विकासन्युज

मार्जिन कारोबारको ढोका खुल्दा ब्रोकर र लगानीकर्तामा उत्साह

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको ढोका खोलिदिएपछि ब्रोकर र लगानीकर्ता उत्साहित भएका छन् । स्टक ब्रोकर एसोसियसनका अध्यक्ष भरत रानाभाटले मार्जिन कारोबारले सेयर बजारमा सकारात्मक सन्देश दिने बताए । ‘हामीले लामो समयदेखि मार्जिन कारोबार मागिरहेका थियौं, अब कार्यान्वयनको चरण आरम्भ भएको छ, यसले बजारमा सकारात्मक प्रभाव पार्छ’, रानाभाटले भने । सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले पनि मार्जिन कारोबारले बजारमा राम्रो प्रभाव पर्ने धारणा राखे । ‘यो सेयर बजारका लागि सुखद सन्देश हो, अब बजारमा राम्रो प्रभाव पर्छ’, फुल्लेले भने । नेपाल इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालले पनि मार्जिन कारोबार सम्बन्धी व्यवस्था कार्यान्वयनले सेयर बजारमा उत्साह थपिने बताए । यद्यपी, नेपाल राष्ट्र बैंकले बैंकहरुलाई मार्जिन कारोबारका लागि बाटो खुलाउनै बाँकी रहेको उनले बताए । ‘मार्जिन कारोबार कार्यान्वयनमा आउँदा बजारलाई राम्रो गर्छ, अब केन्द्रिय बैंकले चाँडै बैंकलाई अनुमति दिनु पर्छ’, फोरमका महासचिव लम्सालले भने । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रवक्ता मराहरी पराजुलीले मार्जिन कारोबार सम्बन्धी व्यवस्था कार्यान्वयनका लागि नेप्से तयारी अवस्थामा बसेको बताए ।‘कार्यबिधी अनुसारको तयारी नेप्सेले गरेको छ, बोर्डको पत्रको पत्र आएपछि कार्यान्वयनमा जान्छौं ।’, नेप्सेका प्रवक्ता पराजुलीले भने । तारा प्रसाद फुल्लेल, उपाध्यक्ष, सेयर लगानीकर्ता संघ ढिलै भए पनि मार्जिन कारोबार सम्बन्धी धितोपत्र बोर्डको निर्देशन राम्रो आयो । बजारलाई ब्याजदर छोड्ने कुरा पनि ठिक छ । यो मार्जिन कारोबारको सुरुआती चरण हो । यसलाई समयसँगै विकास गर्दै जानुपर्छ । समझदारीमा ब्याजदर तोक्ने कुराले ब्रोकरको मनोमानी भयो भने धितोपत्र बोर्डले हस्तक्षेप गर्ने भनेको छ । समयसँगै यसका प्रावधानहरुलाई परिमार्जन गर्दै जान सकिन्छ ।। मार्जिन कारोबारबाट बजारमा राम्रै प्रभाव पर्छ । पाँच करोड चुक्ता पुँजी भएका ब्रोकरले त्यसको दुई गुणासम्म मार्जिन कारोबार गर्न पाउने भन्ने व्यवस्था छ । ब्रोकरहरुको क्षमता बढाउँदै यसको दायरा पनि बढाउँदै लैजानुपर्छ । राजन लम्साल, महासचिव, नेपाल इन्भेष्टर्स फोरम मार्जिन कारोबार भनेको बजारका लागि नयाँ अवसर हो । यसले लगानीकर्ताको मनोवल बढाउँछ । तर बजारमा तरलताको चरम अभाव भैरहने अवस्था छ । बैंकहरुले ब्रोकरलाई कति पैसा दिन सक्छन भन्ने ठेगान छैन् । फेरी ब्रोकरहरुले पनि केहि मार्जिन त राख्नै पर्छ । बजारमा पर्याप्त तरलता भयो भने चाँही यसले राम्रै काम गर्छ । तै पनि मार्जिन कारोबारले सेयर बजारका लगानीकर्ताको मनोबल बढाउन भने राम्रै भूमिका खेल्छ । भरत रानाभाट, अध्यक्ष, स्टक ब्रोकर एसोसियसन अफ नेपाल मार्जिन कारोबार त हामीले धेरै समय पहिलेदेखि मागिरहेको कुरा हो । धितोपत्र बोर्डले बाटो खोलिदिएको छ । नेपाल राष्ट्र बैंक त पहिले देखि नै सकारात्मक नै थियो । बजारले ब्याजदर तोक्ने कुरा झनै राम्रो हो । यसले बजारलाई समयको आवश्यकता अनुसार विकास गर्दै लैजान सहयोग गर्नेछ । मार्जिन कारोबार कार्यान्वयनमा आएको दिन देखि बजारमा राम्रो सन्देश जान्छ । बजारमा लगानीका लागि थप पुँजी उपलब्ध हुन्छ ।

विश्वभर १ करोड पुगे पल्सर मोटरसाइकलका प्रयोगकर्ता

काठमाडौं । विश्वभर पल्सर प्रयोगकर्ताको संख्या १० मिलियन (१ करोड) पुगेका छन् । सन् २००१ मा भारतीय बजारबाट प्रवेश गरेको पल्सर हाल सबैको लोकप्रिय साधन बनेको छ । सन् २०१८ पल्सरका लागि निकै उत्कृष्ट वर्ष रह्यो किनभने यसले पावरफुल र आधुनिक पल्सर एनएस १६० टिडी र पल्सर १५० टिडी बजारमा ल्याएको थियो । नेपालको जनसंख्यामा आधाभन्दा बढि हिस्सा ओगटेका यूवाहरु पल्सर प्रति आकर्षित भएका छन् । भौगोलिक हिसाबले हिमाल, पहाड र तराईमा विभाजन भएको कारण पनि २ पाङग्रे सवारी साधनको सम्भाव्यता बढि रहेको नेपालमा यूवाहरुले पल्सरलाई रुचाए । आधुनिक डिजाइन र उच्च प्रदर्शन, एचएचबजाज मार्फत सहज पहुँचले गर्दा ८८3s (सेल्स, सर्भिस र स्पेयर) डिलर र २ सय ५०भन्दा बढि सेवा सहितका स्पेयर सेन्टरले गर्दा पल्सरले अन्य बाइक भन्दा बढि लोकप्रियता कमायो । यो पल्सरका लागि नेपाल र भारतमा सफलता र नेतृत्वको अविश्वासनीय यात्रा समेत रहन पुगेको थियो । अहिले नेपालमा मात्र नभएर संसारमा ३० भन्दा बढि देशका ग्राहकहरुको पल्सरप्रतिको लगावकै कारण यसले १० मिलियन सेल्स रेकर्ड बनाउने पहिलो ग्लोबल ब्राण्ड बन्न पुगेको छ ।

मूल्य निर्धारण गर्दैनौँ, तर सीमा तोक्दैछौँः महानिर्देशक गौचन

काठमाडौँ । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागका महानिर्देशक योगेन्द्र गौचनले मूल्य निर्धारण गर्ने काम आफूहरुको नभएको बताएका छन् । कन्जुमर आई नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा महानिर्देशक गौचन भने–हामीले बजारमा भएका मिसावट र मूल्यका विषयमा मात्रै अनुगमन गर्ने हो, मूल्य तोक्ने हाम्रो काम होइन । मूल्य निजी क्षेत्रले नै निर्धारण गर्छ, मूल्य निर्धारण गर्न केही सीमाहरु बनाइरहेको उनले बताए । उनले भने–अब निजी क्षेत्रले त्यही सिमामा रहेर मूल्य निर्धारण गर्नु पर्छ । रेष्टुरेन्ट तथा बारहरुले लिंदै आएको अतिरिक्त १० प्रतिशत सेवा शुल्क हटाउने निर्णयको स्वागत कार्यक्रममा कन्जुमर आई नेपालकी अध्यक्ष बिमला खनालले भनिन्–‘होटल रेष्टुरेन्टबाट बस्तु तथा सेवा उपभोग गरे वापत लाग्ने १० प्रतिशत सेवा शूल्क हटाउने निर्णय स्वागत योग्य छ ।’ छलफल कार्यक्रममा युवासंघ नेपालका अध्यक्ष रमेश पौडेलले श्रमिक र होटल मालिकबीच भएको समस्या समाधानका लागि युवा संघले सहकार्य गर्ने बताए ।

कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्धिका आधार-अध्यक्ष ढकाल

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्धिका आधार भएको बताएका छन् । रोल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रोे रोल्पा महोत्सवलाई शुक्रवार सुलिचौरमा सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त कुरा व्यक्त गरेका हुन् । सङघीय संसद प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको प्रमुख आगमनमा सम्पन्न उक्त कार्यक्रममा उर्जामन्त्री वर्षमान पुन, स्थानीय जनप्रतिनिधिहरु लगायत राजनितिक दलका प्रतिनिधि तथा स्थानीय उद्योगी व्यवसायीहरुले सम्बोधन गरेका थिए । ढकालले रोल्पाको भु–भागमा पाइने बहुमुल्य जडिबुटीको उचित बजारीकरण गर्न सकेमा समग्र रोल्पा र आसपासका क्षेत्रको स्थानीय आर्थिक गतिविधिलाई बढाउन सकिने बताए । जलविद्युत उत्पादन गरि रोल्पाको आर्थिक विकासमा टेवा पुर्याउन सकिने उल्लेख गरेका छन् । रोल्पाली जनताको मुख्य आयस्रोत रेमिटेन्स भएकाले गाउँगाउँमा आइएमईको सेवा पुर्याउने बताए । त्यस्तै लिवाङ्ग र सुलिचौरमा सम्पुर्ण बैकिङ सेवा सहितका शाखा र घर्तिगाउँमा एक्स्टेन्सन काउण्टर सहित ग्लोबल आईएमई बैंकले सेवा प्रदान गर्दै आएको छ भने छिट्टै होलेरीमा एक्सटेन्सन काउण्टर थवाङ्ग,सिर्प,तेवाङ्ग र इरिबाङ्ग लगायतका क्षेत्रमा शाखारहित बैकिङ्ग सेवा शीघ्र पुर्याउने उद्देश्य सहित काम अगाडी बढेको जानकारी गराउन गराउँदै यसबाट समग्र रोल्पाको बित्तीय र रेमिटेन्स सेवा पुर्ती गर्न आइएमई ग्रुप सफल रहेको विश्वास गरेका थिए । आईएमई ग्रुपको मुख्य प्रायोजनमा शरु भएको महोत्सवको उद्घाटन सत्रमा आइएमई ग्रुपका जनसम्पर्क ब्यवस्थापन प्रमुख राजु पौडेलको समेत उपस्थिति रहेको थियो । सन् २००१ मा स्थापना भएको आइएमई ग्र्रुपले रेमिटेन्स, बैंकिङ्ग, सूचना–प्रविधि, उर्जा, पर्यटन, अटोमोटिभ, इन्सोरेन्स, ट्राभल, इन्फोटेन्टमेन्ट, हस्पिट्यालीटी लगायतका विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्दै आइरहेको छ ।

भटमास खरिद गर्न चीन तयार भएपछि ट्रम्पले भने-व्यापार वार्तामा प्रगति भो

वासिङ्टन । संयुक्तराज्य अमेरिका र चीनबीच वासिङ्टनमा जारी व्यापार वार्तामा उल्लेखनीय प्रगति भएको दुबै देशका प्रतिनिधिहरुले बताएका छन् । चीन र अमेरिकाबीचको “व्यापार युद्ध” नाम दिइएको अमेरिकी करवृद्धि योजनाले विश्व अर्थतन्त्रमै पार्न सक्ने गम्भीर प्रभावलाई ध्यान दिई हाल दुबै मुलुकबीच वार्ता भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी चिनफिङबीच जी–२० बैठकको अवसरमा अर्जेन्टिनाको ब्युनस आयर्समा भएको भेटवार्तामा दुबै मुलुकबीच तीन महिने व्यापार युद्धविराम घोषणा गरिएको थियो । आगामी मार्च १ तारिखभित्रै वार्ताद्वारा नयाँ सहमति नभए अमेरिकाले २०० अर्ब डलर बराबरका चिनीया सामानमा हाल लाग्दै आएको १० प्रतिशत करलाई वृद्धि गरी २५ प्रतिशतसम्म बनाउने घोषणा गरेको छ । दुबै देशका व्यापार प्रतिनिधिबीच वासिङट्न डिसीमा जारी वार्तामा उल्लेखनीय प्रगति भएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले चिनीया राष्ट्रपति सी चिनफिङले लेखेको पत्र निकै स्वागतयोग्य रहेको पनि बताए । चीनको सरकारी सञ्चार माध्यम सिन्ह्वाले पनि दुबै देशका व्यापार प्रतिनिधिबीच दुई दिनको वार्तामा “महत्वपूर्ण प्रगति” भएको जनाएको छ । व्यापार वार्ताका लागि चीनका उपप्रधानमन्त्रीको नेतृत्वमा एक प्रतिनिधिमण्डल वासिङ्टन आएको छ । अर्थशास्त्रीहरुको भनाइमा आगामी मार्च १ तारिखको समयसीमाभित्र दुबै मुलुकबीच सम्झौता नभए त्यसले विश्व अर्थतन्त्रमा ठूलै नोक्सानी गर्नेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति ट्रम्पलाई लेखेको पत्र चिनियाँ प्रमण्डलले पढेर सुनाएको थियो । पत्रमा चिनीया राष्ट्रपतिले दुबै मुलुकबीचको सम्बन्ध अहिले “गम्भीर मोडमा” आएको चर्चा गर्दै परस्पर सम्मानका आधारमा दुबै मुलुकले मिलेर कार्य गरिने उल्लेख छ । जवाफमा राष्ट्रपति ट्रम्पले दुबै मुलुकबीचको सम्बन्ध ज्यादै राम्रो रहेको बताए । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजर र अर्थमन्त्री स्टीभन मन्चिनले आगामी फेब्रुअरीको मध्यमा अर्को चरणको वार्ताका लागि चीनको भ्रमण गर्नेछन् । सिन्ह्वाका अनुसार, राष्ट्रपति ट्रम्पले व्यापार वार्ता सम्पन्न भएपछि चिनीया राष्ट्रपतिलाई भेट्ने बताएका छन् । त्यसपछि दुबै मुलुकबीच व्यापार सम्झौता हुनेछ । “सहमतिका बुँदाहरुलाई लिपिबद्ध गर्नु आवश्यक छ । हामीले अझै केही बुँदामा सहमति जनाइसकेका छैनौं । मेरो विचारमा त्यसमा सहमति हुनेछ । मेरो विचारमा म र राष्ट्रपति सीबीच भेटघाट हुनासाथ सबै बुँदामा सहमति हुनेछ,” राष्ट्रपति ट्रम्पले बताए । चीनको अर्थतन्त्रमा निकै मन्दी आइसकेको र बजार खुम्चिएका कारण पनि वार्ताको महत्व अझ बढेको छ । गत वर्ष, वासिङ्टन र बेइजिङले एकअर्का मुलुकका ३६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका थिए । चिनीया गलत व्यापार अभ्यासलाई लिएर राष्ट्रपति ट्रम्पले चीन विरुद्ध व्यापार युद्ध नै शुरु गरेका थिए । व्यापार वार्ताको समयावधि बढाउने सम्भावनका बारेमा सोधिएको एक प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, “मार्च १ तारिखको समयसीमा बढाउने बारेमा हामीले कुरा गरेका छैनौं । मेरो विचारमा तोकिएकै समयभित्र दुई देशबीच सम्झौता हुन्छ ।” यसैबीच, चिनियाँ वार्ता टोलीको नेतृत्व गरिरहनुभएका चिनीया उपप्रधानमन्त्री लिउ हेले राष्ट्रपति ट्रम्पसँग बिहीबार भेटवार्ता गरेका छन् । उनले प्रति दिन थप पचास लाख टन भटमास (सोयाबिन) खरिद गर्न चीन तयार रहेको राष्ट्रपति ट्रम्पलाई जानकारी गराएका थिए । जवाफमा राष्ट्रपति ट्रम्पले चीनको यस कदमले अमेरिकी किसान खुशी हुने बताए । बेइजिङले यसअघि नै अमेरिकी सोयाबिन खरिद गर्न थालिसकेको छ । अमेरिकाबाट ठूलो परिमाणमा सोयाबिन चीन निकासी हुने गरेको छ । रासस/एएफपी

सुरु भयो मार्जिन कारोबार, ब्रोकर र लगानीकर्ताले ब्याजदर तोक्न सक्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको बाटो खुला गरिदिएको छ । बोर्डले शुक्रबार परिपत्र जारी गर्दै मार्जिन कारोबारको बाटो खोलिदिएको हो । अब ब्रोकर कम्पनी र लगानीकर्ताबीचको सहमतिका आधारमा ब्याजदर तय गरेर मार्जिन कारोबार गर्न सकिनेछ । त्यस्तो मार्जिन कारोबारको ब्याजदरबारे बोर्ड र नेप्सेलाई जानकारी भने गराउनुपर्नेछ । बोर्डले नेप्सेलाई मार्जिन कारोबारबारे पर्याप्त प्रचार प्रसार गर्न पनि निर्देशन दिएको छ । साथै त्यस्तो कारोबारको सक्ष्म निगरानी गर्न पनि बोर्डले नेप्सेलाई निर्देशन दिएको छ । मार्जिन कारोबारको ब्याजदरमा अनावश्यक उताचढाव आएमा धितोपत्र बोर्डले आवश्यक हस्तक्षेप गर्न सक्ने व्यवस्था पनि बोर्डले गरेको छ । बोर्डले मार्जिन कारोबार सम्बन्धी आफ्नो निर्णयबारे नेपाल राष्ट्र बैंकलाई जानकारी समेत पठाएको छ । राष्ट्र बैंकको स्वीकृतिपछि मार्जिन कारोबार आरम्भ हुने धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले विकासन्युजलाई जानकारी दिए । ‘हामीले मार्जिन कारोबारको काम सम्पन्न गरेका छौं, राष्ट्र बैंकले स्वीकृति दिने वित्तिकै मार्जिन कारोबार आरम्भ हुन्छ’, बोर्डका प्रवक्ता गिरीले भने । उनले मार्जिन कारोबार आरम्भ भएपछि त्यसको नियमन र दिगोपनको चुनौती भने रहेको बताए । धितोपत्र बोर्डले २०७४ कात्तिक २० गते मार्जिन कारोवार सुविधा सम्वन्धी निर्देशन, २०७४ जारी गरेको थियो भने नेपाल स्टक एक्सचेञ्जले २०७५ बैशाख १०९ गते “मार्जिन कारोवार सुविधा सम्बन्धी कार्यविधि, २०७५” ल्याएको थियो ।

जापानको निवृत्तिभरण कोषमा १३५ अर्ब डलर नोक्सानी

टोकियो । जापानको सार्वजनिक निवृत्तिकरण कोषमा पहिलो चौमासिक अवधिमै १३५ अर्ब डलर नोक्सानी भएको छ । विश्वमै सबैभन्दा ठूलो कोष मानिएको जापानको निवृत्तिभरण कोष विश्वव्यापी रुपमा शेयर बजारमा आएको मन्दीसँगै यतिठूलो नोक्सान भएको हो । सरकारी निवृत्तिभरण लगानी कोषले गत वर्ष सन् २०१८ को अक्टोबरदेखि डिसेम्बरको चार महिनाको अवधिमा करिब ९ दशमलब १ प्रतिशत नोक्सानी भएको जनाएको छ । गत वर्ष सन् २०१८ को अन्तिम चौमासिकमा विश्व शेयर बजार केही खस्किएको थियो । खासगरी, एक महिनाभन्दा बढी समय अमेरिकी सङ्घीय कार्यालयहरु आंशिक बन्द भएका र अमेरिका–चीन व्यापार युद्धले विश्वव्यापी तनाब सिर्जना गरेका कारण शेयर बजारमा अनिश्चय छाएको थियो । “अक्टोबरदेखि डिसेम्बरको चौमासिक अवधिमा अनिश्चित बनेको विश्व आर्थिक तथा कर्पोरेट परिदृश्यका कारण घरेलु र अन्तर्राष्ट्रिय शेयर बजार निकै ओरालो लाग्यो,” कोषका अध्यक्ष नोरिहिरो ताकाहासीले एक विज्ञप्ति प्रकाशन गरी बताए । यद्यपी, उनले कोषमा दिर्घकालीन लगानीकर्ताहरु रहेका र उनीहरुले वर्षमा औसतमा २ दशमलब ७३ प्रतिशत नाफा कमाउन सफल रहेको बताए । जापानी निवृत्तिभरण कोषमा १५० ट्रिलियन येनभन्दा बढी रकम रहेको छ । रासस/एएफपी

गरिमा विकास बैंक र फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्सबीच रेमिट सम्झौता

काठमाडौं । गरिमा विकास बैंक र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाबीच गरिमा रेमिट सेवा सञ्चालन सम्बन्धि सम्झौता भएको छ । गरिमा विकास बैंक लिमिटेडको तर्फबाट विकास बैंकका धरान क्लष्टर प्रमुख मीनप्रसाद सुवेदी र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात हाल देशभर सञ्चालनमा रहेका फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाका ११९ वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ ।