वासिङटन राज्यका गर्भनर जे इन्सुलीले नेपाल भ्रमण गर्ने तीव्र ईच्छा रहेको र नेपालका हिमालहरुको संरक्षणका लागी विभिन्न फोरमहरुमा आफुले कुरा उठाउने गरेको बताए। सो अवसरमा वाशिङटन राज्यका लागि एशिया प्यासिफिक अमेरिकी मामिलाका कमिसनर मोहन गुरुङले नेपाल र अमेरिकाको वाशिङटन राज्यबीच व्यापार विस्तारको प्रशस्त सम्भावना रहेको बताएका छन्। नेपाल र अमेरिकाको वाशिङटन राज्यबीच व्यापार विस्तारका लागि सन् २०२० सम्ममा संयुक्त व्यापार संरचना निर्माण गर्ने उघ्देश्यका साथ काम भै रहेको उनले बताए।
१० प्रतिशत व्याजमा ५ कराेडसम्म कर्जा पाइने, विदेशबाट फर्केका सबैले सहुलियत कर्जा पाउने
काठमाडौं । युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन ल्याइएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि–२०७५’ संशोधन गरिएको छ । राष्ट्रिय युवा परिषद्को आग्रहमा युवालाई कर्जा पाउन कठिनाइ भएको भन्दै सरकारले कार्यविधि दोस्रो पटक संशोशन गरेको हो । परिषद्को समन्वयमा अर्थ मन्त्रालयले कार्यविधि संशोधन गरी मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले जानकारी दिए । ‘‘पहिलेको कार्यविधिअनुसार युवालाई कर्जा पाउनका लागि कठिनाइ भएको थियो ।’’, उनले, ‘‘संशोधित कार्यविधिअनुसार अब युवाले बैंकबाट कर्जा पाउन सरलीकृत गराइएको छ ।’’ संशोधन गरिएको कार्यविधिमा अब नौ प्रकारका सहुलियतपूर्ण कर्जा प्रवाह गरिने भएको परिषद्का सूचना अधिकारी ध्रुवराज पौडेलले जानकारी दिए । यसअघि सात प्रकारका कर्जा रहेका थिए । उहाँका अनुसार थप गरिएको दुई कर्जामा कपडा उद्योग सञ्चालन र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी)बाट तालीम लिनका लागि भनिएको छ । कपडा उद्योगले पाउने कर्जा रु पाँच करोडसम्म र सिटीइभिटीबाट लिइने तालीमका लागि कर्जा रु दुई लाखसम्म पाउने व्यवस्था थप गरिएको छ । कपडा उद्योगले लिएको कर्जा अन्य क्षेत्रमा लगानी गरे वा तोकिएको समयमा फिर्ता नगरेमा सरकारी बाँकी सरह असुल उपर गरिने र थप १५ प्रतिशत ब्याजसमेत असुल गरिने प्रावधान राखिएको छ । युवालाई स्वदेशमा नै स्वरोजगार बनाउनका लागि सरकारले २०७५ कात्तिक २० गतेदेखि व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च तथा प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र भूकम्पपीडितको निजी आवास निर्माण कर्जा दिइँदै आएको थियो । संशोधित कार्यविधिमा अब रु १० लाखसम्मको कर्जा लिँदा सामूहिक जमानीको सट्टामा एकाघरको व्यक्ति जमानीमा पनि पाउने व्यवस्था गरिएको छ । नौ प्रकारका कर्जामा पाँच लाखदेखि पाँच करोडसम्म विनाधितो सातदेखि १० प्रतिशत ब्याजदरमा युवाले पाउनेछन् । यसैगरी वैदेशिक रोजगारीबाट फर्केका युवाले कर्जा यसअघि व्यक्तिगत रुपमा मात्र रु १० लाखका दरले पाउने व्यवस्था भएकोमा हाल सामूहिक रुपमा समेत पाउने प्रावधान राखिएको छ । सूचना अधिकारी पौडेलका अनुसार शिक्षित युवा स्वरोजगार कर्जाका लागि सम्बन्धित विषयमा स्नातक गरेको युवालाई तालीम आवश्यक नपर्ने व्यवस्था गरिएको छ । यस्तै विद्यार्थीले शैक्षिक प्रमाणपत्रका आधारमा कर्जा लिँदा सक्कल प्रमाणपत्रको सट्टामा प्रमाणित प्रतिलिपि राख्नुपर्ने व्यवस्था गरिएको छ । विदेशबाट फर्केका युवालाई उनीहरुको ज्ञान अनुभव र रुचीका आधारमा कर्जा प्रवाह गर्ने सरल विधि बनाइएको उपसचिवसमेत रहनुभएका पौडेलले जानकारी दिए । विदेशबाट फर्केको जोसुकैले पनि पाउने यसैगरी वैदेशिक रोजगारबाट फर्किएका युवालाई तीन वर्ष नबितेको हुनुपर्ने व्यवस्था खारेज गरी वर्ष नतोकी विदेशबाट फर्केका जुनुसुकै युवाले कर्जा पाउने उल्लेख गरिएको छ । यसैगरी विदेशबाट फर्केका सबै युवाले कर्जा सुविधा पाउन कुनै तोकिएको तालीम वा पेशा व्यवसाय वा कुनै क्षेत्रमा काम गरेको हुनुपर्ने व्यवस्था खारेज गरी सरलीकृत बनाइएको छ । विदेशबाट फर्केको प्रमाणको आधारमा उनीहरुको रुची र अनुभवका आधारमा कर्जा उपलब्ध गराउने परिषद्का उपसचिव पौडेलले जानकारी दिए । ऋणीले तिर्नुपर्ने शुल्कको व्याख्या गर्दै कर्जा सूचना शुल्क र ऋणीले बेहोर्नुपर्ने बीमा प्रिमियम र कर्जा सुरक्षण शु्ल्क भनी परिभाषित गरिएको यीभन्दा अन्य कुनै पनि शुल्क तिर्नुनपर्ने व्यवस्था गरिएको छ । संशोधन गरिएको कार्यविधिमा नेपाल राष्ट्र बैंकले प्रत्येक वित्तीय संस्थालाई तोकिएको क्षेत्र वा स्कीममा निश्चित सङ्ख्यामा लगानी गर्नैपर्ने बाध्यात्मक व्यवस्था लागू गर्न सक्ने र सोको प्रभावकारी अनुगमन गर्ने व्यवस्था गरिएको छ । दश प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाइने बैंकको प्रचलित दरमा दुई प्रतिशत बढाउन पाउने व्यवस्था भए पनि अब १० प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने गरी संशोधन गरिएको परिषद्का सूचना अधिकारी पौडेलले जानकारी दिए । अहिलेसम्म सहुलियतपूर्ण कर्जा करीब १८ हजार ९०० युवामा प्रदान गरिएको छ । रासस –––
पर्यटककाे सङ्ख्या बढेसँगै राजश्वमा वृद्धि
धम्बोझी । बर्दिया राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेसँगै उनीहरुबाट प्राप्त हुने राजस्वमा पनि वृद्धि भएको छ । निकुञ्जको तथ्याङ्कअनुसार आव २०७०÷७१ मा १३ हजार २०७, आव २०७१÷७२ मा १३ हजार ५४८, आव २०७२÷७३ मा १० हजार ६४१, आव २०७३÷७४ मा १८ हजार नौ, आव २०७४÷७५ मा २० हजार ८४, आव २०७५÷७६ मा २४ हजार ५५८, २०७६÷७७ मा छ हजार ७३५ गरी एक लाख छ हजार ७३५ विदेशी पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । आव २०७५÷७६ मा रु तीन करोड ७६ लाख ६० हजार ३४५ राजश्व सङ्कलन भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । यस आवमा २०७६÷७७ मा रु ७६ लाख ९६ हजार ६८ राजश्व सङ्कलन भएको छ । चार वर्षको अवधिमा बर्दिया राष्ट्रिय निकुञ्जमा ४४ हजार १६६ विदेशी पर्यटक आएका छन् । निकुञ्जमा चार वर्षको अवधिमा ४४ हजार १६६ विदेशी पर्यटकले पाटेबाघ, एकसिङ्गे गैँडा एशियाका ठूलो राजागज हात्ती हेर्न पर्यटक आएको निकुञ्ज संरक्षण प्रमुख बरालले बताएका छन् । निकुञ्ज आउने आन्तरिक पर्यटकको सङ्ख्या धेरै रहेको बरालको बताए । करिब ९६८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जको प्रमुख कार्यालय ठाकुरद्वारामा छ । सन् १९६८ मा शाही शिकार आरक्षका रूपमा स्थापित निकुञ्जलाई सन् १९८२ मा शाही बर्दिया वन्यजन्तु आरक्ष नामाङ्कन गरिएको थियो । सन् १९८४ मा बबई नदी आसपासको क्षेत्रलाई पनि यसमा समेटिएको थियो । सन् १९८८ मा बर्दिया राष्ट्रिय निकुञ्जका रूपमा यो क्षेत्र घोषणा भएको हो । पाटेबाघ, गैँडा, घडियाल गोही, डल्फिन, जरायो, कृष्णसारजस्ता लोपोन्मुख वन्यजन्तु पनि यस निकुञ्जमा संरक्षित छन् । विश्वको दुर्लभ वन्यजन्तु कृष्णसार हेर्न आउनेको यहाँ लर्को लाग्ने गर्दछ । बर्दिया राष्ट्रिय निकुञ्जलाई लक्षित गरी होटल क्षेत्रमा लगानी गर्ने क्रम पनि दिनानुदिन बढिरहेको बर्दिया राष्ट्रिय निकुञ्जका रेञ्जर पुष्प श्रेष्ठले जानकारी दिए । प्रमुख पर्यटकीय गन्तव्यका रूपमा पर्यटक भित्र्याउन निकुञ्जमा अझै धेरै काम गर्न बाँकी रहेको जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शङ्करप्रसाद थारू बताउँछन् । प्रदेश नं ५ लाई प्रमुख पर्यटकीय मार्ग बनाउन धेरै पर्यटक भित्र्याउन हवाईभाडा कम गर्न राज्य लाग्नुपर्ने प्रदेश नं ५ का प्रदेशसभा सदस्य तिलक शर्माको माग छ । रासस
सागको ओलम्पिक टर्च र्याली आजबाट शुरू, सातै प्रदेशमा हुने
काठमाडौं । १३औं दक्षिण एशियाली खेलकूद (साग) को ओलम्पिक टर्च र्याली स्वयम्भूबाट शुरु भएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आज स्वयम्भूमा ओलम्पिक टर्च प्रज्वलन गरी ओलम्पियन समूहलाई हस्तान्तरण गरेका हुन् । सागको महत्वबारे देश भरी फैल्याउने उद्देश्यले टर्च र्यालीलाई सातै प्रदेशको मुख्य शहरमा पुर्याउने कार्यक्रम रहेको छ । ओलम्पिक टर्च काठमाडौँबाट आजै प्रदेश नं १ को राजधानी विराटनगरमा पुर्याइने कार्यक्रम रहेको छ । त्यसैगरी दोस्रो दिन प्रदेश नं २ को जनकपुर, तेस्रो दिन प्रदेश नं ३ को हेटौँडा र चितवन, चौथो दिन प्रदेश नं ५ को लुम्बिनी र बुटवल, पाँचौँ दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं ५ को नेपालगञ्ज, छैटौँ दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौँ दिन गण्डकी प्रदेशको पोखरा लगिने कार्यक्रम छ । आठौँ दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइने छ । सोही दिन पोखराबाट टर्चलाई काठमाडौँ ल्याइने छ । नवौँ दिन काठमाडौँको विभिन्न स्थान परिक्रमा गराइ त्यसै दिन साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दीप प्रज्वलन गरिने कार्यक्रम छ । र्यालीमा ओलम्पियनहरु तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका बैकुण्ठ मान्नधर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा, एथलेटिक्सका जितबहादुर केसी र एथलेटिक्सका ज्ञानबहादुर बोहरा, सुटिङका टीकाराम श्रेष्ठ, एथलेटिक्सका राजकुमारी पाण्डे, कान्छीमाया कोजु र मुकुन्दहरि श्रेष्ठ तथा खेलाडी सङ्घका अध्यक्ष एवं करातेका दीपक श्रेष्ठ सहभागी छन् । साग यही मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ, पोखरा र जनकपुरमा हुँदैछ । रासस
रसुवाको स्याफ्रुबेसीमा एनआईसी एशिया बैंक, शाखा संख्या ३१० पुग्यो
काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन स्याफ्रुबेसी गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले गरेका हुन् । स्याफ्रुबेसी शाखा सञ्चालनमा आएसँगै उक्त क्षेत्रका ग्राहकहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ । हाल बैंकले ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिँदै आएको छ ।