महासंघको पदाधिकारीमा सर्वसहमतिको प्रयास, दर्जन आकांक्षीलाई थमाउन कठिन
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघलाई चुनाव लागेको छ । यसपटक महासंघका नेतृत्वका लागि हुने निर्वाचनमा कम्तिमा पदाधिकारीमा सर्वसहमति जुटाउने प्रयास शुरु भएको छ । तर ४ पदका लागि एक दर्जनभन्दा बढी आंकाक्षी भएकोले सहमति जुट्न कठिन देखिन्छ । वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुने व्यवस्था भएकोले महासंघको चुनाव वरिष्ठ उपाध्यक्ष पदमा केन्द्रित हुनेछ । अहिले वरिष्ठ उपाध्यक्ष हुने व्यक्ति ३ वर्षपछि अध्यक्ष हुने भएकोले पनि यो पद पाउन महासंघभित्र कडा प्रतिष्पर्धा हुन्छ । वरिष्ठ उपाध्यक्षका आकांक्षीमा चन्द्रप्रसाद ढकाल र किशाेर प्रधान अगाडि देखिएका छन् । ढकाल महासंघमा एसोशिएट समूहको उपाध्यक्ष हुन् भने प्रधान जिल्ला नगर समूहको उपाध्यक्ष हुन् । सोही पदका लागि उमेशलाल श्रेष्ठ र दिनेश श्रेष्ठ पनि आकांक्षी हुन् । उमेशलाल हाल वस्तुगत समूहको उपाध्यक्ष हुन् भने दिनेश पूर्व उपाध्यक्ष तथा प्रदेश ३ उद्योग वाणिज्य संघको सभापति हुन् । सबैलाई मिलाएर नेतृत्व गर्ने क्षमता भएको, यसअघि पनि एशोसिएट उपाध्यक्षमा सर्वसहमत चुनिएकाले अन्तिम समयसम्म ढकाल वरिष्ठ उपाध्यक्षमा सर्वसहमत हुन सक्ने अनुमान गरिएको छ । तर महासंघका पूर्व अध्यक्षहरु बीचको इगो टसलका कारण सहमति नजुट्न पनि सक्छ । एसोशिएट उपाध्यक्ष पदमा कम आकांक्षी छन् । सौरभ ज्योति यसपाली सर्वसहमतिमा एसोशिएट समूहको उपाध्यक्ष बन्ने सम्भावना बढी छ । यस समूहको उपाध्यक्षमा शाहिल अग्रवालको पनि दाबी छ । तर उनको दाबी अर्को पटक उपाध्यक्ष हुने धरातल बनाउनको लागि मात्र आएको जानकारहरु बताउँछन् । वस्तुगत समूहको उपाध्यक्ष पदमा अन्जन श्रेष्ठ र कमला श्रेष्ठले चाहाना राखेका छन् । सहमतिको वातावरण बन्दा अन्जन सर्वसहमत हुन सक्छन् भने चुनावै हुँदा पनि अन्जन बलियो उम्मेदवार हुन् । पदाधिकारीतर्फ सबैभन्दा बढी आकांक्षी जिल्ला नगर उपाध्यक्षमा देखिएका छन् । कार्यसमिति सदस्य अरुण सुमार्गीले जिल्ला नगरतर्फको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । कार्यसमिति सदस्यहरु गुणनीति तिवारी, दिलसुन्दर श्रेष्ठ पनि जिल्ला नगर उपाध्यक्ष बन्न दौडधूपमा लागेको छ । दिनेश श्रेष्ठ र डीवी बस्नेतलाई पनि जिल्ला नगर उपाध्यक्षको सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ । आकांक्षी धेरै नै भएकोले जिल्ला नगर उपाध्यक्षमा सर्वसहमति जुट्ने सम्भावना कम छ । आगामी चैतमा ५ पदाधिकारीसहित ७० पदको लागि निर्वाचन हुँदैछ । वरिष्ठ उपाध्यक्ष, ३ जना उपाध्यक्ष पदमा लागि प्रत्यक्ष निर्वाचन हुन्छ भने कार्यसमितिबाट कोषाध्यक्ष चयन हुन्छ । ‘वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीमा सर्वसहमति हुन पनि सक्छ, हामी त्यसतर्फ कसरत गरिरहेको छौं’ महासंघको निवर्तमान अध्यक्ष पशुपति मुरारकाले भने–‘सर्वसहमतिमा चुनिदा नेतृत्वको भूमिका प्रभावकारी हुन्छ । निजी क्षेत्र मिलेर अगाडि बढेको सन्देश पनि जान्छ ।’
नेपाली उद्योगमा लगानी बढ्दै, २५ खर्ब ५१अर्ब लगानीका चार लाख उद्योग दर्ता
काठमाडाैं । पछिल्लो समय नेपाली उद्योगहरुमा लगानी बढ्दै गएको छ । लगानीकर्तालाई सहजीकरण, उद्योग लगानीमैंत्री वातावरण, व्यवस्थापन तथा संरचना निर्माणले उद्योगमा लगानी बढ्दै गएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागका अनुसार हालसम्म नेपाली उद्योगमा २५ खर्ब ५१अर्ब लगानी भएको छ । ठुला, मझौला, लघु घरेलु तथा साना र लगानी बोर्डमा दर्ता भएका गरी ४ लाख एक हजार ६ सय ६६ उद्योग दर्ता भएका छन् । चालु आवको पहिलो चौमासमा १३ हजार एक सय १६ उद्योगहरू थपिएका छन् । उद्योग विभागले पाँचौ उद्योग दिवसका अवसरमा सोमबार प्रस्तुत गरेको तथ्याकंका अनुसार पछिल्लो समय उद्योगमा लगानी बढ्दै गएको देखिएकाे हाे । यस्तै चालु आर्थिक वर्ष २०७६/०७७ को प्रथम चौमासिकमा ८२ अर्ब ५७ करोड रुपैयाँ विदेशी लगानी स्विकृति गरिएको विभागले जनाएको छ । चालु आवको यो अवधिमा वैदेशिक लगानीका एक सय चार उद्योगमा ८५ अर्ब ५७ करोड लगानी प्रतिवद्धता भएको छ । गत आवको चालु आवसम्म उर्जामूलक, उत्पादनमूलक, कृषि वन तथा पैदावरमा आधारित, निर्माण, पर्यटन, सेवामूलक, खनिज र सूचना प्रशासन तथा सञ्चार प्रवधिमा आधारित गरी कुल ४ हजार ८ सय २२ उद्योगहरु विदेशी लगानीमा स्विकृत भएका छन् । विभागले यो अवधिसम्म धेरै प्रगति तथा सुधारका काम गरेको बताएको छ । विभागले हालसम्म संरचनागत सुधार, प्रकृयागत सुधार, नीतिगत सुधारहरु गरेको बताएको छ । विभागले पाँचौं उद्योग दिवसका अवसरमा प्रस्तुत गरेको प्रतिवेदनका अनुसार राजनैतिक स्थिरता र सरकारको स्थायित्व, लगानीमैन्त्री ऐन, ऊर्जाकाे पर्याप्तता, औद्योगिक पूर्वाधारमा प्राथमिकताका साथ सरकारको लगानी बृद्धि यस क्षेत्रका सवल पक्ष भएको बताएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघकी उपाध्यक्ष शोभा गुरूङले उत्पादनमूलक उद्योग धेरै भएपनि सरकारले त्यसलाई कसरी विकास गरिन्छ भनी अध्यन गर्न नसकेको बताइन् । उनले सरकारले दिने सेवा सुविधामा पनि ढिलासुस्ती भएका कारण काममा सुस्तता आउने गरेको बताइन । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बैंकको उच्च ब्याजदरको कारण उद्योगमा समस्या आएको बताए । उनले निजी क्षेत्रलाई प्रोत्साहन गरेर अगाडी बढे सरकारले लिएको सुखी नेपाली सम्वृद्ध नोपल नारा पुरा हुने बताए । स्वदेशमा उत्पादन भएका सामग्रीलाई सरकारले प्रोत्साहन दिनु पर्ने उनको भनाइ छ ।
मेरियटको व्यवस्थापनमा फूलबारी रिसोर्ट नयाँ वर्षदेखि सञ्चालमा आउँदै
काठमाडौं । दक्षिण एशियाकै अब्बल होटलको रुपमा लिइएको फूलबारी रिसोर्ट अन्तर्राष्ट्रिय ख्यातीप्राप्त ब्राण्ड मेरियटको व्यवस्थापनमा नयाँ वर्षदेखि पुनः सञ्चालनमा आउँदैछ । ९० को दशकमा स्थापना भएको उक्त रिसोर्ट २ वर्षयता बन्द छ । आगामी नयाँ वर्ष अर्थात २०७७ वैशाख १ गतेदेखि होटल सञ्चालन गर्न नेपाल बैंकसँग फूलबारीले सम्झौता गरेको छ । नेपालीको गहनाको रुपमा ५० को दशकमा पोखरामा स्थापना गरिएको उक्त रिसोर्टमा नेपाल बैंकको ७० प्रतिशत ऋण लगानी र सञ्चालक पियुष अमात्यको ३० प्रतिशत लगानी रहेको थियो । नयाँ वर्ष वैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने तयारीका साथ रिसार्ट सञ्चालन गर्न लागिएको सञ्चालक अमात्यले विकासन्युजलाई बताए । उक्त रिसोर्ट नयाँ व्यवस्थापन सहित आउन लागेको हो । हस्पिटालिटी क्षेत्रमा संसारमै अब्बल म्यानेजमेन्ट मानिएको अमेरिकन कम्पनी मेरियट इन्टरनेशनलले रिसोर्ट व्यवस्थापनको जिम्मा लिएको छ । मेरियट इन्टरनेशनल अमेरिकन चेन ब्राण्ड कम्पनी हो । यस अन्तर्गत संसारभर ७ हजार होटलहरू संचालनमा छन् । होटल सञ्चालनको जिम्मा मेरियटले लिएको कर्मचारीको सम्पूर्ण व्यवस्थापन पनि उसैले गर्ने सञ्चालक अमात्यले बताए । ‘होटल पुनःसञ्चालन गर्न लागेका छौं,’ उनले भने ‘मेरियट इन्टरनेशनल र होटलबीच ३० वर्षको सम्झौता भएको हो ।’ कर्मचारी ट्रेड युनियन, एक दशक लामो द्वन्द्व तथा इन्डियन एयरलाइन्स अपहरण परेपछि नेपालमा पर्यटन गतिविधि घट्न थाल्यो । रिसोर्टले लक्ष्य अनुरुपको आम्दानी गर्न सकेन र विस्तारै संकटतिर धकेलिदै गयो । २०५०/५१ मा फूलबारी रिसोर्टले नेपाल बैंकबाट करिब १ अर्ब ३० करोड कर्जा लिएको थियो । अहिले पेनाल ब्याज बाहेक रिसोर्टको साँवा ब्याज गरी ३ अर्ब ४६ करोड पुगेको छ । २ अर्ब १६ करोड ब्याज सहित सो कर्जा साढे ३ अर्ब पुगेको हो । हालै साधारण ब्याजलाई मूल साँवामै जोडेर कर्जाको एकमुष्ट संरचना गरिएको हो । नेपाल बैंक र फूलबारी रिसोर्टबीच गत कार्तिक १ मा भएकोे सम्झौताअनुसार रिसोर्ट सञ्चलानार्थ लिएको ऋणलाई दुई चरणमा विभाजन गरिएको छ । पहिलो चरण १० वर्षको हुनेछ भने दोस्रो चरण ८ गरी जम्मा १३ वर्षमा ऋणीले नेपाल बैंकको कर्जा चुक्ता गरिसक्नु पर्नेछ । पहिलो चरणको १० वर्षमा १ अर्ब ३० करोड ८९ लाख कर्जा होटल सञ्चालकले बैंकलाई बुझाइ सक्नुपर्नेछ भने पहिलो चरण शुरु भएको ६ वर्षमा दोस्रो चरण शुरु हुनेछ । ऋणीले दोस्रो चरणको यो अवधिमा २ अर्ब १५ करोड ४२ लाख ऋण भुक्तान गर्नुपर्ने हुन्छ । वैशाख १ सम्म रिसोर्ट सञ्चालन गर्ने शर्तमा नेपाल बैंकबाट लिएको ऋण पुनसंरचना गरिएको हो । होटल राम्रोसँग सञ्चालन भए बैंकले पेनाल ब्याज नलिने अर्थात त्यति बेलानै निर्णय गर्ने गरी सम्झौता भएको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारीले बताए । होटल सञ्चालन गर्नको लागि अमात्यले आफ्नो निजी सम्पत्ति बेचेर ४० करोड रुपैयाँ नेपाल बैंकमा जम्मा गर्दैछन् । सोही रकममध्ये ३० करोड होटल सञ्चालनमा खर्च हुनेछ भने १० करोड साँवा ब्याज भुक्तानमा हुने सीईओ अधिकारीले बताए । ‘वान अफ दि ग्रेटेस्ट होटल इन द वल्ड’ भन्ने अवधारणा साथ दरबार निकट मानिएका पियुष अमात्यले ४ सय रोपनी जमिनमा उक्त होटल स्थापना गरेका हुन् । पर्यटन वर्ष १९९८ लाई लक्षित गरी स्थापना भएको उक्त रिसोर्टलाई नेपालको मात्र नभइ दक्षिण एशियाकै ठूलो र स्थापित रिसोर्टको रुपमा लिइन्थ्यो ।
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गका बिष्फोटक पदार्थ भारतबाट ल्याइदैँ
काठमाडाैं । नागढुङ्गा -सिस्नेखेला सुरूङमार्गका बिष्फोटक पदार्थ भारतबाट ल्याइने भएको छ । सुरुङमार्गको निमार्णका क्रममा चाहिने ९०० टन विस्पोटक पदार्थ भारतबाट ल्याइने भएको हाे । २.६७ किलोमिटर लामो सुरुङमार्ग निमार्णको लागि निर्माता कम्पनी हाजमा अन्डो कर्पोरेसनले उक्त परिमाणाममा बिष्फोटक पदार्थ आवस्यक पर्ने जनाएको आयोजना प्रमुख श्याम खरेलले बताए । उनका अनुसार विष्फोटक पदार्थ ल्याउन प्रकृया अघि बढीसकेको छ । खरलले चार महिनामा नेपाल अइपुग्ने बताए । सुरुङमार्ग निमार्णको लागि आयोजनाले निमार्ण कम्पनीलाई निमार्ण कार्यादेश दिइसकेको छ । सुरुङमार्गको गोलाई ७६ वर्ग मिटरको हुने आयोजनाले जनाएको छ । आगामी ४२ महिनाभित्र निमार्ण काम सकिने निमार्ण सम्झौतामा उल्लेख छ । बिष्फोटक पदार्थ ल्याउनका लागि पहिले सुरक्षा परिषद्को सिफारिस चाहिन्छ । त्यसपछि गृह , रक्षा र परराष्ट्र मन्त्रालय हुँदै ल्याउने देशको दुतावाससम्मको अनुमति चाहिन्छ। ‘आयोजनाले विस्फोटक पदार्थ ल्याउनको लागि गृह मन्त्रालयमा सिफारिस मागेको छ। ४ महिनामा नेपाल आइपुग्छ,’ उनले भने । ।
आज बालाचतुर्दशीः पशुपतिलगायत शिवालयमा शतबीज छर्न लाखौं भक्तजन
काठमाडौं । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानैदेखि पशुपतिलगायत देशभरका शिवालयमा शतबीज छर्न लाखौँ भक्तजनको लर्को छ । हिजो बिहानैदेखि पशुपतिलगायत शिवालयमा महादीपदान गरी बसेका भक्तजनले आज बिहानै नदीमा स्नान गरी शतबीज छर्न शुरु गरेका हुन् । बालाचतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान स्नान गरी शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता छ । हेमाद्रिलगायत धर्मशास्त्रका पुस्तकमा वर्णन गरिएअनुसार धानको १०० गेडा छर्ने विधि भएपनि हाल कतिपयले व्यवहारमा मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रूपमा छर्ने गरेका छन् । मार्गशीर्ष कृष्ण त्रयोदशीको राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरेपछि खानका लागि अन्न छरिएको हो भन्ने मान्यतासमेत छ । शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ । यसै विश्वासका आधारमा पशुपति क्षेत्रको विशेषगरी मृगस्थली, विश्वरूप, सूर्यघाट, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाटलगायत क्षेत्रमा बिहानैदेखि शतबीज छर्ने भक्तजनको भीड लागेको छ । गत वर्षदेखि बालाचतुर्दशीको मेला भर्न पशुपति क्षेत्रमा आएका भक्तजनलाई चिसो नहोस् भनी पशुपति क्षेत्र विकास कोषले त्रिपालको व्यवस्था गरेको थियो । यस वर्ष त्रिपालमुनि बसेर महादीपदान गर्ने भक्तजनसँग शुल्क लिन नपाउने व्यवस्था गरिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । कसैले शुल्क उठाएको पाइएमा कारवाही गर्ने उनले बताएका छन् । यसका लागि पशुपति क्षेत्रको सुरक्षा कडा बनाइएको छ । चारवटै सुरक्षा निकायको समन्वयमा पशुपति क्षेत्रको सुरक्षा कडा बनाइएको हो । यस वर्षदेखि यो नयाँ व्यवस्था गर्दा रातभर दीपदान गरेर बस्नेलाई सुविधा पुगेको छ । विसं २०७४ सम्म त्रिपालको समेत व्यवस्था नहुँदा श्रद्धालु चिसोले कठ्याङ्ग्रिने गरेका थिए । पशुपतिसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, वसन्तपुरस्थित हनुमानढोका दरबारअघिको सानो पशुपतिनाथ भनेर चिनिने शिवालयलगायत देशभरका शिव मन्दिरमा भक्तजनले दिवङ्गत पितृका नाममा शतबीज छरिरहेका छन् । बालाचतुर्दशीका दिन पशुपति क्षेत्रमा आउने भक्तजनले वासुकी र गुह्येश्वरी मन्दिरमा पनि विशेष पूजा गर्ने विधि छ । पशुपतिलगायत देशभरका शिवालयमा आज सोमबार परेकाले पनि पितृका नाममा शतबीज छर्नेबाहेकका भक्तजनको समेत उपस्थितिका कारण बढी भीड छ । शतबीज छरिसकेर विधिपूर्वक हवनसहित चतुर्थी गरेपछि बालाचतुर्दशी पर्व समाप्त हुन्छ । रासस
बुद्ध एयरले विराटनगरबाट पोखरा प्रादेशिक उडान भर्ने
विराटनगर । बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान भर्ने भएको छ । मङ्सिर १५ गतेदेखि विराटनगर र भद्रपुरबाट काठमाडौँ तथा पोखराका लागि उडान भर्ने तयारी गरिएको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन् । भद्रपुर र विराटनगरदेखि पोखरासम्मको ट्रान्जिट फ्लाइटसम्बन्धी बुद्ध एयरद्वारा आइतबार आयोजित कार्यक्रममा उनले परीक्षणस्वरुप सो कार्य छ महिना सञ्चालन गरिने र कम्पनीले नोक्सान व्यहोर्नुपर्ने स्थिति नभएमा सधैँ सेवा जारी राख्ने बताए । नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउन प्रदेश सरकारको आग्रहमा उक्त सेवा सञ्चालनमा ल्याउँदा आन्तरिक र बाह्य पर्यटकलाई विशेष फाइदा पुग्ने निर्देशक बस्नेतको भनाइ थियो । शुरुमा हप्तामा तीन दिन सो सेवा सञ्चालन गर्ने बस्नेतले बताए । सो अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सबै सेवामा आमनागरिकको पहुँच पुर्याउनु नै समृद्धिको शुरुआत भएको बताएका छन् । उनले सो सेवालाई दिगो र प्रभावकारी बनाउन प्रदेश सरकारले भूमिका निर्वाह गर्ने भन्दै विराटनगर विमानस्थललाई स्तरोन्नति गर्ने जानकारी दिए । विराटनगर विमानस्थलको धावनमार्गलाई दुई हजार ४०० मिटर बनाउन प्रदेश सरकारले पहल गरिरहेको उनको भनाइ थियो । सो अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बुद्ध एयरले विराटनगर र काठमाडौँदेखि पोखरा सेवालाई सीधा सेवा शुरु गर्नसके सेवाग्राही लाभान्वित हुने बताएका छन् । उनले यसबाट सेवाग्राहीलाई खर्च पनि कम हुने र गन्तव्यमा पनि पुग्न सजिलो हुने भएकाले यसतर्फ कम्पनीको ध्यान जाओस् भने । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले अहिले हरेक नागरिकको आय वृद्धि भइरहेकाले बुद्ध एयरले डराउनु पर्ने स्थिति नरहेको चर्चा गर्दै भारतको विहार प्रान्तको पटनामा मात्र विमानस्थल भएकाले भारतीय नागरिकले पनि प्रशस्त लाभ लिन सक्ने बताए । रासस
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक पक्राउ
काठमाडौं । रोजगारका लागि मलेसिया जाने श्रमिकबाट अवैध रुपमा एक लाख बिस हजार रुपैयाँ लिँदै गरेको अवस्थामा वैदेशिक रोजगार विभागले एक व्यक्तिलाई समातेको छ । वैदेशिक रोजगारको लागि मलेसिया पठाइदिन्छु भनी रकम उठाइरहेको भन्ने विभागलाई प्राप्त सूचनाको आधारमा काठमाडौं सिनामंगल स्थित नोभा म्यानपावरको कार्यालय भवन नजिकैको स्थानवाट पक्राउ गरेको हो । ताप्लेजुङ जिल्ला साविक ढुङ्गेसाघु गा.वि.स वडा नं ५ घर भई हाल काठमाडौं जिल्ला वुढानिलकण्ठ नगरपालिका वडा नं ८ कपन वस्ने वर्ष ३३ का कैलाश लिम्वुले सिन्धुली घर भएका झलकबहादुर वि.क र पोष्टराज वि.क दुई दाजुभाइवाट नगदै रकम लिएकाे अवस्थामा विभागले रङ्गेहात पक्राउ गरेको विभागका महानिर्देशक डा.भीष्मकुमार भूसालले जानकारी दिए । लिम्वुले दुई दाजुभाइलाई मलेसिया पठाइदिन्छु भनी यस अघि नै ८० हजार रुपैयाँ लिइसकेको र शनिवार मलेसिया फ्लाइट छ, एक लाख साठी हजार रुपैयाँ लिएर आउनु, भिषा लागिसकेको भनी काठमाडौं वोलाएका थिए। काठमाडौं आएर टिकट माग गर्दा आफूहरुको श्रम स्वीकृतीनै नभएको थाहा भएपछि दुई दाजुभाइले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । नियन्त्रणमा लिइएका लिम्वुलाई कुनै म्यानपावरले रकम लिनको लागि परिचालन गरेको थियो वा थिएन भन्ने सम्वन्धमा हाल अनुसन्धान चलिरहेको छ । नेपाल सरकारले मलेसियामा वैदेशिक रोजगारमा पठाउनको लागि शून्य लागतमा जान पाउने गरी मलेसियन सरकारसँग सम्झौता गरेको छ । सो सम्झौता कार्यान्वयन गर्नको लागि विभागले पछिल्लो समयमा अनुगमन कार्य तिव्रता दिएसँगै कारवाहीवाट वच्नको लागि इजाजतपत्रवाला संस्थाले अबैध तरिकाले रकम संकलन गर्ने कार्यको लागि संस्था वाहिरका व्यक्तिहरु परिचालन गर्ने गरेको भन्ने उजुरी प्राप्त भैरहेको छ । वैदेशिक रोजगार ऐनमा भएको पछिल्लो संशोधनले खारेज भैसकेका एजेन्टले वैदेशिक रोजगारमा पठाएकाे कसैसग पनि राहदानी र रकम लिन नपाउने र लिएको भेटिएमा वैदेशिक रोजगार ठगीमा वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम हदैसम्मको कारवाही गर्ने प्रकृयालाई अघि बढाएको छ।
गभर्नर र परिसंघ बीच भेटवार्ता, उधारो असुली सम्बन्धी कानूनी माग
काठमाडौं । नेपाल उद्योग परिसंघको टोलीले नेपाल राष्ट्र बैँकका गभर्नरसँग निजी क्षेत्रका समस्या र समाधानका विषयमा छलफल गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमागएको टोलीले गभर्नरलाई उद्योग–व्यापारलाई लाग्दै आएको व्याजदर नघटेको र उद्योगहरुको उधारो असुलिमा असहज स्थिति सृजना भएको कुरा गभर्नर समक्ष राखेका हुन् । यस्तो स्थितिलाई समाधानगर्न उधारो असुली सम्बन्धि कानुनको व्यवस्थागरिन आवश्यक रहेको समेत उनले बताए । हाल विद्युत उत्पादन क्षेत्रलाई प्राथमिकता प्राप्त कर्जाको क्षेत्रमा राखिएकोमा विद्युतको खपत कम गर्ने कार्यलाई समेत प्राथमिकता प्राप्त कर्जाको क्षेत्रमा राखी प्राथमिक क्षेत्रको कर्जाको गणना गर्नको लागि जलविद्युत उत्पादन सरह गणना गरिनु पर्ने जानकारी दिए । रुग्ण भइरहेका र हुन सक्ने उद्योगहरुलाई कर्जा भुक्तानीको लागि पुनःतालिकाका सार्थै बैंक तथा वित्तिय संस्थाले कायम गर्नु पर्ने जोखिम व्यवस्थालाई पुनर विचार गरि कम गरिनु आवश्यक र बैँकको व्याज तथा करको भुक्तानीको समय एकै भएकोले यस्तो भुक्तानीको तालिका परिवर्तन गर्न पर्ने जनाए । साथै उद्योग–व्यववसायीलाई व्यापार–व्यवसाय प्रवद्र्धन गर्न समय–समयमा विदेश यात्रा गर्नु पर्ने तर राहदानीको आधारमा दिइने हालको सटही सुविधा अत्यन्त कम भएकोले यस्तो सटहिको सुविधा वृद्धि गरिनु वान्छनीय हुने कुरा बताए । नयाँ स्थापित कतिपय उद्योगहरुको गेस्टेशन अवधि लामो हुने हुँदा त्यस्ता उद्योगहरुलाई कम्तिमा ५ वर्षसम्म वाच लिष्टमा समावेश गरिनु नहुने माग उक्त अवसरमा गरिएको थियो । उक्त अवसर माग भर्नर डा. चिरञ्जीवी नेपालले खास–खास उद्योग र उद्यमीलाई विदेशीमुद्रा सटहीमा समस्यानपर्ने गरी निजहरुको कारोबारको आधार र नेपाली वस्तुको बाह्य मुलुकमा व्यापार प्रवद्र्धन एवं प्रचार–प्रसार आदिको लागि सटही सुविधा दिने व्यवस्था सहितको व्यवस्थाको लागि राष्ट्र बैँकबाट नीतिगत व्यवस्थागर्ने उद्देश्यबाट काम थालनी गरिएको जानकारी दिए ।