सीडीएससीको कार्यकारी प्रमुख नियुक्ति अन्यौलमा, खडिवडाले भेटै दिएनन्, गुप्ता नै कामचलाउ

<p>काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडको नयाँ प्रमुख कार्यकारी नियुक्ति प्रक्रिया अन्यौलमा छ । प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताको ४ वर्षे कार्यकाल सकिएको एक महिना बितिसक्दा पनि नयाँ सीईओ नियुक्तिका लागि प्रक्रिया अघि बढ्न नसकेको हो । खासगरी नयाँ कार्यकारी प्रमुखको नियुक्ति कुन मोडेलमा गर्ने भन्नेमै सीडीएस सञ्चालक समितिमा अन्यौलता छ । नयाँ आउने कार्यकारी [&hellip;]</p>

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडको नयाँ प्रमुख कार्यकारी नियुक्ति प्रक्रिया अन्यौलमा छ । प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताको ४ वर्षे कार्यकाल सकिएको एक महिना बितिसक्दा पनि नयाँ सीईओ नियुक्तिका लागि प्रक्रिया अघि बढ्न नसकेको हो ।

खासगरी नयाँ कार्यकारी प्रमुखको नियुक्ति कुन मोडेलमा गर्ने भन्नेमै सीडीएस सञ्चालक समितिमा अन्यौलता छ । नयाँ आउने कार्यकारी प्रमुख कार्यकारी मात्रै हुने कि प्रबन्ध सञ्चालकको हैसियतमा राख्ने भन्नेमा अन्यौलता देखिएको हाे । सञ्चालक समिति अध्यक्ष समेत रहेका नेपाल स्टक एक्सचेञ्जका चन्द्रसिंह साउदले यसबारे अर्थमन्त्रीसँग कुरा गरेर मात्रै निर्णय गर्ने बताए पनि अर्थमन्त्रीले अहिलेसम्म पनि समय नदिएकाे बताइएको छ ।

प्रमुख कार्यकारी अधिकृतको प्रतिनिधित्व बोर्डमा हुँदैन तर प्रबन्ध सञ्चालकको हैसियतमा जाने हो भने एउटै व्यक्ति सञ्चालक समिति र व्यवस्थापन दुवैमा सहभागी हुन्छ । अहिले सञ्चालक समिति र व्यवस्थापनबीच ‘कम्युनिकेशन ग्याप’ भएको महशुस गरी व्यवस्थापकीय प्रमुखलाई सञ्चालक समितिमा पनि सहभागी गराउनुपर्ने महशुस गरिएको हो । यदि अर्थमन्त्रीले नयाँ माेडेलमा जान सहमति दिए भने प्रबन्ध सञ्चालककाे रूपमा नयाँ प्रमुख नियुक्ति हुनेछ नत्र खुला प्रतिस्पर्धाबाट छनाैट गर्ने अघि बढ्नेछ ।

गुप्ताको कार्यकाल यही कात्तिक १० गतेदेखि सकिएको थियो । नयाँ सीईओ नियुक्ति प्रक्रिया अघि बढ्न नसकेपछि अनिवार्य अवकाश पाइसकेका गुप्तालाई नै दैनिक कार्यसञ्चालन गर्न जिम्मेवारी दिइएको बताइएको छ । एकजना सञ्चालकले भने ‘सीईओबाट अवकाश पाइसकेका व्यक्तिलाई कामु दिइयो भन्न भएन, कामचलाउ नै भन्नुपर्यो, तर अहिले उहाँले नै सबै काम हेरिरहनुभएको छ ।’

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका सञ्चालक समेत रहेका नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीले पनि नयाँ कार्यकारी प्रमुखको नियुक्तिका लागि सञ्चालक समितिसँग दुईओटा विकल्प रहेको भन्दै त्यसका लागि बोर्डले सरकारसँग छलफल गरी अघि बढ्ने बताए ।

Share News