इरानमा महङ्गी विरुद्ध प्रदर्शन
तेहरान । इरानमा गएका केही दिन यतादेखि विपक्षीहरुले विरोध प्रदर्शन जारी राखेका छन् ।सरकारले गत हप्ता पेट्रोलको मूल्यवृद्धिको घोषणा गरेपछि त्यसकोे विरोधमा उनीहरूले प्रदर्शन शुरु गरेका हुन् । त्यस विरोध प्रदर्शनका क्रममा केही कैयौँ प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इरानको एक समाचार संस्था इस्नाले जनाएअनुसार शनिबार भएको विरोध प्रदर्शनको क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने अरु केही पक्राउ परेका छन् । इरानमा अमेरिकाले आर्थिक नाकाबन्दी लगाएको छ । यसका साथै तेल निर्यातमा पनि उसले इरानमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी यो नाकाबन्दीपछि इरानको अर्थ व्यवस्था सङ्कटमा पर्न लागेको बताउन थालिएको छ । यसै समयमा इरानले पेट्रोलियम पदार्थमा पनि मूल्य वृद्धि गरेको छ । इरानी राष्ट्रपति हसन रौहानीले इरानका बहुसंख्यक जनता आर्थिक दबाबमा रहेको जनाउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सङ्कलन हुने रकम जनतालाई नै वितरण गरिने जानकारी दिएका थिए । इरानको सरकारले गतवर्षको डिसेम्बरमा नै पेट्रोलमा मूल्यवृद्धि गर्ने जनाएको थियो । तर पनि यस निर्णयको यहाँका सर्वसाधारणले विरोध गरेका कारण संसदले यो प्रस्तावलाई अस्वीकृत गरेको थियो । रासस
मर्जर स्वीकृतिका लागि ग्लोबल र जनता राष्ट्र बैंकमा, यसै साता अन्तिम स्वीकृति दिइने
काठमाडौं । ग्लोबल आईएमई बैंक र जनता बैंक मर्जरसम्बन्धी अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पुगेका छन् । दुईओटै बैंकका साधारणसभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेसँगै अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा गत साता नै निबेदन दिएको बैंक स्रोतले जनाएको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुका तर्फबाट मर्जरसम्बन्धी अन्तिम स्वीकृतिका लागि पत्र प्राप्त भइसकेको भन्दै त्यसबारे आवश्यक प्रक्रिया अघि बढिसकेको जनाएको छ । नेपाल राष्ट्र बैंक नियमन विभागका प्रमुख देवकुमार ढकालले केही दिनभित्रै राष्ट्र बैंकले अन्तिम स्वीकृति दिने बताए । ‘हामीकहाँ पत्र आएको छ, हामीले आवश्यक प्रक्रिया अघि बढाइसकेका छौं, अब बस्ने बोर्ड बैठकले मर्जरसम्बन्धी अन्तिम स्वीकृति दिने निर्णय गर्छ’ ढकालले भने । कसरी बढ्दैछ मर्जर प्रक्रिया ? मर्जरका लागि दुई बैंकहरुबीच सञ्चालक समिति, कार्यकारी प्रमुख र स्वाप रेसियोबारे भएको प्रारम्भिक सहमतिलाई नै दुई बैंकबीच अन्तिम सहमतिले समेत निरन्तरता दिएको छ भने उक्त सहमतिलाई दुबै बैंकका साधारणसभाले पारित समेत गरिसकेका छन् । अहिले मध्यम र तल्लो तहका व्यवस्थापनका कर्मचारीहरुको व्यवस्थापन, दोहोरिएका शाखाहरुको व्यवस्थापन, सफ्टवेयर व्यवस्थापन लगायतका प्राविधिक कामहरु भइरहेको बताइएको छ । ग्लोबल आईएमई र जनता बैंक मर्ज भइसकेपछि करिब ३०० शाखा पुग्नेछ । एकै स्थानमा रहेका केही शाखाहरु भने बन्द गर्नुपर्ने अवस्थामा रहेकोले केही शाखाहरु भने बन्द गर्नुपर्ने हुनसक्ने ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । शाखा बन्द गर्नु परेपनि बैंकबाट कुनैपनि कर्मचारीहरु बाहिरिने अवस्था भने नहुने ढकालकाे भनाई थियो । मर्जर र एक्विजिसनको लामो अनुभव आफूहरुसँग भएकोले जनतासँगको मर्जर प्रक्रियामा पनि कर्मचारी व्यवस्थापनका कुनै समस्या नभएको उनले बताए । नयाँ बन्ने ग्लोबल आईएमई बैंकले ग्लोबल आईएमई बैंककै सफ्टवेयर प्रयोग गर्नेछ । हाल ग्लोबल आईएमई बैंकको शेयर रजिष्ट्रारको रुपमा ग्लोबल आईएमई क्यापिटल तथा जनता बैंकको शेयर रजिष्ट्रारको रुपमा जनता क्यापिटलले नै काम गरिरहेको छ । यी दुईलाई एकै ठाउमा ल्याउने र सहायक कम्पनीको मर्जर प्रक्रिया समेत सुरु भइसकेको छ, यद्यपि यी प्रक्रियाहरु भने एकीकृत कारोबार घोषणापछि समेत गर्न सकिन्छ ।
महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा बाल उद्यान सामाग्री वितरण
काठमाडौं । महालक्ष्मी विकास बैंकको भैरहवा शाखाले शुक्रबार नारायणपथमा अवस्थित श्री लिलाराम माध्यामिक विद्यालयमा बाल उद्यान सम्बन्धी पिङ्ग, चिप्लेटी, ढिके पिङ्ग, तेर्साे भर्याङ लगायतका सामाग्री हस्तान्तरण गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी , महालक्ष्मी विकास बैंकका बिभिन्न शाखाका शाखा प्रबन्धकहरु र कर्मचारी तथा विद्यालयका संरक्षकहरुको उपस्थिति रहेको थियो । शाखाले विद्यार्थीहरुलाई बचत गर्नका लागि उत्प्रेरित गर्ने उद्देश्यले कक्षा ९, १०, ११ र १२ मा अध्यनरत विद्यार्थीहरुलाई निक्षेप, रकम भुक्तानी, कर्जा, एटिएम कार्ड, मोवाईल बैंकिङ, विप्रेषण, ईसिसि, आईपिएस, बीमा लगायत अन्य बैंकिङ्ग सेवाबारे साक्षर गराएको थियो ।
सिंगापुरमा चार नेपाली सम्मानित
काठमाडौँ । सिंगापुरमा सम्पन्न भएको छैठौ अन्तराष्ट्रिय गोल्डेन ब्राण्ड अवार्ड २०१९ मा चार नेपाली सम्मानित भएका छन् । विभिन्न ३० राष्ट्र आएको २५ विधा बाट करिब ४०० वटा नोमिनेसनमा नेपालको तर्फ बाट २ जना पुरुष र २ जना महिला छनौट भएका थिए । जसमा चर्चित अन्तराष्ट्रिय कोरियोग्राफर आस्विनी कान्त झा र चर्चित तथा सफल पेजेण्ट डाइरेक्टर निशु कान्त झालाइ एक भब्य समारोह बीच प्रमुख अतिथि इन्डोनेसियाका राजा अरिया पकु आलम अल हजद्वारा सम्मान गरिएको थियो । त्यसैगरी, महिला तर्फ लेडी अफ एक्सिलेन्स अवार्डमा २० देश बाट करिब २५० वटा नोमिनेसनमा नेपालको तर्फ बाट युवा व्यवसायी, समाजसेवी तथा मोडल एलिजा महर्जन र चलचित्र निर्देशक तथा डान्स कोरियोग्राफर सावित्री खत्रीले अवार्ड चुम्न सफल भएका थिए । सिंगापुरको आर्किड कन्ट्री क्लबमा सम्पन्न भएको उक्त कार्यक्रम विभिन्न अन्तराष्ट्रिय प्रस्तुतिको साथमा अन्तराष्ट्रिय कलाकार मोडलहरुको बाक्लो उपस्थिति रहेको थियो । छैठौ अन्तराष्ट्रिय गोल्डेन ब्राण्ड अवार्ड २०१९ मा सम्मानित हुन सफल नेपाल तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो कोरियोग्राफी मार्फत ख्याति बटुलेका चर्चित फेसन कोरियोग्राफर आस्विनी कान्त झाले करिब २ सय ५० भन्दा बढी ब्युटी पेजेन्टमा कोरियोग्राफी गरिसकेका छन् भने उनी ब्युटी पेजेन्ट एसोसियसन अफ नेपालका सस्थापक सदस्य समेत हुन् । उनले सौन्दर्य प्रतियोगिता क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै उक्त अवार्ड प्रदान गरिएको थियो । त्यसैगरी रिवन इन्टरटेनमेन्ट मार्फत नेपालमा विभिन्न उमेर समुहका लागि सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएका निशुकान्त झा विगत लामो समय देखि पेजेण्ट निर्देशनमा लागिपरेका व्यक्तित्व हुन् । राष्ट्रिय स्तरमा मात्र नभई अन्तराष्ट्रिय स्तरमा समेत चर्चा कमाएका झा विवाहित महिलाहरुको लागि गरिएको सफल प्रतियोगिता मिसेस नेपाल इन्टरनेशनलका आयोजक हुन् । झा ब्युटी पेजेन्ट एसोसियसन अफ नेपालका सस्थापक महासचिव समेत रहेका छन् । त्यसैगरी, लेडी अफ एक्सिलेन्स अवार्ड जित्न सफल एलिजा महर्जन मिसेस नेपाल ग्ल्यामकि विजेता हुन् भने उनी युवा व्यवसायी, समाजसेवीको रुपमा समेत परिचित छिन् । महर्जन विभिन्न संघ सस्थामा समेत आबद्ध रहेर सक्रिय सामाजसेवामा लागिपरेकी व्यक्तित्व हुन् । त्यस्तै, अर्को अवार्ड बिजेता सावित्री खत्री डान्स कोरियोग्राफी र चलचित्र निर्देशनमा सक्रिय छिन् ।
अर्घाखाँची सिमेन्टले ल्यायो ‘धन वर्षा’ योजना, १ लाखसम्मको सियोर सट नगद उपहार
काठमाडौं । अर्घाखाँची सिमेन्टले स्थापनाको पाँचाैं वर्षको उपलक्ष्यमा उपभोक्ताका लागि ‘धन वर्षा’ योजना सार्वजनिक गरेको छ ।आइतबार (मंसिर ८ गते) देखि दुई महिना (माघ ८) सम्म लागू हुने यस योजनाअन्तर्गत ग्राहक तथा उपभोक्ताले अर्घाखाँचीको जुनसुकै (ओपिसी वा पिपिसी) १५ बोरा सिमेन्टको खरिदमा एक स्क्रयाच कुपन पाउनेछन् । कम्पनीका अनुसार यस कुपनलाई स्क्रयाच गरी रु सय देखि रु ५ सय, रु एक हजार, रु दश हजार, रु २५ हजार, रु ५० हजार र रु १ लाखसम्मको सियोर सट नगद उपहार पाउनेछन् । यसरी पाउने नगद उपहारमा नेपाल सरकारको नियमानुसार लाग्ने कर विजेताले नै तिनुपर्नेछ । “नव निर्माणमा धनको बहार, अर्घाखाँचीमा करोडाैं उपहार” नारा दिइएको देशैभरी लागूहुने यस योजनाअन्तर्गत भाग्यशाली विजेताले डिलर वा हार्डवयेरमार्फत सिमेन्ट खरिद गर्दाकै समयमा सियोर सट नगद उपहार प्राप्त गर्नेछन् । कम्पनीका सहायक महाप्रबन्धक रमेश थापाले कम्पनी स्थापनाको वर्षगाँठको खुसीयाली ग्राहकसँग बाड्न सावर्जनिक गरिएको यस योजनाले उपभोक्ता र कम्पनीलाई सँधैभरी एकै कडीमा बाँधीराख्ने विश्वास लिएका छन् । पाँच वर्षअघि स्थापित अर्घाखाँची सिमेन्टले ओपिसी सिमेन्ट उत्पादनको दायरालाई विस्तार गरी गत वर्षमात्र पिपिसी सिमेन्टको उत्पादन पनि थालेको थियो । भैरहवाको सियारीस्थित कारखानाबाट सिमेन्ट उत्पादन गरिरहेको यस कम्पनीले आफैले क्लिंकर समेत उत्पादन गरी सिमेन्टको कच्चा पदार्थ आयात गरिरहेको छ ।
आयातकर्ता संघ नेपालको नवौं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । आयातकर्ता संघ नेपालको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष बल्लभ राज सिग्देलको सभापतित्वमा मंसिर ७ गते होटल सोल्टी काउन प्लाजामा सम्पन्न भएकाे उक्त सभाले निर्यामत प्रस्तावहरू पारित गरिएको थियो । साथै, सभामा सहभागी पदाधिकारी तथा सदस्यहरूले भन्सार प्रयोजनको लागि माल वस्तुहरूको मूल्यांकन गर्ने आर्थिक ऐन २०७२ को व्यवस्था व्यवहारिक नभएको, प्रचलित भसार ऐनको व्यवस्था अनुरूप नभएको र साथै अन्तराष्ट्रिय प्रचलन विपरित भएकोले उक्त व्यवस्थालाई संशोधन गर्न सरकारको ध्यानाकर्षण गराउन सुझाव दिएका थिए । त्यसैगरी, वर्षौदेखि आयातकर्ताको रूपमा व्यवसाय गर्दै आएका फर्म र कम्पनीलाई मनासिव कारण र आधार बिना मुख्य कम्पनीले आयातकर्तालाई हटाई अन्य व्यक्ति, कम्पनी र फर्मलाई आयातकर्ता नियुक्ति गर्ने जस्ता काम कारवाहीबाट आयातकर्ता व्यवसायीहरूको व्यवसाय सधै असुरक्षित भएको सहभागी पदाधिकारीले बताए । यसबाट धेरै व्यवसायीहरू पीडित हुन पुगेको यथार्थतालाई दृष्टिगत गरि आयातकर्तालाई खारेज गर्ने, नयाँ आयातकर्ता नियुक्ति गर्ने जस्ता आधार प्रकृया र कार्यविधी सम्बन्धमा कानूनी एवं नीतिगत व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुपर्ने सुझाव सदस्यहरूले सभा समक्ष प्रस्तुत गरेका छन् ।
समिट एयरले थप्यो नयाँ जहाज, यसै सातादेखि उडान सुरु हुने
काठमाडाैं । समिट एयरले नयाँ हवाई जहाज खरिद गरेको छ । आन्तरिक हर्वाइ सेवा प्रदायक कम्पनी समिटले शुक्रबार जहाज खरिद गरी नेपाल भित्र्याएको हो । जहाजको नेपाली दर्ता नम्बर नाइनएन–एएनडी रहेको छ । कम्पनीले चेक गणतन्त्रको जहाज निर्माता कम्पनी एलइटी (लेट)ले उत्पादन गरेको ‘एल ४१० युभिपी–ई२०’ को १८ सिटे जहाज खरिद गरेको बताएको छ । समिट एयरलाइन्सका प्रमुख कार्यकारी मनोज कार्कीले उक्त जहाजलाई सानो धावनमार्ग भएका दुर्गमका विमानस्थलमा प्रयोग गर्ने बताए । जहाजले पहाड तथा हिमाली क्षेत्रका विमानस्थल ( काठमाडौं,पोखरा र सुर्खेत फाप्लु,सुकेटार, खानीडाँडा, भोजपुर, लुक्ला, पोखराबाट मनाङ, मुस्ताङ र सुर्खेत नेपालगंजलाई आधार बनाएर सिमिकोट, जुम्ला, बाजुरा, डोल्पामा उडान गर्ने उनले बताए । दुईटा इन्जिन भएको यो विमानमा १८ जना यात्रु अटाउने क्षमता रहेको छ। हाल सम्म आन्तरिक हवाई सेवा प्रदान गर्दै आएको कम्पनीले तीन जहाजमार्फत सेवा दिदै आएको छ । यो जहाजसमेत गरेर कम्पनीको अब चार जहाज भएका छन् । नागरिक उडड्यन प्राधिकरणले स्विकृतिदिए लगत्तै नयाँ जहाजमार्फत सेवा दिने कार्कीले बताए । यो सातादेखिनै नयाँ जहाजको सेवा सुरु गर्ने उनको भनाइ छ ।
सामाखुशी–ग्रिनल्याण्ड सडकखण्ड कालोपत्र
काठमाडौं । सामाखुशी चोक मनोहर स्कूल हुँदै ग्रिनल्याण्डसम्मको सडकखण्ड कालोपत्र गरिएको छ । ढल व्यवस्थापन र मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउँदा लामो समयदेखि अस्तव्यस्त रहेको उक्त सडक शनिबारदेखि कालोपत्र गरिएको हो । टोखा नगरपालिकाको रु एक करोड ३२ लाख खर्चमा उक्त सडक कालोपत्र गरिएको हो । काठमाडौँको उत्तरी क्षेत्र टोखा, झोर, शिवपुरी, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल तथा नुवाकोटको त्रिशूली जाने बाटो बिग्रँदा लाखौँ यात्रुहरुले समस्या भोग्नु परेको थियो । उक्त बाटोमा सामाखुशी यातायात, शिवपुरी यातायात, नुवाकोट जाने सवारी साधन र माइक्रोबस सञ्चालन हुँदै आएको छ । सामाखुसी ग्रिनल्यान्डको बाटो मर्मतसम्भार हुँदा सवारी साधन सामाखुशी चोकबाट बसुन्धरा चौकी धापासी हाइट हुँदै ग्रिनल्यान्ड जानुपर्ने बाध्यता रहेको थियो । महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख, प्रहरी निरीक्षक लोकबहादुर विष्ट बाटो कालोपत्र भएसँगै ट्राफिक व्यवस्थापनमा सहजता आउने बताउँछन् । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी ढल निर्माण र पानीको पाइप बिच्छ्याउँदा बाटोमा समस्या आए पनि बाटो कालोपत्रसँगै टोखाका जनतालाई आवतजावतमा सहजता आएको बताए । एक हप्तासम्म सबै सडक कालोपत्र गरिसक्ने नगरपालिकाले जनाएको छ । नगरप्रमुख अधिकारी नगरपालिकाले मोटरबाटोलाई विशेष प्राथमिकता दिएको बताएका छन् । रासस