विकासन्युज

कर्णाली प्रदेशले ल्यायाे नयाँ नीति,  अब आयोजनास्थलमै  क्रसर उद्योग सञ्चालन गर्न सकिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले आयोजनास्थलमै अस्थायी प्रकृतिका क्रसर उद्योग स्थापना तथा सञ्चालन गर्न सकिने गरी नयाँ नीति ल्याएको छ । पुरानो कार्यविधिलाई संशोधन गर्दै सरकारले राष्ट्रिय र प्रदेश गौरवका आयोजनाका लागि आवश्यकताअनुसार आयोजनास्थलमै अस्थायी प्रकृतिका क्रसर उद्योग सञ्चालन गर्ने नीति ल्याएको हो । सरकारले ‘ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, क्रसिङ, बिक्री, वितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि, २०७५’ लाई संशोधन गरेको छ । संशोधित कार्यविधिमा प्रदेशमा सञ्चालन भएका रु १० करोडभन्दा बढी लागतका राष्ट्रिय प्राथमिकता प्राप्त र प्रदेश महत्वका विकास आयोजना सञ्चालन अवधिसम्मका लागि स्थानीय कच्चा पदार्थ प्रशोधन गर्ने प्रयोजनका लागि अस्थायी क्रसर उद्योग सञ्चालन गर्न दिने उल्लेख छ । प्रदेश सरकारले पुरानो कार्यविधिअनुसार व्यवसायीले निर्माण सामग्रीको अभावका कारण विकास आयोजनालाई कार्यान्वयन गर्न समस्या भएको गुनासो गरेपछि कार्यविधि संशोधन गर्नु परेको बताएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानून अधिकृत खगेन्द्र खत्रीले आयोजनास्थलमा कामको प्रकृतिअनुसार सम्बन्धित स्थानीय तहबाट अनुमति लिएर निश्चित समयका लागि क्रसर उद्योग सञ्चालन गर्ने व्यवस्था गरेको जानकारी दिएका छन् । “सम्बन्धित जिल्ला डिभिजन वन कार्यालयका प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन तथा समन्वय समिति रहने प्रावधान थप गरिएको छ, यही समितिको सिफारिसका आधारमा स्थानीय तहले अस्थायी अनुमति प्रदान गर्न सक्नेछन्,” उनले भने । रासस

इ-स्टीकर पछि वैदेशिक रोजगार विभाागले इ-टोकन र मेसेजिङ्ग सेवा शुरु गर्दै

काठमाडौं । इ-स्टीकर पछि वैदेशिक रोजगार विभाागले यही मिति २०७६ मङ्गिसर १५ गतेदेखि इ-टोकन र मेसेजिङ्ग सेवा शुरु गर्ने भएको छ । इ टोकन अर्थात विद्युतीय पालो प्रणालीले श्रम स्वीकृतिका लागि अनलाईन फाराम पेश गरेपछि श्रम स्वीकृति पाउने पालो कुन दिन पर्छ भन्ने कुरा थाहा हुने भएकाले विभागले यो नियम लागु गरेको हो । कार्यालयबाट श्रम स्वीकृति लिने हो त्यो रोज्न पाउनु हुनेछ। जुन कार्यालयमा छिटै पालो आउँछ त्यो कार्यालय समेत रोज्न सक्नुहुनेछ। जसले गर्दा तपाइँको फाराम स्वीकृत हुने वित्तिकै तपाइँले कार्यालयमा पर्खिरहनु पर्ने छैन। मोबाइलमा एसएमएस जाने (मेसेजिङ्ग) फाराम बुझाइसकेपछि यदि कुनै कारणवश श्रम स्वीकृति अस्वीकृत हुने भएमा वा थप कागजात पेश गर्नु परेमा मोबाइलमा मेसेज प्राप्त हुनेछ। फाराम भर्दा पेश गरेको इमेलमा श्रम स्टीकर श्रमिकको श्रम स्वीकृतिको जानकारी पनि मोबाइलमा मेसेज आउनेछ।  त्यसैले फाराम भर्दा आफ्नो मोबाइल नम्बर सही भरियो कि भरिएन भनेर तीनपटक रुजू गरेपछि मात्र अनलाइन फाराम सब्मिट गर्न विभागले श्रमिकलाई निर्देशन दिएकाे छ । विद्युतीय भुक्तानीको लागि लामो समयदेखिको प्राविधिक तयारी पश्चात सेवा प्रदायकसँग सम्झौताको चरणमा पुगेको जानकारी दिदैं यो प्रणाली लागू भैसकेपछि बीमा र कल्याणकारी कोषको पैसा तिर्न बैङ्कमा जानुपर्ने वा विचौलियाको सहयोग माग्नुपर्ने अवस्था श्रमिकलाई नहुने विभागका महानिर्देशक डा. भीष्मकुमार भूषालले सामाजिक संजाल (फेसबुक) मार्फत जानकारी दिएका हुन् । वैदेशिक रोजगार विभागले कामदार छनौट प्रणालीलाई पारदर्शी र अनुमानयोग्य बनाउन अनलाईन प्रणाली समेत तयार भै लागू गर्न अवस्थामा छ । मंसिर महिना भरी सूचना प्रविधिमार्फत सेवाग्राहीहरुलाई दिइने सेवा स्वचालित र कष्ट निवारक महिनाको रुपमा रहने जनाउँदै सबै तयारी गर्न विगत ५ महिनादेखि निकै मेहनत गर्दै आएका महानिर्देशक डा. भूषालले भने ।

चलचित्र ‘मखमली मखमली’ मंसिर १३ गतेदेखि प्रदर्शन हुँदै

काठमाडौं । चलचित्र मखमली मखमली यहि मंसिर १३ गते बाट मुलुकभर एकैसाथ प्रदर्शनमा आउने भएको छ । चलचित्र “मखमली मखमली” मा निर्मात्री, चलचित्र स्क्रिप्ट राइटर तथा गीतकार साबित्रा चिलुवालले यथार्थपरक कथावस्तुमा नारी बेदनालाइ प्रतिनिधित्व गर्दै र महिलाहरुले भोग्नु परेको दुख पिडालाइ समेटिएको जानकारी गराएकी छन् । चलचित्रमा नायक जयकिशन बस्नेतको अभिनय रहेको छ भने फरक भूमिकामा मखमली बनेकी नायिका शुभेच्छा थापाको कारुणिक अभिनयले जोसुकैको मन पगाल्न सक्छ । निर्देशक राजु गिरीको निर्देशनमा बनेको यो चलचित्रमा, कलाकार सविन बास्तोला, शारदा गिरी कालीबुढीको साथमा कलाकार सुदर्शन आचार्य बाल कलाकार सम्राट पोखरेल, परि तामाङ तथा अन्य चर्चित कलाकारहरुको समेत अभिनय रहेको छ । मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेकी हुन्। बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन तथा रामेश्वर हुमागाईको छायाँकन रहेको चलचित्र राजु गिरीले निर्देशन गरेका हुन् ।

वोमी लघुवित्त वित्तीय संस्था उत्कृष्ट करदाताको रुपमा सम्मानित

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । नेपाल सरकार, आन्तरिक राजश्व विभागको आयोजनामा लाजिम्पाटमा भएको आठौं राष्ट्रिय कर दिवस समारोहमा यस वित्तीय संस्थालाई सबैभन्दा बढी कर दाखिला गरेकोमा उत्कृष्ट करदाताको रुपमा सम्मान गरिएको हो । सम्मान संस्थाकी अध्यक्ष बिन्दीया श्रेष्ठ प्रधानलाई आन्तरिक राजस्व विभागका महानिर्देशक बिनोद बहादुर कुँवरबाट गरिएको हो । उक्त सम्मान पत्र आर्थिक वर्ष २०७४/७५ को लागि कदर स्वरुप प्रदान गरिएको व्यहोरा सम्मान पत्रमा उल्लिखित गरिएको छ । यस संस्थाले गत आर्थिक वर्षहरुमा समेत धादिङ्ग जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गरेका कारण तीन पटक सम्मानित भइसकेको छ । यस पटक समेत गरी चौथो पटक धादिङ्ग जिल्लाबाट उत्कृष्ट करदाताको रुपमा यस वित्तीय संस्थालाई नेपाल सरकार, आन्तरिक राजश्व विभागबाट सम्मान गरिएको हो । साथै, नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको कार्यक्षेत्रका लागि स्वीकृति प्राप्त गरेको यस संस्था र नागरिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने स्वीकृति समेत केन्द्रीय बैंकबाट प्राप्त भएको छ । दुबै संस्थाको एकिकृत कारोवार तत्काल गर्ने तयारी गरिएको छ ।

सीडीएससीको कार्यकारी प्रमुख नियुक्ति अन्यौलमा, खडिवडाले भेटै दिएनन्, गुप्ता नै कामचलाउ

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडको नयाँ प्रमुख कार्यकारी नियुक्ति प्रक्रिया अन्यौलमा छ । प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताको ४ वर्षे कार्यकाल सकिएको एक महिना बितिसक्दा पनि नयाँ सीईओ नियुक्तिका लागि प्रक्रिया अघि बढ्न नसकेको हो । खासगरी नयाँ कार्यकारी प्रमुखको नियुक्ति कुन मोडेलमा गर्ने भन्नेमै सीडीएस सञ्चालक समितिमा अन्यौलता छ । नयाँ आउने कार्यकारी प्रमुख कार्यकारी मात्रै हुने कि प्रबन्ध सञ्चालकको हैसियतमा राख्ने भन्नेमा अन्यौलता देखिएको हाे । सञ्चालक समिति अध्यक्ष समेत रहेका नेपाल स्टक एक्सचेञ्जका चन्द्रसिंह साउदले यसबारे अर्थमन्त्रीसँग कुरा गरेर मात्रै निर्णय गर्ने बताए पनि अर्थमन्त्रीले अहिलेसम्म पनि समय नदिएकाे बताइएको छ । प्रमुख कार्यकारी अधिकृतको प्रतिनिधित्व बोर्डमा हुँदैन तर प्रबन्ध सञ्चालकको हैसियतमा जाने हो भने एउटै व्यक्ति सञ्चालक समिति र व्यवस्थापन दुवैमा सहभागी हुन्छ । अहिले सञ्चालक समिति र व्यवस्थापनबीच ‘कम्युनिकेशन ग्याप’ भएको महशुस गरी व्यवस्थापकीय प्रमुखलाई सञ्चालक समितिमा पनि सहभागी गराउनुपर्ने महशुस गरिएको हो । यदि अर्थमन्त्रीले नयाँ माेडेलमा जान सहमति दिए भने प्रबन्ध सञ्चालककाे रूपमा नयाँ प्रमुख नियुक्ति हुनेछ नत्र खुला प्रतिस्पर्धाबाट छनाैट गर्ने अघि बढ्नेछ । गुप्ताको कार्यकाल यही कात्तिक १० गतेदेखि सकिएको थियो । नयाँ सीईओ नियुक्ति प्रक्रिया अघि बढ्न नसकेपछि अनिवार्य अवकाश पाइसकेका गुप्तालाई नै दैनिक कार्यसञ्चालन गर्न जिम्मेवारी दिइएको बताइएको छ । एकजना सञ्चालकले भने ‘सीईओबाट अवकाश पाइसकेका व्यक्तिलाई कामु दिइयो भन्न भएन, कामचलाउ नै भन्नुपर्यो, तर अहिले उहाँले नै सबै काम हेरिरहनुभएको छ ।’ सीडीएस एण्ड क्लियरिङ लिमिटेडका सञ्चालक समेत रहेका नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीले पनि नयाँ कार्यकारी प्रमुखको नियुक्तिका लागि सञ्चालक समितिसँग दुईओटा विकल्प रहेको भन्दै त्यसका लागि बोर्डले सरकारसँग छलफल गरी अघि बढ्ने बताए ।

स्थानीय तहले खोले ७९ किमी सडकको नयाँ ट्र्याक

दमौली । तनहुँ जिल्लाका स्थानीय तहले ७९ किमी सडकको नयाँ ट्र्याक खोलेका छन् । चार नगरपालिका र छ गाउँपालिका रहेको यहाँका स्थानीय तहले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७५/७६ मा सडकको नयाँ ट्र्याक खोलेका हुन् । भानु नगरपालिकाले १० किमी नयाँ ट्र्याक खोलेको छ भने ३० किमी सडक ग्राभेल गरेको छ । भीमाद नगरपालिकाले ११ किमी नयाँ ट्र्याक खोलेको छ भने १९ किमी कालोपत्र र तीन किमी सडक ग्राभेल गरेको छ । यसैगरी, शुक्लागण्डकी नगरपालिकाले १३.०५ किमी नयाँ ट्र्याक खोलेको छ भने ४.५२ किमी सडक कालोपत्र र २४.६८ किमी सडक ग्राभेल गरेको जनाएको छ । यस अवधिमा नयाँ ट्र्याक नखोलेको व्यास नगरपालिकाले भने ५.५९ किमी सडक कालोपत्र र २३.१० किमी सडक ग्राभेल गरेको छ । आँबुखैरेनी गाउँपालिकाले १४.५ किमी नयाँ ट्र्याक खोलेको छ भने ०.४ किमी सडक कालोपत्र र ०.४ किमी सडक ग्राभेल गरेको छ । म्याग्दे गाउँपालिकाले चार किमी नयाँ ट्र्याक खोलेको छ भने ३.८ किमी ग्राभेल र ४२ किमी सडकको विस्तार गरेको छ । त्यस्तै देवघाट गाउँपालिकाले २६.५ किमी नयाँ सडकको ट्र्याक खोलेको छ । घिरिङ, ऋषिङ र बन्दीपुर गाउँपालिकाले भने यस अवधिमा नयाँ ट्र्याक खोल्न नसकेको बताएका छन् । ऋषिङ गाउँपालिकाले भने चार किमी सडक कालोपत्र र १६८ मिटर सडक ग्राभेल गरेको छ । बन्दीपुर गाउँपालिकाले पनि दुई किमी सडक कालोपत्र गरेको छ । म्याग्दे गाउँपालिकाले सात वटै वडामा महत्वपूर्ण सडक पहिचान गरी उक्त सडकमा बाह्रै महिना सवारी सञ्चालन गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए। साथै, चालू आर्थिक वर्षमा चार महत्वपूर्ण सडकखण्डको डिपिआर तयार गरी पक्कीनाला र कालोपत्र शुरु गर्ने लक्ष्य राखिएको उनले जानकारी दिएका छन् । नागिलाका अनुसार नयाँ ट्र्याक खोल्दा अनिवार्य रूपमा सडक छ मिटर हुनुपर्ने मापदण्ड कायम गरिएको छ । रासस

‘लोकतान्त्रिक सिँचाइ योजना’ शिलान्यास, पौने ८ करोड लागतमा साँढे दुई वर्षभित्र पूरा गर्ने लक्ष्य

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित अखटेबाट सञ्चालन हुने ‘लोकतान्त्रिक सिँचाइ योजना’ शिलान्यास गरिएको छ । गाउँपालिकाको छितापोखरी र खोटेहाङ गाउँपालिका–५ चिप्रिङको सिमानामा पर्ने अखटेस्थित टुवाखेलाबाट छितापाखरी–पञ्चमीबजार हुँदै बतासेसम्म सञ्चालन हुने ‘लोकतान्त्रिक सिँचाइ योजनाको शनिबार गाउँपालिका प्रमुख भुपेन्द्र राईले शिलान्यास गरेका हुन् । प्रदेश नं १ सरकारको आर्थिक सहयोगमा जल तथा सिँचाइ डिभिजन कार्यालय खोटाङद्वारा रु सात करोड ७२ लाख लागतमा साँढे दुई वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको उक्त योजनाको कामको जिम्मा विवश इन्टरनेशनल कन्ट्रक्सन कम्पनी काठमाडौँले लिएको छ । गत साउनमा निर्माण कम्पनी र सिँचाइ डिभिजन कार्यालयबीच सम्झौता भएको १३ किलोमिटर लामो उक्त योजनाको नौ किलोमिटरसम्म पाइप जडान, आरसीसी, पिसीसी, ग्याबिङ पर्खाल, मेसिनरी पर्खाललगायतका संरचनाको काम निर्माण कम्पनीले गर्ने जनाइएको छ । बाँकी काम उपभोक्ता समितिले गर्ने उक्त योजनाले छितापोखरीको आधा भू–भाग, छितापोखरी र बतासेका स्थानीयवासी लाभान्वित हुने गाउँपालिका प्रमुख राईले बताए । रासस

औषधि व्यवसायी सङ्घको अध्यक्षमा जोशी

कैलाली । औषधि व्यवसायी सङ्घ कैलालीको प्रथम अधिवेशनबाट अध्यक्षमा जनकराज जोशी निर्विरोध चयन भएका छन् । सङ्घको शनिबार धनगढीमा भएको अधिवेशनबाट जोशीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन भएको हो । त्यस्तै, उपाध्यक्षमा प्रेमराज बिसी, महासचिवमा मधुकर कुश्मी, कोषाध्यक्षमा रमेश पाण्डे, सहकोषाध्यक्षमा द्वारिकाप्रसाद चौधरी, सचिवमा चन्द्रिकाप्रसाद चौधरी चयन भएको सङ्घले जनाएको छ । सदस्यमा खेमराज भट्ट, चन्द्रबहादुर रावल र ठाकुरप्रसाद चौधरी चयन भएका छन् । रासस